सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रेम—एउटा अनमोल गुण

प्रेम—एउटा अनमोल गुण

यहोवाले प्रेषित पावललाई पवित्र शक्तिले फलाउने फलबारे लेख्न प्रेरणा दिनुभयो। (गला. ५:२२, २३) “पवित्र शक्तिको फल” नौ वटा विभिन्न गुण मिलेर बनेको छ भनेर तिनले बताए। * यी नौ वटा गुण “नयाँ व्यक्तित्व”-का भाग पनि हुन्‌। (कल. ३:१०) रूखलाई राम्ररी मलजल गरियो भने त्यसले फल फलाउँछ। त्यस्तैगरि, कुनै व्यक्ति पवित्र शक्तिको डोऱ्याइअनुसार चल्दा उसले आफ्नो जीवनमा पवित्र शक्तिको फल फलाइरहेको हुन्छ।—भज. १:१-३.

पावलले बताएको पवित्र शक्तिको फलका पक्षहरूमध्ये पहिलो प्रेम हो। यो गुण किन अनमोल छ? पावलले आफूसित सबै कुरा छ तर प्रेमचाहिं छैन भने आफू “केही पनि होइन” भनेर बताए। (१ कोरि. १३:२) तर प्रेम भनेको के हो? यो कसरी विकास गर्न सक्छौं अनि यो गुण आफ्नो दैनिक जीवनमा कसरी देखाउन सक्छौं?

प्रेम भनेको के हो?

प्रेम भनेको यही हो भनेर शब्दमा व्यक्त गर्न गाह्रो छ। तर मायालु व्यक्तिले कसरी सोच्छ अनि कस्तो व्यवहार गर्छ भनेर बाइबलमा बताइएको छ। उदाहरणको लागि, बाइबल यसो भन्छ: “प्रेम धीरजी र दयालु हुन्छ।” प्रेम “सत्यमा खुसी हुन्छ” र यसले “सबै कुरा खप्छ, सबै कुरा पत्यार गर्छ, सबै कुराको आशा गर्छ र सबै कुरा सहन्छ।” प्रेममा अरूप्रतिको गहिरो स्नेह, निष्कपट चासो अनि आत्मीय सम्बन्ध समावेश छ। तर अर्कोतर्फ, प्रेम नभएको व्यक्ति डाह गर्ने, घमन्ड गर्ने, अभद्र व्यवहार गर्ने, आफ्नो कुरा मात्र सोच्ने, झट्टै रिसाइहाल्ने अनि क्षमा नदिने स्वभावको हुन्छ। हामी यस्ता नराम्रा गुण देखाउन चाहँदैनौं। बरु साँचो प्रेम देखाउन चाहन्छौं, जसले “आफ्नै फाइदा खोज्दैन।”—१ कोरि. १३:४-८.

यहोवा र येशूले देखाउनुभएको उत्कृष्ट प्रेम

“परमेश्वर प्रेम हुनुहुन्छ।” हो, उहाँ प्रेमको मूर्त रूप हुनुहुन्छ। (१ यूह. ४:८) उहाँको हरेक काम र व्यवहारमा प्रेम झल्किन्छ। उहाँले येशूलाई पृथ्वीमा मानिसजातिको लागि दुःख भोग्न र मर्न पठाउनुभयो। यसरी यहोवाले मानिसजातिलाई कत्ति माया गर्नुहुन्छ भनेर देखाउनुभयो। प्रेषित यूहन्नाले यस्तो लेखे: “हाम्रो सन्दर्भमा परमेश्वरको प्रेम यसरी प्रकट भएको छ, कि उहाँले आफ्नो एक मात्र छोरा संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामीले जीवन पाउन सकौं। प्रेम यसैमा छ, कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, बरु उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापहरूको प्रायश्‍चितको बलिदानको रूपमा उहाँले आफ्नो छोरालाई पठाउनुभयो।” (१ यूह. ४:९, १०) परमेश्वरको प्रेमले गर्दा हामीले पापको क्षमा पाउन सकेका छौं। अनि अनन्त जीवनको आशा पाएका छौं।

येशूले पनि यहोवाको इच्छा पूरा गर्न मानिसजातिको लागि आफ्नो ज्यान दिएर प्रेम देखाउनुभयो। पावलले यस्तो लेखे: “[येशू] यसो भन्नुहुन्छ: ‘हेर्नुहोस्, तपाईंको इच्छा पूरा गर्न म आएँ।’ . . . येशू ख्रीष्टले एकैचोटि सधैंभरिका लागि चढाउनुभएको आफ्नो शरीरको भेटीले गर्दा यही ‘इच्छाद्वारा’ हामी पवित्र पारिएका छौं।” (हिब्रू १०:९, १०) कुनै पनि मानिसले यस्तो महान्‌ प्रेम देखाउन सक्दैन। येशूले भन्नुभयो: “आफ्ना मित्रहरूको लागि आफ्नो ज्यान अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू हुँदैन।” (यूह. १५:१३) के हामीजस्तो त्रुटिपूर्ण मानिसले यहोवा र येशूले देखाउनुभएको प्रेम अनुकरण गर्न सक्छौं? पक्कै सक्छौं! आउनुहोस्, प्रेम देखाउने केही तरिका विचार गरौं।

“प्रेमको बाटोमा हिंडिरहो”

पावल यस्तो आग्रह गर्छन्‌: “प्यारा केटाकेटीहरूझैं परमेश्वरको देखासिकी गर्नेहरू होओ, अनि जसरी ख्रीष्टले तिमीहरूलाई प्रेम गर्नुभयो . . . त्यसरी नै तिमीहरू पनि प्रेमको बाटोमा हिंडिरहो।” (एफि. ५:१, २) जीवनको हरेक पक्षमा प्रेम देखाउँदा हामी ‘प्रेमको बाटोमा हिंडिरहेका’ हुन्छौं। हामी आफ्नो प्रेम बोलीमा मात्र होइन, काममा पनि देखाउँछौं। यूहन्नाले यस्तो लेखे: “हे साना केटाकेटीहरू हो, हामी वचन र मुखले होइन तर कामद्वारा साँचो प्रेम गरौं।” (१ यूह. ३:१८) उदाहरणको लागि, छिमेकी र परमेश्वरलाई प्रेम गर्छौं भने हामी छिमेकीलाई ‘राज्यको सुसमाचार’ सुनाउन उत्प्रेरित हुनेछौं। (मत्ती २४:१४; लूका १०:२७) मानिसहरूप्रति धीरजी हुँदा, तिनीहरूलाई दया देखाउँदा र क्षमा दिंदा पनि प्रेमको बाटोमा हिंडिरहेका हुन्छौं। त्यसैले बाइबल यस्तो सल्लाह दिन्छ: “यहोवाले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर।”—कल. ३:१३.

साँचो प्रेम भावनामा बहँदैन। उदाहरणको लागि, बच्चाले केही कुरा चाहियो भनेर जिद्दी गर्दै रोयो भने भावनामा बहने आमाबाबुले उसको हरेक इच्छा पूरा गरिदिन सक्छन्‌। तर बच्चालाई साँच्चै माया गर्ने आमाबाबुले त्यसो गर्दैनन्‌। तिनीहरू आवश्यक परेको बेला अनुशासन पनि दिन्छन्‌। यहोवा पनि हामीलाई माया गर्नुहुन्छ। तर बाइबल यसो पनि भन्छ: “जसलाई यहोवा प्रेम गर्नुहुन्छ, उसलाई अनुशासन दिनुहुन्छ।” (हिब्रू १२:६) त्यसैले यदि हामी अरूलाई प्रेम गर्छौं भने आवश्यक परेको बेला सल्लाह-सुझाव दिन पछि हट्‌नेछैनौं। (हितो. ३:११, १२) तर त्यतिबेला यो कुरा बिर्सनु हुँदैन, हामी पनि त्रुटिपूर्ण छौं अनि प्रेम देखाउनदेखि चुक्न सक्छौं। त्यसैले प्रेम देखाउने सन्दर्भमा हामी सबैले उन्नति गर्नुपर्ने क्षेत्रहरू थुप्रै छन्‌। हामी कसरी यसो गर्न सक्छौं? आउनुहोस्, तीन वटा तरिका विचार गरौं।

प्रेम विकास गर्ने तरिकाहरू

पहिलो, यहोवासित पवित्र शक्ति माग्नुहोस्। पवित्र शक्तिले हामीलाई प्रेम विकास गर्न मदत गर्छ। ‘यहोवासित माग्नेहरूलाई उहाँले धेरै पवित्र शक्ति दिनुहुनेछ’ भनेर येशूले बताउनुभयो। (लूका ११:१३) पवित्र शक्तिको लागि प्रार्थना गऱ्यौं र ‘पवित्र शक्तिको भरमा हिंडिरहन’ प्रयास गऱ्यौं भने हाम्रो व्यवहार झन्‌झनै मायालु हुनेछ। (गला. ५:१६) उदाहरणको लागि, तपाईं एल्डर हुनुहुन्छ भने मण्डलीका दाजुभाइ दिदीबहिनीलाई मायालु तरिकामा धर्मशास्त्रीय सल्लाह दिन सकूँ भनेर यहोवासित पवित्र शक्ति माग्न सक्नुहुन्छ। अथवा आमाबाबु हुनुहुन्छ भने छोराछोरीलाई रिसको झोंकमा होइन तर मायालु तरिकामा अनुशासन दिन सकूँ भनेर पवित्र शक्ति माग्न सक्नुहुन्छ।

दोस्रो, अरूले रिस उठाउँदा समेत येशूले कसरी प्रेम देखाउनुभयो, मनन गर्नुहोस्। (१ पत्रु. २:२१, २३) विशेषगरि, कसैले हाम्रो चित्त दुखाउँदा वा आफूमाथि अन्याय हुँदा येशूको उदाहरण विचार गर्नुहोस्। त्यस्तो बेला आफैलाई यस्तो प्रश्न सोध्नु राम्रो हुन्छ, ‘मेरो ठाउँमा येशू हुनुभएको भए उहाँले के गर्नुहुन्थ्यो?’ यो प्रश्नले ली बहिनीलाई कुनै कदम चाल्नुअघि सोच्न मदत गरेको तिनले बताइन्‌। तिनी भन्छिन्‌: “एक चोटिको कुरा हो, काम गर्ने ठाउँको साथीले मेरो अनि मेरो कामको विषयमा चाहिने-नचाहिने कुरा लेखेर अरू साथीहरूलाई इमेल पठाएछिन्‌। साह्रै चित्त दुख्यो। पछि आफैलाई सोधें, ‘मेरो ठाउँमा येशू हुनुभएको भए उहाँले त्यो साथीसित कस्तो व्यवहार गर्नुहुन्थ्यो?’ यसरी मनन गरेपछि मैले त्यो कुरालाई बिर्सिदिने निर्णय गरें। पछि मैले थाह पाएँ, त्यो साथीलाई गम्भीर रोग लागेको रहेछ अनि त्यसले गर्दा निकै तनाव भइरहेको रहेछ। मैले सोचें, उसले मेरो चित्त दुखाउने मनसायले नै त्यो इमेल लेखेको नहुन सक्छ। अरूले रिस उठाउँदा समेत येशूले प्रेम देखाउनुभएको कुरा मनन गर्दा मैले पनि साथीलाई त्यस्तै प्रेम देखाउन सकें।” हो, येशूको अनुकरण गऱ्यौं भने हाम्रो व्यवहारमा सधैं प्रेम झल्कनेछ।

तेस्रो, आत्मत्यागी प्रेम विकास गर्नुहोस्, जुन साँचो ख्रीष्टियनहरूको चिनारी हो। (यूह. १३:३४, ३५) बाइबलले हामीलाई येशूको जस्तै ‘मनोभाव’ विकास गर्न आग्रह गरेको छ। उहाँले हाम्रो लागि “आफूलाई रित्याउनुभयो।” कसरी? उहाँले स्वर्ग छोड्‌नुभयो अनि हाम्रो लागि “मृत्यु”-समेत भोग्नुभयो। (फिलि. २:५-८) हामी जत्ति येशूको आत्मत्यागी प्रेमको अनुकरण गर्छौं, त्यत्ति नै हाम्रो विचार र भावना ख्रीष्टको जस्तै हुनेछ। अनि हामी आफ्नो होइन, अरूको फाइदा खोज्नेछौं। प्रेम विकास गर्दा अरू के-कस्तो फाइदा हुन्छ?

प्रेम देखाउँदा हुने फाइदाहरू

प्रेम देखाउँदा हुने फाइदाहरू थुप्रै छन्‌। आउनुहोस्, तीमध्ये दुई वटा विचार गरौं।

प्रेम देखाउँदा कस्ता फाइदा हुन्छन्‌?

  • अन्तरराष्ट्रिय भाइचारा: हामी एकअर्कालाई धेरै माया गर्छौं। त्यसैले संसारको जुनसुकै मण्डलीमा जाँदा त्यहाँका दाजुभाइ दिदीबहिनीले हामीलाई न्यानो स्वागत गर्छन्‌। ‘संसारभरिका हाम्रा भाइहरूबाट’ यत्ति धेरै माया पाउनु के आशिष्‌को कुरा होइन र? (१ पत्रु. ५:९) यहोवाको जनहरूबीच मात्र हामी यस्तो प्रेम पाउन सक्छौं।

  • शान्ति: ‘प्रेम देखाउँदै एक-अर्कालाई सहँदा’ हामी “शान्तिको बन्धनमा बाँधिएर . . . एकतामा रहन” सक्छौं। (एफि. ४:२, ३) सभा, सम्मेलन र अधिवेशनहरूमा हामी यस्तो शान्ति अनुभव गर्न सक्छौं। फुटै फुटले भरिएको यस संसारमा शान्ति र एकता छाएको सङ्‌गठन के अरू कुनै छ र? (भज. ११९:१६५; यशै. ५४:१३) अरूसित शान्तिमा रहन प्रयास गर्दा हामी तिनीहरूलाई मनैदेखि प्रेम गर्छौं भनेर देखाइरहेका हुन्छौं। यस्तो प्रेम देख्दा हाम्रो बुबा यहोवालाई असाध्यै खुसी लाग्छ।—भज. १३३:१-३; मत्ती ५:९.

“प्रेमले उन्नति गराउँछ”

पावलले लेखे: “प्रेमले उन्नति गराउँछ।” (१ कोरि. ८:१) तर कसरी? पावलले कोरिन्थको मण्डलीलाई लेखेको पहिलो पत्रको १३ औं अध्यायलाई “प्रेमको भजन” भनिन्छ। त्यस अध्यायमा प्रेमले कसरी उन्नति गराउँछ भनेर चर्चा गरिएको छ। प्रेमले सधैं आफ्नो होइन, अरूको भलाइ खोज्छ। (१ कोरि. १०:२४; १३:५) प्रेम विचारशील, मदतकारी, धीरजी र दयालु हुने भएकोले यसले परिवार र मण्डलीलाई न्यानो बनाउँछ अनि एकताको बन्धन बलियो बनाउँछ।—कल. ३:१४.

हामी यहोवालाई धेरै माया गर्छौं। यस्तो प्रेमले हामीलाई उहाँको सेवामा अघि बढिरहन हौसला दिन्छ। साथै हाम्रो पृष्ठभूमि, जात, वर्ण वा भाषा जुनसुकै भए तापनि “काँधमा काँध मिलाएर” सेवा गर्न र एकतामा रहन मदत गर्छ। (सप. ३:९, NRV) त्यसैले पवित्र शक्तिको फलको यो अनमोल गुण हरेक दिन आफ्नो जीवनमा देखाउन प्रयास गरिरहौं!

^ अनु. 2 आगामी अङ्‌कहरूमा पवित्र शक्तिको फलका आठ वटा पक्षबारे छलफल गरिनेछ। यस लेखमा पहिलो पक्षबारे छलफल गरिएको छ।