सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३२

तपाईँको प्रेम बढ्‌दै जाओस्‌

तपाईँको प्रेम बढ्‌दै जाओस्‌

“म यही प्रार्थना गरिरहन्छु कि . . . तिमीहरूको प्रेम झन्‌झन्‌ बढ्‌दै जाओस्‌।”—फिलि. १:९.

गीत १०६ प्रेम विकास गरौँ!

परिचय *

१. फिलिप्पिमा मण्डली स्थापना गर्न क-कसले योगदान दिए?

प्रेषित पावल, सिलास, लुका र तिमोथि रोमी उपनिवेश फिलिप्पि पुगेपछि त्यहाँ तिनीहरूले परमेश्‍वरको राज्यको सन्देशप्रति चासो भएका थुप्रै मानिस भेट्टाए। यी चार जना जोसिला भाइहरूले त्यहाँ मण्डली स्थापना गर्न ठूलो योगदान दिए। भर्खरै चेला बनेकाहरू सम्भवतः लिडिया नाम गरेकी बहिनीको घरमा भेला हुन थाले, जसले अतिथिसत्कार गर्ने सन्दर्भमा राम्रो नाम कमाएकी थिइन्‌।—प्रेषि. १६:४०.

२. केही समय नबित्दै फिलिप्पी मण्डलीले कस्तो गाह्रो परिस्थितिको सामना गर्नुपऱ्‍यो?

तर केही समय नबित्दै त्यो नयाँ मण्डलीले एउटा गाह्रो परिस्थितिको सामना गर्नुपऱ्‍यो। सैतानले सत्यका विरोधीहरूलाई उक्सायो र ती विरोधीहरूले वफादार ख्रिष्टियनहरूको प्रचारकार्यलाई रोक्न कुनै कसर बाँकी राखेनन्‌। पावल र सिलास पक्राउ परे, छडीले पिटिए र झ्यालखानामा हालिए। तर झ्यालखानाबाट मुक्‍त भएपछि तिनीहरू ती नयाँ चेलाहरूलाई भेट्‌न गए र प्रोत्साहन दिए। पावल, सिलास र तिमोथि त्यो सहर छोडेर गए तर लुकाचाहिँ त्यहीँ बसेजस्तो देखिन्छ। त्यसपछि त्यो नयाँ मण्डलीको अवस्था कस्तो भयो? यहोवाको पवित्र शक्‍तिको मदत पाएर ती नयाँ चेलाहरू उहाँको सेवामा जोडतोडले अघि बढे। (फिलि. २:१२) पावलले तिनीहरूप्रति कत्ति गर्व महसुस गरे होलान्‌!

३. फिलिप्पी १:९-११ अनुसार पावलले प्रार्थनामा कस्तो बिन्ती गरे?

करिब दस वर्षपछि पावलले फिलिप्पि मण्डलीलाई पत्र लेखे। त्यो पत्र पढ्‌नुहुँदा पावल आफ्ना दाजुभाइ दिदीबहिनीलाई कत्ति प्रेम गर्थे भनेर थाह पाउनुहुनेछ। तिनले यस्तो लेखे: “तिमीहरू सबैलाई भेट्‌न म कत्ति आतुर छु, . . . तिमीहरूप्रति मेरो कोमल स्नेह ख्रिष्ट येसुको जस्तै छ।” (फिलि. १:८) तिनले पत्रमा तिनीहरूको लागि प्रार्थना गरेको कुरा पनि लेखे। तिनीहरूलाई प्रेममा बढ्‌दै जान, अझ महत्त्वपूर्ण कुराहरू पक्का गर्न, दोषरहित रहन, अरूलाई ठेस नपुऱ्‍याउन र धार्मिकताको फल फलाइरहन मदत गर्नुहोस्‌ भनी तिनले यहोवालाई बिन्ती गरे। पावलका ती मनै छुने शब्दहरूबाट आज हामी पनि लाभ उठाउन सक्छौँ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। त्यसैले आउनुहोस्‌, पावलले फिलिप्पीहरूलाई लेखेको कुरा सँगै पढौँ। (फिलिप्पी १:९-११ पढ्‌नुहोस्‌) त्यसपछि ती कुराहरू एक-एक गर्दै छलफल गर्नेछौँ अनि हामी ती कुराहरू कसरी लागू गर्न सक्छौँ भनी बुझ्नेछौँ।

प्रेममा बढ्‌दै जानुहोस्‌

४. (क) पहिलो युहन्‍ना ४:९, १० अनुसार यहोवाले हामीलाई कसरी प्रेम देखाउनुभएको छ? (ख) हामीले यहोवालाई कत्तिको प्रेम गर्नुपर्छ?

यहोवाले आफ्नो छोरालाई पृथ्वीमा हाम्रा पापहरूको लागि मर्न पठाउनुभएर हामीलाई अपार प्रेम देखाउनुभयो। (१ युहन्‍ना ४:९, १० पढ्‌नुहोस्‌) परमेश्‍वरको यस्तो निःस्वार्थ प्रेमबारे विचार गर्दा हामी पनि उहाँलाई प्रेम गर्न उत्प्रेरित हुन्छौँ। (रोमी ५:८) हामीले उहाँलाई कत्तिको प्रेम गर्नुपर्छ? येसुले एक जना फरिसीलाई भन्‍नुभएको यो कुरामा यस प्रश्‍नको जवाफ पाइन्छ: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।” (मत्ति २२:३६, ३७) हामी परमेश्‍वरलाई आधा मनले मात्र प्रेम गर्न चाहँदैनौँ। बरु हामी उहाँप्रतिको आफ्नो प्रेम दिनप्रतिदिन बढाउँदै लैजान चाहन्छौँ। पावलले फिलिप्पीहरूलाई तिनीहरूको प्रेम “झन्‌झन्‌ बढ्‌दै जाओस्‌” भने। यहोवाप्रतिको प्रेमलाई अझ प्रगाढ बनाउँदै लैजान हामी के गर्न सक्छौँ?

५. यहोवाप्रतिको हाम्रो प्रेम कसरी बढ्‌दै जान्छ?

परमेश्‍वरलाई प्रेम गर्न हामीले उहाँलाई चिन्‍नु जरुरी छ। बाइबल भन्छ: “जसले प्रेम गर्दैन, उसले परमेश्‍वरलाई चिनेको हुँदैन किनकि परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ युह. ४:८) हामीले परमेश्‍वरबारे “सही ज्ञान र पूर्ण समझ” हासिल गर्दै जाँदा उहाँप्रतिको हाम्रो प्रेम पनि बढ्‌दै जानेछ भनेर प्रेषित पावलले सङ्‌केत गरे। (फिलि. १:९) हामीले बाइबल अध्ययन गर्न थाल्दा यहोवाका मनमोहक गुणहरूबारे आफूले पाएको सीमित ज्ञानको आधारमा उहाँप्रतिको प्रेम विकास गऱ्‍यौँ। त्यसपछि हामीले उहाँबारे जत्ति सिक्दै गयौँ, उहाँप्रतिको प्रेम त्यत्ति नै बढ्‌दै गयो। त्यसैले नियमित रूपमा परमेश्‍वरको वचन अध्ययन गर्नु र त्यसमा मनन गर्नुलाई हामी आफ्नो जीवनको अत्यन्तै महत्त्वपूर्ण कुरा ठान्छौँ।—फिलि. २:१६.

६. पहिलो युहन्‍ना ४:११, २०, २१ अनुसार हामी कसरी प्रेममा बढ्‌दै जान सक्छौँ?

हामीप्रतिको परमेश्‍वरको अपार प्रेमले हामीलाई आफ्ना ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्न उत्प्रेरित गर्छ। (१ युहन्‍ना ४:११, २०, २१ पढ्‌नुहोस्‌) हामीलाई दाजुभाइ दिदीबहिनीप्रतिको प्रेम भनेको स्वतः आउने कुरा हो जस्तो लाग्ला। हुन पनि हामी सबै जना यहोवाको उपासना गर्छौँ अनि उहाँका सुन्दर गुणहरू आफूमा विकास गर्न प्रयत्न गर्छौँ। हामी येसुको उदाहरण अनुकरण गर्छौँ, जसले हाम्रो खातिर आफ्नो ज्यान दिएर हामीलाई अपार प्रेम देखाउनुभयो। तैपनि एकअर्कालाई प्रेम गर्नु भन्‍ने आज्ञा पालन गर्न कहिलेकाहीँ हामीलाई गाह्रो लाग्न सक्छ। फिलिप्पि मण्डलीको एउटा घटनाबारे विचार गरौँ।

७. पावलले इयोदिया र सिन्तकेलाई दिएको सल्लाहबाट हामी के सिक्न सक्छौँ?

इयोदिया र सिन्तके प्रेषित पावलसँगै सेवा गरेका जोसिला बहिनीहरू थिए। तर सायद व्यक्‍तिगत मतभिन्‍नताको कारण तिनीहरू एकअर्काबाट टाढिए। ती बहिनीहरूको मण्डलीलाई लेखेको पत्रमा पावलले इयोदिया र सिन्तकेको नामै लिएर उनीहरूलाई “एकै मनका” हुन तोकेरै सल्लाह दिए। (फिलि. ४:२, ३) पावलले पूरै मण्डलीलाई यस्तो सल्लाह दिनुपर्ने आवश्‍यकता महसुस गरे: “सबै काम विनागनगन र विनावादविवाद गरिरहो।” (फिलि. २:१४) पावलले दिएको यो सुस्पष्ट सल्लाहले यी वफादार बहिनीहरूलाई मात्र नभई पूरै मण्डलीलाई एकअर्काप्रतिको प्रेमको बन्धन अझ कसिलो बनाउन पक्कै मदत गऱ्‍यो।

हामीले आफ्ना दाजुभाइ दिदीबहिनीप्रति किन सकारात्मक दृष्टिकोण राख्नुपर्छ? (अनुच्छेद ८ हेर्नुहोस्‌) *

८. दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्नदेखि बाधा पुऱ्‍याउन सक्ने एउटा प्रमुख कुरा के हो? हामी त्यसलाई कसरी हटाउन सक्छौँ?

इयोदिया र सिन्तकेलाई जस्तै हामीलाई पनि एकअर्काप्रतिको प्रेमको बन्धन कसिलो बनाउनदेखि बाधा पुऱ्‍याउन सक्ने एउटा प्रमुख कुरा छ। त्यो हो, कमीकमजोरीमा ध्यान दिने झुकाव। हामी सबैले हरेक दिन गल्तीहरू गर्छौँ। यदि हामी अरूको कमीकमजोरीमा ध्यान दिन्छौँ भने उनीहरूप्रतिको हाम्रो प्रेम सेलाउँछ। उदाहरणको लागि, यदि कुनै भाइले हामीलाई राज्यभवनको सरसफाइमा सघाउन बिर्से भने हामी चिढिन सक्छौँ। त्यसपछि यदि हामीले तिनले गरेका अरू सबै गल्तीबारे सोच्न थाल्यौँ भने हामीलाई तिनी देखेर झनै रिस उठ्‌न थाल्छ र तिनीप्रतिको प्रेम सेलाउँछ। यदि तपाईँ पनि त्यस्तै परिस्थितिमा पर्नुभयो भने यो कुरा मनमा राख्नु बेस हो: यहोवा तपाईँ अनि त्यो भाइ दुवैको कमीकमजोरी देख्न सक्नुहुन्छ। तर त्यस्ता कमीकमजोरीको बाबजुद उहाँ तपाईँहरू दुवैलाई प्रेम गर्न छोड्‌नुहुन्‍न। त्यसैकारण हामीले यहोवाको प्रेम अनुकरण गर्नुपर्छ र हाम्रा दाजुभाइ दिदीबहिनीप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्छ। यदि हामीले उनीहरूलाई प्रेम गर्न कडा प्रयत्न गऱ्‍यौँ भने हाम्रो एकताको बन्धन अझ बलियो हुनेछ।—फिलि. २:१, २.

“अझ महत्त्वपूर्ण कुराहरू”

९. पावलले फिलिप्पिका ख्रिष्टियनहरूलाई बताएको “अझ महत्त्वपूर्ण कुराहरू”-मा के-के पर्छन्‌?

पवित्र शक्‍तिले पावललाई फिलिप्पिका ख्रिष्टियनहरू र एक अर्थमा सबै ख्रिष्टियनलाई यस्तो निर्देशन दिन उत्प्रेरित गऱ्‍यो: ‘अझ महत्त्वपूर्ण कुराहरू पक्का गर।’ (फिलि. १:१०) यी महत्त्वपूर्ण कुराहरूमा यहोवाको नामको पवित्रीकरण, उहाँका उद्देश्‍यहरूको पूर्ति अनि मण्डलीको शान्ति र एकता पर्छन्‌। (मत्ति ६:९, १०; युह. १३:३५) यी कुराहरूलाई हामीले आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण ठान्यौँ भने हामी यहोवालाई प्रेम गर्छौँ भनेर प्रमाणित गरिरहेका हुन्छौँ।

१०. यहोवाको नजरमा दोषरहित हुन हामीले के गर्नुपर्छ?

१० पावलले हामी ‘दोषरहित रहनुपर्छ’ भनेर पनि बताए। यसको अर्थ हामी त्रुटिरहित हुनुपर्छ भन्‍ने होइन। हामी यहोवाजस्तै पूर्णतया दोषरहित हुन सक्दैनौँ। तर हामीले प्रेमको बन्धनलाई अझ कसिलो बनाउन र महत्त्वपूर्ण कुराहरू पक्का गर्न आफ्नो क्षमताले भ्याएजति सबै गऱ्‍यौँ भने यहोवाले हामीलाई दोषरहित व्यक्‍ति ठान्‍नुहुनेछ। प्रेम गरेको देखाउने एउटा तरिका भनेको अरूलाई ठेस नपुऱ्‍याउन सक्दो प्रयास गर्नु हो।

११. हामीले किन अरूलाई ठेस पुऱ्‍याउनु हुँदैन?

११ अरूलाई ठेस नपुऱ्‍याउनू भन्‍ने निर्देशन वास्तवमा एउटा चेतावनी हो। हामीले कसरी अरूलाई ठेस पुऱ्‍याउन सक्छौँ? हामी कस्तो मनोरञ्जन गर्छौँ, कस्तो पहिरन लगाउँछौँ वा कस्तो जागिर खान्छौँ भन्‍ने कुराले समेत अरूलाई ठेस पुऱ्‍याउन सक्छ। हामीले गरेको छनौट आफैमा गलत नहुन सक्छ। तर हाम्रो छनौटले कसैको अन्तस्करण घोच्यो र तिनले ठेस खाए भने त्यो गम्भीर कुरा हो। यदि हामीले येसुको कुनै भेडालाई ठेस पुऱ्‍यायौँ भने हाम्रो घाँटीमा ठूलो जाँतो झुन्ड्याएर हामीलाई समुद्रमा फ्याँकिदिनु नै बेस हो भनेर येसुले बताउनुभयो!—मत्ति १८:६.

१२. एक अग्रगामी दम्पतीले बसालेको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

१२ येसुको यो चेतावनीलाई एक अग्रगामी दम्पतीले कसरी गम्भीरतापूर्वक लिए, विचार गर्नुहोस्‌। तिनीहरूले सेवा गर्ने मण्डलीमा भर्खरै बप्तिस्मा गरेको अर्को एउटा दम्पती पनि थिए। उनीहरूलाई आफ्नो परिवारमा सानैदेखि निकै कडिकडाउ गरेर हुर्काइएको रहेछ। त्यसैले ख्रिष्टियनहरूले फिल्म भन्‍ने कुरा हेर्नै हुँदैन भन्‍ने उनीहरूलाई लाग्दो रहेछ। एक दिन त्यस अग्रगामी दम्पतीले फिल्म हेरेको कुरा उनीहरूले थाह पाएछन्‌। त्यो सुनेर उनीहरूलाई साह्रै अचम्म लागेछ। त्यसपछि त्यस नयाँ दम्पतीले आफ्नो अन्तस्करणलाई अझै तालिम दिएर सन्तुलित हुन नसिकुन्जेल उक्‍त अग्रगामी दम्पतीले फिल्म हेर्नै नजाने निर्णय गरे। (हिब्रू ५:१४) यस्तो निःस्वार्थ कदम चालेर त्यस अग्रगामी दम्पतीले ती नयाँ भाइ र बहिनीलाई मुखले मात्र होइन कामद्वारा प्रेम गरेको कुरा देखाए।—रोमी १४:१९-२१; १ युह. ३:१८.

१३. हामीले अरूलाई कसरी पाप गर्न उक्साइरहेका हुन सक्छौँ?

१३ हामीले अरूलाई ठेस पुऱ्‍याउन सक्ने अर्को कुरा भनेको अरूलाई पाप गर्न उक्साउनु हो। त्यो कसरी हुन सक्छ? यो दृश्‍य कल्पना गर्नुहोस्‌। एक बाइबल विद्यार्थीले लामो र अत्यन्तै कठिन सङ्‌घर्षपछि अचाक्ली रक्सी पिउने कुलत त्याग्न सकेका छन्‌। आफूले रक्सीलाई हात पनि लगाउनु हुँदैन भनेर तिनलाई थाह छ। तिनले छिटोछिटो प्रगति गरेर बप्तिस्मा पनि गर्छन्‌। पछि एक जना ख्रिष्टियनले एउटा जमघटको आयोजना गर्छन्‌। उक्‍त जमघट आयोजना गर्ने ख्रिष्टियनले राम्रै मनसायले त्यो नयाँ भाइलाई यसो भन्दै रक्सी पिउन आग्रह गर्छन्‌: “अब त तपाईँ ख्रिष्टियन भइसक्नुभयो नि! त्यसैले तपाईँसित यहोवाको पवित्र शक्‍ति छ। अनि पवित्र शक्‍तिको फलको एउटा पक्ष आत्मसंयम हो। तपाईँले आत्मसंयम खेती गर्नुभएको छ भने त ठिक्क मात्रामा रक्सी पिउन सकिहाल्नुहुन्छ नि!” यदि त्यो नयाँ भाइ यस्तो गलत सल्लाह सुनेर त्यसअनुसार चले भने त्यसको नतिजा कस्तो होला भनेर हामी सजिलै अनुमान लगाउन सक्छौँ।

१४. ख्रिष्टियन सभाहरूले हामीलाई फिलिप्पी १:१० मा पाइने निर्देशनहरू लागू गर्न कसरी मदत गर्छ?

१४ हाम्रा ख्रिष्टियन सभाहरूले हामीलाई फिलिप्पी १:१० मा पाइने निर्देशनहरू लागू गर्न थुप्रै तरिकामा मदत गर्छ। पहिलो, सभाहरूबाट प्राप्त हुने पोसिलो आध्यात्मिक भोजनले यहोवा कुन कुरालाई सबैभन्दा महत्त्वपूर्ण ठान्‍नुहुन्छ भनेर हामीलाई सम्झाउँछ। दोस्रो, दोषरहित रहन आफूले सिकेका कुराहरू कसरी लागू गर्ने भनेर बुझ्न सक्छौँ। अनि तेस्रो, हामी “प्रेम र सुकर्म गर्न” उत्साहित हुन्छौँ। (हिब्रू १०:२४, २५) हाम्रा दाजुभाइ दिदीबहिनीबाट हामी जति धेरै प्रोत्साहन पाउँछौँ, यहोवा र उनीहरूप्रतिको हाम्रो प्रेम त्यति नै बढ्‌दै जान्छ। हाम्रो हृदय परमेश्‍वर र दाजुभाइ दिदीबहिनीप्रतिको प्रेमले भरिएको छ भने हामी आफ्ना दाजुभाइ दिदीबहिनीलाई ठेस नपुऱ्‍याउन अत्यन्तै सजग हुन्छौँ।

“प्रशस्त मात्रामा धार्मिकताको फल” फलाइरहनुहोस्‌

१५. “प्रशस्त मात्रामा धार्मिकताको फल” फलाउनुको अर्थ के हो?

१५ फिलिप्पीहरूले “प्रशस्त मात्रामा धार्मिकताको फल फलाउन” सकून्‌ भनेर पावलले परमेश्‍वरलाई व्यग्र प्रार्थना गरे। (फिलि. १:११) यस “धार्मिकताको फल”-मा यहोवा र उहाँका मानिसहरूप्रति उनीहरूको प्रेम समावेश थियो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। साथै त्यसमा येसुमाथिको उनीहरूको विश्‍वास र आफ्नो सुन्दर आशाबारे अरूलाई बताउनु पनि समावेश थियो। फिलिप्पी २:१५ मा अर्को अभिव्यक्‍ति पनि पाइन्छ। त्यो हो, ‘संसारमा ज्योतिझैँ चम्किरहने।’ यो अभिव्यक्‍ति उपयुक्‍त छ किनकि येसुले आफ्ना चेलाहरूलाई “संसारका ज्योति” भन्‍नुभएको थियो। (मत्ति ५:१४-१६) उहाँले आफ्ना अनुयायीहरूलाई “चेला बनाओ” भन्‍ने आज्ञा पनि दिनुभएको थियो र तिनीहरूले ‘पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा साक्षी दिनेछन्‌’ भन्‍नुभएको थियो। (मत्ति २८:१८-२०; प्रेषि. १:८) यस महत्त्वपूर्ण काममा सक्रिय भई भाग लिँदा हामीले “धार्मिकताको फल” फलाइरहेका हुन्छौँ।

रोममा नजरबन्दमा छँदा पावलले फिलिप्पि मण्डलीलाई पत्र लेख्छन्‌। त्यतिबेला तिनले सिपाहीहरू र आफूलाई भेट्‌न आउनेहरूलाई प्रचार गर्ने मौकाको सदुपयोग गर्छन्‌ (अध्ययन लेख ३२, अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. फिलिप्पी १:१२-१४ ले परिस्थिति जतिसुकै गाह्रो भए पनि हामी ‘ज्योतिझैँ चम्किरहन’ सक्छौँ भनेर कसरी देखाउँछ? (आवरण पृष्ठको चित्र हेर्नुहोस्‌)

१६ हाम्रो परिस्थिति जतिसुकै गाह्रो भए पनि हामी ‘ज्योतिझैँ चम्किरहन’ सक्छौँ। कुनै-कुनै अवस्थामा सुसमाचार घोषणा गर्न बाधा पुग्ला जस्तो देखिने परिस्थिति नै वास्तवमा प्रचार गर्ने राम्रो मौका बन्‍न सक्छ। उदाहरणको लागि, प्रेषित पावलले फिलिप्पीहरूलाई पत्र लेख्दा तिनी रोममा नजरबन्दमा थिए। तर नजरबन्दमा भए तापनि तिनले सिपाहीहरू र आफूलाई भेट्‌न आउनेहरूलाई प्रचार गर्न बन्द गरेनन्‌। यस्तो गाह्रो परिस्थितिमा पनि पावलले जोसका साथ प्रचार गरिरहे र यसले गर्दा अरू भाइहरूले पनि “परमेश्‍वरको वचनबारे निर्धक्क भई बोल्न” साहस पाए।फिलिप्पी १:१२-१४ पढ्‌नुहोस्‌; फिलि. ४:२२.

प्रचारकार्यमा पूरापूर भाग लिने मौका खोजिरहनुहोस्‌ (अनुच्छेद १७ हेर्नुहोस्‌) *

१७. गाह्रो परिस्थितिमा पनि फल फलाइरहेका आधुनिक समयका दाजुभाइ दिदीबहिनीहरूको उदाहरण दिनुहोस्‌।

१७ हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनीले पावलको साहसको उदाहरण पछ्याउने मौका पाएका छन्‌। तिनीहरू खुल्लमखुल्ला वा घरघरमा गएर प्रचार गर्न रोक लगाइएका देशहरूमा बस्छन्‌। त्यसैले तिनीहरू सुसमाचार प्रचार गर्न अरू नै तरिका खोज्छन्‌। (मत्ति १०:१६-२०) त्यस्तै एउटा देशमा क्षेत्रीय निरीक्षकले प्रत्येक प्रकाशकलाई तिनीहरूको आफन्त, छरछिमेक, स्कुलको साथी, सहकर्मी र चिनेजानेका अरू मानिसहरूलाई आफ्नो “इलाका” सम्झेर प्रचार गर्न सुझाव दिए। दुई वर्षभित्रै त्यस क्षेत्रमा मण्डलीहरूको सङ्‌ख्यामा उल्लेखनीय वृद्धि भयो। हुनत हामी बस्ने देशमा खुल्लमखुल्ला प्रचार गर्न रोक लगाइएको छैन होला। तर नयाँ-नयाँ तरिका खोजेर प्रचार गर्ने यी सिपालु दाजुभाइ दिदीबहिनीबाट हामी एउटा बहुमूल्य पाठ सिक्न सक्छौँ: यहोवाले जस्तोसुकै बाधाविघ्न पार लगाउन शक्‍ति दिनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुँदै प्रचारकार्यमा पूरापूर भाग लिने मौका खोजिरहनुपर्छ।—फिलि. २:१३.

१८. हामीले के गर्न दृढ सङ्‌कल्प गर्नुपर्छ?

१८ यस निर्णायक घडीमा हामी पावलले फिलिप्पीहरूलाई लेखेको पत्रमा भएका सल्लाहहरू लागू गर्न दृढ सङ्‌कल्प गरौँ। अझ महत्त्वपूर्ण कुराहरू पक्का गरौँ, दोषरहित रहौँ, अरूलाई ठेस नपुऱ्‍याऔँ र धार्मिकताको फल फलाइरहौँ। यसो गऱ्‍यौँ भने हाम्रो प्रेम बढ्‌दै जानेछ र हाम्रो ख्याल राख्नुहुने बुबा यहोवाको महिमा हुनेछ।

गीत १७ “म इच्छा गर्छु”

^ अनु. 5 अहिले हाम्रा दाजुभाइ दिदीबहिनीप्रतिको प्रेम बलियो बनाउनु पहिलाभन्दा झन्‌ धेरै आवश्‍यक परेको छ। प्रेम देखाउन गाह्रो अवस्थामा समेत हामी कसरी प्रेम बढाउँदै लैजान सक्छौँ भनेर बुझ्न फिलिप्पीहरूलाई लेखिएको पत्रले मदत गर्नेछ।

^ अनु. 54 चित्रको व्याख्या: राज्यभवन सरसफाइको बेला जो नाम गरेका एक भाइ सफाइ गर्न छोडेर अर्को भाइ र तिनको छोरासित कुरा गर्न थाल्छन्‌। यो देखेर भ्याक्युम लगाइरहेका माइकलाई झनक्क रिस उठ्‌छ। तिनी सोच्छन्‌; ‘खुरुक्क काम नगरेर के गफ लगाएर बसिरा’को होला!’ पछि जोले एक वृद्ध बहिनीको आवश्‍यकता बुझेर तिनलाई मदत गरिरहेको माइकले देख्छन्‌। यो मनै छुने दृश्‍यले माइकलाई आफ्नो भाइको राम्रा गुणहरूमा ध्यान दिन सम्झाउँछ।

^ अनु. 58 चित्रको व्याख्या: खुल्लमखुल्ला प्रचार गर्न नसकिने देशमा एक जना भाइ आफूले चिनेको व्यक्‍तिलाई अरूको ध्यान नखिचिने गरी राज्यको सन्देश सुनाउँछन्‌। पछि काम गर्ने ठाउँमा खाजा खाने समयमा ती भाइ आफ्नो सहकर्मीलाई साक्षी दिन्छन्‌।