सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बप्तिस्मा गराउने युहन्‍ना—आनन्द कायम गर्ने सन्दर्भमा राम्रो उदाहरण

बप्तिस्मा गराउने युहन्‍ना—आनन्द कायम गर्ने सन्दर्भमा राम्रो उदाहरण

के तपाईँ मण्डलीमा अहिले आफूले प्राप्त गर्न नसक्ने कुनै जिम्मेवारी सम्हाल्न इच्छुक हुनुहुन्छ? सायद त्यो जिम्मेवारी अरू नै कसैले सम्हालिरहेको छ होला। अथवा त्यो पहिला तपाईँले सम्हाल्नुभएको जिम्मेवारी वा सुअवसर हुन सक्छ। तर अहिले उमेर, स्वास्थ्य अवस्था, आर्थिक समस्या वा पारिवारिक दायित्वले गर्दा तपाईँ आफूले चाहेजति गर्न सक्नुहुन्‍न होला। अथवा सङ्‌गठनमा गरिएको छाँटकाँटले गर्दा लामो समयदेखि सम्हाल्दै आएको जिम्मेवारी छोड्‌नुपरेको छ कि? कारण जेसुकै भए पनि, तपाईँलाई आफूले परमेश्‍वरको सेवामा चाहेजति गर्न सकिरहेको छैनँ जस्तो लागिरहेको हुन सक्छ। यदि त्यसो हो भने तपाईँ कहिलेकाहीँ निराश हुनु स्वाभाविकै हो। तर निराशा, तितोपना वा रिसजस्ता नकारात्मक भावनाहरूले आफूमा जरा गाड्‌न नदिन तपाईँ के गर्न सक्नुहुन्छ? तपाईँ आफ्नो आनन्द कसरी कायम राख्न सक्नुहुन्छ?

बप्तिस्मा गराउने युहन्‍नाबाट हामी आफ्नो आनन्द कायम गर्ने सन्दर्भमा राम्रो पाठ सिक्न सक्छौँ। तिनले ठूलठूला सुअवसरहरू पाएका थिए तर तिनको जीवनले जुन मोड लियो, त्यो तिनले आस गरेका थिएनन्‌ होला! तिनले सेवाको काममा जति समय बिताएका थिए, त्योभन्दा धेरै समय जेलको अन्धकारमा बिताउनुपर्ला भनेर तिनले कल्पना पनि गरेका थिएनन्‌ होला! तैपनि युहन्‍ना आनन्दित भइरहे र आफ्नो बाँकी जीवनभर त्यो आनन्द कायम राखे। त्यसो गर्न तिनलाई केले मदत गऱ्‍यो? अनि निराशाको सामना गर्नुपर्दा हामी आफ्नो आनन्द कसरी कायम राख्न सक्छौँ?

युहन्‍नालाई आनन्दित बनाएको असाइनमेन्ट

मसीह आउने कुराको लागि मानिसहरूलाई तयार पार्ने आफ्नो असाइनमेन्ट युहन्‍नाले इस्वी संवत्‌ २९ को वसन्त ऋतुमा सुरु गरे। तिनले यसो भन्दै प्रचार गरे: “पश्‍चात्ताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ।” (मत्ति ३:२; लुका १:१२-१७) थुप्रैले तिनको कुरा सुने। तिनको सन्देश सुन्‍न टाढा टाढादेखि भीडका भीड मानिसहरू आए अनि थुप्रै मानिस पश्‍चात्ताप गरेर बप्तिस्मा गर्न उत्प्रेरित भए। साथै युहन्‍नाले आत्मधर्मी धर्मगुरुहरूलाई तिनीहरूले परिवर्तन नगरेको खण्डमा भोग्नुपर्ने न्यायदण्डबारे साहसी हुँदै चेतावनी दिए। (मत्ति ३:५-१२) इस्वी संवत्‌ २९ को शरद्‌ ऋतुमा येसुलाई बप्तिस्मा गराउँदा तिनले आफ्नो सेवाको सबैभन्दा महत्त्वपूर्ण काम पूरा गरे। त्यसपछिदेखि युहन्‍नाले सबैलाई येसुको पछि लाग्न भने, जो प्रतिज्ञा गरिएको मसीह हुनुहुन्थ्यो।—युह. १:३२-३७.

युहन्‍नाले साँच्चै विशेष भूमिका खेल्ने मौका पाएका थिए, त्यसैले येसुले तिनीबारे यसो भन्‍नुभयो: “बप्तिस्मा गराउने युहन्‍नाभन्दा ठूलो अहिलेसम्म कोही जन्मेको छैन।” (मत्ति ११:११) युहन्‍नाले पाएका आशिष्‌हरूले तिनलाई पक्कै आनन्दित बनायो। युहन्‍नाले जस्तै आज पनि थुप्रैले यहोवाबाट प्रशस्त आशिष्‌हरू पाएका छन्‌। टेरी नाम गरेका भाइको उदाहरण विचार गरौँ। तिनी र तिनकी पत्नी सान्ड्राले पूर्ण-समय सेवामा ५० वर्षभन्दा धेरै समय बिताएका छन्‌। टेरी भन्छन्‌: “मैले थुप्रै विशेष सुअवसरहरू पाएँ। मैले अग्रगामी, बेथेल सेवक, विशेष अग्रगामी, क्षेत्रीय निरीक्षक, जिल्ला निरीक्षकको रूपमा सेवा गर्ने मौका पाएँ। अहिले फेरि विशेष अग्रगामीको रूपमा सेवा गर्दै छु।” सेवाका सुअवसरहरूले हामीलाई आनन्द दिन्छ। तर परिस्थिति परिवर्तन हुँदा आनन्दित भइरहन हामीले प्रयत्न गर्नुपर्ने हुन्छ भनेर युहन्‍नाको उदाहरणबाट सिक्नेछौँ।

कृतज्ञ भइरहनुहोस्‌

बप्तिस्मा गराउने युहन्‍ना आफूले पाएका सुअवसरहरूप्रति सधैँ कृतज्ञ भइरहे। तिनी आनन्दित भइरहन सक्नुको मुख्य कारण यही थियो। उदाहरणको लागि, येसुको बप्तिस्मापछि युहन्‍नाका चेलाहरूको सङ्‌ख्या कम हुँदै गयो तर येसुका चेलाहरूको सङ्‌ख्या भने झन्‌झन्‌ बढ्‌दै गयो। यो देखेर युहन्‍नाका चेलाहरू चिन्तित भए र तिनीकहाँ गएर यसो भने: “हेर्नुहोस्‌, उहाँले त बप्तिस्मा गराउँदै हुनुहुन्छ अनि सबै जना उहाँकहाँ जाँदै छन्‌।” (युह. ३:२६) तब युहन्‍नाले जवाफ दिए: “जोसित दुलही छ, उही दुलहा हो। अनि दुलहाको साथी, जसले दुलहाको नजिकै उभिएर तिनको स्वर सुन्छ, उसको खुसीको सीमा रहँदैन। त्यसैले म पनि आनन्दले ओतप्रोत भएको छु।” (युह. ३:२९) युहन्‍नाले येसुसित प्रतिस्पर्धा गर्न खोजेनन्‌। अनि येसुले आफ्नोभन्दा धेरै ठूलो जिम्मेवारी पाउनुभएकोले आफ्नो महत्त्व घटेको महसुस पनि गरेनन्‌। बरु तिनी आनन्दित भइरहे किनकि “दुलहाको साथी”-को रूपमा आफूले पाएको भूमिकाको तिनले कदर गरे।

युहन्‍नाको असाइनमेन्ट त्यति सजिलो किसिमको थिएन, तैपनि तिनको मनोवृत्तिको कारण तिनी आनन्दित भइरहन सके। उदाहरणको लागि, जन्मेदेखि नै नाजिरी भएकोले युहन्‍नाले दाखमद्य पिउनु हुँदैन थियो। (लुका १:१५) युहन्‍नाले बिताएको सरल जीवनबारे येसुले यसो भन्‍नुभयो: “युहन्‍नाले अरूले जस्तो न खाए न पिए।” अर्कोतर्फ येसु र उहाँका चेलाहरूलाई भने त्यस्तो कुनै रोकटोक थिएन। त्यसैले उहाँहरूले अरूले जस्तै सामान्य जीवन बिताउनुभयो। (मत्ति ११:१८, १९) साथै युहन्‍नाले कुनै पनि चमत्कार गरेनन्‌ तर येसुका चेलाहरू, जसमध्ये कोही-कोही पहिला युहन्‍नाकै पछि लाग्ने व्यक्‍तिहरू थिए, तिनीहरूले भने चमत्कार गर्ने शक्‍ति पाएका छन्‌ भनेर युहन्‍नालाई थाह थियो। (मत्ति १०:१; युह. १०:४१) त्यस्ता कुराहरूमा अलमलिनुको साटो यहोवाले दिनुभएको असाइनमेन्ट पूरा गर्नमै युहन्‍ना जोसका साथ लागिरहे।

यहोवाको सेवामा आफूले पाइरहेको असाइनमेन्टको मोल गऱ्‍यौँ भने हामी पनि आनन्दित भइरहन सक्नेछौँ। अगाडि उल्लेख गरिएका टेरी यसो भन्छन्‌: “मैले सधैँ आफूले पाएको हरेक असाइनमेन्टमा ध्यान केन्द्रित गरेँ।” पूर्ण-समय सेवामा आफूले बिताएको जीवनलाई फर्केर हेर्दा तिनी यसो भन्छन्‌: “मलाई कुनै पछुतो छैन। आफूले पाएको हरेक असाइनमेन्टबारे सम्झिँदा म निकै आनन्दित हुन्छु।”

कुनै पनि असाइनमेन्ट वा जिम्मेवारीलाई वास्तवमा केले अर्थपूर्ण बनाउँछ भनेर विचार गऱ्‍यौँ भने परमेश्‍वरको सेवामा आफ्नो आनन्दलाई बढाउन सक्छौँ। कुनै पनि असाइनमेन्ट वा जिम्मेवारी पूरा गर्दा हामी “परमेश्‍वरका सहकर्मीहरू” भइरहेका हुन्छौँ। (१ कोरि. ३:९) जसरी कुनै बहुमूल्य वस्तुको हिफाजत गर्दा त्यो सुन्दर रहिरहन्छ, त्यसैगरि परमेश्‍वरको सेवा गर्न पाउनु कत्ति ठूलो सम्मान हो भनेर मनन गर्दा गलत सोचाइले हाम्रो आनन्द खोस्नेछैन। हामी आफूले गरेको त्यागलाई अरूसित तुलना गर्नेछैनौँ। अरूले पाएको सुअवसरसित तुलना गर्दै आफूले पाएको सुअवसरलाई कम महत्त्वको ठान्‍नेछैनौँ।—गला. ६:४.

आध्यात्मिक कुरामा ध्यान केन्द्रित गर्नुहोस्‌

आफ्नो सेवाको काम लामो समय चल्नेछैन भनेर युहन्‍नाले महसुस गरेका हुन सक्छन्‌ तर अचानक बन्द हुनेछ भनेर चाहिँ सायद तिनले सोचेका पनि थिएनन्‌। (युह. ३:३०) इस्वी संवत्‌ ३० मा राजा हेरोदले युहन्‍नालाई झ्यालखानामा थुने। त्यतिखेर तिनले येसुलाई बप्तिस्मा गराएको लगभग छ महिना भएको थियो। तर झ्यालखानामा थुनिएको अवस्थामा पनि अरूलाई साक्षी दिन तिनले सकेजति गरिरहे। (मर्कु. ६:१७-२०) यस्ता परिवर्तनहरूको बाबजुद आनन्दित भइरहन तिनलाई केले मदत गऱ्‍यो? तिनले आध्यात्मिक कुरामा आफ्नो ध्यान केन्द्रित गरे।

युहन्‍ना झ्यालखानामा हुँदा तिनले येसुले कत्तिको विस्तृत तवरमा आफ्नो सेवाको काम गर्दै हुनुहुन्छ भनेर सुने। (मत्ति ११:२; लुका ७:१८) येसु नै मसीह हुनुहुन्छ भनेर युहन्‍ना विश्‍वस्त थिए तर धर्मशास्त्रमा मसीहबारे लेखिएका सबै कुरा येसुले कसरी पूरा गर्नुहुनेछ भनेर जान्‍न सायद तिनी उत्सुक थिए। मसीहले राजाको रूपमा शासन गर्नेछन्‌ भनेर युहन्‍नालाई थाह थियो। त्यसैले येसुको शासन चाँडै सुरु हुने हो कि अनि येसुले तिनलाई झ्यालखानाबाट मुक्‍त गर्नुहुनेछ कि भन्‍ने प्रश्‍न तिनको मनमा उठेको हुन सक्छ। येसुको भूमिकाबारे अझ राम्ररी बुझ्न उत्सुक भएकोले युहन्‍ना आफ्ना दुई जना चेलालाई येसुकहाँ पठाएर यस्तो प्रश्‍न सोध्न लगाउँछन्‌: “आउनेवाला तपाईँ नै हुनुहुन्छ कि हामी अरू कसैको बाटो हेरौँ?” (लुका ७:१९) येसुले चमत्कार गरेर बिरामीहरूलाई निको पार्नुभयो भनी ती चेलाहरूले युहन्‍नाकहाँ फर्केर तिनलाई बताउँदा तिनले ध्यान दिएर सुनेको हुनुपर्छ। युहन्‍नालाई यसो भन्‍नू भनेर येसुले ती चेलाहरूलाई पठाउनुभएको थियो: “अन्धाहरूले देख्न थालेका छन्‌, लङ्‌गडाहरू हिँड्‌न थालेका छन्‌, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्‌, बहिराहरूले सुन्‍न थालेका छन्‌, मरेकाहरू जीवित भएका छन्‌ अनि गरिबहरूलाई सुसमाचार सुनाइँदै छ।”—लुका ७:२०-२२.

चेलाहरूले ल्याएको खबर सुनेर युहन्‍नाले पक्कै बल पाएको हुनुपर्छ। त्यसले मसीहबारे गरिएका भविष्यवाणीहरू येसुले पूरा गर्दै हुनुहुन्छ भनेर देखाउँथ्यो। हुनत येसुले युहन्‍नालाई झ्यालखानाबाट मुक्‍त गर्नुहुने थिएन, तैपनि आफूले गरेको सेवा बेकार भएको छैन भनेर युहन्‍नाले बुझेका थिए। आफू गाह्रो परिस्थितिमा भए पनि तिनीसित आनन्दित हुने कारण थियो।

विश्‍वव्यापी प्रचारकार्यका राम्रा खबरहरूमा ध्यान केन्द्रित गर्दा आनन्दित भइरहन सक्नेछौँ

युहन्‍नाले जस्तै आध्यात्मिक कुरामा ध्यान केन्द्रित गऱ्‍यौँ भने धीरजी र आनन्दित हुँदै परीक्षाहरू सहन सक्नेछौँ। (कल. १:९-११) बाइबल पढ्यौँ र त्यसमा मनन गऱ्‍यौँ भने हामी सहनशील हुन सक्नेछौँ। त्यसो गऱ्‍यौँ भने परमेश्‍वरको सेवा गर्न हामीले गरेको प्रयास कहिल्यै पनि खेर जाँदैन भनेर सम्झिरहन मदत पाउनेछौँ। (१ कोरि. १५:५८) सान्ड्रा भन्छिन्‌: “हरेक दिन बाइबलको एउटा अध्याय पढ्‌दा मैले यहोवासित अझ नजिक हुन मदत पाएकी छु। यसले गर्दा मैले आफूमा नभई यहोवामा ध्यान केन्द्रित गर्न सकेकी छु।” हामी पनि राज्य गतिविधिका रिपोर्टहरूमा ध्यान दिन सक्छौँ। त्यसो गर्दा हामी आफ्नै परिस्थितिमा मात्र नभई यहोवाले के-कस्तो कुरा सम्भव तुल्याइरहनुभएको छ भन्‍ने कुरामा ध्यान दिन मदत पाउँछौँ। सान्ड्रा भन्छिन्‌: “JW ब्रोडकास्टिङ-को मासिक कार्यक्रमले हामीलाई यहोवाको सङ्‌गठनसित अझ नजिक हुन र आफ्नो असाइनमेन्टमा आनन्दित भइरहन मदत गर्छ।”

बप्तिस्मा गराउने युहन्‍नाले आफ्नो छोटो सेवालाई “एलियाको जोस र शक्‍तिका साथ” पूरा गरे। एलियाझैँ तिनी पनि “हाम्रो जस्तै भावना भएका मानिस थिए।” (लुका १:१७; याकु. ५:१७) युहन्‍नाको अनुकरण गर्दै आफूले पाएको सुअवसरप्रति कृतज्ञ भयौँ र आध्यात्मिक कुरामा ध्यान केन्द्रित गऱ्‍यौँ भने जस्तोसुकै परिस्थिति आइपरे तापनि यहोवाको सेवामा युहन्‍नाजस्तै आनन्दित भइरहन सक्नेछौँ।