सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३१

”हामी हरेस खाँदैनौँ”!

”हामी हरेस खाँदैनौँ”!

“त्यसैले हामी हरेस खाँदैनौँ।”—२ कोरि. ४:१६.

गीत १२८ अन्तसम्म सहौँ!

परिचय *

१. जीवनको दौड पूरा गर्न ख्रिष्टियनहरूले के गर्नु जरुरी छ?

ख्रिष्टियनहरू जीवनको दौड दौडिरहेका छन्‌। चाहे हाम्रो दौड भर्खरै सुरु भएको होस्‌ या हामीले दौडन थालेको वर्षौँ बितिसकेको होस्‌, हामीले अन्तिम बिन्दु पार नगरेसम्म दौडिरहनु जरुरी छ। प्रेषित पावलले फिलिप्पिका ख्रिष्टियनहरूलाई दिएको सल्लाहले हामीलाई आफ्नो दौड पूरा गर्न उत्प्रेरित गर्छ। प्रथम शताब्दीको त्यस मण्डलीले पावलको पत्र पाउँदा त्यहाँका केही सदस्यहरूले यहोवाको सेवा गर्न थालेको वर्षौँ भइसकेको थियो। तिनीहरू आफ्नो ख्रिष्टियन दौड राम्ररी दौडिरहेका थिए तर पावलले तिनीहरूलाई धैर्य गरेर दौडिरहनुको महत्त्वबारे सम्झाए। तिनीहरूले पावलको अनुकरण गर्दै “लक्ष्यसम्म पुग्न भरमग्दुर कोसिस गरिरहेको” तिनी चाहन्थे।—फिलि. ३:१४.

२. पावलले फिलिप्पीहरूलाई चाहिएकै समयमा सल्लाह दिएका थिए भनेर किन भन्‍न सक्छौँ?

फिलिप्पीहरूले आफूलाई चाहिएकै समयमा पावलको सल्लाह पाए। त्यहाँ मण्डली स्थापना भएदेखि नै ख्रिष्टियनहरूले विरोधको सामना गर्नुपरेको थियो। परमेश्‍वरको प्रेरणाद्वारा “म्यासिडोनिया आउनुहोस्‌” भन्‍ने सन्देश पाएपछि इस्वी संवत्‌ ५० तिर पावल र सिलास फिलिप्पि गए। (प्रेषि. १६:९) तिनीहरूले त्यहाँ प्रचार गर्न थालेदेखि नै विरोध सुरु भएको थियो। त्यहाँ तिनीहरूले लिडिया नाम गरेकी एउटी स्त्रीलाई भेटे, जसले तिनीहरूको कुरा “सुनिरहेकी थिइन्‌” र उनले सुसमाचार सुनून्‌ भनेर “यहोवा परमेश्‍वरले उनको हृदय खोलिदिनुभयो।” (प्रेषि. १६:१४) केही समयभित्रै लिडिया र उनको घरमा हुने सबैले बप्तिस्मा गरे। तर सैतान हात बाँधेर बसेन। त्यस सहरका मानिसहरूले पावल र सिलासलाई घिसार्दै नगर अधिकारीहरूकहाँ लगे र तिनीहरूलाई सहरमा खैलाबैला मच्चाएको झूटो आरोप लगाए। नतिजास्वरूप पावल र सिलासलाई पिटियो, झ्यालखानामा हालियो र पछि सहर छोडेर जान भनियो। (प्रेषि. १६:१६-४०) तर के तिनीहरूले हरेस खाए? अहँ! पटक्कै हरेस खाएनन्‌। अनि त्यहाँ भर्खरै स्थापना भएको मण्डलीका भाइबहिनीहरूले नि? प्रशंसायोग्य कुरा, तिनीहरू पनि सहनशील भए! अनि तिनीहरूले पावल र सिलासले बसालेको राम्रो उदाहरणबाट निकै प्रोत्साहन पाएका थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

३. पावललाई कुन कुरा थाह थियो? हामी कुन-कुन प्रश्‍न विचार गर्नेछौँ?

पावल हरेस नखाई अघि बढिरहन दृढ थिए। (२ कोरि. ४:१६) तर आफ्नो दौड पूरा गर्ने हो भने इनाममा ध्यान केन्द्रित गर्नुपर्छ भनेर तिनलाई थाह थियो। पावलको उदाहरणबाट हामी के सिक्न सक्छौँ? जस्तोसुकै चुनौतीको बाबजुद हामी सहनशील हुन सक्छौँ भनेर आधुनिक समयका वफादार भाइबहिनीका कस्ता उदाहरणहरूले देखाउँछन्‌? अनि भविष्यको आशाले हरेस नखाने हाम्रो सङ्‌कल्पलाई कसरी अझ बलियो बनाउँछ?

पावलको उदाहरणबाट हामी कस्तो लाभ उठाउन सक्छौँ?

४. गाह्रो परिस्थितिको बाबजुद पावल कसरी सक्रिय रहे?

फिलिप्पीहरूलाई पत्र लेखेको समयमा पावल आफ्नो दौड पूरा गर्न कसरी भरमग्दुर कोसिस गरिरहेका थिए, विचार गर्नुहोस्‌। तिनलाई रोममा नजरबन्दमा राखिएको थियो। तिनले स्वतन्त्र भई प्रचार गर्न पाएका थिएनन्‌। तैपनि तिनी आफूकहाँ आउनेहरूलाई प्रचार गर्न र टाढा-टाढाका मण्डलीहरूलाई पत्र लेख्न व्यस्त थिए। त्यसैगरि आज पनि घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा भएकाहरू घरमा आउनेहरूलाई सुसमाचार सुनाउने हरेक मौकाको सदुपयोग गर्छन्‌। साथै तिनीहरू घरघरको प्रचारमा नभेटिने मानिसहरूलाई मन छुने चिठी लेख्छन्‌।

५. फिलिप्पी ३:१२-१४ मा पावलले बताएअनुसार आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गरिरहन तिनलाई केले मदत गऱ्‍यो?

आफूले विगतमा हासिल गरेका कुराहरू वा विगतमा गरेका गल्तीहरूलाई सम्झेर पावलले आफ्नो ध्यान खलबलिन दिएनन्‌। बरु “अगाडिका कुराहरूतिर लम्केर” आफ्नो दौड राम्ररी पूरा गर्न ‘पछाडिका कुराहरूलाई बिर्सनु’ आवश्‍यक छ भनेर तिनले बताए। (फिलिप्पी ३:१२-१४ पढ्‌नुहोस्‌) के-कस्ता कुराहरूले पावलको ध्यान खलबल्याउन सक्थ्यो? पहिलो, पावलले यहुदीहरूमाझ निकै सफलता हासिल गरेका थिए। तैपनि तिनले ती कुराहरूलाई “रद्दी” ठाने। (फिलि. ३:३-८) दोस्रो, विगतमा आफूले ख्रिष्टियनहरूलाई सताएको कुरा सम्झेर तिनले दोषी महसुस गरेका हुन सक्छन्‌ तर तिनी त्यस्तो भावनाको वशमा परेर यहोवाको सेवामा निष्क्रिय भएनन्‌। तेस्रो, तिनले यहोवाको सेवामा आफूले गर्नुपर्नेजति गरिसकेँ भनेर सोचेनन्‌। झ्यालखानामा पर्दा, कुटाइ खाँदा, ढुङ्‌गाले हानिँदा, आफू चढेको जहाज क्षतिग्रस्त हुँदा, भोकै बस्नुपर्दा र नग्नता खप्नुपर्दासमेत तिनले सक्रिय भई प्रचार गरिरहे। (२ कोरि. ११:२३-२७) तर आफूले विगतमा जस्तोसुकै सफलता हासिल गरेको भए तापनि वा जतिसुकै दुःखकष्ट भोगेको भए तापनि यहोवाको सेवामा अघि बढिरहनु आवश्‍यक छ भनेर पावललाई थाह थियो। आज हामीले पनि त्यसै गर्नु जरुरी छ।

६. हामीले बिर्सनुपर्ने “पछाडिका कुराहरू” के-के हुन सक्छन्‌?

‘पछाडिका कुराहरूलाई बिर्सने’ सन्दर्भमा हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ? हामीमध्ये कसै-कसैले विगतमा आफूले गरेका पापहरूको कारण दोषी भावनासित सङ्‌घर्ष गरिरहेका हुन सक्छौँ। यदि त्यसो हो भने ख्रिष्टको फिरौतीको बलिदानबारे गहिरो व्यक्‍तिगत अध्ययन गर्नुभए कसो होला? त्यस प्रोत्साहनदायी विषयमा अध्ययन र मनन गर्दै यहोवालाई प्रार्थना गऱ्‍यौँ भने दोषी भावनाले हामीलाई सताइरहनेछैन। त्यति मात्र होइन, यहोवाले हामीलाई क्षमा दिइसक्नुभएका विगतका पापहरूको लागि आफैलाई सजाय दिइरहन पनि छोड्‌नेछौँ। पावलबाट सिक्न सकिने अर्को पाठ विचार गरौँ। कसै-कसैले राज्य गतिविधिमा अझ धेरै भाग लिनको लागि निकै पैसा कमाउन सकिने पेशा त्यागेका हुन सक्छन्‌। यदि त्यसो हो भने, विगतमा आफूले त्यागेका त्यस्ता मौकाहरूलाई सम्झँदै पछुतो नमानेर के हामी पछाडिका कुराहरूलाई बिर्सेको देखाउन सक्छौँ? (गन्ती ११:४-६; उप. ७:१०) “पछाडिका कुराहरू”-मा हामीले यहोवाको सेवामा विगतमा गरेका कामहरू वा हामीले सहेका परीक्षाहरू पनि पर्न सक्छन्‌। हुनत वर्षौँको दौडान यहोवाले हामीलाई कसरी आशिष्‌ र साथ दिइरहनुभएको छ भन्‍ने कुरामा मनन गर्दा हामी यहोवासित अझ नजिक महसुस गर्छौँ। तर हामीले कहिल्यै पनि त्यतिमै सन्तुष्ट भएर ‘आफूले गर्नुपर्नेजति सबै गरिसकेँ’ भन्‍ने सोचाइ राख्नु हुँदैन।—१ कोरि. १५:५८.

जीवनको दौडमा हामीले आफ्नो ध्यान खलबल्याउने कुराहरूलाई पन्छाएर लक्ष्यमा ध्यान केन्द्रित गरिरहनु आवश्‍यक छ (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. पहिलो कोरिन्थी ९:२४-२७ अनुसार जीवनको दौड जित्न के गर्नु आवश्‍यक छ? उदाहरण दिनुहोस्‌।

येसुका यी शब्दहरूको अर्थ पावलले राम्ररी बुझेका थिए: “भरमग्दुर कोसिस गर।” (लुका १३:२३, २४) येसुको अनुकरण गर्दै आफूले पनि अन्तसम्मै भरमग्दुर कोसिस गरिरहनुपर्छ भनेर पावललाई थाह थियो। त्यसैले तिनले ख्रिष्टियनहरूको जीवनलाई एउटा दौडसित तुलना गरे। (१ कोरिन्थी ९:२४-२७ पढ्‌नुहोस्‌) दौडमा भाग लिने धावकले अन्तिम बिन्दुमा आफ्नो ध्यान केन्द्रित गर्छ र कुनै पनि कुराले आफ्नो ध्यान खलबलिन दिँदैन। उदाहरणको लागि, हिजोआज सहरी क्षेत्रमा आयोजना गरिने लामो दूरीको दौड प्रतियोगितामा धावकहरूले पसलहरू र ध्यान खलबल्याउने अरू थुप्रै कुराहरू भएको बाटो हुँदै दौडनुपर्ने हुन्छ। कुनै धावक पसलहरूमा सजाएर राखिएका सामानहरू हेर्न रोकिएको के तपाईँ कल्पना गर्न सक्नुहुन्छ र? दौड जित्न चाहने धावकले अवश्‍य त्यसो गर्नेछैनन्‌! त्यसैगरि हामीले पनि जीवनको दौडमा ध्यान खलबल्याउने कुराहरूलाई पन्छाउनु आवश्‍यक छ। आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गऱ्‍यौँ र पावलले जस्तै भरमग्दुर कोसिस गऱ्‍यौँ भने हामीले अवश्‍य इनाम पाउनेछौँ!

विश्‍वासलाई कमजोर पार्ने चुनौतीहरू कसरी सामना गर्न सक्छौँ?

८. हामी कुन तीन वटा चुनौतीबारे विचार गर्नेछौँ?

ख्रिष्टियन जीवनको दौडमा हाम्रो गति घटाउन सक्ने तीन वटा चुनौतीबारे अब हामी विचार गर्नेछौँ। ती हुन्‌: आफूले सोचेको समयमा आशा साकार नहुँदा, शरीर कमजोर हुँदै जाँदा अनि लामो समयसम्म परीक्षाको सामना गर्नुपर्दा। हाम्रा भाइबहिनीले यस्ता परिस्थितिहरूको कसरी सामना गरेका छन्‌ भनेर विचार गऱ्‍यौँ भने हामी पनि यी चुनौतीहरू सामना गर्ने बल पाउँछौँ।—फिलि. ३:१७.

९. आफूले सोचेको समयमा आशा साकार नहुँदा हामीलाई कस्तो असर पर्न सक्छ?

आफूले सोचेको समयमा आशा साकार नहुँदा। हामी यहोवाले प्रतिज्ञा गर्नुभएका असल कुराहरू पाउने आशा गर्छौँ र यो स्वाभाविक पनि हो। भविष्यवक्‍ता हबकुकले यहुदामा भएका खराब कुराहरू यहोवाले अन्त गर्नुभएको हेर्ने इच्छा व्यक्‍त गरे। त्यतिबेला यहोवा स्वयम्‌ले नै “त्यसको बाटो हेर्दै बस” भनेर हबकुकलाई बताउनुभयो। (हब. २:३) तर आफूले आशा गरेको कुरा सोचेजति चाँडो पूरा नहुँदा हाम्रो जोस सेलाएर जान सक्छ। हामी निराशसमेत हुन सक्छौँ। (हितो. १३:१२) बीसौँ शताब्दीको सुरुतिर यस्तै भएको थियो। त्यसबेलाका थुप्रै अभिषिक्‍त ख्रिष्टियनले १९१४ मा स्वर्ग जाने आशा राखेका थिए। आफूले सोचेको समयमा आशा साकार नहुँदा वफादार ख्रिष्टियनहरूले कसरी त्यसको सामना गरे?

रोयल र पर्ल स्पाज्‌ले १९१४ मा आफ्नो आशा साकार भएको देख्न पाएनन्‌, तैपनि तिनीहरू दशकौँसम्म वफादार भई अघि बढिरहे (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. आफूले सोचेको समयमा आशा साकार नहुँदा एक दम्पतीले कसरी त्यसको सामना गरे?

१० त्यस्तै परिस्थितिको सामना गरेका दुई जना वफादार ख्रिष्टियनको अनुभव विचार गरौँ। भाइ रोयल स्पाज्‌ले १९०८ मा २० वर्षको उमेरमा बप्तिस्मा गरेका थिए। आफूले चाँडै नै स्वर्गीय इनाम पाउनेछु भन्‍ने कुरामा तिनी यति विश्‍वस्त थिए कि १९११ मा बहिनी पर्ललाई विवाहको प्रस्ताव राख्दा तिनले यसो भने: “१९१४ मा के हुँदै छ भनेर तिमीलाई थाहै छ। त्यसैले विवाह गर्ने हो भने चाँडै गरिहालौँ!” तर १९१४ मा आफ्नो आशा साकार नहुँदा के यस ख्रिष्टियन दम्पतीले जीवनको दौड दौडन छोड्‌ने निर्णय गरे? अहँ गरेनन्‌ किनकि तिनीहरूको मुख्य ध्यान इनाम पाउने कुरामा होइन, वफादार भई यहोवाको इच्छा पूरा गर्नमा केन्द्रित थियो। तिनीहरूले सहनशील हुँदै यो दौड दौडने सङ्‌कल्प गरेका थिए। हुन पनि रोयल र पर्ल दुवैले पृथ्वीमा आफ्नो सेवा पूरा नहोउन्जेल दशकौँसम्म सक्रिय अनि वफादार भई यहोवाको सेवा गरिरहे। तपाईँ पनि यहोवाले आफ्नो नाम र सार्वभौमिकता उच्च पार्नुभएको अनि आफ्ना सबै प्रतिज्ञा पूरा गर्नुभएको हेर्ने उत्कट इच्छा गर्नुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। यहोवाले आफ्नो तोकिएको समयमा यी कुराहरू पूरा गर्नुहुनेछ भनेर ढुक्क हुनुहोस्‌। त्यतिन्जेल हामी परमेश्‍वरको सेवामा व्यस्त भइरहौँ र आफूले सोचेको समयमा आशा साकार नहुँदा पनि निराश नभई जीवनको दौड दौडिरहौँ र आफ्नो गति कम हुन नदेऔँ।

भाइ अर्थर सेकोर्ड वृद्धावस्थामा पनि आध्यात्मिक उन्‍नति गरिरहन इच्छुक थिए (अनुच्छेद ११ हेर्नुहोस्‌)

११-१२. शारीरिक रूपमा कमजोर हुँदै गए पनि हामी किन आध्यात्मिक रूपमा अघि बढिरहन सक्छौँ? एउटा उदाहरण दिनुहोस्‌।

११ शरीर कमजोर हुँदै जाँदा। साँच्चैको दौड दौडन हामी शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्‍यक छ। तर आध्यात्मिक रूपमा बलियो हुँदै जान शारीरिक रूपमा तन्दुरुस्त हुनुपर्छ भन्‍ने छैन। शारीरिक रूपमा कमजोर हुँदै गएका थुप्रै ख्रिष्टियनले आध्यात्मिक उन्‍नति गरिरहने आफ्नो बल्दो जोसलाई कायम राखिरहेका छन्‌। (२ कोरि. ४:१६) उदाहरणको लागि, बेथेलमा ५५ वर्ष सेवा गरिसकेका भाइ अर्थर सेकोर्ड * शारीरिक रूपमा कमजोर भइसकेका थिए। तिनको उमेर ८८ वर्ष पुगिसकेको थियो। एकचोटि तिनको स्याहारसुसार गर्ने नर्स तिनको ओछ्यान भएतिर आइन्‌ र तिनलाई मायालु तरिकाले यसो भनिन्‌, “सेकोर्ड बुबा, तपाईँको यो ज्यानले यहोवाको सेवामा कोसौँ-कोस यात्रा गरिसकेको छ।” तर भाइ अर्थर विगतमा आफूले गरेको सेवामा मात्रै चित्त बुझाएर बसेका थिएनन्‌। तिनले ती नर्सको आँखामा हेरे अनि मुस्कुराउँदै यस्तो जवाफ दिए, “त्यो त हो। तर हामीले विगतमा के गऱ्‍यौँ, त्यो महत्त्वपूर्ण होइन; बरु अबदेखि के गर्छौँ, त्यो महत्त्वपूर्ण हो।”

१२ सायद तपाईँले पनि यहोवाको सेवा गर्नुभएको थुप्रै वर्ष भइसक्यो होला तर स्वास्थ्य अवस्था खस्कँदै गएकोले पहिलाजति गर्न सक्नुभएको छैन होला। त्यसो हो भने हरेस नखानुहोस्‌। विगतमा वफादार भई तपाईँले गर्नुभएको सेवा देखेर यहोवा खुसी हुनुहुन्छ भनेर ढुक्क हुनुहोस्‌। (हिब्रू ६:१०) अनि तपाईँको अहिलेको अवस्थाबारे भन्‍नुपर्दा, तनमनको भक्‍ति भनेको हामी यहोवाको सेवामा के-कति गर्न सक्छौ, त्यसमा भर पर्दैन भनेर नबिर्सनुहोस्‌। बरु हामी सकारात्मक मनोभाव राखेर अनि आफ्नो शरीरले जति दिन्छ, त्यति गरेर यहोवाप्रतिको आफ्नो गहिरो भक्‍ति प्रकट गर्छौं। (कल. ३:२३) यहोवा हाम्रो सीमितता बुझ्नुहुन्छ र हामीले गर्न सक्नेभन्दा बढी हामीबाट माग गर्नुहुन्‍न।—मर्कु. १२:४३, ४४.

एनाटोली र लिडिया मेलनिकले थुप्रै कठिनाइको बाबजुद वफादार भई सहनशीलता देखाइरहे (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३. थुप्रै परीक्षाको बाबजुद अघि बढिरहन एनाटोली र लिडियाको अनुभवबाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौँ?

१३ लामो समयसम्म परीक्षाको सामना गर्नुपर्दा। यहोवाका केही सेवकले दशकौँसम्म गाह्रो अवस्था अनि सतावटको सामना गरेका छन्‌। उदाहरणको लागि, एनाटोली मेलनिक * १२ वर्षको मात्र छँदा तिनको बुबालाई पक्रेर झ्यालखानामा हालियो र मोल्डोभामा भएको आफ्नो परिवारदेखि ७ हजार किलोमिटरभन्दा टाढा साइबेरियामा निर्वासनमा पठाइयो। त्यसको एक वर्षपछि एनाटोली, तिनकी आमा, हजुरबुबा र हजुरआमालाई पनि साइबेरियामा निर्वासनमा पठाइयो। केही समयपछि तिनीहरू अर्को एउटा गाउँमा हुने सभामा जान सके तर सभामा जान तिनीहरू हिउँले ढाकेको बाटो हुँदै कठ्याङ्‌ग्रिने जाडोमा ३० किलोमिटर हिँड्‌नुपर्थ्यो। पछि भाइ मेलनिकले आफ्नी पत्नी लिडिया र एक वर्षकी छोरीबाट अलग्गिएर तीन वर्ष जेलमा बिताउनुपऱ्‍यो। वर्षौँसम्म कठिनाइहरू भोग्नुपरे तापनि एनाटोली र तिनको परिवार यहोवाको सेवामा निरन्तर अघि बढिरहे। एनाटोली अहिले ८२ वर्षका भइसके र तिनी मध्य एसियामा शाखा समितिको सदस्यको रूपमा सेवा गर्छन्‌। एनाटोली र लिडियाको अनुकरण गर्दै हामी पनि पहिलाजस्तै सहनशील भई अघि बढिरहौँ र यहोवाको सेवामा सकेजति गरिरहौँ।—गला. ६:९.

भविष्यको आशामा ध्यान केन्द्रित गरिरहनुहोस्‌

१४. आफ्नो लक्ष्यसम्म पुग्न के गर्नु आवश्‍यक छ भनेर पावललाई थाह थियो?

१४ पावल आफूले दौड पूरा गर्ने र लक्ष्यसम्म पुग्ने कुरामा ढुक्क थिए। अभिषिक्‍त ख्रिष्टियनको रूपमा तिनले “परमेश्‍वरबाट पाएको माथिको बोलावटको पुरस्कार पाउने” आशा राखेका थिए। तर त्यो लक्ष्यसम्म पुग्न ‘भरमग्दुर कोसिस गरिरहनु’ आवश्‍यक छ भनेर तिनलाई थाह थियो। (फिलि. ३:१४) फिलिप्पिका ख्रिष्टियनहरूलाई आफ्नो आशामा ध्यान केन्द्रित गरिरहन मदत गर्नको लागि पावलले एउटा रोचक किसिमको तुलना गरे।

१५. फिलिप्पिका ख्रिष्टियनहरूलाई ‘भरमग्दुर कोसिस गरिरहने’ प्रोत्साहन दिन पावलले नागरिकतालाई कसरी उदाहरणको रूपमा चलाए?

१५ पावलले फिलिप्पीहरूलाई तिनीहरूको स्वर्गीय नागरिकताबारे सम्झाए। (फिलि. ३:२०) त्यो नागरिकताबारे तिनीहरूले किन सम्झनुपर्थ्यो? त्यसबेला रोमी नागरिकता पाउनु निकै ठूलो कुरा थियो। * तर अभिषिक्‍त ख्रिष्टियनहरूसित त्योभन्दा अझै उत्तम किसिमको नागरिकता थियो, जुन रोमी नागरिकताभन्दा कता हो कता फाइदाजनक थियो। त्यसको तुलनामा रोमी नागरिकता केही पनि थिएन! त्यसैकारण पावलले फिलिप्पीहरूलाई “तिमीहरूको चालचलन ख्रिष्टसित सम्बन्धित सुसमाचारसँग सुहाउँदो होस्‌” भनेर बताए। (फिलि. १:२७) यहाँ प्रयोग गरिएको चालचलन भन्‍ने शब्दले “नागरिकको रूपमा चल्नु” वा नागरिकले जस्तो व्यवहार गर्नु भन्‍ने अर्थ दिन्छ। स्वर्गमा अनन्त जीवन पाउने आशा राखेका आजका अभिषिक्‍त ख्रिष्टियनहरू पनि आफ्नो लक्ष्यसम्म पुग्न भरमग्दुर कोसिस गर्दै राम्रो उदाहरण बसाल्छन्‌।

१६. हाम्रो आशा स्वर्गमा जीवन पाउने होस्‌ या पृथ्वीमा, फिलिप्पी ४:६, ७ अनुसार हामीले के गरिरहनुपर्छ?

१६ हाम्रो आशा स्वर्गमा अनन्त जीवन पाउने होस्‌ या सुन्दर पृथ्वीमा, हामीले त्यो लक्ष्यसम्म पुग्न भरमग्दुर कोसिस गरिरहनुपर्छ। परिस्थिति जस्तो भए तापनि हामीले पछाडिका कुराहरूलाई फर्केर हेर्नु हुँदैन अनि आफ्नो आध्यात्मिक प्रगतिलाई कुनै पनि कुराले बाधा पुऱ्‍याउन दिनु हुँदैन। (फिलि. ३:१६) हामीले आशा गरेको कुरा सोचेजति चाँडो पूरा भएको छैन होला वा हाम्रो बल दिनदिनै घट्‌दै गइरहेको होला। हामीले वर्षौँको दौडान अनेकन्‌ कठिनाइ र सतावट सह्‍यौँ होला। तपाईँको अवस्था जस्तो भए तापनि ‘कुनै कुराको विषयमा चिन्तित नहुनुहोस्‌।’ बरु आफ्नो निवेदन र उत्कट बिन्ती परमेश्‍वरसमक्ष जाहेर गरिरहनुहोस्‌ अनि तपाईँले सोचेभन्दा कता हो कता उत्कृष्ट किसिमको शान्ति परमेश्‍वरले तपाईँलाई दिनुहुनेछ।फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्‌।

१७. अर्को लेखमा हामी कुन कुरा विचार गर्नेछौँ?

१७ अन्तिम बिन्दुमा पुग्नै लागेको धावकले भरमग्दुर कोसिस गरेजस्तै हामी पनि जीवनको दौड पूरा गर्नमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरिरहौँ। भविष्यको लागि साँचिएका उत्तम कुराहरू हासिल गर्न आफ्नो क्षमता र परिस्थितिले दिएजति कोसिस गर्दै उन्‍नति गरिरहौँ। सही दिशातर्फ अघि बढ्‌न अनि आफ्नो गतिलाई कायम राख्न हामीले के गर्नुपर्छ? यसपछिको लेखले हामीलाई सही प्राथमिकता तय गर्न र ‘अझ महत्त्वपूर्ण कुराहरू पक्का गर्न’ मदत गर्नेछ।—फिलि. १:९, १०.

गीत ७९ दृढ हुन सिकाऔँ!

^ अनु. 5 हामीले यहोवाको सेवा गरेको जति नै लामो समय भए तापनि हामी ख्रिष्टियनको रूपमा अझ परिपक्व हुन र उन्‍नति गर्दै जान चाहन्छौँ। प्रेषित पावलले सङ्‌गी विश्‍वासीहरूलाई कहिल्यै हरेस नखान प्रोत्साहन दिए। तिनले फिलिप्पीहरूलाई लेखेको पत्रले जीवनको दौडमा हार नमानी अघि बढिरहन हामीलाई उत्प्रेरित गर्छ। यस लेखमा हामी पावलले बताएका कुराहरू कसरी लागू गर्न सक्छौँ भनेर विचार गर्नेछौँ।

^ अनु. 11 जून १५, १९६५ अङ्‌कको प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) छापिएको “साँचो उपासना अघि बढाउन मैले पाएको भूमिका” विषयको भाइ सेकोर्डको जीवनी हेर्नुहोस्‌।

^ अनु. 13 नोभेम्बर ८, २००४ अङ्‌कको ब्यूँझनुहोस्‌!-मा छापिएको “बाल्यकालदेखि नै परमेश्‍वरलाई प्रेम गर्न सिकाइएको” विषयको भाइ मेलनिकको जीवनी हेर्नुहोस्‌।

^ अनु. 15 फिलिप्पि रोमको उपनिवेश भएकोले त्यस सहरका बासिन्दाहरूले पनि रोमी नागरिकहरूले पाउने केही अधिकार पाउँथे। त्यसैले पावलले चलाएको यो उदाहरण फिलिप्पिका ख्रिष्टियनहरूको लागि अर्थपूर्ण थियो।