सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३३

मरेकाहरूलाई जीवित पार्ने परमेश्‍वरको प्रतिज्ञामा उहाँको प्रेम, बुद्धि र धीरज झल्किन्छ

मरेकाहरूलाई जीवित पार्ने परमेश्‍वरको प्रतिज्ञामा उहाँको प्रेम, बुद्धि र धीरज झल्किन्छ

“धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्‌।”—प्रेषि. २४:१५.

गीत १५१ जिउनेछन्‌ मृतक फेरि

परिचय *

१. यहोवाले किन जीवजीवात सृष्टि गर्नुभयो?

कुनै समय पूरै ब्रह्‍माण्डमा यहोवा मात्र हुनुहुन्थ्यो। तैपनि उहाँ एक्लो हुनुहुन्‍न थियो। उहाँ हरेक पक्षमा पूर्ण हुनुहुन्थ्यो। तर परमेश्‍वर अरूले पनि जीवनको आनन्द उठाओस्‌ भन्‍ने चाहनुहुन्थ्यो। त्यसैले प्रेमले उत्प्रेरित भएर यहोवाले अरू जीवजीवात सृष्टि गर्न थाल्नुभयो।—भज. ३६:९; १ युह. ४:१९.

२. यहोवाले सबै कुरा सृष्टि गर्नुहुँदा येसु र स्वर्गदूतहरूले कस्तो महसुस गर्नुभयो?

सबैभन्दा पहिला, यहोवाले आफ्नो लागि एक जना सहकर्मी बनाउनुभयो। त्यसपछि त्यही पहिलो छोराद्वारा “अरू सबै थोक सृष्टि भए,” जसमा लाखौँलाख स्वर्गदूत पनि पर्छन्‌। (कल. १:१६) आफ्नो बुबासित मिलेर काम गर्न पाउँदा येसु खुसीले गद्‌गद हुनुभयो। (हितो. ८:३०) अनि परमेश्‍वरका छोराहरू अर्थात्‌ स्वर्गदूतहरू पनि रमाए। यहोवा र उहाँको मुख्य कारिगर येसुले स्वर्ग र पृथ्वी बनाउनुहुँदा ती स्वर्गदूतहरू मानौँ, रङ्‌गमञ्चको सबैभन्दा अगाडिको सिटमा बसेर हेरिरहेका थिए। त्यतिबेला स्वर्गदूतहरूले के गरे? पृथ्वी बनाइँदा तिनीहरूले “खुसीले जयजयकार गरे” अनि यहोवाले अन्य थोकहरू र उहाँको सबैभन्दा उत्कृष्ट सृष्टि, मानिस बनाउनुहुँदा उहाँको जयजयकार गरिरहे। (अय्यु. ३८:७; हितो. ८:३१) यी सबै सृष्टिमा यहोवाको प्रेम र बुद्धि झल्कियो।—भज. १०४:२४; रोमी १:२०.

३. पहिलो कोरिन्थी १५:२१, २२ अनुसार फिरौतीको बलिदानले गर्दा के सम्भव भयो?

यहोवा आफूले सृष्टि गरेको सुन्दर ग्रहमा मानिसहरू सधैँभरि बाँचून्‌ भन्‍ने चाहनुहुन्थ्यो। तर आदम र हव्वाले स्वर्गमा बस्नुहुने मायालु बुबाको विद्रोह गरेपछि तिनीहरू सधैँभरि बाँच्न सकेनन्‌ अनि तिनीहरूका सन्तानमा पाप र मृत्यु व्याप्त भयो। (रोमी ५:१२) तब यहोवाले के गर्नुभयो? उहाँले मानिसहरूलाई बचाउने आफ्नो उद्देश्‍यबारे उत्तिखेरै बताउनुभयो। (उत्प. ३:१५) यहोवाले फिरौतीको बलिदानको प्रबन्ध मिलाउने आफ्नो उद्देश्‍यबारे बताउनुभयो, जुन प्रबन्धले गर्दा आदम र हव्वाका सन्तानले पाप र मृत्युबाट छुटकारा पाउन सम्भव हुने थियो। तब भने उहाँको सेवा गर्न छनौट गर्ने प्रत्येक व्यक्‍तिलाई उहाँले अनन्त जीवन दिन सक्नुहुने थियो।—युह. ३:१६; रोमी ६:२३; १ कोरिन्थी १५:२१, २२ पढ्‌नुहोस्‌।

४. यस लेखमा हामी कुन-कुन प्रश्‍नबारे विचार गर्नेछौँ?

मरेकाहरूलाई जीवित पार्ने परमेश्‍वरको प्रतिज्ञाबारे हाम्रो मनमा थुप्रै प्रश्‍न उठ्‌न सक्छ। जस्तै, मरेकाहरूलाई कसरी जीवित पारिन्छ होला? हाम्रा प्रियजनहरू फेरि जीवित हुँदा के हामीले तिनीहरूलाई चिन्‍न सक्नेछौँ? मरेकाहरू जीवित हुँदा हामी आनन्दित हुने कस्ता कारणहरू हुनेछन्‌? अनि यस प्रतिज्ञामा मनन गर्दा यहोवाको प्रेम, बुद्धि र धीरजबारे के सिक्न सक्छौँ? आउनुहोस्‌, यी प्रश्‍नहरूबारे एक-एक गरेर विचार गरौँ।

मरेकाहरूलाई कसरी जीवित पारिन्छ होला?

५. मरेकाहरूलाई व्यवस्थित र क्रमिक रूपमा जीवित पारिनेछ भनेर विश्‍वास गर्नु किन मनासिब हो?

यहोवाले आफ्नो छोरामार्फत थुप्रैलाई फेरि जीवित पार्नुहुँदा तिनीहरू सबै एकैचोटि ब्युँतनेछन्‌ भनेर हामी सोच्दैनौँ होला। किन? किनभने पृथ्वीको जनसङ्‌ख्या एक्कासि बढ्‌दा भद्रगोल हुन सक्छ। अनि यहोवा कुनै पनि काम अव्यवस्थित र गोलमालपूर्ण तरिकामा गर्नुहुन्‍न। मानिसहरू शान्तिपूर्ण अवस्थामा बाँच्न सबै कुरा सुव्यवस्थित हुनुपर्छ भनेर उहाँलाई थाह छ। (१ कोरि. १४:३३) यहोवा परमेश्‍वरले येसुसित मिलेर पृथ्वीमा क्रमिक रूपमा विभिन्‍न थोक सृष्टि गर्नुभएपछि मात्र मानिस बनाउनुभयो; यसमा यहोवाको बुद्धि र धीरज देखिन्छ। हजार वर्षीय शासनको दौडान येसुले फेरि जीवित हुनेहरूको लागि पृथ्वी तयार पार्न आरमागेडोनबाट बचेकाहरूसित मिलेर काम गर्नुहुनेछ। त्यतिबेला उहाँले पनि बुद्धि र धीरज देखाउनुहुनेछ।

आरमागेडोनबाट बचेकाहरूले फेरि जीवित हुनेहरूलाई यहोवाको राज्य र उहाँका स्तरहरूबारे सिकाउनेछन्‌ (अनुच्छेद ६ हेर्नुहोस्‌) *

६. प्रेषित २४:१५ अनुसार यहोवाले कसलाई पनि जीवित पार्नुहुनेछ?

सबैभन्दा महत्त्वपूर्ण कुरा, आरमागेडोनबाट बचेकाहरूले फेरि जीवित हुनेहरूलाई यहोवाको राज्य र उहाँका स्तरहरूबारे सिकाउनुपर्नेछ। किन? किनभने फेरि जीवित हुनेहरूमध्ये अधिकांश “अधर्मी” मानिसहरू हुनेछन्‌। (प्रेषित २४:१५ पढ्‌नुहोस्‌) तिनीहरूले ख्रिष्टको फिरौतीको बलिदानबाट लाभ उठाउन थुप्रै परिवर्तन गर्नुपर्नेछ। यहोवाबारे केही पनि थाह नभएका लाखौँ मानिसलाई उहाँबारे साँचो कुरा सिकाउन कति धेरै काम गर्नुपर्नेछ होला, सोच्नुहोस्‌ त! अहिले हामीले बाइबल अध्ययन सञ्चालन गरेझैँ के त्यतिबेला प्रत्येक व्यक्‍तिलाई एक-एक जनाले सिकाउनेछ? के ती नयाँ व्यक्‍तिहरूलाई मण्डलीहरूमा खटाइनेछ अनि तिनीहरूपछि जीवित पारिनेहरूलाई सिकाउन तालिम दिइनेछ? त्यो त समयले नै बताउनेछ। तर हामीलाई योचाहिँ थाह छ, ख्रिष्टको हजार वर्षीय शासनको अन्तसम्ममा “पृथ्वी यहोवाको ज्ञानले भरिनेछ।” (यसै. ११:९) त्यो एक हजार वर्ष कत्ति व्यस्त र रमाइलो समय हुनेछ!

७. परमेश्‍वरका सेवकहरूले फेरि जीवित भएर आएकाहरूलाई सिकाउँदा किन उनीहरूको पीडा महसुस गर्न सक्नेछन्‌?

ख्रिष्टको हजार वर्षीय शासनको दौडान पृथ्वीमा बसोबास गर्ने यहोवाका सबै सेवकले उहाँलाई खुसी पार्न परिवर्तनहरू गरिरहनुपर्नेछ। त्यसैले तिनीहरूले फेरि जीवित भएर आएकाहरूलाई पापी झुकावविरुद्ध लड्‌न र यहोवाका स्तरहरूअनुसार जीवन बिताउन मदत गर्दा उनीहरूको पीडा महसुस गर्न सक्नेछन्‌। (१ पत्रु. ३:८) फेरि जीवित भएर आएकाहरू यहोवाका नम्र जनहरूतर्फ आकर्षित हुनेछन्‌ भन्‍ने कुरामा कुनै शङ्‌का छैन किनभने ती नम्र जनहरूले पनि “आफ्नो उद्धारको निम्ति . . . प्रयत्न” गरिरहेका हुनेछन्‌।—फिलि. २:१२.

फेरि जीवित भएर आउनेहरूलाई के हामीले चिन्‍न सक्नेछौँ?

८. हाम्रा प्रियजनहरू फेरि जीवित भएर आउँदा हामीले उनीहरूलाई चिन्‍न सक्नेछौँ भनेर अनुमान लगाउनु किन मनासिब छ?

हाम्रा प्रियजनहरू फेरि जीवित भएर आउँदा हामीले उनीहरूलाई चिन्‍न सक्नेछौँ भनेर अनुमान लगाउन सकिने केही कारण छन्‌। जस्तै: मरेकाहरूलाई जीवित पारिएका बाइबल विवरणहरू केलाउँदा यहोवाले मानिसहरूलाई उनीहरू मर्नुभन्दा अलिक समयअघि कस्तो देखिन्थे, कसरी बोल्थे र सोच्थे, त्यही रूपमा ब्युँताउनुहुनेछ जस्तो देखिन्छ। यो कुरा पनि याद गर्नुहोस्‌, येसुले मृत्युलाई निद्रासित अनि फेरि जीवित हुनुलाई निद्राबाट ब्युँझनुसित तुलना गर्नुभयो। (मत्ति ९:१८, २४; युह. ११:११-१३) मानिसहरू सुत्नुअघि जस्तो देखिन्छन्‌ र जसरी बोल्छन्‌, निद्राबाट ब्युँझँदा पनि उनीहरू त्यस्तै हुन्छन्‌ र उनीहरूको सम्झना पनि यथावत्‌ रहन्छ। लाजरसको उदाहरण विचार गर्नुहोस्‌। तिनी मरेको चार दिन भइसकेकोले तिनको शरीर कुहिन थालिसकेको थियो। तैपनि यहोवाले तिनलाई जीवित पार्नुहुँदा तिनका दिदीहरूले चिनिहाले अनि लाजरसले पनि तिनीहरूलाई बिर्सेका थिएनन्‌।—युह. ११:३८-४४; १२:१, २.

९. मरेकाहरू किन त्रुटिरहित दिमाग र शरीरसहित जीवित हुनेछैनन्‌?

ख्रिष्टको शासनमा कसैले पनि “म बिरामी छु” भन्‍नेछैन भनी यहोवाले प्रतिज्ञा गर्नुभएको छ। (यसै. ३३:२४; रोमी ६:७) त्यसैले मरेकाहरूलाई जीवित पारिँदा तिनीहरू स्वस्थ शरीरसहित ब्युँतनेछन्‌। तर तिनीहरू तुरुन्तै त्रुटिरहित भने हुनेछैनन्‌। यदि त्यसो भयो भने त तिनीहरूका प्रियजनहरूले तिनीहरूलाई चिन्‍नेछैनन्‌। ख्रिष्टको हजार वर्षीय शासनको दौडान सबै मानिस बिस्तारै त्रुटिरहित अवस्थामा पुग्नेछन्‌ जस्तो देखिन्छ। हजार वर्षीय शासनको अन्तमा मात्र येसुले आफ्नो बुबालाई उहाँको राज्य सुम्पनुहुनेछ। त्यतिन्जेल परमेश्‍वरको राज्यले आफ्नो सबै काम पूरा गरिसकेको हुनेछ, जसमा सबै मानिसलाई त्रुटिरहित अवस्थामा पुऱ्‍याउनु पनि समावेश छ।—१ कोरि. १५:२४-२८; प्रका. २०:१-३.

मरेकाहरू जीवित हुँदा हामी आनन्दित हुने कस्ता कारणहरू हुनेछन्‌?

१०. मरेकाहरू जीवित हुँदा तपाईँले कस्तो महसुस गर्नुहुनेछ?

१० मरेका प्रियजनहरूसित फेरि भेट्‌न पाउँदा कस्तो होला, कल्पना गर्नुहोस्‌ त! तपाईँ खुसीले हाँस्नुहुनेछ कि रुनुहुनेछ? के तपाईँ यहोवाको प्रशंसा गर्दै गीत गाउन थाल्नुहुनेछ? एउटा कुरा भने पक्का छ, मरेकाहरूलाई फेरि भेट्‌न पाउने अनमोल आशा दिनुभएकोमा हाम्रा मायालु बुबा र उहाँको निःस्वार्थी छोराप्रति तपाईँको हृदय अपार प्रेमले भरिनेछ।

११. युहन्‍ना ५:२८, २९ मा येसुले भन्‍नुभएअनुसार परमेश्‍वरको धार्मिक स्तरअनुसार जीवन बिताउनेहरूले के पाउनेछन्‌?

११ फेरि जीवित भएकाहरूले आफ्नो पुरानो व्यक्‍तित्वलाई फुकालेर परमेश्‍वरको धार्मिक स्तरअनुसार जीवन बिताउन थाल्दा कत्ति आनन्दित महसुस गर्नेछन्‌, कल्पना गर्नुहोस्‌! यस्तो परिवर्तन गर्ने व्यक्‍तिहरूले प्रमोदवनमा सधैँभरि बाँच्न पाउनेछन्‌। तर परिवर्तन गर्न नचाहने व्यक्‍तिहरूलाई प्रमोदवनमा सधैँभरि बाँच्न र त्यसको शान्ति भङ्‌ग गर्न दिइनेछैन।—यसै. ६५:२०; युहन्‍ना ५:२८, २९ पढ्‌नुहोस्‌।

१२. यहोवाले कुन तरिकामा पृथ्वीका सबैलाई आशिष्‌ दिनुहुनेछ?

१२ परमेश्‍वरको राज्यले शासन गर्न थालेपछि उहाँका सबै सेवकले हितोपदेश १०:२२ का यी शब्दहरूको सत्यता अनुभव गर्नेछन्‌: “यहोवाको आशिष्‌ले मानिसलाई धनी बनाउँछ; उहाँले त्योसँगै कुनै दुःख पठाउनुहुन्‍न।” यहोवाको पवित्र शक्‍तिको मदत पाएर उहाँका सेवकहरू आध्यात्मिक तवरमा धनी हुनेछन्‌; मतलब, तिनीहरू झन्‌झन्‌ ख्रिष्टजस्तै हुनेछन्‌ र त्रुटिरहित अवस्थातर्फ अघि बढ्‌नेछन्‌। (युह. १३:१५-१७; एफि. ४:२३, २४) हरेक दिन तिनीहरू अझ बलियो र असल हुँदै जानेछन्‌। त्यतिबेला जीवन कत्ति आनन्दमय हुनेछ! (अय्यु. ३३:२५) तर मरेकाहरू जीवित हुने परमेश्‍वरको प्रतिज्ञाबारे मनन गर्दा तपाईँलाई अहिले कस्तो फाइदा हुन्छ?

यहोवाको प्रेमबारे के सिक्न सक्छौँ?

१३. भजन १३९:१-४ अनुसार यहोवा हामीलाई राम्ररी चिन्‍नुहुन्छ भनेर उहाँले हामीलाई फेरि जीवित पार्नुहुँदा कसरी देखिनेछ?

१३ हामीले अघिल्ला अनुच्छेदहरूमा छलफल गरेझैँ यहोवाले मरेकाहरूलाई जीवित पार्नुहुँदा तिनीहरूको सम्झना र व्यक्‍तित्व पहिलाको जस्तै बनाइदिनुहुनेछ। यसको अर्थबारे एकछिन सोच्नुहोस्‌ त! यहोवा तपाईँलाई असाध्यै माया गर्नुहुन्छ। त्यसैले तपाईँ के सोच्नुहुन्छ, कस्तो महसुस गर्नुहुन्छ, के भन्‍नुहुन्छ र के गर्नुहुन्छ, त्यो यहोवाले याद गरिरहनुभएको छ र उहाँ ती कुराहरू कहिल्यै बिर्सनुहुन्‍न। त्यसैले तपाईँलाई फेरि जीवित पार्दा तपाईँको सम्झना, मनोवृत्ति र व्यक्‍तित्व पहिलाको जस्तै बनाइदिन उहाँलाई पटक्कै गाह्रो हुनेछैन। राजा दाउदलाई यहोवा हामी प्रत्येकमा असाध्यै चासो राख्नुहुन्छ भनेर राम्ररी थाह थियो। (भजन १३९:१-४ पढ्‌नुहोस्‌) यहोवाले हामीलाई राम्ररी चिन्‍नुहुन्छ भनेर थाह पाउँदा हामी कस्तो महसुस गर्छौँ?

१४. यहोवालाई हाम्रो एक-एक कुरा थाह छ भनेर सोच्दा हामी कस्तो महसुस गर्छौँ?

१४ यहोवालाई हाम्रो एक-एक कुरा थाह छ भनेर सोच्दा हामी चिन्तित हुनु पर्दैन। किन? यहोवा हामीमा असाध्यै चासो राख्नुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। उहाँ हामी प्रत्येकसित भएका गुणहरूको कदर गर्नुहुन्छ, जुन हाम्रो चिनारी बनेको छ। हामीले जीवनमा भोगेका के-कस्ता अनुभवले हामीलाई आकार दिएको छ, त्यो उहाँ याद गर्नुहुन्छ। यो कुरा थाह पाउँदा हामी कत्ति ढुक्क महसुस गर्छौँ! हामीले कहिल्यै पनि एक्लो महसुस गर्नु पर्दैन। हरेक दिन हरेक पल यहोवा हामीसँगै हुनुहुन्छ र हामीलाई मदत गर्न मौका खोज्दै हुनुहुन्छ।—२ इति. १६:९.

यहोवाको बुद्धिबारे के सिक्न सक्छौँ?

१५. फेरि जीवित हुने आशा दिनुभएर यहोवाले कसरी बुद्धि देखाउनुभएको छ?

१५ मृत्युको डर एकदमै शक्‍तिशाली हतियार हो। सैतानको वशमा परेका मानिसहरूले यही डरलाई चलाएर हामीलाई आफ्ना साथीहरूलाई धोका दिने वा विश्‍वास त्याग्न लगाउने दबाब दिन सक्छन्‌। तर हामीविरुद्ध त्यो हतियार बेकामको हुनेछ। किनभने हामीलाई थाह छ, शत्रुहरूले हामीलाई मारे तापनि यहोवाले हामीलाई फेरि जीवित पार्नुहुनेछ। (प्रका. २:१०) कुनै पनि कुराले यहोवासितको हाम्रो मित्रता तोड्‌न सक्दैन भनेर हामी विश्‍वस्त छौँ। (रोमी ८:३५-३९) हामीलाई फेरि जीवित हुने आशा दिनुभएर यहोवाले कस्तो अतुलनीय बुद्धि देखाउनुभएको छ! यही आशालाई चलाएर उहाँ सैतानको सबैभन्दा शक्‍तिशाली हतियारलाई बेकामको तुल्याइदिनुहुन्छ र हामीलाई बलियो हतियारको रूपमा अदम्य साहस दिनुहुन्छ।

के हाम्रा निर्णयहरूबाट यहोवाले हाम्रा भौतिक आवश्‍यकताहरू पूरा गर्नुहुनेछ भन्‍ने उहाँको प्रतिज्ञामा भरोसा गरेको देखिन्छ? (अनुच्छेद १६ हेर्नुहोस्‌) *

१६. तपाईँले आफूलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ? ती प्रश्‍नहरूको जवाफले तपाईँ यहोवामा कत्तिको भरोसा राख्नुहुन्छ भनेर बुझ्न कसरी मदत गर्न सक्छ?

१६ यहोवाका शत्रुहरूले तपाईँलाई मार्ने धम्की दिए भने के तपाईँ यहोवाले फेरि जीवित पार्नुहुनेछ भनेर भरोसा गर्नुहुनेछ? आफूमा यस्तो भरोसा छ कि छैन भनेर तपाईँ कसरी थाह पाउन सक्नुहुन्छ? एउटा तरिका भनेको आफूलाई यो प्रश्‍न सोध्नु हो, ‘के मैले हरेक दिन गर्ने ससाना निर्णयहरूबाट म यहोवामाथि भरोसा राख्छु भन्‍ने देखिन्छ?’ (लुका १६:१०) अर्को प्रश्‍न हो, ‘मैले यहोवाको राज्यलाई पहिलो स्थान दिएँ भने उहाँले मेरा भौतिक आवश्‍यकताहरू पूरा गरिदिनुहुनेछ भनेर भरोसा गरेको के मेरो जीवनशैलीबाट देखिन्छ?’ (मत्ति ६:३१-३३) यदि यी प्रश्‍नहरूको सकारात्मक जवाफ दिनुहुन्छ भने तपाईँ यहोवामा भरोसा राख्नुहुन्छ भनेर प्रमाणित हुन्छ र तपाईँ जस्तोसुकै परीक्षाको सामना गर्न तयार हुनुहुनेछ।—हितो. ३:५, ६.

यहोवाको धीरजबारे के सिक्न सक्छौँ?

१७. (क) मरेकाहरूलाई जीवित पार्ने यहोवाको प्रतिज्ञामा कसरी उहाँको धीरज देखिन्छ? (ख) यहोवाले धीरज देखाउनुभएकोमा उहाँप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ?

१७ यस दुष्ट संसारको विनाश गर्न यहोवाले निश्‍चित दिन र समय तोक्नुभएको छ। (मत्ति २४:३६) उहाँ अधीर भएर तोकिएको समयभन्दा पहिल्यै कदम चाल्नुहुनेछैन। उहाँ मरेकाहरूलाई जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ तर उहाँ धैर्य गर्दै हुनुहुन्छ। (अय्यु. १४:१४, १५) उहाँ मरेकाहरूलाई जीवित पार्ने उपयुक्‍त समय पर्खँदै हुनुहुन्छ। (युह. ५:२८) यहोवाले धीरज देखाउनुभएकोमा उहाँप्रति कृतज्ञ हुनुपर्ने थुप्रै कारण छन्‌। एकछिन सोच्नुहोस्‌ त, यहोवा धीरजी हुनुभएकोले थुप्रैले “पश्‍चात्ताप” गर्ने मौका पाएका छन्‌, जसमा हामी पनि पर्छौँ। (२ पत्रु. ३:९) यहोवा सकेसम्म धेरै मानिसले अनन्त जीवन पाएको चाहनुहुन्छ। त्यसैले यहोवाको धीरजको लागि उहाँप्रति कृतज्ञ भएको देखाऔँ। कसरी? “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका व्यक्‍तिहरूलाई जोडतोडले खोजेर अनि यहोवालाई प्रेम गर्न र उहाँको सेवा गर्न तिनीहरूलाई मदत गरेर। (प्रेषि. १३:४८) यसो गऱ्‍यौँ भने हामीले जस्तै तिनीहरूले पनि यहोवाको धीरजबाट लाभ उठाउनेछन्‌।

१८. हामी किन अरूप्रति धीरजी हुनुपर्छ?

१८ हजार वर्षीय शासनको अन्तमा हामी त्रुटिरहित अवस्थामा नपुगुन्जेल यहोवा धीरजी हुँदै पर्खनुहुन्छ। त्यतिन्जेल उहाँ हाम्रा पापहरू क्षमा गर्न इच्छुक हुनुहुन्छ। त्यसैले हामीले पनि अरूमा भएका राम्रा गुणहरू हेर्नुपर्छ र तिनीहरूप्रति धीरजी हुनुपर्छ। एउटी बहिनीको अनुभव विचार गर्नुहोस्‌, जसको श्रीमान्‌लाई एक प्रकारको मानसिक समस्याले (एङ्‌जाइटी अट्‌याक) सताउन थाल्यो र तिनी सभा जान छोडे। ती बहिनी भन्छिन्‌, “यो अवस्था मेरो लागि असाध्यै पीडादायी थियो। हामीले परिवारको लागि बनाएको सबै योजना चकनाचुर भयो।” यसको बाबजुद यी मायालु श्रीमती आफ्नो श्रीमान्‌प्रति धीरजी भइन्‌। उनले यहोवामा भरोसा राखिन्‌ र कहिल्यै हरेस खाइनन्‌। उनी समस्यामा घोरिएर बस्नुको साटो यहोवाले जस्तै आफ्नो श्रीमान्‌का राम्रा गुणहरूमा ध्यान दिइन्‌। उनी भन्छिन्‌, “मेरो श्रीमान्‌सित राम्रा-राम्रा गुणहरू छन्‌ र उहाँ निको हुन प्रयास गर्दै हुनुहुन्छ।” त्यसैले कुनै कठिन परिस्थितिसित सङ्‌घर्ष गरिरहेका हाम्रो परिवारको सदस्य वा मण्डलीका भाइबहिनीप्रति धीरजी हुनु कत्ति महत्त्वपूर्ण छ!

१९. हामीले कस्तो सङ्‌कल्प गर्नुपर्छ?

१९ पृथ्वी सृष्टि गरिँदा येसु र स्वर्गदूतहरू रमाउनुभएको थियो। यहोवालाई प्रेम गर्ने र उहाँको सेवा गर्ने त्रुटिरहित मानिसहरूले पृथ्वी भरिएको देख्दा उहाँहरू झन्‌ कत्ति खुसी हुनुहोला, कल्पना गर्नुहोस्‌ त! ख्रिष्टसित स्वर्गमा शासन गर्न पृथ्वीबाट किनिएकाहरूले आफ्नो कामबाट मानिसहरूलाई फाइदा पुगिरहेको देख्दा उनीहरू कत्ति आनन्दित हुनेछन्‌, कल्पना गर्नुहोस्‌! (प्रका. ४:४, ९-११; ५:९, १०) पीडाको आँसुको साटो हर्षको आँसु बग्दा अनि बिमारी, दुःख र मृत्यु सदाको लागि बितेर जाँदा जीवन कस्तो होला, त्यो पनि कल्पना गर्नुहोस्‌! (प्रका. २१:४) त्यतिन्जेल हाम्रा मायालु, बुद्धिमान्‌ र धीरजी बुबाको अनुकरण गरिरहने सङ्‌कल्प गर्नुहोस्‌। त्यसो गर्नुभयो भने जस्तोसुकै परीक्षा भोग्नुपरे तापनि तपाईँले आफ्नो आनन्द गुमाउनुहुनेछैन। (याकु. १:२-४) यहोवाले मरेकाहरू “फेरि जीवित हुनेछन्‌” भन्‍ने प्रतिज्ञा गर्नुभएकोमा हामी कत्ति कृतज्ञ हुन सक्छौँ!—प्रेषि. २४:१५.

गीत १४१ जीवन—एउटा चमत्कार

^ अनु. 5 यहोवा मायालु, बुद्धिमान्‌ र धीरजी बुबा हुनुहुन्छ। उहाँले बनाउनुभएका सबै कुरामा र मरेकाहरूलाई जीवित पार्ने उहाँको प्रतिज्ञामा यी गुणहरू देख्न सक्छौँ। यस लेखमा मानिसहरू फेरि जीवित हुने सन्दर्भमा हाम्रो मनमा उठ्‌न सक्ने केही प्रश्‍नबारे छलफल गर्नेछौँ। अनि यहोवाले देखाउनुभएको प्रेम, बुद्धि र धीरजप्रति कसरी कृतज्ञता देखाउन सक्छौँ भनेर विचार गर्नेछौँ।

^ अनु. 59 चित्रको व्याख्या: सयौँ वर्षअघि मरेका एक मानिस ख्रिष्टको हजार वर्षीय शासनको दौडान फेरि जीवित भएका छन्‌। जिउँदै आरमागेडोन पार गरेका एक भाइ ती मानिसलाई ख्रिष्टको फिरौतीको बलिदानबाट लाभ उठाउन के गर्नुपर्छ भनेर सिकाउँछन्‌।

^ अनु. 61 चित्रको व्याख्या: एक भाइ आफ्ना हाकिमलाई हप्ताको केही दिन ओभरटाइम गर्न नसक्ने बताउँछन्‌। ती दिनहरू आफूले यहोवाको उपासनासित सम्बन्धित गतिविधिमा भाग लिन छुट्ट्याएको कुरा तिनी बुझाउँछन्‌। तर जरुरी पर्दा अरू बेला भने थप काम गर्न इच्छुक भएको बताउँछन्‌।