अध्ययन लेख ३२
किशोरकिशोरी हो, बप्तिस्मापछि पनि प्रगति गरिरहनुहोस्
“हामी प्रेमद्वारा सबै कुरामा बढ्दै जाऔँ।”—एफि. ४:१५.
गीत ५६ सत्यमै जिउनू
परिचय *
१. थुप्रै किशोरकिशोरीले बप्तिस्मा गर्ने लक्ष्यसम्म पुग्न के-के गरेका छन्?
हरेक वर्ष हजारौँ किशोरकिशोरीले बप्तिस्मा गर्छन्। के तपाईँले पनि बप्तिस्मा गरिसक्नुभयो? गरिसक्नुभयो भने तपाईँको यस निर्णयमा मण्डलीका भाइबहिनी पक्कै खुसी छन् र यहोवा पनि खुसी हुनुहुन्छ। (हितो. २७:११) बप्तिस्मा गर्ने लक्ष्यसम्म पुग्न तपाईँले के-के गर्नुभयो, त्यसबारे एकछिन सोच्नुहोस्। तपाईँले सायद केही वर्ष लगनशील भई बाइबलको अध्ययन गर्नुभयो। यसो गरेर तपाईँ बाइबल परमेश्वरको वचन हो भन्ने कुरामा विश्वस्त हुनुभयो। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा तपाईँले बाइबलको ग्रन्थकार यहोवालाई चिन्नुभयो र उहाँलाई प्रेम गर्न थाल्नुभयो। यहोवाप्रतिको प्रेम बढ्दै गएपछि तपाईँले उहाँमा आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा गर्ने निर्णय गर्नुभयो। कत्ति राम्रो निर्णय!
२. यस लेखमा हामी के छलफल गर्नेछौँ?
२ बप्तिस्मा गर्ने लक्ष्यसम्म पुग्ने क्रममा तपाईँले थुप्रै परीक्षाको सामना गर्नुभयो होला। तर हुर्कँदै जाँदा तपाईँले अरू परीक्षाहरूको पनि सामना गर्नुपर्नेछ। सैतानले तपाईँलाई यहोवालाई प्रेम गर्न र उहाँको सेवा गर्नदेखि रोक्न खोज्नेछ। (एफि. ४:१४) तर तपाईँ त्यसको दबाबमा पर्नु हुँदैन। यहोवाप्रति वफादार रहन र आफ्नो समर्पणको वाचा पूरा गर्न तपाईँले के गर्नुपर्छ? तपाईँ ‘परिपक्वतातर्फ अघि बढिरहनुपर्छ’ अर्थात् प्रगति गरिरहनुपर्छ। (हिब्रू ६:१) तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ?
तपाईँ कसरी प्रगति गरिरहन सक्नुहुन्छ?
३. बप्तिस्मापछि पनि सबै ख्रिष्टियनले के गरिरहनुपर्छ?
३ बप्तिस्मापछि हामी सबैले प्रेषित पावलले एफिससका ख्रिष्टियनहरूलाई दिएको सल्लाह पालन गर्नुपर्छ। तिनले उनीहरूलाई “पूरै हुर्किसकेको” ख्रिष्टियन बन्न प्रोत्साहन दिए। (एफि. ४:१३) यसको अर्थ उनीहरूले प्रगति गरिरहनुपर्थ्यो। पावलले आध्यात्मिक प्रगतिलाई शारीरिक वृद्धिसित तुलना गरे। किन? आमाबुबाले आफ्नो नवजात शिशुलाई धेरै माया गर्छ र ऊदेखि खुसी हुन्छ। तर ऊ सधैँ बच्चै भएर बस्न त पाउँदैन। समय बित्दै जाँदा उसले “बालकजस्तो हुन” छोड्नुपर्छ। (१ कोरि. १३:११) ख्रिष्टियनहरूबारे पनि त्यसै भन्न सकिन्छ। बप्तिस्मापछि पनि हामीले प्रगति गरिरहनुपर्छ। आउनुहोस्, यसो गर्न मदत दिने केही सुझाव छलफल गरौँ।
४. आध्यात्मिक प्रगति गर्न तपाईँलाई कुन गुणले मदत गर्छ? व्याख्या गर्नुहोस्। (फिलिप्पी १:९)
४ यहोवाप्रतिको प्रेम बढाउँदै लैजानुहोस्। तपाईँ पक्कै पनि यहोवालाई धेरै प्रेम गर्नुहुन्छ। तर तपाईँ यो प्रेमलाई बढाउँदै लैजान सक्नुहुन्छ। कसरी? प्रेषित पावलले त्यसो गर्ने तरिका फिलिप्पी १:९ मा बताए। (पढ्नुहोस्।) तिनले फिलिप्पीका ख्रिष्टियनहरूको यहोवाप्रतिको “प्रेम झन्झन् बढ्दै जाओस्” भनेर प्रार्थना गरे। यसबाट हामी पनि यहोवाप्रतिको प्रेम बढाउन सक्छौँ भनेर स्पष्ट हुन्छ। यसको लागि हामीले “सही ज्ञान र पूर्ण समझ” हासिल गर्नुपर्छ। हामी यहोवालाई जत्ति राम्ररी चिन्दै जान्छौँ, उहाँप्रतिको प्रेम पनि त्यत्ति नै बढ्दै जान्छ। साथै उहाँको व्यक्तित्व र तौरतरिकाको अझ धेरै कदर गर्न सक्नेछौँ। अनि उहाँलाई खुसी बनाउने हाम्रो इच्छा बढ्दै जान्छ र उहाँलाई मन नपर्ने कुराहरूदेखि टाढै बस्ने सङ्कल्प पनि बलियो हुन्छ। उहाँको इच्छा के हो र कसरी त्यसअनुसार चल्न सक्छौँ भनेर बुझ्न हामी सक्दो प्रयास गर्छौँ।
५-६. हामी यहोवाप्रतिको प्रेम कसरी बढाउन सक्छौँ? व्याख्या गर्नुहोस्।
५ येसुलाई राम्रोसँग चिनेर हामी यहोवाप्रतिको प्रेम बढाउन सक्छौँ किनकि येसुले आफ्नो बुबाको व्यक्तित्व हुबहु झल्काउनुभयो। (हिब्रू १:३) येसुलाई चिन्ने सबैभन्दा राम्रो तरिका भनेको सुसमाचारका चार वटा किताब अध्ययन गर्नु हो। यदि तपाईँले दिनदिनै बाइबल पढ्ने बानी बसाल्नुभएको छैन भने आजदेखि नै सुरु गर्दा कसो होला? येसुको जीवनी अध्ययन गर्दा उहाँका गुणहरूमा विशेष ध्यान दिनुहोस्। उहाँ नजिकिन सजिलो हुनुहुन्थ्यो, त्यसैले मानिसहरू उहाँकहाँ जान हिचकिचाउँदैनथे। उहाँ साना केटाकेटीलाई अङ्गालोमा लिनुहुन्थ्यो। (मर्कु. १०:१३-१६) उहाँका चेलाहरू उहाँलाई आफ्नो मनमा लागेको कुरा बताउन अप्ठ्यारो मान्दैनथे। (मत्ति १६:२२) यहोवा पनि नजिकिन सजिलो हुनुहुन्छ। हामी प्रार्थनामार्फत उहाँसामु जान सक्छौँ र उहाँलाई आफ्नो मनमा लागेको सबै कुरा पोखाउन सक्छौँ। हाम्रो कुरा सुनेर उहाँले हामीलाई दोषी ठहराउनुहुनेछैन। उहाँ हामीलाई माया गर्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ।—१ पत्रु. ५:७.
६ येसु मानिसहरूको अवस्था देखेर दयाले भरिनुहुन्थ्यो। प्रेषित मत्ति यसो भन्छन्: “भीडलाई देखेर उहाँ टिठाउनुभयो किनभने तिनीहरू छाला काढिएका अनि गोठालो नभएर तितरबितर भएका भेडाहरूजस्ता थिए।” (मत्ति ९:३६) यहोवाचाहिँ त्यस्ता मानिसहरू देख्दा कस्तो महसुस गर्नुहुन्छ? येसुले यसो भन्नुभयो: “स्वर्गमा बस्नुहुने मेरा बुबा यी सानाहरूमध्ये एउटाले पनि बाटो बिराएको चाहनुहुन्न।” (मत्ति १८:१४) कस्तो मनै छुने कुरा! येसुलाई चिन्दै जाँदा यहोवाप्रतिको हाम्रो प्रेम पनि बढ्दै जान्छ।
७. परिपक्व ख्रिष्टियनहरूसँग सङ्गत गर्दा तपाईँलाई कस्तो फाइदा हुन्छ?
७ मण्डलीका परिपक्व भाइबहिनीलाई चिनेर पनि तपाईँ अझ मायालु र परिपक्व ख्रिष्टियन बन्न सक्नुहुन्छ। तिनीहरू कत्ति आनन्दित छन् भन्ने कुरा याद गर्नुहोस्। यहोवाको सेवा गर्ने छनौट गरेकोमा तिनीहरूलाई कुनै पछुतो छैन। तिनीहरूलाई यहोवाको सेवामा बटुलेका अनुभवहरू बताउन आग्रह गर्नुहोस्। महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा तिनीहरूसँग सल्लाह माग्नुहोस् किनभने “धेरै जनासँग सल्लाह लिँदा सफलता मिल्छ।”—हितो. ११:१४.
८. बाइबलको कुनै शिक्षामा शङ्का उब्जिँदा तपाईँले के गर्नुपर्छ?
८ आफ्ना शङ्काहरू हटाउनुहोस्। अनुच्छेद २ मा बताइएझैँ सैतानले तपाईँलाई आध्यात्मिक प्रगति गर्नदेखि रोक्न खोज्छ। त्यसले त्यसो गर्ने एउटा तरिका भनेको बाइबलका केही शिक्षामा शङ्का उब्जाएर हो। जस्तै, कसै-कसैले तपाईँलाई परमेश्वरको अनादर गर्ने क्रमविकासको शिक्षा सही हो भनेर विश्वास दिलाउन खोज्छ। सानो छँदा सायद तपाईँलाई यसबारे थाह थिएन होला। तर अहिले तपाईँलाई स्कुलमा यसबारे पढाइन्छ। शिक्षकहरूले क्रमविकासबारे भनेका कुराहरू तपाईँलाई तर्कसङ्गत लाग्न सक्छ। तर तिनीहरूले सृष्टिकर्ताको अस्तित्वबारे कहिल्यै पनि गम्भीरतापूर्वक नसोचेका हुन सक्छन्। हितोपदेश १८:१७ मा पाइने यो सिद्धान्त विचार गर्नुहोस्: “मुद्दामामिलामा विपक्षी आएर केरकार नगरुन्जेल सुरुमा मुद्दा हाल्ने पक्ष नै सही देखिन्छ।” त्यसैले स्कुलमा सिकाइने सबै कुरामा आँखा चिम्लेर विश्वास गर्नुको सट्टा बाइबलमा पाइने सत्यहरू होसियारीपूर्वक अध्ययन गर्नुहोस्। हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्। विगतमा क्रमविकासमा विश्वास गरेका भाइबहिनीसँग कुरा गर्नुहोस्। मायालु सृष्टिकर्ता हुनुहुन्छ भनेर तिनीहरू किन विश्वस्त हुन सके भनेर सोध्नुहोस्। यस्तो उत्थानदायी कुराकानीले तपाईँलाई सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा विश्वस्त हुन मदत गर्छ।
९. मेलिसाको अनुभवबाट तपाईँले के सिक्नुभयो?
९ मेलिसाले सृष्टिको विषयमा अनुसन्धान गरेर आफ्नो शङ्का हटाउन सकिन्। * तिनी भन्छिन्: “स्कुलमा क्रमविकासको शिक्षा साँच्चै सत्य हो जस्तो लाग्ने गरी पढाइन्छ। क्रमविकासको शिक्षा नै सही लाग्यो भने के गर्ने भन्ने डरले गर्दा सुरुमा त मैले यसबारे अनुसन्धानै गर्न चाहिनँ। तर हामीले यहोवामा अन्धाधुन्ध विश्वास गरेको उहाँ चाहनुहुन्न भनेर मलाई थाह थियो। त्यसैले मैले अनुसन्धान गर्न थालेँ।” तिनले के तपाईँको चासो राख्ने सृष्टिकर्ता हुनुहुन्छ? (अङ्ग्रेजी) किताब अनि जीवन सृष्टि कि संयोग? र जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्न पुस्तिकाहरू पढिन्। तिनी भन्छिन्: “ती प्रकाशनहरूमा मैले खोजेकै कुरा भेट्टाएँ। मैले किन पहिल्यै यसरी अनुसन्धान गरिनँ जस्तो लाग्यो।”
१०-११. नैतिक रूपमा स्वच्छ रहन केले मदत गर्छ? (१ थिस्सलोनिकी ४:३, ४)
१० खराब आचरणलाई तिरस्कार गर्नुहोस्। किशोरावस्थामा यौनइच्छा एकदमै तीव्र हुन्छ र तपाईँलाई अवैध यौनसम्बन्ध राख्ने दबाब पनि आउन सक्छ। तपाईँ त्यस्तो कुइच्छाको वशमा परेको सैतान चाहन्छ। त्यसोभए तपाईँ कसरी नैतिक रूपमा स्वच्छ रहन सक्नुहुन्छ? (१ थिस्सलोनिकी ४:३, ४ पढ्नुहोस्।) प्रार्थनामा आफूले महसुस गरिरहेको कुरा यहोवालाई बताउनुहोस् र त्यस्तो कुइच्छालाई तिरस्कार गर्न बल माग्नुहोस्। (मत्ति ६:१३) नबिर्सनुहोस्, यहोवा तपाईँलाई दोषी ठहऱ्याएर सजाय दिन चाहनुहुन्न बरु मदत गर्न चाहनुहुन्छ। (भज. १०३:१३, १४) तपाईँ परमेश्वरको वचनबाट पनि मदत पाउन सक्नुहुन्छ। अगाडि उल्लेख गरिएकी मेलिसाले अनैतिक सोचाइ हटाउन निकै सङ्घर्ष गरिन्। तिनी भन्छिन्: “दिनदिनै बाइबल पढ्दा मैले त्यस्ता कुइच्छाहरूसित लडिरहन बल पाएँ। बाइबल पढाइले मलाई आफ्नो जीवन यहोवामा समर्पण गरेकी छु र उहाँकै सेवा गर्न चाहन्छु भनेर सम्झन मदत गऱ्यो।”—भज. ११९:९.
११ आफ्ना समस्याहरू एक्लैले समाधान गर्न नखोज्नुहोस्। बरु त्यसबारे आमाबुबासित कुरा गर्नुहोस्। हुनत अरूलाई आफ्नो व्यक्तिगत कुराहरू बताउन सजिलो हुँदैन। तैपनि त्यसो गर्नु महत्त्वपूर्ण छ। मेलिसा भन्छिन्: “मैले साहसको लागि प्रार्थना गरेँ अनि ड्याडीसित आफ्नो समस्याबारे कुरा गरेँ। त्यसपछि बल्ल मेरो मन शान्त भयो। मैले यस्तो कदम चालेकोमा यहोवा पक्कै खुसी हुनुहुन्छ।”
१२. तपाईँ कसरी सही निर्णय गर्न सक्नुहुन्छ?
१२ बाइबल सिद्धान्तअनुसार चल्नुहोस्। हुर्कँदै जाँदा आमाबुबाले तपाईँलाई आफै निर्णय गर्न अझ स्वतन्त्रता दिनेछन्। तर तपाईँले जीवनमा थाह पाउनुपर्ने कुराहरू अझै बाँकी छ। त्यसैले तपाईँबाट गल्ती हुन सक्छ र यहोवासितको सम्बन्ध बिग्रन सक्छ। त्यसो हुन नदिन तपाईँ के गर्न सक्नुहुन्छ? (हितो. २२:३) केरीलाई सही निर्णय गर्न केले मदत गऱ्यो, विचार गर्नुहोस्। परिपक्व ख्रिष्टियनहरू हरेक कुराको लागि नियम खोज्दैनन् भनेर तिनले बुझिन्। तिनी भन्छिन्: “मैले नियम खोज्नुभन्दा बाइबलको सिद्धान्त बुझ्नु आवश्यक थियो।” बाइबल पढ्दा आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘यस विवरणले यहोवाको सोचाइबारे के भन्छ? यसमा मैले लागू गर्न सक्ने कुनै सिद्धान्त छ कि? छ भने त्यो सिद्धान्त लागू गर्दा मलाई कस्तो फाइदा हुन्छ?’ (भज. १९:७; यसै. ४८:१७, १८) बाइबल पढ्दा र त्यसमा भएका सिद्धान्तहरू लागू गर्दा यहोवालाई खुसी तुल्याउने निर्णय गर्न सजिलो हुनेछ। परिपक्व हुँदै जाँदा हरेक कुराको लागि नियम नचाहिने रहेछ भनेर तपाईँले बुझ्नुहुनेछ। किनभने तपाईँलाई ती कुराहरूप्रति यहोवाको सोचाइ थाह हुन्छ।
१३. असल साथीहरूले तपाईँलाई कसरी मदत गर्न सक्छन्? (हितोपदेश १३:२०)
१३ यहोवालाई प्रेम गर्ने साथीहरू रोज्नुहोस्। माथि उल्लेख गरिएझैँ तपाईँले रोज्नुभएका साथीहरूले तपाईँलाई परिपक्व ख्रिष्टियन बन्न मदत गर्न सक्छन्। (हितोपदेश १३:२० पढ्नुहोस्।) सारा बहिनी यहोवाको सेवामा आनन्दित हुन सकिरहेकी थिइनन्। तर पछि तिनले परिपक्व साथीहरूको मदत पाइन्। तिनी भन्छिन्: “मैले चाहिएकै समयमा असल साथीहरू पाएँ। म हरेक हप्ता मण्डलीको एक जवान बहिनीसँगै प्रहरीधरहरा तयारी गर्थेँ। अनि अर्को साथीले चाहिँ मलाई सभामा टिप्पणी दिन मदत गरिन्। साथीहरूको मदतले गर्दा मैले व्यक्तिगत अध्ययन र प्रार्थना गर्ने राम्रो बानी बसाल्न सकेँ। मैले यहोवासित बलियो सम्बन्ध गाँस्न सकेँ अनि फेरि आनन्दित हुन सकेँ।”
१४. जुलियनले कसरी असल साथीहरू बनाए?
१४ तपाईँ कसरी असल साथीहरू बनाउन सक्नुहुन्छ? अहिले एल्डरको रूपमा सेवा गरिरहेका जुलियन यसो भन्छन्: “सानो छँदा मण्डलीका दाइदिदीहरूसित साक्षीकार्यमा भाग लिएर उहाँहरूलाई साथी बनाएँ। उहाँहरू जोसिलो हुनुहुन्थ्यो। उहाँहरूले मलाई साक्षीकार्य कत्ति रमाइलो छ भनेर बुझ्न मदत गर्नुभयो। त्यसपछि पूर्ण-समय सेवालाई मैले आफ्नो लक्ष्य बनाएँ। मेरो असल साथीहरू धेरै नहुनुको एउटा कारण मैले आफ्नै उमेरकाहरूलाई मात्र साथी बनाएकोले हो भनेर याद गरेँ। पछि मैले बेथेलका भाइबहिनीलाई पनि साथी बनाएँ। उहाँहरूको उदाहरणले मलाई सही मनोरञ्जन रोज्न मदत गऱ्यो। यसले गर्दा म यहोवासित अझ घनिष्ठ हुन सकेँ।”
१५. सङ्गतबारे पावलले तिमोथिलाई कस्तो चेतावनी दिए? (२ तिमोथि २:२०-२२)
१५ मण्डलीका कोही-कोहीसित सङ्गत गर्दा यहोवासितको सम्बन्ध बिग्रन्छ जस्तो लाग्यो भने तपाईँले के गर्नुपर्छ? प्रथम शताब्दीको मण्डलीमा कोही-कोही परमेश्वरको जस्तै सोचाइ नभएका भाइबहिनी छन् भनेर पावललाई थाह थियो। त्यसैले तिनले त्यस्ता भाइबहिनीबाट टाढै बस्न तिमोथिलाई चेतावनी दिए। (२ तिमोथि २:२०-२२ पढ्नुहोस्।) यहोवासितको हाम्रो मित्रता बहुमूल्य छ। यस्तो मित्रता गाँस्न हामीले कडा मेहनत गरेका छौँ। त्यसैले यस्तो सम्बन्धलाई कुनै पनि कुराले कमजोर हुन नदिनुहोस्।—भज. २६:४.
आध्यात्मिक लक्ष्यहरूले प्रगति गर्न कसरी मदत गर्छ?
१६. तपाईँ कस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ?
१६ आध्यात्मिक लक्ष्यहरू राख्नुहोस्। आध्यात्मिक रूपमा बलियो हुन र अझ परिपक्व हुन मदत गर्ने लक्ष्यहरू राख्नुहोस्। (एफि. ३:१६) जस्तै, तपाईँ नियमित रूपमा व्यक्तिगत अध्ययन गर्ने र बाइबल पढ्ने बानी बसाल्न सक्नुहुन्छ। (भज. १:२, ३) अझ धेरै प्रार्थना गर्न र त्यसको गुणस्तर बढाउन सक्नुहुन्छ। मनोरञ्जन छान्ने र समयको प्रयोग गर्ने सन्दर्भमा अझ आत्मसंयम विकास गर्न सक्नुहुन्छ। (एफि. ५:१५, १६) तपाईँले प्रगति गर्न कडा मेहनत गरेको देख्दा यहोवा खुसी हुनुहुनेछ।
१७. अरूलाई मदत गर्दा हामीलाई कस्तो लाभ हुन्छ?
१७ अरूलाई मदत गर्दा तपाईँ अझ परिपक्व बन्न सक्नुहुनेछ। येसुले “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ” भन्नुभएको थियो। (प्रेषि. २०:३५) तपाईँले आफ्नो समय र युवावस्थाको जोस अरूको लागि प्रयोग गर्नुभयो भने अझ आनन्दित हुनुहुनेछ। जस्तै, तपाईँ मण्डलीका वृद्ध र अशक्त भाइबहिनीलाई मदत गर्ने लक्ष्य राख्न सक्नुहुन्छ। तिनीहरूको लागि किनमेल गरिदिन वा तिनीहरूलाई इलेक्ट्रोनिक डिभाइस चलाउन सिकाउन सक्नुहुन्छ। अनि भाइहरूले मण्डलीको सेवा गर्न सहायक सेवक हुने लक्ष्य राख्न सक्छन्। (फिलि. २:४) साथै तपाईँले राज्यको सुसमाचार सुनाएर मानिसहरूलाई प्रेम गरेको देखाउन सक्नुहुन्छ। (मत्ति ९:३६, ३७) सम्भव छ भने पूर्ण-समय सेवाको कुनै पक्षमा भाग लिने लक्ष्य राख्नुहोस्।
१८. पूर्ण-समय सेवाले तपाईँलाई प्रगति गर्न कसरी मदत गर्छ?
१८ पूर्ण-समय सेवाले आध्यात्मिक रूपमा प्रगति गर्ने थुप्रै मौकाको ढोका खोल्छ। जस्तै, अग्रगामी सेवा गर्दा राज्य प्रचारकहरूका लागि स्कुलमा भाग लिने मौका मिल्छ। साथै तपाईँले बेथेल सेवा गर्ने वा निर्माण परियोजनामा भाग लिने मौका पनि पाउन सक्नुहुन्छ। एक्काइस वर्षकी अग्रगामी बहिनी केटलिन यसो भन्छिन्: “अनुभवी दाइदिदीहरूसँगै साक्षीकार्यमा भाग लिँदा मैले बप्तिस्मापछि पनि आध्यात्मिक प्रगति गर्न मदत पाएँ। उहाँहरूको उदाहरणबाट मैले अझ गहिरिएर बाइबलको अध्ययन गर्न अनि सिकाउने कलामा उन्नति गर्न प्रोत्साहन पाएँ।”
१९. आध्यात्मिक प्रगति गरिरहनुभयो भने तपाईँले कस्ता आशिष्हरू पाउनुहुनेछ?
१९ आध्यात्मिक प्रगति गर्दै जाँदा तपाईँले थुप्रै आशिष् पाउनुहुनेछ। तपाईँ खोक्रा लक्ष्यहरूको पछि लागेर आफ्नो युवावस्थाको जोस खेर फाल्नदेखि जोगिनुहुनेछ। (१ युह. २:१७) गलत निर्णयले गर्दा भोग्नुपर्ने नतिजाबाट पनि जोगिनुहुनेछ अनि तपाईँले साँचो सफलता र आनन्द पाउनुहुनेछ। (हितो. १६:३) तपाईँको राम्रो उदाहरणबाट जवान अनि पाका भाइबहिनीले प्रोत्साहन पाउनेछन्। (१ तिमो. ४:१२) सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवालाई खुसी बनाउँदा र उहाँसित बलियो मित्रता गाँस्दा तपाईँले मनोशान्ति र सन्तुष्टि पाउनुहुनेछ।—हितो. २३:१५, १६.
गीत ८८ मलाई तपाईँको मार्ग सिकाउनुहोस्
^ किशोरकिशोरीले बप्तिस्मा गर्दा यहोवाका सबै सेवक खुसी हुन्छन्। तर बप्तिस्मापछि पनि आध्यात्मिक प्रगति गरिरहनुपर्छ। यस लेखमा हालसालै बप्तिस्मा गरेका किशोरकिशोरी कसरी परिपक्वतातर्फ अघि बढ्न सक्छन् भनेर छलफल गरिनेछ। साथै मण्डलीका सबैले तिनीहरूलाई कसरी मदत गर्न सक्छन् भनेर पनि विचार गरिनेछ।
^ केही नाम परिवर्तन गरिएका छन्।