अध्ययन लेख ३६
आफ्नो भारी बोक्नुहोस् र अनावश्यक बोझलाई पन्छ्याउनुहोस्
‘हामी पनि हरकिसिमका बोझलाई पन्छ्याएर हाम्रो अगाडि राखिएको दौड धैर्य गरेर दौडौँ।’ —हिब्रू १२:१.
गीत ३३ बिसाऊ भारी यहोवामा
परिचय a
१. हिब्रू १२:१ अनुसार जीवनको दौड पूरा गर्न हामीले के गर्नुपर्छ?
बाइबलमा ख्रिष्टियनहरूको जीवनलाई दौडसित तुलना गरिएको छ। दौड पूरा गर्ने धावकहरूले अनन्त जीवनको इनाम पाउनेछन्। (२ तिमो. ४:७, ८) त्यो दौड दौडिरहन हामीले आफ्नो तर्फबाट सक्दो कोसिस गर्नुपर्छ। किनभने दौडको अन्तिम रेखा धेरै नजिक छ। जीवनको दौड पूरा गरेका प्रेषित पावलले यो दौड पूरा गर्न केले मदत गर्छ भनेर बताए। तिनले यसो भने: ‘हामी पनि हरकिसिमका बोझलाई पन्छ्याएर हाम्रो अगाडि राखिएको दौड धैर्य गरेर दौडौँ।’—हिब्रू १२:१ पढ्नुहोस्।
२. ‘हरकिसिमका बोझलाई पन्छ्याउनुको’ अर्थ के हो?
२ पावलले ‘हरकिसिमका बोझलाई पन्छ्याउने’ निर्देशन दिँदा के तिनले ख्रिष्टियनहरूले कुनै भारी बोक्नुपर्दैन भन्न खोजिरहेका थिए? त्यसो त पक्कै थिएन। बरु तिनले हरकिसिमका अनावश्यक बोझचाहिँ पन्छ्याउनुपर्छ भन्न खोजिरहेका थिए। यस्तो प्रकारको बोझले हामीलाई थकाउन सक्छ र हाम्रो गतिलाई घटाउन सक्छ। यो दौड दौडिरहन हामीले आफ्नो गतिलाई घटाउन सक्ने हरकिसिमका अनावश्यक बोझलाई तुरुन्तै याद गरिहाल्नुपर्छ र पन्छ्याइहाल्नुपर्छ। तर हामीले बोक्नै पर्ने भारीलाई भने पन्छ्याउनु हुँदैन। नत्र त हामी त्यस दौडदेखि बाहिरिनेछौँ। (२ तिमो. २:५) अब आउनुहोस्, हामीले बोक्नै पर्ने भारीहरू के-के हुन्, विचार गरौँ।
३. (क) गलाती ६:५ अनुसार हामीले के बोक्नै पर्छ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ र किन?
३ गलाती ६:५ पढ्नुहोस्। पावलले हामीले बोक्नै पर्ने भारीको विषयमा बताए। तिनले यस्तो लेखे: “हरेकले आफ्नो भारी आफै बोक्नेछ।” पावलले यहाँ परमेश्वरले आफ्ना प्रत्येक सेवकबाट चाहनुहुने कुराबारे बताइरहेका थिए। अनि यस्तो भारी अरू कसैले बोकिदिन सक्दैन। यस लेखमा हामीले बोक्नुपर्ने “भारी” के-के हुन् र त्यो कसरी बोक्न सक्छौँ भन्नेबारे छलफल गर्नेछौँ। अनि हामीले कस्ता अनावश्यक भारीहरू बोकिरहेका हुन सक्छौँ र त्यसलाई कसरी पन्छ्याउन सक्छौँ भनेर पनि विचार गर्नेछौँ। यसरी आफ्नो भारी आफै बोक्दा र अनावश्यक बोझलाई पन्छ्याउँदा हामीले जीवनको दौड पूरा गर्न सक्नेछौँ।
हामीले बोक्नै पर्ने भारी
४. हाम्रो समर्पणको वाचा किन बोझ होइन? (तस्बिर पनि हेर्नुहोस्।)
४ हाम्रो समर्पणको वाचा। यहोवालाई आफ्नो जीवन समर्पण गर्दा हामीले उहाँको उपासना गर्ने र उहाँको इच्छाअनुसार जिउने वाचा गऱ्यौँ। हामीले त्यो वाचा पूरा गर्नै पर्छ। समर्पणअनुसार जीवन बिताउनु गम्भीर जिम्मेवारी हो, बोझ होइन। यहोवाले उहाँको इच्छाअनुसार जिउन हामीलाई सृष्टि गर्नुभयो। (प्रका. ४:११) उहाँले हामीलाई आध्यात्मिक आवश्यकतासहित र आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। त्यसैले हामी उहाँसित नजिक हुन र उहाँको इच्छा पूरा गर्न पाउँदा रमाउन सक्छौँ। (भज. ४०:८) त्यति मात्र होइन, उहाँको इच्छाअनुसार चल्दा र उहाँको छोराको अनुकरण गर्दा हामी ‘स्फूर्ति पाउँछौँ।’—मत्ति ११:२८-३०.
५. समर्पणको वाचा पूरा गर्न तपाईँलाई केले मदत गर्न सक्छ? (१ युहन्ना ५:३)
५ तपाईँ यो भारी कसरी बोक्न सक्नुहुन्छ? दुइटा कुराले मदत गर्न सक्छ। पहिलो, यहोवाप्रतिको तपाईँको प्रेमलाई बलियो बनाउँदै लैजानुहोस्। यसो गर्न उहाँले तपाईँको लागि गरिदिनुभएका असल कुराहरू र तपाईँको लागि साँचेर राख्नुभएका आशिष्हरूमा मनन गर्नुहोस्। परमेश्वरप्रतिको प्रेम बढ्दै गएपछि तपाईँलाई उहाँको आज्ञा पालन गर्न अझै सजिलो हुनेछ। (१ युहन्ना ५:३ पढ्नुहोस्।) दोस्रो, येसुको अनुकरण गर्नुहोस्। उहाँले परमेश्वरको इच्छा पूरा गर्न सक्नुभयो किनकि उहाँले मदतको लागि यहोवालाई प्रार्थना गर्नुभयो र इनाममा ध्यान केन्द्रित गरिरहनुभयो। (हिब्रू ५:७; १२:२) येसुले जस्तै बलको लागि यहोवालाई प्रार्थना गर्नुहोस् र अनन्त जीवनको आशामा ध्यान केन्द्रित गरिरहनुहोस्। परमेश्वरप्रतिको प्रेमलाई बढाउँदै लैजानुभयो र उहाँको छोराको अनुकरण गर्नुभयो भने तपाईँले आफ्नो समर्पणको वाचा पूरा गर्न सक्नुहुनेछ।
६. हामीले किन पारिवारिक जिम्मेवारीहरू पूरा गर्नुपर्छ? (तस्बिर पनि हेर्नुहोस्।)
६ हाम्रा पारिवारिक जिम्मेवारीहरू। जीवनको दौडमा हामीले आफ्नो परिवारलाई भन्दा यहोवा र येसुलाई धेरै माया गर्नुपर्छ। (मत्ति १०:३७) तर यसको मतलब हामीले पारिवारिक जिम्मेवारीलाई बेवास्ता गर्न मिल्छ भन्ने होइन। यदि परमेश्वर अनि ख्रिष्टले हामीलाई स्विकार्नुभएको चाहन्छौँ भने हामीले परिवारमा आफ्नो भूमिका पूरा गर्नुपर्छ। (१ तिमो. ५:४, ८) यसो गऱ्यौँ भने हामी अझै आनन्दित हुनेछौँ। हुन पनि पतिपत्नीले एकअर्कालाई प्रेम र आदर गर्दा, आमाबुबाले छोराछोरीलाई प्रेम गर्दा र तालिम दिँदा अनि छोराछोरीले आमाबुबाको आज्ञा पालन गर्दा परिवार आनन्दित हुन्छ भनेर यहोवालाई थाह छ।—एफि. ५:३३; ६:१, ४.
७. परिवारमा तपाईँ आफ्नो भूमिका कसरी पूरा गर्न सक्नुहुन्छ?
७ तपाईँ यो भारी कसरी बोक्न सक्नुहुन्छ? परिवारका प्रत्येक सदस्यले बाइबलको बुद्धिमानी सल्लाहमा भरोसा गर्नुपर्छ। (हितो. २४:३, ४) आफूलाई सही लाग्ने कुरा, लोकप्रिय विचारधारा वा विशेषज्ञ भनाउँदाहरूको सल्लाहअनुसार नगर्नुहोस्। बाइबलआधारित प्रकाशनहरूको पूरापूर सदुपयोग गर्नुहोस्। यी प्रकाशनहरूमा बाइबलका सिद्धान्तहरू कसरी लागू गर्ने भन्नेबारे व्यावहारिक सल्लाहहरू पाइन्छन्। जस्तै: “परिवारका लागि” भन्ने शृङ्खलाबद्ध लेखहरूमा पतिपत्नी, आमाबुबा र किशोरकिशोरीले कसरी चुनौतीहरूको सामना गर्न सक्छन् भन्नेबारे उपयोगी जानकारीहरू पाउन सक्छौँ। b परिवारका अरू सदस्यहरूले बाइबलको सल्लाह लागू नगरे तापनि त्यसअनुसार गर्न कटिबद्ध हुनुहोस्। यसो गर्नुभयो भने तपाईँको पूरै परिवारले लाभ उठाउनेछ र तपाईँले यहोवाबाट आशिष् पाउनुहुनेछ।—१ पत्रु. ३:१, २.
८. हाम्रा निर्णयहरूले हामीलाई कसरी असर गर्न सक्छ?
८ आफूले गरेका निर्णयहरूको लागि जबाफदेही। यहोवाले हामीलाई उपहारस्वरूप छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ। उहाँ हामीले बुद्धिमानी निर्णयहरू गरेर आनन्दित भएको चाहनुहुन्छ। तर हामीले गरेका गलत निर्णयहरूको नतिजा भोग्नदेखि भने जोगाउनुहुन्न। (गला. ६:७, ८) त्यसैले हामीले गलत निर्णय गरेका छौँ र सोचविचार नगरी केही भनेका वा गरेका छौँ भने त्यसको नतिजा भोग्नुपर्छ। हामीले गरेको निर्णय जत्ति गम्भीर छ, दोषी अन्तस्करणले हामीलाई त्यत्ति नै पिरोल्न सक्छ। तर हामी आफ्नो निर्णयको लागि आफै जबाफदेही हुन्छौँ भनेर स्विकार्छौँ भने त्यसले हामीलाई पापहरू स्विकार्न, गल्तीहरू सच्याउन र ती फेरि नदोहोऱ्याउन उत्प्रेरित गर्न सक्छ। यस्ता कदमहरू चाल्यौँ भने हामी जीवनको दौडमा दौडिरहन सक्नेछौँ।
९. गलत निर्णय गर्नुभएको छ भने के गर्न सक्नुहुन्छ? (तस्बिर पनि हेर्नुहोस्।)
९ तपाईँ यो भारी कसरी बोक्न सक्नुहुन्छ? यदि तपाईँले गलत निर्णय गर्नुभएको छ भने के गर्न सक्नुहुन्छ? विगतलाई परिवर्तन गर्न सकिँदैन भनेर मानिलिनुहोस्। आफूले त्यस्तो निर्णय गर्नु ठीकै थियो भनेर प्रमाणित गर्न अथवा आफ्नो गल्तीको लागि आफैलाई वा अरूलाई दोष दिन समय र शक्ति खेर नफाल्नुहोस्। बरु गल्ती स्विकार्नुहोस् र अहिलेको अवस्थामा जे गर्न सकिन्छ, त्यही गर्नुहोस्। यदि गल्तीका कारण दोषी महसुस गरिरहनुभएको छ भने नम्र हुँदै यहोवालाई प्रार्थना गर्नुहोस्, गल्ती स्विकार्नुहोस् र उहाँसित क्षमा माग्नुहोस्। (भज. २५:११; ५१:३, ४) तपाईँको निर्णयले अरूको चित्त दुखेको छ भने क्षमा माग्नुहोस् अनि आवश्यक छ भने एल्डरहरूसित मदत माग्नुहोस्। (याकु. ५:१४, १५) आफ्नो गल्तीबाट पाठ सिक्नुहोस् र त्यो गल्ती फेरि नदोहोऱ्याउन होसियार हुनुहोस्। यसो गर्नुभयो भने यहोवाले तपाईँलाई पक्कै कृपा देखाउनुहुनेछ र साथ दिनुहुनेछ।—भज. १०३:८-१३.
हामीले ‘पन्छ्याउनै’ पर्ने बोझहरू
१०. अव्यावहारिक मागहरू किन गह्रौँ बोझ हुन्? (गलाती ६:४)
१० अव्यावहारिक मागहरू। आफूलाई अरूसित तुलना गर्दा हामीले आफूबाट अव्यावहारिक मागहरू गरिरहेका हुन्छौँ र त्यसको बोझले हामीलाई दबाउन सक्छ। (गलाती ६:४ पढ्नुहोस्।) यसरी तुलना गरिरह्यौँ भने हामी ईर्ष्यालु र प्रतिस्पर्धी हुन सक्छौँ। (गला. ५:२६) आफ्नो क्षमता अनि परिस्थितिले नभ्याउने भए तापनि अरूले जस्तै गर्न खोज्यौँ भने हामीले आफैलाई हानि पुऱ्याइरहेका हुन्छौँ। बाइबल भन्छ: “आशा गरेको कुरा छिट्टै पूरा नहुँदा मन मर्छ।” (हितो. १३:१२) झन् त्यसमाथि कहिल्यै हासिल गर्न नसक्ने लक्ष्यहरू राख्दा कत्ति निराश हुन्छौँ होला! त्यस्तो लक्ष्य राख्दा हाम्रो बल र गति घट्न सक्छ।—हितो. २४:१०.
११. आफूबाट अव्यावहारिक मागहरू गर्नदेखि कसरी जोगिन सक्नुहुन्छ?
११ तपाईँ यो बोझ कसरी पन्छ्याउन सक्नुहुन्छ? यहोवाले तपाईँबाट जे चाहनुहुन्छ, आफूबाट त्योभन्दा बढ्ता माग नगर्नुहोस्। उहाँ तपाईँसित नभएको कुरा कहिल्यै माग गर्नुहुन्न। (२ कोरि. ८:१२) यहोवाले तपाईँलाई अरूसित तुलना गर्नुहुन्न भन्ने कुरामा विश्वस्त हुनुहोस्। (मत्ति २५:२०-२३) उहाँ तपाईँको तनमनको सेवा, वफादारी र सहनशीलताको मोल गर्नुहुन्छ। आफ्नो उमेर, स्वास्थ्य वा परिस्थितिले गर्दा चाहेजति गर्न सक्नुहुन्न भने त्यो कुरा नम्र भई स्विकार्नुहोस्। तपाईँको स्वास्थ्य वा उमेरले गर्दा कुनै जिम्मेवारी पूरा गर्न गाह्रो छ भने बार्जिलैले जस्तै त्यो जिम्मेवारी नस्विकार्नुहोस्। (२ समु. १९:३५, ३६) मोसाले जस्तै उपयुक्त छ भने अरूको मदत स्विकार्नुहोस् र आफ्नो जिम्मेवारी अरूसित बाँड्नुहोस्। (प्रस्थ. १८:२१, २२) यसरी मर्यादामा रहँदा आफूलाई थकाउन सक्ने अव्यावहारिक मागहरू गर्नदेखि तपाईँ जोगिनुहुनेछ।
१२. अरूको गलत निर्णयको लागि के हामी जबाफदेही हुन्छौँ? व्याख्या गर्नुहोस्।
१२ अरूको गलत निर्णयको लागि आफूलाई जबाफदेही ठान्नु। हामी अरूको लागि निर्णय गरिदिन सक्दैनौँ न त तिनीहरूलाई गलत निर्णयको नतिजा भोग्नदेखि सधैँ जोगाउन सक्छौँ। जस्तै: तपाईँको छोरा वा छोरीले यहोवाको सेवा गर्न छोड्न सक्छन्। यस्तो निर्णयले गर्दा आमाबुबालाई असह्य पीडा हुन सक्छ। तर छोराछोरीको गलत निर्णयको लागि आफूलाई दोषी ठान्ने आमाबुबाले गह्रौँ बोझ बोकिरहेका हुन्छन्। यहोवा तिनीहरूले यस्तो बोझ बोकेको चाहनुहुन्न।—रोमी १४:१२.
१३. छोराछोरीले गलत निर्णय गर्दा आमाबुबाले कुन कुरा मनमा राख्नुपर्छ?
१३ तपाईँ यो बोझ कसरी पन्छ्याउन सक्नुहुन्छ? यहोवाले हामी सबैलाई छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ भन्ने कुरा मनमा राख्नुहोस्। उहाँले प्रत्येक व्यक्तिलाई आफ्नो निर्णय आफै गर्न दिनुहुन्छ। यसमा उहाँको सेवा गर्ने कि नगर्ने भन्ने कुरा पनि समावेश छ। आमाबुबाबाट कहिल्यै गल्ती नै हुँदैन भनेर यहोवा सोच्नुहुन्न तर तपाईँहरूले आफ्नो तर्फबाट सक्दो कोसिस गरेको उहाँ चाहनुहुन्छ। छोराछोरीले गरेको निर्णयको लागि तिनीहरू नै जबाफदेही हुन्छन्, तपाईँहरू होइन। (हितो. २०:११) तर कहिलेकाहीँ आमाबुबाबाट गल्ती हुन सक्छ र त्यसले गर्दा दोषी महसुस भइरहन सक्छ। त्यस्तो हुँदा आफ्नो भावना यहोवालाई बताउनुहोस् र उहाँसित क्षमा माग्नुहोस्। तपाईँ विगतमा फर्केर आफ्नो गल्ती सच्याउन सक्नुहुन्न भनेर उहाँलाई थाह छ। साथै तपाईँले छोराछोरीलाई तिनीहरूले गरेको गल्तीको नतिजा भोग्नदेखि जोगाएको यहोवा चाहनुहुन्न। छोराछोरीले यहोवाकहाँ फर्कन कोसिस गर्दा उहाँले न्यानो स्वागत गर्नुहुनेछ भन्ने कुरा कहिल्यै नबिर्सनुहोस्।—लुका १५:१८-२०.
१४. हामीले पन्छ्याउनै पर्ने बोझ के हो र किन?
१४ अचाक्ली दोषी भावना। पाप गऱ्यौँ भने हामी दोषी महसुस गर्छौँ। तर यहोवा हामीले अचाक्ली दोषी महसुस गरेको चाहनुहुन्न। यो हामीले पन्छ्याउनै पर्ने बोझ हो। यदि हामीले आफ्नो पाप स्विकाऱ्यौँ, पश्चात्ताप गऱ्यौँ र त्यो नदोहोऱ्याउन आवश्यक कदमहरू चाल्यौँ भने यहोवा हामीलाई क्षमा दिनुहुन्छ भन्ने कुरामा भरोसा गर्न सक्छौँ। (प्रेषि. ३:१९) यहोवाले क्षमा दिइसक्नुभएपछि पनि हामीले दोषी महसुस गरिरहेको उहाँ चाहनुहुन्न। दोषी महसुस गरिरहनु हानिकारक हुन्छ भनेर उहाँलाई थाह छ। (भज. ३१:१०) यदि हामी अति दुःखी भएर शोकमा डुबिरहन्छौँ भने जीवनको दौड दौडन छोड्ने हदसम्म पुग्न सक्छौँ।—२ कोरि. २:७.
१५. अचाक्ली दोषी भावना हटाउन केले मदत गर्न सक्छ? (१ युहन्ना ३:१९, २०) (तस्बिर पनि हेर्नुहोस्।)
१५ तपाईँ यो बोझ कसरी पन्छ्याउन सक्नुहुन्छ? दोषी भावनाले सताइरहन्छ भने यहोवा “साँच्चै क्षमा” दिनुहुन्छ भन्ने कुरामा ध्यान दिनुहोस्। (भज. १३०:४) मनैदेखि पश्चात्ताप गर्नेहरूलाई उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म तिनीहरूलाई क्षमा दिनेछु र फेरि कहिल्यै तिनीहरूको पाप सम्झनेछैनँ।” (यर्मि. ३१:३४) यसको अर्थ यहोवाले एकचोटि क्षमा दिनुभएपछि त्यही पापलाई फेरि कहिल्यै सम्झनुहुन्न। त्यसैले उहाँले क्षमा नदिनुभएकोले पापका नतिजाहरू भोग्नुपरेको हो भनेर नसोच्नुहोस्। अनि पापको कारण मण्डलीमा कुनै जिम्मेवारी गुमाउनुपरेको छ भने दुःखी नहुनुहोस्। यहोवा तपाईँका पापहरूबारे सोचेर बस्नुहुन्न; त्यसैले तपाईँले पनि त्यसबारे सोचिरहनुपर्दैन।—१ युहन्ना ३:१९, २० पढ्नुहोस्।
पुरस्कार जित्न दौडनुहोस्
१६. हामी धावकहरूले कस्तो कुरा बुझ्नुपर्छ?
१६ हामी “पुरस्कार पाउन सक्नेगरि” जीवनको दौड दौडनुपर्छ। (१ कोरि. ९:२४) यदि हामीले बोक्नै पर्ने भारीहरू र पन्छ्याउनै पर्ने बोझहरू के-के हुन् भनेर बुझ्यौँ भने पुरस्कार पाउन सक्नेगरि दौडन सक्नेछौँ। यस लेखमा हामीले बोक्नै पर्ने भारी र पन्छ्याउनै पर्ने बोझहरूका केही उदाहरण छलफल गऱ्यौँ। यसका अरू उदाहरणहरू पनि छन्। जस्तै: येसुले ‘धेरै खाने र पिउने अनि जीवनको फिक्रीको बोझले हाम्रो हृदयलाई दबाउन सक्छ’ भनेर बताउनुभयो। (लुका २१:३४) यी तथा अन्य बाइबल पदहरूले जीवनको दौडमा दौडिँदा के-कस्तो छाँटकाँट गर्नुपर्छ भनेर बुझ्न मदत गर्छ।
१७. जीवनको दौड जित्ने कुरामा हामी किन विश्वस्त हुन सक्छौँ?
१७ जीवनको दौड जित्ने कुरामा हामी विश्वस्त छौँ किनकि यहोवाले हामीलाई दौडन चाहिने बल दिनुहुन्छ। (यसै. ४०:२९-३१) त्यसैले आफ्नो गति नघटाउनुहोस्! प्रेषित पावलको अनुकरण गर्नुहोस्, जसले पुरस्कार पाउने लक्ष्यसम्म पुग्न भरमग्दुर कोसिस गरे। (फिलि. ३:१३, १४) तपाईँको दौड अरूले दौडिदिन सक्दैन। तर यहोवाको मदतले तपाईँ सफल हुन सक्नुहुन्छ। यहोवाले तपाईँलाई भारी बोक्न र अनावश्यक बोझ पन्छ्याउन मदत गर्न सक्नुहुन्छ। (भज. ६८:१९) यहोवा तपाईँको साथमा हुनुभएकोले तपाईँ जीवनको दौड दौडिरहन र त्यो दौड पूरा गरेर पुरस्कार जित्न सक्नुहुन्छ!
गीत ६५ बढ्दै जाऊ!
a यस लेखले हामीलाई जीवनको दौड दौडन मदत गर्नेछ। धावकको रूपमा हामीले केही भारी बोक्नै पर्छ। यसमा हाम्रो समर्पणको वाचा, पारिवारिक जिम्मेवारीहरू र आफूले गरेका निर्णयहरूको लागि जबाफदेही हुनु समावेश छ। तर हाम्रो दौडको गतिलाई घटाउन सक्ने हरकिसिमका अनावश्यक बोझलाई पन्छ्याउनुपर्छ। यसमा कस्ता कुराहरू समावेश छन्? यस प्रश्नको जवाफ हामी यस लेखमा पाउनेछौँ।
b यस्ता लेखहरू jw.org को “परिवारका लागि” भन्ने शृङ्खलाबद्ध लेखहरूमा पाउन सक्नुहुन्छ। जस्तै, दम्पतीका लागि: “कसरी माया व्यक्त गर्ने?” र “कृतज्ञता कसरी व्यक्त गर्ने?”; आमाबुबाका लागि: “सुरक्षित भई सामाजिक सञ्जाल चलाउन सिकाउनुहोस्” र “किशोरावस्थाका छोराछोरीसित कुराकानी गर्ने तरिका” अनि किशोरकिशोरीका लागि: “प्रलोभन आइपर्दा कसरी जोगिने?” र “एक्लोपन कसरी हटाउन सकिन्छ?”