तपाईँको जीवनसाथी अश्लील सामग्री हेर्ने कुलतमा फसेका छन् भने के गर्न सक्नुहुन्छ?
-
“मेरो श्रीमान्को त्यस्तो कुलतबारे थाह पाउँदा उहाँ बारम्बार व्यभिचारमा फस्नुभएको जस्तो लाग्यो।”
-
“मैले आफू हेपिएको महसुस गरेँ। आफू नराम्री र बेकारको छु जस्तो लाग्यो।”
-
“यसबारे कसैलाई बताउने आँटै आएन। मैले यो कुरा मनभित्रै गुम्साएर राखेँ।”
-
“यहोवालाई मेरो वास्तै छैन जस्तो लाग्यो।”
पति अश्लील सामग्री हेर्ने कुलतमा फस्दा पत्नीलाई कुन हदसम्म पीडा हुन्छ भनेर माथिका भनाइहरूबाट बुझ्न सक्छौँ। महिनौँ वा वर्षौँदेखि पतिले लुकीछिपी यस्तो सामग्री हेरिरहेका छन् भने पतिमाथिको पत्नीको भरोसा पनि गुम्न सक्छ। एक पत्नीले यसो भनिन्: “मैले वास्तवमा उहाँलाई चिनेकै रहेनछु। उहाँले मबाट अरू कुराहरू पनि लुकाइरहनुभएको छ जस्तो लाग्न थाल्यो।”
यो लेख ती पत्नीहरूका लागि तयार पारिएको हो, जसका पति अश्लील सामग्री हेर्ने कुलतमा फसेका छन्। a यस लेखमा हामी केही बाइबल सिद्धान्त छलफल गर्नेछौँ। ती सिद्धान्तहरूले तिनलाई सान्त्वना दिनेछ, यहोवा तिनको साथमा हुनुहुन्छ भनेर विश्वस्त पार्नेछ अनि तिनलाई विचलित नहुन र आध्यात्मिक रूपमा बलियो हुन मदत गर्नेछ। b
निर्दोष पत्नीले के गर्न सक्छिन्?
तपाईँले पतिको हरेक गतिविधिलाई नियन्त्रणमा राख्न सक्नुहुन्न। तर आफ्नो पीडा कम गर्न र मनोशान्ति पाउन केही कदम भने चाल्न सक्नुहुन्छ। आउनुहोस्, केही विचार गरौँ।
आफैलाई दोष नदिनुहोस्। पति अश्लील सामग्री हेर्ने कुलतमा फस्दा पत्नीलाई आफ्नै कारणले यस्तो भएको हो जस्तो लाग्न सक्छ। एलिसालाई c आफू नराम्री भएकोले पति त्यस्तो कुलतमा फसेका हुन् जस्तो लाग्यो। तिनको मनमा यस्तो कुरा खेल्थ्यो: ‘मेरो श्रीमान्ले मलाई हेर्नुको सट्टा किन अरू केटीहरूलाई हेर्नुहुन्छ?’ केही पत्नी भने आफ्नो कारणले परिस्थिति झनै बिग्रिएको हो भनेर सोच्दै आफैलाई दोष दिन्छन्। ड्यानियलालाई आफ्नो श्रीमान्को कुलतबारे थाह भएपछि एकदमै पीडा भयो र रिस पनि उठ्यो। तिनी भन्छिन्: “मेरो यस्तो रिसले गर्दा हाम्रो वैवाहिक सम्बन्ध अझै नराम्रो भइरहेको छ जस्तो लाग्यो।”
तपाईँ पनि त्यस्तै महसुस गर्नुहुन्छ भने यो कुरा मनमा राख्नुहोस्: तपाईँको पति कुलतमा फस्नुको कारण तपाईँ हुनुहुन्न; याकुब १:१४ यसो भन्छ: “हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ।” (रोमी १४:१२; फिलि. २:१२) तपाईँलाई दोष दिनुको सट्टा यहोवा तपाईँको वफादारीको कदर गर्नुहुन्छ।—२ इति. १६:९.
त्यसैले यहोवा तपाईँलाई दोषी ठहऱ्याउनुहुन्न।पत्नीहरूलाई आफू नराम्री भएकोले पति अश्लील सामग्री हेर्ने कुलतमा फसेका हुन् जस्तो लाग्न सक्छ। तर यो कुरा साँचो होइन। विशेषज्ञहरूअनुसार अश्लील सामग्री हेर्ने कुलतले पुरुषहरूमा यस्तो यौनइच्छा पैदा गर्छ, जुन कुनै स्त्रीले पूरा गर्न सक्दिनन्।
अचाक्ली चिन्ता नगर्नुहोस्। आफ्नो श्रीमान्को कुलतबारे मात्र मनमा कुरा खेलिरहन्छ भनी क्याथ्रिन बताउँछिन्। फ्रान्सेस यसो भन्छिन्: “श्रीमान् कहाँ हुनुहुन्छ भन्ने कुरा थाह नपाउँदा छटपटी हुन्छ, दिनभरि नै एकदमै तनाव हुन्छ।” पतिको कुलतबारे थाह भएका भाइबहिनी सँगै हुँदा एकदमै लज्जित महसुस हुन्छ भनेर कोही-कोही बताउँछन्। अरू कतिपयले भने आफ्नो अवस्था अरूले नबुझेको जस्तो लागेकोले एक्लो महसुस भएको कुरा बताउँछन्।
मनमा यस्ता भावनाहरू आउनु स्वाभाविकै हो। तर श्रीमान्को कुलतबारे मात्र सोचिरहनुभयो भने यसले तपाईँको चिन्ता मात्रै बढाउनेछ। त्यसैले यहोवासितको आफ्नो सम्बन्धलाई बलियो बनाउने कोसिस गर्नुहोस्। यसो गर्दा तपाईँको मनोबल बढ्नेछ।—भज. ६२:२; एफि. ६:१०.
यहोवालाई प्रार्थनामा आफ्नो समस्याबारे बताएर सान्त्वना पाएका स्त्रीहरूको बाइबल विवरण पढ्नु र त्यसमा मनन गर्नु लाभदायी हुन सक्छ। उहाँले सधैँ तिनीहरूको समस्या त हटाउनुभएन तर मनोशान्ति भने दिनुभयो। जस्तै: हन्ना आफ्नो अवस्थाले गर्दा “अत्यन्तै लाचार भएकी थिइन्।” हुनत हन्नालाई पछि आफ्नो अवस्था कस्तो हुनेछ भनेर थाह थिएन। तर “निकै लामो समयसम्म यहोवा परमेश्वरलाई प्रार्थना” गरेपछि तिनी फेरि उदास भइनन्।—१ समु. १:१०, १२, १८; २ कोरि. १:३, ४.
मण्डलीका एल्डरहरूसित मदत माग्नुहोस्। “तिनीहरू हरेक हुरीबतास चल्दा लुक्ने ठाउँ अनि आँधीबेहरी आउँदा आड लिने ठाउँ हुनेछन्।” (यसै. ३२:२) तिनीहरूले तपाईँलाई कुनै बहिनीसित कुरा गर्न सुझाव पनि दिन सक्छन्, जसलाई तपाईँ आफ्नो समस्या बताउन सक्नुहुन्छ र सान्त्वना पाउन सक्नुहुन्छ।—हितो. १७:१७.
के तपाईँ आफ्नो पतिलाई मदत गर्न सक्नुहुन्छ?
के तपाईँ पतिलाई अश्लील सामग्री हेर्ने कुलत छोड्न मदत गर्न सक्नुहुन्छ? सायद सक्नुहुन्छ। बाइबलमा कुनै समस्या उप. ४:९-१२) पतिपत्नी दुवै मिलेर कोसिस गर्दा पतिले कुलत छोड्न सकेको र पत्नीले फेरि पतिलाई भरोसा गर्न सकेको कुरा अध्ययनहरूबाट देखिएको छ।
समाधान गर्न वा शक्तिशाली शत्रुलाई हराउन “एकभन्दा दुई असल हो” भनेर बताइएको छ। (तपाईँको पति आफ्नो कुलत छुटाउन मनैदेखि इच्छुक छन् कि छैनन् भन्ने कुराले पनि फरक पार्छ। के तिनले बलको लागि यहोवालाई व्यग्र प्रार्थना गरेका छन् र एल्डरहरूको मदत मागेका छन्? (२ कोरि. ४:७; याकु. ५:१४, १५) के तिनले प्रलोभनहरूदेखि टाढै रहन कदम चालेका छन्? जस्तै: सीमित समय मात्र इलेक्ट्रोनिक डिभाइस चलाउने र आफूलाई प्रलोभनमा पार्न सक्ने परिस्थितिहरूबाट टाढै रहने। (हितो. २७:१२) के तिनी तपाईँको मदत लिन र तपाईँबाट कुनै कुरा नलुकाउन तयार छन्? छन् भने तपाईँले तिनलाई मदत गर्न सक्नुहुनेछ।
कसरी? एउटा उदाहरण विचार गरौँ। फेलिसाका पति इथन सानैदेखि अश्लील सामग्री हेर्ने कुलतमा फसेका थिए। पतिलाई फेरि अश्लील सामग्री हेर्न सकसक लाग्दा फेलिसा आफ्नो पतिसित कुराकानी गर्न सजिलो हुने वातावरण बनाउन कोसिस गर्छिन्। इथन यसो भन्छन्: “म फेलिसासित केही कुरा लुकाउँदिनँ। उनी मलाई प्रलोभनहरूदेखि टाढै रहन मदत गर्छिन् र मलाई कस्तो हुँदै छ भनेर बेलाबेलामा सोध्छिन्। अनि इन्टरनेटमा धेरै समय नबिताउन पनि मदत गर्छिन्।” आफ्नो पति अश्लील कुराप्रति आकर्षित भएको देख्दा फेलिसाको मन दुख्नु स्वाभाविकै हो। तर तिनी भन्छिन्: “म रिसाउँदैमा र दुःखी हुँदैमा त्यसले उहाँलाई कुलत छोड्न मदत गर्दैन। सुरुमा हामी उहाँको समस्याबारे कुरा गर्छौँ। त्यसपछि उहाँको कुलतले गर्दा मलाई कस्तो लागिरहेको छ भनेर उहाँलाई बताउँछु। त्यसले उहाँलाई कुलत त्याग्न र फेरि मेरो भरोसा जित्न उत्प्रेरित गर्छ।”
यसरी खुलेर कुरा गर्दा पतिले आफ्नो कुलत छुटाउन मदत पाउन सक्छन्। साथै पत्नीले पनि पतिलाई फेरि भरोसा गर्न सक्छिन्। पतिले आफ्नो कमजोरी, दैनिक गतिविधि र आफू कहाँ छु भनेर बताउँदा पत्नीलाई आफ्नो पतिमाथि भरोसा गर्न सजिलो हुन्छ। किनकि अब भने पतिले पत्नीबाट कुनै कुरा लुकाइरहेका छैनन्।
के तपाईँलाई पनि आफ्नो पतिलाई यस्तै कुनै तरिकामा मदत गर्न सकिन्छ जस्तो लाग्छ? लाग्छ भने यो लेख दुवै जनाले सँगै पढेर छलफल गर्नुभए कसो होला? तिनीसित अश्लील सामग्री हेर्ने कुलत छोड्ने र तपाईँको भरोसा फेरि जित्ने इच्छा हुनुपर्छ। तपाईँले तिनको कुलतबारे कुरा गर्न खोज्दा तिनी रिसाउनु हुँदैन बरु त्यो कुलतले तपाईँलाई कसरी असर गरिरहेको छ भनेर तिनले बुझ्ने कोसिस गर्नुपर्छ। तिनले आफ्नो कुलत छोड्ने प्रयास गर्दा तपाईँले साथ दिनुपर्छ। अनि तिनले तपाईँको भरोसा जित्ने प्रयास गर्दा तपाईँले त्यसको कदर गर्नुपर्छ। पतिपत्नीले मानिसहरू कस्ता कारणहरूले गर्दा यो कुलतमा फस्छन् र यस समस्यालाई कसरी हटाउन सकिन्छ भनेर बुझ्नुपर्छ। d
यस विषयमा कुरा गऱ्यो कि त झगडा भइहाल्छ जस्तो लाग्छ भने तपाईँहरू दुवैलाई कुरा गर्न सजिलो लाग्ने एल्डरसित कुरा गर्नुहोस् र यसबारे छलफल गर्दा सँगै बसिदिन आग्रह गर्नुहोस्। तपाईँको पतिले अश्लील सामग्री हेर्ने कुलत छोडिसके तापनि तिनीमाथि फेरि भरोसा गर्न लामो समय लाग्न सक्छ भन्ने कुरा मनमा राख्नुहोस्। त्यसैले हरेस नखानुहोस्। आफ्नो सम्बन्धमा अलिकति मात्र सुधार आएको छ भने पनि त्यसमा खुसी हुनुहोस्। तपाईँहरू दुवै धीरजी हुनुभयो भने समयको दौडान तपाईँहरूको सम्बन्ध फेरि बलियो हुनेछ भनेर आशा गर्नुहोस्।—पतिले कुलत छोडेनन् भने नि?
तपाईँको पतिले फेरि अश्लील सामग्री हेर्न थालेका छन् भने के तिनी अपश्चात्तापी हुन् वा सुध्रिने आशै छैन भन्ने हो? त्यसो त होइन। यदि तिनलाई त्यसको लत नै लागिसकेको छ भने तिनले आफ्नो जिन्दगीभर त्यससित सङ्घर्ष गर्नुपर्ने हुन सक्छ। त्यस्तो कुलत छोडेको वर्षौँपछि पनि त्यो फेरि फर्कन सक्छ। यसो हुन नदिन तिनले पहिला चालेका कदमहरूलाई निरन्तरता दिनुपर्ने हुन्छ। (हितो. २८:१४; मत्ति ५:२९; १ कोरि. १०:१२) तिनले “आफ्नो सोच्ने तरिकालाई नयाँ बनाइरहनुपर्छ” र अश्लील सामग्रीहरू हेर्ने, हस्तमैथुन गर्नेजस्ता “खराब कुरालाई घृणा” गर्न सिक्नुपर्छ। (एफि. ४:२३; भज. ९७:१०; रोमी १२:९) के तिनी यस्ता कदमहरू चाल्न तयार छन्? छन् भने आशा नमार्नुहोस्, तिनी सुध्रन सक्छन्। e
तर तपाईँको पति कुलत छोड्न चाहँदैनन् भने नि? त्यसो हुँदा तपाईँलाई निराशाको भावनाले सताइरहन सक्छ, रिस उठिरहन सक्छ र धोका पाएको महसुस भइरहन सक्छ। तर आफ्नो सारा फिक्री यहोवामाथि बिसाएर मनोशान्ति कायम गर्ने कोसिस गर्नुहोस्। (१ पत्रु. ५:७) अध्ययन, प्रार्थना र मननमार्फत यहोवासित नजिक भइरहने कोसिस गर्नुहोस्। तपाईँले यस्तो प्रयास गर्दा उहाँ पनि तपाईँसँग नजिक हुनुहुनेछ भन्ने कुरामा ढुक्क हुनुहोस्। यसैया ५७:१५ मा भनिएझैँ ‘मन भाँचिएका र कमजोरहरूलाई’ सान्त्वना दिन उहाँ तिनीहरूको साथमा हुनुहुन्छ। असल ख्रिष्टियन बन्न सक्दो कोसिस गर्नुहोस्। एल्डरहरूसित मदत माग्नुहोस्। अनि भविष्यमा तपाईँको पति परिवर्तन पनि हुन सक्छन् भनेर आशा गर्नुहोस्।—रोमी २:४; २ पत्रु. ३:९.
a यस लेखमा अश्लील सामग्री हेर्ने कुलतमा फसेका पतिहरूबारे चर्चा गरिएको छ। तर यस लेखमा छलफल गरिएका बाइबल सिद्धान्तहरू ती पतिहरूका लागि पनि लागू हुन्छ, जसकी पत्नी अश्लील सामग्री हेर्ने कुलतमा फसेकी छिन्।
b अश्लील सामग्री हेर्नुलाई सम्बन्धविच्छेद गर्ने धर्मशास्त्रीय आधार मान्न सकिँदैन।—मत्ति १९:९.
c नामहरू परिवर्तन गरिएका छन्।
d थप जानकारीको लागि jw.org र हाम्रा प्रकाशनहरू हेर्नुहोस्। जस्तै: jw.org मा “अश्लील सामग्रीले तपाईँको वैवाहिक सम्बन्धलाई तहसनहस पार्न सक्छ” (अङ्ग्रेजी); अप्रिल १, २०१४ अङ्कको प्रहरीधरहरा-को पृ. १०-१२ मा भएको “प्रलोभनको शिकार हुनदेखि बच्न सक्नुहुन्छ” र अगस्त १, २०१३ अङ्कको प्रहरीधरहरा पुस्तिकाको पृ. ३-७ मा भएको “के अश्लील सामग्री हानिकारक छ?” भन्ने लेखहरू हेर्नुहोस्।
e अश्लील सामग्री हेर्ने व्यक्तिलाई त्यसको लत नै बस्ने भएकोले केही दम्पतीले एल्डरहरूको मदत लिनुका साथै विशेषज्ञहरूको पनि मदत लिने छनौट गरेका छन्।