अध्ययन लेख ३१
गीत १२ महान् परमेश्वर यहोवा
यहोवाले मानिसहरूलाई पाप र मृत्युबाट छुटकारा दिन के गर्नुभएको छ?
“परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो।”—युह. ३:१६.
सिक्न सकिने कुरा
हामीलाई पापी झुकावविरुद्ध लड्न यहोवाले कसरी मदत गर्नुहुन्छ? हामीलाई पापबाट मुक्ति दिन र अनन्त जीवन दिन यहोवाले कस्तो प्रबन्ध गर्नुभएको छ?
१-२. (क) पाप भनेको के हो र हामी पापविरुद्धको लडाइँ कसरी जित्न सक्छौँ? (“थप व्याख्या” पनि हेर्नुहोस्।) (ख) यस लेखमा र यसपछिका लेखहरूमा हामी के छलफल गर्नेछौँ? (यस अङ्कमा भएको “पाठकहरूलाई जानकारी” पनि हेर्नुहोस्।)
यहोवा तपाईँलाई कति प्रेम गर्नुहुन्छ? यसको जवाफ पाउन यहोवाले तपाईँलाई पाप र मृत्युबाट छुटकारा दिन के गर्नुभएको छ भनेर अध्ययन गर्न सक्नुहुन्छ। पाप a एउटा शक्तिशाली शत्रु हो, जसलाई तपाईँ आफ्नै भरमा हराउन सक्नुहुन्न। हामी हरेक दिन पाप गर्छौँ र पापकै कारण हामी मर्छौँ। (रोमी ५:१२) तर खुसीको कुरा यहोवाको मदत पाएर हामी पाप र मृत्युमाथि पक्कै विजयी हुन सक्छौँ।
२ परमेश्वरले मानिसहरूलाई पापविरुद्ध लड्न लगभग ६ हजार वर्षदेखि मदत गर्दै आउनुभएको छ। किन? किनकि उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। उहाँले मानिसलाई सृष्टि गर्नुभएदेखि नै प्रेम गर्नुभएको छ। त्यसैले उहाँले हामीलाई पापविरुद्ध लड्न मदत गर्न थुप्रै कुरा गर्नुभएको छ। पापले मृत्युसम्म पुऱ्याउँछ। तर हामीले मृत्यु भोगेको उहाँ चाहनुहुन्न। उहाँ हामी सधैँभरि बाँचेको चाहनुहुन्छ। (रोमी ६:२३) यहोवा तपाईँ पनि सधैँभरि बाँचेको चाहनुहुन्छ। यस लेखमा हामी तीन वटा प्रश्नबारे छलफल गर्नेछौँ। ती हुन्: (१) यहोवाले त्रुटिपूर्ण मानिसहरूलाई कस्तो आशा दिनुभएको छ? (२) बाइबलकालीन समयमा त्रुटिपूर्ण मानिसहरूले कसरी यहोवाको अनुमोदन पाए? (३) मानिसहरूलाई पाप र मृत्युबाट छुटकारा दिन येसुले के गर्नुभयो?
यहोवाले त्रुटिपूर्ण मानिसहरूलाई कस्तो आशा दिनुभएको छ?
३. हाम्रा प्रथम आमाबुबा कसरी पापी भए?
३ यहोवाले पहिलो पुरुष र स्त्री बनाउनुभयो। उहाँ तिनीहरू आनन्दित भएको चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई बस्नको लागि सुन्दर ठाउँ, उपहारस्वरूप सुहाउँदो जीवनसाथी र अर्थपूर्ण काम दिनुभयो। तिनीहरूले आफ्नो सन्तानले पृथ्वी भर्नुपर्थ्यो र पूरै पृथ्वीलाई अदनको बगैँचाजस्तै सुन्दर बनाउनुपर्थ्यो। उहाँले तिनीहरूलाई एउटा मात्र निषेधाज्ञा दिनुभएको थियो। त्यो निषेधाज्ञा तोडेमा तिनीहरू मर्नुपर्नेछ भनेर उहाँले चेतावनी दिनुभएको थियो। तर तिनीहरू जानाजानी यहोवाप्रति अनाज्ञाकारी भए। एक जना दुष्ट स्वर्गदूतले तिनीहरूलाई यहोवाप्रति अनाज्ञाकारी हुन उक्सायो। त्यो स्वर्गदूत मानिसहरूलाई र परमेश्वरलाई प्रेम गर्दैनथ्यो। आदम र हव्वा त्यसको बहकाउमा परे। तिनीहरूले मायालु बुबामाथि भरोसा गरेनन् र पाप गरे। त्यसपछि यहोवाले जे भन्नुभएको थियो, त्यही भयो। पाप गरेकै दिनदेखि तिनीहरूले दुःखद नतिजाहरू भोग्न थाले। तिनीहरू बिस्तारै बूढाबूढी भए, बिरामी परे र मरे।—उत्प. १:२८, २९; २:८, ९, १६-१८; ३:१-६, १७-१९, २४; ५:५.
४. यहोवा किन पापलाई घृणा गर्नुहुन्छ र त्यसविरुद्ध लड्न हामीलाई मदत गर्नुहुन्छ? (रोमी ८:२०, २१)
४ यहोवाले हाम्रो भलाइको लागि त्यो दुःखद घटना बाइबलमा लेख्न लगाउनुभयो। उहाँ पापलाई किन यत्ति धेरै घृणा गर्नुहुन्छ भनेर त्यस घटनाबाट बुझ्न सक्छौँ। पापले हामीलाई हाम्रो बुबा यहोवादेखि टाढा बनाउँछ र त्यसले मृत्युसम्म पुऱ्याउँछ। (यसै. ५९:२) सैतान यहोवा र मानिसहरूलाई घृणा गर्छ। त्यसैले त्यसले आदम र हव्वालाई पाप गर्न उक्सायो र आजसम्म पनि त्यसले त्यसो गर्न छोडेको छैन। त्यसलाई अदनको बगैँचामा आफूले ठूलो जित हासिल गरेको जस्तो लागेको हुन सक्छ। तर यहोवा कत्ति मायालु परमेश्वर हुनुहुन्छ भनेर त्यसले बुझेको थिएन। उहाँले आदम र हव्वाका सन्तानहरूका लागि आफ्नो उद्देश्य कहिल्यै परिवर्तन गर्नुभएन। उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्छ। त्यसैले आदम र हव्वाले पाप गर्नेबित्तिकै उहाँले मानिसजातिलाई एउटा आशा दिनुभयो। (रोमी ८:२०, २१ पढ्नुहोस्।) तिनीहरूका सन्तानहरूमध्ये केहीले उहाँलाई प्रेम गर्नेछन् र पापविरुद्ध लड्न उहाँको मदत खोज्नेछन् भनेर उहाँलाई थाह थियो। यहोवाले तिनीहरूलाई आफूसित नजिक हुन अनि पाप र मृत्युबाट जोगाउन बाटो खोलिदिनुभयो। कसरी?
५. यहोवाले त्रुटिपूर्ण मानिसहरूलाई कहिले आशा दिनुभयो, व्याख्या गर्नुहोस्। (उत्पत्ति ३:१५)
५ उत्पत्ति ३:१५ पढ्नुहोस्। यहोवाले सैतानलाई नाश गर्नेछु भनेर घोषणा गर्नुभयो, जुन कुराले आदम र हव्वाका सन्तानहरूलाई आशा दिने थियो। “स्त्रीको सन्तान”-ले मानिसहरूलाई बचाउनेछ भनेर उहाँले भविष्यवाणी गर्नुभयो। त्यस सन्तानले सैतानको शिर कुच्याउने थियो र सैतानले निम्त्याएको सम्पूर्ण दुःखकष्टलाई हटाउने थियो। (१ युह. ३:८) तर त्यसको लागि त्यस सन्तानले दुःख भोग्नुपर्ने थियो। सैतानले स्त्रीको सन्तानको कुर्कुच्चो डस्ने थियो अर्थात् तिनको मृत्यु हुने थियो। त्यसले यहोवालाई गहिरो चोट पुऱ्याउने थियो। तर उहाँ त्यस्तो चोट सहन तयार हुनुहुन्थ्यो। किनकि मानिसहरूले पाप र मृत्युबाट छुटकारा पाएको उहाँ चाहनुहुन्थ्यो।
बाइबलकालीन समयमा त्रुटिपूर्ण मानिसहरूले कसरी यहोवाको अनुमोदन पाए?
६. यहोवासित नजिक हुन हाबिल र नुहजस्ता पुरुषहरूले के गरे?
६ यहोवाले त्रुटिपूर्ण मानिसहरू उहाँसित कसरी नजिक हुन सक्छन् भनेर क्रमिक रूपमा प्रस्ट पार्दै जानुभयो। अदनमा भएको विद्रोहपछि यहोवामाथि विश्वास गर्ने पहिलो मानिस हाबिल थिए। तिनी आदम र हव्वाका माहिला छोरा थिए। हाबिल यहोवालाई प्रेम गर्थे र उहाँलाई खुसी पार्न अनि उहाँसित नजिक हुन चाहन्थे। त्यसैले तिनले यहोवाको लागि बलिदानहरू चढाए। हाबिल गोठाला थिए। त्यसैले तिनले आफ्नो बगालबाट केही पाठाहरू ल्याए र यहोवालाई चढाए। यहोवालाई ती भेटीहरू कस्तो लाग्यो? उहाँले “हाबिल र तिनको भेटी स्विकार्नुभयो।” (उत्प. ४:४) यहोवालाई प्रेम गर्ने अनि उहाँमाथि भरोसा गर्ने अरू मानिसहरूले चढाएका बलिदानहरू पनि उहाँले स्विकार्नुभयो। जस्तै: नुहले चढाएको बलिदान। (उत्प. ८:२०, २१) त्यस्ता भेटीहरू स्विकारेर यहोवाले त्रुटिपूर्ण मानिसहरूले उहाँको अनुमोदन पाउन सक्छन् र उहाँसित नजिक हुन सक्छन् भनेर देखाउनुभयो। b
७. अब्राहाम आफ्नो छोरा बलिदान चढाउन तयार भएको कुराबाट हामी के सिक्न सक्छौँ?
७ अब्राहामको यहोवामाथिको विश्वास बलियो थियो। उहाँले तिनलाई एउटा असाध्यै गाह्रो काम अह्राउनुभयो। तिनले आफ्नो छोरा इसहाक बलिदानस्वरूप चढाउनुपर्ने थियो। अब्राहामलाई त्यो कुरा सोच्दा मात्र पनि निकै पीडा भएको हुनुपर्छ। तर तिनी त्यसो गर्न तयार भए। तिनले आफ्नो छोरा बलि चढाउनै लाग्दा परमेश्वरले तिनलाई रोक्नुभयो। त्यस घटनाबाट यहोवाले भविष्यमा के गर्नुहुने थियो भनेर बुझ्न सक्छौँ। यहोवा आफ्नो छोरा बलिदानस्वरूप चढाउन तयार हुनुहुने थियो। साँच्चै यहोवा मानिसहरूलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ!—उत्प. २२:१-१८.
८. पशुबलिहरू कुन कुराको पूर्वझलक थिए? (लेवी ४:२७-२९; १७:११)
८ शताब्दीयौँपछि यहोवाले इस्राएलीहरूलाई व्यवस्था दिनुभयो। त्यस व्यवस्थाअनुसार तिनीहरूले पापको प्रायश्चित गर्न पशुबलिहरू चढाउनुपर्थ्यो। (लेवी ४:२७-२९; १७:११ पढ्नुहोस्।) त्यस्ता बलिहरू अझ उत्तम बलिदानको पूर्वझलक थियो। त्यस बलिदानले सम्पूर्ण मानिसजातिलाई पापबाट पूर्णतया मुक्ति दिने थियो। भविष्यवक्ताहरूले प्रतिज्ञा गरिएको सन्तान अर्थात् परमेश्वरको छोराले सास्ती र मृत्यु भोग्नुपर्नेछ भनेर भविष्यवाणी गरे। उहाँ बलिदानस्वरूप चढाइने भेडाजस्तै मारिनुहुने थियो। (यसै. ५३:१-१२) एकछिन सोच्नुहोस् त, यहोवाले तपाईँलगायत सम्पूर्ण मानिसजातिलाई पाप र मृत्युबाट छुटकारा दिन आफ्नो प्यारो छोरा बलिदानस्वरूप दिनुहुने थियो!
मानिसहरूलाई पाप र मृत्युबाट छुटकारा दिन येसुले के गर्नुभयो?
९. बप्तिस्मा गराउने युहन्नाले येसुबारे के भने? (हिब्रू ९:२२; १०:१-४, १२)
९ इस्वी संवत् २९ मा बप्तिस्मा गराउने युहन्नाले येसुतिर हेर्दै यसो भने: “हेर, परमेश्वरको पाठो, जसले संसारको पाप हटाउनुहुन्छ!” (युह. १:२९) यी शब्दहरूबाट यहोवाले धेरैअघि प्रतिज्ञा गर्नुभएको सन्तान येसु नै हुनुहुन्छ र उहाँले आफ्नो जीवन बलिदानस्वरूप चढाउनुहुनेछ भनेर स्पष्ट भयो। यसले गर्दा पापबाट पूर्णतया मुक्ति पाउने आशा झनै चहकिलो भयो।—हिब्रू ९:२२; १०:१-४, १२ पढ्नुहोस्।
१०. येसुले आफू “पापीहरूलाई बोलाउन” आएको कुरा कसरी देखाउनुभयो?
१० येसुले पापको बोझले दबिएका मानिसहरूलाई विशेष ध्यान दिनुभयो र तिनीहरूलाई आफ्नो चेला हुन निम्तो दिनुभयो। मानिसजातिको दुःखकष्टको मुख्य कारण पाप हो भनेर उहाँलाई थाह थियो। त्यसैले उहाँले पापी र पापीनी भनेर चिनिएकाहरूलाई तुच्छ ठान्नुभएन। उहाँले यसो भन्नुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको खाँचो पर्छ। . . . म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।” (मत्ति ९:१२, १३) अनि उहाँले त्यस्तै गर्नु पनि भयो। उहाँको पाउ आँसुले भिजाएर पुछ्ने एक स्त्रीको पाप उहाँले क्षमा गर्नुभयो। (लुका ७:३७-५०) एक जना सामरियाली स्त्रीले अनैतिक जीवनशैली बिताइरहेकी छिन् भनेर थाह भए तापनि उहाँले तिनलाई महत्त्वपूर्ण सत्यहरू सिकाउनुभयो। (युह. ४:७, १७-१९, २५, २६) परमेश्वरले येसुलाई पापले निम्त्याउने मृत्युलाई समेत हटाउने शक्ति दिनुभयो। येसुले पुरुष, स्त्री र केटाकेटीलाई फेरि जीवित पार्नुभयो।—मत्ति ११:५.
११. खराब काम गर्नेहरूलाई समेत येसुकहाँ आउन किन सजिलो लाग्थ्यो?
११ एकदमै खराब काम गर्ने मानिसहरू पनि येसुकहाँ आउन सजिलो मान्थे। किनकि उहाँ तिनीहरूको भावना बुझ्नुहुन्थ्यो र तिनीहरूलाई दया देखाउनुहुन्थ्यो। (लुका १५:१, २) येसुमाथि विश्वास गरेकोले उहाँले तिनीहरूको प्रशंसा गर्नुभयो र तिनीहरूलाई दया देखाउनुभयो। (लुका १९:१-१०) येसुले आफ्नो बुबा कत्ति कृपालु हुनुहुन्छ भनेर देखाउनुभयो। (लुका १४:९) उहाँले आफ्नो बोली र व्यवहारबाट यहोवा मानिसहरूलाई प्रेम गर्नुहुन्छ र पापविरुद्धको लडाइँ जित्न मदत गर्न चाहनुहुन्छ भनेर देखाउनुभयो। येसुले मानिसहरूलाई आफ्नो पुरानो जीवनशैली त्याग्न र उहाँको पछि लाग्न मदत गर्नुभयो।—लुका ५:२७, २८.
१२. येसुले आफ्नो मृत्युले गर्दा कस्ता कुराहरू सम्भव हुनेछन् भनेर बताउनुभयो?
१२ येसुलाई आफू पृथ्वीमा आउनुको कारण थाह थियो। उहाँले थुप्रै चोटि आफ्ना चेलाहरूलाई उहाँलाई धोका दिइनेछ र खम्बामा टाँगिनेछ भनेर बताउनुभयो। (मत्ति १७:२२; २०:१८, १९) युहन्नाले बताएझैँ र भविष्यवक्ताहरूले भविष्यवाणी गरेझैँ उहाँको बलिदानले संसारको पाप हटाउनेछ भनेर उहाँलाई थाह थियो। येसुले आफ्नो मृत्युपछि ‘हरकिसिमका मानिसहरू उहाँतर्फ आकर्षित हुनेछन्’ भनेर बताउनुभयो। (युह. १२:३२) येसुमाथि विश्वास गरेर उहाँका आज्ञाहरू पालन गर्दा तिनीहरूले यहोवालाई खुसी बनाउन सक्छन्। त्यसो गरेर तिनीहरू “पापबाट स्वतन्त्र” हुन सक्छन्। (रोमी ६:१४, १८, २२; युह. ८:३२) त्यसैले येसुले राजीखुसीले अनि साहसी भएर पीडादायी मृत्यु भोग्नुभयो।—युह. १०:१७, १८.
१३. येसुले कस्तो मृत्यु भोग्नुभयो र त्यसबाट हामी यहोवाबारे के सिक्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
१३ येसुलाई धोका दिइयो, पक्राउ गरियो, बेइज्जत गरियो, झूटो आरोप लगाइयो र चरम यातना दिइयो। त्यसपछि सैनिकहरूले उहाँलाई मृत्युदण्ड दिइने ठाउँसम्म लगे र उहाँलाई किला ठोकेर खम्बामा टाँगे। येसुलाई यी कुराहरू सहन निकै गाह्रो भयो। तर यो सबै घटना हेरिरहनुभएको उहाँको बुबा यहोवालाई अझ धेरै गाह्रो भयो। उहाँले आफ्नो अथाह शक्ति प्रयोग गरेर आफ्नो छोरालाई बचाउन सक्नुहुन्थ्यो। तर उहाँले त्यसो गर्नुभएन। यहोवा येसुलाई धेरै माया गर्नुहुन्थ्यो तर उहाँले आफ्नो छोरालाई किन त्यस्तो पीडादायी मृत्यु भोग्न दिनुभयो? हामीप्रतिको प्रेमले गर्दा। येसुले यसो भन्नुभयो: “परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।”—युह. ३:१६.
१४. येसुको बलिदानबाट तपाईँ के सिक्न सक्नुहुन्छ?
१४ यहोवा आदम र हव्वाका सन्तानहरूलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण येसुको बलिदान हो। यहोवा तपाईँलाई धेरै माया गर्नुहुन्छ। तपाईँलाई पाप र मृत्युबाट छुटकारा दिन उहाँले आफ्नो प्यारो छोरालाई समेत मर्न पठाउनुभयो र ठूलो चोट सहनुभयो। (१ युह. ४:९, १०) हो, उहाँ हामी प्रत्येकलाई पापविरुद्ध लड्न र त्यसमाथि विजयी हुन मदत गर्न चाहनुहुन्छ।
१५. फिरौतीको बलिदानबाट लाभ उठाउन हामीले के गर्नुपर्छ?
१५ परमेश्वरले दिनुभएको उपहार अर्थात् फिरौतीको बलिदानले गर्दा हाम्रा पापहरूको क्षमा पाउन सम्भव भएको छ। तर त्यसको लागि हामीले केही कुरा गर्नै पर्छ। त्यसबारे बप्तिस्मा गराउने युहन्ना र येसुले यसो भन्नुभयो: “पश्चात्ताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ।” (मत्ति ३:१, २; ४:१७) त्यसैले पापहरूको क्षमा पाउन र परमेश्वरसित नजिक हुन हामीले पश्चात्ताप गर्नै पर्छ। तर पश्चात्ताप गर्नुमा कस्ता कुराहरू समावेश छन् र पश्चात्ताप गरेर हामी यहोवालाई कसरी खुसी बनाउन सक्छौँ? यी प्रश्नहरूबारे हामी अर्को लेखमा छलफल गर्नेछौँ।
गीत १८ फिरौतीको बलिदानप्रति कृतज्ञ
a थप व्याख्या: बाइबलमा प्रयोग गरिएको “पाप” भन्ने शब्दले यहोवाको नैतिक स्तरहरूअनुसार चल्नदेखि चुकेर गरेको गलत कामलाई बुझाउन सक्छ। तर यस शब्दले हामीले आदमबाट जन्मजातै पाएको त्रुटिपूर्ण र पापी अवस्थालाई पनि बुझाउन सक्छ। जन्मजातै पाएको पापले गर्दा हामी सबै जना मर्छौँ।