अध्ययन लेख ३२
गीत ४४ दुःखी मानिसको प्रार्थना
यहोवा सबैले पश्चात्ताप गरेको चाहनुहुन्छ
“यहोवा . . . कोही पनि नाश नहोस् बरु सबैले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।”—२ पत्रु. ३:९.
सिक्न सकिने कुरा
पश्चात्ताप भनेको के हो? पश्चात्ताप गर्नु किन जरुरी छ र यहोवाले मानिसहरूलाई पश्चात्ताप गर्न कसरी मदत गर्नुभएको छ?
१. पश्चात्ताप गर्नुमा के-कस्ता कुराहरू समावेश छन्?
कुनै गलत काम गरेपछि हामीले पश्चात्ताप गर्नुपर्छ। बाइबलमा बताइएअनुसार पश्चात्ताप गर्ने व्यक्तिले आफूले गरेको खराब कामलाई घृणा गर्न थाल्छ, त्यो खराब काम गर्न छोड्छ र फेरि नदोहोऱ्याउने सङ्कल्प गर्छ।—शब्दावलीमा “पश्चात्ताप” हेर्नुहोस्।
२. हामी सबैले पश्चात्तापबारे सिक्नु किन जरुरी छ? (नहेम्याह ८:९-११)
२ सबै मानिसले पश्चात्तापबारे सिक्नु जरुरी छ। किन? किनभने हामी सबै जना हरेक दिन पाप गर्छौँ। आदम र हव्वाको सन्तान भएकोले हामीमा तिनीहरूबाट जन्मजातै पाप र मृत्यु सरेको छ। (रोमी ३:२३; ५:१२) प्रेषित पावलजस्ता उल्लेखनीय विश्वास देखाएका मानिसहरूले पनि पापी झुकावविरुद्ध सङ्घर्ष गरे। हामी पनि पापी भएकोले हामीले त्यस्तो सङ्घर्ष गरिरहनुपर्छ। (रोमी ७:२१-२४) तर के त्यसको मतलब आफ्ना पापहरूले गर्दा हामी सधैँ उदास भएर बस्नुपर्छ भन्ने हो? अहँ, त्यसो त होइन। यहोवा कृपालु हुनुहुन्छ र उहाँ हामी आनन्दित भएको चाहनुहुन्छ। नहेम्याहको समयका यहुदीहरूबारे विचार गरौँ। (नहेम्याह ८:९-११ पढ्नुहोस्।) यहोवा तिनीहरू विगतका गल्तीहरू सम्झेर उदास भएको चाहनुहुन्नथ्यो बरु तिनीहरू उहाँको सेवामा आनन्दित भएको चाहनुहुन्थ्यो। पश्चात्ताप गरेपछि हामी आनन्दित हुन्छौँ भनेर यहोवालाई थाह छ। त्यसैले उहाँले हामीलाई पश्चात्तापबारे थुप्रै कुराहरू सिकाउनुभएको छ। यदि हामीले आफ्ना पापहरूको पश्चात्ताप गऱ्यौँ भने हाम्रा कृपालु बुबाले हामीलाई क्षमा गर्नुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ।
३. यस लेखमा हामी के छलफल गर्नेछौँ?
३ यस लेखमा हामी पश्चात्तापबारे अझ धेरै कुरा सिक्नेछौँ। हामी यी तीन प्रश्नबारे विचार गर्नेछौँ। पहिलो, यहोवाले इस्राएल राष्ट्रलाई पश्चात्तापबारे के सिकाउनुभयो? दोस्रो, पाप गर्नेहरूले पश्चात्ताप गरून् भनेर यहोवाले के गर्नुभयो? तेस्रो, येसुले आफ्ना चेलाहरूलाई पश्चात्तापबारे के सिकाउनुभयो?
यहोवाले इस्राएल राष्ट्रलाई पश्चात्तापबारे के सिकाउनुभयो?
४. यहोवाले इस्राएल राष्ट्रलाई पश्चात्तापबारे कसरी सिकाउनुभयो?
४ यहोवाले व्यवस्था दिनुहुँदा इस्राएलीहरूले त्यसमा भएका सबै आज्ञाहरू पालन गर्ने वाचा गरे। त्यो वाचा पूरा गरेको खण्डमा यहोवाले तिनीहरूलाई सुरक्षा र आशिष् दिनुहुने थियो। उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “मैले आज तिमीहरूलाई दिएको आज्ञा बुझ्न वा पालन गर्न धेरै गाह्रो छैन।” (व्यव. ३०:११, १६) तर तिनीहरूले यहोवाको विद्रोह गरेको खण्डमा वा अन्य देवीदेवताहरूको उपासना गरेको खण्डमा उहाँले तिनीहरूलाई आशिष् दिन छोड्नुहुने थियो र तिनीहरूले दुःख भोग्ने थिए। तर तिनीहरू फेरि यहोवाकहाँ फर्कनै सक्दैनन् भन्ने थिएन। तिनीहरू ‘यहोवा आफ्ना परमेश्वरकहाँ फर्कन र उहाँले बताउनुभएका सबै आज्ञा पालन गर्न सक्थे।’ (व्यव. ३०:१-३, १७-२०) अर्को शब्दमा भन्ने हो भने, तिनीहरूले पश्चात्ताप गर्न सक्थे। त्यसो गरेको खण्डमा यहोवा तिनीहरूसित फेरि नजिक हुनुहुने थियो र उहाँले तिनीहरूलाई फेरि आशिष् दिनुहुने थियो।
५. यहोवाले आफ्ना जनहरूलाई नत्यागेको कुरा कसरी देखाउनुभयो? (२ राजा १७:१३, १४)
५ इस्राएलीहरूले बारम्बार यहोवाको विद्रोह गरे। तिनीहरूले मूर्तिपूजा गरे र अन्य घिनलाग्दा कामहरू पनि गरे। त्यसले गर्दा तिनीहरूले दुःख भोग्नुपऱ्यो। तर यहोवाले तिनीहरूलाई त्याग्नुभएन। तिनीहरूले पश्चात्ताप गरून् र उहाँकहाँ फर्कून् भनेर उहाँले बारम्बार भविष्यवक्ताहरूलाई पठाउनुभयो।—२ राजा १७:१३, १४ पढ्नुहोस्।
६. यहोवाले भविष्यवक्ताहरूमार्फत आफ्ना जनहरूलाई पश्चात्ताप गर्नुको महत्त्व कसरी बुझाउनुभयो? (चित्र पनि हेर्नुहोस्।)
६ यहोवाले अक्सर भविष्यवक्ताहरूमार्फत आफ्ना जनहरूलाई चेतावनी दिनुभयो र सच्याउनुभयो। जस्तै: यर्मियामार्फत यहोवाले यसो भन्नुभयो: “हे विश्वासघाती इस्राएल, मतिर फर्क . . . म तिमीलाई आँखा तर्नेछैनँ किनकि म वफादार छु . . . म सधैँ रिसाइरहन्नँ। केवल आफ्नो गल्ती स्विकार किनकि तिमीले यहोवा आफ्ना परमेश्वरको विरोध गरेकी छ्यौ।” (यर्मि. ३:१२, १३) योएलमार्फत यहोवाले यसो भन्नुभयो: “तिमीहरू सारा हृदयले मकहाँ फर्केर आओ।” (योए. २:१२, १३) यसैयामार्फत उहाँले यसो भन्नुभयो: “आफैलाई धोएर चोखो पार। तिमीहरूको कुकर्म मेरो नजरदेखि हटाओ। दुष्ट काम गर्न बन्द गरिहाल।” (यसै. १:१६-१९) इजकिएलमार्फत यहोवाले यसो भन्नुभयो: “दुष्ट मर्दा म खुसी हुन्छु र? के म उसले खराब काम त्यागेर बाँचेको हेर्न चाहन्नँ र? . . . कोही मर्दा म खुसी हुन्नँ। त्यसैले दुष्ट काम गर्न छोड र बाँच!” (इज. १८:२३, ३२) मानिसहरूले पश्चात्ताप गरेको देख्दा यहोवालाई खुसी लाग्छ किनभने उहाँ तिनीहरू सधैँभरि बाँचेको चाहनुहुन्छ। त्यसैले उहाँ मानिसहरूले पश्चात्ताप गरेपछि मात्र मदत गर्छु भनेर पर्खेर बस्नुहुन्न। आउनुहोस्, केही उदाहरण विचार गरौँ।
७. भविष्यवक्ता होसे र तिनकी पत्नीको उदाहरणबाट यहोवाले आफ्ना जनहरूलाई के सिकाउनुभयो?
७ भविष्यवक्ता होसे र उनकी पत्नी गोमेरको उदाहरणबाट यहोवाले इस्राएलीहरूलाई के सिकाउनुभयो, विचार गरौँ। गोमेरले व्यभिचार गरिन् र होसेलाई छोडेर अरू पुरुषहरूसित लागिन्। के तिनी अब फर्केर आउन असम्भव थियो? मानिसको मन पढ्न सक्नुहुने यहोवाले होसेलाई यसो भन्नुभयो: “जाऊ, त्यस स्त्रीलाई फेरि प्रेम गर, जसले व्यभिचार गरेकी छे अनि जसलाई अर्कै पुरुषले प्रेम गर्छ। जसरी अरू देवताहरूको पछि लाग्ने . . . इस्राएलका मानिसहरूलाई यहोवा प्रेम गर्नुहुन्छ, त्यसरी नै तिमीले पनि त्यस स्त्रीलाई प्रेम गर।” (होसे ३:१; हितो. १६:२) यहाँ लेखिएको “जसले व्यभिचार गरेकी छे” भन्ने अभिव्यक्तिलाई मूल भाषामा “जसले व्यभिचार गर्न छोडेकी छैन” भनिएको छ। तैपनि यहोवाले होसेलाई गोमेरकहाँ जान, तिनलाई क्षमा गर्न र फेरि मिलाप गर्न भन्नुभयो। a त्यसैगरि यहोवाले पनि हठी इस्राएलीहरूलाई त्याग्नुभएको थिएन। तिनीहरूले गम्भीर पाप गरेको भए तापनि उहाँ तिनीहरूलाई अझै प्रेम गर्नुहुन्थ्यो। त्यसैले तिनीहरूलाई पश्चात्ताप गर्न र खराब मार्ग त्याग्न मदत गर्न उहाँले भविष्यवक्ताहरू पठाइरहनुभयो। यस उदाहरणबाट यहोवा ‘मानिसको हृदय जाँच्न सक्नुहुन्छ’ र गम्भीर गलत काम गरिरहेको व्यक्तिलाई पनि पश्चात्ताप गर्न मदत गर्नुहुन्छ भनेर बुझ्न सक्छौँ। (हितो. १७:३) आउनुहोस्, यसबारे थप कुरा बुझौँ।
यहोवा पापीहरूलाई पश्चात्ताप गर्न कसरी मदत गर्नुहुन्छ?
८. यहोवाले कयिनलाई पश्चात्ताप गर्न कसरी मदत दिनुभयो? (उत्पत्ति ४:३-७) (चित्र पनि हेर्नुहोस्।)
८ आदम र हव्वाका जेठा छोरा कयिनबारे विचार गरौँ। तिनी जन्मजातै पापी थिए। तिनीबारे बाइबल यसो भन्छ: “कयिनका कामहरू दुष्ट थिए।” (१ युह. ३:१२) सायद त्यसैले यहोवाले कयिन र तिनको भेटी स्विकार्नुभएन। दुष्ट काम गर्न छोड्नुको साटो “कयिन रिसले चूर भए र तिनले अँध्यारो मुख लगाए।” त्यसपछि यहोवाले के गर्नुभयो? उहाँले कयिनसित कुरा गर्नुभयो। (उत्पत्ति ४:३-७ पढ्नुहोस्।) याद गर्नुहोस्, यहोवाले कयिनलाई दयालुपूर्वक सम्झाउनुभयो। तिनले असल काम गरे भने तिनलाई आशिष् दिनेछु भन्नुभयो र दुष्ट काम गरिरहँदा कस्तो नतिजा भोग्नुपर्नेछ भनेर चेतावनी दिनुभयो। दुःखको कुरा, कयिनले यहोवाको कुरा सुनेनन्। यहोवाले कयिनलाई पश्चात्ताप गर्न मदत दिन खोज्नुहुँदा तिनले उहाँको मदत स्विकारेनन्। कयिनको यस्तो नकारात्मक प्रतिक्रिया देख्नुभएपछि के यहोवाले ‘अब आइन्दा कुनै पनि पापीलाई पश्चात्ताप गर्न मदत गर्दिनँ’ भनेर सोच्नुभयो? अहँ, सोच्नुभएन!
९. यहोवाले दाउदलाई पश्चात्ताप गर्न कसरी मदत गर्नुभयो?
९ यहोवा राजा दाउदलाई असाध्यै माया गर्नुहुन्थ्यो। तिनीबारे उहाँले यसो भन्नुभयो: “ऊ मलाई मन पर्ने मानिस हो।” (प्रेषि. १३:२२) तर दाउदले गम्भीर गल्तीहरू गरे। तिनले व्यभिचार र हत्या गरे। मोसाको व्यवस्थाअनुसार तिनी मृत्युदण्ड पाउन लायकका थिए। (लेवी २०:१०; गन्ती ३५:३१) तर यहोवाले तिनलाई पश्चात्ताप गर्न मदत गर्नुभयो। b उहाँले भविष्यवक्ता नातानलाई पठाउनुभयो। त्यतिबेलासम्म दाउदले पश्चात्तापको कुनै छनक देखाएका थिएनन्। नातानले दाउदको होस फर्काउन तिनलाई एउटा उदाहरण बताए। आफूले गर्दा यहोवाको कत्ति चित्त दुखेको रहेछ भनेर बुझेपछि दाउदले पश्चात्ताप गरे। (२ समु. १२:१-१४) तिनले आफ्नो पश्चात्तापी मनोभाव झल्किने एउटा भजन रचे। (भज. ५१, शिर बेहोरा) पाप गर्ने थुप्रै मानिसहरूले त्यो भजन पढेर सान्त्वना पाएका छन् र पश्चात्ताप गर्न उत्प्रेरित भएका छन्। त्यसैले यहोवाले दाउदलाई पश्चात्ताप गर्न मदत गर्नुभएकोमा हामी उहाँप्रति कृतज्ञ छौँ।
१०. यहोवाको धीरज र क्षमाबारे सोच्दा तपाईँ कस्तो महसुस गर्नुहुन्छ?
१० यहोवा सबै किसिमका पापलाई घृणा गर्नुहुन्छ। (भज. ५:४, ५) तर हामी पापी हौँ भनेर उहाँलाई थाह छ अनि हामीप्रतिको प्रेमले गर्दा उहाँ हामीलाई पापविरुद्ध लड्न मदत गर्नुहुन्छ। एकदमै ठूलो पाप गर्ने व्यक्तिलाई समेत पश्चात्ताप गर्न र उहाँसित नजिक हुन उहाँ सधैँ मदत गर्नुहुन्छ। यो कुरा कत्ति सान्त्वनादायी छ नि, हैन र? यहोवाको धीरज र क्षमाबारे मनन गऱ्यौँ भने हामी उहाँप्रति वफादार रहन र पाप गरिहाल्यौँ भने तुरुन्तै पश्चात्ताप गर्न उत्प्रेरित हुन्छौँ। अब आउनुहोस्, येसुले आफ्ना चेलाहरूलाई पश्चात्तापबारे के सिकाउनुभयो, त्यसबारे छलफल गरौँ।
येसुले चेलाहरूलाई पश्चात्तापबारे के सिकाउनुभयो?
११-१२. यहोवा क्षमाशील हुनुहुन्छ भनेर बुझाउन येसुले कुन उदाहरण चलाउनुभयो? (चित्र पनि हेर्नुहोस्।)
११ इस्वी संवत् प्रथम शताब्दीमा मसीह देखापर्ने समय आयो। अघिल्लो लेखमा छलफल गरिएझैँ पश्चात्ताप गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर बुझाउन यहोवाले बप्तिस्मा गराउने युहन्ना र येसु ख्रिष्टलाई प्रयोग गर्नुभयो।—मत्ति ३:१, २; ४:१७.
१२ पृथ्वीमा हुनुहुँदा येसुले आफ्ना श्रोताहरूलाई यहोवा कत्ति क्षमाशील परमेश्वर हुनुहुन्छ भनेर बताउनुभयो। उहाँले हराएको छोराको मन छुने उदाहरण बताउनुभएर त्यो कुरा बुझाउनुभयो। त्यो छोराले घर छोड्यो र भोगविलासको जीवन बितायो। तर केही समयपछि “उसको होस खुल्यो” र ऊ घर फर्कियो। बुबाले ऊसित कस्तो व्यवहार गऱ्यो? त्यसबारे येसुले यसो भन्नुभयो: “बुबाले टाढैबाट ऊ आउँदै गरेको देख्यो र टिठायो अनि दौडँदै गएर उसलाई अङ्गालो हाल्यो र चुम्बन गऱ्यो।” त्यो छोराले बुबालाई “मलाई तपाईँको ज्यालादारी कामदार बनाउनुहोस्” भन्ने विचार गरेको थियो। तर बुबाले उसलाई क्षमा दिएर परिवारमा फेरि स्वागत गऱ्यो। बुबाले यसो भन्यो: “यो मेरो छोरो . . . हराएको थियो तर अहिले भेटियो।” (लुका १५:११-३२) स्वर्गमा हुनुहुँदा येसुले आफ्नो बुबाले पश्चात्तापीहरूलाई क्षमा दिनुभएको थुप्रै चोटि देख्नुभएको थियो। हराएको छोराको कथाबाट येसुले आफ्नो बुबा यहोवा कत्ति कृपालु र मायालु हुनुहुन्छ भनेर स्पष्ट पार्नुभयो।
१३-१४. प्रेषित पत्रुसले पश्चात्तापबारे के सिके अनि तिनले अरूलाई त्यसबारे के सिकाए? (चित्र पनि हेर्नुहोस्।)
१३ प्रेषित पत्रुसले येसुबाट पश्चात्ताप र क्षमाबारे महत्त्वपूर्ण पाठहरू सिके। पत्रुसले थुप्रै गल्तीहरू गरे। तर येसुले तिनलाई खुला मनले क्षमा गर्नुभयो। जस्तै: पत्रुसले येसुलाई चिन्न तीन चोटि इन्कार गरेपछि तिनलाई दोषी भावनाले सतायो। (मत्ति २६:३४, ३५, ६९-७५) तर फेरि जीवित हुनुभएपछि येसु पत्रुसकहाँ देखा पर्नुभयो। सायद त्यतिबेला पत्रुससित अरू कोही थिएन। (लुका २४:३३, ३४; १ कोरि. १५:३-५) त्यतिखेर येसुले पत्रुसलाई खुला मनले क्षमा दिइसकेको कुरामा ढुक्क बनाउनुभयो।
१४ पश्चात्ताप गर्दा र क्षमा पाउँदा कस्तो महसुस हुन्छ भनेर पत्रुसले आफ्नै अनुभवबाट बुझेका थिए। त्यसैले आफूले सिकेको कुरा तिनी अरूलाई पनि बताउन सक्थे। पेन्तिकोसको चाड सकिएको केही समयपछि तिनले यहुदीहरूसामु एउटा भाषण दिए। तिनीहरूले मसीहलाई मारेको कुरा पत्रुसले त्यस भाषणमा बताए। तर तिनले मायालुपूर्वक तिनीहरूलाई यस्तो आग्रह पनि गरे: “पश्चात्ताप गर्नुहोस् अनि फर्केर परमेश्वरकहाँ आउनुहोस् ताकि तपाईँहरूको पाप मेटियोस् अनि तपाईँहरूलाई स्वयम् यहोवा परमेश्वरबाट स्फूर्ति प्राप्त होस्।” (प्रेषि. ३:१४, १५, १७, १९) तिनले बताएझैँ पाप गर्ने व्यक्तिले पश्चात्ताप गर्दा ऊ यहोवाकहाँ फर्कन उत्प्रेरित हुन्छ। यसको मतलब उसले गलत कुराहरू सोच्न र गलत काम गर्न छोड्छ अनि यहोवालाई खुसी बनाउने कुराहरू गर्न थाल्छ। यहोवाले पश्चात्तापीहरूको पाप मेटिदिनुहुनेछ अर्थात् पूर्णतया क्षमा गरिदिनुहुनेछ भनेर पनि प्रेषित पत्रुसले बताए। दशकौँपछि तिनले ख्रिष्टियनहरूलाई यसो भने: “यहोवा . . . तिमीहरूप्रति धीरजी हुनुहुन्छ किनकि उहाँ कोही पनि नाश नहोस् बरु सबैले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।” (२ पत्रु. ३:९) हामीले गम्भीर पाप गरिहाल्यौँ भने पनि यहोवा हामीलाई क्षमा गर्नुहुन्छ भन्ने कुरा कत्ति सान्त्वनादायी छ नि, हैन र?
१५-१६. (क) यहोवाले दिनुहुने क्षमाबारे प्रेषित पावलले के भने? (१ तिमोथि १:१२-१५) (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौँ?
१५ टार्ससका सावलले थुप्रै गलत कामहरू गरेका थिए। तिनले ख्रिष्टका चेलाहरूको अत्यन्तै खेदो गरेका थिए। थुप्रै ख्रिष्टियनहरूलाई तिनले कहिल्यै पश्चात्ताप गर्नेछैनन् जस्तो लागेको हुन सक्छ। तर फेरि जीवित हुनुभएका येसुलाई तिनले आफ्नो मन परिवर्तन गर्नेछन् र पश्चात्ताप गर्नेछन् भनेर थाह थियो। येसु र उहाँको बुबाले सावलमा असल गुणहरू देख्नुभयो। येसुले यसो भन्नुभयो: ‘यी मानिस मैले रोजेको पात्र हुन्।’ (प्रेषि. ९:१५) सावललाई पश्चात्ताप गर्न मदत दिन येसुले चमत्कारसमेत गर्नुभयो। (प्रेषि. ७:५८–८:३; ९:१-९, १७-२०) ख्रिष्टियन भएपछि सावल प्रेषित पावल भन्ने नामले चिनिए। तिनले आफूलाई देखाइएको असीम अनुग्रह र कृपाप्रति थुप्रै चोटि कृतज्ञता व्यक्त गरे। (१ तिमोथि १:१२-१५ पढ्नुहोस्।) तिनले भाइबहिनीलाई यसो भने: “परमेश्वरले दया गरेर तिमीलाई पश्चात्तापतिर लैजाने कोसिस गर्दै हुनुहुन्छ।”—रोमी २:४.
१६ एकपटक पावलले कोरिन्थ मण्डलीका एक पुरुषले अवैध यौनसम्बन्ध राखेको र ती पुरुषलाई मण्डलीमै रहिरहन दिइएको कुराबारे थाह पाए। तिनले त्यो मामिला कसरी सम्हाले? तिनले त्यो मामिला सम्हालेको तरिकाबाट यहोवा आफ्ना सेवकहरूलाई अनुशासन दिँदा माया देखाउनुहुन्छ अनि तिनीहरूले पश्चात्ताप गर्दा कृपा देखाउनुहुन्छ भनेर बुझ्न सक्छौँ। यसबारे हामी अर्को लेखमा विस्तृत रूपमा छलफल गर्नेछौँ।
गीत ३३ बिसाऊ भारी यहोवामा
a यो सामान्य अवस्था थिएन। अहिले यहोवाले निर्दोष पति/पत्नीले व्यभिचार गर्ने आफ्नो जीवनसाथीसितको वैवाहिक बन्धन कुनै हालतमा तोड्नु हुँदैन भन्नुभएको छैन। निर्दोष पक्षले चाहेको खण्डमा सम्बन्धविच्छेद गर्न सक्छन् भनेर यहोवाले येसुमार्फत मायालु निर्देशन दिनुभएको छ।—मत्ति ५:३२; १९:९.
b नोभेम्बर १५, २०१२ अङ्कको प्रहरीधरहरा-को “यहोवाले दिनुहुने क्षमाले तपाईंको लागि कस्तो अर्थ राख्छ?” भन्ने लेखको पृ. २१-२३, अनु. ३-१० हेर्नुहोस्।