सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं आफ्नो कल्पनाशक्ति बुद्धिमानीसाथ चलाउँदै हुनुहुन्छ?

के तपाईं आफ्नो कल्पनाशक्ति बुद्धिमानीसाथ चलाउँदै हुनुहुन्छ?

लगभग १.४ किलोको मात्र भए तापनि यसलाई “ब्रह्माण्डमा अहिलेसम्म पत्ता लागेको सबैभन्दा जटिल वस्तु” भनिएको छ। त्यो के हो तपाईंलाई थाह छ? त्यो हो, हाम्रो दिमाग। यो साँच्चै अचम्मको छ। हामी जति धेरै यसबारे सिक्दै जान्छौं, यहोवाका ‘आश्चर्यका कार्यहरूप्रति’ हाम्रो कदर त्यति नै धेरै बढ्‌नेछ। (भज. १३९:१४) आउनुहोस्, अब हामी दिमागका विभिन्न क्षमतामध्ये एउटा क्षमता, कल्पनाशक्तिबारे छलफल गरौं।

कल्पनाशक्ति भनेको के हो? एउटा शब्दकोशले बताएअनुसार कल्पनाशक्ति भनेको “आफूले कहिल्यै अनुभव नगरेको अथवा नयाँ र अनौठो कुराबारे आफ्नो दिमागमा चित्र कोर्न सक्ने वा सोच्न सक्ने क्षमता” हो। यो परिभाषालाई विचार गर्दा तपाईं हरेक दिन नै कल्पनाशक्ति चलाउनुहुन्छ भन्ने कुरामा सहमत हुनुहुन्न र? उदाहरणको लागि, के तपाईंले आफू कहिल्यै नगएको ठाउँबारे पढ्‌नु वा सुन्नुभएको छ? त्यो ठाउँमा नपुगे पनि के तपाईं त्यसबारे आफ्नो दिमागमा चित्र कोर्न सक्नुहुन्न र? साँच्चै भन्नुपर्दा, हामीले कहिल्यै नदेखेको, नसुनेको, स्वाद नलिएको, नछोएको वा गन्ध नलिएको कुराबारे सोच्नेबित्तिकै हाम्रो कल्पनाशक्तिले काम गर्न थालिहाल्छ।

बाइबलले हामीलाई मानिसहरू परमेश्वरको स्वरूपमा बनाइएका र सृजिएका हुन्‌ भनेर सिकाउँछ। (उत्प. १:२६, २७) त्यसको मतलब यहोवा स्वयम्सित पनि कल्पना गर्ने क्षमता छ भन्ने देखिन्छ नि, होइन र? उहाँले हामीलाई पनि यस्तो क्षमतासहित सृष्टि गर्नुभएको हुँदा उहाँको इच्छाअनुसारै हामीले यो क्षमता प्रयोग गरेको आशा गर्नुहुन्छ। (उप. ३:११) त्यसोभए हामी कसरी बुद्धिमान्‌ हुँदै आफ्नो कल्पनाशक्तिको सदुपयोग गर्न सक्छौं? अनि आफूलाई मूर्ख नबनाउने हो भने कल्पनाशक्तिको दुरुपयोग गर्नदेखि हामी कसरी जोगिन सक्छौं?

कल्पनाशक्तिको दुरुपयोग

(१) गलत समयमा र गलत कुराबारे कल्पना गर्दा।

आफूलाई मन परेको कुराबारे कल्पना गर्नै हुँदैन भन्ने त होइन। वास्तवमा, त्यस्तो कुराबारे कल्पना गर्नु लाभदायी हुन सक्छ भनेर प्रमाणले देखाउँछ। तर उपदेशक ३:१ यसो भन्छ, “सबै कामको बेला छ।” यसले के देखाउँछ भने, हामीले कुनै-कुनै काम गलत समयमा गरिरहेका हुन सक्छौं। जस्तै: मण्डलीमा सभाहरू भइरहेको बेला वा व्यक्तिगत अध्ययनको बेला हाम्रो मनलाई डुल्न दियौं भने त्यसले हामीलाई मदत गर्ला कि बाधा पुऱ्याउला? मनमा कुइच्छा खेलाएर रमाइलो मान्नु खतरनाक हुन्छ भनेर येशूले हामीलाई गम्भीर चेतावनी दिनुभयो। (मत्ती ५:२८) हामीले कल्पना गर्ने कुनै-कुनै कुराले यहोवाको मन दुख्न सक्छ। यौन-अनैतिकताबारे मनमा चाहिने-नचाहिने कुरा खेलायौं भने त्यसले गम्भीर पाप गर्नतर्फ डोऱ्याउन सक्छ। त्यसैले आफूलाई यहोवाबाट टाढा लैजाने कुराहरूबारे कल्पना नगर्न दृढ हुनुहोस्!

(२) धन-सम्पत्तिले चिरकालीन सुरक्षा दिन्छ भन्ने सोच्दा।

हामीलाई भौतिक चिजबिज चाहिन्छ र ती उपयोगी पनि हुन्छन्‌। तर साँचो सुरक्षा र आनन्द ती कुराहरूले मात्र दिन सक्छन्‌ भनेर सोच्न थाल्यौं भने हामी निराश हुन पुग्छौं। बुद्धिमान्‌ राजा सुलेमानले यसरी लेखे: “धनी मानिसको धन-सम्पत्ति नै त्यसको बलियो शहरजस्तै हो, उसले धनलाई नै उच्च पर्खाल सम्झन्छ।” (हितो. १८:११) सन्‌ २००९ सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा के भयो, विचार गर्नुहोस्। मुसलधारे पानी दर्केर त्यस सहरको ८० प्रतिशतभन्दा बढी भाग जलमग्न भयो। के भौतिक कुरा टन्न थुपारेकाहरू त्यसबाट बच्न सके? आफ्ना धेरैजसो सरसामान गुमाएका एक जना धनी मानिसले यसो भने: “बाढीले धनी-गरिब केही भनेन। सबैले उत्तिकै सास्ती भोग्नुपऱ्यो।” भौतिक सरसामानले नै साँचो सुरक्षा र आनन्द दिन्छ भन्ठान्नु सजिलो हुन सक्छ। तर वास्तवमा त्यस्तो होइन।

(३) हुँदै नहुने कुराको लागि अनावश्यक चिन्ता गर्दा।

येशूले हामीलाई धेरै “चिन्ता” नगर्न सल्लाह दिनुभयो। (मत्ती ६:३४) चिन्ता धेरै गरिरहने मानिस सधैं कल्पनामा मात्र डुबिरहन्छ। समस्या नआउँदा पनि यसो होला/ उसो होला भनेर सोच्दा अथवा हुनै नसक्ने कुराबारे कल्पना गर्दा हामीले नचाहिने कुरामा आफ्नो शक्ति खर्चिरहेका हुन सक्छौं। यस्तो चिन्ताले हामीलाई निरुत्साहित पार्छ र डिप्रेसनको सिकारसमेत बनाउन सक्छ भनेर बाइबलले सङ्‌केत गर्छ। (हितो. १२:२५) त्यसैले अचाक्ली चिन्ता नगरेर अनि दिनहुँ आइपर्ने चिन्ताको मात्र समाधान खोजेर येशूको सल्लाह लागू गर्नु कत्ति महत्त्वपूर्ण छ नि, होइन र?

कल्पनाशक्तिको सदुपयोग

(१) खतरनाक परिस्थितिहरूबारे विचार गर्दा र त्यसबाट जोगिंदा।

बाइबलले हामीलाई चतुर हुन र भईपरी आउने परिस्थितिहरूबारे पहिल्यै विचार गर्न प्रोत्साहन दिन्छ। (हितो. २२:३) आफ्नो कल्पनाशक्ति चलाएर हामीले कुनै निर्णय गर्नुअघि नै त्यसको नतिजा कस्तो होला भनेर विचार गर्न सक्छौं। उदाहरणको लागि, तपाईंलाई कुनै जमघटमा बोलाइयो, अब त्यहाँ जाने कि नजाने भनेर बुद्धिमानी निर्णय गर्न तपाईंको कल्पनाशक्तिले कसरी मदत गर्न सक्छ? त्यस जमघटमा क-कसलाई बोलाइएको छ, त्यहाँ कति जना हुनेछन्‌ अनि त्यो कहाँ र कहिले हुनेछ भनेर विचार गरेपछि आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘त्यहाँ कस्ता कुराहरू हुन सक्छन्‌? त्यहाँ भेला भएका मानिसहरूले बाइबल सिद्धान्तसित मेल खाने तरिकामा रमाइलो गरेको के म कल्पना गर्न सक्छु?’ यसरी त्यहाँ हुन सक्ने कुराहरू तपाईंले पहिल्यै आफ्नो दिमागमा चित्र कोर्न सक्नुहुन्छ। तपाईंले बुद्धिमानी निर्णय गर्न आफ्नो कल्पनाशक्ति प्रयोग गर्दा आफूलाई आध्यात्मिक हानि पुऱ्याउने परिस्थितिहरूबाट जोगाउन सक्नुहुनेछ।

(२) कठिन समस्याहरू सुल्झाउन मनमनै तयारी गर्दा।

कल्पनाशक्तिमा “समस्याको सामना गर्ने अनि त्यसलाई सुल्झाउने क्षमता” पनि समावेश छ। मानिलिनुहोस्, मण्डलीको कुनै एक जना व्यक्तिबारे तपाईंलाई गलतफहमी भयो। त्यस्तो अवस्थामा तिनीसित शान्ति कायम गर्न कस्तो कदम चाल्नुहुनेछ? यसका लागि विभिन्न पक्षहरू विचार गर्नुपर्ने हुन्छ। जस्तै: उसको बोल्ने तरिका कस्तो छ? समस्याबारे कुन बेला कुरा गर्दा सबैभन्दा बेस होला? कस्ता शब्दहरू प्रयोग गर्दा अनि कस्तो शैलीमा कुरा गर्दा राम्रो होला? आफ्नो कल्पनाशक्ति चलाएर समस्या सुल्झाउने विभिन्न तरिकाहरूबारे पहिल्यै तयारी गर्न सक्नुहुन्छ। त्यसपछि तपाईंलाई सबैभन्दा प्रभावकारी लागेको अनि तपाईंको कुरा सुन्न तिनी इच्छुक हुन सक्ने तरिका छनौट गर्न सक्नुहुन्छ। (हितो. १५:२८) गाह्रो अवस्था सुल्झाउन यसरी सोचविचार गर्दै अघि बढ्‌नुभयो भने मण्डलीमा शान्ति छाउनेछ। अनि यसो गर्दा हामीले आफ्नो कल्पनाशक्तिको सदुपयोग गरिरहेका हुन्छौं।

(३) व्यक्तिगत बाइबल पढाइ अनि बाइबल अध्ययनको गुणस्तर बढाउँदा।

बाइबल दिनहुँ पढ्‌नै पर्छ। तर पढेर सकाउनु मात्र पर्याप्त छैन। बाइबलमा पाइने व्यावहारिक शिक्षा बुझ्नु अनि ती कुराहरू आफ्नो जीवनमा लागू गर्न जुरमुरिनु पनि आवश्यक छ। बाइबल पढाइद्वारा यहोवाको तौर-तरिकाप्रति हाम्रो कदर बढाउनु पनि जरुरी छ। आफ्नो कल्पनाशक्ति चलाउँदा हामी कसरी यसो गर्ने मदत पाउछौं? तिनीहरूको विश्वास अनुकरण गर्नुहोस् भन्ने किताबलाई विचार गर्नुहोस्। यस किताबमा दिइएका विवरणहरू पढ्‌दा हरेक बाइबल पात्रहरूको भूमिका र पृष्ठभूमिबारे मनमा चित्र कोरेर आफ्नो कल्पना शक्तिलाई बढाउने मदत पाउन सक्छौं। तिनीहरूले देखेका दृश्यहरू देख्न, आवाजहरू सुन्न, बास्ना सुँघ्न र ती पात्रहरूको भावना बुझ्न पनि मदत पाउनेछौं। यसो गर्दा हामीलाई पहिल्यै राम्ररी थाह छ जस्तो लागेको कुरा अझ राम्ररी बुझ्न अनि बाइबल विवरणबाट प्रोत्साहनजनक पाठहरू सिक्न मदत पाउँछौं। आफ्नो कल्पनाशक्ति प्रयोग गर्दै व्यक्तिगत बाइबल पढाइ गर्दा अनि अध्ययन गर्दा यसलाई अझै गुणस्तरीय बनाउन सक्नेछौं।

(४) अरूको भावना बुझ्दा र त्यसलाई कामबाट देखाउँदा।

अरूको भावना बुझ्न सक्नु एउटा मनमोहक गुण हो। यसलाई अरूको पीडा हामी आफैले महसुस गर्नु भनी व्याख्या गरिएको छ। यहोवा अनि येशू दुवैले अरूको भावना बुझ्नुभयो; हामीले पनि अरूको भावना बुझ्नुपर्छ। (प्रस्थ. ३:७; भज. ७२:१३) हामी यो गुण कसरी विकास गर्न सक्छौं? सबैभन्दा राम्रो तरिका हो, आफ्नो कल्पनाशक्ति चलाएर। हाम्रा ख्रीष्टियन दाजुभाइ वा दिदीबहिनीले के-कस्तो कुरा भोगिरहेका छन्‌, हामीले कहिल्यै अनुभव गरेका छैनौं होला। तैपनि तपाईंले आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ: ‘म उसको ठाउँमा भएको भए के गर्थें? मलाई के कुराको आवश्यकता पर्थ्यो?’ कल्पनाशक्ति चलाएर यी प्रश्नहरूको जवाफ दिंदा हामीले अरूको भावना बुझ्न अझै मदत पाउनेछौं। अरूको भावना बुझ्दा हाम्रो ख्रीष्टियन जीवनको हरेक पक्षमा लाभ पुग्नेछ, जसमा हामीले चढाउने सेवा र अरू ख्रीष्टियनसितको हाम्रो सम्बन्ध पनि समावेश छ।

(५) नयाँ संसारमा जीवन कस्तो होला भनी कल्पना गर्दा।

परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा हाम्रो जीवन कस्तो हुनेछ भनेर बुझ्न बाइबलमा थुप्रै विवरण दिइएका छन्‌। (यशै. ३५:५-७; ६५:२१-२५; प्रका. २१:३, ४) हाम्रा प्रकाशनहरूमा ती विवरणहरूलाई बुझाउन थुप्रै सुन्दर चित्र पनि दिइएका छन्‌। किन? ती चित्रहरूले हामीलाई कल्पना गर्न अनि ती प्रतिज्ञाहरू पूरा हुने बेलामा आफू रमाइरहेको हेर्न मदत गर्छ। कल्पना गर्ने शक्ति साँच्चै अद्‌भुत छ भन्ने कुरा यसको सृष्टिकर्ता यहोवालाई भन्दा बढी अरू कसलाई थाह होला र! यहोवाले गर्नुभएका प्रतिज्ञाहरू विचार गर्न कल्पनाशक्ति चलाउँदा ती प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भनेर हामी विश्वस्त हुन सक्छौं अनि अहिले विभिन्न चुनौतीहरू सहनुपर्दा समेत वफादार रहिरहन सक्छौं।

यहोवाले माया गरेर कल्पना गर्न सक्ने यस्तो अद्‌भूत क्षमता हामीलाई दिनुभएको छ। यसले हरेक दिन खुसी भई उहाँको सेवा गर्न हामीलाई मदत गर्छ। त्यसैले आफ्नो कल्पनाशक्तिलाई हरेक दिन बुद्धिमानीसाथ चलाएर यस्तो सुन्दर उपहार दिनुहुने यहोवाप्रति धन्यवादी होऔं।