सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विभाजित संसारमा तटस्थ रहनुहोस्

विभाजित संसारमा तटस्थ रहनुहोस्

“जे-जे परमेश्वरका हुन्‌, परमेश्वरलाई देओ।”—मत्ती २२:२१.

गीत: ३३, १३७

१. हामी परमेश्वर र मानव सरकार दुवैको अधीनमा कसरी रहन सक्छौं?

हामी मानव सरकारको अधीनमा बस्नुपर्छ भनेर बाइबलले सिकाउँछ। यसका साथै मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्नुपर्छ भन्ने कुरा पनि यसले सिकाउँछ। (प्रेषि. ५:२९; ती. ३:१) यो त आपसमा बाझिने कुरा भएन र? त्यस्तो त होइन। अधीनतासम्बन्धी दिइएको सिद्धान्तलाई विचार गऱ्यौं भने हामी यो कुरा राम्ररी बुझ्न सक्छौं र त्यसैअनुसार गर्न सक्छौं। यो सिद्धान्तबारे येशूले छोटकरीमा यसो भन्नुभयो: “जे-जे सम्राट्‌का हुन्‌, सम्राट्‌लाई र जे-जे परमेश्वरका हुन्‌, परमेश्वरलाई देओ।” [१] (मत्ती २२:२१) येशूको यो निर्देशन हामी कसरी पालन गर्न सक्छौं? आफू बस्ने ठाउँको मानव सरकारले तोकेको नियम-कानुन पालन गरेर, अख्तियारवालाहरूको आदर गरेर अनि तिर्नुपर्ने कर तिरेर हामी तिनीहरूको अधीनमा बस्छौं। (रोमी १३:७) तर अख्तियारवालाहरूले परमेश्वरको आज्ञा तोड्‌न दबाब दियो भने त्यतिबेला हामी तिनीहरूको कुरा इन्कार गर्छौं, तर आदरसाथ।

२. संसारका राजनैतिक मामिलाहरूमा तटस्थ रहेको कसरी देखाउन सक्छौं?

संसारका राजनैतिक मामिलाहरूमा तटस्थ रहेर अर्थात्‌ ती कुराहरूमा भाग नलिएर हामी परमेश्वरलाई दिनुपर्ने कुरा दिन्छौं। (यशै. २:४) उहाँले नै मानव सरकारलाई अख्तियार चलाउने अनुमति दिनुभएकोले हामी तिनीहरूको विरोध गर्दैनौं अनि देशभक्ति अथवा राष्ट्रियतालाई बढावा दिने कुरामा पनि भाग लिंदैनौं। (रोमी १३:१, २) हामी सरकारलाई कुनै पनि किसिमको दबाब दिंदैनौं, कुनै पार्टी वा पार्टीको सदस्यको लागि भोट खसाल्दैनौं, उम्मेदवारको रूपमा उठ्‌दैनौं अनि सरकार बदल्नतिर पनि लाग्दैनौं।

३. हामी किन तटस्थ रहनुपर्छ?

परमेश्वरले हामीलाई तटस्थ रहनू भन्नुको थुप्रै कारण बाइबलमा दिइएका छन्‌। एउटा कारण हो, हामी उहाँको छोरा येशू ख्रीष्टको शिक्षा र उदाहरण अनुकरण गर्छौं र यस संसारको राजनीति र युद्धमा नमुछिएर उहाँजस्तै ‘यस संसारको भाग हुँदैनौं।’ (यूह. ६:१५; १७:१६) अनि परमेश्वरको राज्यप्रति वफादार रहनको लागि पनि हामी तटस्थ रहनुपर्छ। नत्र अहिलेको सबै समस्याको समाधान परमेश्वरको राज्यले मात्र गर्नेछ भनेर हामी मानिसहरूलाई कसरी निष्पक्ष हुँदै बताउन सक्छौं र? अनि अर्को कुरा, झूटो धर्मका सदस्यहरूले राजनैतिक मामिलामा हात हालेकाले तिनीहरू विभाजित भएका छन्‌, तर साँचो धर्मका सदस्यहरू त्यस्ता मामिलाहरूमा तटस्थ रहेकाले तिनीहरूले आफ्नो अन्तरराष्ट्रिय भ्रातृत्वलाई जोगाउन सकेका छन्‌।—१ पत्रु. २:१७.

४. (क) तटस्थ रहन झन्‌झनै गाह्रो हुनेछ भनेर हामी किन भन्न सक्छौं? (ख) तटस्थ रहन अहिलेदेखि नै किन तयारी गर्नुपर्छ?

हामी बसिरहेको ठाउँको राजनैतिक वातावरणले साँचो उपासनामा कुनै अवरोध खडा गरेको छैन होला। तैपनि सैतानको संसार अन्त हुनै लागेकोले तटस्थ रहन झन्‌झनै गाह्रो हुनेछ भनेर हामी आशा गर्न सक्छौं। अहिलेको यो संसार “कुनै पनि कुरामा सहमत नहुने” र “जिद्दी गर्ने” मानिसहरूले भरिभराउ छ। त्यसैले यो संसार अझ धेरै विभाजित हुनेछ र गुट-उपगुट बढ्‌दै जानेछ। (२ तिमो. ३:३, ४) कुनै-कुनै देशमा हाम्रा दाजुभाइ दिदीबहिनीहरूले राजनैतिक उथलपुथलले गर्दा तटस्थताको सन्दर्भमा सोच्दै नसोचेका चुनौतीहरूको सामना गर्नुपरेको छ। त्यसैले अहिलेदेखि नै आफ्नो विश्वासलाई बलियो बनाउनुपर्दैन र? “गाह्रो परिस्थिति आएपछि के हुन्छ, हेरौंला नि” भन्दै बस्यौं भने हामी त्यतिबेला चुक्ने सम्भावना धेरै हुन्छ अनि तटस्थ रहन हामीलाई गाह्रो हुनेछ। त्यसोभए यो विभाजित संसारमा तटस्थ रहन कस्तो तयारी गर्न सक्छौं? आउनुहोस्, हामीलाई मदत गर्ने चारवटा बुँदा विचार गरौं।

मानव सरकारलाई यहोवाको दृष्टिकोणले हेर्नुहोस्

५. मानव सरकारहरूलाई यहोवाले कुन दृष्टिकोणले हेर्नुहुन्छ?

पहिलो बुँदा: तटस्थ रहन हामीले राजनैतिक प्रणालीलाई उहाँकै नजरले हेर्नुपर्छ। कुनै-कुनै मानव सरकारले राम्रैसित शासन गर्ला तैपनि परमेश्वरले मानिसहरूलाई एकअर्कामाथि शासन गर्ने उद्देश्यले सृष्टि गर्नुभएको थिएन। (यर्मि. १०:२३) मानव सरकारले राष्ट्रियताको कुरालाई बढावा दिन्छ र मानव परिवारमा विभाजन निम्त्याउँछ। एकदमै बुद्धिमान्‌ शासकले पनि अहिलेका सबै समस्या समाधान गर्न सकेका छैनन्‌। अझ भन्ने हो भने, सन्‌ १९१४ देखि त मानव सरकारहरू परमेश्वरको राज्यको विरुद्धमै खडा भएका छन्‌, जुन राज्यले चाँडै नै सम्पूर्ण मानव सरकारलाई हटाउनेछ।—भजन २:२, ७-९ पढ्‌नुहोस्।

६. सरकारी अख्तियारवालाहरूलाई हामीले कस्तो व्यवहार गर्नुपर्छ?

यस संसारको राजनैतिक व्यवस्थाले केही हदसम्म शान्ति-सुव्यवस्था कायम गर्ने भएकोले परमेश्वरले तिनीहरूलाई रहने अनुमति दिनुभएको छ, जसले गर्दा हामीलाई प्रचार गर्न सजिलो भएको छ। (रोमी १३:३, ४) अख्तियार पाएका सबै अधिकारीहरूका लागि प्रार्थना गर्न पनि परमेश्वरले हामीलाई निर्देशन दिनुभएको छ। विशेषगरि तिनीहरूले गर्ने निर्णयले हाम्रो उपासनालाई असर गर्छ भने त हामीले झनै प्रार्थना गर्नुपर्छ। (१ तिमो. २:१, २) प्रेषित पावलले जस्तै हामी पनि मानव सरकारलाई न्यायको लागि अपिल गर्छौं। (प्रेषि. २५:११) राजनैतिक व्यवस्था परमेश्वरको शत्रु सैतानको अधीनमा परेको छ भनेर बाइबलले सिकाउँछ; तर अख्तियारमा भएका प्रत्येक व्यक्ति नै त्यसको नियन्त्रणमा छ भनेर चाहिं बाइबलले सिकाउँदैन। (लूका ४:५, ६) त्यसैले अख्तियारमा भएको कुनै व्यक्ति दियाबलको नियन्त्रणमा छ भन्नु मिल्दैन। जेहोस्, हामी “सरकार र अख्तियारवालाहरू” कसैको पनि “बदनाम” हुने काम गर्दैनौं।—ती. ३:१, २.

७. हामीले कस्तो विचारधारा राख्नु हुँदैन?

कुनै उम्मेदवार वा पार्टीलाई समर्थन नगरेर अनि आफूलाई फाइदा पुऱ्याउने राजनैतिक विचार छ भने पनि त्यसको पछि नलागेर हामी परमेश्वरको आज्ञा पालन गरेको देखाउन सक्छौं। तर यसो गर्न सधैं सजिलो हुँदैन। मानिलिनुहोस्, कुनै दमनकारी शासन प्रणाली हटाउन मानिसहरूले विद्रोहको आवाज उठाइरहेका छन्‌। अनि त्यो शासनले यहोवाको साक्षीहरूलाई पनि दुःख दिइरहेको छ भने तपाईं के गर्नुहुन्छ? तिनीहरूसँगसँगै विद्रोह त गर्नुहुन्न होला तर मनमनै तिनीहरूको विचारलाई समर्थन पो गर्नुहुन्छ कि? (एफि. २:२) हामी आफ्नो बोली र कामद्वारा मात्र होइन तर मनैदेखि संसारका मामिलाहरूमा तटस्थ रहनुपर्छ।

सर्पजस्तै “चनाखो” तर ढुकुरजस्तै “सुधो” हुनुहोस्

८. चुनौतीहरूको सामना गर्दा कसरी “चनाखो” तर “सुधो” हुन सक्छौं?

दोस्रो बुँदा: चुनौतीहरूको सामना गर्नुपर्दा तटस्थ रहन हामी “सर्पजस्तै चनाखो तर ढुकुरजस्तै सुधो” हुनुपर्छ। (मत्ती १०:१६, १७ पढ्‌नुहोस्) पछि आइपर्ने खतरनाक अवस्थाबारे पहिल्यै विचार गर्दा हामी चनाखो भइरहेका हुन्छौं तर त्यस्तो अवस्थामा तटस्थ रहँदा सुधो भइरहेका हुन्छौं। त्यसोभए आउनुहोस्, तटस्थ रहने सन्दर्भमा कस्ता चुनौतीहरू सामना गर्नुपर्ने हुन सक्छ र कसरी त्यसको सामना गर्न सक्छौं, विचार गरौं।

९. कुराकानी गर्दा हामी कसरी चनाखो हुन सक्छौं?

कुराकानी। राजनैतिक विषयमा कुरा उठ्‌दा हामी त्यसमा नमुछिन चनाखो हुनुपर्छ। जस्तै: परमेश्वरको राज्यबारे अरूलाई बताउँदा कुनै नेताको विचार वा राजनैतिक पार्टीको नीतिबारे पक्ष-विपक्षमा नबोल्नुहोस्। घरधनीसित कुरा गर्दा आपसमा सहमति हुन सक्ने विषयमा कुरा गर्नुहोस्। तर कसरी? मानिसहरूले भोगिरहेको समस्या समाधान गर्न अहिले मानव सरकारहरूले के-कस्तो प्रयास गरिरहेको छ, त्यसमा नभई अहिलेको समस्यातर्फ ध्यान खिच्नुहोस्। त्यसपछि परमेश्वरको राज्यले सबै समस्याको स्थायी समाधान कसरी गर्नेछ भनेर बाइबलबाट देखाउनुहोस्। यदि विवादित विषय जस्तै: समलिङ्‌गी विवाह अथवा गर्भपतनजस्ता गम्भीर विषयमा कुरा उठ्‌यो भने त्यस विषयमा परमेश्वरको स्तर के हो र हामी कसरी त्यो स्तर पालन गर्छौं, त्यसबारे बताउनुहोस्। यस्ता विषयमा राजनैतिक विचारधाराको कुरा उठ्‌दा तटस्थ रहनुहोस्। कस्तो किसिमको नियम कानुन लागू गर्ने, संशोधन गर्ने अनि परिवर्तन गर्ने, त्यस विषयमा हामी कसैको पक्ष लिंदैनौं र आफ्नो विचारधारालाई समर्थन गर्न अरूलाई दबाब पनि दिंदैनौं।

१०. सञ्चार माध्यमबाट आउने जानकारीदेखि नबहकिन हामी के गर्न सक्छौं?

१० सञ्चार माध्यम। अहिले सञ्चार माध्यमले कुनै विषयवस्तु समाचारको रूपमा प्रस्तुत गरे पनि वास्तवमा त्यसले कसैको पक्ष लिएर कुरा गरिरहेको हुन सक्छ। यदि सञ्चार माध्यम सरकारकै इसारामा चल्छ भने त झनै यस्तो हुन सक्छ। यतिबेला ख्रीष्टियनहरू कसैको पक्ष वा विपक्षमा कुरा नगर्न होसियार हुनुपर्छ। आफैलाई यस्तो प्रश्न सोध्नुहोस्: ‘आफूलाई चासो लाग्ने राजनैतिक विषयमा कार्यक्रम प्रस्तुत हुँदा के म त्यो सुन्न उत्साहित हुन्छु?’ त्यसो हो भने सही जानकारीको लागि अझ भरपर्दो स्रोत जाँच्नु बेस हुन्छ। कुरा स्पष्ट छ, राजनैतिक विषयवस्तुलाई अचाक्ली बढावा दिने कार्यक्रमहरू हेर्न वा सुन्न कम गर्नु नै उचित हुन्छ। अनि आफूले सुनेका कुराहरू बाइबलमा पाइने “साँचो शिक्षाको नमुना”-सित मेल खान्छ कि खाँदैन भनेर पक्का गर्नु पनि बुद्धिमानी हुन्छ।—२ तिमो. १:१३.

११. धनसम्पत्तिप्रतिको मोहले तटस्थ रहन कसरी गाह्रो बनाउँछ?

११ धनसम्पत्ति। धनसम्पत्तिप्रति मोह छ भने हाम्रो विश्वासको परीक्षा हुँदा तटस्थ रहन गाह्रो हुन सक्छ। सन्‌ १९७० पछि केही साक्षीहरू खेदो आउँदा भौतिकवादको पासोमा परेको कुरा मलावीकी रूथले आफ्नै आँखाले देखिन्‌। तिनी भन्छिन्‌: “तिनीहरूले आरामदायी जीवनशैलीलाई त्याग्न सकेनन्‌। कोही-कोही हामीसितै निर्वासनमा गए तापनि पछि राजनैतिक पार्टीमा लागे र घर फर्किए। तिनीहरू शरणार्थी शिविरमा कष्टकर जीवन बिताउन इच्छुक थिएनन्‌।” तर खुसीको कुरा धेरैजसो यहोवाका सेवक आर्थिक रूपमा कमजोर भए पनि अनि आफूसँग भएको सबै कुरा गुमाउनु परे तापनि तटस्थ रहे।—हिब्रू १०:३४.

१२, १३. (क) मानव परिवारलाई यहोवा कुन दृष्टिकोणले हेर्नुहुन्छ? (ख) आफू जन्मेहुर्केको ठाउँबारे घमन्ड नगरेको हामी कसरी देखाउन सक्छौं?

१२ घमन्ड। मानिसहरू आफ्नो वर्ण, जाति, संस्कृति, सहर वा राष्ट्रको नाममा घमन्ड गर्छन्‌। तर यहोवालाई त्यस्तो कुरा फिटिक्कै मन पर्दैन। त्यसको मतलब यहोवा हामीले आफ्नो रहनसहन त्यागेको चाहनुहुन्छ भन्ने होइन। साँचो कुरा त के हो भने सांस्कृतिक विविधता मानव परिवारको पहिचानै हो। तैपनि परमेश्वरको नजरमा सबै मानिसहरू समान छन्‌ भन्ने कुराचाहिं हामीले कहिल्यै बिर्सनुहुँदैन।—रोमी १०:१२.

१३ आफू जन्मेहुर्केको ठाउँबारे घमन्ड गर्छौं भने हामीले राष्ट्रियतालाई समर्थन गरिरहेका हुन्छौं अनि यस्तो मनोवृत्तिले हामीलाई वफादारीको परीक्षा हुँदा तटस्थ रहन गाह्रो बनाउँछ। ख्रीष्टियनहरूलाई पनि यस्तो मनोवृत्तिले असर गर्न सक्छ। हामी किन त्यसो भन्न सक्छौं? प्रथम शताब्दीका ख्रीष्टियन मण्डलीको कुरा विचार गर्नुहोस्। तिनीहरूले जातीय भिन्नताको कारण आफ्ना दाजुभाइ दिदीबहिनीलाई पक्षपाती व्यवहार गरेका थिए। (प्रेषि. ६:१) हामीमा पनि त्यस्तै घमन्डले जरा गाड्‌न थालेको छ कि भनेर कसरी थाह पाउन सक्छौं? मानौं, अर्कै ठाउँबाट आएका दाजुभाइ या दिदीबहिनीले तपाईंलाई केही सल्लाह-सुझाव दिनुभयो। सल्लाह स्वीकार्नुको साटो “यहाँको बारेमा हामीलाई राम्ररी थाह छ” भनेर तुरुन्तै त्यो सल्लाह तिरस्कार गर्नुहुन्छ कि? त्यतिबेला हामी सबैले बाइबलमा दिइएको यो सल्लाह लागू गर्नुपर्छ: “विनम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान।”—फिलि. २:३.

यहोवासित बल माग्नुहोस्

१४. प्रार्थनाले हामीलाई कसरी मदत गर्न सक्छ? यो कुरा बाइबलमा दिइएको कुन उदाहरणले स्पष्ट पार्छ?

१४ तेस्रो बुँदा: तटस्थ रहन हामीले यहोवासित बल माग्नुपर्छ। त्यसैले प्रार्थना गरेर यहोवासित पवित्र शक्ति माग्नुहोस्। यसो गऱ्यौं भने सरकारले अन्यायपूर्ण व्यवहार गर्दा सहनको लागि चाहिने धीरज र संयमजस्ता गुणहरू विकास गर्न सक्नेछौं। प्रार्थना गर्दा यहोवासित बुद्धि पनि माग्न सक्नुहुन्छ। यसो गर्नुभयो भने तटस्थ रहन गाह्रो बनाउने कुराहरू चिन्न र त्यसलाई सही तरिकाले समाधान गर्न सक्नुहुनेछ। (याकू. १:५) यहोवाको उपासना गरेको कारण जेलमा थुनिनुपरेको छ अथवा कुनै सजाय भोग्नुपरेको छ भने साहसी हुँदै आफ्नो विश्वासबारे अरूलाई बताउन सकूँ अनि जस्तोसुकै परीक्षाको सामना गर्न सकूँ भनेर यहोवासित बल माग्न सक्नुहुन्छ।प्रेषित ४:२७-३१ पढ्‌नुहोस्।

१५. तटस्थ रहन बाइबलले कसरी मदत गर्न सक्छ? (“परमेश्वरको वचनले तिनीहरूलाई दृढ रहन मदत गऱ्यो” भन्ने पेटी पनि हेर्नुहोस्)

१५ यहोवा परमेश्वरले तपाईंलाई उहाँको वचनमार्फत्‌ बल दिनुहुन्छ। त्यसैले तटस्थ रहन मदत गर्ने बाइबल पदहरू मनन गर्नुहोस्। अहिलेदेखि नै त्यस्ता बाइबल पदहरू दिमागमा ठप्प राख्नुभयो भने पछि तपाईंसित बाइबल भएन भने पनि मदत पाउनुहुनेछ। परमेश्वरको वचनले तपाईंलाई भविष्यमा उहाँको राज्यले दिने आशामा अझै विश्वस्त हुन मदत गर्छ। परीक्षाहरूको सफलतापूर्वक सामना गर्न यस्तो आशा नभई हुँदैन। (रोमी ८:२५) भविष्यको आशाबारे लेखिएका मन पर्ने बाइबल पदहरू छान्नुहोस् अनि भविष्यमा ती आशाहरू पूरा हुँदा तपाईंको जीवन कस्तो हुनेछ, कल्पना गर्नुहोस्!

तटस्थ रहेका परमेश्वरका सेवकहरूबाट सिक्नुहोस्

१६, १७. तटस्थ रहेका परमेश्वरका सेवकहरूको उदाहरणबाट हामी कस्तो कुरा सिक्न सक्छौं? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

१६ चौथो बुँदा: तटस्थ रहन हामीले उहाँका वफादार सेवकहरूको उदाहरण पछ्याउनुपर्छ। तिनीहरूको उदाहरणबाट हामी सहनशील हुन चाहिने बुद्धि र बल पाउन सक्छौं। जस्तै: शद्रक, मेशक र अबेद्‌नगोले बेबिलोनी राष्ट्रको प्रतिनिधित्व गर्ने मूर्तिको उपासना गर्न इन्कार गरे। (दानियल ३:१६-१८ पढ्‌नुहोस्) विश्वासमा दृढ रहेका यस्ता विवरणहरू पढेर अहिले पनि थुप्रै साक्षीले राष्ट्रिय झन्डालाई सलामी नगर्ने साहस बटुल्न सकेका छन्‌। येशू पनि संसारको राजनैतिक र सामाजिक विवादहरूबाट पूर्णतया अलग रहनुभयो। आफ्नो उदाहरणले अरूलाई प्रभाव पार्न सक्छ भन्ने कुरा थाह भएकोले उहाँले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “साहसी होओ! मैले यस संसारलाई जितेको छु।”—यूह. १६:३३.

१७ आधुनिक समयमा पनि थुप्रै साक्षीहरू तटस्थ रहन सकेका छन्‌। कसै-कसैले विश्वासको खातिर शारीरिक दुर्व्यवहार सहनुपरेको छ, जेलमा थुनिनुपरेको छ अनि मृत्युसमेत भोग्नुपरेको छ। तिनीहरूको उदाहरणले टर्कीका बारेसलाई जस्तै तपाईंलाई पनि मदत गर्न सक्छ। उनले यसो भने: “हिटलरको सेनामा भर्ती हुन नमानेकोले जवान भाइ फ्रान्ज राइटरलाई मृत्युदण्ड दिइयो। त्यसको अघिल्लो रात तिनले आफ्नी आमालाई लेखेको चिठीमा तिनको असाधारण साहस र यहोवाप्रतिको गहिरो विश्वास झल्किन्थ्यो। मेरो विश्वासको परीक्षा हुँदा म पनि तिनको अनुकरण गर्न चाहन्छु।” [२]

१८, १९. (क) मण्डलीका सदस्यहरूले तपाईंलाई तटस्थ रहन कसरी मदत गर्न सक्छन्‌? (ख) तपाईंले के गर्ने सङ्‌कल्प गर्नुभयो?

१८ मण्डलीका दाजुभाइ दिदीबहिनीबाट पनि प्रोत्साहन पाउन सकिन्छ। कुनै विषयमा तटस्थ रहन गाह्रो भइरहेको छ भने मण्डलीका एल्डरहरूलाई बताउनुहोस् अनि बाइबलमा आधारित व्यावहारिक सल्लाह माग्नुहोस्। तपाईंले भोगिरहेको समस्याबारे मण्डलीका अरू सदस्यलाई थाह छ भने तिनीहरूबाट पनि प्रोत्साहन पाउन सक्नुहुन्छ। आफ्नो लागि प्रार्थना गरिदिन तिनीहरूलाई आग्रह गर्नुहोस्। हो, मण्डलीका दाजुभाइ दिदीबहिनीले हामीलाई मदत गरेको र हाम्रो लागि प्रार्थना गरेको चाहन्छौं भने हामीले पनि उनीहरूको लागि त्यसै गर्नुपर्छ। (मत्ती ७:१२) हाम्रो jw.org को अङ्‌ग्रेजी वेबसाइटमा छापिएको एउटा लेखमा हालैको समयमा विश्वासको खातिर जेलमा परेका साक्षीहरूको सूची दिइएको छ। [३] तपाईंले तीमध्ये कसैको नाम छानेर, तिनीहरूको लागि तोकेरै प्रार्थना गरिदिन सक्नुहुन्छ; त्यस्तो गाह्रो परिस्थितिमा तिनीहरू साहसी हुँदै वफादार रहन सकून्‌ भनेर यहोवालाई बिन्ती चढाउन सक्नुहुन्छ।—एफि. ६:१९, २०.

१९ मानव सरकारहरूको अन्त नजिकिंदै गएकोले तिनीहरूले हामीलाई झन्‌झनै दुःख दिनेछन्‌ अनि यहोवा र उहाँको राज्यप्रति वफादार रहन गाह्रो बनाउनेछन्‌ भनेर हामीलाई थाह छ। त्यसकारण अहिल्यैदेखि यस विभाजित संसारका मामिलाहरूमा तटस्थ रहने आफ्नो सङ्‌कल्पलाई बलियो बनाऔं।

^ [१] (अनुच्छेद १) येशूले यहाँ सरकारी अधिकारी अथवा राज्यको प्रशासकलाई सङ्‌केत गर्दै त्यतिबेलाका सबैभन्दा उच्च तहका मानव शासकका लागि चलाउने ‘सम्राट्‌’ भन्ने शब्द प्रयोग गर्नुभयो।

^ [२] (अनुच्छेद १७) यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्‌घोषकहरू (अङ्‌ग्रेजी), पृष्ठ ६६२; र परमेश्वरको राज्यले शासन गर्दै छ! पृष्ठ १५० को “तिनले परमेश्वरको निम्ति आफ्नो ज्यान दिए” भन्ने पेटी हेर्नुहोस्।

^ [३] (अनुच्छेद १८) अङ्‌ग्रेजी वेबसाइटको NEWSROOM > LEGAL DEVELOPMENTS > Jehovah’s Witnesses Imprisoned for Their Faith—By Location अन्तर्गत हेर्नुहोस्।