सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“सहनशीलतालाई त्यसको पूरा काम गर्न देओ”

“सहनशीलतालाई त्यसको पूरा काम गर्न देओ”

“सहनशीलतालाई त्यसको पूरा काम गर्न देओ; यसप्रकार तिमीहरू हर क्षेत्रमा पूर्ण र दोषरहित हुनेछौ अनि तिमीहरूमा कुनै कुराको अभाव हुनेछैन।”—याकू. १:४.

गीत: १३५, १३९

१, २. (क) सहनशीलता देखाउने सन्दर्भमा गिदोन र तिनका ३०० जना मानिसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (शीर्षकमाथिको चित्र हेर्नुहोस्) (ख) लूका २१:१९ अनुसार सहनशीलता देखाउनु किन महत्त्वपूर्ण छ?

शत्रुहरूसित युद्ध गर्दा-गर्दा इस्राएली सेनाहरूको हालत कस्तो भयो होला, कल्पना गर्नुहोस् त! तिनीहरूले न्यायकर्ता गिदोनको नेतृत्वमा मिद्यानी शत्रुहरू अनि उनीहरूका समर्थकहरूलाई रातभर खेदेका थिए। तिनीहरूले मिद्यानीहरूलाई ३२ किलोमिटर परसम्म खेदेका थिए। त्यसपछिको विवरणबारे बाइबल यसो भन्छ: “गिदोन यर्दनमा आए, औ तिनी र तिनका तीन सय मानिसहरू थकित” थिए। तर यतिबेला पनि गिदोन र तिनका मानिसहरूले लडाइँ जितिसकेका चाहिं थिएनन्‌, किनकि अझै १५ हजार शत्रु बाँकी नै थिए। इस्राएलीहरूले मिद्यानीहरूबाट थिचोमिचो सहनुपरेको वर्षौं भइसकेको थियो। त्यसैले यतिबेला हार मान्ने समय थिएन भनेर तिनीहरूले बुझेका थिए। यसकारण तिनीहरूले मिद्यानीहरूको नामोनिसान मेटाउन उनीहरूलाई “खेदिनै रहे” र अन्तमा मिद्यानलाई आफ्नो कब्जामा लिए।—न्याय. ७:२२; ८:४, १०, २८.

हामीले पनि अहिले यस्तै भीषण युद्ध लड्‌नुपरेको छ। हाम्रा शत्रुहरू भनेको सैतान, त्यसको संसार अनि हाम्रो आफ्नै त्रुटिपूर्ण अवस्था हो। हामीमध्ये कतिपयले यी शत्रुहरूसित युद्ध लडेको वर्षौं भइसक्यो अनि यहोवाको मदत पाएर हामीले थुप्रै जित पनि हासिल गरिसकेका छौं। तर यी शत्रुहरूसित लड्‌दा-लड्‌दा अनि यस संसारको अन्त हुने दिनको पर्खाइमा बस्दा-बस्दा कहिलेकाहीं हामी थकित हुन पुग्छौं। हो, अहिले हामीले पूर्णतया जित हासिल गरिसकेका छैनौं। हामी आखिरी दिनमा बाँचिरहेकाहरूले कठिन परीक्षा र क्रूर व्यवहारको सामना गर्नुपर्नेछ भनेर येशूले चेतावनी दिनुभएको थियो। तर सहनशील भयौं भने जित हासिल गर्नेछौं भनेर पनि उहाँले भन्नुभयो। (लूका २१:१९ पढ्‌नुहोस्) त्यसोभए सहनशीलता भनेको के हो? सहनशील हुन हामीलाई केले मदत गर्छ? सहनशील भएकाहरूको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं? अनि हामी कसरी “सहनशीलतालाई त्यसको पूरा काम गर्न” दिन सक्छौं?—याकू. १:४.

सहनशीलता भनेको के हो?

३. सहनशीलता भनेको के हो?

बाइबलमा उल्लिखित सहनशील शब्दले परीक्षा वा दुःख सहनुलाई मात्र बुझाउँदैन। सहनशीलतामा हाम्रो मन अनि दिमाग मुछिएको हुन्छ अनि कठिन अवस्था आउँदा कस्तो प्रतिक्रिया देखाउँछौ, त्यो पनि यसमा समावेश छ। सहनशील व्यक्तिले साहस, स्थिरता र धीरजजस्ता गुणहरू विकास गर्छन्‌। एउटा स्रोतअनुसार, “[सहनशीलता] त्यस प्रकारको मनोभाव हो जसले कुनै पनि कुरालाई हार मान्दै स्वीकार्ने होइन तर उत्कट आशाका साथ सहन सक्छ . . . यो त्यस्तो गुण हो जसले मानिसलाई बाधाबिघ्नसामु खडा रहन मदत गर्छ। यो त्यस्तो सद्‌गुण हो जसले अति कठिन परीक्षालाई पनि आनन्दमा बदल्न सक्छ किनभने कष्टको अलावा त्यसले लक्ष्य देखेको हुन्छ।”

४. प्रेमले गर्दा नै सहनशील हुन सकेका हौं भनेर किन भन्न सक्छौं?

प्रेम छ भने मात्र हामी सहनशील हुन सक्छौं। (१ कोरिन्थी १३:४,  पढ्‌नुहोस्) यहोवाप्रतिको प्रेमले हामीलाई उहाँको इच्छासित मेल खाने जस्तोसुकै कुरा सहन मदत गर्छ। (लूका २२:४१, ४२) मण्डलीका दाजुभाइ दिदीबहिनीप्रतिको प्रेमले हामीलाई तिनीहरूको गल्ती सहन मदत गर्छ। (१ पत्रु. ४:८) अनि पति-पत्नीप्रतिको प्रेमले हामीलाई वैवाहिक जीवनमा आइपर्ने “दुःखकष्ट” सहन मदत गर्छ। हो, हाँसीखुसी जीवन बिताइरहेका सफल जोडीहरूले समेत “दुःखकष्ट” झेल्नुपर्ने हुन्छ, तैपनि एकअर्काप्रतिको प्रेमले तिनीहरूलाई सहनशील हुन अनि वैवाहिक जीवनको बन्धनलाई अझ कसिलो बनाउन मदत गर्छ।—१ कोरि. ७:२८.

सहनशील हुन तपाईंलाई केले मदत गर्छ?

५. यहोवाले हामीलाई सहनको लागि चाहिएकै मदत दिन सक्नुको कारण के हो?

यहोवासित मदत माग्नुहोस्। यहोवा परमेश्वर “सहनशीलता र सान्त्वना दिनुहुने” परमेश्वर हुनुहुन्छ। (रोमी १५:५) हामीले कस्तो किसिमको समस्या झेलिरहनुपरेको छ, त्यो मात्र होइन, हाम्रो हरेक परिस्थिति, भावना र पृष्ठभूमिले हामीलाई कसरी असर गर्छ, त्यो पनि यहोवा बुझ्नुहुन्छ। त्यसकारण उहाँ हामीलाई सहनको लागि चाहिएकै मदत दिन सक्नुहुन्छ। बाइबल भन्छ: “उहाँसित डराउनेहरूको इच्छा उहाँले पूरा गर्नुहुनेछ। उहाँले तिनीहरूको पुकारा पनि सुन्नुहुनेछ, र तिनीहरूलाई बचाउनुहुनेछ।” (भज. १४५:१९) तर सहने शक्तिको लागि हामीले गरेको प्रार्थनाको जवाफ उहाँले कसरी दिनुहुन्छ?

६. यहोवाले हामीलाई कसरी परीक्षाबाट “उम्कने बाटो” खोलिदिनुहुन्छ?

पहिलो कोरिन्थी १०:१३ पढ्‌नुहोस्। परीक्षाको सामना गर्न मदत माग्यौं भने यहोवाले हामीलाई त्यसबाट “उम्कने बाटो पनि खोलिदिनुहुनेछ।” त्यसको मतलब, यहोवाले परिस्थितिलाई नै उल्टाएर परीक्षा हटाउनुहुन्छ भन्न खोजेको हो त? त्यसो पनि हुन सक्छ। तर प्रायजसो अवस्थामा उहाँले हामीलाई ‘सहने’ बल दिनुहुन्छ। हो, हामीले ‘धीरजी र आनन्दित हुँदै सबै कुरा सहन सकोस्’ भनेर उहाँले हामीलाई बल दिनुहुन्छ। (कल. १:११) अनि उहाँलाई हाम्रो शारीरिक, मानसिक र भावनात्मक सीमितता राम्ररी थाह भएकोले सत्यनिष्ठा कायम गर्नै नसक्ने अवस्थासम्म कहिल्यै पर्न दिनुहुनेछैन।

७. सहनशील हुन हामीलाई किन आध्यात्मिक खानेकुरा चाहिन्छ? उदाहरण दिनुहोस्।

विश्वास बलियो बनाउन आध्यात्मिक पोषण लिइरहनुहोस्। संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा चढ्‌नेहरूले दिनमा लगभग ६ हजार क्यालोरी (उर्जा शक्ति) खर्च गर्छन्‌। यो सामान्य मानिसलाई चाहिने शक्तिभन्दा निकै बढी हो। यात्रा गर्दा गाह्रोसाह्रो सहँदै अघि बढ्‌न र आफ्नो गन्तव्यसम्म पुग्न पदयात्रीले सकेसम्म धेरै क्यालोरीयुक्त खानेकुरा खानुपर्ने हुन्छ। त्यसैगरि ख्रीष्टियन जीवनमा आइपर्ने विभिन्न उतारचढाव सहँदै अघि बढ्‌न र आफ्नो गन्तव्यसम्म पुग्न हामीले प्रशस्त आध्यात्मिक खानेकुरा खानु जरुरी छ। त्यसैले बाइबल पढ्‌ने, अध्ययन गर्ने र सभामा उपस्थित हुने समय निकाल्न हामीले आफैलाई अनुशासनमा राख्नुपर्छ। यसो गऱ्यौं भने “अनन्त जीवन दिने खानेकुरा” खाएर हामीले आफ्नो विश्वास बलियो बनाइरहेका हुन्छौं।—यूह. ६:२७.

८, ९. (क) अय्यूब २:४, ५ अनुसार परीक्षाको सामना गर्नुपर्दा हामी कुन विवादमा मुछिरहेका हुन्छौं? (ख) दुःख सामना गर्नुपर्दा तपाईं कुन दृश्य कल्पना गर्न सक्नुहुन्छ?

परमेश्वरप्रति वफादार रहनुपर्छ भन्ने कुरा नबिर्सनुहोस्। यहोवाको सेवकले परीक्षा र दुःखको सामना गर्नुपर्दा त्यसमा अरू कुरा पनि मुछिएको हुन्छ। हो, परीक्षा आउँदा हामीले देखाउने प्रतिक्रियाले हामी यहोवाको शासन गर्ने अधिकार स्वीकार्छौं कि स्वीकार्दैनौं भनेर देखाउँछ। यहोवाको शासन गर्ने अधिकारको विरोध गर्ने शत्रु सैतानले उहाँको यसरी आलोचना गरेको थियो: “आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र? आफ्नो हात पसारेर [अय्यूबको] शरीरमा चोट पुऱ्याउनुभए तिनले तपाईंको मुखकै सामने तपाईंलाई सराप्नेछन्‌।” (अय्यू. २:४, ५) मानिसले आफ्नो स्वार्थको लागि मात्र यहोवाको सेवा गरेको हो भनेर सैतानले आरोप लगाएको थियो। समय बित्दै गएपछि सैतानको सोचाइ परिवर्तन भयो कि? अहँ, भएन। शताब्दिऔं पछि सैतानलाई स्वर्गबाट तल फ्याँकिदा समेत त्यसलाई ‘परमेश्वरसामु हाम्रा भाइहरूलाई दिनरात दोष लगाउने’ “आरोपक” भनिएको थियो। (प्रका. १२:१०) अनि अहिले पनि त्यसले मानिसहरूलाई स्वार्थको कारण परमेश्वरको सेवा गरेको हो भनेर आरोप लगाउँछ। हामीले परीक्षासामु घुँडा टेकेको अनि यहोवाको शासन गर्ने अधिकारलाई लत्याएको हेर्न, त्यो आतुर छ।

त्यसैले दुःखको सामना गर्नुपर्दा यो दृश्य कल्पना गर्नुहोस्। सैतान र त्यसका सेनामेना सबै एकातिर बसिरहेका छन्‌ अनि तपाईंलाई आफ्नो दुःखमा ध्यान दिन उक्साइरहेका छन्‌ अनि तपाईंले सहन नसकेर हार मान्नुहुनेछ भनेर औंला ठड्‌याइरहेका छन्‌। तर अर्कोतिर यहोवा, सिंहासनमा विराजमान उहाँको छोरा, पुनर्जीवित भएका अभिषिक्त जनहरू र लाखौं स्वर्गदूतहरू छन्‌। उहाँहरू सबै तपाईंलाई देखेर रमाउँदै हुनुहुन्छ। तपाईंले पाइला-पाइलामा देखाउनुभएको सहनशीलता देखेर अनि हरेक दिन यहोवाको शासन गर्ने अधिकारको पक्षमा खडा हुन गरेको प्रयास देखेर उहाँहरू खुसी हुनुहुन्छ र तपाईंलाई अघि बढ्‌न हौसला दिंदै हुनुहुन्छ। वास्तवमा यहोवाले तपाईंलाई यसो भन्दै हुनुहुन्छ: “हे मेरो छोरो, बुद्धिमान्‌ हो र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिन सक्छु।”—हितो. २७:११.

१०. इनाममा ध्यान दिने सन्दर्भमा तपाईं कसरी येशूको अनुकरण गर्न सक्नुहुन्छ?

१० इनाममा ध्यान दिनुहोस्। मानिलिनुहोस्, तपाईं लामो सुरुङ मार्गमा हिंड्‌दै हुनुहुन्छ। हिंड्‌दा-हिंड्‌दा त्यसको बीचमा पुग्नुभयो। चारैतिर चुक घोप्टेजस्तै अन्धकार छाएको छ। तैपनि नरोकिकन अगाडि बढ्‌नुभयो भने उज्यालो देख्न पाइन्छ भनेर तपाईंलाई थाह छ नि, होइन र? त्यसैगरि कहिलेकाहीं समस्याले गाँज्दा तपाईंलाई चारैतिर अन्धकार छाएजस्तो लाग्न सक्छ। येशूले पनि त्यस्तै महसुस गर्नुभएको थियो। ‘पापीहरूले उहाँविरुद्ध बोलेर’ उहाँको बेइज्जती गरे; उहाँले “यातनाको खम्बामा” पीडादायी मृत्यु समेत भोग्नुपऱ्यो; हो, यो उहाँको जीवनकै सबैभन्दा अन्धकारमय क्षण थियो! तैपनि “आफ्नो अगाडि राखिएको आनन्दका लागि” येशूले यी सबै कुरा सहनुभयो। (हिब्रू १२:२, ३) आफू सहनशील हुँदा प्राप्त हुने इनाममा येशूले ध्यान दिनुभयो; सहनशील हुँदा यहोवाको सार्वभौमिकता र उहाँको नाम पवित्र पारिनेछ भन्ने कुरामा उहाँले विशेष ध्यान दिनुभयो। येशूले भोग्नुपरेको अन्धकारमय परीक्षा क्षणिक थियो। तर उहाँले पाउनुहुने स्वर्गीय इनामचाहिं सधैंका लागि थियो। अहिले तपाईंले भोगिरहेको परीक्षा पनि पीडादायी र सहनै गाह्रो होला। तर नबिर्सनुहोस्, अनन्त जीवनको यात्रामा तपाईंले भोग्नुपरेका यी कष्टहरू क्षणिक मात्र हुन्‌।

“सहनशील मानिसहरू”

११. हामीले किन “सहनशील मानिसहरू”-को उदाहरण विचार गर्नुपर्छ?

११ सहनशील हुनु परेको हामी मात्र त होइन। सैतानले ल्याउने तीनथुप्रो परीक्षाहरू सहन ख्रीष्टियनहरूलाई प्रोत्साहन दिंदै प्रेषित पावलले यस्तो लेखे: “विश्वासमा दह्रो भएर त्यसविरुद्ध खडा होओ, किनकि संसारभरिका तिमीहरूका सबै भाइहरूले यस्तै दुःखकष्ट भोगिरहेका छन्‌ भनेर तिमीहरूलाई थाह छ।” (१ पत्रु. ५:९) परीक्षाहरूको सामना गरेका “सहनशील मानिसहरू”-को उदाहरणले हामीलाई कसरी अडिग रहने भनेर सिकाउँछ; सफल हुन सक्छौं भनेर विश्वस्त गराउँछ र विश्वासी हुँदा इनाम पाइन्छ भन्ने कुरा सम्झाउँछ। (याकू. ५:११) अब हामी त्यस्ता केही उदाहरण विचार गरौं। [१]

१२. अदनको बगैंचामा पहरा दिन खटाइएका करूबहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१२ करूबहरू: परमेश्वरले सुरुमा सृष्टि गरेका केही अदृश्य प्राणीहरूलाई एउटा अनौठो काम दिनुभएको थियो। उहाँले “जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई . . . अदनको बगैंचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो।” [२] (उत्प. ३:२४) ती करूबहरू सुरुमा यो कामको लागि सृष्टि गरिएका थिएनन्‌। किनभने यहोवाले मानिसजातिको लागि राख्नुभएको उद्देश्यमा पाप र विद्रोहको नामोनिसान थिएन। जेहोस्, यी उच्च ओहदाका करूबहरूको उदाहरणबाट गाह्रो जिम्मेवारी पाउँदा समेत हामी सहनशील हुनुपर्छ भन्ने विषयमा राम्रो पाठ सिक्न सक्छौं। आफू उच्च ओहदाको भएकोले पहरा दिने त्यस्तो सानोतिनो काम गर्न सुहाउँदैन भनेर तिनीहरूले गुनासो गरेको हामी कतै पाउँदैनौं। साथै यस्तो जिम्मेवारी पाउँदा तिनीहरूले दिक्क मानेनन्‌ अनि हार पनि खाएनन्‌। बरु आफूलाई दिइएको जिम्मेवारी पूरा नभएसम्म त्यो काममा लागिरहे; सायद जलप्रलयसम्म अर्थात्‌ १,६०० वर्षभन्दा लामो समयसम्म सहनशील हुँदै तिनीहरू आफ्नो काममा लागे।

१३. अय्यूबलाई गाह्रो परीक्षा सहन कुन कुराले मदत गऱ्यो?

१३ अय्यूब: तपाईं आफ्ना साथीभाइ वा परिवारका सदस्यको घोच्ने बोलीले गर्दा निरुत्साहित हुनुभएको छ कि? गम्भीर रोगले गर्दा सहन गाह्रो भएको छ कि? अथवा प्रियजनको मृत्युले गर्दा शोकमा डुब्नु भएको छ कि? त्यसो हो भने अय्यूबको उदाहरणबाट तपाईंले सान्त्वना पाउन सक्नुहुन्छ। (अय्यू. १:१८, १९; २:७, ९; १९:१-३) कसले गर्दा दुःखकष्ट भोग्नु परेको हो भनेर अय्यूबलाई थाह थिएन, तैपनि तिनले हार मानेनन्‌। किन? किनभने तिनी “परमेश्वरसँग डराउँथे।” (अय्यू. १:१) सजिलो होस् या गाह्रो, अय्यूब जस्तोसुकै अवस्थामा पनि यहोवालाई प्रसन्न तुल्याउन दृढ थिए। परमेश्वरको मदतले गर्दा अय्यूबले उहाँका अद्‌भुत कुराहरूमा ध्यान केन्द्रित गर्न सके। परमेश्वरको पवित्र शक्तिद्वारा सृष्टि भएका ती कुराहरू देखेपछि अय्यूबको विश्वास अझै बलियो भयो। यहोवाले तिनलाई परीक्षा सहन बल दिनुहुन्छ र उपयुक्त समयमा त्यो परीक्षा हटाउनुहुनेछ भन्ने कुरामा तिनी अझ विश्वस्त हुन सके। (अय्यू. ४२:१, २) नभन्दै त्यस्तै भयो। ‘यहोवाले अय्यूबको सुदिन फर्काइदिनुभयो र तिनका सबै धन-सम्पत्ति दुई गुणा बढाइदिनुभयो।’ तिनले आनन्दित हुँदै “दीर्घायु” जीवन बिताए।—अय्यू. ४२:१०, १७.

१४. दोस्रो कोरिन्थी १:६ को विवरणअनुसार पावलको सहनशीलताले अरूलाई कसरी मदत गऱ्यो?

१४ प्रेषित पावल: के तपाईंले साँचो उपासनाको विरोधीहरूबाट खेदो वा घोर विरोधको सामना गरिरहनुपरेको छ? अथवा गहन जिम्मेवारीले गर्दा गाह्रो महसुस गरिरहनुभएको एल्डर अथवा क्षेत्रीय निरीक्षक हुनुहुन्छ कि? त्यसोभए, प्रेषित पावलको उदाहरण मनन गर्नुहोस्। तिनले घोर विरोधीहरूबाट थुप्रै समस्याहरू खेप्नुपऱ्यो। त्यति मात्र होइन, विभिन्न मण्डलीको चिन्ताले पनि तिनलाई सताउँक्थ्यो। (२ कोरि. ११:२३-२९) तैपनि तिनले हार खाएनन्‌; तिनको उदाहरणबाट अरूले सहनशील हुने हौसला पाए। (२ कोरिन्थी १:६ पढ्‌नुहोस्) तपाईंले पनि यस्तै परीक्षाको सामना गर्नुपरेको छ भने नबिर्सनुहोस्, तपाईंको सहनशीलताबाट अरूले सान्त्वना पाइरहेका हुन सक्छन्‌।

के सहनशीलताले तपाईंमा “पूरा काम” गरेको छ?

१५, १६. (क) सहनशीलताले कस्तो “काम” पूरा गर्छ? (ख) हामीले के-कस्तो परिस्थितिमा सहनशीलतालाई “पूरा काम गर्न दिन” सक्छौं?

१५ परमेश्वरको प्रेरणा पाएर याकूबले यस्तो लेखे: “सहनशीलतालाई त्यसको पूरा काम गर्न देओ।” सहनशीलताले कस्तो “काम” पूरा गर्छ? यसले हामीलाई ‘हर क्षेत्रमा पूर्ण र दोषरहित हुन’ मदत गर्छ र हामीमा ‘कुनै कुराको अभाव हुन दिंदैन।’ (याकू. १:४) परीक्षाहरू आइपर्दा हामीलाई आफ्नो कमीकमजोरी चिन्न अर्थात्‌ आफूले सुधार्नुपर्ने पक्ष थाह पाउन सजिलो हुन्छ। अनि ती परीक्षाहरू आइपर्दा सहनशील भयौं भने हाम्रो ख्रीष्टियन व्यक्तित्व अझ खारिन्छ र पूर्ण हुन्छ। उदाहरणको लागि, हामी पहिलाभन्दा अझ धीरजी, कृतज्ञ र दयालु हुन सक्छौं।

परीक्षाहरू आइपर्दा सहनशील भयौं भने हाम्रो ख्रीष्टियन व्यक्तित्व अझ खारिन्छ र पूर्ण हुन्छ (अनुच्छेद १५, १६ हेर्नुहोस्)

१६ सहनशीलताले हामीलाई अझ राम्रो ख्रीष्टियन बन्न मदत गर्ने भएकोले परीक्षाबाट उम्कनको लागि हामी बाइबल सिद्धान्तहरूमा सम्झौता गर्न चाहँदैनौं। एकछिन सोच्नुहोस्, के तपाईं आफ्नो खराब सोचाइ विरुद्ध सङ्‌घर्ष गर्दै हुनुहुन्छ? त्यसो हो भने प्रलोभनमा नपर्नको लागि प्रार्थना गरेर त्यस्तो इच्छा हटाइहाल्नुहोस्। यसो गर्दा तपाईंले अझ राम्ररी आफूलाई अनुशासनमा राख्न सक्नुहुनेछ। तपाईंले विश्वासमा नभएको परिवारका सदस्यबाट विरोधको सामना गर्नुपरेको पो छ कि? त्यसो हो भने तिनीहरूको दबाबसामु झुक्नुको साटो तनमनले यहोवाको सेवा गर्न कटिबद्ध हुनुहोस्। यसो गर्दा यहोवाप्रतिको तपाईंको विश्वास अझ बलियो हुनेछ। नबिर्सनुहोस्, यहोवाको अनुमोदन पाउन हामी सहनशील हुनै पर्छ।—रोमी ५:३-५; याकू. १:१२.

१७, १८. (क) अन्तसम्मै सहनशील हुनु किन महत्त्वपूर्ण छ? उदाहरण दिनुहोस्। (ख) अन्त नजिकिंदै जाँदा हामी कुन कुरामा ढुक्क हुन सक्छौं?

१७ हामी केही समयको लागि मात्र होइन तर अन्तसम्मै सहनशील हुनुपर्छ। यसबारे एउटा उदाहरण कल्पना गर्नुहोस्: पानीजहाज पल्टेर डुब्नै लागेको छ। आफ्नो ज्यान जोगाउन यात्रुहरू किनारासम्म पौडिनै पर्छ। तर सोच्नुहोस्, अलिकति पौडेर हार मान्ने र किनारा छेउमा पुग्नै लाग्दा हार मान्ने व्यक्तिमा के नै फरक हुन्छ र? त्यसैगरि नयाँ संसारमा प्रवेश नगरुन्जेल हामी सहनशील हुनै पर्छ। यसमा हाम्रो जीवन निर्भर छ। हाम्रो मनोभाव पनि प्रेषित पावलको जस्तै हुनुपर्छ, जसले दुई-दुई पटक यसो भने: “हामी हरेस खाँदैनौं।”—२ कोरि. ४:१, १६.

१८ अन्तसम्मै सहनशील हुन यहोवाले मदत गर्नुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौं। रोमी ८:३७-३९ मा प्रेषित पावलले व्यक्त गरेको यस भावनासित हामी पूर्णतया सहमत छौं: “हामीलाई प्रेम गर्नुहुनेको मदतद्वारा यी सबै कुराहरूमाथि हामी पूरै विजयी भएका छौं। किनकि म विश्वस्त छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न सरकारहरूले, न अहिले यहाँ भएका न त पछि आउने कुराहरूले, न शक्तिले, न उचाइले, न गहिराइले, न त अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रीष्ट येशूमार्फत व्यक्त भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग पार्न सक्नेछ।” हो, कहिलेकाहीं हामी थकित हुन सक्छौं। तर त्यस्तो बेला गिदोन र तिनका मानिसहरूको अनुकरण गरौं किनभने थकित भए तापनि तिनीहरूले हार मानेनन्‌ अनि अन्तसम्मै सहनशील हुँदै आफ्ना शत्रुहरूलाई ‘खेदिनै रहे।’—न्याय. ८:४.

^ [१] (अनुच्छेद ११) आधुनिक समयमा सहनशीलता देखाएका परमेश्वरका सेवकहरूको अनुभवबाट पनि तपाईंले प्रोत्साहन पाउन सक्नुहुन्छ। जस्तै: सन्‌ १९९२, १९९९ र २००८ को वार्षिक पुस्तक-मा (अङ्‌ग्रेजी) हाम्रो विश्वास बलियो बनाउन मदत गर्ने इथियोपिया, मलावी र रूसका हाम्रा दाजुभाइहरूको रिपोर्ट दिइएको छ।

^ [२] (अनुच्छेद १२) त्यहाँ कति जना करूबहरूलाई खटाइएको थियो भन्ने कुरा बाइबलले बताएको छैन।