जीवनी
म ख्रीष्टको सिपाही हुन चाहन्थें
मेरो वरिपरि गोली चलिरहेको थियो। लुकिरहेको ठाउँबाट मैले सेतो रुमाल देखाएँ। गोली हानिरहेका सिपाहीहरूले मलाई बाहिर निस्कने आदेश दिए। म डराई-डराई तिनीहरूकहाँ गएँ। मर्छु कि बाँच्छु, केही थाह थिएन। म यस्तो खतरनाक परिस्थितिमा कसरी पुगें?
मेरो जन्म सन् १९२६ मा ग्रीसको कारिजा भन्ने सानो गाउँमा भएको थियो। मेरो आमाबुबा निकै मेहनती हुनुहुन्थ्यो। आठ छोराछोरीमध्ये मचाहिं सातौं हुँ।
म जन्मनुभन्दा एक वर्षअघि आमाबुबाले जोन पापारियोसलाई भेट्नुभएको थियो। उहाँ बाइबल स्टुडेन्ट (त्यतिबेला यहोवाका साक्षीहरू यो नामले चिनिन्थे) हुनुहुन्थ्यो। उहाँ निकै जोसिलो हुनुहुन्थ्यो अनि मानिसहरूसँग कुराकानी गर्न रुचाउनुहुन्थ्यो। उहाँले बाइबलबाट राम्ररी तर्क गरेर बुझाउनुभएकोले आमाबुबालाई बाइबल स्टुडेन्टस्को कुरा चित्त बुझ्यो। त्यसैले उहाँहरू हाम्रै गाउँमा हुने बाइबल स्टुडेन्टस्को सभामा जान थाल्नुभयो। यहोवा परमेश्वरमाथि आमाको बलियो विश्वास थियो। पढे-लेखेको नभए पनि आमाले आफूले सिकेको कुरा मौका पाउनेबित्तिकै अरूलाई सुनाइहाल्नुहुन्थ्यो। तर दुःखको कुरा, बुबाले चाहिं अरूको कमीकमजोरीमा बढी ध्यान दिनुभएकोले बिस्तारै सभा जान छोड्नुभयो।
हामी छोराछोरीहरूलाई बाइबल मन पर्थ्यो तर हुर्कंदै जाँदा अरू नै कुराहरूमा हाम्रो ध्यान जान थाल्यो। सन् १९३९ मा युरोपमा दोस्रो विश्व युद्ध चर्किरहेको बेला हाम्रो गाउँमा भएको एउटा घटनाले हामीमा अमेट छाप पाऱ्यो। हाम्रो छिमेकमा निकोलस सारस बस्नुहुन्थ्यो। उहाँ मेरो दाइ पर्नुहुन्छ। उहाँलाई ग्रीक सेनामा भर्ती हुन लगाइयो। त्यतिबेला उहाँले भर्खरै बप्तिस्मा गर्नुभएको थियो। उहाँ २० वर्षको हुनुहुन्थ्यो। उहाँले निडर हुँदै अफिसरहरूलाई यसो भन्नुभयो, “म यो युद्धमा जान सक्दिनँ किनभने म ख्रीष्टको सिपाही हुँ।” सैनिक अदालतमा उहाँको मुद्दा चल्यो र १० वर्ष जेल सजाय सुनाइयो। यो सुनेर हामी स्तब्ध भयौं।
तर खुसीको कुरा, सन् १९४१ को सुरुतिर बेलायती र अरू सेना केही समयको लागि ग्रीस आएपछि निकोलस दाइ जेलबाट छुट्नुभयो। गाउँ फर्केपछि मेरो दाइ इलियासले निकोलसलाई बाइबलसम्बन्धी थुप्रै प्रश्न सोध्नुभयो। मैले उहाँहरूको
कुराकानी ध्यान दिएर सुनें। त्यसपछि इलियास दाइ, म र बहिनीले बाइबल अध्ययन गर्न थाल्यौं अनि नियमित रूपमा सभा जान थाल्यौं। अर्को वर्ष हामी तीनै जनाले यहोवामा जीवन समर्पण गऱ्यौं र बप्तिस्मा गऱ्यौं। पछि हाम्रो दुई दाइ र दुई दिदी पनि वफादार साक्षी हुनुभयो।सन् १९४२ मा कारिजा मण्डलीमा हामी १५ देखि २५ वर्षका नौ जना भाइबहिनी थियौं। थुप्रै परीक्षा सामना गर्नुपर्नेछ भनेर हामीलाई थाह थियो। त्यसैले सकेसम्म एक ठाउँमा भेला हुन्थ्यौं, सँगै बाइबल अध्ययन गर्थ्यौं, राज्यगीत गाउँज्थ्यौं अनि प्रार्थना गर्थ्यौं। यसले हाम्रो विश्वास बलियो बनायो।
गृह युद्ध
दोस्रो विश्व युद्ध सकिनै लाग्दा ग्रीक कम्युनिस्टहरूले सरकारको विद्रोह गरे। यसले गर्दा भीषण गृह युद्ध सुरु भयो। यी कम्युनिस्ट छापामारहरू गाउँ-गाउँमा जान्थे अनि मानिसहरूलाई जबरजस्ती आफूसँगै लान्थे। तिनीहरू हाम्रो गाउँ पनि आइपुगे र आन्टोनियो सुकारिस, इलियास दाइ र मलाई अपहरण गरेर लगे। हामी ख्रीष्टियनहरू युद्धमा तटस्थ रहन्छौं, त्यसैले विद्रोहमा साथ दिन सक्दैनौं भनेर बिन्तीभाउ गऱ्यौं। तैपनि तिनीहरूले हामीलाई १२ घण्टा हिंडाएर ओलम्पस पर्वतसम्म लगे।
केही समयपछि हामीलाई एक जना कम्युनिस्ट अफिसरले उनीहरूको समूहसँगै गाउँ-गाउँमा जान आदेश दिए। हामी साँचो ख्रीष्टियनहरू अरू मानिसहरूविरुद्ध हतियार उठाउँदैनौं भनेर बताएपछि ती अफिसर रिसाए अनि हामीलाई जर्नेलकहाँ लगे। हामीले अफिसरलाई भनेकै कुरा जर्नेललाई पनि भन्यौं। त्यसपछि जर्नेलले यसो भने, “त्यसोभए एउटा खच्चर लिएर जा अनि युद्धमा घाइते भएकाहरूलाई अस्पताल लैजाने काम गर्।”
हामीले यसो भन्यौं, “यदि ग्रीक सिपाहीहरूले हामीलाई पक्रे भने के गर्ने? हामीलाई पनि लडाकु नै ठान्नेछैनन् र?” अनि उनले भने, “त्यसोभए युद्धभूमिमा सिपाहीहरूलाई खाना पुऱ्याउने काम गर्।” हामीले भन्यौं, “हामीसँग खच्चर देखेर त्यहाँको अफिसरले युद्ध भइरहेको ठाउँमा हतियार लैजान अह्राए भने नि?” त्यसपछि जर्नेलले अलिबेर सोचेर भने, “ल उसोभए यहीं पहाडमा बसेर भेडा हेर्ने काम गर्।”
गृह युद्ध चर्किरहेको बेला भेडाको हेरचाह गर्न चाहिं हाम्रो अन्तस्करणले दियो। एक वर्षपछि इलियास दाइलाई आमाको देखभाल गर्न जान दिइयो किनभने बुबा बितिसक्नुभएको थियो। आन्टोनियो बिरामी परे अनि उनलाई पनि जान दिइयो। मलाई चाहिं जान दिएनन्।
ग्रीक सेनाले छापामारहरूलाई बिस्तारै-बिस्तारै आफ्नो कब्जामा पार्न थालिसकेका थिए। मलाई अपहरण गरेर ल्याउने समूह पहाडहरू हुँदै अल्बेनिया भागे। सीमा नजिकै पुग्दा हामी ग्रीक सेनाको घेरामा पऱ्यौं। छापामारहरू डराएर भागे। मचाहिं ढलेको रूखपछाडि लुकें। मैले सुरुमा बताएको घटना यही बेलाको हो।
मलाई कम्युनिस्टहरूले अपहरण गरेर ल्याएका हुन् भनेर बताएपछि मलाई थप सोधपुछ गर्न भेरोया (बाइबलमा बिरिया भनेर चिनिने सहर) नजिकैको छाउनीमा लगे। मलाई सिपाहीहरू लुक्ने खाल्डो खन्ने आदेश दिइयो। मैले त्यसो गर्न मानिनँ।
त्यसैले मलाई हाकिमले माक्रोनिसोस टापुमा पठाए। किनभने त्यतिबेला सजाय दिनको लागि त्यो टापुमा पठाइन्थ्यो।कोही पनि जान नचाहने टापु
सुख्खा अनि चर्को घाम लाग्ने यो टापु एथेन्स सहरबाट ५० किलोमिटर टाढा आट्टिका भन्ने समुद्री किनारामा पर्छ। यो टापु निकै सानो छ। यसको लम्बाइ १३ किलोमिटर अनि चौडाइ ५०० मिटर छ। तर यस्तो सानो टापुमा पनि सन् १९४७ देखि १९५८ सम्म १,००,००० भन्दा धेरै कैदी राखिएका थिए। कैदीहरूमध्ये कोही कट्टर कम्युनिस्ट अनि विपक्षी लडाकु थिए। कोही भने कम्युनिस्ट भएको शङ्कामा समातिएकाहरू अनि यहोवाका वफादार साक्षीहरू थिए।
सन् १९४९ को सुरुतिर मलाई यो टापुमा ल्याइँदा कैदीहरूलाई समूह-समूह गरेर छुट्टयाइएको थियो। मलाई थोरै सुरक्षाकर्मी परिचालन गरिएको छाउनीमा अरू सयौं कैदीसँगै राखिएको थियो। दस जना मात्र अटाउने पालमा हामी ४० जना कोच्चिएर सुत्थ्यौं। गन्हाउने पानी पिउनुपर्थ्यो अनि प्रायजसो दाल र भान्टा खान दिइन्थ्यो। निरन्तर चलिरहने हावा र त्यो सँगै आउने धुलोले हाम्रो जीवन निकै कष्टकर बनाएको थियो। जेहोस्, अरू कैदीहरूले जस्तो ठूलठूला ढुङ्गा ओसार्नुपरेको थिएन। यस्तो अमानवीय सजायले गर्दा थुप्रै कैदीको शरीर मात्र होइन, दिमाग पनि बिग्रियो।
एक दिन समुद्री किनारमा हिंड्दै गर्दा मैले अरू साक्षीहरू भेटें। एकअर्कालाई भेट्न पाउँदा हामी धेरै खुसी भयौं! हामी अरूले चाल नपाउने गरी भेट्ने गर्थ्यौं। चनाखो हुँदै अरू कैदीलाई प्रचार गर्थ्यौं। कोही-कोही पछि यहोवाको साक्षी भए। यस्ता गतिविधिले अनि मनैदेखिको प्रार्थनाले हामीलाई आध्यात्मिक रूपमा बलियो रहन मदत गऱ्यो।
कठिन परिस्थितिमा
आफ्नो अडान बदलोस् भनेर मलाई दस महिना कठोर यातना दिइएको थियो। अबचाहिं तिनीहरूले मलाई सिपाहीको बर्दी लगाउन भने। नमानेपछि घिस्याउँदै अफिसरकहाँ लगे। मैले तिनलाई यस्तो लेखेर दिएँ, “म केवल ख्रीष्टको सिपाही हुन चाहन्छु।” तिनले मलाई धम्क्याए अनि तिनको पनि हाकिमकहाँ पुऱ्याए, जो ग्रीक अर्थोडक्स चर्चका पादरी थिए। उनले पादरीहरूले लगाउने विशेष लुगा लगाएका थिए। मैले निडर हुँदै उनको प्रश्नको जवाफ बाइबलबाटै दिएपछि रिसले चुर हुँदै उनले भने: “कस्तो कट्टर मान्छे! लैजा यसलाई!”
त्यसको भोलिपल्ट फेरि मलाई सिपाहीको बर्दी लगाउन भनियो। नमानेपछि तिनीहरूले मलाई मुक्कै मुक्का हाने र काठको डन्डाले हिर्काए। त्यसपछि कतै मेरो हड्डी पो भाँचियो कि भनेर छाउनीकै स्वास्थ्य चौकीमा जचाउन लगे। तिनीहरूले हरेक दिन दुई महिनासम्म यसरी यातना दिए।
मैले आफ्नो विश्वाससित सम्झौता गरिनँ। त्यसैले रिसले चुर भएका सिपाहीहरूले अर्को तरिका अपनाए। उनीहरूले मेरो हात पछाडि लगेर बाँधे अनि पैतालामा बेस्सरी डोरीले हिर्काए। यस्तो पीडा हुँदा येशूले भन्नुभएको यो कुरा याद आयो: “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको बदनाम गर्छन्, खेदो गर्छन् . . . तब रमाओ र खुसीले उफ्र, किनकि स्वर्गमा तिमीहरूका लागि ठूलो इनाम छ; तिमीहरूअघिका भविष्यवक्ताहरूलाई पनि तिनीहरूले यसरी नै खेदो गरेका थिए।” (मत्ती ५:११, १२) बेस्सरी कुटाइ खाएपछि कहिले बेहोस भएँ पत्तै पाइनँ।
होस खुल्दा म चिसो कोठरीमा थिएँ, जहाँ पानी, खानेकुरा र ओड्ने कुरा केही थिएन। तैपनि म विचलित भइनँ, शान्त रहें। बाइबलमा प्रतिज्ञा गरिएझैं “परमेश्वरको शान्ति”-ले ‘मेरो मन र सोच्ने क्षमताको रक्षा गरिरहेको थियो।’ (फिलि. ४:७) भोलिपल्ट एक जना दयालु सिपाहीले खानेकुरा, पानी र एउटा कोट दिए। अर्को सिपाहीले चाहिं दया गरेर आफ्नो रासन दिए। यसरी विभिन्न तरिकामा यहोवाले मेरो हेरविचार गर्नुभयो।
अफिसरहरूले मलाई कुनै हालतमा नसुध्रिने विद्रोही ठानेर एथेन्सको सैनिक अदालतमा लगे। मलाई माक्रोनिसोसबाट ५० किलोमिटर पूर्वतिर पर्ने ग्यारोस टापुको झ्यालखानामा तीन वर्ष जेल सजाय सुनाइयो।
“हामी तिमीहरूलाई भरोसा गर्छौं”
ग्यारोस टापुको त्यो ठूलो झ्यालखानामा ५,००० भन्दा धेरै राजनैतिक बन्दी थिए। अनि ख्रीष्टियन तटस्थताको कारण जेल परेका सात जना यहोवाका साक्षी पनि थिए। अरूसँग भेटेर बाइबलको कुरा गर्न रोक लगाइएको भए पनि हामी सात जना लुकीछिपी भेट्ज्थ्यौं अनि सँगै बाइबलको अध्ययन गर्थ्यौं। लुकाएर ल्याइएको प्रहरीधरहरा-समेत नियमित रूपमा
पाउँज्थ्यौं। अनि अध्ययन गर्नको लागि हातैले सारेर त्यसको अरू प्रतिलिपि बनाउँज्थ्यौं।एक दिन लुकेर अध्ययन गरिरहेको बेला एक जना सुरक्षागार्ड आइपुगे। तिनले हाम्रा प्रकाशनहरू जफत गरे। हामीलाई सहायक जेलरकहाँ लगियो। अब जेल सजाय लम्बिने भयो जस्तो लाग्यो। तर जेलरले यसो भने: “हामीलाई तिमीहरूको विषयमा राम्ररी थाह छ। हामी तिमीहरूको अडानको कदर गर्छौं। हामी तिमीहरूलाई भरोसा गर्छौं। अब काममा जाऊ।” उनले हामीमध्ये केहीलाई त सजिलो काम पनि मिलाइदिए। यसको लागि हामी यहोवाप्रति निकै आभारी भयौं। जेलमा छँदा सत्यनिष्ठ रहेकोले यहोवाको महिमा गर्न सक्यौं।
हाम्रो अडानले गर्दा अरू थुप्रै राम्रा नतिजा देख्न पायौं। हाम्रो राम्रो आनीबानी याद गरिरहेका एक जना कैदीले हाम्रो विश्वासबारे सोधे। उनी गणितका प्राध्यापक थिए। सन् १९५१ को सुरुतिर हामी जेलबाट छुट्दा उनी पनि छुटे। पछि बप्तिस्मा गरेर उनी यहोवाको साक्षी भए अनि पूर्ण-समय सेवा सुरु गरे।
अहिले पनि सिपाही
जेलबाट छुटेपछि म कारिजामा आफ्नो घर फर्कें। पछि, अरू मानिसहरूसँगै अस्ट्रेलियाको मेलबर्नमा बसाइँ सरें। त्यहाँ ज्यानेटलाई भेटें; उनी परिपक्व साक्षी थिइन्। पछि हामीले विवाह गऱ्यौं। हामीले एक जना छोरा अनि तीन जना छोरीलाई यहोवाको शिक्षामा हुर्कायौं।
अहिले म ९० वर्ष पुगिसकें। म एल्डरको रूपमा सेवा गर्दै छु। पुराना चोटहरूले गर्दा कहिलेकाहीं पूरै जीउ दुख्छ, प्रायजसो प्रचारबाट फर्कंदा। तैपनि ‘ख्रीष्टको सिपाही’ भइरहने मेरो सङ्कल्पमा कुनै कमी आएको छैन।—२ तिमो. २:३.