सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एकअर्कालाई “झन्‌ बढी” प्रोत्साहन दिइरहौँ

एकअर्कालाई “झन्‌ बढी” प्रोत्साहन दिइरहौँ

“आपसमा गहिरो चासो राखेर . . . एकअर्कालाई प्रोत्साहन दिइरहौं, अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौं, झन्‌ बढी त्यसो गरिरहौं।”—हिब्रू १०:२४, २५.

गीत: ९०, ८७

१. प्रेषित पावलले किन प्रथम शताब्दीका हिब्रू ख्रीष्टियनहरूलाई एकअर्कालाई “झन्‌ बढी” प्रोत्साहन दिइरहनू भने?

एकअर्कालाई प्रोत्साहन दिन हामीले झन्‌ धेरै कोसिस गर्नु किन आवश्‍यक छ? प्रेषित पावलले हिब्रू ख्रीष्टियनहरूलाई लेखेको पत्रमा यसको कारण बताए। तिनले यसो भने: “आपसमा गहिरो चासो राखेर हामी एक-अर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔं, कसै-कसैलाई बानी परेजस्तै हामी एक ठाउँमा भेला हुन नछोडौं, बरु एकअर्कालाई प्रोत्साहन दिइरहौं, अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौं, झन्‌ बढी त्यसो गरिरहौं।” (हिब्रू १०:२४, २५) तिनले यो कुरा लेखेको पाँच वर्षभित्रै यरूशलेममा बस्ने यहूदी ख्रीष्टियनहरूले ‘यहोवाको दिन’ नजिक आएको अनि येशूले दिनुभएका चिन्हहरू पूरा भएको देख्ने थिए। ती चिन्हहरू देखेपछि तिनीहरू आफ्नो ज्यान बचाउन त्यो सहर छोडेर भाग्नुपर्थ्यो। (प्रेषि. २:१९, २०; लूका २१:२०-२२) इस्वी संवत्‌ ७० मा रोमीहरूले यरूशलेमको विनाश गर्दा यहोवाको दिन आयो।

२. आज हामीले किन एकअर्कालाई पहिलेभन्दा अझ धेरै चासो देखाउनु र प्रोत्साहन दिनु जरुरी छ?

आज पनि यहोवाको “महा र साह्रै डरलाग्दो” दिन नजिकै छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (योए. २:११) भविष्यवक्‍ता सपन्याहले यसो भने: “परमप्रभुको भयानक दिन नजिकै छ, नजिकै, त्यो चाँडै आउँदैछ।” (सप. १:१४) यो भविष्यसूचक चेतावनी आज हाम्रो समयमा पनि लागू हुन्छ। यहोवाको दिन कत्ति नजिकै छ भन्‍ने कुरा विचार गर्दा पावलले बताएझैँ हामीले ‘आपसमा गहिरो चासो राखेर एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाउनु’ जरुरी छ। (हिब्रू १०:२४) त्यसकारण हामीले आफ्ना भाइबहिनीहरूलाई पहिलेभन्दा अझ धेरै चासो देखाउनुपर्छ। त्यसो गऱ्‍यौँ भने हामीले चाहिएकै बेला उनीहरूलाई प्रोत्साहन दिन सक्छौँ।

प्रोत्साहन कसलाई चाहिन्छ?

३. प्रोत्साहन दिनेबारे प्रेषित पावलले के बताए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

“चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।” (हितो. १२:२५) यो कुरा हामी सबैलाई नै लागू हुन्छ। हामी सबैलाई बेला-बेलामा प्रोत्साहन चाहिन्छ। अरूलाई प्रोत्साहन दिने जिम्मा पाएकाहरूलाई पनि प्रोत्साहन चाहिन्छ भनेर पावलले राम्रोसित बुझेका थिए। तिनले रोममा बसिरहेका ख्रीष्टियनहरूलाई यस्तो लेखे: “परमेश्‍वरको तर्फबाट केही वरदान दिन सकूँ भनेर तिमीहरूलाई भेट्‌ने तीव्र इच्छा म गर्दैछु, ताकि तिमीहरूलाई स्थिर बनाउन सकूँ, वा भनौं, मैले र तिमीहरूले, हामी दुवैले आ-आफ्नो विश्‍वासद्वारा एकअर्कालाई प्रोत्साहन दिन सकौं।” (रोमी १:११, १२) हो, पावलले थुप्रै पटक अरूलाई प्रोत्साहन दिए। तर कहिलेकाहीँ तिनी आफैलाई पनि प्रोत्साहन चाहिएको थियो।—रोमी १५:३०-३२ पढ्‌नुहोस्‌।

४, ५. हामी कसलाई प्रोत्साहन दिन सक्छौँ र किन?

यहोवाको सेवा गर्न आत्मत्यागी जीवन बिताउनेहरू प्रशंसा पाउन योग्य छन्‌। यिनीहरूमा वफादार अग्रगामीहरू पनि पर्छन्‌। अग्रगामी सेवा गर्न थुप्रैले ठूलठूला त्यागहरू गरेका छन्‌। साथै मिसनरीहरू, बेथेल सेवकहरू, क्षेत्रीय निरीक्षक अनि तिनका पत्नीहरू र ससाना अनुवाद कार्यालयहरूमा काम गरिरहेकाहरूले पनि त्यागहरू गरेका छन्‌। पवित्र सेवामा अझ धेरै समय बिताउन यी भाइबहिनीहरूले गरेको त्याग प्रशंसायोग्य छ। अनि पूर्ण समय सेवा गरिरहने इच्छा भए पनि विभिन्‍न कारणले गर्दा आफूले सोचेजति गर्न नसकेकाहरूको प्रशंसा गऱ्‍यौँ भने उनीहरूले त्यसको कदर गर्नेछन्‌।

विवाह गर्ने इच्छा भए तापनि “प्रभुको चेलासित मात्र” विवाह गर्नू भन्‍ने आज्ञा पालन गरेकोले अविवाहित अवस्थामा रहेका भाइबहिनीहरू हाम्रो प्रशंसा पाउन लायक छन्‌। (१ कोरि. ७:३९) साथै पतिहरूले मेहनती पत्नीहरूको प्रशंसा गर्दा तिनीहरू खुसी हुन्छन्‌। (हितो. ३१:२८, ३१) अनि सतावट वा बिरामी अवस्थाको बाबजुद वफादार रहेका ख्रीष्टियनहरूलाई पनि प्रोत्साहन चाहिन्छ। (२ थिस्स. १:३-५) यी सबै वफादार सेवकहरूलाई यहोवा र येशू सान्त्वना दिनुहुन्छ।२ थिस्सलोनिकी २:१६, १७ पढ्‌नुहोस्‌।

एल्डरहरू प्रोत्साहन दिन प्रयत्न गर्छन्‌

६. यशैया ३२:१, २ मा बताइएअनुसार एल्डरहरूको भूमिका के हो?

यशैया ३२:१, २ पढ्‌नुहोस्‌। यस अन्तको समयमा विभिन्‍न कारणले हरेस खाएका अनि निराश भएकाहरूलाई येशू ख्रीष्टले आफ्ना अभिषिक्‍त भाइहरू चलाएर अनि उहाँलाई समर्थन गर्ने अरू भेडाका “भारदारहरू” चलाएर प्रोत्साहन र डोऱ्‍याइ दिनुहुन्छ। वास्तवमा यी एल्डरहरू अरूको विश्‍वासको “मालिक” होइनन्‌ बरु आफ्ना भाइहरूको आनन्दको निम्ति “सहकर्मीहरू” हुन्‌।—२ कोरि. १:२४.

७, ८. प्रोत्साहनका केही शब्दहरू बोल्नुका साथै एल्डरहरूले कसरी अरूलाई बलियो पार्न सक्छन्‌?

यस सन्दर्भमा प्रेषित पावलले राम्रो उदाहरण बसाले। तिनले सतावट भोगिरहेका थिस्सलोनिकाका ख्रीष्टियनहरूलाई यस्तो लेखे: “तिमीहरूको निम्ति हामी यत्ति धेरै कोमल स्नेहले भरिएका थियौं, कि तिमीहरूलाई परमेश्‍वरको सुसमाचार सुनाउन मात्र होइन तर आफ्नो ज्यान दिनसमेत हामी असाध्यै खुसी थियौं, किनकि तिमीहरू हाम्रो निम्ति प्रिय भएका थियौ।”—१ थिस्स. २:८.

प्रोत्साहनका दुई चार शब्द बोल्नु मात्र सधैँ पर्याप्त हुँदैन भन्‍ने कुरा बुझाउँदै प्रेषित पावलले एफिससका एल्डरहरूलाई यस्तो लेखे: “तपाईंहरूले पनि मेहनत गरेर कमजोरहरूलाई मदत गर्नुपर्छ अनि ‘लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ’ भनेर प्रभु येशू आफैले भन्‍नुभएको वचन सधैं सम्झनुपर्छ।” (प्रेषि. २०:३५) पावल आफ्ना भाइहरूलाई प्रोत्साहन दिन मात्र होइन, तिनीहरूको लागि ‘खर्च गर्न र आफू पनि पूरै खर्चिन’ तयार थिए। (२ कोरि. १२:१५) त्यसैगरि एल्डरहरूले पनि भाइबहिनीलाई बोलीले मात्रै प्रोत्साहन र सान्त्वना दिनु पर्याप्त छैन। बरु भाइबहिनीलाई बलियो पार्न व्यक्‍तिगत रूपमा साँचो चासो देखाएको कुरा आफ्नो कामद्वारा पनि देखाउनुपर्छ।—१ कोरि. १४:३.

९. एल्डरहरूले कसरी प्रोत्साहनजनक तरिकामा सल्लाह दिन सक्छन्‌?

भाइबहिनीलाई बलियो बनाउन एल्डरहरूले कहिलेकाहीँ सल्लाह दिनुपर्ने हुन सक्छ। तर प्रोत्साहनजनक तरिकामा सल्लाह दिन एल्डरहरूले बाइबलमा दिइएको उदाहरण पछ्याउनुपर्छ। यस सन्दर्भमा येशूले उत्कृष्ट उदाहरण बसाल्नुभयो। मृत्यु भएर पुनर्जीवित हुनुभएपछि उहाँले एसिया माइनरका केही मण्डलीहरूलाई कडा सल्लाह दिनुभयो। तर उहाँले कसरी सल्लाह दिनुभयो, विचार गर्नुहोस्‌। एफिसस, पर्गामम अनि थिआटीराको मण्डलीलाई सल्लाह दिनुअघि उहाँले तिनीहरूको प्रशंसा गर्नुभयो। (प्रका. २:१-५, १२, १३, १८, १९) लाओडिसियाको मण्डलीलाई उहाँले यसो भन्‍नुभयो: “ज-जसलाई म माया गर्छु, तिनीहरू सबैलाई म सुधार्छु अनि अनुशासन दिन्छु। त्यसैले जोसिलो होऊ र पश्‍चात्ताप गर।” (प्रका. ३:१९) सल्लाह दिनुपर्दा एल्डरहरूले येशूको उदाहरण अनुकरण गर्नुपर्छ।

यो जिम्मेवारी एल्डरहरूको मात्र होइन

आमाबुबा हो, अरूलाई प्रोत्साहन दिन के तपाईँ आफ्ना छोराछोरीलाई तालिम दिँदै हुनुहुन्छ? (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. हामी सबैले कसरी एकअर्कालाई बलियो पार्न सक्छौँ?

१० प्रोत्साहन दिने जिम्मेवारी एल्डरहरूको मात्र होइन। पावलले सबै ख्रीष्टियनलाई यस्तो सल्लाह दिए: “तिमीहरूको मुखबाट . . . आवश्‍यकताअनुसार अरूको उत्थान गर्ने असल वचन निस्कोस्‌, ताकि सुन्‍नेहरूलाई त्यसबाट फाइदा होस्‌।” (एफि. ४:२९) हामी सबै जना अरूको “आवश्‍यकता”-बारे सजग रहनुपर्छ। पावलले हिब्रू ख्रीष्टियनहरूलाई यस्तो सल्लाह दिए: “कमजोर हात र दुर्बल घुँडाहरू बलिया बनाओ अनि आफ्नो खुट्टाको निम्ति सीधा बाटो बनाइरहो, ताकि जुन अङ्‌ग कमजोर छ, त्यो जोर्नीबाट नफुस्कोस्‌ तर निको होस्‌।” (हिब्रू १२:१२, १३) हामी सबैले प्रोत्साहन दिने शब्दहरू बोलेर एक अर्कालाई बलियो पार्न सक्छौँ, साना केटाकेटीहरूले समेत त्यसो गर्न सक्छन्‌।

११. डिप्रेसन भएको बेला मार्थाले कस्तो मदत पाइन्‌?

११ मार्थालाई * कुनै समय डिप्रेसन भएको थियो। तिनी यस्तो लेख्छिन्‌: “एक दिन म प्रोत्साहन पाऊँ भनेर यहोवालाई प्रार्थना गरिरहेकी थिएँ। अनि मैले एक जना पाको ख्रीष्टियन दिदीलाई भेटेँ, उहाँले मलाई माया देखाउनुभयो अनि सान्त्वना पनि दिनुभयो। मलाई जे कुराको खाँचो थियो, त्यही पाएँ। उहाँले आफ्नो अनुभव सुनाउनुभयो। मैले भोगेजस्तै परीक्षा उहाँले पनि पहिला भोग्नुभएको रहेछ। यसले गर्दा, यस्तो परीक्षाको सामना गर्ने म मात्र होइन रहेछु भनेर महसुस गरेँ।” आफ्नो बोलीले मार्थालाई कत्ति धेरै प्रभाव पाऱ्‍यो भन्‍ने कुरा सायद ती पाको बहिनीले यादै गरेकी थिइनन्‌।

१२, १३. फिलिप्पी २:१-४ मा दिइएको सल्लाह हामी कसरी लागू गर्न सक्छौँ?

१२ फिलिप्पीको मण्डलीमा भएका सबैलाई पावलले यस्तो सल्लाह दिए: “ख्रीष्टसित एक हुँदा पाइने प्रोत्साहन, प्रेमपूर्वक दिइने सान्त्वना, एक-अर्काप्रतिको चासो, कोमल स्नेह र करुणा तिमीहरूमाझ छ भने एउटै सोचाइका भएर, आपसमा प्रेम गरेर, एकै मनका भएर अनि एउटै विचार राखेर तिमीहरू मेरो आनन्द पूरा गरिदेओ। वैमनस्यता वा फोस्रो घमन्डले केही नगर तर विनम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान, तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलि. २:१-४.

१३ हो, हामी सबैले अरूलाई व्यक्‍तिगत चासो देखाउने प्रयत्न गर्नुपर्छ। आफ्ना भाइबहिनीलाई प्रोत्साहन दिन हामीले ‘प्रेमपूर्वक सान्त्वना’ दिनुपर्छ, ‘एक-अर्काप्रति चासो’ देखाउनुपर्छ अनि “कोमल स्नेह र करुणा” देखाउनुपर्छ।

प्रोत्साहनका स्रोतहरू

१४. थुप्रैलाई कुन कुराले प्रोत्साहन दिएको छ?

१४ विगतमा हामीले सत्य सिक्न मदत गरेकाहरू अहिले वफादार भएर सेवा गरिरहेका छन्‌ भन्‍ने खबर सुन्दा हामी निकै प्रोत्साहन पाउँछौँ। प्रेषित यूहन्‍नाले पनि यस्तै महसुस गरे। तिनले यस्तो लेखे: “मेरा छोराछोरीहरू सत्यमा चलिरहेका छन्‌ भनेर सुन्‍न पाउनुभन्दा बढ्‌ता खुसीको कुरा मसित अरू छैन।” (३ यूह. ४) थुप्रै अग्रगामीहरूले यस्तै महसुस गरेका छन्‌। वर्षौँ अघि आफूले बाइबल अध्ययन गराएका केही व्यक्‍तिहरू अहिले वफादार भई सेवा गरिरहेका छन्‌ वा अग्रगामीसमेत बनेका छन्‌ भनेर सुन्दा उनीहरूको खुसीको सीमा नै रहँदैन। निराश भएको अग्रगामीलाई विगतका रमाइला कुराहरूको सम्झना गराउँदा मात्र पनि तिनले निकै सान्त्वना पाउँछन्‌।

१५. वफादार भई सेवा गरिरहेकाहरूलाई प्रोत्साहन दिने एउटा तरिका के हो?

१५ थुप्रै क्षेत्रीय निरीक्षकहरू मण्डलीको भ्रमण गरेपछि भाइबहिनीबाट धन्यवादको सानो चिठी मात्रै पाउँदा पनि तिनी र तिनकी पत्नीले निकै प्रोत्साहन पाएको कुरा बताउँछन्‌। एल्डरहरू, मिसनरीहरू, अग्रगामीहरू अनि बेथेल सेवकहरूको वफादार सेवाप्रति कृतज्ञता देखाउँदै भाइबहिनीले दुई चार शब्द बोलिदिँदा तिनीहरूले निकै प्रोत्साहन पाउँछन्‌।

हामी प्रत्येकले प्रोत्साहन दिन सक्छौँ

१६. अरूलाई प्रोत्साहन दिन किन सोचेजति गाह्रो छैन?

१६ आफू कुराकानी गर्न त्यति सिपालु नभएकोले अरूलाई प्रोत्साहन दिनै सक्दिनँ जस्तो कसै-कसैलाई लाग्न सक्छ। तर चिन्ता नगर्नुहोस्‌, प्रोत्साहन दिनु भनेको एकदमै गाह्रो कुरा होइन। अरूलाई मीठो मुस्कान दिँदा मात्रै पनि अरूले प्रोत्साहन पाउन सक्छन्‌। तपाईँले मुस्कान दिँदा कसैले मुस्कान फर्काएन भने सायद तिनलाई कुनै समस्या परिरहेको हुन सक्छ। त्यतिबेला तिनको कुरा मात्र सुनिदिनु भयो भने पनि तिनले सान्त्वना पाउन सक्छन्‌।—याकू. १:१९.

१७. एक जना जवान भाइले गाह्रो अवस्थाको सामना गर्न कस्तो मदत पाए?

१७ हेन्री नाम गरेका जवान भाइका नजिकका नातेदारहरू र राम्रो एल्डरको रूपमा सेवा गरिरहेका तिनको बुबाले समेत सत्यलाई त्यागे। यसले गर्दा तिनी साह्रै निरुत्साहित भए। एक जना क्षेत्रीय निरीक्षकले तिनलाई कफी खुवाउन लगे र हेन्रीले आफ्नो मनको कुरा पोखाउँदा ध्यान दिएर सुने। आफ्नो परिवारलाई सत्यको मार्गमा फर्किन मदत गर्ने एउटै तरिका भनेको आफू वफादार रहिरहेर नै हो भनेर हेन्रीले महसुस गरे। भजन ४६, सपन्याह ३:१७ अनि मर्कूस १०:२९, ३० पढेर तिनले निकै सान्त्वना पाए।

हामी सबैले नै एकअर्कालाई प्रोत्साहन दिएर बलियो पार्न सक्छौँ (अनुच्छेद १८ हेर्नुहोस्‌)

१८. (क) राजा सुलेमानले के भने? (ख) प्रेषित पावलले कस्तो सल्लाह दिए?

१८ सान्त्वना चाहिएका भाइबहिनीहरूको लागि हामी प्रोत्साहनको स्रोत बन्‍न सक्छौँ भनेर मार्था र हेन्रीको अनुभवले देखाउँछ। राजा सुलेमानले यस्तो लेखे: “ठीक बेलामा भनिएको कुरा . . . कति असल हुन्छ। हँसिलो मुखले मनमा आनन्द दिन्छ, औ शुभ-समाचारले शरीरलाई उत्तेजित पार्छ।” (हितो. १५:२३, ३०) साथै प्रहरीधरहरा वा हाम्रो वेबसाइटमा भएका लेखले पनि निराश भएकाहरूलाई बल दिन सक्छ। भाइबहिनीसँगै मिलेर राज्य गीत गाउनु पनि प्रोत्साहनको स्रोत हो भनेर प्रेषित पावलले बताए। तिनले यस्तो लेखे: “तिमीहरू भजन, परमेश्‍वरको स्तुतिगान र उपासनाका मन छुने गीतहरू गाएर एक-अर्कालाई सिकाउँदै र सम्झाउँदै गर अनि मनमनै यहोवाको निम्ति गाइरहो।”—कल. ३:१६; प्रेषि. १६:२५.

१९. आउँदा दिनहरूमा हामीले एकअर्कालाई किन झन्‌ धेरै प्रोत्साहन दिनुपर्छ? त्यसो गर्न हामीले के गर्नुपर्छ?

१९ यहोवाको दिन “नजिक हुँदै” जाँदा हामीले एकअर्कालाई झन्‌ धेरै प्रोत्साहन दिनुपर्छ। (हिब्रू १०:२५) पावलले आफ्नो समयका ख्रीष्टियनहरूलाई भनेजस्तै हामी पनि गरिरहौँ। तिनले यसो भने: “एक-अर्कालाई सान्त्वना दिइरहो अनि एक-अर्काको उत्थान गरिरहो; भनौं भने, तिमीहरूले त्यसै गरिरहेका पनि छौ।”—१ थिस्स. ५:११.

^ अनु. 11 नामहरू परिवर्तन गरिएका छन्‌।