सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रोत्साहन दिनुहुने परमेश्‍वर यहोवाको अनुकरण गर्नुहोस्‌

प्रोत्साहन दिनुहुने परमेश्‍वर यहोवाको अनुकरण गर्नुहोस्‌

‘परमेश्‍वर धन्यका होऊन्‌, उहाँले हाम्रा सबै सङ्‌कष्टहरूमा सान्त्वना * दिनुहुन्छ।’—२ कोरि. १:३, ४.

गीत: ७, 

१. अदनको बगैँचामा विद्रोह भएपछि यहोवाले मानिसजातिलाई कस्तो प्रोत्साहन र आशा दिनुभयो?

मानिसजाति पापमा फसेर त्रुटिपूर्ण भएदेखि नै यहोवा प्रोत्साहन दिने परमेश्‍वर साबित हुनुभएको छ। अदनको बगैँचामा विद्रोह भएलगत्तै उहाँले आदमका भावी सन्तानलाई भविष्यको आशा दिनुभयो। मानिसजातिको अवस्था पूरै निराशाजनक थिएन। उत्पत्ति ३:१५ मा लेखिएको भविष्यसूचक प्रतिज्ञाको अर्थ बुझेपछि त्यसले मानिसहरूलाई “पुरानो सर्प” अर्थात्‌ सैतान र त्यसका खराब कामहरू नष्ट हुनेछन्‌ भन्‍ने आशा दिने थियो।—प्रका. १२:९; १ यूह. ३:८.

यहोवाले विगतमा आफ्ना सेवकहरूलाई प्रोत्साहन दिनुभयो

२. यहोवाले नूहलाई कसरी प्रोत्साहन दिनुभयो?

यहोवाका सेवक नूह बाँचेको समयमा संसार दुष्ट मानिसहरूले भरिएको थियो। तिनको परिवारबाहेक अरू कसैले पनि यहोवाको उपासना गर्दैन थियो। तिनको वरिपरि जताततै हिंसा र यौन अनैतिकता व्याप्त भएकोले तिनी निरुत्साहित हुन सक्थे। (उत्प. ६:४, ५, ११; यहू. ६) तर यहोवाले नूहलाई साहस दिनुभयो, जसले गर्दा तिनले उहाँको उपासना गरिरहने र “परमेश्‍वरको साथै हिंड्‌ने” व्यक्‍तिको रूपमा अघि बढिरहने प्रोत्साहन पाए। (उत्प. ६:९) त्यस दुष्ट संसारलाई नाश गर्न लागेको कुरा यहोवाले नूहलाई बताउनुभयो र नूहले आफ्नो परिवारलाई बचाउन के गर्नुपर्छ भन्‍ने निर्देशन पनि दिनुभयो। (उत्प. ६:१३-१८) नूहको लागि यहोवा प्रोत्साहन दिने परमेश्‍वर साबित हुनुभयो।

३. यहोशूले कस्तो प्रोत्साहन पाए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

पछि यहोशूले यहोवाका जनहरूलाई प्रतिज्ञा गरिएको देशसम्म डोऱ्‍याउने जिम्मेवारी पाए। यो अत्यन्तै ठूलो जिम्मेवारी थियो किनकि प्रतिज्ञा गरिएको देशमा बस्दै आएका शक्‍तिशाली जातिहरूलाई हराउनु पर्थ्यो। त्यतिबेला यहोशू डराएर पछि हट्‌न पनि सक्थे। तर यहोशूलाई हौसला दिनू भनेर यहोवाले मोशालाई आज्ञा दिनुभयो। परमेश्‍वरले मोशालाई यसो भन्‍नुभयो: “यहोशूलाई आज्ञा दे, र त्यसलाई प्रोत्साहन दिएर साहसिलो बना, किनकि त्योचाहिं यी मानिसहरूका अगुवा भएर जानेछ, र त्यसलेनै तिनीहरूलाई तैंले देखेको त्यस देशको अधिकारी बनाउनेछ।” (व्यव. ३:२८) यहोशू युद्ध लड्‌न जानुअघि यहोवाले तिनलाई यसरी प्रोत्साहन दिनुभयो: “तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।” (यहो. १:१, ९) यस्तो प्रोत्साहन पाउँदा यहोशूले कत्ति ढुक्क महसुस गरे होलान्‌!

४, ५. (क) यहोवाले विगतमा आफ्ना जनहरूलाई कस्तो प्रोत्साहन दिनुभयो? (ख) यहोवाले आफ्नो छोरालाई कसरी प्रोत्साहन दिनुभयो?

यहोवाले व्यक्‍तिविशेषलाई मात्र होइन आफ्ना जनहरूलाई सामूहिक रूपमा पनि प्रोत्साहन दिनुभएको छ। जस्तै, यहोवाले यस्तो भविष्यसूचक कुरा बताउनुभयो, जसले बन्दी बनाएर बेबिलोन लगिएका यहूदीहरूलाई सान्त्वना दिने थियो: “नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सम्हाल्नेछु।” (यशै. ४१:१०) सुरु-सुरुका ख्रीष्टियनहरूले पनि त्यस्तै किसिमको प्रोत्साहन पाएका थिए र आज हामीले पनि पाएका छौँ।२ कोरिन्थी १:३, ४ पढ्‌नुहोस्‌।

येशूले पनि आफ्नो बुबाबाट प्रोत्साहन पाउनुभएको थियो। बप्तिस्मा गर्ने बेला येशूले स्वर्गबाट यस्तो आवाज आएको सुन्‍नुभयो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जससित म अति प्रसन्‍न छु।” (मत्ती ३:१७) ती शब्दहरूले येशूलाई पृथ्वीमा रहुन्जेल प्रचारको काममा लागिरहन निकै बल दिएको हुनुपर्छ!

येशूले प्रोत्साहन दिनुभयो

६. तोडाको दृष्टान्तबाट हामी कस्तो प्रोत्साहन पाउँछौँ?

येशूले आफ्नो बुबाको उदाहरण अनुकरण गर्नुभयो। यस युगको अन्तबारे भविष्यवाणी गर्नुहुँदा येशूले तोडाको दृष्टान्त बताउनुभयो। त्यस दृष्टान्तले हामीलाई विश्‍वासी भइरहन प्रोत्साहन दिन्छ। त्यस दृष्टान्तमा मालिकले आफ्ना विश्‍वासी दासहरूलाई यसो भनेर प्रशंसा गरे: “स्याबास, असल र विश्‍वासी दास! तिमी थोरै कुरामा विश्‍वासी भयौ। म तिमीलाई धेरै कुरामाथि नियुक्‍त गर्नेछु। तिमी आफ्नो मालिकसँगसँगै रमाऊ।” (मत्ती २५:२१, २३) विश्‍वासी भई यहोवाको सेवा गरिरहन यसले हामीलाई कत्ति धेरै प्रोत्साहन दिन्छ!

७. येशूले आफ्ना चेलाहरूलाई कस्तो प्रोत्साहन दिनुभयो? उहाँले खासगरि पत्रुसलाई कस्तो प्रोत्साहन दिनुभयो?

येशूका चेलाहरू आफूहरूमध्ये कोचाहिँ सबैभन्दा ठूलो हो भनेर घरीघरी विवाद गरिरहन्थे। तर येशू धीरजी हुनुभयो र तिनीहरूलाई नम्र हुन प्रोत्साहन दिनुभयो अनि मालिक होइन, दास बन्‍न सल्लाह दिनुभयो। (लूका २२:२४-२६) चेलाहरूमध्ये खासगरि पत्रुसले येशूलाई पटक-पटक दुःखी बनाए। (मत्ती १६:२१-२३; २६:३१-३५, ७५) तैपनि येशूले तिनलाई त्याग्नुभएन, बरु प्रोत्साहन दिनुभयो र आफ्ना भाइहरूलाई बलियो पार्ने जिम्मेवारीसमेत सुम्पिनुभयो।—यूह. २१:१६.

विगतमा यहोवाका जनले अरूलाई प्रोत्साहन दिए

८. हिजकियाहले सेनापतिहरू र यहूदाका मानिसहरूलाई कसरी प्रोत्साहन दिए?

येशू यस पृथ्वीमा आउनुहुँदा उहाँले प्रोत्साहन दिने सन्दर्भमा उत्कृष्ट उदाहरण बसाल्नुभयो। तर त्योभन्दा अघि पनि परमेश्‍वरका विश्‍वासी जनहरू अरूलाई प्रोत्साहन दिन सजग थिए। अस्सुरीहरूले धम्क्याउँदा हिजकियाहले आफ्ना सेनापतिहरू र यहूदाका मानिसहरूलाई भेला गराएर प्रोत्साहन दिए। अनि तिनले दिएको प्रोत्साहनले “मानिसहरूको हौसला बढ्यो।”२ इतिहास ३२:६-८ पढ्‌नुहोस्‌।

९. प्रोत्साहन दिने सन्दर्भमा अय्यूबको किताबबाट हामी के सिक्न सक्छौँ?

हुनत अय्यूब आफैलाई सान्त्वना चाहिएको थियो। तर तिनले “व्यर्थका सान्त्वना दिने” आफ्ना तीन जना साथीहरूलाई प्रोत्साहन दिनेबारे राम्रो पाठ सिकाए। यदि आफू ती साथीहरूको ठाउँमा भएको भए ‘तिनीहरूलाई उत्साह दिन आफूले साहसको वचन बोल्नेथिएँ र आफ्नो सहानुभूतिले तिनीहरूलाई शान्ति मिल्ने थियो’ भनेर अय्यूबले बताए। (अय्यू. १६:१-५, NRV) अन्ततः अय्यूबले एलीहूबाट र स्वयम्‌ यहोवाबाट प्रोत्साहन पाए।—अय्यू. ३३:२४, २५; ३६:१, ११; ४२:७, १०.

१०, ११. (क) यिप्तहकी छोरीलाई किन प्रोत्साहन चाहिएको थियो? (ख) आज त्यस्तै किसिमको प्रोत्साहन कसलाई चाहिन्छ?

१० विगतमा प्रोत्साहनको आवश्‍यकता परेकाहरूमध्ये एक जना यिप्तहकी छोरी थिइन्‌। अम्मोनीहरूसित युद्ध लड्‌न जानुअघि न्यायकर्ता यिप्तहले यहोवालाई एउटा भाकल गरे। यदि यहोवाले तिनलाई विजयी तुल्याउनुभयो भने युद्धपछि घर फर्कँदा तिनलाई भेट्‌न आउने पहिलो व्यक्‍तिलाई यहोवाको बासस्थानमा सेवा गर्न अर्पण गर्नेछु भनी तिनले बताए। युद्ध जितेर घर फर्कँदा तिनकी छोरी, जो तिनको एक मात्र सन्तान थिइन्‌, तिनलाई स्वागत गर्न सबैभन्दा पहिला बाहिर आइन्‌। यिप्तह खङ्‌ग्रङ्‌गै भए। तर यिप्तहले आफ्नो भाकल पूरा गरे। तिनले आफ्नी कन्ये छोरीलाई शीलोको बासस्थानमा आजीवन सेवा गर्न पठाए।—न्याय. ११:३०-३५.

११ यिप्तहको लागि यो पक्कै सजिलो कुरा थिएन; तिनकी छोरीको लागि यो झनै गाह्रो कुरा थियो। तर तिनले आफ्नो बुबाको निर्णयलाई राजीखुसीले समर्थन गरिन्‌। (न्याय. ११:३६, ३७) तिनले विवाह गर्ने, छोराछोरी जन्माउने अनि कुलको नाम र वंश जोगाउने आफ्नो अधिकारलाई त्यागिन्‌। हो, तिनलाई निकै प्रोत्साहन चाहिएको थियो। बाइबल विवरण यसो भन्छ: “इस्राएलका छोरीहरू प्रत्येक वर्ष चार दिनसम्म यिप्तहकी छोरीको स्मृतिमा जानपर्ने एउटा परम्परा भयो।” (न्याय. ११:३९, ४०) “प्रभुका कुराहरूको विषयमा” अझ धेरै ध्यान दिन आफ्नो अविवाहित अवस्था प्रयोग गर्ने आजका ख्रीष्टियनहरूलाई पनि प्रशंसा र प्रोत्साहन चाहिन्छ नि, होइन र?—१ कोरि. ७:३२-३५.

प्रेषितहरूले आफ्ना भाइहरूलाई प्रोत्साहन दिए

१२, १३. पत्रुसले आफ्ना भाइहरूलाई कसरी ‘बलियो बनाए’?

१२ आफ्नो मृत्यु हुनुभन्दा अघिको रात येशूले प्रेषित पत्रुसलाई यसो भन्‍नुभयो: “सिमोन, ए सिमोन, हेर, सैतानले तिमीहरूलाई गहुँलाई जस्तै निफन्‍ने माग गरेको छ। तर तिम्रो विश्‍वास नडगमगाओस्‌भनेर मैले तिम्रो लागि उत्कट बिन्ती चढाएको छु र तिमी पश्‍चात्ताप गरेर फर्कनेबित्तिकै आफ्ना भाइहरूलाई बलियो बनाऊ।”—लूका २२:३१, ३२.

प्रेषितहरूले लेखेको पत्रले प्रथम शताब्दीका मण्डलीहरूलाई निकै प्रोत्साहन दियो, त्यसबाट आज हामी पनि प्रोत्साहन पाउँछौँ (अनुच्छेद १२-१७ हेर्नुहोस्‌)

१३ पत्रुस सुरु-सुरुको ख्रीष्टियन मण्डलीको खम्बा साबित भए। (गला. २:९) पेन्तिकोसको समयमा अनि त्यसपछि पनि तिनले साहसी हुँदै आफ्ना भाइहरूलाई प्रोत्साहन दिए। आफ्नो लामो सेवाको अन्ततिर तिनले आफ्ना भाइहरूलाई पत्र लेखे। त्यो लेख्नुको कारणबारे तिनले यसो भने: “तिमीहरूलाई प्रोत्साहन दिन अनि परमेश्‍वरको साँचो असीम अनुग्रहको सत्य साक्षी दिन . . . मैले तिमीहरूलाई केही शब्द लेखेको छु। तिमीहरू त्यस असीम अनुग्रहलाई बलियो गरी पक्रिराख।” (१ पत्रु. ५:१२) परमेश्‍वरको प्रेरणा पाएर पत्रुसले लेखेका पत्रहरू युगौँदेखि ख्रीष्टियनहरूका लागि अनि आज हाम्रो लागि पनि प्रोत्साहनको स्रोत बनेको छ। यहोवाका प्रतिज्ञाहरू पूरा हुने समयलाई कुरिरहँदा हामीलाई यस्तो प्रोत्साहनको कत्ति धेरै खाँचो छ!—२ पत्रु. ३:१३.

१४, १५. प्रेषित यूहन्‍नाले लेखेका किताबहरूले शताब्दीयौँदेखि ख्रीष्टियनहरूलाई कसरी प्रोत्साहन दिँदै आएको छ?

१४ प्रेषित यूहन्‍ना पनि सुरु-सुरुको मण्डलीको खम्बा साबित भए। येशूको प्रचारकार्यबारे तिनले लेखेको रोमाञ्चक विवरणले शताब्दीयौँदेखि आजसम्म ख्रीष्टियनहरूलाई प्रोत्साहन दिँदै आएको छ। आफ्ना चेलाहरूको साँचो चिनारी प्रेम हो भन्‍ने येशूको भनाइ यूहन्‍नाले लेखेको सुसमाचारको विवरणमा मात्रै पाइन्छ।यूहन्‍ना १३:३४, ३५ पढ्‌नुहोस्‌।

१५ यूहन्‍नाले लेखेका तीन वटा पत्रहरूमा हामी अरू अनमोल सत्यहरू पनि पाउँछौँ। पापको भारले हाम्रो मनलाई दबाएको बेला “येशूको रगतले हाम्रा सबै पापहरू पखालेर हामीलाई शुद्ध पार्छ” भन्‍ने कुरा थाह पाउँदा हामीलाई कत्ति हलुका महसुस हुन्छ नि, होइन र? (१ यूह. १:७) अनि केहीगरि हाम्रो मनले हामीलाई दोषी ठहराइरह्‍यो भने “परमेश्‍वर हाम्रो मनभन्दा महान्‌ हुनुहुन्छ” भन्‍ने कुरा पढ्‌दा त्यसले हाम्रो मन छुन्छ अनि कृतज्ञताले ओतप्रोत भएर हाम्रो आँखा रसाउँछ। (१ यूह. ३:२०) “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनेर लेख्ने एक मात्र बाइबल लेखक यूहन्‍ना नै हुन्‌। (१ यूह. ४:८, १६) आफूले लेखेको दोस्रो र तेस्रो पत्रमा तिनले “सत्यमा हिंडिरहेका” ख्रीष्टियनहरूको प्रशंसा गरे।—२ यूह. ४; ३ यूह. ३, ४.

१६, १७. सुरु-सुरुका ख्रीष्टियनहरूलाई प्रेषित पावलले कस्तो प्रोत्साहन दिए?

१६ प्रथम शताब्दीमा आफ्ना भाइहरूलाई प्रोत्साहन दिन सबैभन्दा कडा मेहनत गर्ने चेला सम्भवतः प्रेषित पावल नै थिए। ख्रीष्टियन मण्डली स्थापना भएको सुरु-सुरुतिर धेरैजसो प्रेषितहरू यरूशलेममै रहेजस्तो देखिन्छ। त्यतिबेलाको परिचालक निकायले त्यहीँ रहेर काम गर्थ्यो। (प्रेषि. ८:१४; १५:२) यहूदियामा बस्ने ख्रीष्टियनहरूले मानिसहरूलाई ख्रीष्टबारे प्रचार गरे। यहूदी धर्मको प्रभावले गर्दा त्यहाँका मानिसहरू परमेश्‍वर एउटै हुनुहुन्छ भन्‍ने कुरामा पहिल्यैदेखि विश्‍वास गर्थे। तर प्रेषित पावललाई चाहिँ पवित्र शक्‍तिले ग्रीस अनि रोमी साम्राज्यको इलाकाहरूमा प्रचार गर्न डोऱ्‍यायो। त्यहाँका मानिसहरू थुप्रै देवीदेवताको उपासना गर्थे।—गला. २:७-९; १ तिमो. २:७.

१७ पावलले अहिलेको टर्की, ग्रीस अनि इटालीमा पर्ने इलाकाहरूमा प्रचार गरेर गैर-यहूदीहरूमाझ ख्रीष्टियन मण्डलीहरू स्थापना गरे। आफ्नो पहिलेको धर्म छोडेका ती नयाँ ख्रीष्टियनहरूले ‘आफ्ना देशवासीहरूको हातबाट दुःखकष्ट भोग्नुपऱ्‍यो।’ (१ थिस्स. २:१४) त्यसैले तिनीहरूलाई प्रोत्साहनको खाँचो थियो। इस्वी संवत्‌ ५० तिर पावलले भर्खरै स्थापना भएको थिस्सलोनिकी मण्डलीलाई लेखेको पत्रमा यसो भने: “हाम्रा प्रार्थनाहरूमा तिमीहरूलाई सम्झँदा हामी परमेश्‍वरलाई सधैं धन्यवाद चढाउँछौं, किनकि तिमीहरूले आफ्नो विश्‍वासको कारण गरेका कामहरू, प्रेमपूर्वक गरेको परिश्रम र तिमीहरूले . . . देखाएको सहनशीलता . . . हामी हरबखत सम्झिरहन्छौं।” (१ थिस्स. १:२, ३) साथै एकअर्कालाई बलियो पार्न प्रोत्साहन दिँदै तिनले यसो भने: “एक-अर्कालाई सान्त्वना दिइरहो अनि एक-अर्काको उत्थान गरिरहो।”—१ थिस्स. ५:११.

परिचालक निकायले दिने प्रोत्साहन

१८. प्रथम शताब्दीको परिचालक निकायले फिलिपलाई कसरी प्रोत्साहन दियो?

१८ प्रथम शताब्दीको परिचालक निकायले नेतृत्व लिनेहरूलगायत मण्डलीका सबै भाइबहिनीलाई प्रोत्साहन दियो। प्रचारक फिलिपले सामरीहरूलाई ख्रीष्टबारे प्रचार गर्दा परिचालक निकायले तिनलाई पुरापुर साथ दियो। नयाँ चेलाहरूले पवित्र शक्‍ति पाऊन्‌ भनेर प्रार्थना गरिदिन परिचालक निकायले आफ्ना दुई जना सदस्यहरू, पत्रुस र यूहन्‍नालाई पठायो। (प्रेषि. ८:५, १४-१७) परिचालक निकायले यसरी साथ दिएको देख्दा प्रचारक फिलिपले अनि ती नयाँ चेलाहरूले कत्ति धेरै प्रोत्साहन पाए होलान्‌!

१९. परिचालक निकायले पठाएको पत्रले सुरु-सुरुको ख्रीष्टियन मण्डलीमा कस्तो प्रभाव पाऱ्‍यो?

१९ पछि परिचालक निकायले एउटा महत्त्वपूर्ण मामिला सुल्झाउनुपर्ने भयो। यहूदी ख्रीष्टियनहरूले मोशाको व्यवस्थाअनुसार खतना गरेझैँ गैर-यहूदी ख्रीष्टियनहरूले पनि खतना गर्नुपर्छ कि पर्दैन भन्‍ने विषयमा निर्णय गर्नुपर्ने भएको थियो। (प्रेषि. १५:१, २) पवित्र शक्‍तिको डोऱ्‍याइ पाएर अनि धर्मशास्त्र राम्ररी केलाएर जिम्मेवार भाइहरू एउटा निष्कर्षमा पुगे। खतना गर्नु जरुरी छैन भनेर तिनीहरूले निर्णय गरे र यसबारे सबै मण्डलीलाई पत्र लेखे। परिचालक निकायका प्रतिनिधिहरूले त्यो पत्र मण्डलीहरूसम्म पुऱ्‍याए। त्यसको नतिजा कस्तो भयो? “उनीहरूले त्यो पत्र पढे र त्यसबाट पाएको प्रोत्साहनले गर्दा रमाए।”—प्रेषि. १५:२७-३२.

२०. (क) आज परिचालक निकायले संसारभरि रहेका भाइबहिनीहरूलाई कस्तो प्रोत्साहन दिन्छ? (ख) यसपछिको लेखमा हामी कुन प्रश्‍न विचार गर्नेछौँ?

२० आज यहोवाका साक्षीहरूको परिचालक निकायले बेथेल सेवकहरू, क्षेत्रमा सेवा गर्ने विशेष पूर्ण समय सेवकहरू अनि संसारभरि रहेका सबै साँचो ख्रीष्टियनहरूलाई प्रोत्साहन दिन्छ। यसले प्रथम शताब्दीमा जस्तै नतिजा ल्याएको छ। परिचालक निकायबाट पाएको प्रोत्साहनले गर्दा आज पनि भाइबहिनीहरू रमाउँछन्‌! त्यसका साथै सन्‌ २०१५ मा परिचालक निकायले प्रकाशित गरेको यहोवातर्फ फर्कनुहोस्‌ (अङ्‌ग्रेजी) पुस्तिकाले थुप्रैलाई प्रोत्साहन दिएको छ। तर के अख्तियार पाएकाहरूले मात्रै यहोवाको अनुकरण गर्दै प्रोत्साहन दिनुपर्ने हो? यस प्रश्‍नको जवाफ यसपछिको लेखले दिनेछ।

^ अनु. 2 वा “प्रोत्साहन।”