पाठकहरूको प्रश्न
भजन १४४:१२-१५ कसलाई लागू हुन्छ, परमेश्वरका जनहरूलाई कि पद ११ मा उल्लेख गरिएका दुष्ट विदेशीहरूलाई?
हिब्रू भाषामा प्रयोग गरिएको शब्दले दुवैलाई बुझाउन सक्छ। तर निम्न कुराहरू विचार गर्दा हामी सही निष्कर्षमा पुग्न सक्छौँ:
१. यस भजनको बाँकी भागलाई विचार गर्नुहोस्। पद १२ मा चलाइएको “जब” शब्दले पद १२-१४ मा उल्लेख गरिएका आशिष्हरू धर्मी मानिसहरूलाई लागू हुन्छ भनेर देखाउँछ, जसले दुष्टहरूबाट “छुटकारा दिएर बचाउनुहोस्” भनी बिन्ती गर्छन् (पद ११)। पद १५ मा बताइएको कुरा पनि यससित मेल खान्छ। त्यहाँ “सुखी” शब्द दुई पटक प्रयोग गरिएको छ र यो पनि धर्मी मानिसहरूलाई नै लागू हुन्छ, “जसका परमेश्वर” यहोवा हुनुहुन्छ।
२. यो बुझाइ बाइबलका अन्य भागहरूसित मेल खान्छ, जहाँ परमेश्वरका वफादार जनहरूले उहाँको आशिष् पाउने प्रतिज्ञा गरिएको छ। परमेश्वरले इस्राएललाई शत्रुको हातबाट छुटाएपछि उहाँले तिनीहरूलाई सुखमय जीवन दिनुहुनेछ र तिनीहरू समृद्ध हुनेछन् भन्ने बलियो आशा दाऊदले यस भजनमा व्यक्त गरेका छन्। (लेवी २६:९, १०; व्यव. ७:१३; भज. १२८:१-६) उदाहरणको लागि, व्यवस्था २८:४ यसो भन्छ: “तिमीहरूका सन्तान, उब्जनी, गाई-वस्तु, भेडा-बाख्रामाथि आशिष पर्नेछ, र तिमीहरूको वृद्धि हुनेछ।” हुन पनि दाऊदको छोरा सुलेमानको शासनमा इस्राएल राष्ट्रले पहिला कहिल्यै अनुभव नगरेको शान्ति र समृद्धि अनुभव गऱ्यो। साथै सुलेमानको शासनले मसीहको शासनको पूर्वझलक पनि दिन्छ।—१ राजा ४:२०, २१; भज. ७२:१-२०.
त्यसैले भजन १४४ को यो बुझाइले गर्दा यहोवाका जनहरूले पहिल्यैदेखि राख्दै आएको आशासित भजनको सम्पूर्ण पुस्तक साँच्चै मेल खान्छ भन्न सक्छौँ। त्यो आशा हो: परमेश्वरद्वारा दुष्टहरूको विनाश र त्यसपछि धर्मी मानिसहरूले सदाका लागि पाउने शान्ति र समृद्धि।—भज. ३७:१०, ११.