सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युवाहरू हो, के तपाईँ आध्यात्मिक लक्ष्यहरूको पछि लागिरहनुभएको छ?

युवाहरू हो, के तपाईँ आध्यात्मिक लक्ष्यहरूको पछि लागिरहनुभएको छ?

“आफूले गर्ने सबै काम परमप्रभुलाई सुम्पिदेऊ, र तिम्रा योजनाहरू सफल हुनेछन्‌।”—हितो. १६:३.

गीत: १३५, १४४

१-३. (क) सबै युवाहरूले कस्तो निर्णय गर्नुपर्ने हुन्छ? उदाहरणसहित व्याख्या गर्नुहोस्‌। (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌) (ख) ख्रीष्टियन युवाहरूलाई सही निर्णय गर्न केले मदत गर्छ?

एउटा महत्त्वपूर्ण कार्यक्रममा भाग लिन टाढाको कुनै सहरमा जान लागेको कल्पना गर्नुहोस्‌। त्यहाँ पुग्न बसमा लामो यात्रा गर्नुपर्छ। बसपार्क पुग्दा त्यहाँ मान्छेको भीड देखेर अनि जताततै बसै बस देखेर एकछिन त तपाईँ आत्तिनुहुन्छ। तर खुसीको कुरा तपाईँको उद्देश्‍य स्पष्ट छ। त्यो हो, आफ्नो गन्तव्यसम्म पुऱ्‍याउने बस भेट्टाउने। तर अरू कुनै ठाउँमा जाने बस चढ्‌नुभयो भने तपाईँ गलत दिशातर्फ अघि बढिरहनुभएको हुन्छ।

आजका युवाहरू एक अर्थमा त्यो यात्रुजस्तै छन्‌। किशोरावस्था पुगेकाहरूले एउटा लामो यात्रा सुरु गर्न लागेका हुन्छन्‌ तर त्यो कुनै बसको यात्रा होइन, जीवनको यात्रा हो। आफ्नो अगाडि भएका अवसरका ढोकाहरू अनि आफूले गर्नुपर्ने निर्णयहरूबारे विचार गर्दा कहिलेकाहीँ तिनीहरू आत्तिन्छन्‌। युवाहरू हो, जीवनको यात्रामा आफू कहाँ जान चाहन्छु भन्‍ने कुरा पहिल्यै राम्रोसँग विचार गर्नुभयो भने तपाईँलाई अघि बढ्‌न सजिलो हुनेछ। तर तपाईँ भन्‍नुहोला: “म जानुपर्ने चाहिँ कतातिर हो?”

यस लेखमा हामी यस प्रश्‍नको जवाफ पाउनेछौँ। यहोवालाई खुसी बनाउने कुराहरूलाई नै आफ्नो जीवनको लक्ष्य बनाउन अर्थात्‌ शिक्षा, जागिर, पारिवारिक जिम्मेवारीलगायत जीवनको हरेक क्षेत्रमा यहोवाको इच्छाअनुसार निर्णय गर्न यस लेखले प्रोत्साहन दिनेछ। त्यसो गर्न आध्यात्मिक लक्ष्यतर्फ अघि बढ्‌नुपर्ने हुन्छ। यहोवाको सेवालाई आफ्नो जीवनको मुख्य लक्ष्य बनाउने युवाहरू यो कुरामा ढुक्क हुन सक्छन्‌: तिनीहरूले यहोवाको आशिष्‌ पाउनेछन्‌ र तिनीहरूको जीवन सफल हुनेछ।हितोपदेश १६:३ पढ्‌नुहोस्‌।

आध्यात्मिक लक्ष्य किन राख्ने?

४. हामी यस लेखमा के छलफल गर्नेछौँ?

सानो छँदै ईश्‍वरतान्त्रिक लक्ष्यहरूको पछि लाग्नु बुद्धिमानी हो। किन? हामी यसको तीन वटा कारण विचार गर्नेछौँ। पहिलो दुई वटा कारण छलफल गरेपछि हामी यो कुरा बुझ्नछौँ: आध्यात्मिक लक्ष्यतर्फ अघि बढ्‌दा यहोवासितको हाम्रो सम्बन्ध बलियो हुन्छ। अनि कलिलै उमेरदेखि ईश्‍वरतान्त्रिक लक्ष्यहरूको पछि लाग्दा अरू के-कस्ता फाइदा हुन्छन्‌ भनेर तेस्रो कारण छलफल गरेपछि बुझ्नेछौँ।

५. आध्यात्मिक लक्ष्य राख्नुपर्ने मुख्य कारण के हो?

यहोवाको माया अनि उहाँले हाम्रो लागि गर्नुभएका सबै कुराको लागि हामी कत्ति धेरै आभारी छौँ भनेर उहाँलाई देखाउन चाहन्छौँ। हामीले आध्यात्मिक लक्ष्य राख्नुपर्ने मुख्य कारण यही हो। भजनहारले यस्तो लेखे: “परमप्रभुमा धन्यवाद दिनु . . . असल कुरो हो। किनकि हे परमप्रभु, तपाईंले आफ्नो कामद्वारा मलाई आनन्दित तुल्याउनुभएको छ, तपाईंका हातका काममानै म कराई कराईकन गाउनेछु।” (भज. ९२:१,) युवाहरू हो, यहोवाले तपाईँलाई के-के दिनुभएको छ, विचार गर्नुहोस्‌: तपाईँको जीवन, तपाईँसित भएको विश्‍वास, बाइबल, मण्डली अनि भविष्यको सुन्दर आशा। यहोवाबाट पाएका यस्ता आशिष्‌हरूप्रति कृतज्ञ छौँ भनेर देखाउने एउटा तरिका आध्यात्मिक कुरालाई पहिलो स्थान दिनु हो। त्यसो गर्नुभयो भने तपाईँ यहोवासित नजिक हुनुहुनेछ।

६. (क) आध्यात्मिक लक्ष्यले यहोवासितको हाम्रो सम्बन्धमा कस्तो प्रभाव पार्छ? (ख) सानै उमेरदेखि कस्ता लक्ष्यहरू राख्न सकिन्छ?

आध्यात्मिक लक्ष्य प्राप्त गर्न अघि बढ्‌दा तपाईँले यहोवाको नजरमा एकपछि अर्को असल काम गरिरहनुभएको हुनेछ। आध्यात्मिक लक्ष्य राख्नुपर्ने दोस्रो कारण यही हो। यसले तपाईँलाई यहोवासित झनै नजिक बनाउनेछ। प्रेषित पावलले यस्तो प्रतिज्ञा गरे: “तिमीहरूले परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।” (हिब्रू ६:१०) जति नै सानो उमेरको भए पनि हामी आध्यात्मिक लक्ष्यहरू राख्न सक्छौँ। क्रिस्टिनले १० वर्षकी हुँदा वफादार व्यक्‍तिहरूको जीवनी नियमित रूपमा पढ्‌ने लक्ष्य राखिन्‌। टोबीले १२ वर्षको छँदा बप्तिस्माअघि पूरै बाइबल पढीसिध्याउने लक्ष्य राखे। माक्सिम र तिनकी बहिनी नोएमीले बप्तिस्मा गर्दा माक्सिम ११ र नोएमी १० वर्षका थिए। त्यसपछि तिनीहरू दुवै जना बेथेल सेवा गर्ने लक्ष्यतर्फ अघि बढे। आफ्नो लक्ष्यदेखि नअलमलिन तिनीहरूले घरको भित्तामा बेथेल सेवाको आवेदन फारम टाँसेर राखे। तपाईँ पनि आफ्नो लागि महत्त्वपूर्ण लक्ष्य कुन हो भनेर विचार गर्न अनि त्यसतर्फ अघि बढ्‌न सक्नुहुन्छ कि?फिलिप्पी १:१०, ११ पढ्‌नुहोस्‌।

७, ८. (क) लक्ष्यहरू राख्यौँ भने जीवनमा निर्णय गर्न सजिलो हुन्छ भनेर किन भन्‍न सक्छौँ? (ख) एउटी किशोरीले किन विश्‍वविद्यालय नजाने निर्णय गरिन्‌?

सानैदेखि आध्यात्मिक लक्ष्य राख्नुभयो भने जीवनका अरू महत्त्वपूर्ण निर्णयहरू गर्न तपाईँलाई सजिलो हुनेछ। आध्यात्मिक लक्ष्य राख्नुपर्ने तेस्रो कारण यही हो। किशोरकिशोरीहरूले शिक्षा लिने, जागिर खाने अनि अरू थुप्रै विषयमा निर्णय गर्नुपर्ने हुन्छ। निर्णय गर्नु भनेको चौबाटोमा पुग्दा सही बाटो रोज्नुजस्तै हो। आफ्नो गन्तव्यसम्म पुऱ्‍याउने बाटो कुन हो भनेर तपाईँलाई थाह छ भने चौबाटोमा पुग्दा तपाईँ अलमलिनुहुनेछैन। ठीक त्यसैगरि, आफ्नो लक्ष्य के हो भनेर तपाईँलाई स्पष्टसित थाह छ भने निर्णय गर्न सजिलो हुनेछ। हितोपदेश २१:५ यसो भन्छ: “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ।” त्यसैले तपाईँ आफ्नो जीवनमा जति छिटो आध्यात्मिक लक्ष्यहरू राखेर योजना बनाउनुहुन्छ, त्यति नै छिटो तपाईँले सफलता प्राप्त गर्नुहुनेछ। डामारिसले त्यस्तै अनुभव गरिन्‌। तिनले किशोरावस्थामा छँदा एउटा महत्त्वपूर्ण निर्णय गर्नुपरेको थियो।

डामारिसले विशिष्ट श्रेणीमा स्कुलको पढाइ सकाइन्‌। तिनले एउटा विश्‍वविद्यालयमा कानुन विषय पढ्‌ने छात्रवृत्ति पाएकी थिइन्‌। तर त्यसको साटो तिनले पार्ट टाइम काम गर्न रोजिन्‌। किन? तिनी यसो भन्छिन्‌: “मैले निकै पहिले नै अग्रगामी सेवा गर्ने लक्ष्य राखिसकेकी थिएँ। त्यसको लागि मैले पार्ट टाइम काम गर्नुपर्थ्यो। कानुन पढेर डिग्री हासिल गरेको भए मैले धेरै पैसा कमाउँथे होला तर पार्ट टाइम काम पाउन निकै मुस्किल हुने थियो।” डामारिसले अग्रगामी सेवा गरेको अहिले २० वर्ष भइसक्यो। सानै छँदा आफूले राखेको लक्ष्य अनि किशोरावस्थामा गरेको निर्णय सम्झँदा तिनलाई अहिले कस्तो लाग्छ? तिनी भन्छिन्‌: “कामको सिलसिलामा थुप्रै वकिलसित मेरो भेटघाट भइरहन्छ। तिनीहरूमध्ये धेरैजसो आफ्नो कामदेखि पटक्कै सन्तुष्ट छैनन्‌। कानुन विषय लिएर पढेकी भए म पनि त्यस्तै काम गरिरहेकी हुनेथिएँ। मैले अग्रगामी सेवा गर्ने निर्णय गरेकीले जागिरको दौडधूपबाट जोगिन सकेँ अनि यहोवाको सेवा गर्ने बाटो पनि खुल्यो। यो सेवामा म वर्षौँदेखि रमाइरहेकी छु।”

९. हाम्रा जवान भाइबहिनीहरू किन प्रशंसाको योग्य छन्‌?

संसारभरिका मण्डलीहरूमा रहेका हजारौँ युवाहरू साँच्चै प्रशंसाको योग्य छन्‌। तिनीहरूले यहोवाको सेवामा आफैलाई समर्पित गरेका छन्‌ अनि ईश्‍वरतान्त्रिक लक्ष्यहरूलाई आफ्नो जीवनमा पहिलो स्थान दिएका छन्‌। त्यस्ता युवाहरूले जीवनको पुरापुर आनन्द उठाउनुका साथै जीवनको हरेक पक्षमा यहोवाको डोऱ्‍याइअनुसार चल्न पनि सिकेका छन्‌। जस्तै, शिक्षा, जागिर, पारिवारिक जीवन, आदि। सुलेमानले यस्तो लेखे: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌ . . . आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितो. ३:५, ६) ख्रीष्टियन मण्डलीका युवाहरूलाई यहोवा अमूल्य ठान्‍नुहुन्छ अनि तिनीहरू उहाँको नजरमा प्यारा छन्‌। त्यसैले उहाँ तिनीहरूलाई जोगाउनुहुन्छ, डोऱ्‍याउनुहुन्छ अनि आशिष्‌ दिनुहुन्छ।

साक्षी दिन राम्ररी तयारी गर्नुहोस्‌

१०. (क) हामीले किन प्रचारकार्यलाई प्राथमिकता दिनुपर्छ? (ख) अझै प्रभावकारी तरिकाले प्रचार गर्न हामी के गर्न सक्छौँ?

१० यहोवालाई खुसी बनाउने कुरालाई जीवनमा पहिलो स्थान दिने युवाहरूले प्रचारको कामलाई महत्त्वपूर्ण ठान्छन्‌। “पहिला सुसमाचार प्रचार गरिनुपर्छ” भनेर येशूले जोड दिनुभयो। (मर्कू. १३:१०) प्रचारको काम अहिले अत्यन्तै जरुरी छ, त्यसैले हामीले यसलाई प्राथमिकता दिनै पर्छ। के तपाईँ प्रचारकार्यमा अझ धेरै भाग लिने लक्ष्य राख्न सक्नुहुन्छ? अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि? तर तपाईँलाई प्रचार गर्न त्यति रमाइलो लाग्दैन भने नि? तपाईँ कसरी अझै प्रभावकारी तरिकाले प्रचार गर्न सक्नुहुन्छ? त्यसको लागि दुइटा सजिलो कदम चाल्न सक्नुहुन्छ: राम्ररी तयारी गर्नुहोस्‌ अनि आफूलाई थाह भएको कुरा अरूलाई बताउन पछि नहट्‌नुहोस्‌। त्यसो गर्नुभयो भने प्रचार गर्दा कत्ति आनन्द पाइँदो रहेछ भनेर महसुस गर्नुहुनेछ।

साक्षी दिन तपाईँ कसरी तयारी गर्नुहुन्छ? (अनुच्छेद ११, १२ हेर्नुहोस्‌)

११, १२. (क) साक्षी दिन युवाहरूले कसरी तयारी गर्न सक्छन्‌? (ख) एक जवान भाइले स्कुलमा साक्षी दिने मौकाको कसरी सदुपयोग गरे?

११ तपाईँ स्कुलमा साथीहरूले अक्सर सोध्ने कुनै प्रश्‍नको जवाफ तयार गर्न सक्नुहुन्छ। जस्तै, “नदेखेको भगवान्‌माथि कसरी विश्‍वास गर्ने” भन्‍ने प्रश्‍न विचार गर्नुहोस्‌। हाम्रो वेबसाइट jw.org मा यस प्रश्‍नको जवाफ दिन मदत गर्ने लेखहरू पाउन सकिन्छ। त्यसको लागि बाइबलको शिक्षा > बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ अन्तर्गत हेर्नुहोस्‌। त्यहाँ “के ईश्‍वरलाई कसैले देखेको छ?” भन्‍ने एउटा लेख पाउनुहुनेछ। त्यस लेखले तपाईँलाई यस प्रश्‍नको जवाफ तयार गर्न मदत गर्नेछ। आफ्नो विश्‍वासबारे बताउन तपाईँले प्रयोग गर्न सक्ने थुप्रै शास्त्रपदहरू त्यस लेखमा पाउनुहुनेछ। जस्तै प्रस्थान ३३:२० अनि रोमी १:२०। यी र अन्य शास्त्रपद समावेश गरेर तपाईँ जवाफ तयार गर्न सक्नुहुन्छ।१ पत्रुस ३:१५ पढ्‌नुहोस्‌।

१२ साक्षी दिने मौका पाउँदा आफ्ना साथीहरूलाई jw.org हेर्न प्रोत्साहन दिनुहोस्‌। लुका नाम गरेका एक जवान भाइले त्यसै गरे। तिनको कक्षामा धर्महरूबारे पढाइ भइरहेको थियो तर स्कुलको पाठ्य पुस्तकमा यहोवाका साक्षीहरूबारे गलत जानकारी लेखिएको कुरा लुकाले याद गरे। सुरुमा त तिनलाई केही भन्‍न डर लागेको थियो, तर साक्षीहरूबारे सही कुरा बताउन तिनले शिक्षिकासित अनुमति मागे। शिक्षिकाको अनुमति पाएपछि लुकाले आफ्नो विश्‍वासबारे बताउनुका साथै कक्षाका सबै साथीलाई हाम्रो वेबसाइट पनि देखाए। त्यसपछि शिक्षिकाले सबै विद्यार्थीलाई कसैले दादागिरी देखाउँदा के गर्ने? विषयको ह्वाइटबोर्ड एनिमेसन हेरेर आउन भनिन्‌। यसरी प्रभावकारी तरिकामा साक्षी दिन सकेकोमा लुका निकै खुसी भए।

१३. गाह्रो अवस्था आउँदा हामीले किन हार मान्‍नु हुँदैन?

१३ यात्रा गर्ने क्रममा कहिलेकाहीँ खाल्टाखुल्टी भएको बाटो पनि आउन सक्छ। तर त्यसो भयो भन्दैमा यात्रा गर्न छोड्‌नुपर्छ भन्‍ने छैन। (२ तिमो. ४:२) त्यसैगरि ख्रीष्टियन जीवनको यात्रामा समस्याहरू आउँदा पनि आफ्नो लक्ष्यदेखि यताउता नअलमलिनुहोस्‌। काथरिनाले १७ वर्षकी छँदा काम गर्ने ठाउँका सबैलाई साक्षी दिने लक्ष्य राखिन्‌। काम गर्ने ठाउँकै एक जना सहकर्मीले बारम्बार तिनको खिल्ली उडाउँथ्यो तर तिनले हार मानिनन्‌। गाह्रो अवस्थामा पनि तिनले देखाएको राम्रो व्यवहार हान्स नाम गरेको अर्को सहकर्मीले याद गरेका रहेछन्‌। त्यसपछि हान्सले हाम्रा प्रकाशनहरू पढे, बाइबल अध्ययन गरे अनि बप्तिस्मा पनि गरे। काथरिना भने बसाइँ सरेर अन्तै गइसकेकी थिइन्‌ र तिनलाई यो कुरा थाह थिएन। तेह्र वर्ष पछिको कुरा हो, काथरिना राज्यभवनमा आफ्नो परिवारसित बसिरहेकी थिइन्‌। सभामा अतिथि वक्‍ताको रूपमा भाषण दिन आएका व्यक्‍ति त तिनै हान्स पो रहेछन्‌! काथरिना साहै खुसी भइन्‌। आफ्ना सहकर्मीहरूलाई साक्षी दिने लक्ष्य पूरा गर्न तिनी हार नमानी अघि बढेकोले कत्ति राम्रो नतिजा निस्कियो!

आफ्नो लक्ष्यदेखि यताउता नअलमलिनुहोस्‌

१४, १५. (क) साथीहरूबाट दबाब आउँदा युवाहरूले कुन कुरा बिर्सनु हुँदैन? (ख) युवाहरूले त्यस्ता दबाबहरूको सामना कसरी गर्न सक्छन्‌?

१४ यहाँसम्मको छलफलमा यहोवाको सेवालाई जीवनको मुख्य लक्ष्य बनाउन तपाईँले प्रोत्साहन पाउनुभयो। त्यसो गर्न आध्यात्मिक लक्ष्यहरूको पछि लाग्नुपर्छ। तपाईँको उमेरका अरू युवाहरूको लागि सायद मोजमस्ती गर्नु नै जीवनको सबैभन्दा मुख्य कुरा होला अनि तपाईँलाई पनि तिनीहरूसँगसँगै रमाइलो गर्न बोलाउलान्‌। तपाईँ आफ्नो लक्ष्यअनुसार चलिरहन कत्तिको दृढ हुनुहुन्छ भनेर ढिलो होस्‌ या चाँडो तपाईँले देखाउनै पर्ने हुन्छ। साथीहरूबाट आउने दबाबले गर्दा नअलमलिनुहोस्‌। यस लेखको सुरुको उदाहरण विचार गर्नुहोस्‌। बसपार्कमा कुनै एउटा बसभित्र यात्रुहरू निकै रमाइलो गरिरहेको जस्तो देख्नुहोला। तर त्यसो भन्दैमा के तपाईँ आफ्नो गन्तव्यलाई बिर्सिएर अन्धाधुन्ध त्यो बसमा चढ्‌नुहुन्छ र?

१५ साथीहरूको दबाब सामना गर्ने थुप्रै तरिकाहरू छन्‌। जस्तै, तपाईँलाई प्रलोभनमा पार्न सक्ने अवस्थाहरूबाट टाढै रहनुहोस्‌। (हितो. २२:३) अनि अरूको लहलहैमा लागेर खराब काम गर्दा आइपर्ने दुःखद नतिजाबारे पनि पहिल्यै विचार गर्नुहोस्‌। (गला. ६:७) साथै आफूलाई राम्रो डोऱ्‍याइको खाँचो छ भन्‍ने कुरा पनि स्विकार्नुहोस्‌। नम्र हुनुभयो भने आमाबुबाले अनि मण्डलीका परिपक्व भाइबहिनीले दिएको सल्लाह स्विकार्न तपाईँलाई सजिलो हुनेछ।१ पत्रुस ५:५, ६ पढ्‌नुहोस्‌।

१६. नम्र हुँदा हामीलाई नै फाइदा हुन्छ भनेर देखाउने एउटा अनुभव बताउनुहोस्‌।

१६ क्रिस्टोफ नाम गरेका एक युवकले नम्र हुँदै एउटा राम्रो सल्लाह स्विकारे। बप्तिस्मा गरेको केही समयपछि तिनी नियमित रूपमा जिम जान थाले। जिमका अरू युवाहरूले तिनलाई उनीहरूको खेलकुद क्लबको सदस्य बन्‍न अनुरोध गरे। क्रिस्टोफले यसबारे एक जना एल्डरसित कुरा गरे। यस्तो क्लबको सदस्य बन्दा आइपर्न सक्ने खतराहरूबारे राम्ररी सोचविचार गरेर मात्र निर्णय गर्न ती एल्डरले सुझाव दिए। जस्तै, प्रतिस्पर्धाको भावनाले मनमा जरा गाड्‌ने खतरा। तैपनि क्रिस्टोफ खेलकुद क्लबको सदस्य बने। तर त्यहाँ हिंसात्मक तरिकाले अनि ज्यानलाई नै खतरा हुनेगरि खेलिँदो रहेछ भनेर क्रिस्टोफले केही समयपछि थाह पाए। तिनले फेरि एल्डरहरूसित कुरा गरे। सबै एल्डरले तिनलाई धर्मशास्त्रमा आधारित सल्लाह दिए। पछि तिनले यसो भने: “यहोवाले मकहाँ राम्रो सल्लाहकारहरू पठाउनुभयो अनि ढिलै भए पनि मैले उहाँको सल्लाह सुनेँ।” कसैले राम्रो सल्लाह दिँदा के तपाईँ पनि नम्र हुँदै स्विकार्नुहुन्छ?

१७, १८. (क) जवानहरूको लागि यहोवा के चाहनुहुन्छ? (ख) थुप्रैले वयस्क भएपछि किन पछुताउनु पर्ने हुन सक्छ? आफ्नो जीवनमा त्यसो हुन नदिन तपाईँ के गर्न सक्नुहुन्छ? एउटा अनुभव बताउनुहोस्‌।

१७ “ए जवान मानिस, आफ्नो युवावस्थामा सुखी होऊ। तेरो बैंस छउञ्जेल सुख-चैन गर्‌।” (उप. ११:९) हो, तपाईँ जवानहरू खुसी भएको यहोवा चाहनुहुन्छ। त्यसको लागि गर्न सकिने एउटा कुरा यस लेखमा हामीले चर्चा गऱ्‍यौँ। ईश्‍वरतान्त्रिक लक्ष्यहरूमा ध्यान केन्द्रित गरिरहनुहोस्‌ र आफ्ना सबै योजनाहरूमा यहोवालाई पनि समावेश गर्नुहोस्‌। जीवनमा जति चाँडो तपाईँ त्यसो गर्नुहुन्छ, त्यति नै चाँडो यहोवाको डोऱ्‍याइ, सुरक्षा र आशिष्‌ पाएको महसुस गर्नुहुनेछ। परमेश्‍वरको वचनमा पाइने सबै उत्तम सल्लाहहरूबारे सोच्नुहोस्‌ अनि यो सल्लाह सधैँ मनमा राख्नुहोस्‌: “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्‌।”—उप. १२:१.

१८ युवावस्था सधैँभरि रहने कुरा होइन। युवाहरू वयस्क हुन कत्ति पनि बेर लाग्दैन। अनि दुःखको कुरा, वयस्क भइसकेपछि थुप्रैले आफ्नो युवावस्था सम्झँदै पछुतो मान्छन्‌ किनभने तिनीहरूको युवावस्था गलत लक्ष्यको पछि लागेर बित्छ। अनि कतिचाहिँ युवावस्थामा मौका छँदै कुनै लक्ष्य नराखेकोमा अहिले चुकचुकाउँछन्‌। तर युवावस्थामै ईश्‍वरतान्त्रिक लक्ष्यहरूको पछि लाग्ने निर्णय गरेका युवाहरूले भने वयस्क भइसक्दा पनि आफ्नो निर्णय सम्झेर सधैँ खुसी हुने कारण पाउनेछन्‌। मिर्यानाले पनि त्यसै गरेकी थिइन्‌। किशोरी छँदा तिनी खेलकुदमा एकदमै पोख्त थिइन्‌। तिनले हिउँदे ओलम्पिक खेलमा प्रतिस्पर्धा गर्ने मौका पाएकी थिइन्‌ तर तिनले पूर्ण समय सेवा सुरु गर्ने छनौट गरिन्‌। मिर्यानाले पूर्ण समय सेवा सुरु गरेको अहिले ३० वर्षभन्दा धेरै भइसक्यो अनि तिनी अहिले पनि आफ्नो श्रीमान्‌सितै मिलेर सेवा गरिरहेकी छिन्‌। तिनी भन्छिन्‌: “जीवनमा नाम, दाम अनि ख्याति कमाउनु भनेको सबैभन्दा उत्तम लक्ष्य होइन, यो क्षणिक हुन्छ। सबैभन्दा उत्तम अनि सधैँ सन्तुष्टि दिने लक्ष्य त परमेश्‍वरको सेवा गर्नु अनि मानिसहरूलाई कुनै न कुनै तरिकामा आध्यात्मिक मदत दिन कोसिस गर्नु हो।”

१९. सानै उमेरदेखि आध्यात्मिक लक्ष्यहरूको पछि लाग्दा कस्ता फाइदाहरू हुन्छन्‌?

१९ विभिन्‍न चुनौतीहरूको सामना गरेकोमा अनि यहोवाको सेवालाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा बनाएकोमा मण्डलीका युवाहरू प्रशंसा पाउन योग्य छन्‌। तिनीहरू आध्यात्मिक लक्ष्यहरूको पछि लागेका छन्‌ अनि तिनीहरूले प्रचारकार्यलाई पहिलो स्थान दिएका छन्‌। त्यति मात्र होइन, संसारले देखाउने प्रलोभनहरूले गर्दा आफ्नो लक्ष्यदेखि नअलमलिन पनि तिनीहरू दृढ रहन्छन्‌। आफूले गरेको कडा मेहनत खेर जानेछैन भनेर किशोरकिशोरीहरू पक्का हुन सक्छन्‌। तिनीहरूको यस्तो प्रयासमा मायालु भाइबहिनीको साथ पनि छ। अनि यहोवाको सेवामा आफूलाई समर्पण गर्दा तिनीहरूको जीवनका योजनाहरू सफल हुनेछन्‌।