सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो स्वतन्त्रता के हो?

साँचो स्वतन्त्रता के हो?

“छोराले तिमीहरूलाई स्वतन्त्र बनायो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ।”—यूह. ८:३६.

गीत: ५४, ३६

१, २. (क) मानिसहरू स्वतन्त्रता पाउन के-के गरिरहेका छन्‌? (ख) परिणाम कस्तो भएको छ?

अहिले मानिसहरू समानता, मुक्‍ति र स्वतन्त्रताबारे धेरै कुरा गर्छन्‌। मानिसहरू दमन, भेदभाव अनि गरिबीबाट स्वतन्त्र हुन चाहन्छन्‌। अरू कतिपय भने वाक्‌ स्वतन्त्रता, स्वाधीनता र आफ्नो निर्णय आफै गर्न पाउने अधिकारको लागि आवाज उठाउँछन्‌। मानिसहरू आफूलाई जे मन लाग्छ, त्यो गर्न अनि आफूलाई जसरी जिउन मन लाग्छ, त्यसरी जिउन चाहन्छन्‌।

तर ती चाहनाहरू पूरा गर्न सजिलो भने पटक्कै हुँदैन। सामाजिक वा राजनैतिक क्षेत्रमा हेर्ने हो भने मानिसहरू स्वतन्त्रता पाउन जुलुस निकाल्ने, प्रदर्शन गर्ने, आन्दोलन गर्ने अनि क्रान्तिसमेत गर्ने गर्छन्‌। तर के त्यसो गर्दा मानिसहरूले आफूले चाहेको कुरा पाएका छन्‌ त? अहँ छैनन्‌। बरु झनै दुःख थपिएको छ अनि मानिसहरूले आफ्नो ज्यानसमेत गुमाएका छन्‌। परमेश्‍वरको प्रेरणा पाएर राजा सुलेमानले भनेझैँ ‘एउटा मानिसले अर्को मानिसलाई दुःख दिइरहेको छ।’—उप. ८:९.

३. साँचो आनन्द र सन्तुष्टि पाउन हामी के गर्न सक्छौँ?

चेला याकूबले साँचो आनन्द र सन्तुष्टि कसरी पाउन सकिन्छ भनी लेखे। तिनले यस्तो लेखे: “जसले स्वतन्त्रता दिने पूर्ण व्यवस्थामा ध्यान दिएर हेर्छ र त्यसमा लागिरहन्छ, त्यो मानिस आनन्दित हुनेछ।” (याकू. १:२५) त्यो पूर्ण व्यवस्था दिनुहुने यहोवा हुनुहुन्छ। मानिसहरू साँच्चै आनन्दित र सन्तुष्ट हुन के चाहिन्छ, त्यो उहाँलाई राम्ररी थाह छ। उहाँले पहिलो मानव जोडीलाई आनन्दित हुन चाहिने सबै कुरा दिनुभयो। उहाँले तिनीहरूलाई साँचो स्वतन्त्रता पनि दिनुभयो।

जब मानिसहरू साँच्चै स्वतन्त्र थिए

४. आदम र हव्वासित कस्तो स्वतन्त्रता थियो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

उत्पत्तिको किताबको सुरुका दुई अध्याय पढ्‌दा आदम र हव्वा साँच्चै स्वतन्त्र थिए भनेर बुझ्न सक्छौँ। त्यस्तो स्वतन्त्रता अहिलेका मानिसहरूको लागि केवल सपनाको कुरा भएको छ। आदम र हव्वा कुनै किसिमको अभाव वा डर-त्रासले घेरिएका थिएनन्‌ अनि तिनीहरूलाई कसैले दमन गरेको पनि थिएन। त्यो पहिलो जोडीलाई खानेकुरा वा कामको कुनै चिन्ता थिएन अनि तिनीहरू रोगबिमार वा मृत्युको डरबाट पनि मुक्‍त थिए। (उत्प. १:२७-२९; २:८, ९, १५) के यसको मतलब आदम र हव्वाले पाएको स्वतन्त्रताको कुनै सीमा थिएन भन्‍ने हो? आउनुहोस्‌, त्यसबारे विचार गरौँ।

५. स्वतन्त्रताबारे धेरैको विचार कस्तो छ? तर साँच्चै स्वतन्त्र हुन के चाहिन्छ?

अहिले धेरै मानिसहरू साँच्चै स्वतन्त्र हुनु भनेको नतिजा जस्तोसुकै भए पनि आफूले चाहेको सबै कुरा गर्न पाउनु हो भन्‍ने सोचाइ राख्छन्‌। द वर्ल्ड बूक इन्साइक्लोपीडिया-अनुसार स्वतन्त्रता भनेको “छनौट गर्ने र त्यसअनुसार गर्ने क्षमता हो।” त्यही विश्‍वकोश यसो पनि भन्छ: “कानुनी दृष्टिकोणबाट हेर्ने हो भने मानिस साँच्चै स्वतन्त्र हुन समाजले कुनै पनि प्रकारको अन्यायपूर्ण, अनावश्‍यक वा अव्यावहारिक सीमा तोक्नु हुँदैन।” यसको अर्थ हो, स्वतन्त्रताबाट कोही पनि वञ्चित नहुन समाजमा न्यायोचित, आवश्‍यक र व्यावहारिक सीमा चाहिन्छ। त्यसो भए प्रश्‍न उठ्‌छ: त्यस्तो सीमा तोक्ने अधिकार कोसित छ?

६. (क) यहोवाको स्वतन्त्रताको मात्र कुनै सीमा छैन भनेर किन भन्‍न सक्छौँ? (ख) मानिसहरूले पाएको स्वतन्त्रताको सीमा छ, किन?

स्वतन्त्रताबारे चर्चा गर्दा हामीले बिर्सनै नहुने कुरा के हो भने, यहोवा परमेश्‍वरसित मात्र पूर्ण र असीमित स्वतन्त्रता छ। किन? किनभने उहाँ सबै थोकको सृष्टिकर्ता र ब्रह्‍माण्डको सार्वभौम शासक हुनुहुन्छ। (१ तिमो. १:१७; प्रका. ४:११) यहोवाको अद्‌भुत र उच्च स्थानबारे राजा दाऊदले व्यक्‍त गरेका सुन्दर शब्दहरू सम्झनुहोस्‌ त। (१ इतिहास २९:११, १२ पढ्‌नुहोस्‌) यो कुरा विचार गर्दा स्वर्ग र पृथ्वीमा भएका सबैको स्वतन्त्रताको सीमा छ भन्‍न सक्छौँ। त्यसैले न्यायोचित, आवश्‍यक र व्यावहारिक सीमा तोक्ने एक मात्र अधिकार यहोवा परमेश्‍वरसित छ भनेर सबैले मानिलिनै पर्छ। वास्तवमा भन्‍ने हो भने मानिसहरू सृष्टि गर्नुहुँदा नै यहोवा परमेश्‍वरले तिनीहरूको लागि सीमा तोक्नुभएको थियो।

७. हामीले स्वतः गर्ने केही कुराहरू के-के हुन्‌, जसले हामीलाई खुसी बनाउँछ?

हुनत आदम र हव्वा थुप्रै अर्थमा स्वतन्त्र थिए तर तिनीहरूको लागि सीमा तोकिएको थियो। उदाहरणको लागि, बाँच्न सास फेर्नै पर्छ, खानै पर्छ अनि सुत्नै पर्छ भनेर तिनीहरूलाई थाह थियो। सृष्टि भएदेखि नै तिनीहरू यस्ता कुराहरू स्वतः गर्ने गर्थे। तर जे होस्‌, त्यो पनि एक प्रकारको सीमा नै थियो। के यी कुराहरू गर्नुपर्दा तिनीहरू आफूले स्वतन्त्रता गुमाउनुपरेको महसुस गर्थे? अहँ गर्दैनथे। किनभने सामान्य दिनचर्याका ती कुराहरू गर्दासमेत खुसी र सन्तुष्ट हुन सक्नेगरि यहोवाले तिनीहरूलाई बनाउनुभएको थियो। (भज. १०४:१४, १५; उप. ३:१२, १३) ताजा हावा लिँदा, आफूलाई मन पर्ने खानेकुरा खाँदा वा राती मस्त निदाएपछि सुन्दर बिहानी हेर्न पाउँदा कसलाई पो खुसी लाग्दैन र? यी कुराहरू हामीलाई कहिल्यै पनि बोझ वा झन्झटजस्तो लाग्दैन किनकि यी आवश्‍यक कुराहरू हुन्‌। आदम र हव्वाले पनि त्यस्तै महसुस गरेको हुनुपर्छ।

८. परमेश्‍वरले हाम्रा प्रथम आमाबुबालाई कस्तो स्पष्ट आज्ञा दिनुभयो? उहाँले त्यो आज्ञा दिनुको उद्देश्‍य के थियो?

यहोवाले आदम र हव्वालाई पृथ्वी भर्दै जान र त्यसको हेरचाह गर्न स्पष्ट आज्ञा दिनुभयो। (उत्प. १:२८) यो आज्ञाले गर्दा कुनै न कुनै तरिकामा तिनीहरूको स्वतन्त्रता हनन भयो कि? अहँ भएन। यो आज्ञा पालन गर्दा तिनीहरूले आफ्नो सृष्टिकर्ताको उद्देश्‍य पूरा गर्ने काममा भाग लिने मौका पाउने थिए। त्यो उद्देश्‍य थियो: पूरै पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने र त्रुटिरहित मानिसहरूलाई सदाको लागि त्यहाँ राख्ने। (यशै. ४५:१८) हुनत आज मानिसहरूले अविवाहितै रहने वा विवाह गरे पनि बच्चा नजन्माउने निर्णय गर्न सक्छन्‌। त्यसो गर्दा तिनीहरू यहोवाको इच्छाविपरित चलिरहेका हुँदैनन्‌। तर अनेकन्‌ कठिनाइहरू झेल्नुपरे तापनि आज अधिकांश मानिसहरू विवाह गर्छन्‌ र छोराछोरी जन्माउँछन्‌। (१ कोरि. ७:३६-३८) किन? किनकि विवाह गरेर छोराछोरी जन्माउँदा सामान्यतया मानिसहरू खुसी र सन्तुष्ट हुन्छन्‌। (भज. १२७:३) आदम र हव्वा पनि सधैँभरि आफ्नो वैवाहिक जीवनमा रमाउन सक्थे र परिवारसँगै सुखी जीवन बिताउन सक्थे।

साँचो स्वतन्त्रता कसरी गुम्यो?

९. उत्पत्ति २:१७ मा परमेश्‍वरले दिनुभएको आज्ञा किन अन्यायपूर्ण, अनावश्‍यक वा अव्यावहारिक थिएन?

यहोवाले आदम र हव्वालाई अर्को एउटा आज्ञा पनि दिनुभयो। त्यो आज्ञा उल्लङ्‌घन गरेमा तिनीहरूले सजाय पाउनेछन्‌ भनेर पनि उहाँले स्पष्टसित बताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।” (उत्प. २:१७) के यो आज्ञा अन्यायपूर्ण, अनावश्‍यक वा अव्यावहारिक थियो? के यो आज्ञाले गर्दा आदम र हव्वाको स्वतन्त्रता खोसियो? पटक्कै खोसिएन। वास्तवमा भन्‍ने हो भने, यो आज्ञा एकदमै व्यावहारिक र उपयुक्‍त थियो भनेर थुप्रै बाइबलविद्‌हरू बताउँछन्‌। उदाहरणको लागि, एक जना बाइबलविद्‌ले यसो भने: “परमेश्‍वरले [उत्पत्ति २:१६, १७ मा] दिनुभएको आज्ञाको निचोड भनेको मानिसजातिको लागि के असल छ . . . , त्यो परमेश्‍वरलाई मात्र थाह छ र तिनीहरूको लागि के असल छैन . . . , त्यो पनि उहाँलाई मात्र थाह छ भन्‍ने हो। ‘असल’ कुराबाट लाभ उठाउन मानिसले परमेश्‍वरमाथि भरोसा गर्नुपर्छ र उहाँको आज्ञा पालन गर्नुपर्छ। परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्ने हो भने मानिसले आफ्नो लागि के असल छ . . . र के असल छैन भनेर आफैले निर्णय गर्नुपर्ने हुन्छ।” यो मानिस आफैले बोक्न सक्ने भार कदापि होइन।

आदम र हव्वाको छनौटले दुःखद परिणाम ल्यायो! (अनुच्छेद ९-१२ हेर्नुहोस्‌)

१०. हामीसित छनौट गर्ने स्वतन्त्रता भए पनि के असल हो र के खराब हो भनेर आफैले निर्णय गर्ने अधिकार छैन भनेर किन भन्‍न सक्छौँ?

१० यहोवाले दिनुभएको आज्ञाले गर्दा आदमले आफ्नो इच्छाअनुसार गर्ने स्वतन्त्रता गुमाए भनेर आज थुप्रैले भन्लान्‌। तर त्यस्तो निष्कर्षमा पुग्नेहरूले मानिससित छनौट गर्ने स्वतन्त्रता भए पनि के असल हो र के खराब हो भनेर आफैले निर्णय गर्ने अधिकार छैन भनेर बुझेका हुँदैनन्‌। आदम र हव्वासित परमेश्‍वरको आज्ञा पालन गर्ने कि नगर्ने भनेर छनौट गर्ने स्वतन्त्रता थियो। तर के असल हो र के खराब हो भनेर निर्णय गर्ने पूर्ण अधिकार यहोवासित मात्र छ। अदनको बगैँचामा भएको “असल र खराबको ज्ञान दिने रूख”-ले यही कुरालाई सङ्‌केत गरिरहेको थियो। (उत्प. २:९) आफूले गरेको निर्णयको नतिजा कस्तो हुन्छ भनेर हामी सधैँ भन्‍न सक्दैनौँ। हामीले गर्ने हरेक निर्णयको नतिजा राम्रै हुन्छ भनेर ठोकुवा गर्न पनि सक्दैनौँ। यो कुरा हामी सबैले स्विकार्नै पर्छ। त्यसैले त मानिसहरूले असल मनसाय राखेर निर्णय गर्दा गर्दै पनि दुःख पाएको, सङ्‌कष्ट भोगेको वा ज्यानै गुमाएको हामीले पटक-पटक देखेका छौँ। (हितो. १४:१२) मानिस आफ्नो लागि निर्णय गर्न सक्षम नभएकोले नै अक्सर यस्तो नतिजा निस्कने गर्छ। आदम र हव्वालाई एउटा रूखको फल नखाने आज्ञा दिएर परमेश्‍वरले वास्तवमा तिनीहरूलाई साँचो स्वतन्त्रता सही तरिकामा प्रयोग गर्न मायालु ढङ्‌गमा सिकाइरहनुभएको थियो। हामी किन त्यसो भन्‍न सक्छौँ? अनि आदम र हव्वाले कस्तो छनौट गरे?

११, १२. आदम र हव्वाको छनौटले किन दुःखद परिणाम ल्यायो? उदाहरणसहित बताउनुहोस्‌।

११ घटनाक्रमले देखाएअनुसार हाम्रा प्रथम आमाबुबाले परमेश्‍वरको आज्ञा नमान्‍ने छनौट गरे। सैतानले तिनीहरूलाई यस्तो प्रतिज्ञा गरेको थियो: “तिमीहरूका आँखा खुल्नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।” यो प्रलोभनलाई हव्वाले तिरस्कार गर्न सकिनन्‌। (उत्प. ३:५) के आदम र हव्वाको छनौटले तिनीहरू पहिलाभन्दा अझ स्वतन्त्र भए? अहँ भएनन्‌। तिनीहरूले जे छनौट गरे, त्यसको नतिजा सैतानले भनेजस्तो पटक्कै भएन। केही समय नबित्दै तिनीहरू यो कुरा मानिलिन बाध्य भए: यहोवाको डोऱ्‍याइ नस्विकार्दा अनि आफ्नै बाटो रोज्दा दुःख भोग्नुपर्छ। (उत्प. ३:१६-१९) किन? किनभने यहोवाले मानिसहरूलाई के असल हो र के खराब हो भनेर आफैले निर्णय गर्ने स्वतन्त्रता दिनुभएको थिएन।हितोपदेश २०:२४; यर्मिया १०:२३ पढ्‌नुहोस्‌।

१२ यसलाई बुझ्न हवाईजहाज उडाउने पाइलटको उदाहरण विचार गरौँ। सकुशल गन्तव्यसम्म पुग्न पाइलटले पहिल्यै तय गरिएको हवाई मार्गमा हवाईजहाज उडाउनुपर्छ। आफ्नो गन्तव्यसम्म पुग्न तिनले हवाईजहाजमा भएका आधुनिक उपकरणहरू प्रयोग गर्न र एयर ट्राफिक कन्ट्रोलरहरूसित सम्पर्क गरिरहन सक्छन्‌। तर तिनले ती कुरालाई बेवास्ता गरेर आफैले रोजेको मार्गमा हवाईजहाज उडाए भने भयानक दुर्घटना हुन सक्छ। त्यो पाइलटजस्तै आदम र हव्वाले पनि आफ्नै तरिकामा कामकुरा गर्ने छनौट गरे। तिनीहरूले परमेश्‍वरको डोऱ्‍याइलाई तिरस्कार गरे। नतिजा के भयो? एक अर्थमा भन्‍ने हो भने तिनीहरूको भयानक दुर्घटना भयो। तिनीहरू र तिनीहरूका सबै सन्तान पाप र मृत्युको दास बन्‍न पुगे। (रोमी ५:१२) आफ्नो लागि आफै निर्णय गर्ने धुनमा तिनीहरूले साँचो स्वतन्त्रता गुमाए।

साँचो स्वतन्त्रता कसरी प्राप्त गर्ने?

१३, १४. हामी कसरी साँचो स्वतन्त्रता पाउन सक्छौँ?

१३ आफूसित जति धेरै स्वतन्त्रता छ, त्यति नै राम्रो हुन्छ भन्‍ने मानिसहरूलाई लाग्ला। तर वास्तवमा भन्‍ने हो भने असीमित स्वतन्त्रता भनेको दुई धारे तरबारजस्तै हो। हुनत स्वतन्त्रताका थुप्रै फाइदा छन्‌। तर कुनै किसिमको सीमा नतोकिएको भए यो संसार कस्तो हुन्थ्यो होला भनेर सोच्दा मात्र पनि हाम्रो आङ सिरिङ्‌ङ हुन्छ। यसैकारण द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ: “हरेक व्यवस्थित समाजका नियम-कानुनहरू जटिल हुन्छन्‌ किनभने ती नियम-कानुनहरूले मानिसहरूलाई स्वतन्त्रता दिनुका साथै सीमा पनि तोकेको हुन्छ।” यहाँ “जटिल” शब्द एकदमै उपयुक्‍त छ। मानिसहरूले लेखेका नियम-कानुनहरूको ठेली कति छन्‌ कति, सोच्नुहोस्‌ त! अनि ती नियमहरूको अर्थ खुलाउन र ती लागू गर्न कति धेरै वकिल अनि न्यायाधीशहरू जुटेका छन्‌, त्यसको त कुरै नगरौँ!

१४ तर येशू ख्रीष्टले साँचो स्वतन्त्रता प्राप्त गर्ने तरिका बताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “तिमीहरू मेरो वचनमा रह्‍यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ, अनि तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।” (यूह. ८:३१, ३२) साँचो स्वतन्त्रता प्राप्त गर्न दुइटा कुरा गर्नुपर्छ भनेर येशूले बताउनुभयो। पहिलो, उहाँले सिकाउनुभएको सत्य स्विकार्नुपर्छ। दोस्रो, उहाँको चेला बन्‍नुपर्छ। त्यसो गर्दा हामी साँच्चै स्वतन्त्र हुन सक्छौँ। तर केबाट स्वतन्त्र? यसको जवाफ येशूले यसरी दिनुभयो: “पाप गर्ने हरेक मानिस पापको दास हो। . . . छोराले तिमीहरूलाई स्वतन्त्र बनायो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ।”—यूह. ८:३४, ३६.

१५. येशूले प्रतिज्ञा गर्नुभएको स्वतन्त्रताले हामीलाई किन “साँच्चै स्वतन्त्र” बनाउन सक्छ?

१५ कुरा स्पष्ट छ, येशूले आफ्ना चेलाहरूलाई प्रतिज्ञा गर्नुभएको स्वतन्त्रता आज धेरैजसो मानिसहरूले खोजिरहेको सामाजिक वा राजनैतिक स्वतन्त्रताभन्दा कता हो कता उत्कृष्ट छ। मानिसहरूले भोगेको सबैभन्दा कठोर दासत्व ‘पापको दासत्व’ हो। त्यसकारण “छोराले तिमीहरूलाई स्वतन्त्र बनायो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ” भनेर बताउनुहुँदा येशूले पापको दासत्वबाट मुक्‍त हुने कुरा गर्दै हुनुहुन्थ्यो। पापको दास भएको कारण हामी खराब काम गर्न पुग्छौँ। त्यति मात्र होइन, सही के हो भनेर थाह भए पनि त्यो गर्न असफल हुन्छौँ वा असल काम गर्ने क्षमता हुँदाहुँदै पनि चुक्छौँ। अनि त्यसको परिणाम भनेको निराशा, पीडा, दुःखकष्ट र अन्तमा मृत्यु हो। (रोमी ६:२३) पापको कारण भएको पीडा र वेदनाले गर्दा प्रेषित पावलले पनि लाचार महसुस गरे। (रोमी ७:२१-२५ पढ्‌नुहोस्‌) त्यसैले पापको चङ्‌गुलबाट मुक्‍त भयौँ भने मात्र हाम्रा प्रथम आमाबुबाले पाएको साँचो स्वतन्त्रता हामीले पनि पाउन सक्नेछौँ।

१६. हामी कसरी साँच्चै स्वतन्त्र हुन सक्छौँ?

१६ येशूले “तिमीहरू मेरो वचनमा रह्‍यौ भने” भन्‍नुको अर्थ, उहाँले दिनुहुने स्वतन्त्रता पाउन हामीले केही आवश्‍यकता पूरा गर्नुपर्छ वा कुनै सीमाभित्र रहनुपर्छ। यहोवालाई आफ्नो जीवन समर्पण गरेकोले हामीले आफूलाई इन्कार गरेका छौँ अनि येशूको चेलाको रूपमा उहाँको शिक्षाको सीमाभित्र रहेर जीवन बिताउने छनौट गरेका छौँ। (मत्ती १६:२४) येशूले चढाउनुभएको फिरौतीको बलिदानले गर्दा सम्भव हुने सबै आशिष्‌हरू पाएपछि उहाँले प्रतिज्ञा गर्नुभएझैँ हामी साँच्चै स्वतन्त्र हुनेछौँ।

१७. (क) हाम्रो जीवन कसरी साँच्चै अर्थपूर्ण र सन्तोषजनक हुन सक्छ? (ख) अर्को लेखमा के छलफल गर्नेछौँ?

१७ येशूको चेला बनेर उहाँको शिक्षाअनुसार जीवन बितायौँ भने हाम्रो जीवन साँच्चै अर्थपूर्ण र सन्तोषजनक हुन्छ। साथै पाप र मृत्युको दासत्वबाट पूर्णतया छुटकारा पाउने आशा राख्न सक्छौँ। (रोमी ८:१, २, २०, २१ पढ्‌नुहोस्‌) हामी कसरी आफ्नो स्वतन्त्रता बुद्धिमानीपूर्वक प्रयोग गरेर साँचो स्वतन्त्रताको परमेश्‍वर यहोवाको आदर गर्न सक्छौँ? यसबारे अर्को लेखमा छलफल गर्नेछौँ।