सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १६

मृत्युबारे सत्य कुराको पक्षमा अडान लिनुहोस्‌

मृत्युबारे सत्य कुराको पक्षमा अडान लिनुहोस्‌

“हामी कुन प्रेरित सन्देश सत्य हो र कुन प्रेरित सन्देशचाहिँ झूटो हो, त्यो थाह पाउँछौँ।”—१ युह. ४:६.

गीत ७३ साहस हाम्रो बढाइदेऊ

परिचय *

परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने चलनहरूमा सामेल हुनुको साटो प्रियजन गुमाएका आफन्तहरूलाई सान्त्वना दिनुहोस्‌ (अनुच्छेद १-२ हेर्नुहोस्‌) *

-२. (क) सैतानले मानिसहरूलाई कसरी बहकाएको छ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

“झूटको बुबा” सैतानले मानव इतिहासको सुरुदेखि मानिसहरूलाई बहकाउँदै आएको छ। (युह. ८:४४) त्यसले मृत्युबारे अनि मरिसकेकाहरूको अवस्थाबारे पनि झूटा कुराहरू सिकाएको छ। त्यस्ता झूटहरूले गर्दा आज मानिसहरू विभिन्‍न थरीका लोकप्रिय चलन अनि अन्धविश्‍वासको पछि लागेका छन्‌। त्यसकारण हाम्रा थुप्रै भाइबहिनीले परिवारमा वा टोलछिमेकमा कसैको मृत्यु हुँदा आफ्नो ‘विश्‍वासको निम्ति अझ परिश्रम गरेर लड्‌नुपरेको’ छ।—यहु. ३.

यदि तपाईँले पनि त्यस्तै परीक्षा भोग्नुपऱ्‍यो भने मृत्युबारे बाइबलले सिकाउने सत्य कुराको पक्षमा दृढ भई खडा हुन तपाईँलाई केले मदत गर्न सक्छ? (एफि. ६:११) कोही सङ्‌गी ख्रिष्टियनले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने चलनहरूमा सामेल हुने दबाब झेलिरहेका छन्‌ भने तपाईँ तिनलाई कसरी सान्त्वना र बल दिन सक्नुहुन्छ? यस्ता अवस्थाहरूमा यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ भनेर यस लेखमा हामी छलफल गर्नेछौँ। सबैभन्दा पहिला, मृत्युबारे बाइबलले के सिकाउँछ भनेर बुझौँ।

मरेकाहरूको अवस्थाबारे सत्य कुरा

३. सैतानले बोलेको पहिलो झूटको नतिजा कस्तो भयो?

परमेश्‍वरले मानिसहरूलाई मर्नको लागि बनाउनुभएको थिएन। तर सधैँभरि बाँच्न आदम र हव्वाले यहोवाको आज्ञा पालन गर्नुपर्थ्यो। उहाँले तिनीहरूलाई यस्तो सरल आज्ञा दिनुभएको थियो: “असल र खराबको ज्ञानको रूखको फलचाहिँ खाँदै नखानू किनकि जुन दिन तिमीले त्यो खान्छौ, त्यही दिन तिमी मर्नेछौ।” (उत्प. २:१६, १७) तब सैतानले मानिसहरूलाई बहकाउन कदम चाल्यो। त्यसले सर्पलाई चलाएर हव्वालाई यसो भन्यो: “अहँ! तिमीहरू कदापि मर्नेछैनौ!” दुःखको कुरा, हव्वाले त्यो झूट पत्याइन्‌ र परमेश्‍वरले नखानू भन्‍नुभएको फल खाइन्‌। पछि तिनको पतिले पनि त्यो फल खाए। (उत्प. ३:४, ६) यसरी मानव परिवारमा पाप र मृत्युले प्रवेश गऱ्‍यो।—रोमी ५:१२.

४-५. सैतानले कसरी अझै पनि मानिसहरूलाई बहकाइरहेको छ?

परमेश्‍वरले भन्‍नुभएझैँ आदम र हव्वाको मृत्यु भयो। तैपनि सैतानले मृत्युबारे झूट बोल्न छोडेन। पछि गएर त्यसले अरू पनि झूटहरू फैलाउन थाल्यो। तीमध्ये एउटा झूट भनेको मानिस मर्दा उसको शरीर मात्रै मर्छ तर ऊ आत्मा बनेर बाँचिरहन्छ भन्‍ने हो। यो झूटले आज विभिन्‍न रूप लिएको छ र यसले हाम्रो समयसम्म असङ्‌ख्य मानिसहरूलाई बहकाइसकेको छ।—१ तिमो. ४:१.

यत्तिका मानिसहरूलाई बहकाउन सैतान कसरी सफल भयो? हामी मृत्युबारे कस्तो महसुस गर्छौँ भनेर सैतानलाई थाह छ र सैतानले त्यसैको फाइदा उठाउँछ। हामी सधैँभरि बाँच्नको लागि बनिएकाले मर्न चाहँदैनौँ। (उप. ३:११) मृत्यु हाम्रो शत्रु हो।—१ कोरि. १५:२६.

६-७. (क) के सैतान मृत्युबारे सत्य कुरा लुकाउन सफल भएको छ? व्याख्या गर्नुहोस्‌। (ख) बाइबलले सिकाउने सत्य कुराले हामीलाई अनावश्‍यक डरबाट कसरी जोगाउँछ?

सैतानले मानिसहरूलाई बहकाउन जतिसुकै प्रयास गरे पनि मृत्युबारे सत्य कुरा लुकेको छैन। बरु पहिलेभन्दा झन्‌ धेरै मानिसले मृत्युबारे र मरिसकेकाहरूको आशाबारे बाइबलले के सिकाउँछ भनेर बुझेका छन्‌ अनि त्यो कुरा अरूलाई पनि सुनाउँदै छन्‌। (उप. ९:५, १०; प्रेषि. २४:१५) यो सत्यले हामीलाई सान्त्वना दिएको छ अनि अनावश्‍यक डर र चिन्ताबाट जोगाएको छ। उदाहरणको लागि, हामी मरेका मानिसहरूदेखि डराउँदैनौँ अनि मरिसकेका आफ्ना प्रियजनहरू कतै तड्‌पिरहेका छन्‌ कि भनेर चिन्ता पनि गर्दैनौँ। तिनीहरू जीवित छैनन्‌ र कसैलाई हानि पुऱ्‍याउन पनि सक्दैनन्‌ भनेर हामीलाई थाह छ। तिनीहरूको अवस्था गहिरो निद्रामा परेको मानिसको जस्तै छ। (युह. ११:११-१४) साथै मरेकाहरूलाई समय बितेको थाह हुँदैन भनेर पनि हामीले बुझेका छौँ। त्यसैले मरेकाहरू फेरि जीवित हुँदा तिनीहरूलाई आफू मरेपछि कति समय बित्यो भनेर थाहै हुनेछैन। सयौँ वर्षअघि मरेकाहरूलाई पनि आफू क्षणभरमै, आँखाको एक निमेषमै जीवित भएको जस्तो लाग्नेछ।

मरिसकेकाहरूको अवस्थाबारे बाइबलले सिकाउने सत्य कुरा के तपाईँलाई एकदमै सरल, स्पष्ट अनि तार्किक लाग्दैन र? त्यसको तुलनामा सैतानले फैलाएका झूटहरू कत्ति अलमल्याउने किसिमका छन्‌ नि, होइन र? ती झूटहरूले मानिसहरूलाई बहकाएको मात्र नभएर हाम्रा सृष्टिकर्ताको निन्दा पनि गरेको छ। मृत्युबारे सैतानले फैलाएका झूटहरूले गर्दा के-कस्तो हानि भएको छ भनेर अझ राम्ररी बुझ्न हामी यी तीन प्रश्‍नको जवाफ विचार गर्नेछौँ: सैतानले फैलाएका झूटहरूले कसरी यहोवाको निन्दा गरेको छ? ख्रिष्टले चढाउनुभएको फिरौतीको बलिदानको महत्त्वलाई ती झूटहरूले कसरी फितलो पारिदिएको छ? ती झूटहरूले गर्दा कसरी मानिसहरूको दुःखमाथि दुःख थपिएको छ?

सैतानले फैलाएका झूटहरूले गर्दा निकै हानि पुगेको छ

८. यर्मिया १९:५ ले देखाएझैँ मरेकाहरूबारे सैतानले फैलाएका झूटहरूले कसरी यहोवाको निन्दा गर्छ?

मरेकाहरूबारे सैतानले फैलाएका झूटहरूले यहोवाको निन्दा गर्छ। त्यसले फैलाएको एउटा झूट हो: मरेका मानिसहरू दनदनी बलिरहेको आगोमा तड्‌पिन्छन्‌। त्यस्ता शिक्षाहरूले परमेश्‍वरको निन्दा गर्छ! कसरी? ती शिक्षाहरूले गर्दा प्रेमका परमेश्‍वर यहोवा पनि दियाबलजस्तै क्रूर हुनुहुन्छ भन्‍ने भान पर्छ। (१ युह. ४:८) यो सुन्दा तपाईँलाई कस्तो लाग्छ? यहोवालाई झन्‌ कस्तो लाग्छ होला? किनकि उहाँ सबै किसिमको क्रूरतालाई घृणा गर्नुहुन्छ।यर्मिया १९:५ पढ्‌नुहोस्‌।

९. सैतानले फैलाएका झूटहरूले युहन्‍ना ३:१६ र १५:१३ मा बताइएको फिरौतीको बलिदानको महत्त्वलाई कसरी फितलो बनाइदिन्छ?

मृत्युबारे सैतानले फैलाएका झूटहरूले ख्रिष्टले चढाउनुभएको फिरौतीको बलिदानको महत्त्वलाई फितलो बनाइदिन्छ। (मत्ति २०:२८) सैतानको अर्को झूट भनेको मानिसहरूसित अमर आत्मा छ भन्‍ने हो। यदि यो कुरा साँचो हुँदो हो त मानिसहरू सधैँभरि बाँचिरहने थिए। अनि हामीलाई अनन्त जीवन दिन ख्रिष्टले आफ्नो जीवन हाम्रो निम्ति फिरौतीस्वरूप दिनुपर्ने नै थिएन। यो कुरा नबिर्सनुहोस्‌, ख्रिष्टको बलिदान परमेश्‍वरले मानिसहरूलाई देखाउनुभएको प्रेमको सबैभन्दा ठूलो अभिव्यक्‍ति हो। (युहन्‍ना ३:१६; १५:१३ पढ्‌नुहोस्‌) तर सैतानले फैलाएका झूटहरूले गर्दा त्यो अमूल्य उपहारको कुनै काम छैन जस्तो देखिन्छ। यो देख्दा यहोवा र उहाँको छोरालाई कत्ति दुःख लाग्छ होला!

१०. सैतानले फैलाएका झूटहरूले गर्दा कसरी मानिसहरूको दुःखमाथि दुःख थपिएको छ?

१० सैतानले फैलाएका झूटहरूले गर्दा मानिसहरूको दुःखमाथि दुःख थपिएको छ। आफ्नो बच्चाको मृत्यु भएकोले शोक गरिरहेका आमाबुबालाई यसो भनिएको सुन्‍नुभएको होला: ‘तपाईँको बच्चालाई भगवान्‌ले आफूसितै राख्न लैजानुभयो।’ सैतानले फैलाएको यस्तो झूटले आमाबुबाको पीडा कम हुन्छ कि उल्टै पीडा थपिन्छ? इतिहास हेर्ने हो भने मरेकाहरूलाई नरकको आगोमा जलाइन्छ भन्‍ने झूटो शिक्षाको आधारमा मानिसहरूलाई सास्ती दिइएको छ। जस्तै, चर्चका शिक्षाहरूको विरोध गर्नेहरूलाई खम्बामा टाँगेर जिउँदै जलाइएको छ। स्पेनिश इन्क्विजिसनबारे (क्याथोलिक चर्चको विरोध गर्नेहरूलाई सजाय दिने परिषद्‌) लेखिएको एउटा किताबअनुसार यस्तो क्रूर यातना दिने व्यक्‍तिहरूले चर्चका विरोधीहरूलाई नरकको आगोबाट बच्ने मौका दिइरहेका हौँ भन्ठान्थे। किनभने ती व्यक्‍तिहरूको विचारमा यस्तो क्रूर यातना दिएपछि ती विरोधीहरूले नरकको आगोमा तड्‌पिनु भनेको कस्तो हुन्छ भनेर बुझ्ने थिए र सास जानुअघि आफ्नो गल्ती स्विकारेर नरकमा जानदेखि जोगिन सक्ने थिए। थुप्रै देशमा पितृहरूको नाममा पूजाआजा गर्ने, तिनीहरूको सम्मान गर्ने र तिनीहरूसित आशिष्‌ माग्ने चलन छ अनि मानिसहरू ती चलन पछ्याउन बाध्य महसुस गर्छन्‌। कोही-कोही भने पितृ रिसाए भने अनिष्ट हुन्छ भन्‍ने डरले गर्दा तिनीहरूलाई खुसी पार्न चाहन्छन्‌। हो, सैतानले फैलाएका झूटहरूले मानिसहरूलाई साँचो सान्त्वना पटक्कै दिएको छैन। बरु त्यसले तिनीहरूको जीवनमा अनावश्‍यक चिन्ता र त्रास थपिदिएको छ। कत्ति दुःखलाग्दो कुरा!

हामी कसरी बाइबलले सिकाउने सत्य कुराको पक्षमा अडान लिन सक्छौँ?

११. हाम्रा आफन्त वा साथीभाइले परमेश्‍वरको वचनसित मेल नखाने रीतिथितिमा भाग लिन कसरी दबाब दिन सक्छन्‌?

११ आफन्त वा साथीभाइले राम्रै मनसाय राखेर हामीलाई बाइबलको शिक्षासित बाझिने रीतिथितिमा भाग लिन दबाब देलान्‌। तर त्यस्तो अवस्थामा पनि परमेश्‍वर र उहाँको वचनप्रतिको प्रेमले हामीलाई उहाँको आज्ञा पालन गर्ने बल दिन्छ। मरिसकेको प्रियजनलाई हामीले माया वा आदर नगरेको आरोप लगाएर तिनीहरूले हामीलाई लज्जित महसुस गराउन खोज्लान्‌। अथवा हामीले त्यस्ता रीतिथितिमा भाग लिन नमानेकोले मरेको मानिसले दुःख दिनेछ भन्लान्‌। यस्तो अवस्थामा हामी कसरी बाइबलले सिकाउने सत्य कुराको पक्षमा अडान लिन सक्छौँ? निम्न बाइबल सिद्धान्तहरू तपाईँ कसरी लागू गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्‌।

१२. मरेका मानिसहरूसित सम्बन्धित कस्ता चलनहरू बाइबलको शिक्षासित सरासर बाझिन्छन्‌?

१२ बाइबलको शिक्षासित मेल नखाने विश्‍वास र चलनहरूबाट ‘आफूलाई अलग पार्न’ दृढ अडान लिनुहोस्‌। (२ कोरि. ६:१७) एउटा क्यारेबियन मुलुकमा थुप्रै मानिसहरू के विश्‍वास गर्छन्‌ भने, मानिस मरेपछि उसको आत्मा “भूत” बनेर घुमिरहन्छ र उसलाई दुःख दिएकाहरूसित बदला लिन्छ। त्यस “भूत”-ले “पूरै टोलछिमेकलाई सताउन” पनि सक्छ भनेर एउटा किताब बताउँछ। अफ्रिकाको एउटा चलनअनुसार मरेको मानिसको घरमा ऐनाहरू छोपेर राखिन्छ अनि उसका तस्बिरहरू भित्तापट्टि फर्काएर राखिन्छ। किन? मरेकाहरूले आफूलाई हेर्नु हुँदैन भनेर कोही-कोही विश्‍वास गर्दा रहेछन्‌! हामी यहोवाका सेवकहरू कुनै पनि मिथ्यामा विश्‍वास गर्दैनौँ र सैतानको झूटलाई समर्थन गर्ने कुनै पनि चलन पछ्याउँदैनौँ।—१ कोरि. १०:२१, २२.

बाइबलआधारित प्रकाशनहरूबाट राम्रो अनुसन्धान गर्नुभयो र बाइबलमा विश्‍वास नगर्ने आफन्तहरूसित आफ्नो विश्‍वासबारे राम्ररी कुराकानी गर्नुभयो भने समस्यामा पर्नदेखि जोगिनुहुनेछ (अनुच्छेद १३-१४ हेर्नुहोस्‌) *

१३. कुनै चलन बाइबलको शिक्षासित बाझिन्छ कि बाझिँदैन भनेर पक्का हुनुभएन भने याकुब १:५ मा बताइएझैँ तपाईँले के गर्नुपर्छ?

१३ कुनै चलन बाइबलको शिक्षासित बाझिन्छ कि बाझिँदैन भनेर पक्का हुनुभएन भने यहोवालाई प्रार्थना गर्नुहोस्‌ र बुद्धि माग्नुहोस्‌। (याकुब १:५ पढ्‌नुहोस्‌) त्यसपछि हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्‌। आवश्‍यक परेमा एल्डरहरूसित पनि मदत माग्न सक्नुहुन्छ। एल्डरहरूले तपाईँलाई ‘यसो गर्नुस्‌, उसो गर्नुस्‌’ भनेर त भन्दैनन्‌ तर यस लेखमा छलफल गरिएको जस्तै सम्बन्धित बाइबल सिद्धान्तहरू भेट्टाउन मदत गर्नेछन्‌। यी कदमहरू चाल्नुभयो भने तपाईँको “सोच्ने-बुझ्ने क्षमता”-ले तालिम पाउनेछ अनि त्यसले तपाईँलाई “सही र गलत छुट्ट्याउन” मदत गर्नेछ।—हिब्रू ५:१४.

१४. मानिसहरूलाई ठेस नपुऱ्‍याउन हामी के गर्न सक्छौँ?

१४ “सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर . . . ठक्करको कारण नबन।” (१ कोरि. १०:३१, ३२) कुनै चलन वा रीतिथितिमा भाग लिने कि नलिने भनेर निर्णय गर्नुअघि हाम्रो निर्णयले अरूको र खासगरि सङ्‌गी ख्रिष्टियनहरूको अन्तस्करणलाई कस्तो असर गर्छ भनेर पनि हामीले विचार गर्नुपर्छ। हामी कहिल्यै पनि अरूलाई ठेस पुऱ्‍याउन चाहँदैनौँ। (मर्कु. ९:४२) साथै बाइबलको शिक्षामा विश्‍वास नगर्नेहरूको व्यर्थैमा चित्त दुखाउन पनि चाहँदैनौँ। हामी प्रेमले उत्प्रेरित भएर तिनीहरूसित आदरपूर्वक कुराकानी गर्छौँ र यसले यहोवाको महिमा गर्छ। हामी मानिसहरूसित झगडा गर्न वा तिनीहरूको परम्पराको धज्जी उडाउन पटक्कै चाहँदैनौँ। प्रेम शक्‍तिशाली हुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌! हामीले अरूप्रति विचारशील हुँदै अनि आदरपूर्वक प्रेम व्यक्‍त गऱ्‍यौँ भने हाम्रो विरोधीहरूको समेत मन पग्लिन सक्छ।

१५-१६. (क) आफ्नो विश्‍वासबारे अरूलाई थाह दिनु किन बुद्धिमानी हो? उदाहरण दिनुहोस्‌। (ख) रोमी १:१६ मा उल्लेख गरिएका पावलका शब्दहरू आज हामीलाई कसरी लागू हुन्छ?

१५ तपाईँ यहोवाको साक्षी हुनुहुन्छ भन्‍ने कुरा टोलछिमेकमा थाह दिनुहोस्‌। (यसै. ४३:१०) तपाईँको परिवारमा कसैको मृत्यु भएको बेला तपाईँले कुनै रीतिथितिमा भाग नलिँदा आफन्त र छिमेकीहरू एकदमै खिन्‍न होलान्‌। तर तपाईँ यहोवा परमेश्‍वरको उपासना गर्नुहुन्छ भनेर तिनीहरूलाई पहिल्यै थाह दिनुभएको छ भने त्यस्तो अवस्था सम्हाल्न सजिलो हुनेछ। मोजाम्बिकमा बस्ने फ्रान्सेस्कु लेख्छन्‌: “सत्य सिकेपछि मेरी श्रीमती कारोलिना र मैले हामी पितृहरूको उपासना गर्दैनौँ भनेर परिवारलाई बतायौँ। कारोलिनाकी दिदीको मृत्यु हुँदा हाम्रो निर्णयको जाँच भयो। स्थानीय चलनअनुसार मृतकको शरीरलाई रीतिपूर्वक नुहाइदिनुपर्छ। अनि लास नुहाइदिएको पानी बगाएको ठाउँमा मृतकको सबैभन्दा नजिकको साइनो पर्ने व्यक्‍ति तीन रात सुत्नुपर्छ। यसो गर्दा मृतकको आत्मालाई खुसी पार्न सकिन्छ भन्‍ने विश्‍वास छ। लास नुहाइदिएको पानी बगाएको ठाउँमा कारोलिना सुतोस्‌ भन्‍ने परिवारको इच्छा थियो।”

१६ फ्रान्सेस्कु र तिनकी पत्नीले के गरे? फ्रान्सेस्कु भन्छन्‌: “यहोवालाई प्रेम गर्ने भएकोले र उहाँलाई खुसी पार्न चाहेकोले हामीले त्यो चलनमा सामेल नहुने निर्णय गऱ्‍यौँ। हाम्रो निर्णय सुनेर कारोलिनाको परिवारका सदस्यहरू एकदमै रिसाउनुभयो। उहाँहरूले हामीलाई मृतकको अनादर गरेको आरोप लगाउनुभयो अनि आइन्दा हामीलाई भेट्‌न र मदत गर्न कोही पनि आउनेछैन भन्‍नुभयो। हामीले आफ्नो विश्‍वासबारे उहाँहरूलाई पहिल्यै बताइसकेका थियौँ, त्यसैले उहाँहरू रिसले चुर हुनुभएको बेला हामीले केही भनेनौँ। केही आफन्तहरूले त हामीले आफ्नो विश्‍वासबारे पहिल्यै बताइसकेको कुरा सम्झँदै हाम्रै पक्ष पनि लिनुभयो। केही समयपछि कारोलिनाका आफन्तहरूको रिस कम भयो र हामीले फेरि शान्ति कायम गर्न सक्यौँ। परिवारको कोही-कोही त हाम्रा साहित्यहरू माग्न हाम्रो घरमै आउनुभयो।” मृत्युबारे सत्य कुराको पक्षमा खडा हुने अडान लिएकोमा हामी कहिल्यै सरम नमानौँ।रोमी १:१६ पढ्‌नुहोस्‌।

शोकमा परेकाहरूलाई सान्त्वना र मदत दिनुहोस्‌

मृत्युको कारण आफ्नो प्रियजन गुमाएकाहरूलाई साँचो मित्रहरूले सान्त्वना र ढाडस दिन्छन्‌ (अनुच्छेद १७-१९ हेर्नुहोस्‌) *

१७. शोकमा परेका सङ्‌गी ख्रिष्टियनको साँचो मित्र बन्‍न हामी के गर्न सक्छौँ?

१७ कुनै सङ्‌गी ख्रिष्टियनले मृत्युको कारण आफ्नो प्रियजन गुमाएका छन्‌ भने हामीले तिनको ‘साँचो मित्र अनि दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै’ हुने प्रयत्न गर्नुपर्छ। (हितो. १७:१७) यदि शोक गरिरहेको भाइ वा बहिनीलाई बाइबलसित मेल नखाने चलनमा सामेल हुन दबाब आइरहेको छ भने खासगरि त्यस्तो बेला हामी तिनको “साँचो मित्र” बन्‍नु जरुरी छ। हामी के गर्न सक्छौँ? शोकमा परेकाहरूलाई सान्त्वना दिन हामीले लागू गर्न सक्ने दुई वटा बाइबल सिद्धान्त विचार गरौँ।

१८. येसु किन रुनुभयो अनि उहाँको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

१८ “रुनेहरूसित रोओ।” (रोमी १२:१५) शोकसन्तप्त व्यक्‍तिलाई के भनेर सान्त्वना दिने भनेर हामीलाई थाह नहुन सक्छ। तर हामी पनि तिनीसँगै रुँदा हामी तिनको दुःख बुझ्छौँ भनेर तिनले महसुस गर्नेछन्‌। येसुको मित्र लाजरसको मृत्यु हुँदा मरियम, मार्था र अरू मानिसहरूले आफ्नो प्यारो भाइ र मित्र गुमाएकोमा शोक गरे। त्यसको चार दिनपछि येसु त्यहाँ पुग्नुभयो। आफूले लाजरसलाई चाँडै जीवित पार्नेछु भनेर येसुलाई थाह थियो, तैपनि त्यहाँ पुगेपछि उहाँ “रुनुभयो।” (युह. ११:१७, ३३-३५) येसुले आँसु बगाउँदा उहाँको बुबाको भावना झल्काइरहनुभएको थियो। साथै येसु लाजरसको परिवारलाई माया गर्नुहुन्छ भनेर पनि त्यसबाट देखियो अनि त्यो देख्दा मरियम र मार्थाले पक्कै सान्त्वना पाए। त्यसैगरि, हाम्रा भाइबहिनीले पनि हामी तिनीहरूलाई माया गर्छौँ र तिनीहरूको ख्याल राख्छौँ भनेर महसुस गरे भने तिनीहरूले आफू एक्लो छैनँ बरु आफ्नो वरिपरि माया गर्ने र साथ दिने साथीहरू छन्‌ भनेर बुझ्नेछन्‌।

१९. शोक गरिरहेका सङ्‌गी ख्रिष्टियनलाई सान्त्वना दिँदा हामी उपदेशक ३:७ कसरी लागू गर्न सक्छौँ?

१९ “चुप लाग्ने एउटा समय छ, बोल्ने एउटा समय।” (उप. ३:७) शोक गरिरहेका सङ्‌गी ख्रिष्टियनलाई सान्त्वना दिने अर्को तरिका तिनको कुरा राम्ररी सुनेर हो। तिनलाई आफ्नो मनको बह पोख्न दिनुहोस्‌ र तिनले ‘आफ्नो बोलीलाई सम्हाल्न सकेनन्‌’ भने नरिसाउनुहोस्‌। (अय्यु. ६:२, ३) बाइबलमा विश्‍वास नगर्ने आफन्तहरूबाट दबाब आएकोले तिनलाई भावनात्मक रूपमा झनै गाह्रो भइरहेको हुन सक्छ। त्यसैले तिनीसितै प्रार्थना गर्नुहोस्‌। तिनलाई बल अनि ठीकसित सोच्ने क्षमता दिन “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वरसित बिन्ती गर्नुहोस्‌। (भज. ६५:२) परिस्थितिले दिन्छ भने सँगै बाइबल पढ्‌नुहोस्‌। अथवा हाम्रा प्रकाशनहरूबाट उपयुक्‍त लेखहरू छानेर पढ्‌नुहोस्‌, जस्तै: प्रोत्साहनदायी जीवनी।

२०. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

२० मरेकाहरूको अवस्थाबारे सत्य कुरा बुझ्न पाउँदा अनि चिहानमा हुनेहरूको लागि भविष्यको सुन्दर आशाबारे थाह पाउँदा हामी कत्ति खुसी छौँ! (युह. ५:२८, २९) त्यसैले साहसी हुँदै आफ्नो बोली अनि कामद्वारा बाइबलले सिकाउने सत्य कुराको पक्षमा अडान लेऔँ र यसबारे अरूलाई बताउन हरेक मौकाको सदुपयोग गरौँ। मानिसहरूलाई आध्यात्मिक अन्धकारमा राख्न सैतानले चलाउने अर्को तरिकाबारे अर्को लेखमा छलफल गर्नेछौँ। त्यो हो, प्रेतविद्या। प्रेतहरूले थापेको त्यस पासोसित सम्बन्धित प्रचलनहरू र मनोरञ्जनबाट किन अलग रहनुपर्छ भनेर हामी सिक्नेछौँ।

गीत २४ आऊ न यहोवाको पर्वतमा

^ अनु. 5 सैतान र त्यसका प्रेतहरूले मरेकाहरूको अवस्थाबारे झूटा कुराहरू बताएर मानिसहरूलाई बहकाएका छन्‌। यी झूटहरूमा विश्‍वास गरेकोले मानिसहरू बाइबलसित मेल नखाने विभिन्‍न थरीका चलनहरू पछ्याउँछन्‌। त्यस्ता चलनहरूमा सामेल हुन अरूले दबाब दिँदा यहोवाप्रति वफादार भइरहन यस लेखले तपाईँलाई मदत गर्नेछ।

^ अनु. 55 चित्रको व्याख्या: प्रियजन गुमाएकोले शोक मनाइरहेको आफ्नो आफन्तलाई साक्षीहरू सान्त्वना दिन्छन्‌।

^ अनु. 57 चित्रको व्याख्या: मृत्युपछिको रीतिथितिबारे अनुसन्धान गरेपछि एक जना साक्षी आफ्नो विश्‍वासबारे आफन्तहरूलाई आदरपूर्वक बताउँछन्‌।

^ अनु. 59 चित्रको व्याख्या: मृत्युको कारण प्रियजन गुमाएका एक जना साक्षीलाई एल्डरहरू सान्त्वना र ढाडस दिन्छन्‌।