सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १५

येसुको अनुकरण गर्नुहोस्‌ र आफ्नो शान्ति कायम राख्नुहोस्‌

येसुको अनुकरण गर्नुहोस्‌ र आफ्नो शान्ति कायम राख्नुहोस्‌

‘परमेश्‍वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले तिमीहरूको हृदयको रक्षा गर्नेछ।’—फिलि. ४:७.

गीत ११३ शान्ति—हाम्रो सम्पत्ति

परिचय *

१-२. येसु किन व्याकुल हुनुहुन्थ्यो?

मानिसको रूपमा यस पृथ्वीमा बिताएको अन्तिम दिन येसु व्याकुल हुनुहुन्थ्यो। अब चाँडै कुकर्मीहरूले उहाँलाई चरम यातना दिने थिए र अन्तमा मार्ने थिए। तर आफू मर्ने भएकोले मात्र येसु चिन्तित हुनुभएको थिएन। उहाँ आफ्नो बुबालाई धेरै माया गर्नुहुन्थ्यो र उहाँलाई खुसी बनाउन चाहनुहुन्थ्यो। आफूले भोग्नै लागेको कठिन परीक्षामा वफादार रह्‍यो भने यहोवाको नाम उच्च पार्ने काममा योगदान पुग्नेछ भनेर येसुलाई थाह थियो। येसु मानिसहरूलाई पनि माया गर्नुहुन्थ्यो। आफू मृत्युसम्मै वफादार रहन सकेमा मात्र मानिसहरूले सधैँभरि बाँच्ने आशा पाउनेछन्‌ भनेर उहाँलाई थाह थियो।

हुनत यतिबेला येसुलाई असाध्यै तनाव भइरहेको थियो तैपनि उहाँले आफ्नो शान्ति कायम राख्न सक्नुभयो। उहाँले आफ्ना प्रेषितहरूलाई यसो भन्‍नुभएको थियो: “म तिमीहरूलाई मेरो शान्ति दिन्छु।” (युह. १४:२७) उहाँसित “परमेश्‍वरको शान्ति” थियो। यो शान्ति यहोवासितको हाम्रो बहुमूल्य सम्बन्धको परिणामस्वरूप पाइने शान्ति हो। यस्तो शान्तिले येसुको हृदय र दिमागको रक्षा गऱ्‍यो।—फिलि. ४:६, ७.

३. हामी यस लेखमा के छलफल गर्नेछौँ?

हामीमध्ये कसैले पनि येसुले सहनुपरेको जस्तो तनाव कहिल्यै सामना गर्नुपर्ने छैन। तर येसुको पछि लाग्ने सबैमाथि परीक्षाहरू भने अवश्‍य आइपर्छ। (मत्ति १६:२४, २५; युह. १५:२०) अनि उहाँजस्तै हामी पनि कहिलेकाहीँ व्याकुल हुन सक्छौँ। त्यसोभए असाध्यै चिन्तित भएर आफ्नो मनोशान्ति नगुमाउन हामी के गर्न सक्छौँ? यस पृथ्वीमा सेवा गर्दा येसुले गर्नुभएको तीन वटा कुराबारे छलफल गरौँ र परीक्षाहरू आइपर्दा हामी कसरी उहाँको अनुकरण गर्न सक्छौँ, त्यो विचार गरौँ।

येसुले निरन्तर प्रार्थना गर्नुभयो

हामी प्रार्थना गरेर आफ्नो शान्ति कायम राख्न सक्छौँ (अनुच्छेद ४-७ हेर्नुहोस्‌)

४. पहिलो थिस्सलोनिकी ५:१७ मनमा राख्दै, पृथ्वीमा बिताएको अन्तिम दिन येसुले थुप्रै चोटि प्रार्थना गर्नुभयो भनेर देखाउने उदाहरणहरू बताउनुहोस्‌।

पहिलो थिस्सलोनिकी ५:१७ पढ्‌नुहोस्‌। यस पृथ्वीमा बिताएको अन्तिम दिन येसुले थुप्रै चोटि प्रार्थना गर्नुभयो। जस्तै: येसुले उहाँको मृत्युको सम्झना गर्ने उत्सव स्थापना गर्नुहुँदा रोटी र दाखमद्यको लागि प्रार्थना गर्नुभयो। (१ कोरि. ११:२३-२५) निस्तार चाड मनाएको ठाउँबाट निस्कनुअघि पनि उहाँले चेलाहरूसँगै प्रार्थना गर्नुभयो। (युह. १७:१-२६) त्यही रात चेलाहरूसँग जैतुन डाँडामा पुग्नुभएपछि पनि उहाँले बारम्बार प्रार्थना गर्नुभयो। (मत्ति २६:३६-३९, ४२, ४४) अनि मृत्यु हुनुअघि उहाँले आफ्नो मुखबाट निकाल्नुभएका अन्तिम शब्दहरू पनि प्रार्थनाकै रूपमा व्यक्‍त गरिएका थिए। (लुका २३:४६) यसरी आफ्नो जीवनको अन्तिम दिन घटेको प्रत्येक घटनाको दौडान येसुले यहोवालाई प्रार्थना गर्नुभयो।

५. प्रेषितहरू किन साहसी हुन सकेनन्‌?

येसुले परीक्षाहरू सहन सक्नुको एउटा कारण भनेको उहाँले प्रार्थना गरेर आफ्नो बुबामाथि भरोसा राख्नुभएकोले हो। अर्कोतर्फ प्रेषितहरू भने त्यस रात प्रार्थनामा निरन्तर लागिरहनदेखि चुके। त्यसैले परीक्षा आइपर्दा तिनीहरू साहसी हुन सकेनन्‌। (मत्ति २६:४०, ४१, ४३, ४५, ५६) परीक्षाहरूको सामना गर्नुपर्दा येसुको अनुकरण गर्दै ‘प्रार्थना गरिरह्‍यौँ’ भने मात्र हामी वफादार रहिरहन सक्नेछौँ। यस्तो बेला हामी कुन कुराको लागि प्रार्थना गर्न सक्छौँ?

६. विश्‍वासले हामीलाई आफ्नो शान्ति कायम राख्न कसरी मदत गर्छ?

हामी यहोवालाई “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌” भनेर प्रार्थना गर्न सक्छौँ। (लुका १७:५; युह. १४:१) सैतानले येसुको पछि लाग्न चाहने सबैमाथि परीक्षा ल्याउने भएकोले हामीमा विश्‍वास हुनु जरुरी छ। (लुका २२:३१) एकपछि अर्को चुनौतीहरूको सामना गर्नुपर्दा विश्‍वासले हामीलाई आफ्नो शान्ति कायम राख्न कसरी मदत गर्छ? परीक्षाको सामना गर्न आफूले गर्न सक्ने सबै गरिसकेपछि विश्‍वासले हामीलाई त्यो मामिला यहोवाकै हातमा छोडिदिन उत्प्रेरित गर्छ। त्यस मामिलालाई हामीले भन्दा कता हो कता राम्ररी यहोवाले सम्हाल्न सक्नुहुन्छ भन्‍ने कुरामा हामी भरोसा राख्छौँ र यसरी भरोसा राख्दा प्राप्त हुने शान्तिले हाम्रो हृदय र दिमागको रक्षा गर्नेछ।—१ पत्रु. ५:६, ७.

७. रोबर्टले भनेको कुराबाट तपाईँले के सिक्नुभयो?

प्रार्थनाले हामीलाई जस्तोसुकै परीक्षाको सामना गर्नुपरे पनि मनोशान्ति कायम राख्न मदत गर्छ। असी वर्ष नाघिसकेका वफादार एल्डर रोबर्टलाई विचार गरौँ। तिनी यसो भन्छन्‌: “फिलिप्पी ४:६, ७ मा भएको सल्लाहअनुसार चल्दा मैले जीवनमा थुप्रै परीक्षाहरू सहन सकेको छु। मैले आर्थिक समस्याहरू झेलेको छु। अनि केही समयको लागि मैले एल्डरको रूपमा सेवा गर्ने सुअवसर पनि गुमाएँ।” रोबर्टले कसरी आफ्नो मनोशान्ति कायम राख्न सकेका छन्‌? तिनी भन्छन्‌: “आफूलाई चिन्ता लाग्न थाल्नेबित्तिकै म प्रार्थना गर्छु। म जति धेरै चोटि अनि जति व्यग्रतासाथ प्रार्थना गर्छु, त्यति नै मनोशान्ति पाउँछु।”

येसुले जोसका साथ प्रचार गर्नुभयो

हामी प्रचारकार्यमा भाग लिएर आफ्नो शान्ति कायम राख्न सक्छौँ (अनुच्छेद ८-१० हेर्नुहोस्‌)

८. युहन्‍ना ८:२९ अनुसार येसुले मनोशान्ति कायम राख्न सक्नुको अर्को कारण के थियो?

युहन्‍ना ८:२९ पढ्‌नुहोस्‌। येसुले खेदो भोग्नुपर्दा समेत मनोशान्ति कायम राख्न सक्नुभयो किनकि आफूले बुबालाई खुसी बनाइरहेको छु भनेर उहाँलाई थाह थियो। गाह्रो हुँदा समेत उहाँले बुबाको आज्ञा पालन गर्नुभयो। उहाँ बुबालाई प्रेम गर्नुहुन्थ्यो र बुबाको सेवा गर्नु नै उहाँको जीवनको सबैभन्दा महत्त्वपूर्ण काम थियो। पृथ्वीमा आउनुअघि उहाँ परमेश्‍वरको “मुख्य कारिगर” हुनुहुन्थ्यो। (हितो. ८:३०) अनि पृथ्वीमा छँदा उहाँले मानिसहरूलाई जोसका साथ स्वर्गमा हुनुहुने आफ्नो बुबाबारे सिकाउनुभयो। (मत्ति ६:९; युह. ५:१७) त्यस कामले येसुलाई असाध्यै आनन्द दिन्थ्यो।—युह. ४:३४-३६.

९. प्रचारकार्यमा व्यस्त हुँदा मनोशान्ति कायम राख्न कसरी मदत मिल्छ?

यहोवाको आज्ञा पालन गरेर अनि ‘प्रभुको काममा सधैँ व्यस्त भइरहेर’ हामी येसुको अनुकरण गर्न सक्छौँ। (१ कोरि. १५:५८) हामी प्रचारकार्यमा “व्यस्त” भयौँ भने आफ्ना समस्याहरूलाई अझ सकारात्मक दृष्टिकोणले हेर्न सक्नेछौँ। (प्रेषि. १८:५) जस्तै: हामीले प्रचारकार्यमा भेट्‌ने मानिसहरूले अक्सर हामीले भन्दा कठिन समस्याहरू भोगिरहेका हुन्छन्‌। तर उनीहरूले परमेश्‍वरलाई प्रेम गर्न र उहाँको सल्लाहअनुसार चल्न सिक्दा उनीहरूको जीवनमा परिवर्तन आउन थाल्छ र उनीहरू अझ आनन्दित हुन थाल्छन्‌। त्यस्ता मानिसहरूलाई देख्दा यहोवा साँच्चै हाम्रो ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा हामी अझ विश्‍वस्त हुन्छौँ। अनि यस्तो विश्‍वस्तताले हामीलाई मनोशान्ति कायम राख्न मदत दिन्छ। एउटी बहिनीले पनि यो कुरा सत्य हो भनेर आफैले महसुस गरिन्‌। उनले जीवनभर आफू बेकामको छु भन्‍ने भावनासित सङ्‌घर्ष गर्दै आएकी छिन्‌ र उनलाई डिप्रेसन पनि छ। उनी यसो भन्छिन्‌: “प्रचारकार्यमा व्यस्त हुँदा मैले आफ्नो भावनालाई काबूमा राख्न सकेकी छु र आनन्दित पनि हुन्छु। किनकि जब म प्रचारकार्यमा भाग लिइरहेकी हुन्छु, तब यहोवासित अरू बेलाभन्दा अझ नजिक भएको महसुस गर्छु।”

१०. ब्रेन्डाले भनेको कुराबाट तपाईँले के सिक्नुभयो?

१० ब्रेन्डा नाम गरेकी बहिनीको अनुभव पनि विचार गरौँ। तिनी र तिनकी छोरी दुवै जनालाई मल्टिपल स्क्लेरोसिस भन्‍ने गम्भीर रोग लागेको छ। ब्रेन्डा ह्वीलचेयरको सहाराबिना कतै हिँडडुल गर्न सक्दिनन्‌ र तिनको शारीरिक बल पनि कम छ। तिनी सकेको बेला घरघरको प्रचारमा जान्छिन्‌ तर मुख्यतया पत्र लेखेर साक्षी दिन्छिन्‌। तिनी भन्छिन्‌: “नयाँ संसार नआएसम्म मेरो स्वास्थ्य सुध्रिनेछैन भन्‍ने कुरा जब मैले बुझेँ र त्यो यथार्थ स्विकारेँ, तब सेवाको काममा अझ ध्यान दिन सकेँ। वास्तवमा अरूलाई साक्षी दिँदा म आफ्नो व्यथा भुल्छु। आफ्नो मण्डलीको इलाकामा बस्ने मानिसहरूलाई मदत गर्नुपर्छ भन्‍ने कुरा थाह भएकोले सेवाको काममा भाग लिँदा आफ्नो पीडा सम्झने फुर्सदै हुँदैन। साथै यो काममा व्यस्त हुँदा मैले भविष्यको आशामा ध्यान दिइरहन सकेकी छु।”

येसुले आफ्ना साथीहरूको मदत स्विकार्नुभयो

हामी असल साथीहरूसित सङ्‌गत गरेर आफ्नो शान्ति कायम राख्न सक्छौँ (अनुच्छेद ११-१५ हेर्नुहोस्‌)

११-१३. (क) प्रेषितहरू र अरू चेलाहरू कसरी येसुको साँचो साथी साबित भए? (ख) येसुका साथीहरूले उहाँमा कस्तो प्रभाव पारे?

११ येसुले पृथ्वीमा गर्नुभएको सेवाको काम चुनौतीपूर्ण थियो तर उहाँका वफादार प्रेषितहरू सधैँ उहाँको साँचो साथी साबित भए। तिनीहरू हितोपदेशको किताबमा पाइने यस भनाइको ज्वलन्त उदाहरण थिए: “कुनै-कुनै साथी भने साक्खै दाजुभाइभन्दा पनि घनिष्ठ हुन्छ।” (हितो. १८:२४) येसुको लागि ती साथीहरू साँच्चै अनमोल थिए। उहाँको सेवाको कामको दौडान उहाँका साक्खै भाइहरू कसैले पनि उहाँलाई विश्‍वास गरेनन्‌। (युह. ७:३-५) उहाँका नातेदारहरूले उहाँलाई पागलसमेत भने। (मर्कु. ३:२१) तर येसुका वफादार प्रेषितहरू भने उहाँका साँचो मित्रहरू थिए। त्यसैले उहाँले आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात तिनीहरूलाई यसो भन्‍न सक्नुभयो: “मेरा परीक्षाहरूमा मसितै रहने तिमीहरू नै हौ।”—लुका २२:२८.

१२ प्रेषितहरूले कहिलेकाहीँ उहाँलाई दुःखी पनि बनाए तर उहाँले तिनीहरूको कमीकमजोरीमा बढ्‌तै ध्यान दिनुभएन। बरु तिनीहरू उहाँलाई विश्‍वास गर्छन्‌ भनेर येसु ढुक्क हुनुहुन्थ्यो। (मत्ति २६:४०; मर्कु. १०:१३, १४; युह. ६:६६-६९) आफूलाई मृत्युदण्ड दिइनुअघि आफ्ना वफादार प्रेषितहरूसित बिताएको अन्तिम रात उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “मैले तिमीहरूलाई मित्र भनेको छु किनभने आफ्नो बुबाबाट मैले जे-जे सुनेको छु, ती सबै तिमीहरूलाई प्रकट गरेको छु।” (युह. १५:१५) येसुका साथीहरू उहाँको लागि ठूलो प्रोत्साहनको स्रोत थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। आफ्नो सेवाको काममा तिनीहरूले साथ दिएको देख्दा येसु असाध्यै खुसी हुनुहुन्थ्यो।—लुका १०:१७, २१.

१३ प्रेषितहरूबाहेक येसुका अरू साथीहरू पनि थिए। उहाँले पुरुष, स्त्री दुवैलाई आफ्नो साथी बनाउनुभएको थियो अनि तिनीहरूले उहाँलाई प्रचारकार्यमा र अन्य व्यावहारिक तरिकामा मदत गरे। कसै-कसैले उहाँलाई आफ्नो घरमा खाना खान निम्तो दिए। (लुका १०:३८-४२; युह. १२:१, २) कोही-कोहीले भने उहाँसितै यात्रा गरे र आफूसित भएको सम्पत्ति खर्चेर उहाँको सेवा गरे। (लुका ८:३) येसुले असल साथीहरू पाउनुभएको थियो किनकि उहाँ आफै पनि असल साथी हुनुहुन्थ्यो। उहाँले तिनीहरूको निम्ति थुप्रै राम्रा काम गर्नुभयो र तिनीहरूबाट बढ्‌तै माग गर्नुभएन। हुनत येसु त्रुटिरहित हुनुहुन्थ्यो तैपनि आफ्ना त्रुटिपूर्ण साथीहरूले दिएको मदतको लागि सधैँ कृतज्ञ हुनुभयो। अनि तिनीहरूले उहाँलाई मनोशान्ति कायम राख्न पक्कै मदत दिए।

१४-१५. हामी कसरी असल साथीहरू बनाउन सक्छौँ? तिनीहरूले हामीलाई कसरी मदत गर्छन्‌?

१४ असल साथीहरूले हामीलाई यहोवाप्रति वफादार रहिरहन मदत गर्छन्‌। अनि असल साथीहरू पाउने हो भने हामी आफै पनि असल साथी बन्‍ने प्रयास गर्नुपर्छ। (मत्ति ७:१२) जस्तै: बाइबलले हामीलाई आफ्नो समय र शक्‍ति अरूलाई मदत दिने काममा लगाउन प्रोत्साहन दिन्छ, विशेषगरि ‘खाँचोमा परेका’ मानिसहरूलाई। (एफि. ४:२८) तपाईँको मण्डलीमा कसैलाई मदत चाहिएको छ कि? वृद्ध वा बिरामी भएकोले घरबाहिर निस्कन नसक्ने कुनै भाइ वा बहिनीको लागि किनमेल गरिदिन सक्नुहुन्छ कि? आर्थिक समस्या झेलिरहेको कुनै परिवारलाई खाना खान बोलाउन सक्नुहुन्छ कि? तपाईँलाई jw.org® वेबसाइट र JW लाइब्रेरी चलाउन आउँछ भने मण्डलीमा अरूलाई ती प्रयोग गर्न सिकाउन सक्नुहुन्छ कि? हामी अरूलाई मदत गर्ने काममा व्यस्त भयौँ भने आनन्दित हुन सक्छौँ।—प्रेषि. २०:३५.

१५ हाम्रा साथीहरूले हामीलाई परीक्षाहरू आइपर्दा साथ दिन्छन्‌, जसले गर्दा हामी आफ्नो मनोशान्ति कायम राख्न सक्छौँ। जसरी अय्युबले आफ्नो मनको वेदना पोखाउँदा एलिहुले ध्यान दिएर सुने, त्यसरी नै हामीले आफ्नो भावना पोखाउँदा हाम्रा साथीहरूले धैर्य गरेर सुन्छन्‌। (अय्यु. ३२:४) हामी आफ्ना साथीहरूले हाम्रो लागि निर्णय गरिदिएको आशा त गर्दैनौँ तर तिनीहरूले दिएको बाइबलआधारित सल्लाह ध्यान दिएर सुन्यौँ भने हामीलाई नै फाइदा हुन्छ। (हितो. १५:२२) अनि जसरी राजा दाउदले नम्र भई आफ्ना साथीहरूको मदत स्विकारे, त्यसरी नै आवश्‍यक परेको बेला साथीहरूले मदत दिन खोज्दा हामीले घमन्डी हुँदै त्यसलाई अस्वीकार गर्नु हुँदैन। (२ समु. १७:२७-२९) साँच्चै, यस्ता असल साथीहरू यहोवाले दिनुभएका उपहार हुन्‌।—याकु. १:१७.

हामी कसरी आफ्नो शान्ति कायम राख्न सक्छौँ?

१६. फिलिप्पी ४:६, ७ अनुसार हामीले मनोशान्ति पाउन सक्ने एउटै मात्र तरिका के हो? व्याख्या गर्नुहोस्‌।

१६ फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्‌। आफूले दिने शान्ति “ख्रिष्ट येसुद्वारा” पाउन सकिन्छ भनेर यहोवाले किन भन्‍नुभयो? किनकि हामीले यहोवाको उद्देश्‍यमा येसुको भूमिका बुझ्यौँ र त्यसमा विश्‍वास गऱ्‍यौँ भने मात्र हामी हृदय र दिमागको शान्ति पाउन सक्छौँ र त्यो कायम राख्न सक्छौँ। उदाहरणको लागि, येसुले चढाउनुभएको फिरौतीको बलिदानद्वारा हामी आफ्ना पापहरूको क्षमा पाउन सक्छौँ। (१ युह. २:१२) यो कुरा विचार गर्दा हामी ठूलो राहत महसुस गर्छौँ! येसु परमेश्‍वरको राज्यको राजा हुनुहुन्छ र उहाँले हामीलाई सैतान र त्यसको संसारले गर्दा भोग्नुपरेको दुःखकष्टबाट मुक्‍त गर्नुहुनेछ। (यसै. ६५:१७; १ युह. ३:८; प्रका. २१:३, ४) यसले हामीलाई भविष्यको उज्ज्वल आशा दिन्छ! अनि येसुले हामीलाई दिनुभएको काम जति नै चुनौतीपूर्ण भए पनि यस अन्तको दिनमा उहाँ हामीसितै हुनुहुन्छ र उहाँले हामीलाई साथ दिइरहनुभएको छ। (मत्ति २८:१९, २०) यसले पक्कै पनि हाम्रो साहस बढाउँछ! राहत, आशा र साहस—मनोशान्ति कायम राख्न यी कुराहरू अत्यन्तै महत्त्वपूर्ण छन्‌।

१७. (क) तपाईँ कसरी आफ्नो मनोशान्ति कायम राख्न सक्नुहुन्छ? (ख) युहन्‍ना १६:३३ मा प्रतिज्ञा गरिएझैँ हामीले के गर्न सक्नेछौँ?

१७ त्यसोभए कठिन परीक्षाले गर्दा व्याकुल भएको बेला तपाईँ कसरी आफ्नो मनोशान्ति कायम राख्न सक्नुहुन्छ? त्यसको लागि तपाईँले येसुले गर्नुभएका कुराहरू गर्नुपर्छ। पहिलो, प्रार्थना गर्नुपर्छ र परिस्थितिले जस्तोसुकै मोड लिए पनि प्रार्थना गर्न छोड्‌नु हुँदैन। दोस्रो, गाह्रो हुँदा समेत यहोवाको आज्ञा पालन गर्दै जोसका साथ प्रचार गर्नुपर्छ। अनि तेस्रो, परीक्षाहरू आइपर्दा आफ्ना साथीहरूको मदत स्विकार्नुपर्छ। त्यसपछि परमेश्‍वरको शान्तिले तपाईँको हृदय र दिमागको रक्षा गर्नेछ अनि येसुले जस्तै तपाईँले पनि जस्तोसुकै परीक्षालाई जित्न सक्नुहुनेछ।युहन्‍ना १६:३३ पढ्‌नुहोस्‌।

गीत ४१ मेरो बिन्ती सुनिदिनुहोस्‌

^ अनु. 5 हामी सबैले शान्ति खोस्न सक्ने विभिन्‍न समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। यस लेखमा आफ्नो शान्ति कायम राख्न येसुले गर्नुभएको र हामीले पनि गर्न सक्ने तीन वटा कुराबारे छलफल गर्नेछौँ, जसले हामीलाई कठिन परीक्षाहरूको सामना गर्नुपर्दा समेत शान्ति कायम राख्न मदत गर्छ।