सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १४

के तपाईँ आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्दै हुनुहुन्छ?

के तपाईँ आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्दै हुनुहुन्छ?

“सुसमाचार प्रचार गरिरह र आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर।”—२ तिमो. ४:५, फुटनोट।

गीत ५७ सबै किसिमका मानिसलाई प्रचार गरौँ!

परिचय *

मृत्युबाट जीवित हुनुभएपछि येसुले आफ्ना चेलाहरूलाई भेट्‌नुभयो र तिनीहरूलाई “जाओ र . . . चेला बनाओ” भनी निर्देशन दिनुभयो (अनुच्छेद १ हेर्नुहोस्‌)

१. परमेश्‍वरका सबै सेवक के गर्न चाहन्छन्‌ र किन? (आवरण पृष्ठको चित्र हेर्नुहोस्‌)

ख्रिष्ट येसुले आफ्ना अनुयायीहरूलाई “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ” भन्‍ने आज्ञा दिनुभयो। (मत्ति २८:१९) परमेश्‍वरका सबै वफादार सेवक आफूलाई सुम्पिइएको यो सेवाको काम ‘राम्ररी पूरा गर्न’ सिक्न चाहन्छन्‌। (२ तिमो. ४:५) हुन पनि हामीले गर्नुपर्ने यो जत्तिको महत्त्वपूर्ण, अर्थपूर्ण र जरुरी काम अरू कुनै पनि छैन। तर सेवाको काममा आफूले चाहेजति समय बिताउन भने गाह्रो हुन सक्छ।

२. हामीले कस्ता कठिन परिस्थितिहरूसित जुझ्दै सेवाको काम पूरा गर्नुपर्ने हुन्छ?

हामीले गर्नुपर्ने महत्त्वपूर्ण कामहरू अरू पनि छन्‌, जसले हाम्रो समय र शक्‍ति खान्छ। हामीले आफ्नो र आफ्नो परिवारको भौतिक आवश्‍यकताहरू पूरा गर्न हरेक दिन धेरै घण्टा जागिरमा बिताउनुपर्ने हुन सक्छ। हामीले पूरा गर्नुपर्ने अरू पारिवारिक जिम्मेवारीहरू पनि होलान्‌। अथवा हामी रोगबिमार, डिप्रेसनको सिकार भएका छौँ होला; ढल्कँदो उमेरले गर्दा शरीरले पनि साथ दिँदैन होला। यस्ता कठिन परिस्थितिहरूसित जुझ्दै हामी आफूलाई सुम्पिइएको सेवाको काम कसरी राम्ररी पूरा गर्न सक्छौँ?

३. येसुले मत्ति १३:२३ मा भन्‍नुभएका शब्दहरूबाट हामी कस्तो निष्कर्षमा पुग्न सक्छौँ?

हाम्रो परिस्थितिले गर्दा यहोवाको सेवामा आफूले चाहेजति समय बिताउन सक्दैनौँ भने हामी निरुत्साहित हुनु पर्दैन। हामी प्रत्येकले एउटै मात्रामा राज्यको फल फलाउन सक्नेछैनौँ भनेर येसुलाई थाह थियो। (मत्ति १३:२३ पढ्‌नुहोस्‌) तनमनले यहोवाको सेवा गर्न हामीले गरेको हरेक प्रयासको यहोवा अत्यन्तै मोल गर्नुहुन्छ। (हिब्रू ६:१०-१२) तर आफ्नो परिस्थितिलाई केलाएर हेर्दा आफूले यहोवाको सेवामा अझ केही गर्न सक्ने ठाउँ देख्न सक्छौँ। त्यसैले यस लेखमा हामी यी बुँदाहरू केलाउनेछौँ: हामी कसरी सेवाको कामलाई आफ्नो जीवनमा प्राथमिकता दिन सक्छौँ? हामी कसरी आफ्नो जीवन सरल बनाउन सक्छौँ? हामी कसरी प्रचार गर्ने र सिकाउने सीप अझ तिखार्न सक्छौँ? तर सबैभन्दा पहिला, आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्नु भनेको के हो, त्यो बुझौँ।

४. सेवाको काम राम्ररी पूरा गर्नु भनेको के हो?

सरल शब्दमा भन्‍ने हो भने, सेवाको काम राम्ररी पूरा गर्न हामीले प्रचार गर्ने र सिकाउने काममा पूरापूर भाग लिनुपर्छ। तर यसको मतलब हामी सेवाको काम गर्न कति समय बिताउँछौँ भन्‍ने मात्र होइन। हामी कस्तो मनसायले यो काममा भाग लिइरहेका छौँ, त्यसलाई यहोवा महत्त्वपूर्ण ठान्‍नुहुन्छ। हामी यहोवालाई र हाम्रा छिमेकीलाई प्रेम गर्छौँ, त्यसैले आफूलाई सुम्पिइएको सेवाको काम * तनमन लगाएर पूरा गर्छौँ। (मर्कु. १२:३०, ३१; कल. ३:२३) तनमनले परमेश्‍वरको सेवा गर्नु भनेको उहाँको सेवामा राजीखुसीले र यथासम्भव आफ्नो शक्‍ति खर्च गर्नु हो। प्रचारकार्यमा भाग लिन पाउनु कत्ति ठूलो सुअवसर हो भनेर बुझेका छौँ भने हामी सकेसम्म धेरैलाई सुसमाचार सुनाउन कोसिस गर्नेछौँ।

५-६. के आफूसित थोरै समय मात्र भएको व्यक्‍तिले प्रचारकार्यलाई प्राथमिकता दिन सक्छ? उदाहरणसहित बताउनुहोस्‌।

कल्पना गर्नुहोस्‌, एक जना युवकलाई गितार बजाउन मन पर्छ। तिनी मौका पाउनेबित्तिकै गितार बजाइहाल्छन्‌। पछि, तिनले एउटा क्याफेमा सप्ताहन्तमा गितार बजाउने काम पाउँछन्‌। तर त्यसबाट आउने पैसाले आफ्नो खर्च धान्‍न पुग्दैन। त्यसैले तिनी सोमबारदेखि शुक्रबारसम्म एउटा किराना पसलमा काम गर्छन्‌। हुनत तिनी प्रायजसो समय किराना पसलमै बिताउँछन्‌, तर तिनको मन भने सङ्‌गीतमै छ। तिनी गितार बजाउने आफ्नो सीपलाई अझ तिखार्न र त्यसलाई नै आफ्नो पेसा बनाउन चाहन्छन्‌। तैपनि आफूले मौका पाउनेबित्तिकै थोरै समय मात्र भए पनि गितार बजाउन पाउँदा तिनी खुसी हुन्छन्‌।

त्यसरी नै, तपाईँसित पनि प्रचारकार्यमा बिताउन सक्ने समय थोरै मात्र छ होला। तर तपाईँको मन भने प्रचारकार्यमै छ। त्यसैले मानिसहरूको मनसम्म पुग्ने तरिकाले सुसमाचार सुनाउन तपाईँ आफ्नो सीप तिखार्ने कोसिस गर्नुहुन्छ। आफूले गर्नुपर्ने कामहरू धेरै भएकोले प्रचारकार्यलाई आफ्नो जीवनमा कसरी प्राथमिकता दिन सकिएला जस्तो तपाईँलाई लाग्छ होला।

हामी कसरी सेवाको कामलाई प्राथमिकता दिन सक्छौँ?

७-८. सेवाको कामप्रति येसुले राख्नुभएको दृष्टिकोण हामी कसरी अनुकरण गर्न सक्छौँ?

सेवाको कामप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ भन्‍ने सन्दर्भमा येसुले उत्कृष्ट उदाहरण बसाल्नुभयो। उहाँको जीवनको सबैभन्दा महत्त्वपूर्ण काम परमेश्‍वरको राज्यबारे अरूलाई बताउनु थियो। (युह. ४:३४, ३५) सकेसम्म धेरै मानिसलाई प्रचार गर्न उहाँ सयौँ किलोमिटर हिँड्‌नुभयो। उहाँले सार्वजनिक ठाउँमा र घरघरमा मानिसहरूसित कुरा गर्ने हरेक मौकाको सदुपयोग गर्नुभयो। येसुको सम्पूर्ण जीवन सेवाको काम पूरा गर्नुमा केन्द्रित थियो।

जुनसुकै ठाउँमा अनि जुनसुकै समयमा सुसमाचार प्रचार गर्ने मौका खोजेर हामी ख्रिष्टको उदाहरण अनुकरण गर्न सक्छौँ। प्रचारकार्यमा भाग लिन हामी आफ्नो सुखसुविधा त्याग्न तयार हुन्छौँ। (मर्कु. ६:३१-३४; १ पत्रु. २:२१) मण्डलीका कोही-कोही विशेष अग्रगामी, नियमित अग्रगामी वा सहायक अग्रगामीको रूपमा सेवा गर्छन्‌। कतिपयले भने अर्को भाषा सिकेका छन्‌ वा प्रचारकहरूको धेरै आवश्‍यकता भएको ठाउँमा बसाइँ सरेका छन्‌। तैपनि अधिकांश प्रचारकार्य भने मण्डलीका साधारण प्रकाशकहरूले नै गरिरहेका छन्‌, जो यथासक्दो प्रचारकार्यमा भाग लिन्छन्‌। हामीले जस्तोसुकै तरिकामा यहोवाको सेवा गरिरहेको भए तापनि हामीले दिन सक्नेभन्दा धेरै कुरा यहोवा माग गर्नुहुन्‍न। “आनन्दित परमेश्‍वरको महिमित सुसमाचार” सुनाउँदै हामी सबै जना पवित्र सेवामा रमाएको उहाँ चाहनुहुन्छ।—१ तिमो. १:११; व्यव. ३०:११.

९. (क) पाल सिलाउने काम गर्नुपरे तापनि पावलले प्रचारकार्यलाई कसरी प्राथमिकता दिए? (ख) प्रेषित २८:१६, ३०, ३१ अनुसार पावलले सेवाको कामप्रति कस्तो मनोवृत्ति राखे?

आफ्नो जीवनमा सेवाको कामलाई प्राथमिकता दिने सन्दर्भमा प्रेषित पावलले राम्रो उदाहरण बसाले। दोस्रो मिसनरी यात्राको दौडान कोरिन्थमा छँदा तिनीसित थोरै मात्र पैसा थियो र तिनले केही समय पाल सिलाउने काम गर्नुपऱ्‍यो। तर पावलले पाल सिलाउने कामलाई आफ्नो मुख्य काम ठानेनन्‌। सेवाको कामलाई अघि बढाउन सकियोस्‌ भनेर तिनले पाल सिलाउने काम गरे किनभने यसो गरेको खण्डमा तिनले कोरिन्थबासीहरूसित कुनै “शुल्क नलिई” सुसमाचार सुनाउन सक्ने थिए। (१ कोरि. ९:१८) पावलले केही समय पाल सिलाउने काम गर्नुपरे तापनि तिनले सेवाको कामलाई प्राथमिकता दिइरहे र हरेक विश्रामदिनमा प्रचार गर्न छोडेनन्‌। आफ्नो परिस्थिति अझ राम्रो भएपछि पावलले प्रचारकार्यमा अझ धेरै ध्यान दिन सके। तिनी “वचन प्रचार गर्नमा व्यस्त भए अनि येसु नै ख्रिष्ट हुनुहुन्छ भन्‍ने प्रमाण दिन यहुदीहरूलाई साक्षी दिन थाले।” (प्रेषि. १८:३-५; २ कोरि. ११:९) पछि तिनलाई रोममा दुई वर्षसम्म घरमा नजरबन्दमा राखिँदा तिनले पत्रहरू लेखे र आफूकहाँ आउनेहरूलाई प्रचार गरे। (प्रेषित २८:१६, ३०, ३१ पढ्‌नुहोस्‌) पावलले सेवाको कामलाई कुनै पनि कुराले बाधा पुऱ्‍याउन नदिने दृढ सङ्‌कल्प गरेका थिए। तिनले यस्तो लेखे: “हामी हरेस खाँदैनौँ किनभने . . . हामीलाई यो सेवा सुम्पिइएको छ।” (२ कोरि. ४:१) हामीले जागिरमा धेरै समय बिताउनुपरे तापनि पावलले जस्तै परमेश्‍वरको राज्यसम्बन्धी कामलाई आफ्नो जीवनमा प्राथमिकता दिन सक्छौँ।

हामी विभिन्‍न तरिकामा सेवाको काम राम्ररी पूरा गर्न सक्छौँ (अनुच्छेद १०-११ हेर्नुहोस्‌)

१०-११. स्वास्थ्य समस्याले गर्दा प्रचारमा धेरै भाग लिन सक्दैनौँ भने पनि हामी सेवाको काम कसरी राम्ररी पूरा गर्न सक्छौँ?

१० ढल्कँदो उमेर वा स्वास्थ्य समस्याहरूले गर्दा घरघरको प्रचारकार्यमा धेरै भाग लिन सक्दैनौँ भने अरू नै तरिकामा प्रचार गर्न सक्छौँ। प्रथम शताब्दीका ख्रिष्टियनहरू मानिसहरू जहाँ-जहाँ भेटिन्थे, त्यहीँ-त्यहीँ प्रचार गर्थे। तिनीहरू ‘ज-जसलाई भेट्‌थे’ उनीहरू सबैलाई सत्य सुनाउने हरेक मौकाको सदुपयोग गर्थे; तिनीहरू घरघरमा, जनसमक्ष र अनौपचारिक तवरमा साक्षी दिन्थे। (प्रेषि. १७:१७; २०:२०) हामी धेरै हिँड्‌न सक्दैनौँ भने कुनै सार्वजनिक ठाउँमा बसेर त्यहाँबाट ओहोरदोहोर गर्ने बटुवाहरूलाई प्रचार गर्न सक्छौँ कि? अथवा अनौपचारिक तवरमा प्रचार गर्न, चिठी वा टेलिफोनद्वारा साक्षी दिन सक्छौँ कि? घरघरको प्रचारमा खासै भाग लिन नसक्ने प्रकाशकहरूले प्रचारकार्यका यी विभिन्‍न पक्षहरूमा भाग लिएर निकै आनन्द र सन्तुष्टि पाएका छन्‌।

११ स्वास्थ्य समस्याहरू भए तापनि तपाईँ सेवाको काम राम्ररी पूरा गर्न सक्नुहुन्छ। प्रेषित पावलको उदाहरण फेरि विचार गर्नुहोस्‌। तिनले यसो भने: “किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।” (फिलि. ४:१३) एउटा मिसनरी यात्राको दौडान बिरामी पर्दा पावललाई त्यस्तो बल चाहिएको थियो। तिनले गलातीका ख्रिष्टियनहरूलाई यसो भने: “म बिरामी परेकोले तिमीहरूलाई पहिलो पटक सुसमाचार सुनाउने मौका पाएको थिएँ।” (गला. ४:१३) त्यसरी नै, तपाईँ शारीरिक तवरमा अस्वस्थ हुनुहुन्छ भने घरघरको प्रचारमा नभेटिने व्यक्‍तिहरू, जस्तै: डाक्टर, नर्स र स्याहारसुसार गर्नेहरूलाई सुसमाचार प्रचार गर्ने मौका पाउन सक्नुहुन्छ। किनकि प्रकाशकहरू घरघरको प्रचारमा जाँदा त्यस्ता व्यक्‍तिहरू प्रायजसो काममै हुन्छन्‌।

तपाईँ कसरी आफ्नो जीवन सरल बनाउन सक्नुहुन्छ?

१२. हामी कसरी आफ्नो आँखा “एउटै कुरामा केन्द्रित” गर्न सक्छौँ?

१२ येसुले यसो भन्‍नुभयो: “शरीरको बत्ती आँखा हो। त्यसैले यदि तिम्रो आँखा एउटै कुरामा केन्द्रित [वा “सरल,” फुटनोट] छ भने तिम्रो पूरै शरीर उज्यालो हुनेछ।” (मत्ति ६:२२) उहाँले के भन्‍न खोज्नुभएको थियो? हामीले आफ्नो जीवनलाई सरल बनाउनुपर्छ, हामी एउटा लक्ष्य अर्थात्‌ उद्देश्‍यमा केन्द्रित हुनुपर्छ अनि त्यसबाट यताउता अलमलिनु वा अर्कै कुरामा ध्यान लगाउनु हुँदैन। येसुले आफ्नो जीवन सेवाको काममा केन्द्रित गरेर राम्रो उदाहरण बसाल्नुभयो। अनि उहाँले आफ्ना चेलाहरूलाई पनि यहोवाको सेवामा र उहाँको राज्यमा ध्यान केन्द्रित गर्न सिकाउनुभयो। हामी पनि येसुको अनुकरण गर्दै सेवाको काम पूरा गर्नुलाई प्राथमिकता दिन्छौँ र “[परमेश्‍वरको] राज्यलाई र उहाँको धार्मिक स्तरलाई पहिलो स्थान” दिइरहन्छौँ।—मत्ति ६:३३.

१३. सेवाको काममा ध्यान केन्द्रित गर्न हामी के गर्न सक्छौँ?

१३ सेवाको काममा ध्यान केन्द्रित गर्ने एउटा तरिका आफ्नो जीवन सरल बनाउनु हो। यसो गऱ्‍यौँ भने यहोवालाई चिन्‍न र उहाँलाई प्रेम गर्न अरूलाई मदत गर्ने काममा धेरै समय बिताउन सक्छौँ। * उदाहरणको लागि, सप्ताहन्तबाहेक अरू दिन पनि सेवाको काममा अझ धेरै समय बिताउन आफूले जागिरमा बिताउने समयमा छाँटकाँट गर्न सक्छौँ कि? रमाइलोको लागि गरिने गतिविधिहरू, जसले धेरै समय खान सक्छ, त्यसलाई अलि कम गर्न सक्छौँ कि?

१४. प्रचारकार्यमा अझ धेरै समय बिताउन र त्यसमा ध्यान दिन एक दम्पतीले कस्ता छाँटकाँट गरे?

१४ एलियास नाम गरेका एल्डर र तिनकी पत्नीले त्यसै गरे। तिनी भन्छन्‌: “हामी तुरुन्तै अग्रगामी सेवा सुरु गर्न सक्ने अवस्थामा थिएनौँ तर हामीले गर्न सक्ने केही कुराहरू भने थिए। त्यसैले प्रचारकार्यमा अझ धेरै समय बिताउन हामीले केही कदम चाल्यौँ। उदाहरणको लागि, हामीले खर्च कम गऱ्‍यौँ, मनोरञ्जनको लागि बिताइरहेको समयमा कटौती गऱ्‍यौँ किनभने अहिले फर्केर हेर्दा हामीले मनोरञ्जनमा निकै समय बिताइरहेका रहेछौँ। साथै हामी दुवैले आफ्ना हाकिमहरूलाई हाम्रो काम गर्ने समय अलि छाँटकाँट गरिदिन आग्रह गऱ्‍यौँ। परिणामस्वरूप हामीले साँझको प्रचारकार्यमा भाग लिन, धेरै बाइबल अध्ययन सञ्चालन गर्न अनि महिनाको दुई चोटि सप्ताहन्तबाहेक अरू दिन पनि प्रचारकार्यमा भाग लिन सक्यौँ। यसो गर्दा हामी साँच्चै रमाउन सक्यौँ!”

प्रचार गर्ने र सिकाउने सीप हामी कसरी तिखार्न सक्छौँ?

मध्यहप्ताको सभामा सिकेका कुराहरू लागू गर्दा हामी प्रचार गर्ने र सिकाउने काममा निरन्तर प्रगति गरिरहन सक्छौँ (अनुच्छेद १५-१६ हेर्नुहोस्‌) *

१५-१६. पहिलो तिमोथि ४:१३, १५ को सल्लाह लागू गर्दै प्रचारकको रूपमा हामी आफ्नो सीप कसरी तिखारिरहन सक्छौँ? (“ सेवाको काम राम्ररी पूरा गर्न म यस्ता लक्ष्यहरू राख्न सक्छु” भन्‍ने पेटी पनि हेर्नुहोस्‌)

१५ सेवाको कामलाई अझ राम्ररी पूरा गर्ने अर्को तरिका प्रचार गर्ने सीप तिखारेर हो। कुनै-कुनै पेसामा लागेका मानिसहरूले आफ्नो ज्ञान र सीप विकास गर्न निरन्तर तालिम र शिक्षा लिइरहनुपर्ने हुन्छ। राज्य प्रचारकहरूको सन्दर्भमा पनि कुरा यस्तै हो। सेवाको काम पूरा गर्न अझ सिपालु हुन हामीले निरन्तर सिकिरहनुपर्छ।—हितो. १:५; १ तिमोथि ४:१३, १५ पढ्‌नुहोस्‌।

१६ तर हामी सेवाको काममा कसरी प्रगति गरिरहन सक्छौँ? जीवन र प्रचारकार्य सभा-मा हरेक हप्ता दिइने निर्देशनलाई ध्यान दिई सुनेर। यस सभाबाट क्षेत्र सेवामा आफ्नो सीप तिखारिरहन हामीलाई नभई नहुने प्रशिक्षण पाउँछौँ। उदाहरणको लागि, विद्यार्थीहरूले आफ्नो असाइनमेन्ट दिइसकेपछि चेयरम्यानले केही सल्लाह दिँदा आफ्नो प्रचारकार्यलाई तिखार्न मदत गर्ने सुझावहरू हामी याद गर्न सक्छौँ। अनि अर्को पटक कसैलाई सुसमाचार सुनाउँदा ती सुझावहरू लागू गर्न सक्छौँ। हामी क्षेत्र सेवा समूहको निरीक्षकसित मदत माग्न सक्छौँ वा तिनीसँगै प्रचारकार्यमा भाग लिन सक्छौँ। अथवा अरू कोही अनुभवी प्रकाशक, अग्रगामी वा क्षेत्रीय निरीक्षकसँग प्रचारकार्यमा जान सक्छौँ। शिक्षण सामग्री-मा दिइएका प्रत्येक सामग्री प्रयोग गर्न सिपालु भयौँ भने हामी प्रचार गर्ने र सिकाउने काममा अझ रमाउन सक्नेछौँ।

१७. सेवाको काम राम्ररी पूरा गर्दा तपाईँले कस्तो अनुभव गर्नुहुनेछ?

१७ यहोवाले हामीलाई आफ्ना “सहकर्मीहरू” ठान्‍नु कत्ति ठूलो सुअवसर हो! (१ कोरि. ३:९) तपाईँले ‘अझ महत्त्वपूर्ण कुराहरू पक्का गर्नुभयो’ र सेवाको काममा ध्यान केन्द्रित गर्नुभयो भने ‘रमाउँदै यहोवाको सेवा गर्न सक्नुहुनेछ।’ (फिलि. १:१०; भज. १००:२) तपाईँ परमेश्‍वरको सेवक हुनुभएकोले आफूले जस्तोसुकै चुनौती वा गाह्रो अवस्था सामना गर्नुपरे तापनि सेवाको काम पूरा गर्न चाहिने शक्‍ति उहाँले दिनुहुनेछ भनेर तपाईँ ढुक्क हुन सक्नुहुन्छ। (२ कोरि. ४:१, ७; ६:४) आफ्नो परिस्थितिअनुसार चाहे थोरै होस्‌ वा धेरै, प्रचारकार्यमा तनमन लगाएर भाग लिँदा तपाईँले “रमाउने कारण” पाउनुहुनेछ। (गला. ६:४) सेवाको काम अझ राम्ररी पूरा गर्दा तपाईँले यहोवाप्रति र सङ्‌गी मानिसहरूप्रति प्रेम देखाइरहनुभएको हुनेछ। ‘यसो गर्नुभयो भने तपाईँले आफ्नो र तपाईँको कुरा सुन्‍नेहरूको उद्धार गर्नुहुनेछ।’—१ तिमो. ४:१६.

गीत ५८ शान्तिप्रेमी मानिसहरू खोजिरहौँ!

^ अनु. 5 हामीलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने र चेला बनाउने आज्ञा दिइएको छ। परिस्थिति गाह्रो भए तापनि आफूलाई सुम्पिइएको सेवाको काम कसरी राम्ररी पूरा गर्न सक्छौँ भनेर यस लेखमा छलफल गर्नेछौँ। प्रचारकार्यलाई अझ प्रभावकारी र इनामदायी बनाउन के गर्न सक्छौँ भनेर पनि सिक्नेछौँ।

^ अनु. 4 थप व्याख्या: हामीलाई सुम्पिइएको सेवाको काममा प्रचार गर्ने र सिकाउने, ईश्‍वरतान्त्रिक गतिविधिहरूको लागि प्रयोग गरिने भवनहरूको निर्माण तथा स्याहारसम्भार गर्ने र राहतकार्यमा भाग लिने जस्ता कामहरू पर्छन्‌।—२ कोरि. ५:१८, १९; ८:४.

^ अनु. 13 प्रहरीधरहरा, जुलाई २०१६, पृष्ठ १० मा भएको “जीवनशैली कसरी सरल बनाउने?” भन्‍ने पेटीमा दिइएका सात वटा तरिका हेर्नुहोस्‌।

^ अनु. 62 चित्रको व्याख्या पृष्ठ ६: मध्यहप्ताको सभामा एउटी बहिनीले पुनःभेटको नमुना देखाउँछिन्‌। त्यसपछि चेयरम्यानले सल्लाह दिँदा ती बहिनीले पढ्‌ने र सिकाउने पुस्तिकामा टिपोट लिन्छिन्‌। पछि सप्ताहन्तमा क्षेत्र सेवामा भाग लिँदा तिनी सभामा आफूले सिकेको कुरा लागू गर्छिन्‌।