सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १४

उत्तरबाट आउने आक्रमण!

उत्तरबाट आउने आक्रमण!

“मेरो भूमिविरुद्ध एउटा जाति खडा भएको छ।”—योए. १:६.

गीत ९५ ज्योति झनै चहकिलो भयो

परिचय *

१. भाइ रसल र तिनका सहयोगीहरूले कसरी अध्ययन गर्थे? त्यो किन प्रभावकारी तरिका थियो?

एक शताब्दीभन्दा अघिको कुरा हो, भाइ चार्ल्स टेज रसल र तिनका सहयोगीहरू अनि परमेश्‍वरको वचन अध्ययन गर्ने अरू विद्यार्थीहरूको एउटा सानो समूह एकसाथ भेला हुन थाले। तिनीहरू बाइबलले यहोवा परमेश्‍वर, येसु ख्रिष्ट, मरेकाहरूको अवस्था अनि फिरौतीबारे सिकाउने वास्तविक कुरा सिक्न चाहन्थे। तिनीहरूको अध्ययन गर्ने तरिका सरल थियो। सुरुमा एक जनाले प्रश्‍न गर्थ्यो अनि सबै जना मिलेर त्यस विषयसित सम्बन्धित एक-एक बाइबल पद केलाउँथे। त्यसपछि अनुसन्धान गरेर पत्ता लागेका कुराहरू लेखेर राख्थे। यहोवाको आशिष्‌ले गर्दा ती लगनशील ख्रिष्टियन भाइहरूले बाइबलका थुप्रै आधारभूत सत्य पत्ता लगाए, जुन आज हाम्रो लागि पनि महत्त्वपूर्ण छ।

२. बाइबल भविष्यवाणीहरू बुझ्ने कोसिस गर्दा कहिलेकाहीँ हामी किन गलत निष्कर्षमा पुग्न सक्छौँ?

तर ती बाइबल विद्यार्थीहरूले बाइबलका आधारभूत शिक्षाहरूभन्दा भविष्यवाणीहरू बुझ्न झनै गाह्रो रहेछ भनेर चाँडै महसुस गर्न थाले। किन? एउटा कारण, अक्सर भविष्यवाणीहरू पूरा हुँदै गर्दा वा पूरा भइसकेपछि मात्र स्पष्टसँग बुझ्न सकिन्छ। तर अर्को कारण पनि छ। कुनै भविष्यवाणी राम्ररी बुझ्न हामीले त्यसको एउटा अंश मात्र नभई पूरै भविष्यवाणी विचार गर्नुपर्छ। यदि हामीले भविष्यवाणीको एउटा अंशमा मात्र ध्यान दियौँ र बाँकीलाई बेवास्ता गऱ्‍यौँ भने गलत निष्कर्षमा पुग्न सक्छौँ। योएलको किताबमा पाइने भविष्यवाणीको सन्दर्भमा पनि यस्तै भएको जस्तो देखिन्छ। आउनुहोस्‌, त्यो भविष्यवाणी फेरि केलाऔँ र हाम्रो हालको बुझाइमा किन छाँटकाँटको आवश्‍यकता पऱ्‍यो, विचार गरौँ।

३-४. हामीले योएल २:७-९ मा पाइने भविष्यवाणी कसरी बुझ्दै आएका थियौँ?

योएल २:७-९ पढ्‌नुहोस्‌। सलहको विपत्तिले इस्राएल राष्ट्रलाई विनाश गर्नेछ भनेर योएलले भविष्यवाणी गरे। सिंहका जस्ता दाँत र बङ्‌गारा भएका ती खन्चुवा किराहरूले इस्राएलमा भएको वनस्पति सखाप पार्ने थिए। (योए. १:४, ६) धेरै वर्षदेखि हामीले त्यस भविष्यवाणीले यहोवाका जनहरूलाई चित्रण गर्छ, जसले रोक्नै नसकिने बथाने सलहले जसरी नै प्रचार गर्छन्‌ भनेर बुझेका थियौँ। यसले ‘भूमि’ अर्थात्‌ धार्मिक नेताहरूको अधीनमा भएका मानिसहरूमाथि पार्ने क्षतिलाई चित्रण गर्छ भनेर बुझेका थियौँ। *

योएल २:७-९ मात्र पढ्‌ने हो भने त्यो बुझाइ सही हो जस्तो लाग्न सक्छ। तर पूरै भविष्यवाणी विचार गर्ने हो भने हाम्रो बुझाइमा छाँटकाँट गर्नुपर्ने आवश्‍यकता देखिन्छ। किन? त्यसको चार वटा कारण विचार गरौँ।

छाँटकाँट गर्नुपर्ने चार कारण

५-६. यी पदहरू विचार गर्दा कस्ता प्रश्‍नहरू खडा हुन्छन्‌: (क) योएल २:२०? (ख) योएल २:२५?

पहिलो कारण, यहोवा परमेश्‍वरले सलहको विपत्तिबारे के प्रतिज्ञा गर्नुभएको थियो, विचार गरौँ: “उत्तरबाट आउनेलाई [अर्थात्‌ सलहलाई] म तिमीदेखि टाढा भगाइदिनेछु।” (योए. २:२०) यदि सलहले प्रचार गर्नू अनि चेला बनाउनू भन्‍ने येसुको आज्ञा पालन गर्ने यहोवाका साक्षीहरूलाई बुझाउँछ भने यहोवाले किन तिनीहरूलाई टाढा भगाउने प्रतिज्ञा गर्नुभयो? (इज. ३३:७-९; मत्ति २८:१९, २०) स्पष्ट छ, यहोवा आफ्ना वफादार सेवकहरूलाई नभई अरू नै कुरालाई वा अरू कसैलाई टाढा भगाउँदै हुनुहुन्छ, जसले यहोवाका जनहरूलाई आफ्नो शत्रु ठान्छ।

दोस्रो कारण बुझ्न योएल २:२५ मा के लेखिएको छ, विचार गरौँ। त्यहाँ यहोवाले यसो भन्‍नुभएको छ: “मैले पठाएको विशाल सेनाले—बथाने सलह, पखेटा नभएका सलह, भोका सलह र खन्चुवा सलहले जति वर्षसम्म नोक्सानी गरेको थियो, त्यसको म क्षतिपूर्ति गरिदिनेछु।” याद गर्नुहोस्‌, सलहले गर्दा भएको नोक्सानीको “क्षतिपूर्ति गरिदिनेछु” भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको छ। यदि सलहले राज्य प्रचारकहरूलाई चित्रण गर्छ भने यो विवरणअनुसार उनीहरूले सुनाउने सन्देशले हानि पुऱ्‍याउने थियो। तर उनीहरूले सुनाउने जीवनदायी सन्देशले वास्तवमा कोही-कोही दुष्ट मानिसलाई पश्‍चात्ताप गर्न उत्प्रेरित गर्न सक्छ। (इज. ३३:८, १९) यो तिनीहरूको लागि नोक्सानी होइन, साँच्चै ठूलो आशिष्‌ हो!

७. योएल २:२८, २९ मा उल्लेख गरिएको “तब” भन्‍ने शब्दबाट हामी के बुझ्न सक्छौँ?

योएल २:२८, २९ पढ्‌नुहोस्‌। तेस्रो कारण विचार गरौँ। त्यो हो, भविष्यवाणीमा उल्लेख गरिएका घटनाहरूको क्रम। यहोवा परमेश्‍वरले भन्‍नुभएको कुरा विचार गर्नुहोस्‌: “तब म सबै मानिसमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु।” यो घटना सलहले आफूलाई सुम्पिइएको काम सिध्याएपछि हुन्छ। यदि सलहले परमेश्‍वरको राज्यका प्रचारकहरूलाई बुझाउँछ भने तिनीहरूले साक्षी दिन सिध्याएपछि यहोवाले किन तिनीहरूमाथि पवित्र शक्‍ति खन्याउनुहुने थियो र? हुन पनि विरोधको सामना गर्नुपर्दा अनि तिनीहरूको काममा प्रतिबन्धसमेत लगाइँदा परमेश्‍वरको पवित्र शक्‍तिको मदतविना तिनीहरूले धेरै वर्षसम्म प्रचार गर्न सक्ने नै थिएनन्‌।

भाइ जे. एफ. रदरफोर्ड र अरू अभिषिक्‍त सेवकहरू, जसले नेतृत्व लिइरहेका थिए, तिनीहरूले साहसी भई यस दुष्ट युगलाई परमेश्‍वरको न्यायको सन्देश सुनाए (अनुच्छेद ८ हेर्नुहोस्‌)

८. प्रकाश ९:१-११ मा बताइएको सलहले कसलाई चित्रण गर्छ? (आवरण तस्बिर हेर्नुहोस्‌)

प्रकाश ९:१-११ पढ्‌नुहोस्‌। अब चौथो कारण विचार गरौँ। हामीले पहिला योएलले भविष्यवाणी गरेको सलहको विपत्तिले हाम्रो प्रचारकार्यलाई बुझाउँछ भनेर बुझेका थियौँ किनभने यस्तै भविष्यवाणी प्रकाशको किताबमा पनि पाइन्छ। त्यस भविष्यवाणीमा मानिसको जस्तो अनुहार भएको अनि “टाउकोमा सुनको मुकुटजस्तै केही चिज” भएको सलहको बथानबारे बताइएको छ। (प्रका. ९:७) तिनीहरूले “निधारमा परमेश्‍वरको छाप नभएका मानिसहरूलाई [अर्थात्‌ परमेश्‍वरका शत्रुहरूलाई]” पाँच महिनासम्म सास्ती दिने थिए; यो समयावधि सलहको औसत आयु हो। (प्रका. ९:४, ५) यस भविष्यवाणीले यहोवाका अभिषिक्‍त सेवकहरूबारे बताएको जस्तो देखिन्छ। तिनीहरूले यस दुष्ट युगलाई परमेश्‍वरको न्यायको सन्देश सुनाउँछन्‌। परिणामस्वरूप यस दुष्ट संसारको पक्ष लिनेहरू अत्तालिनेछन्‌।

९. योएलले देखेका अनि युहन्‍नाले बताएका सलहहरूबीच कस्ता महत्त्वपूर्ण भिन्‍नताहरू छन्‌?

हुनत प्रकाशको किताबमा पाइने भविष्यवाणी र योएलको किताबमा रेकर्ड गरिएको भविष्यवाणीबीच समानताहरू छन्‌। तर केही महत्त्वपूर्ण भिन्‍नताहरू पनि छन्‌। आउनुहोस्‌, विचार गरौँ: योएलको भविष्यवाणीमा सलहहरूले वनस्पति खाइदिन्छन्‌। (योए. १:४, ६, ७) युहन्‍नाले देखेको दर्शनमा भने सलहहरूलाई ‘वनस्पतिलाई हानि नगर्नू’ भनियो। (प्रका. ९:४) योएलले देखेका सलहहरू उत्तरबाट आएका थिए। (योए. २:२०) युहन्‍नाले देखेका सलहहरू अगाध खाडलबाट आएका थिए। (प्रका. ९:२, ३) योएलले देखेका सलहहरूलाई टाढा भगाइयो। तर प्रकाशको किताबका सलहहरूलाई धपाइएन बरु तिनीहरूलाई आफ्नो काम पूरा गर्न दिइयो। यहोवा तिनीहरूदेखि खुसी हुनुहुन्‍न थियो भन्‍ने कुनै छनक बाइबलमा पाइँदैन।—“ सलहका भविष्यवाणीहरू—उस्तै तर भिन्‍न” भन्‍ने पेटी हेर्नुहोस्‌।

१०. योएल अनि युहन्‍नाले बताएका सलहहरूले फरक-फरक कुरालाई चित्रण गर्न सक्छ भनेर बुझाउन बाइबलबाट एउटा उदाहरण दिनुहोस्‌।

१० यस्ता महत्त्वपूर्ण भिन्‍नताहरूबाट यी दुई भविष्यवाणी एकआपसमा सम्बन्धित छैनन्‌ भनेर हामी बुझ्न सक्छौँ। के यसको मतलब योएलले बताएको सलह अनि प्रकाशको किताबमा बताइएको सलह एउटै होइनन्‌ भन्‍न खोजिएको हो? हो। कहिलेकाहीँ बाइबलमा एउटै कुरालाई भिन्‍नाभिन्‍नै अर्थ बुझाउन प्रयोग गरिएको छ। उदाहरणको लागि, प्रकाश ५:५ मा येसुलाई “यहुदाको कुलको सिंह” भनिएको छ भने १ पत्रुस ५:८ मा दियाबललाई ‘गर्जने सिंह’ भनेर बताइएको छ। हाल उठेका प्रश्‍नहरू विचार गर्दा योएलको भविष्यवाणीको व्याख्याको बुझाइमा छाँटकाँट गर्नुपर्ने आवश्‍यकता देखिन्छ। त्यसोभए योएलको भविष्यवाणीको अर्थ के हुन सक्छ?

त्यसको अर्थ के हो?

११. सलहहरूले कसलाई चित्रण गर्छ भनेर बुझ्न योएल १:६ अनि २:१, ८, ११ ले कसरी मदत गर्छ?

११ योएलको भविष्यवाणीका अरू पदहरू केलाउँदा ती भविष्यवक्‍ताले सैन्य आक्रमणको अनुमान लगाएका थिए भनेर हामी बुझ्न सक्छौँ। (योए. १:६; २:१, ८, ११) यहोवाले अनाज्ञाकारी इस्राएलीहरूलाई सजाए दिन आफ्नो “विशाल सेना” (बेबिलोनी सिपाहीहरू) प्रयोग गर्नेछु भनेर बताउनुभएको थियो। (योए. २:२५) ती सेनालाई “उत्तरबाट” आउनेहरू भन्‍नु उचित छ किनभने बेबिलोनीहरूले इस्राएललाई उत्तरबाट आक्रमण गर्ने थिए। (योए. २:२०) त्यस सेनालाई व्यवस्थित सलहको बथानसित तुलना गरिएको छ। तिनीहरूबारे योएल यसो भन्छन्‌: “तिनीहरू [अर्थात्‌ सिपाहीहरू] प्रत्येक आफ्नै पङ्‌क्‍तिमा हिँड्‌छन्‌। . .  तिनीहरू सहरमा कुदेर पस्छन्‌ र पर्खाल माथिमाथि दौडेर जान्छन्‌। तिनीहरू घरमाथि चढ्‌छन्‌ र चोरजस्तै झ्यालबाट भित्र पस्छन्‌।” (योए. २:८, ९) यो दृश्‍य कल्पना गर्नुहोस्‌: जताततै सिपाहीहरू छन्‌, लुक्ने कुनै ठाउँ छैन। बेबिलोनी सेनाको हातबाट कोही पनि उम्कन सक्दैन!

१२. सलहहरूबारे योएलले गरेको भविष्यवाणी कसरी पूरा भयो?

१२ बेबिलोनीहरूले (वा कल्दियालीहरू) सलहहरूले जस्तै ईसापूर्व ६०७ मा यरुसलेम सहरमाथि आक्रमण गरे। बाइबल भन्छ: “कल्दियालीहरूका राजा[ले] . . . तिनीहरूका जवान मानिसहरूलाई तरबारले मारे। उनले ठिटा, ठिटी, वृद्ध, अशक्‍त कसैमाथि पनि दया देखाएनन्‌। परमेश्‍वरले सबथोक उनको हातमा दिनुभयो। उनले साँचो परमेश्‍वरको भवनमा र सबै बलिया-बलिया किल्लामा आगो लगाइदिए। साथै उनले यरुसलेमको पर्खाल भत्काइदिए र हरेक बहुमूल्य चिज नाश गरिदिए।” (२ इति. ३६:१७, १९) बेबिलोनीहरूले त्यो सहर नाश गरिसकेपछि मानिसहरूले यसो भने: “यो भूमि निर्जन हुनेछ, यहाँ कुनै मानिस वा पशु रहनेछैन, यो कल्दियालीहरूको हातमा सुम्पिइएको छ।”—यर्मि. ३२:४३.

१३. यर्मिया १६:१६, १८ को अर्थ व्याख्या गर्नुहोस्‌।

१३ योएलले भविष्यवाणी गरेको लगभग दुई सय वर्षपछि यहोवा परमेश्‍वरले त्यस आक्रमणबारे अरू थप भविष्यवाणी गर्न यर्मियालाई चलाउनुभयो। खराब कामकुरा गर्ने इस्राएलीहरूलाई आक्रमणकारीहरूले खोजीखोजी पक्रनेछन्‌ अनि तिनीहरू सबैलाई कैदी बनाउनेछन्‌ भनेर यर्मियाले बताए। “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘म धेरै जलारी पठाउनेछु, तिनीहरूले तिमीहरूलाई जालमा पार्नेछन्‌। त्यसपछि म थुप्रै सिकारी पठाउनेछु, तिनीहरूले तिमीहरूलाई डाँडापाखा अनि पहराका कुनाकाप्चामा खोजीखोजी सिकार गर्नेछन्‌। . . . म तिमीहरूले गरेको गल्ती र पापको पूरापूर हिसाब लिनेछु।’” पश्‍चात्ताप नगर्ने इस्राएलीहरूलाई बेबिलोनीहरूको हातबाट न समुद्रले न त जङ्‌गलले नै लुकाउन सक्ने थियो।—यर्मि. १६:१६, १८.

पुनर्स्थापना

१४. योएल २:२८, २९ को भविष्यवाणी कहिले पूरा भयो?

१४ अर्कोतर्फ, योएल पुनर्स्थापनाको एउटा सुसमाचार सुनाउँछन्‌। भूमिले फेरि प्रशस्त उब्जनी दिनेछ भनी तिनी बताउँछन्‌। (योए. २:२३-२६) भविष्यमा आध्यात्मिक भोजन प्रचुर मात्रामा हुने समय आउनेछ। यहोवा यसो भन्‍नुहुन्छ: “म सबै मानिसमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु, तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन्‌, . . . मेरा दासहरू र मेरा दासीहरूमाथि समेत म आफ्नो पवित्र शक्‍ति खन्याउनेछु।” (योए. २:२८, २९) इस्राएलीहरूलाई बेबिलोनबाट आफ्नो देशमा फर्काएर ल्याउने बित्तिकै परमेश्‍वरले तिनीहरूमाथि पवित्र शक्‍ति खन्याउनुभएन। बरु त्यो प्रतिज्ञा शताब्दियौँपछि अर्थात्‌ इस्वी संवत्‌ ३३ पेन्तिकोसमा पूरा भयो। हामी किन त्यसो भन्‍न सक्छौँ?

१५. प्रेषित २:१६, १७ अनुसार पत्रुसले योएल २:२८ बाट उद्धरण गर्दा कस्ता फरक शब्द प्रयोग गरे? त्यसले कुन कुरालाई बुझाउँछ?

१५ परमेश्‍वरको प्रेरणा पाएर प्रेषित पत्रुसले योएल २:२८, २९ मा बताइएको भविष्यवाणीलाई पेन्तिकोसको दिनमा भएको एउटा रोचक घटनासित जोडे। बिहानको नौ बजेतिर परमेश्‍वरले अचम्मलाग्दो तरिकामा पवित्र शक्‍ति खन्याउनुभयो अनि पवित्र शक्‍ति पाउनेहरूले “परमेश्‍वरको विषयमा अद्‌भुत कुराहरू” गर्न थाले। (प्रेषि. २:११) परमेश्‍वरको प्रेरणा पाएर पत्रुसले योएलको भविष्यवाणी उद्धरण गरे तर तिनले अलि फरक शब्द प्रयोग गरे। तिनले कस्तो शब्द चलाए? (प्रेषित २:१६, १७ पढ्‌नुहोस्‌) “तब” भनेर सुरु गर्नुको साटो पत्रुसले यसो भने: “अन्तको दिनमा।” तिनले चलाएको अन्तको दिनले यरुसलेम र त्यसको मन्दिर विनाश हुनुभन्दा ठीक अघिको समयलाई जनाउँथ्यो। त्यसबेला परमेश्‍वरले “सबै मानिसमाथि” पवित्र शक्‍ति खन्याउनुहुने थियो। यसले योएलको भविष्यवाणी पूरा हुनुअघि निकै समय बितेको थियो भनेर बुझाउँछ।

१६. प्रथम शताब्दीमा परमेश्‍वरको पवित्र शक्‍तिले प्रचारकार्यमा कस्तो प्रभाव पाऱ्‍यो र अहिले नि?

१६ परमेश्‍वरले प्रथम शताब्दीमा ख्रिष्टियनहरूमाथि खन्याउनुभएको पवित्र शक्‍तिले गर्दा नै प्रचारकार्य व्यापक रूपमा फैलिने थियो। प्रचारकार्य यत्ति व्यापक रूपमा फैलियो कि केही समयपछि अर्थात्‌ इस्वी संवत्‌ ६१ तिर प्रेषित पावलले कलस्सीहरूलाई लेखेको पत्रमा “आकाशमुनि भएका सबै मानिसमाझ” सुसमाचार प्रचार भयो भनेर बताए। (कल. १:२३) पावलले “सबै मानिसमाझ” भनेर चलाएको शब्दले त्यतिबेला पावल र अरूहरू यात्रा गरेर जान सक्ने ठाउँलाई बुझाउँछ। यहोवा परमेश्‍वरको पवित्र शक्‍तिको मदतले गर्दा अहिले हाम्रो समयमा प्रचारकार्य अझ व्यापक तवरमा “पृथ्वीको कुनाकुनासम्म” फैलिएको छ!—प्रेषि. १३:४७; “ म . . . आफ्नो पवित्र शक्‍ति खन्याउनेछु” भन्‍ने पेटी हेर्नुहोस्‌।

के परिवर्तन भयो?

१७. सलहबारे योएलको भविष्यवाणीको हाम्रो बुझाइमा कस्तो छाँटकाँट भएको छ?

१७ त्यसोभए के परिवर्तन भयो त? अहिले हामीले योएल २:७-९ मा पाइने भविष्यवाणीलाई सही अर्थमा बुझेका छौँ। सरल शब्दमा भन्‍ने हो भने, ती पदहरूले हामीले जोसिलो भई गर्ने प्रचारकार्यलाई नभई ईसापूर्व ६०७ मा बेबिलोनी सेनाले यरुसलेममाथि गरेको आक्रमणलाई बुझाउँछ।

१८. यहोवाका जनहरूबारे कुन कुरा परिवर्तन भएको छैन?

१८ के परिवर्तन भएको छैन? यहोवाका जनहरू विभिन्‍न तरिका अपनाउँदै सारा पृथ्वीभरि निरन्तर प्रचार गरिरहन्छन्‌। (मत्ति २४:१४) प्रचार गर्नू भन्‍ने आज्ञा पालन गर्न हामीलाई सरकारको कुनै प्रतिबन्धले रोक्न सक्दैन। यहोवाको आशिष्‌ले हामी पहिलाभन्दा अझ सक्रिय अनि साहसी भई राज्यको सुसमाचार प्रचार गरिरहन्छौँ! बाइबलका भविष्यवाणीहरू बुझ्न हामी नम्र भई यहोवाको डोऱ्‍याइमा भर पर्छौँ किनकि उचित समयमा उहाँले हामीलाई “सत्य राम्ररी बुझ्न” मदत गर्नुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क छौँ।—युह. १६:१३.

गीत ९७ यहोवाको वचन—हाम्रो जीवन

^ अनु. 5 धेरै वर्षदेखि हामीले योएल अध्याय १ र मा उल्लेख गरिएको भविष्यवाणी हाम्रो समयमा भइरहेको प्रचारकार्यबारे गरिएको भविष्यवाणी हो भनेर बुझ्दै आएका थियौँ। तर योएलको भविष्यवाणीको त्यस भागबारे हाम्रो बुझाइमा छाँटकाँट गर्नुपर्ने भएको छ। त्यसको चार वटा ठोस कारण के-के हुन्‌?

^ अनु. 3 उदाहरणको लागि, अप्रिल १५, २००९ प्रहरीधरहरा-को “सृष्टिमा यहोवाको बुद्धि देखिन्छ” भन्‍ने लेखको अनुच्छेद १४-१६ हेर्नुहोस्‌।