सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १५

तपाईँ खेतलाई कसरी हेर्नुहुन्छ?

तपाईँ खेतलाई कसरी हेर्नुहुन्छ?

“आफ्नो आँखा उठाएर खेततिर हेर किनकि बाली पाकेर पहेँला भइसकेका छन्‌।”—युह. ४:३५.

गीत ६४ रम्दै सरिक होऊ कटनीकार्यमा

परिचय *

१-२. युहन्‍ना ४:३५, ३६ मा येसु के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

येसु खेतको बाटो हुँदै हिँडिरहनुभएको थियो र सायद त्यो भर्खरै उम्रन थालेको जौको खेत थियो। (युह. ४:३-६) त्यो जौ कटनी गर्ने समय आउन लगभग चार महिना बाँकी थियो। येसुको यो कुरा चेलाहरूलाई अनौठो लागेको हुनुपर्छ: “आफ्नो आँखा उठाएर खेततिर हेर किनकि बाली पाकेर पहेँला भइसकेका छन्‌।” (युहन्‍ना ४:३५, ३६ पढ्‌नुहोस्‌) उहाँ के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

वास्तवमा येसु प्रतीकात्मक रूपमा मानिसहरूको कटनीबारे कुरा गर्दै हुनुहुन्थ्यो। भर्खरै के भएको थियो, विचार गर्नुहोस्‌। यहुदीहरू प्रायः सामरियालीहरूसित कुनै सम्बन्ध राख्दैन थिए। तर येसुले भर्खरै एउटी सामरियाली स्त्रीलाई प्रचार गर्नुभएको थियो र ती स्त्रीले येसुको कुरा ध्यान दिएर सुनेकी थिई। येसुले “बाली पाकेर पहेँला भइसकेका छन्‌” भन्‍नुहुँदा सामरियालीहरूको एउटा दल उहाँबाट अझ धेरै सिक्न आउँदै थियो किनभने तिनीहरूले ती स्त्रीबाट येसुको विषयमा सुनेका थिए। (युह. ४:९, ३९-४२) यस विवरणबारे एक बाइबलविद्‌ यसो भन्छन्‌: ‘ती मानिसहरूले देखाएको इच्छुकताले तिनीहरू कटनीको लागि तयार भएका बालीजस्तै थिए भन्‍न सकिन्छ।’

आफ्नो इलाकाका मानिसहरू ‘पाकेर पहेँला भइसकेका बालीजस्तो’ लाग्छ भने हामीले के गर्नुपर्छ? (अनुच्छेद ३ हेर्नुहोस्‌)

३. मानिसहरूप्रति येसुको जस्तै दृष्टिकोण राख्दा तपाईँ कसरी अझ राम्रो प्रचारक बन्‍न सक्नुहुन्छ?

आफ्नो इलाकाका मानिसहरूलाई सुसमाचार सुनाउँदा तपाईँ तिनीहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ? के तपाईँ तिनीहरूलाई कटनीको लागि तयार भएको बालीको रूपमा हेर्नुहुन्छ? त्यसो हो भने तपाईँले यी तीन कुरा गर्नुहुनेछ: पहिलो, तपाईँले जोडतोडले प्रचार गर्नुहुनेछ। कटनीको समय सीमित हुन्छ; त्यसैले तपाईँले समय खेर फाल्नु हुनेछैन। दोस्रो, मानिसहरूले सुसमाचारप्रति सकारात्मक प्रतिक्रिया देखाउँदा तपाईँ रमाउनुहुनेछ। बाइबल यसो भन्छ: ‘बाली काट्‌ने बेला मानिसहरू रमाउँछन्‌।’ (यसै. ९:३) अनि तेस्रो, तपाईँले मानिसहरूलाई येसुको सम्भाव्य चेलाको रूपमा हेर्नु भएकोले तिनीहरूको चासो जाग्ने तरिकामा आफ्नो प्रस्तुति छाँटकाँट गर्नुहुनेछ।

४. यस लेखमा हामी प्रेषित पावलबाट के सिक्नेछौँ?

सामरियालीहरू कहिल्यै येसुको चेला बन्‍न सक्दैनन्‌ भनेर येसुका चेलाहरूले सोचेका हुन सक्छन्‌। तर येसुले सामरियालीहरूप्रति त्यस्तो दृष्टिकोण राख्नुभएन। बरु उहाँले तिनीहरूलाई सम्भाव्य चेलाको रूपमा हेर्नुभयो। हामीले पनि आफ्नो इलाकाका मानिसहरूलाई ख्रिष्टको सम्भाव्य चेलाको रूपमा हेर्नुपर्छ। यस सन्दर्भमा प्रेषित पावलले हाम्रो लागि राम्रो उदाहरण बसालेका छन्‌। हामी तिनीबाट के सिक्न सक्छौँ? यस लेखमा हामी यी तीन वटा कुरा विचार गर्नेछौँ: (१) तिनले कसरी आफूले प्रचार गरेका मानिसहरूको आस्थाबारे केही कुरा थाह पाउन सके? (२) तिनीहरूलाई केमा चासो छ भनेर तिनले कसरी बुझ्न सके? (३) तिनीहरूलाई कसरी येसुको सम्भाव्य चेलाको रूपमा हेर्न सके?

तिनीहरू कस्तो आस्था राख्छन्‌?

५. पावललाई सभाघरमा आएका मानिसहरूको कुरा बुझ्न किन सजिलो भयो?

पावल अक्सर यहुदी सभाघरहरूमा सिकाउँथे। उदाहरणको लागि, तिनले थिस्सलोनिकाको सभाघरमा “तीन हप्तासम्म हरेक विश्रामदिनमा ती यहुदीहरूसित धर्मशास्त्रबाट तर्क गरे।” (प्रेषि. १७:१, २) सायद पावललाई सभाघरहरूमा सिकाउन सजिलो लाग्थ्यो। तिनी पनि एक यहुदी थिए। (प्रेषि. २६:४, ५) तिनी यहुदीहरूको कुरा बुझ्न सक्थे, त्यसैले निर्धक्क भई तिनीहरूलाई प्रचार गर्न सके।—फिलि. ३:४, ५.

६. पावलले सभाघरमा प्रचार गरेका मानिसहरूभन्दा एथेन्सको बजारमा भेटेका मानिसहरू कसरी फरक थिए?

थिस्सलोनिकामा अनि पछि बिरियामा मानिसहरूको विरोधले गर्दा पावल भागेर एथेन्स जान बाध्य भए। त्यहाँ पनि “सभाघरभित्र पसेर तिनले यहुदीहरू अनि परमेश्‍वरको उपासना गर्ने अरू मानिससित तर्क गर्न थाले।” (प्रेषि. १७:१७) तर पावलले बजारमा भेटेका मानिसहरू भने फरक थिए। तिनीहरूमध्ये कोही-कोही दार्शनिक अनि अन्यजातिका थिए, जसले पावलको सन्देशलाई “नौलो शिक्षा” ठाने। त्यसैले तिनीहरूले पावललाई यसो भने: “हामीले कहिल्यै नसुनेको कुरा तपाईँ सिकाउँदै हुनुहुन्छ।”—प्रेषि. १७:१८-२०.

७. प्रेषित १७:२२, २३ अनुसार पावलले आफ्नो प्रस्तुतिमा कस्तो छाँटकाँट गरे?

प्रेषित १७:२२, २३ पढ्‌नुहोस्‌। पावलले सभाघरमा आएका यहुदीहरूलाई सन्देश सुनाएकै तरिकामा एथेन्सका अन्यजातिहरूलाई सुनाएनन्‌। सायद तिनले आफैलाई यस्तो प्रश्‍न सोधे, ‘एथेन्सका यी मानिसहरूको आस्था कस्तो छ?’ पावलले वरपरका कुराहरू नियाले अनि त्यहाँका मानिसहरूको धार्मिक प्रचलन याद गरे। त्यसपछि तिनले त्यहाँका मानिसहरूको उपासना गर्ने तरिका र धर्मशास्त्रमा पाइने सत्यबीचको समानता पत्ता लगाउने कोसिस गरे। यसबारे बाइबलका एक टिप्पणीकारले यसो भनेका छन्‌, “तिनी धर्म परिवर्तन गरेर ख्रिष्टियन बनेका यहुदी थिए। त्यसैले यहुदीहरू अनि ख्रिष्टियनहरूले उपासना गर्ने ‘साँचो’ परमेश्‍वरलाई त्यहाँका मूर्तिपूजक ग्रीकहरूले पुज्दैनन्‌ भनेर तिनलाई थाह थियो। त्यसैले आफूले जुन परमेश्‍वरबारे बताइरहेका छन्‌, उहाँ वास्तवमा एथेन्सवासीहरूको लागि अपरिचित हुनुहुन्‍न भनेर बुझाउने कोसिस गरे।” यसकारण पावल आफ्नो प्रस्तुति छाँटकाँट गर्न तयार भए। आफूले सुनाएको सन्देश तिनीहरूले उपासना गर्न खोजिरहेको ‘अज्ञात देवबाट’ आएको हो भनेर तिनले एथेन्सवासीहरूलाई बताए। अन्यजातिहरूलाई धर्मशास्त्रको कुरा थाह नभए तापनि पावलले तिनीहरू कहिल्यै ख्रिष्टियन बन्‍नेछैनन्‌ भन्‍ने सोचाइ राखेनन्‌। बरु तिनले उनीहरूलाई कटनी गर्न तयार भएको बालीको रूपमा हेरे र आफ्नो प्रस्तुति छाँटकाँट गरे।

प्रेषित पावलको उदाहरण अनुकरण गर्दै वरपरको कुरा नियाल्नुहोस्‌, आफ्नो प्रस्तुति छाँटकाँट गर्नुहोस्‌ र प्रत्येक व्यक्‍तिलाई येसुको सम्भाव्य चेलाको रूपमा हेर्नुहोस्‌ (अनुच्छेद ८, १२, १८ हेर्नुहोस्‌) *

८. (क) आफ्नो इलाकाका मानिसहरू कुन धर्ममा आस्था राख्छन्‌ भनेर कसरी थाह पाउन सक्नुहुन्छ? (ख) कसैले ‘मेरो आफ्नै धर्म छ’ भन्दा तपाईँ के भन्‍न सक्नुहुन्छ?

पावलले जस्तै वरपरको कुरा नियाल्नुहोस्‌। आफ्नो इलाकाका मानिसहरू केमा विश्‍वास गर्छन्‌ भनेर देखाउने सङ्‌केतहरू, याद गर्नुहोस्‌। तिनले आफ्नो घर अनि सवारी-साधन कसरी सजाएका छन्‌? तिनको नाम, पहिरन, कोरीबाटी वा तिनले प्रयोग गर्ने शब्दहरूबाटै तिनको धर्म थाह पाउन सकिन्छ कि? तिनले तपाईँलाई सीधै ‘मेरो आफ्नै धर्म छ’ भनेका छन्‌ कि? यस्तो प्रतिक्रिया सुनेपछि फ्लुटुरा नाम गरेकी विशेष अग्रगामी बहिनी यसो भन्छिन्‌: “मैले विश्‍वास गर्ने कुरामा तपाईँले पनि विश्‍वास गर्नै पर्छ भनेर दबाब दिन आएकी होइनँ। बरु म तपाईँसित यस विषयमा कुरा गर्न आएकी हुँ . . .।”

९. धर्ममा आस्था राख्ने व्यक्‍ति सहमत हुने कस्ता विषयमा कुरा गर्न सक्नुहुन्छ?

धर्ममा आस्था राख्ने व्यक्‍तिसित तपाईँ कस्ता विषयमा कुरा गर्न सक्नुहुन्छ? दुवै जना सहमत हुने विषयहरू खोज्नुहोस्‌। सायद तिनले एउटा मात्र ईश्‍वरको उपासना गर्लान्‌ अनि तिनले येसु एक भविष्यवक्‍ता हुनुहुन्छ भनेर विश्‍वास गर्लान्‌। अथवा अहिलेको दुष्ट युग चाँडै अन्त हुनेछ भनेर सायद तिनले विश्‍वास गरेका हुन सक्छन्‌। ती व्यक्‍ति र आफ्नो आस्थामा कुनै समानता भेट्टाएपछि तिनलाई रोचक लाग्ने तरिकामा बाइबलको सन्देश बताउनुहोस्‌।

१०. हामीले के गर्ने प्रयास गर्नुपर्छ र किन?

१० आफ्नो धर्मले सिकाउने सबै कुरामा मानिसहरू विश्‍वास गर्दैनन्‌ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। त्यसैले कुनै व्यक्‍ति कुन धर्म मान्छन्‌ भनेर थाह पाउनुभएपछि पनि तिनी वास्तवमा के विश्‍वास गर्छन्‌, त्यो पत्ता लगाउने प्रयास गर्नुहोस्‌। अस्ट्रेलियामा विशेष अग्रगामीको रूपमा सेवा गर्ने डेभिड यसो भन्छन्‌: “अहिलेका धेरैजसो मानिसहरूको धार्मिक आस्थामा मानव दर्शन छ्यासमिस भएको पाइन्छ।” अल्बेनियामा बस्ने डोनाल्टा नाम गरेकी बहिनी यसो भन्छिन्‌: “हामीले भेट्‌ने केही मानिसहरूले ‘म फलानो-फलानो धर्म मान्छु’ भन्लान्‌ तर तिनीहरूले ईश्‍वरमाथि खासै विश्‍वास नगरेको कुरा पछि स्विकार्छन्‌।” केही मानिसहरू त्रिएकमा विश्‍वास गरेको कुरा बताउँछन्‌ तर वास्तवमा तिनीहरूले ‘पिता, पुत्र र पवित्र आत्मा एकै हुन्‌’ भनेर विश्‍वास नगरेका पनि हुन सक्छन्‌ भनेर अर्जेन्टिनामा मिसनरीको रूपमा सेवा गर्ने एक भाइ बताउँछन्‌। तिनी अझ यसो भन्छन्‌: “यो कुरा थाह पाउँदा त्यस्ता मानिसहरूसित सहमत हुने विषय भेट्टाउन झनै सजिलो हुन्छ।” त्यसैले मानिसहरू वास्तवमा के विश्‍वास गर्छन्‌ भनेर पत्ता लगाउने प्रयास गर्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँ पनि पावलजस्तै “सबै किसिमका मानिसका लागि सबै कुरा” हुन सक्नुहुनेछ।—१ कोरि. ९:१९-२३.

तिनीहरूलाई चासो लाग्ने विषयहरू के हुन्‌?

११. प्रेषित १४:१४-१७ अनुसार पावलले लिस्त्राका मानिसहरूलाई रोचक लाग्ने तरिकामा कसरी आफ्नो सन्देश प्रस्तुत गरे?

११ प्रेषित १४:१४-१७ पढ्‌नुहोस्‌। पावलले आफ्ना स्रोतालाई चासो लाग्ने विषयहरू पत्ता लगाए अनि त्यसैअनुसार प्रस्तुति छाँटकाँट गरे। उदाहरणको लागि, तिनले लिस्त्रामा कुरा गरेको भीडसित धर्मशास्त्रबारे थोरै मात्र ज्ञान थियो वा छँदै थिएन। त्यसैले पावलले तिनीहरूले बुझ्न सक्ने तर्क प्रस्तुत गरे। तिनले प्रशस्त बाली र आनन्दित जीवनबारे कुरा गरे। तिनले चलाएका शब्द र उदाहरणहरू तिनका स्रोताले सजिलै बुझ्न सक्थे।

१२. तपाईँ कसरी कुनै व्यक्‍तिलाई चासो लाग्ने विषय थाह पाउन र त्यसैअनुसार आफ्नो प्रस्तुति छाँटकाँट गर्न सक्नुहुन्छ?

१२ तपाईँको इलाकाका मानिसहरूलाई चासो लाग्ने विषय पत्ता लगाउन अन्तरदृष्टि चलाउनुहोस्‌ र त्यसैअनुसार आफ्नो प्रस्तुति छाँटकाँट गर्नुहोस्‌। कुनै व्यक्‍तिलाई कस्तो कुरामा चासो छ भनेर तिनी वा तिनको घरबाट कसरी पत्ता लगाउन सकिन्छ? यस सन्दर्भमा पनि, वरपरको कुरा नियाल्नुहोस्‌। तिनी बगैँचामा गोडमेल गरिरहेका छन्‌ कि? किताब पढ्‌दै वा सवारी साधन मर्मत गर्दै छन्‌ कि? अथवा अरू केही गर्न व्यस्त पो छन्‌ कि? उपयुक्‍त छ भने तिनले गरिरहेको कामबारे नै कुरा थाल्नुभए कसो होला? (युह. ४:७) कुनै व्यक्‍तिको लुगाबाट पनि तिनीबारे थुप्रै कुरा थाह हुन्छ। जस्तै, त्यो लुगाले तिनी कहाँका हुन्‌, तिनको पेसा अथवा तिनलाई मन पर्ने खेलको टिमबारे पो बताउँछ कि? गुस्ताभो नाम गरेका भाइ यसो भन्छन्‌: “मैले एक जना १९ वर्षीय युवकसित कुराकानी थालेँ, जसले प्रख्यात गायकको तस्बिर भएको टिसर्ट लगाएका थिए। मैले तिनीसित त्यो टिसर्टबारे कुरा गरेँ र तिनले त्यो गायक मन पर्नुको कारण बताए।” त्यो कुराकानीले गर्दा पछि बाइबल अध्ययन सुरु भयो। अहिले ती युवक बप्तिस्मा गरेर साक्षी भइसकेका छन्‌।

१३. तपाईँ कसरी अध्ययन गरूँ-गरूँ जस्तो लाग्ने तरिकामा बाइबल अध्ययनको प्रस्ताव राख्न सक्नुहुन्छ?

१३ कसैलाई बाइबल अध्ययनको प्रस्ताव राख्दा तिनलाई अध्ययन गरूँ-गरूँ जस्तो लाग्ने तरिकामा बताउनुहोस्‌; बाइबल अध्ययन गर्दा कसरी तिनको फाइदा हुन्छ भनेर बुझाउनुहोस्‌। (युह. ४:१३-१५) उदाहरणको लागि, बाइबलको सन्देशमा चासो देखाउने एक स्त्रीले एउटी बहिनीलाई आफ्नो घरभित्र बोलाइन्‌। ती बहिनीले भित्तामा झुन्ड्याइएको प्रमाणपत्र देखिन्‌ र ती स्त्री शिक्षा विषय अध्ययन गरेकी प्राध्यापक रहेछिन्‌ भनेर थाह पाइन्‌। त्यसैले ती बहिनीले हामी पनि बाइबल अध्ययन कार्यक्रम र हाम्रा सभाहरूद्वारा मानिसहरूलाई शिक्षा दिन्छौँ भन्‍ने कुरामा जोड दिइन्‌। ती स्त्री बाइबल अध्ययन गर्न राजी भइन्‌ र भोलिपल्टै सभामा गइन्‌। केही समय नबित्दै तिनी सम्मेलनमा पनि उपस्थित भइन्‌। त्यसको एक वर्षपछि तिनले बप्तिस्मा गरिन्‌। आफैलाई सोध्नुहोस्‌: ‘मेरा पुनःभेटहरूलाई चासो लाग्ने विषय के हो? के म तिनीहरूलाई अध्ययन गरूँ-गरूँ जस्तो लाग्ने तरिकामा हाम्रो बाइबल अध्ययन कार्यक्रमबारे बताउन सक्छु?’

१४. प्रत्येक बाइबल विद्यार्थीको आवश्‍यकतालाई ध्यानमा राख्दै तपाईँ कसरी छाँटकाँट गर्न सक्नुहुन्छ?

१४ कसैसित बाइबल अध्ययन सुरु भएपछि प्रत्येक विद्यार्थीको पृष्ठभूमि र तिनलाई चासो लाग्ने विषयहरू मनमा राख्दै छुट्टाछुट्टै तयारी गर्नुहोस्‌। तयारी गर्दा बाइबल सत्य स्पष्ट पार्न कुन-कुन शास्त्रपद पढ्‌ने, कुन-कुन भिडियो हेर्ने अनि कस्ता उदाहरणहरू चलाउने भनेर पक्का गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌, ‘यस विद्यार्थीलाई विशेषगरि कुन कुरा रोचक लाग्ला र तिनको मन छुन्छ होला?’ (हितो. १६:२३) अल्बेनियामा फ्लोरा नाम गरेकी अग्रगामी बहिनीसित अध्ययन गरिरहेकी स्त्रीले सीधै यसो भनिन्‌: “फेरि जीवित हुने शिक्षा म स्विकार्नै सक्दिनँ।” फ्लोराले ‘तपाईँले विश्‍वास गर्नै पर्छ’ भनेर कर गरिनन्‌। तिनी भन्छिन्‌: “फेरि जीवन दिनुहुने परमेश्‍वरलाई राम्ररी चिन्‍नुभयो भने मात्र उहाँले यो शिक्षा स्विकार्नुहोला जस्तो लाग्यो।” त्यसबेलादेखि हरेक अध्ययनमा फ्लोराले यहोवाको प्रेम, बुद्धि र शक्‍तिबारे जोड दिइन्‌। पछि, ती बाइबल विद्यार्थीले फेरि जीवित हुने आशामा सजिलै विश्‍वास राख्न सकिन्‌। अहिले उनी यहोवाको जोसिलो साक्षी भएकी छिन्‌।

तिनीहरूलाई येसुको सम्भाव्य चेलाको रूपमा हेर्नुहोस्‌

१५. प्रेषित १७:१६-१८ अनुसार एथेन्सवासीहरूको कस्तो आचरण देख्दापावललाई चिन्ता लागेको थियो? तैपनि तिनले किन तिनीहरूलाई प्रचार गर्न छोडेनन्‌?

१५ प्रेषित १७:१६-१८ पढ्‌नुहोस्‌। एथेन्सवासीहरूको सहर मूर्तिपूजा, अवैध यौनसम्बन्ध र झूटा दर्शनहरूले भरिएको थियो। तिनीहरूले पावलको खिल्लीसमेत उडाएका थिए, तैपनि पावलले तिनीहरूलाई प्रचार गर्न छोडेनन्‌। पावल आफै पनि “परमेश्‍वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस” थिए, जो पछि ख्रिष्टियन बने। (१ तिमो. १:१३) जसरी येसुले पावललाई सम्भाव्य चेलाको रूपमा हेर्नुभयो, त्यसरी नै पावलले पनि एथेन्सवासीहरूलाई येसुको सम्भाव्य चेलाको रूपमा हेरे। तिनको त्यो आशा खेर गएन।—प्रेषि. ९:१३-१५; १७:३४.

१६-१७. विभिन्‍न पृष्ठभूमिका मानिस ख्रिष्टका चेला बन्‍न सक्छन्‌ भनेर केले देखाउँछ? एउटा उदाहरण दिनुहोस्‌।

१६ प्रथम शताब्दीमा विभिन्‍न पृष्ठभूमिका मानिसहरू येसुको चेला बनेका थिए। कोरिन्थका ख्रिष्टियनहरूलाई पत्र लेख्दा पावलले त्यहाँका केही भाइबहिनी पहिला अपराधी थिए वा असाध्यै अनैतिक जीवन बिताउँथे भनेर उल्लेख गरे। तिनले यसो भने: ‘तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ। तर तिमीहरूलाई धोएर शुद्ध बनाइएको छ।’ (१ कोरि. ६:९-११) त्यहाँ हुनुभएको भए के तपाईँले ती मानिसहरू परिवर्तन भएर कुनै दिन येसुको चेला बन्‍ने सम्भावना देख्नुहुनेथियो?

१७ आज पनि थुप्रै मानिस येसुको चेला बन्‍न आवश्‍यक परिवर्तन गर्न इच्छुक छन्‌। उदाहरणको लागि, अस्ट्रेलियामा विशेष अग्रगामीको रूपमा सेवा गरिरहेकी युकीनाले सबै किसिमका मानिसले बाइबलको सन्देशप्रति चासो देखाउन सक्छन्‌ भनेर बुझिन्‌। एकदिनको कुरा हो, घरजग्गाको कारोबार गर्ने कार्यालयमा उनले ह्वार्लाङ परेको लुगा लगाएकी अनि टाटु खोपेकी युवती देखिन्‌। युकीना भन्छिन्‌: “सुरुमा त म उनीसित कुरा गर्न हिचकिचाएँ तैपनि मैले उनीसित कुराकानी गरेँ। उनी बाइबलमा यत्ति चासो राख्दी रहेछिन्‌ कि उनले भजनको किताबका केही पदहरू शरीरमा टाटु खोपेकी रहेछिन्‌ भनेर पछि मैले थाह पाएँ।” ती युवतीले बाइबल अध्ययन गर्न थालिन्‌ र सभामा पनि उपस्थित भइन्‌। *

१८. मानिसहरूप्रति हामीले किन नकारात्मक दृष्टिकोण राख्नु हुँदैन?

१८ धेरै जना आफ्नो पछि लाग्नेछन्‌ भन्ठानेर येसुले तिनीहरूलाई कटनीको लागि तयार भएको खेतको रूपमा हेर्नुभएको हो? त्यसो त होइन। किनकि थोरैले मात्र उहाँमा विश्‍वास गर्नेछन्‌ भनेर धर्मशास्त्रमा पहिल्यै बताइएको थियो। (युह. १२:३७, ३८) साथै येसुसित मानिसहरूको हृदय पढ्‌न सक्ने विशेष क्षमता थियो। (मत्ति ९:४) उहाँले आफूमाथि विश्‍वास गर्ने थोरै मानिसमा ध्यान केन्द्रित गर्नुभए तापनि जोसिलो भई सबैलाई प्रचार गर्नुभयो। त्यसोभए हामीले झन्‌ कत्ति जोसिलो भई प्रचार गर्नुपर्छ किनकि हामी मानिसहरूको हृदय पढ्‌न सक्दैनौँ। त्यसैले आफूले प्रचार गर्ने इलाका वा व्यक्‍तिविशेषप्रति नकारात्मक दृष्टिकोण राख्ने झुकावलाई हामीले हटाउनुपर्छ। बरु हामीले तिनीहरूलाई येसुको सम्भाव्य चेलाको रूपमा हेर्नुपर्छ। बुर्किना फासोमा मिसनरीको रूपमा सेवा गर्ने मार्क यसो भन्छन्‌: “प्रगति गर्छन्‌ होला भनेर सोचिरहेका मानिसहरू अध्ययन गर्न छोड्‌छन्‌ तर जसले प्रगति गर्दैनन्‌ भनेर सोचिरहेको हुन्छु, तिनीहरूले नै राम्रो प्रगति गर्छन्‌। त्यसैले यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्नु नै सबैभन्दा उत्तम हो भनेर मैले सिकेको छु।”

१९. आफ्नो इलाकाका मानिसहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

१९ सरसरती हेर्दा हामीलाई आफ्नो इलाकामा कटनी गर्नको लागि तयार भएका बालीजस्ता मानिसहरू छैनन्‌ जस्तो लाग्ला। तर येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभएको कुरा याद गर्नुहोस्‌। उहाँले बाली पाकेर पहेँला भइसकेका छन्‌ अर्थात्‌ ती कटनीको लागि तयार भइसकेका छन्‌ भनेर बताउनुभयो। मानिसहरू परिवर्तन भएर ख्रिष्टको चेला बन्‍न सक्छन्‌। यहोवा ती सम्भाव्य चेलाहरूलाई “अनमोल थोकहरू” ठान्‍नुहुन्छ। (हाग्गै २:७) यदि हामी मानिसहरूप्रति यहोवा अनि येसुको जस्तै दृष्टिकोण राख्छौँ भने तिनीहरूको पृष्ठभूमि र तिनीहरूलाई चासो लाग्ने विषय के हो, थाह पाउने प्रयास गर्नेछौँ। हामी तिनीहरूलाई अपरिचित व्यक्‍तिको रूपमा नभई सम्भाव्य भाइबहिनीको रूपमा हेर्नेछौँ।

गीत ५७ सबै किसिमका मानिसलाई प्रचार गरौँ!

^ अनु. 5 आफ्नो इलाकाका मानिसहरूप्रति हामीले राख्ने दृष्टिकोणले हाम्रो प्रचार गर्ने र सिकाउने तरिकामा कस्तो असर पार्छ? यस लेखमा येसु र प्रेषित पावलले आफ्नो कुरा सुन्‍ने मानिसहरूप्रति कस्तो दृष्टिकोण राख्नुभयो भनेर छलफल गर्नेछौँ। साथै हामी कसरी उहाँहरूको अनुकरण गर्दै मानिसहरूको आस्था अनि तिनीहरूको चासोको विषयलाई बुझेर तिनीहरूलाई येसुको सम्भाव्य चेलाको रूपमा हेर्न सक्छौँ भनेर पनि केलाउनेछौँ।

^ अनु. 17बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” शृङ्‌खलाबद्ध लेखमा मानिसहरू कसरी परिवर्तन हुन सक्छन्‌ भन्‍नेबारे अझ धेरै उदाहरण पढ्‌न सक्नुहुन्छ। यो शृङ्‌खलाबद्ध लेख प्रहरीधरहरा-मा २०१७ सम्म प्रकाशित भएको थियो। तर अहिले यो लेख jw.org/ne मा प्रकाशित हुन्छ। हाम्रो बारेमा > अनुभव अन्तर्गत हेर्नुहोस्‌।

^ अनु. 57 चित्रको व्याख्या: एक दम्पतीले घरघरको प्रचारकार्यमा भाग लिँदा यस्ता कुराहरू याद गर्छन्‌: (१) फूलहरू चिटिक्क मिलाएर राखिएको सुन्दर घर; (२) सानो बच्चा भएको परिवार; (३) भित्र अनि बाहिर लथालिङ्‌ग भएको घर र (४) धर्ममा आस्था राख्ने व्यक्‍तिको घर। तपाईँको विचारमा येसुको चेला बन्‍ने सबैभन्दा बढी सम्भावना कसको होला?