सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १७

“मैले तिमीहरूलाई मित्र भनेको छु”

“मैले तिमीहरूलाई मित्र भनेको छु”

“मैले तिमीहरूलाई मित्र भनेको छु किनभने आफ्नो बुबाबाट मैले जे-जे सुनेको छु, ती सबै तिमीहरूलाई प्रकट गरेको छु।”—युह. १५:१५.

गीत १३ ख्रिष्ट—हाम्रो उदाहरण

परिचय *

१. तपाईँ कसरी घनिष्ठ मित्रता गाँस्न सक्नुहुन्छ?

कसैसित घनिष्ठ मित्रता गाँस्न अक्सर चाल्नुपर्ने पहिलो कदम भनेको तिनीसित समय बिताउनु हो। एकअर्कासित कुरा गर्दा अनि आफ्नो सोचाइ र भावना साटासाट गर्दा तपाईँ एकअर्काको मित्र बन्‍नुहुन्छ। तर येसुसित घनिष्ठ मित्रता गाँस्न भने त्यति सजिलो नहुन सक्छ। किन?

२. येसुसित मित्रता गाँस्न सजिलो नहुनुको पहिलो कारण के हो?

येसुसित मित्रता गाँस्न सजिलो नहुनुको पहिलो कारण हो, हामीले येसुलाई भेटेका छैनौँ। प्रथम शताब्दीका थुप्रै ख्रिष्टियनले पनि येसुलाई भेटेका थिएनन्‌। तैपनि प्रेषित पत्रुसले यसो भने: “तिमीहरूले उहाँलाई कहिल्यै देखेनौ तैपनि उहाँलाई प्रेम गर्छौ। अहिले तिमीहरू उहाँलाई देख्दैनौ तैपनि उहाँमाथि विश्‍वास गर्छौ।” (१ पत्रु. १:८) त्यसकारण हामीले येसुलाई नभेटे पनि उहाँसित घनिष्ठ मित्रता गाँस्न सक्छौँ।

३. येसुसित मित्रता गाँस्न सजिलो नहुनुको दोस्रो कारण के हो?

दोस्रो कारण हो, हामी येसुसित कुरा गर्न सक्दैनौँ। प्रार्थना गर्दा हामी यहोवासित कुरा गरिरहेका हुन्छौँ। हुनत हामी येसुको नाममा प्रार्थना गर्छौँ तर सीधै उहाँसित कुरा भने गर्दैनौँ। वास्तवमा हामीले येसुलाई प्रार्थना गरेको उहाँ चाहनुहुन्‍न। किन? किनभने प्रार्थना उपासनाको एउटा भाग हो अनि हामीले यहोवाको मात्र उपासना गर्नुपर्छ। (मत्ति ४:१०) तैपनि हामी येसुलाई प्रेम गरेको देखाउन सक्छौँ।

४. येसुसित मित्रता गाँस्न सजिलो नहुनुको तेस्रो कारण के हो? यस लेखमा हामी के छलफल गर्नेछौँ?

तेस्रो कारण हो, येसु स्वर्गमा बस्नुहुन्छ। त्यसैले हामी उहाँसँगै बसेर समय बिताउन सक्दैनौँ। तैपनि हामी उहाँबारे थुप्रै कुरा थाह पाउन सक्छौँ। यस लेखमा येसुसितको मित्रता बलियो बनाउन हामीले गर्न सक्ने चार वटा कुरा विचार गर्नेछौँ। तर त्यसअघि हामीले ख्रिष्टसित घनिष्ठ मित्रता गाँस्नु किन महत्त्वपूर्ण छ भनेर छलफल गरौँ।

हामी किन येसुको मित्र बन्‍नुपर्छ?

५. हामी किन येसुको मित्र बन्‍नैपर्छ? (“ येसुसितको मित्रताले यहोवाको मित्र बन्‍न मदत गर्छ” र “ येसुको भूमिकाप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस्‌” भन्‍ने पेटीहरू पनि हेर्नुहोस्‌।)

यहोवासित राम्रो सम्बन्ध गाँस्न चाहन्छौँ भने हामी येसुको मित्र बन्‍नै पर्छ। किन? थुप्रै कारणमध्ये दुइटा विचार गर्नुहोस्‌। पहिलो, येसुले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “बुबा आफैले तिमीहरूलाई माया गर्नुहुन्छ किनकि तिमीहरूले मलाई माया गरेका छौ।” (युह. १६:२७) उहाँले यसो पनि भन्‍नुभयो: “मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।” (युह. १४:६) येसुसित घनिष्ठ मित्रता नगाँसीकन यहोवाको मित्र बन्‍न खोज्नु भनेको ढोकाबाट नभई अर्कै ठाउँबाट घरभित्र छिर्ने कोसिस गर्नुजस्तै हो। येसुले ढोकाकै उदाहरण चलाउनुभएर “म भेडाहरूको निम्ति ढोका हुँ” भन्‍नुभयो। (युह. १०:७) दोस्रो कारण, येसुले आफ्नो बुबाका गुणहरू दुरुस्तै नक्कल गर्नुभयो। उहाँले चेलाहरूलाई भन्‍नुभयो: “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।” (युह. १४:९) त्यसैले यहोवालाई चिन्‍ने एउटा महत्त्वपूर्ण तरिका भनेको येसुको जीवनी अध्ययन गरेर हो। हामी येसुबारे जति धेरै सिक्दै जान्छौँ, उहाँप्रतिको हाम्रो प्रेम त्यति नै बढ्‌दै जानेछ। अनि येसुसितको मित्रता बलियो हुँदै जाँदा उहाँको बुबाप्रतिको हाम्रो प्रेम पनि प्रगाढ हुनेछ।

६. हामीले येसुसित राम्रो सम्बन्ध गाँस्नुपर्ने अर्को कारण के हो? व्याख्या गर्नुहोस्‌।

आफ्नो प्रार्थनाको जवाफ चाहन्छौँ भने हामीले येसुसित राम्रो सम्बन्ध गाँस्नै पर्छ। यसको लागि हामीले प्रार्थनाको अन्तमा “येसु ख्रिष्टको नाममा” भन्‍ने वाक्यांश थप्नु मात्र पर्याप्त छैन। हाम्रो प्रार्थनाको जवाफ दिन यहोवा येसुलाई कसरी चलाउनुहुन्छ भनेर हामीले बुझ्नुपर्छ। येसुले प्रेषितहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूले मेरो नाममा जेसुकै मागे तापनि म त्यो गर्नेछु।” (युह. १४:१३) हुनत हाम्रो प्रार्थना सुन्‍ने र त्यसको जवाफ दिने यहोवा परमेश्‍वर हुनुहुन्छ तर उहाँको निर्णयबमोजिम कदम चाल्ने अधिकार उहाँले येसुलाई दिनुभएको छ। (मत्ति २८:१८) त्यसैले परमेश्‍वरले हाम्रो प्रार्थनाको जवाफ दिनुअघि हामीले येसुको आज्ञा पालन गरेका छौँ कि छैनौँ भनी हेर्नुहुन्छ। उदाहरणको लागि, येसुले यसो भन्‍नुभयो: “यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गऱ्‍यौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गरेनौ भने तिमीहरूका बुबाले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।” (मत्ति ६:१४, १५) त्यसैले यहोवा र येसु हामीसित जस्तो व्यवहार गर्नुहुन्छ, हामीले पनि अरूसित त्यस्तै व्यवहार गर्नु झन्‌ कत्ति महत्त्वपूर्ण छ!

७. येसुको फिरौतीको बलिदानबाट कसले लाभ उठाउँछन्‌?

येसुसित घनिष्ठ मित्रता गाँसेकाहरूले मात्र उहाँले चढाउनुभएको फिरौतीको बलिदानबाट लाभ उठाउनेछन्‌। हामी किन यसो भन्‍न सक्छौँ? येसुले “आफ्ना मित्रहरूको लागि आफ्नो ज्यान अर्पण” गर्नेछु भनेर बताउनुभएको थियो। (युह. १५:१३) येसु पृथ्वीमा आउनुअघिका विश्‍वासी व्यक्‍तिहरूले उहाँबारे सिकेर उहाँलाई प्रेम गर्नुपर्नेछ। अब्राहाम, सारा, मोसा र राहाबजस्ता विश्‍वासी पुरुष तथा स्त्रीहरू फेरि जीवित हुनेछन्‌। तर यहोवाका ती धर्मी सेवकहरूले पनि अनन्त जीवन पाउन येसुसित मित्रता गाँस्नुपर्नेछ।—युह. १७:३; प्रेषि. २४:१५; हिब्रू ११:८-१२, २४-२६, ३१.

८-९. युहन्‍ना १५:४, ५ मा बताइएअनुसार येसुसित मित्रता गाँसेका छौँ भने हामी के गर्न सक्छौँ अनि येसुसित एकतामा रहनु किन महत्त्वपूर्ण छ?

हामीले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने र सिकाउने काममा येसुसितै भाग लिने मौका पाएका छौँ। येसु पृथ्वीमा हुनुहुँदा उहाँ मानिसहरूको शिक्षक हुनुहुन्थ्यो। अनि स्वर्ग फर्कनुभएपछि पनि उहाँले मण्डलीको शिरको रूपमा प्रचारकार्य र शिक्षणकार्यलाई डोऱ्‍याउँदै हुनुहुन्छ। थुप्रैले येसु र उहाँको बुबालाई चिनून्‌ भनेर तपाईँले प्रयास गर्नुभएको देख्दा उहाँ खुसी हुनुहुन्छ। वास्तवमा हामी यो काम यहोवा परमेश्‍वर अनि येसुको मदतद्वारा मात्रै पूरा गर्न सक्छौँ।युहन्‍ना १५:४, ५ पढ्‌नुहोस्‌।

यहोवालाई खुसी पार्न चाहन्छौँ भने हामीले येसुलाई प्रेम गर्नुपर्छ र त्यस प्रेमलाई कायम राख्नुपर्छ भनेर परमेश्‍वरको वचनले स्पष्टसित बताउँछ। त्यसोभए येसुको मित्र बन्‍न हामीले गर्न सक्ने चार वटा कुरा विचार गरौँ।

येसुसित कसरी मित्रता गाँस्न सक्छौँ?

येसुको मित्र बन्‍न (१) उहाँलाई राम्ररी चिन्‍नुपर्छ, (२) उहाँले जस्तै सोच्नुपर्छ र व्यवहार गर्नुपर्छ, (३) ख्रिष्टका भाइहरूलाई साथ दिनुपर्छ अनि (४) मण्डलीका प्रबन्धहरूलाई समर्थन गर्नुपर्छ (अनुच्छेद १०-१४ हेर्नुहोस्‌) *

१०. येसुसित मित्रता गाँस्न हामीले चाल्नुपर्ने पहिलो कदम के हो?

१० (येसुलाई चिन्‍नुहोस्‌। मत्ति, मर्कुस, लुका र युहन्‍नाको किताब पढेर हामी येसुलाई चिन्‍न सक्छौँ। येसुको जीवनबारे लेखिएका बाइबल विवरणहरूमा मनन गर्दा हामी येसुलाई प्रेम र आदर गर्न उत्प्रेरित हुन्छौँ किनभने उहाँले मानिसहरूसित दयालु व्यवहार गर्नुभयो। उदाहरणको लागि, येसु आफ्ना चेलाहरूको मालिक हुनुभए तापनि उहाँले तिनीहरूसित दासजस्तो व्यवहार गर्नुभएन। बरु उहाँले तिनीहरूलाई आफ्नो भित्री विचार अनि भावना बताउनुभयो। (युह. १५:१५) तिनीहरू दुःखी हुँदा उहाँ पनि दुःखी हुनुभयो र तिनीहरूसितै रुनुभयो। (युह. ११:३२-३६) येसुको सन्देश स्विकार्नेहरू नै पछि गएर उहाँको मित्र बनेको कुरा उहाँका शत्रुहरूले समेत मानिलिए। (मत्ति ११:१९) येसुले आफ्ना चेलाहरूसित व्यवहार गर्नुभएको तरिका अनुकरण गर्दा अरूसितको हाम्रो सम्बन्ध सुध्रिनेछ, हामी अझ सन्तुष्ट र खुसी हुनेछौँ अनि ख्रिष्टप्रतिको हाम्रो कृतज्ञता बढ्‌नेछ।

११. येसुको मित्र बन्‍न हामीले चाल्नुपर्ने दोस्रो कदम के हो अनि यो कदम किन महत्त्वपूर्ण छ?

११ (येसुले जस्तै सोच्नुहोस्‌ र व्यवहार गर्नुहोस्‌। येसुको सोचाइ हामी जति राम्ररी बुझ्छौँ अनि अनुकरण गर्छौँ, उहाँसितको मित्रता त्यति नै घनिष्ठ हुनेछ। (१ कोरि. २:१६) हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ? एउटा उदाहरण विचार गर्नुहोस्‌। येसुले आफैलाई खुसी पार्न खोज्नुको साटो अरूलाई मदत गर्नेबारे सोच्नुभयो। (मत्ति २०:२८; रोमी १५:१-३) यस्तो मनोभाव राख्नुभएकोले उहाँ आत्मत्यागी अनि क्षमाशील हुनुहुन्थ्यो। मानिसहरूले आफूबारे भन्‍ने कुराहरूले गर्दा उहाँले चित्त दुखाइहाल्नुहुन्‍नथ्यो। (युह. १:४६, ४७) अनि कसैले विगतमा गरेको गल्तीलाई सम्झँदै ‘त्यो व्यक्‍ति त्यस्तै हो’ भन्‍ने सोचाइ उहाँले राख्नुभएन। (१ तिमो. १:१२-१४) येसुले यसो भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (युह. १३:३५) आफैलाई यस्तो प्रश्‍न सोध्नुभए कसो होला, “भाइबहिनीसित शान्ति कायम गर्न सक्दो कोसिस गरेर के मैले येसुको अनुकरण गरिरहेको छु?”

१२. येसुको मित्र बन्‍न हामीले चाल्नुपर्ने तेस्रो कदम के हो र हामी कसरी त्यो कदम चाल्न सक्छौँ?

१२ (ख्रिष्टका भाइहरूलाई साथ दिनुहोस्‌। अभिषिक्‍त भाइहरूको लागि हामी जे-जति गर्छौँ, येसुले त्यो आफैलाई गरेसरह ठान्‍नुहुन्छ। (मत्ति २५:३४-४०) अभिषिक्‍त भाइहरूलाई साथ दिने प्रमुख तरिका भनेको येसुले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभएको प्रचारकार्य र चेला बनाउने काममा पूरापूर भाग लिएर हो। (मत्ति २८:१९, २०; प्रेषि. १०:४२) “अरू भेडा”-को मदतले गर्दा मात्रै ख्रिष्टका भाइहरूले अहिले विश्‍वभरि भइरहेको प्रचारकार्य पूरा गर्न सक्नेछन्‌। (युह. १०:१६) तपाईँ अरू भेडामध्येको हुनुहुन्छ भने हरेक चोटि प्रचारकार्यमा भाग लिँदा तपाईँले अभिषिक्‍त भाइहरूलाई मात्र नभई येसुलाई पनि प्रेम गरेको देखाइरहनुभएको हुनेछ।

१३. लुका १६:९ मा पाइने येसुको सल्लाह हामी कसरी लागू गर्न सक्छौँ?

१३ यहोवा र येसुले डोऱ्‍याइरहनुभएको कामलाई टेवा पुऱ्‍याउन आर्थिक सहयोग गरेर पनि हामी उहाँहरूको मित्र बन्‍न सक्छौँ। (लुका १६:९ पढ्‌नुहोस्‌) उदाहरणको लागि, हामी विश्‍वव्यापी कार्यको लागि अनुदान दिन सक्छौँ। यो अनुदान टाढा-टाढाका इलाकाहरूमा सुसमाचार प्रचार गर्न, साँचो उपासनालाई टेवा पुऱ्‍याउने भवनहरू बनाउन र ती स्याहारसम्भार गर्न अनि प्रकोप वा अन्य कारणले दुःखमा परेकाहरूलाई राहत दिन प्रयोग गरिन्छ। हामी आफ्नै मण्डलीको खर्च बेहोर्न पनि अनुदान दिन सक्छौँ र आफूले व्यक्‍तिगत तवरमा चिनेको कोही खाँचोमा परेका छन्‌ भने तिनलाई मदत गर्न सक्छौँ। (हितो. १९:१७) यसरी हामीले ख्रिष्टका भाइहरूलाई साथ दिइरहेका हुन्छौँ।

१४. एफिसी ४:१५, १६ अनुसार येसुको मित्र बन्‍न हामीले चाल्नुपर्ने चौथो कदम के हो?

१४ (ख्रिष्टियन मण्डलीका प्रबन्धहरूलाई समर्थन गर्नुहोस्‌। हाम्रो हेरचाह गर्न नियुक्‍त भएकाहरूलाई साथ दिँदा मण्डलीको शिर येसुसित हामी अझ घनिष्ठ हुन्छौँ। (एफिसी ४:१५, १६ पढ्‌नुहोस्‌) उदाहरणको लागि, अहिले सबै राज्यभवनको पूरापूर सदुपयोग गर्ने प्रयास गरिँदै छ। त्यसकारण मण्डलीहरू गाभिँदै छन्‌ र प्रचार गर्ने इलाकाको सिमानामा पनि छाँटकाँट हुँदै छ। यो प्रबन्धले गर्दा यहोवाको सङ्‌गठनको लागि दिइएको अनुदानको निकै बचत गर्न सकिएको छ। तर केही प्रकाशकले भने नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्नुपरेको छ। ती वफादार प्रकाशकहरूले कुनै एउटा मण्डलीसित वर्षौँदेखि सङ्‌गत गरिरहेका होलान्‌। अनि त्यहाँका भाइबहिनीसित असाध्यै घनिष्ठ भइसकेका होलान्‌। तर अहिले भने तिनीहरूलाई अर्कै मण्डलीमा गएर सेवा गर्न भनिएको छ। आफ्ना वफादार चेलाहरूले यो नयाँ प्रबन्धलाई समर्थन गरेको देख्दा येसु कत्ति खुसी हुनुहुन्छ होला!

सधैँभरिका लागि येसुका साथीहरू

१५. भविष्यमा येसुसितको हाम्रो मित्रता कसरी अझ घनिष्ठ हुनेछ?

१५ पवित्र शक्‍तिबाट अभिषेक भएकाहरूले परमेश्‍वरको राज्यमा येसुसितै शासन गर्नेछन्‌। तिनीहरूले खिष्टसितै हुने आशा राखेका छन्‌ अर्थात्‌ तिनीहरूले उहाँलाई देख्नेछन्‌, उहाँसित कुरा गर्नेछन्‌ र उहाँसित सधैँभरि समय बिताउनेछन्‌। (युह. १४:२, ३) पृथ्वीमा जीवन बिताउने आशा भएकाहरूले पनि येसुको प्रेम र हेरचाह पाउनेछन्‌। तिनीहरूले येसुलाई नदेखे तापनि यहोवा र येसुले तिनीहरूको लागि सम्भव तुल्याइदिनुभएको जीवनको आनन्द उठाउँदा येसुसित तिनीहरूको सम्बन्ध झन्‌झन्‌ घनिष्ठ हुँदै जानेछ।—यसै. ९:६, ७.

१६. येसुसित मित्रता गाँस्दा हामी कस्ता आशिष्‌हरू पाउँछौँ?

१६ येसुको मित्र बन्‍ने निम्तो स्विकार्दा हामी थुप्रै आशिष्‌ पाउँछौँ। उदाहरणको लागि, हामीले अहिल्यै उहाँको प्रेम र साथ पाउँछौँ। हामीले सधैँभरि बाँच्ने आशा पाएका छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, येसुसितको हाम्रो मित्रताले गर्दा हामीले अनमोल सम्पत्ति पाउनेछौँ अर्थात्‌ उहाँको बुबा यहोवासित घनिष्ठ र आत्मीय सम्बन्ध गाँस्न सक्नेछौँ। येसुको मित्र बन्‍न पाउनु हाम्रो लागि कत्ति ठूलो सुअवसर!

गीत १७ “म इच्छा गर्छु”

^ अनु. 5 प्रेषितहरूले केही वर्ष येसुसित कुराकानी गर्ने अनि उहाँसित काम गर्ने मौका पाए। त्यसैले उहाँहरू असल मित्र बन्‍न सक्नुभयो। येसु हामी पनि उहाँको मित्र बनेको चाहनुहुन्छ। प्रेषितहरूलाई उहाँको मित्र बन्‍न सजिलो थियो तर हामीलाई भने त्यति सजिलो छैन। येसुको मित्र बन्‍न सजिलो नहुनुका केही कारण हामी यस लेखमा छलफल गर्नेछौँ। अनि उहाँसित कसरी घनिष्ठ मित्रता गाँस्न सक्छौँ र त्यसलाई कायम राख्न सक्छौँ भनेर विचार गर्नेछौँ।

^ अनु. 55 चित्रको व्याख्या: (१) पारिवारिक उपासनामा हामी येसुको जीवन र सेवाबारे अध्ययन गर्न सक्छौँ। (२) मण्डलीमा हामी भाइबहिनीसित शान्ति कायम गर्ने प्रयास गर्न सक्छौँ। (३) प्रचारकार्यमा पूरापूर भाग लिएर हामी ख्रिष्टका भाइहरूलाई साथ दिन सक्छौँ। (४) मण्डलीहरू गाभिँदा हामी एल्डरहरूका निर्णयहरूलाई समर्थन गर्न सक्छौँ।