सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १६

सुन्‍नुहोस्‌, बुझ्नुहोस्‌ र दया देखाउनुहोस्‌

सुन्‍नुहोस्‌, बुझ्नुहोस्‌ र दया देखाउनुहोस्‌

“बाहिरबाट देखिने कुराको आधारमा न्याय गर्न छोड, बरु ठीकसित न्याय गर।”—युह. ७:२४.

गीत १०१ एकतामा बाँधिएर गरौँ काम!

परिचय *

१. बाइबलले यहोवाबारे बताउने कुन कुरा थाह पाउँदा हामी ढुक्क हुन सक्छौँ?

के अरूले तपाईँको छालाको रङ, अनुहारको बनोट वा जीउको आकारको आधारमा न्याय गरेको मन पर्छ? पक्कै मन पर्दैन होला! त्यसैले यहोवाले हामीलाई बाहिरबाट देखिने कुराको आधारमा मात्र न्याय गर्नुहुन्‍न भनेर थाह पाउँदा कत्ति ढुक्क महसुस गर्छौँ! उदाहरणको लागि, समुएलले यिसैका छोराहरूलाई हेर्दा तिनले यहोवाको जस्तै दृष्टिकोणले हेर्न सकेनन्‌। यहोवाले समुएललाई यिसैका एक जना छोरा इस्राएलको राजा बन्‍नेछन्‌ भन्‍नुभएको थियो। तर कुनचाहिँ छोरा? समुएलले यिसैको जेठो छोरा एलिआबलाई देख्दा तिनले यसो भने, “यहोवा परमेश्‍वरले अभिषेक गर्नुभएको मानिस पक्कै यही हुनुपर्छ।” एलिआब राजाजस्तै देखिन्थे। तर यहोवा परमेश्‍वरले समुएललाई भन्‍नुभयो: “उसको रूपरङ्‌ग र उसको कदमा ध्यान नदेऊ, मैले रोजेको मानिस ऊ होइन।” यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? यहोवाले अझै यसो भन्‍नुभयो: “मानिसले बाहिरी रूप हेर्छ तर यहोवा परमेश्‍वरले मानिसको हृदय हेर्नुहुन्छ।”—१ समु. १६:१, ६, ७.

२. युहन्‍ना ७:२४ मा बताइएअनुसार हामीले किन मानिसको बाहिरी रूपरङ्‌ग हेरेर न्याय गर्नु हुँदैन? उदाहरणसहित बताउनुहोस्‌।

त्रुटिपूर्ण भएकोले अरू मानिसको बाहिरी रूपरङ्‌ग हेरेर न्याय गर्ने झुकाव हामी सबैसित छ। (युहन्‍ना ७:२४ पढ्‌नुहोस्‌) तर बाहिरी रूपरङ्‌ग हेरेर हामी सबै कुरा थाह पाउन सक्दैनौँ। उदाहरणको लागि, सिपालु र अनुभवी डाक्टरले समेत बिरामीलाई हेर्नेबित्तिकै सबै कुरा थाह पाउन सक्दैनन्‌। डाक्टरले बिरामीको स्वास्थ्य विवरण, तिनको भावनात्मक अवस्था वा हाल देखिएका लक्षणहरूबारे बुझ्न तिनको कुरा ध्यान दिएर सुन्‍नुपर्छ। डाक्टरले बिरामीको शरीरभित्रको अवस्था बुझ्न एक्सरे गर्नसमेत भन्‍न सक्छन्‌। अन्यथा उनले बिरामीको गलत उपचार गर्ने सम्भावना हुन्छ। त्यसरी नै, हामीले भाइबहिनीको बाहिरी रूपरङ्‌ग हेर्नेबित्तिकै तिनीहरूको सबै कुरा बुझ्न सक्दैनौँ। हामीले भित्री रूप अर्थात्‌ तिनी वास्तवमा कस्तो व्यक्‍ति हुन्‌ भनेर चिन्‍ने प्रयास गर्नुपर्छ। हो, हामी मानिसको हृदय पढ्‌न सक्दैनौँ। त्यसैले यहोवाले जस्तै अरूको विषयमा सबै कुरा बुझ्न कहिल्यै सक्दैनौँ। तैपनि हामी यहोवाको अनुकरण गर्न सक्दो प्रयास गर्न सक्छौँ। कसरी?

३. यस लेखमा छलफल गरिने बाइबल विवरणहरूले हामीलाई यहोवाको अनुकरण गर्न कसरी मदत गर्नेछ?

यहोवा आफ्ना उपासकहरूसित कस्तो व्यवहार गर्नुहुन्छ? उहाँ तिनीहरूको कुरा सुन्‍नुहुन्छ। उहाँ तिनीहरूको पृष्ठभूमि र अवस्था बुझ्नुहुन्छ। अनि उहाँ तिनीहरूलाई दया देखाउनुहुन्छ। यहोवाले योना, एलिया, हागार र लुतसित गर्नुभएको व्यवहारलाई विचार गर्दा हामी पनि उहाँको अनुकरण गर्दै कसरी आफ्ना ख्रिष्टियन भाइबहिनीसित व्यवहार गर्न सक्छौँ, विचार गरौँ।

ध्यान दिएर सुन्‍नुहोस्‌

४. हामीमा किन योनाप्रति नकारात्मक दृष्टिकोण राख्ने झुकाव आउन सक्छ?

योनाको अवस्थाबारे सबै कुरा थाह नभएकोले हामीलाई तिनी भरोसायोग्य नभएको मात्र होइन, तिनले विश्‍वासघात गरेको जस्तो पनि लाग्न सक्छ। तिनले निनवे सहरमा न्यायदण्ड घोषणा गर्न यहोवाबाटै आज्ञा पाएका थिए। तर उहाँको आज्ञा मान्‍नुको साटो तिनी उल्टो दिशातर्फ गइरहेको जहाज चढेर “यहोवा परमेश्‍वरबाट टाढा” भागे। (योना १:१-३) के तपाईँले योनालाई यहोवाको आज्ञा पालन गर्न दोस्रो मौका दिनुहुनेथियो? सायद दिनुहुन्‍नथियो होला। तर यहोवाले भने योनालाई अर्को मौका दिने उचित कारण पाउनुभयो।—योना ३:१, २.

५. योना २:१, २, ९ मा लेखिएका शब्दहरूबाट तपाईँ योनाबारे के थाह पाउनुहुन्छ?

आफू वास्तवमा कस्तो मानिस हुँ भनेर योनाले प्रार्थनामा प्रकट गरे। (योना २:१, २,  पढ्‌नुहोस्‌) हुनत योनाले धेरै चोटि प्रार्थना गरेका थिए तर माछाको पेटबाट गरेको प्रार्थनाबाट तिनी वास्तवमा कस्तो मानिस हुन्‌ भनेर बुझ्न सक्छौँ। आफूलाई अह्राइएको काम पूरा नगरी भागे तापनि तिनका शब्दहरूबाट तिनी नम्र, कृतज्ञ र यहोवाको आज्ञा पालन गर्न कटिबद्ध थिए भनेर थाह पाउन सक्छौँ। त्यसैले योना भागेको कुरामा मात्र यहोवाले ध्यान दिनुभएन बरु तिनको प्रार्थनाको जवाफ दिनुभयो र तिनलाई भविष्यवक्‍ताको रूपमा प्रयोग गरिरहनुभयो!

सत्यतथ्य बुझ्यौँ भने अझ समानुभूति देखाउन सक्छौँ (अनुच्छेद ६ हेर्नुहोस्‌) *

६. हामीले ध्यान दिएर सुन्‍ने प्रयास गर्नु किन महत्त्वपूर्ण छ?

अरूको कुरा ध्यान दिएर सुन्‍न हामी नम्र र धीरजी हुनुपर्छ। यसो गर्नुका तीन वटा जायज कारण छन्‌। पहिलो, हामी मानिसहरूबारे तुरुन्तै गलत निष्कर्षमा पुग्नेछैनौँ। दोस्रो, हाम्रा भाइबहिनीको भावना र मनसाय बुझ्न सक्छौँ। यसले गर्दा हामी अझ समानुभूति देखाउन सक्नेछौँ। तेस्रो, त्यस व्यक्‍तिलाई तिनी आफैबारे पनि केही कुरा थाह पाउन मदत गर्न सक्छौँ। कहिलेकाहीँ अरूलाई आफ्नो भावना पोखाएपछि मात्र हामीले आफ्नो भावना राम्ररी बुझ्न सक्छौँ। (हितो. २०:५) एसियाका एक एल्डर यसो भन्छन्‌: “मैले एकचोटि कुरा राम्ररी नसुनिकनै बोल्न हतार गरेँ। मैले एक जना बहिनीलाई उनले मण्डलीमा दिने टिप्पणीहरूको गुणस्तर बढाउन सुझाव दिएँ। तर पछि मैले के थाह पाएँ भने उनलाई पढ्‌न गाह्रो रहेछ अनि टिप्पणी दिन निकै प्रयास गर्दी रहेछिन्‌।” त्यसैले सबै एल्डरले सल्लाह दिनुअघि “राम्ररी कुरा सुन्‍नु” कत्ति महत्त्वपूर्ण छ!—हितो. १८:१३.

७. यहोवाले एलियासित गर्नुभएको व्यवहारबाट तपाईँले के सिक्नुभयो?

आफ्नो पृष्ठभूमि, समाज वा व्यक्‍तित्वले गर्दा हाम्रा कोही-कोही भाइबहिनीलाई आफ्ना भावनाहरूबारे कुरा गर्न गाह्रो लाग्छ। तिनीहरूलाई मन खोलेर कुरा गर्ने वातावरण कसरी बनाइदिन सक्छौँ? ईजबेलबाट भागिरहेका एलियासित यहोवाले कस्तो व्यवहार गर्नुभयो, सम्झनुहोस्‌ त! एलियाले धेरै दिनपछि मात्र आफ्नो मन खोलेर स्वर्गमा बस्नुहुने बुबालाई सबै कुरा बताए। यहोवाले तिनको कुरा ध्यान दिएर सुन्‍नुभयो। त्यसपछि उहाँले एलियालाई प्रोत्साहन दिनुभयो र एउटा महत्त्वपूर्ण काम अह्राउनुभयो। (१ राजा १९:१-१८) हाम्रा भाइबहिनीलाई पनि हामीसित खुलेर कुरा गर्न समय लाग्न सक्छ। तर त्यसरी कुरा गरिसकेपछि मात्र हामी तिनीहरूको साँचो भावना बुझ्न सक्छौँ। यहोवाको अनुकरण गर्दै धीरजी भयौँ भने तिनीहरूको भरोसा जित्न सक्छौँ। तिनीहरू आफ्ना भावनाहरू हामीलाई खुलेर बताउन तयार भएपछि हामीले ध्यान दिएर सुन्‍नुपर्छ।

आफ्ना ख्रिष्टियन भाइबहिनीलाई राम्ररी चिन्‍नुहोस्‌

८. उत्पत्ति १६:७-१३ अनुसार यहोवाले हागारलाई कसरी मदत गर्नुभयो?

साराईले दासी हागारलाई अब्रामकी पत्नी हुनलाई दिइन्‌। हागार गर्भवती भइन्‌ र तिनले कुनै सन्तान नजन्माएकी साराईलाई हेप्न थालिन्‌। हागारको यस्तो मूर्खतापूर्ण व्यवहारले गर्दा परिस्थिति निकै तनावपूर्ण हुन थाल्यो। त्यसैले साराईले हागारलाई घरबाट निकालिदिइन्‌। (उत्प. १६:४-६) हाम्रो त्रुटिपूर्ण दृष्टिकोणबाट हेर्दा हागार निष्ठुर आइमाई भएकीले तिनलाई ठीकै पऱ्‍यो जस्तो लाग्न सक्छ। तर यहोवाले भने हागारप्रति त्यस्तो दृष्टिकोण राख्नुभएन। उहाँले तिनीकहाँ एक जना स्वर्गदूत पठाउनुभयो। स्वर्गदूतले हागारलाई भेट्टाएपछि तिनको दृष्टिकोण छाँटकाँट गर्न मदत गरे र तिनलाई आशिष्‌ दिए। सबै कुरा यहोवाले हेरिरहनुभएको छ र आफ्नो अवस्था उहाँलाई राम्ररी थाह छ भनेर हागारले महसुस गरिन्‌। तिनी यहोवालाई “सबै कुरा देख्ने परमेश्‍वर” भनी पुकार्न उत्प्रेरित भइन्‌। तिनले यसो पनि भनिन्‌: “मलाई देख्नुहुनेलाई मैले पनि देखेँ!”उत्पत्ति १६:७-१३ पढ्‌नुहोस्‌।

९. यहोवाले हागारसित व्यवहार गर्दा कुन कुरा याद गर्नुभयो?

यहोवाले हागारबारे कुन कुरा याद गर्नुभयो? उहाँलाई तिनको पृष्ठभूमि र तिनले जीवनमा भोगेका सबै कुरा राम्ररी थाह थियो। (हितो. १५:३) हागार एउटी मिश्री थिइन्‌ र हिब्रू परिवारमा बस्थिन्‌। के तिनले कहिलेकाहीँ आफूलाई पराईजस्तो महसुस गरिन्‌? के तिनलाई आफ्नो परिवार र मातृभूमिको यादले सताउँथ्यो? तिनी अब्रामकी एक मात्र पत्नी थिइनन्‌। विगतमा कोही-कोही वफादार पुरुषले एकभन्दा धेरै पत्नी राखेका थिए। तर त्यो यहोवाको सुरुको उद्देश्‍य थिएन। (मत्ति १९:४-६) त्यसैले बहुविवाहले गर्दा परिवारमा एकअर्काप्रति डाह र घृणाजस्ता समस्याहरू हुनुको कारण हामी बुझ्न सक्छौँ। हागारले साराईलाई हेप्नु गलत हो भनेर यहोवालाई थाह थियो तर उहाँले हागारको पृष्ठभूमि र अवस्था राम्ररी बुझ्नुभएकोले तिनीसित दयालु व्यवहार गर्नुभयो।

आफ्ना भाइबहिनीलाई अझ राम्ररी चिन्‍नुहोस्‌ (अनुच्छेद १०-१२ हेर्नुहोस्‌) *

१०. हामी आफ्ना भाइबहिनीलाई राम्ररी चिन्‍न के गर्न सक्छौँ?

१० एकअर्कालाई राम्ररी बुझ्न प्रयास गरेर हामी यहोवाको अनुकरण गर्न सक्छौँ। आफ्ना ख्रिष्टियन भाइबहिनीलाई राम्ररी चिन्‍नुहोस्‌। सभाअघि र पछि तिनीहरूसित कुरा गर्नुहोस्‌, प्रचारकार्यमा सँगै भाग लिनुहोस्‌ र सम्भव छ भने खाना खान निम्तो दिनुहोस्‌। यसो गर्नुभयो भने वास्तविकता थाह पाउँदा तपाईँ छक्कै पर्नुहोला। जस्तै: मित्रैलो नदेखिने बहिनी वास्तवमा लजालु हुन सक्छिन्‌, भौतिकवादी भन्ठानेको भाइ वास्तवमा असाध्यै उदार हुन सक्छन्‌ अनि सभामा अक्सर ढिलो आइपुग्ने परिवारले वास्तवमा खेदो भोगिरहेको हुन सक्छ। (अय्यु. ६:२९) हुनत हामी “अरूको कुरामा हात हाल्ने” मानिस हुनु हुँदैन। (१ तिमो. ५:१३) तैपनि हाम्रा भाइबहिनीबारे अनि तिनीहरूको अवस्थाबारे केही कुरा थाह पाउनु राम्रो हो। यसो गर्दा तिनीहरूलाई अझ राम्रोसँग चिन्‍न सक्नेछौँ।

११. एल्डरहरूले आफ्ना भेडालाई राम्ररी चिन्‍नु किन महत्त्वपूर्ण छ?

११ विशेषगरि एल्डरहरूले आफ्नो मण्डलीका भाइबहिनीको पृष्ठभूमि थाह पाउनुपर्छ। क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरेका भाइ आर्तरको अनुभव विचार गर्नुहोस्‌। तिनी र अर्को एक जना एल्डर एउटी बहिनीलाई भेट्‌न गएछन्‌, जो लजालु थिइन्‌ र अरूसित कुरा गर्न त्यति रुचाउँदिन थिइन्‌। आर्तर भन्छन्‌, “उनीसित कुराकानी गर्दा विवाह गरेको केही समय नबित्दै उनको पतिको मृत्युको भएको कुरा थाह पायौँ। यस्तो कठिन अवस्थाको बाबजुद उनले दुइटी छोरीलाई राम्ररी हुर्काएकी रहेछिन्‌ र तिनीहरू आध्यात्मिक तवरमा परिपक्व बने। अहिले उनको आँखा धमिलो हुनुका साथै उनलाई डिप्रेसन पनि भएछ। तैपनि यहोवाप्रति उनको प्रेम र विश्‍वास भने अझै ढलपल भएको छैन। यी बहिनीको असल उदाहरणबाट हामी धेरै कुरा सिक्न सक्छौँ भनेर महसुस गऱ्‍यौँ।” (फिलि. २:३) यस क्षेत्रीय निरीक्षकले यहोवाको उदाहरण पछ्याइरहेका थिए। यहोवा आफ्ना भेडालाई चिन्‍नुहुन्छ र तिनीहरूले भोगिरहेको पीडा उहाँलाई राम्ररी थाह छ। (प्रस्थ. ३:७) आफ्ना भेडालाई राम्ररी चिन्‍ने एल्डरहरूले तिनीहरूको राम्रो हेरचाह गर्न सक्छन्‌।

१२. यिपले एउटी बहिनीलाई राम्ररी चिन्दा नतिजा कस्तो भयो?

१२ आफूलाई रिसउठ्‌दो लाग्ने सङ्‌गी ख्रिष्टियनको पृष्ठभूमि थाह पाउनुभयो भने तिनीप्रति समानुभूति जाग्न सक्छ। एउटा उदाहरण विचार गर्नुहोस्‌। एसियामा बस्ने यिप यसो भन्छिन्‌, “मेरो मण्डलीको एउटी बहिनी असाध्यै ठूलो स्वरले बोल्थिन्‌। मलाई उनी कस्तो बेसोमती रहेछिन्‌ जस्तो लाग्थ्यो। तर उनीसित सँगै प्रचारकार्यमा जाँदा उनले पहिला बजारमा माछा बेच्न आमाबुबालाई सघाउँदी रहेछिन्‌ भनेर थाह पाएँ। ग्राहकको ध्यान खिच्न उनले ठूलठूलो स्वरले बोल्नुपर्थ्यो।” यिप अझ यसो भन्छिन्‌: “आफ्ना भाइबहिनीको कुरा राम्ररी बुझ्न उनीहरूको पृष्ठभूमि थाह पाउनुपर्छ भनेर मैले सिकेँ।” भाइबहिनीलाई राम्ररी चिन्‍ने प्रयास गर्नुपर्छ। आफ्नो मन ठूलो बनाउनू भन्‍ने बाइबलको सल्लाह पालन गर्दा “सबै किसिमका मानिस”-लाई प्रेम गर्नुहुने यहोवाको अनुकरण गरिरहनुभएको हुनेछ।—१ तिमो. २:३, ४; २ कोरि. ६:११-१३.

दया देखाउनुहोस्‌

१३. उत्पत्ति १९:१५, १६ अनुसार लुतले आलेटाले गरिरहँदा स्वर्गदूतहरूले के गरे र किन?

१३ जीवनको कठिन मोडमा लुतले यहोवाको निर्देशनबमोजिम चल्न आनाकानी गरे। दुई जना स्वर्गदूत लुतकहाँ आए र तिनको परिवारलाई सदोमबाट बाहिर निस्किहाल्न भने। किन? किनभने स्वर्गदूतहरूले यसो भने: “हामी यस सहरलाई नाश गर्नेछौँ।” (उत्प. १९:१२, १३) त्यसको भोलिपल्ट बिहान लुत र तिनको परिवार अझै पनि घरमै थिए। त्यसैले स्वर्गदूतहरूले लुतलाई फेरि चेतावनी दिए। तर तिनले “आलेटाले गरिरहे।” हामीलाई लुत यहोवाको कुराको वास्तै नगर्ने र अनाज्ञाकारी मानिसजस्तो लाग्न सक्छ। तर यहोवाले लुतलाई बचाउन कोसिस गरिरहनुभयो। “यहोवा परमेश्‍वरले लुतमाथि दया देखाउनुभएकोले” ती स्वर्गदूतहरूले तिनको परिवारलाई हातै समातेर सहरबाहिर पुऱ्‍याए।उत्पत्ति १९:१५, १६ पढ्‌नुहोस्‌।

१४. यहोवाले लुतमाथि किन दया देखाउनुभएको हुन सक्छ?

१४ यहोवाले विभिन्‍न कारणले गर्दा लुतमाथि दया देखाउनुभएको हुन सक्छ। सहरबाहिरका मानिसहरूको डरले गर्दा लुतले आफ्नो घर छोड्‌न आनाकानी गरेका हुन सक्छन्‌। यसबाहेक अरू खतरा पनि थिए। सायद लुतले नजिकैको बेँसीमा बिटुमिन अर्थात्‌ अलकत्राको दलदलमा फसेका दुई जना राजाबारे सुनेका थिए। (उत्प. १४:८-१२) लुत पति र बुबा भएकोले तिनलाई आफ्नो परिवारको चिन्ता लागेको हुनुपर्छ। साथै लुत धनी भएकाले सदोममा तिनको भव्य घर पनि थियो होला। (उत्प. १३:५, ६) कारण जस्तोसुकै भए तापनि लुतले यहोवाको आज्ञा तुरुन्तै पालन गर्नुपर्ने थियो। तैपनि यहोवाले लुतको गल्तीलाई मात्र हेर्नुभएन बरु तिनलाई “धर्मी मानिस” ठान्‍नुभयो।—२ पत्रु. २:७, ८.

ध्यान दिएर सुन्दा अरूलाई कसरी दया देखाउन सकिन्छ भनेर बुझ्न सक्छौँ (अनुच्छेद १५-१६ हेर्नुहोस्‌) *

१५. अर्को व्यक्‍तिको व्यवहारलाई न्याय गरिहाल्नुको साटो हामीले के गर्नुपर्छ?

१५ अर्को व्यक्‍तिको व्यवहारलाई न्याय गरिहाल्नुको साटो तिनी कस्तो महसुस गरिरहेका छन्‌ भनेर बुझ्न सक्दो कोसिस गर्नुहोस्‌। युरोपमा बसोबास गर्ने भेरोनिकाले त्यसै गर्ने कोसिस गरिन्‌। उनी भन्छिन्‌, “एउटी बहिनीको मुड सधैँ खराब भएजस्तो देखिन्थ्यो। उनी अरू कसैसित घुलमिल हुँदिनँ थिइन्‌। कहिलेकाहीँ मलाई पनि ऊसित कुरा गर्न डर लाग्थ्यो। तर मैले सोचेँ, ‘म उनको ठाउँमा भएकी भए मलाई एउटा साथी पक्कै चाहिने थियो।’ त्यसैले मैले उनी कस्तो छिन्‌ भनेर सोध्ने निर्णय गरेँ। अनि उनले मन खोलेर कुरा गर्न थालिन्‌! अब भने मलाई उनीबारे धेरै कुरा थाह छ।”

१६. समानुभूति विकास गर्न हामीले किन प्रार्थना गरेर मदत माग्नुपर्छ?

१६ हाम्रो विषयमा सबै कुरा बुझ्नुहुने यहोवा मात्र हुनुहुन्छ। (हितो. १५:११) त्यसैले अर्को व्यक्‍तिमा उहाँ के देख्नुहुन्छ, त्यो हेर्न र तिनीहरूलाई कसरी दया देखाउने भनी बुझ्न उहाँसित मदत माग्नुहोस्‌। प्रार्थना गर्दा एन्जिला नाम गरेकी बहिनीले अझ समानुभूति देखाउन मदत पाइन्‌। उनलाई मण्डलीको एउटी बहिनीसित मित्रैलो व्यवहार गर्न साह्रै गाह्रो भइरहेको थियो। एन्जिला भन्छिन्‌: “ती बहिनीको आलोचना गर्न र उनलाई मदत गर्न सकिने कुनै उपाय छैन भनेर हात बाँधेर बस्न सजिलो हुने थियो। तर ती बहिनीलाई समानुभूति देखाउन सकूँ भनेर मैले यहोवासित मदत मागेँ।” के यहोवाले एन्जिलाको प्रार्थनाको जवाफ दिनुभयो? उनी यसो भन्छिन्‌: “हामीले सँगै प्रचारकार्यमा भाग लियौँ अनि त्यसपछि घण्टौँ कुरा गऱ्‍यौँ। मैले दयालु हुँदै उनको कुरा ध्यान दिएर सुनेँ। अहिले म उनलाई असाध्यै माया गर्छु र मदत गरिरहने सङ्‌कल्प गरेकी छु।”

१७. हामीले के गर्ने सङ्‌कल्प गर्नुपर्छ?

१७ कुनै-कुनै भाइबहिनीलाई हाम्रो कोमल दयाको खाँचो छ तर अरूलाई भने छैन भन्‍ने सोचाइ राख्नु हुँदैन। कुन भाइ वा कुन बहिनीलाई तपाईँको कोमल दया चाहिएको छ भनेर तपाईँ आफै छुट्ट्याउन सक्नुहुन्‍न। तिनीहरू सबैले योना, एलिया, हागार र लुतले जस्तै समस्याहरू भोगिरहेका छन्‌। थुप्रै अवस्थाहरूमा तिनीहरूले आफ्नै कारणले गर्दा समस्याहरू निम्त्याएका छन्‌। साँच्चै भन्‍ने हो भने हामी सबैले कहिलेकाहीँ आफैमाथि समस्या निम्त्याएका छौँ। त्यसैले एकअर्काको पीडा महसुस गर्न यहोवासित मदत माग्नु बुद्धिमानी हो। (१ पत्रु. ३:८) यहोवाको आज्ञा पालन गर्दा विविधताले भरिएको विश्‍वव्यापी परिवारको एकतालाई अझ बलियो बनाइरहेका हुन्छौँ। त्यसैले एकअर्कासित व्यवहार गर्दा सुन्‍ने, बुझ्ने र दया देखाउने सङ्‌कल्प गरौँ!

गीत ८७ आऊ, स्फूर्ति पाऔँ!

^ अनु. 5 त्रुटिपूर्ण भएकोले अरू मानिस र उनीहरूको मनसायबारे तुरुन्तै अड्‌कल काट्‌ने झुकाव हामीसित छ। तर यहोवा भने “मानिसको हृदय हेर्नुहुन्छ।” (१ समु. १६:७) यस लेखमा उहाँले योना, एलिया, हागार र लुतलाई कसरी मायालु ढङ्‌गमा मदत गर्नुभयो भनेर छलफल गर्नेछौँ। त्यसले हामीलाई आफ्ना भाइबहिनीसित व्यवहार गर्दा यहोवाको अनुकरण गर्न मदत गर्नेछ।

^ अनु. 52 चित्रको व्याख्या: जवान भाइ सभामा ढिलो आएको देखेर पाको भाइलाई रिस उठ्‌छ तर पछि उनले ती जवान भाइको गाडी दुर्घटना भएकोले ढिलो भएको कुरा थाह पाउँछन्‌।

^ अनु. 54 चित्रको व्याख्या: क्षेत्र सेवा समूहका निरीक्षकलाई एउटी बहिनी एकलकाँटेजस्तो लागेको थियो तर उनी वास्तवमा लजालु स्वभावकी छिन्‌ र आफूले राम्ररी नचिनेका व्यक्‍तिहरूसित घुलमिल हुन अप्ठेरो मान्छिन्‌ भनेर थाह पाउँछन्‌।

^ अनु. 56 चित्रको व्याख्या: एउटी बहिनीले अर्की बहिनीलाई सुरुमा राज्यभवनमा भेट्‌दा उनी ठुस्स पर्ने र अरूको वास्तै नगर्ने व्यक्‍ति भन्ठानेकी थिइन्‌ तर राम्ररी चिनजान भएपछि उनी वास्तवमा त्यस्तो नभएको थाह पाउँछिन्‌।