सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १९

नयाँ संसारबारे गरिएको प्रतिज्ञामाथिको हाम्रो विश्‍वासलाई कसरी बलियो बनाउन सक्छौँ?

नयाँ संसारबारे गरिएको प्रतिज्ञामाथिको हाम्रो विश्‍वासलाई कसरी बलियो बनाउन सक्छौँ?

“[यहोवाले] भनेपछि के त्यो गर्नुहुन्‍न र?”—गन्ती २३:१९.

गीत १४२ आशालाई पक्रिराखौँ!

परिचय a

१-२. नयाँ संसार नआउन्जेल हामीले के गर्नुपर्छ?

 यस दुष्ट संसारलाई हटाएर धार्मिकताले बास गर्ने नयाँ संसार ल्याउने यहोवाको प्रतिज्ञालाई हामी अमूल्य ठान्छौँ। (२ पत्रु. ३:१३) हुनत हामीलाई नयाँ संसार ठ्याक्कै कहिले आउँछ भनेर थाह छैन। तर प्रमाणहरूले त्यो दिन धेरै टाढा छैन भनेर देखाउँछ।—मत्ति २४:३२-३४, ३६; प्रेषि. १:७.

हामी सत्यमा आएको जति नै लामो समय भए पनि त्यो दिन नआउन्जेल हामीले त्यस प्रतिज्ञामाथिको विश्‍वासलाई बलियो बनाइराख्नुपर्छ। किन? किनकि बलियो विश्‍वास पनि कमजोर हुन सक्छ। प्रेषित पावलले विश्‍वास कमजोर हुनुलाई “सजिलै अल्झाउने पाप” भनेका छन्‌। (हिब्रू १२:१) हाम्रो विश्‍वासलाई कमजोर हुन नदिन हामीले नयाँ संसार एकदमै नजिक छ भनेर सङ्‌केत गर्ने प्रमाणहरू नियमित रूपमा केलाउनुपर्छ।—हिब्रू ११:१.

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

यस लेखमा यहोवाले गर्नुभएको प्रतिज्ञामाथिको हाम्रो विश्‍वासलाई बलियो बनाउन मदत गर्ने तीन वटा तरिका छलफल गर्नेछौँ: (१) फिरौतीको बलिदानमा मनन गर्नु, (२) यहोवाको शक्‍तिबारे सोच्नु र (३) आध्यात्मिक गतिविधिमा समय बिताउनु। साथै यहोवाले हबकुकलाई भन्‍नुभएको कुराले हाम्रो विश्‍वासलाई कसरी बलियो बनाउँछ भनेर छलफल गर्नेछौँ। तर सुरुमा नयाँ संसारबारे गरिएको प्रतिज्ञामाथिको हाम्रो विश्‍वासको जाँच हुन सक्ने केही अवस्थाबारे विचार गरौँ।

बलियो विश्‍वास चाहिने अवस्थाहरू

४. कस्ता निर्णयहरू गर्न बलियो विश्‍वास चाहिन्छ?

हामी हरेक दिन बलियो विश्‍वास चाहिने विभिन्‍न निर्णय गर्छौँ। जस्तै: कसलाई साथी बनाउने, कस्तो मनोरञ्जन रोज्ने, कुन विषय लिएर पढ्‌ने, कस्तो काम गर्ने, कोसित विवाह गर्ने, बच्चा जन्माउने कि नजन्माउने। हामीले आफैलाई यस्ता प्रश्‍नहरू सोध्नु बेस हुन्छ: ‘के मेरा निर्णयहरूबाट यो संसार चाँडै बितेर जाँदै छ र त्यसको ठाउँमा नयाँ संसार स्थापना हुनेछ भन्‍ने कुरामा विश्‍वस्त भएको देखिन्छ? अथवा मरेपछि सबै सक्यो भन्‍ने मानिसहरूको जस्तो सोचाइ झल्किन्छ कि?’ (मत्ति ६:१९, २०; लुका १२:१६-२१) नयाँ संसार नजिकै छ भन्‍ने कुरामा हाम्रो विश्‍वास बलियो छ भने हामीले सही निर्णयहरू गर्न सक्नेछौँ।

५-६. परीक्षाको बेला हामीलाई किन बलियो विश्‍वास चाहिन्छ? उदाहरण दिनुहोस्‌।

हामीलाई कुनै-कुनै परीक्षा सहन बलियो विश्‍वास चाहिन्छ। हामीले खेदो, गम्भीर स्वास्थ्य समस्या वा निराश बनाउने अन्य परीक्षाहरू भोग्नुपर्ने हुन सक्छ। सुरुमा त हामीलाई यस्ता परीक्षाहरू सहन सक्छौँ जस्तो लाग्न सक्छ। तर त्यस्ता परीक्षाहरू अक्सर लामो समयसम्म रहिरहन्छ। त्यसैले त्यो सहन र रमाएर यहोवाको सेवामा लागिरहन हामीलाई बलियो विश्‍वास चाहिन्छ।—रोमी १२:१२; १ पत्रु. १:६, ७.

परीक्षा भोगिरहेको बेला हामीलाई नयाँ संसार कहिल्यै आउँदैन जस्तो लाग्न सक्छ। के यसको मतलब हाम्रो विश्‍वास कमजोर छ भन्‍ने हो? पक्कै होइन। एउटा उदाहरण विचार गरौँ। कठ्याङ्‌ग्रिने जाडोको बेला हामीलाई गर्मीयाम कहिल्यै आउँदैन जस्तो लाग्न सक्छ। तर त्यो एकदिन पक्कै आउँछ। त्यस्तै गरी, एकदमै निराश भएको बेला हामीलाई नयाँ संसार कहिल्यै आउँदैन जस्तो लाग्न सक्छ। तर हाम्रो विश्‍वास बलियो छ भने परमेश्‍वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन्छौँ। (भज. ९४:३, १४, १५; हिब्रू ६:१७-१९) त्यही विश्‍वासले हामीलाई यहोवाको उपासनालाई पहिलो स्थानमा राख्न मदत गर्नेछ।

७. हामीले कस्तो मनोवृत्ति राख्नु हुँदैन?

बलियो विश्‍वास चाहिने अर्को क्षेत्र हो—साक्षीकार्य। परमेश्‍वरले ल्याउनुहुने नयाँ संसारबारे “सुसमाचार” सुनाउँदा थुप्रै मानिस त्यसलाई वाहियात कुरा ठान्छन्‌। (मत्ति २४:१४; इज. ३३:३२) हामी तिनीहरूजस्तै परमेश्‍वरका प्रतिज्ञाहरूमा शङ्‌का गर्न चाहँदैनौँ। यस्तो मनोवृत्तिदेखि जोगिन हामीले आफ्नो विश्‍वासलाई बलियो बनाइराख्नुपर्छ। आउनुहोस्‌, त्यसो गर्न मदत गर्ने तीन वटा तरिका विचार गरौँ।

फिरौतीको बलिदानमा मनन गर्नुहोस्‌

८-९. फिरौतीको बलिदानमा मनन गर्दा हाम्रो विश्‍वास कसरी बलियो हुन्छ?

हाम्रो विश्‍वासलाई बलियो बनाउन मदत गर्ने एउटा तरिका फिरौतीको बलिदानमा मनन गर्नु हो। फिरौतीको बलिदान परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भन्‍ने कुराको ग्यारेन्टी हो। हामीले फिरौतीको प्रबन्ध किन गरियो र यसको लागि यहोवाले कत्ति ठूलो मोल चुकाउनुभयो भन्‍ने कुरामा गहिरिएर मनन गर्नुपर्छ। यसो गऱ्‍यौँ भने अनन्त जीवन दिने परमेश्‍वरको प्रतिज्ञा पूरा हुनेछ भन्‍ने कुरामाथिको हाम्रो विश्‍वास बलियो हुनेछ। हामी किन यसो भन्‍न सक्छौँ?

फिरौतीको बलिदानको प्रबन्ध गर्न यहोवाले के-के गर्नुभयो? उहाँले आफ्नो एक मात्र प्यारो छोरा, जो उहाँको सबैभन्दा मिल्ने साथी पनि हुनुहुन्थ्यो, उहाँलाई पृथ्वीमा मानिसको रूपमा जन्मिन पठाउनुभयो। पृथ्वीमा हुनुहुँदा येसुले अनेक कठिनाइहरू सहनुभयो। अन्तमा मानिसहरूले उहाँलाई दिनुसम्म सास्ती दिएर यातनाको खम्बामा झुन्ड्याए। यहोवाले कत्ति ठूलो मोल चुकाउनुभयो! हामीलाई छोटो समयको लागि मात्र उत्तम जीवन दिन उहाँले आफ्नो प्यारो छोरालाई यस्तो पीडादायी मृत्यु भोग्न कहिल्यै पठाउनुहुने थिएन। (युह. ३:१६; १ पत्रु. १:१८, १९) हो, यहोवाले हाम्रो लागि ठूलो मोल चुकाउनुभयो। त्यसैले उहाँले नयाँ संसारमा हामीलाई पक्कै अनन्त जीवन दिनुहुनेछ।

यहोवाको शक्‍तिबारे सोच्नुहोस्‌

१०. एफिसी ३:२० अनुसार यहोवा के गर्न सक्नुहुन्छ?

१० हाम्रो विश्‍वासलाई बलियो बनाउन मदत गर्ने दोस्रो तरिका यहोवाको शक्‍तिबारे सोच्नु हो। उहाँसित आफ्ना सबै प्रतिज्ञा पूरा गर्ने शक्‍ति छ। नयाँ संसारमा अनन्त जीवन पाउने प्रतिज्ञा मानिसहरूलाई असम्भव छ जस्तो लाग्न सक्छ। तर परमेश्‍वरले मानिसले कहिल्यै पूरा गर्न नसक्ने थुप्रै प्रतिज्ञा पूरा गर्नुभएको छ। (अय्यु. ४२:२; मर्कु. १०:२७) आखिर उहाँ सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ! त्यसैले उहाँले असाधारण प्रतिज्ञाहरू गर्नुभएकोमा हामी अचम्म मान्दैनौँ।—एफिसी ३:२० पढ्‌नुहोस्‌।

११. यहोवाले गर्नुभएको एउटा असाधारण प्रतिज्ञा बताउनुहोस्‌। (“ पूरा भएका केही असाधारण प्रतिज्ञा” भन्‍ने पेटी हेर्नुहोस्‌।)

११ यहोवाले विगतमा असम्भव जस्तो देखिने थुप्रै प्रतिज्ञा गर्नुभएको थियो। आउनुहोस्‌, त्यसमध्ये केही विचार गरौँ। उहाँले अब्राहाम र सारालाई तिनीहरूले बुढेसकालमा एउटा छोरा पाउनेछन्‌ भनेर बताउनुभयो। (उत्प. १७:१५-१७) तिनका सन्तानलाई कनान देश दिनेछु भनेर पनि प्रतिज्ञा गर्नुभयो। अब्राहामका सन्तान इस्राएलीहरूले मिश्रमा थुप्रै वर्ष दासको रूपमा बिताए। त्यतिबेला तिनीहरूलाई त्यो प्रतिज्ञा कहिल्यै पूरा हुँदैन जस्तो लागेको हुन सक्छ। तर त्यो पूरा भयो। पछि यहोवाले वृद्ध इलिसिबाले एउटा बच्चा जन्माउनेछिन्‌ भनेर भन्‍नुभयो। उहाँले कुमारी मरियमलाई तिनले उहाँकै छोरा जन्माउनेछिन्‌ भनेर बताउनुभयो। यसले यहोवाले अदनको बगैँचामा हजारौँ वर्षअगाडि गर्नुभएको प्रतिज्ञा पूरा गर्ने थियो।—उत्प. ३:१५.

१२. यहोसु २३:१४ र यसैया ५५:१०, ११ बाट के सिक्न सक्छौँ?

१२ यहोवाले गर्नुभएका प्रतिज्ञाहरू र ती कसरी पूरा भए भनेर विचार गर्दा उहाँ कत्ति शक्‍तिशाली हुनुहुन्छ भनेर बुझ्न सक्छौँ। यसरी विचार गर्दा नयाँ संसार ल्याउने उहाँको प्रतिज्ञामाथिको हाम्रो विश्‍वास अझ बलियो हुनेछ। (यहोसु २३:१४; यसैया ५५:१०, ११ पढ्‌नुहोस्‌।) यस्तो विश्‍वासले हामीलाई नयाँ संसारको प्रतिज्ञा सपना वा काल्पनिक कुरा होइन भनेर अरूलाई अझ राम्ररी बुझाउन तयार बनाउँछ। नयाँ आकाश र नयाँ पृथ्वीबारे यहोवा स्वयम्‌ले यस्तो घोषणा गर्नुभयो: “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्‌।”—प्रका. २१:१,.

आध्यात्मिक गतिविधिलाई जीवनको अभिन्‍न भाग बनाउनुहोस्‌

सभाहरू

यी आध्यात्मिक गतिविधिले तपाईँको विश्‍वासलाई बलियो बनाउन कसरी मदत गर्छ? (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३. सभाहरूले हाम्रो विश्‍वासलाई बलियो बनाउन कसरी मदत गर्न सक्छ, व्याख्या गर्नुहोस्‌।

१३ हाम्रो विश्‍वासलाई बलियो बनाउन मदत गर्ने तेस्रो तरिका आध्यात्मिक गतिविधिमा समय बिताउनु हो। जस्तै: हामी कसरी सभाहरूबाट लाभ उठाउँछौँ, विचार गरौँ। दशकौँदेखि पूर्ण-समय सेवाका विभिन्‍न पक्षमा भाग लिएकी आना यसो भन्छिन्‌: “सभाहरूले मेरो विश्‍वास बलियो बनाउन मदत गरेको छ। वक्‍ताको सिकाउने क्षमता खासै राम्रो छैन वा कुनै नयाँ कुरा बताउँदैनन्‌ भने पनि तिनले भन्‍ने कुनै न कुनै कुराबाट मैले बाइबलको सत्य अझ राम्ररी बुझ्न र आफ्नो विश्‍वास बलियो बनाउन सकेकी छु।” b भाइबहिनीको टिप्पणी सुनेर पनि हामी आफ्नो विश्‍वास बलियो बनाउन सक्छौँ।—रोमी १:११, १२; १०:१७.

साक्षीकार्य

यी आध्यात्मिक गतिविधिले तपाईँको विश्‍वासलाई बलियो बनाउन कसरी मदत गर्छ? (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. साक्षीकार्यले हाम्रो विश्‍वास कसरी बलियो बनाउँछ?

१४ साक्षीकार्यमा भाग लिँदा पनि हामी आफ्नो विश्‍वासलाई बलियो बनाउन सक्छौँ। (हिब्रू १०:२३) सत्तरी वर्षभन्दा लामो समय यहोवाको सेवा गरेकी बार्बरा यसो भन्छिन्‌: “साक्षीकार्यले मेरो विश्‍वासलाई बलियो बनाउन मदत गरेको छ। म जत्ति धेरै यहोवाका सुन्दर प्रतिज्ञाहरूबारे अरूसित कुरा गर्छु, त्यत्ति नै आफ्नो विश्‍वास बलियो भएको महसुस गर्छु।”

व्यक्‍तिगत अध्ययन

यी आध्यात्मिक गतिविधिले तपाईँको विश्‍वासलाई बलियो बनाउन कसरी मदत गर्छ? (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५. व्यक्‍तिगत अध्ययनले हाम्रो विश्‍वास कसरी बलियो बनाउँछ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

१५ हाम्रो विश्‍वासलाई बलियो बनाउन मदत गर्ने अर्को आध्यात्मिक गतिविधि हो: व्यक्‍तिगत अध्ययन। सुजनले व्यक्‍तिगत अध्ययनको लागि तालिका बनाउनु मदतकारी पाएकी छिन्‌। तिनी भन्छिन्‌: “आइतबार म अर्को हप्ताको प्रहरीधरहरा अध्ययनको लागि तयारी गर्छु। सोमबार र मङ्‌गलबार मध्यहप्ताको सभाको लागि तयारी गर्छु। अनि बाँकी दिनहरू म कुनै विषय राजेर अध्ययन गर्छु।” यसरी तालिकाअनुसार अध्ययन गर्दा सुजनले आफ्नो विश्‍वास बलियो बनाइरहन सकेकी छिन्‌। विश्‍व मुख्यालयमा दशकौँदेखि सेवा गरिरहेकी आइरिनले बाइबलका भविष्यवाणीहरूबारे अध्ययन गर्दा आफ्नो विश्‍वास बलियो बनाउन मदत पाएकी छिन्‌। तिनी भन्छिन्‌: “यहोवाले गर्नुभएका भविष्यवाणीहरूको ससानो कुरा पनि पूरा हुनु साँच्चै अचम्मलाग्दो कुरा हो।” c

“त्यो पक्कै पूरा हुनेछ”

१६. यहोवाले हबकुकलाई दिनुभएको आश्‍वासन हाम्रो लागि पनि हो भनेर किन भन्‍न सक्छौँ? (हिब्रू १०:३६, ३७)

१६ यहोवाका थुप्रै सेवकले यस दुष्ट संसारको अन्त हुने दिन पर्खेको लामो समय भइसक्यो। मानिसको नजरबाट हेर्दा परमेश्‍वरको प्रतिज्ञा पूरा हुन ढिलो भएको जस्तो देखिन्छ। तर यहोवा आफ्ना सेवकहरूको भावना बुझ्नुहुन्छ। त्यसैले उहाँले भविष्यवक्‍ता हबकुकलाई यस्तो आश्‍वासन दिनुभयो: “त्यो दर्शन तोकिएको समयमा पूरा हुनेछ अनि त्यो पूरा हुने समय नजिकै आउँदै छ र त्यो झूटो साबित हुनेछैन। त्यसले ढिला गऱ्‍यो भने पनि त्यसको बाटो हेर्दै बस किनकि त्यो पक्कै पूरा हुनेछ। त्यसले ढिला गर्नेछैन!” (हब. २:३) के परमेश्‍वरले यो आश्‍वासन हबकुकको लागि मात्र दिनुभएको थियो? अथवा हाम्रो लागि पनि दिनुभएको थियो? प्रेषित पावलले यी शब्दहरू नयाँ संसार उत्सुकतासाथ पर्खिरहेका ख्रिष्टियनहरूलाई लागू हुन्छ भनेर बताए। (हिब्रू १०:३६, ३७ पढ्‌नुहोस्‌।) हाम्रो उद्धारबारे यहोवाले गर्नुभएको प्रतिज्ञा पूरा हुन ढिला भएको जस्तो लागे तापनि “त्यो पक्कै पूरा हुनेछ” भनेर हामी ढुक्क हुन सक्छौँ।

१७. यहोवाले हबकुकलाई दिनुभएको सल्लाह एक बहिनीले कसरी लागू गरिन्‌?

१७ यहोवाका थुप्रै सेवकले “बाटो हेर्दै बस” भन्‍ने उहाँको सल्लाह पालन गरेका छन्‌। कसै-कसैले त दशकौँदेखि यसो गर्दै आएका छन्‌। उदाहरणको लागि, सन्‌ १९३९ देखि यहोवाको सेवा गर्न थालेकी लुइज यसो भन्छिन्‌: “त्यतिबेला मलाई स्कुल सकिनुअघि नै आरमागेडोन आउँछ जस्तो लाग्थ्यो। तर त्यस्तो भएन। यहोवाले प्रतिज्ञा गर्नुभएका इनामहरू पाउन लामो समय पर्खेका नुह, अब्राहाम, युसुफजस्ता बाइबल पात्रहरूबारे पढ्‌दा मैले मदत पाएकी छु। यहोवाका प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन्‌ भनेर विश्‍वास गर्दा म अनि अरू भाइबहिनीहरू नयाँ संसार एकदमै नजिकै छ भन्‍ने कुरामा विश्‍वस्त हुन सकेका छौँ।” लामो समयदेखि यहोवाको उपासना गरिरहेका थुप्रै भाइबहिनी पनि यस कुरामा सहमत छन्‌!

१८. सृष्टिलाई नियाल्दा नयाँ संसारमाथिको हाम्रो विश्‍वास कसरी बलियो हुन्छ?

१८ हुनत अहिले नयाँ संसार आइसकेको छैन। तर हामीले देख्ने ताराहरू, रूखहरू, जीवजन्तु र मानिसहरूबारे एकछिन विचार गरौँ। ती कुराहरू कुनै समय अस्तित्वमा थिएनन्‌। तर ती वास्तविक हुन्‌ भन्‍ने कुरामा हामी शङ्‌का गर्दैनौँ। यहोवाले सृष्टि गर्नुभएपछि मात्र ती कुराहरू अस्तित्वमा आए। (उत्प. १:१, २६, २७) हाम्रो परमेश्‍वरले नयाँ संसार स्थापना गर्ने प्रतिज्ञा पनि गर्नुभएको छ। उहाँले त्यो प्रतिज्ञा अवश्‍य पूरा गर्नुहुनेछ! मानिसहरूले कुनै रोगबिमार नभएको संसारमा अनन्त जीवन पाउनेछन्‌। अहिले अस्तित्वमा रहेको ब्रह्‍माण्ड वास्तविक भएजस्तै परमेश्‍वरले तोक्नुभएको समयमा नयाँ संसार पनि वास्तविक हुनेछ।—यसै. ६५:१७; प्रका. २१:३, ४.

१९. तपाईँ आफ्नो विश्‍वास कसरी बलियो बनाउन सक्नुहुन्छ?

१९ त्यतिन्जेल आफ्नो विश्‍वास बलियो बनाउने हर मौकाको सदुपयोग गर्नुहोस्‌। फिरौतीको बलिदानप्रतिको कृतज्ञतालाई बढाउँदै लैजानुहोस्‌। यहोवाको शक्‍तिबारे सोच्नुहोस्‌। आध्यात्मिक गतिविधिलाई जीवनको अभिन्‍न भाग बनाउनुहोस्‌। यसो गर्दा तपाईँ पनि ‘विश्‍वास अनि धैर्यद्वारा प्रतिज्ञाहरूका हकदार बन्‍न सक्नुहुनेछ।’—हिब्रू ६:११, १२; रोमी ५:५.

गीत १३९ नयाँ संसारको जीवन कल्पना गरौँ!

a थुप्रै मानिस नयाँ संसारबारे बाइबलमा गरिएको प्रतिज्ञामा विश्‍वास गर्दैनन्‌। तिनीहरूलाई त्यो केवल सपना, दन्त्यकथा वा काल्पनिक कुरा जस्तो लाग्छ। तर यहोवाले आफ्ना सबै प्रतिज्ञा पूरा गर्नुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क छौँ। तैपनि हामीले यसमाथिको विश्‍वासलाई बलियो बनाइराख्नुपर्छ। कसरी? यसबारे हामी यस लेखमा छलफल गर्नेछौँ।

b केही नाम परिवर्तन गरिएका छन्‌।

c यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-को “भविष्यवाणी”-अन्तर्गत बाइबल भविष्यवाणीसित सम्बन्धित थुप्रै लेख पाउन सक्नुहुन्छ। जस्तै: मे १५, २०१२ अङ्‌कको प्रहरीधरहरा-को “‘समय र ऋतुहरू’-का परमेश्‍वर यहोवामा भरोसा राख्नुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।