सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १७

यहोवा तपाईँलाई अचानक आइपर्ने समस्याहरूको सामना गर्न मदत गर्नुहुन्छ

यहोवा तपाईँलाई अचानक आइपर्ने समस्याहरूको सामना गर्न मदत गर्नुहुन्छ

“धर्मी मानिसले धेरै दुःखकष्ट झेल्नुपर्छ तर यहोवाले उसलाई ती सबैबाट बचाउनुहुन्छ।”—भज. ३४:१९.

गीत ४४ दुःखी मानिसको प्रार्थना

परिचय a

१. हामीले के बुझेका छौँ?

 यहोवा हामीलाई प्रेम गर्नुहुन्छ र उहाँ हामीले सुखी जीवन बिताएको चाहनुहुन्छ भनेर हामीलाई थाह छ। (रोमी ८:३५-३९) बाइबल सिद्धान्त लागू गर्दा सधैँ हाम्रै भलाइ हुन्छ भनेर पनि हामीले बुझेका छौँ। (यसै. ४८:१७, १८) तर अचानक समस्याहरू आइपर्दा हामी के गर्छौँ?

२. हामीमाथि कस्ता समस्याहरू आइपर्न सक्छन्‌ र त्यतिबेला हामीलाई कस्तो लाग्न सक्छ?

यहोवाका सेवकहरूले कुनै न कुनै समस्या भोगिरहेका छन्‌। जस्तै: परिवारको सदस्यले हामीलाई कुनै तरिकामा निराश बनाएको हुन सक्छ। गम्भीर स्वास्थ्य समस्याले गर्दा हामीले यहोवाको सेवामा चाहेजति गर्न सकिरहेका छैनौँ होला। हामी प्राकृतिक प्रकोपको चपेटामा परेका छौँ होला। अथवा हामीले विश्‍वासको खातिर खेदो भोगिरहेका हुन सक्छौँ। यस्ता परीक्षाहरू आइपर्दा हामीलाई यस्तो लाग्न सक्छ: ‘यो सब मलाई नै किन भइरहेको छ? मैले केही गल्ती गरेँ कि? ममाथि यहोवाको आशिष्‌ छैन कि?’ के तपाईँले पनि यस्तै महसुस गर्नुभएको छ? छ भने निराश नहुनुहोस्‌। यहोवाका अरू सेवकले पनि यस्तै भावनाहरूसित सङ्‌घर्ष गरेका छन्‌।—भज. २२:१, २; हब. १:२, ३.

३. भजन ३४:१९ बाट हामी के सिक्न सक्छौँ?

भजन ३४:१९ पढ्‌नुहोस्‌। यस पदमा बताइएको दुइटा महत्त्वपूर्ण बुँदा याद गर्नुहोस्‌: (१) धर्मी मानिसहरूले समस्याहरू भोग्नुपर्छ। (२) यहोवा हामीलाई परीक्षाहरूबाट बचाउनुहुन्छ। उहाँ हामीलाई कसरी बचाउनुहुन्छ? एउटा तरिका भनेको हामीलाई जीवनप्रति व्यावहारिक दृष्टिकोण राख्न मदत दिएर हो। यहोवाले हामी उहाँको सेवामा आनन्दित हुन सक्छौँ भनेर प्रतिज्ञा गर्नुभएको छ। तर हाम्रो जीवन चिन्तामुक्‍त हुनेछ भन्‍ने ग्यारेन्टी भने दिनुभएको छैन। (यसै. ६६:१४) उहाँ हामीलाई भविष्यमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुहुन्छ, जहाँ हामीले सधैँभरि जीवनको आनन्द उठाउन सक्नेछौँ। (२ कोरि. ४:१६-१८) त्यतिन्जेल उहाँ हामीलाई हरेक दिन उहाँको सेवामा लाग्न मदत गर्नुहुन्छ।—विला. ३:२२-२४.

४. यस लेखमा हामी के छलफल गर्नेछौँ?

पुरातन र हाम्रो समयका वफादार सेवकहरूको उदाहरणबाट हामी के सिक्न सक्छौँ, अब छलफल गरौँ। साथै हामीले पनि सोच्दै नसोचेका समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। तर यहोवामा भर पऱ्‍यौँ भने उहाँले सधैँ हामीलाई सम्हाल्नुहुनेछ। (भज. ५५:२२) अब छलफल गरिने उदाहरणहरू विचार गर्दा आफैलाई सोध्नुहोस्‌: ‘म यस्तो परिस्थितिमा भएको भए के गर्ने थिएँ? यी उदाहरणहरूले यहोवामाथिको मेरो विश्‍वासलाई कसरी बलियो बनाउँछ? त्यसबाट सिकेका पाठहरू म आफ्नो जीवनमा कसरी लागू गर्न सक्छु?’

पुरातन समयमा

याकुबले धोकेबाज मामा लाबानकहाँ २० वर्ष कडा मेहनत गर्दा यहोवाले तिनलाई आशिष्‌ दिनुभयो (अनुच्छेद ५ हेर्नुहोस्‌)

५. लाबानले गर्दा याकुबले कस्ता चुनौतीहरूको सामना गर्नुपऱ्‍यो? (आवरण चित्र हेर्नुहोस्‌।)

पुरातन समयमा यहोवाका सेवकहरूले सोच्दै नसोचेका चुनौतीहरूको सामना गर्नुपऱ्‍यो। याकुबको उदाहरण विचार गरौँ। तिनलाई तिनको बुबाले लाबानकी छोरीहरूमध्ये एक जनासित विवाह गर्न भने। लाबान तिनीहरूका आफन्त थिए र यहोवाका उपासक थिए। याकुबले यो कुरा मानेमा यहोवाले प्रचुर मात्रामा आशिष्‌ दिनुहुनेछ भनेर बुबा इसहाकले तिनलाई आश्‍वासन दिए। (उत्प. २८:१-४) याकुबले त्यसै गरे। तिनले कनानदेखि लाबानको घरसम्म लामो यात्रा गरे। लाबानका दुई छोरी थिए—लेआ र राहेल। याकुबको राहेलसँग माया बस्यो र तिनी राहेलसँग विवाह गर्नुअघि लाबानकहाँ सात वर्षसम्म काम गर्न राजी भए। (उत्प. २९:१८) तर याकुबले सोचेजस्तो भएन। लाबानले तिनलाई झुक्क्याएर आफ्नी जेठी छोरी लेआसँग विवाह गरिदिए। अर्को सात वर्ष आफूकहाँ काम गर्न राजी भएमा लाबानले एक हप्तापछि राहेलसँग विवाह गरिदिने वाचा गरे। (उत्प. २९:२५-२७) लाबानले याकुबसितको लेनदेनमा पनि बेइमानी गरे। यसरी याकुबले २० वर्षसम्म लाबानको हातबाट अन्याय भोग्नुपऱ्‍यो!—उत्प. ३१:४१, ४२.

६. याकुबले अरू कस्ता समस्याहरूको सामना गर्नुपऱ्‍यो?

याकुबले अरू थुप्रै समस्याको सामना गर्नुपऱ्‍यो। तिनको ठूलो परिवार थियो तर तिनका छोराहरूबीचको सम्बन्ध भने राम्रो थिएन। युसुफका दाइहरूले तिनलाई दासको रूपमा बेचिदिए। याकुबका दुई छोरा सिमियोन अनि लेविले परिवार र यहोवाको नाममा कलङ्‌क लाग्ने काम गरे। याकुबले आफ्नी प्यारी पत्नी राहेललाई पनि गुमाउनुपऱ्‍यो। कान्छो छोरा जन्माउँदा उनको मृत्यु भएको थियो। आफू बसिरहेको ठाउँमा ठूलो अनिकाल परेकोले याकुब बुढेसकालमा मिश्र सर्न बाध्य भए।—उत्प. ३४:३०; ३५:१६-१९; ३७:२८; ४५:९-११, २८.

७. यहोवाले याकुबलाई कसरी अनुग्रह देखाइरहनुभयो?

यी सबै परीक्षाको बाबजुद याकुबले यहोवा र उहाँका प्रतिज्ञाहरूमाथिको भरोसा कहिल्यै गुमाएनन्‌। यहोवाले तिनलाई अनुग्रह देखाइरहनुभयो। उदाहरणको लागि, लाबानले जालझेल गरे तापनि यहोवाले याकुबलाई भौतिक रूपमा सम्पन्‍न बनाउनुभयो। मरिसक्यो होला भन्ठानेको आफ्नो छोरा युसुफसित पुनर्मिलन हुँदा याकुब यहोवाप्रति कत्ति कृतज्ञ भए होलान्‌! यहोवासित याकुबको घनिष्ठ सम्बन्ध थियो; त्यसैले तिनले परीक्षाहरूको सफलतापूर्वक सामना गर्न सके। (उत्प. ३०:४३; ३२:९, १०; ४६:२८-३०) यहोवासित घनिष्ठ सम्बन्ध कायम राखेका छौँ भने सोच्दै नसोचेको परीक्षा आउँदा हामीले पनि त्यसको सफलतापूर्वक सामना गर्न सक्नेछौँ।

८. राजा दाउदको के गर्ने धोको थियो?

राजा दाउदले यहोवाको सेवामा आफूले सोचेजति सबै गर्न सकेनन्‌। जस्तै: यहोवाको लागि मन्दिर बनाउने दाउदको ठूलो धोको थियो। तिनले आफ्नो यो इच्छा भविष्यवक्‍ता नातानलाई बताए। जवाफमा नातानले यसो भने: “तपाईँको मनले जे भन्छ, त्यही गर्नुहोस्‌। किनकि साँचो परमेश्‍वर तपाईँको साथमा हुनुहुन्छ।” (१ इति. १७:१, २) नातानका यी शब्दहरूबाट दाउदले कत्ति हौसला पाए होलान्‌! सायद तिनी तुरुन्तै यस ठूलो परियोजनाको तयारीमा जुटे होलान्‌।

९. नराम्रो खबर सुनेपछि दाउदले कस्तो प्रतिक्रिया देखाए?

तर केही समय नबित्दै यहोवाको भविष्यवक्‍ता नराम्रो खबर लिएर आए। “त्यही रात” यहोवाले नातानलाई दाउदले होइन तर तिनको एक जना छोराले उहाँको लागि भवन बनाउनेछन्‌ भनेर बताउनुभयो। (१ इति. १७:३, ४, ११, १२) यो खबर सुनेपछि दाउदले कस्तो प्रतिक्रिया देखाए? तिनले आफ्नो लक्ष्यमा छाँटकाँट गरे। तिनले आफ्नो छोरा सुलेमानलाई यस परियोजनाको लागि चाहिने रकम र सरसामान जुटाउने काममा ध्यान दिए।—१ इति. २९:१-५.

१०. यहोवाले दाउदलाई कस्तो आशिष्‌ दिनुभयो?

१० यहोवाले दाउदलाई तिनले उहाँको लागि भवन बनाउनेछैनन्‌ भनेर खबर गर्नुभएलगत्तै तिनीसित एउटा करार बाँध्नुभयो। दाउदको घरानाकै एक जनाले सदाको लागि शासन गर्नेछन्‌ भनेर यहोवाले दाउदसित प्रतिज्ञा गर्नुभयो। (२ समु. ७:१६) हजार वर्षीय शासनको दौडान आफ्नै वंशका राजाले शासन गर्दै छन्‌ भनेर थाह पाउँदा दाउद कत्ति खुसी हुनेछन्‌ होला! यस विवरणबाट यहोवाको सेवामा आफूले सोचेजस्तो गर्न नसके पनि उहाँले हामीलाई आसै नगरेका आशिष्‌हरू दिनुहुन्छ भनेर सिक्न सक्छौँ।

११. आफूले आशा गरेको समयमा परमेश्‍वरको राज्य नआए पनि साक्षीकार्यमा लागिरहँदा ख्रिष्टियनहरूले कस्तो आशिष्‌ पाए? (प्रेषित ६:७)

११ प्रथम शताब्दीका ख्रिष्टियनहरूले पनि सोच्दै नसोचेको चुनौतीहरूको सामना गर्नुपऱ्‍यो। जस्तै: तिनीहरू परमेश्‍वरको राज्य आएको चाहन्थेँ तर त्यो कहिले आउँछ भनेर तिनीहरूलाई थाह थिएन। (प्रेषि. १:६, ७) तिनीहरूले के गरे? तिनीहरू साक्षीकार्यमा लागिरहे। सुसमाचार फैलँदै जाँदा यहोवाले तिनीहरूको प्रयासमा आशिष्‌ दिइरहनुभएको छ भनेर तिनीहरू पक्का भए।—प्रेषित ६:७ पढ्‌नुहोस्‌।

१२. अनिकाल पर्दा प्रथम शताब्दीका ख्रिष्टियनहरूले के गरे?

१२ एकचोटि “सारा पृथ्वीभरि ठूलो अनिकाल” पऱ्‍यो। (प्रेषि. ११:२८) यसले प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई पनि प्रभाव पाऱ्‍यो। तिनीहरूले कस्तो अवस्थाको सामना गर्नुपऱ्‍यो होला, सोच्नुहोस्‌। छोराछोरीको लागि कसरी खानेकुरा जुटाउने भनेर आमाबुबालाई चिन्ता लागेको हुन सक्छ। आफ्नो सेवा विस्तार गर्ने योजना बनाइरहेका जवानहरूले के गरे होलान्‌? अनिकाल सकेपछि फेरि योजना बनाउँला भनेर सोचे कि? जेहोस्‌, तिनीहरूले परिस्थितिअनुसार छाँटकाँट गरे। तिनीहरूले कुनै न कुनै तरिकामा सुसमाचार सुनाइरहे र आफूसँग भएको भौतिक चीजबीच यहुदियाका भाइबहिनीसित खुसीसाथ बाँडचुँड गरे।—प्रेषि. ११:२९, ३०.

१३. अनिकालको बेला ख्रिष्टियनहरूले कस्ता आशिष्‌हरू पाए?

१३ अनिकालको बेला ख्रिष्टियनहरूले कस्ता आशिष्‌हरू पाए? राहत सामग्री पाएकाहरूले यहोवाले ख्याल राख्दै हुनुहुन्छ भन्‍ने कुरा आफैले अनुभव गर्न सके। (मत्ति ६:३१-३३) तिनीहरूलाई सघाउन आएका भाइबहिनीसित तिनीहरू घनिष्ठ भएको हुनुपर्छ। अनुदान दिएकाहरू र अन्य तरिकामा राहतकार्यमा मदत गरेकाहरूले दिँदाको आनन्द महसुस गर्न सके। (प्रेषि. २०:३५) बदलिँदो परिस्थितिअनुसार छाँटकाँट गर्दा यहोवाले तिनीहरूलाई आशिष्‌ दिनुभयो।

१४. बर्णाबास र प्रेषित पावलले कस्तो अवस्थाको सामना गर्नुपऱ्‍यो र नतिजा कस्तो भयो? (प्रेषित १४:२१, २२)

१४ प्रथम शताब्दीका ख्रिष्टियनहरूले थुप्रै खेदो भोगे। कहिलेकाहीँ त तिनीहरूले आसै नगरेको बेला खेदो भोग्नुपऱ्‍यो। प्रेषित पावल र बर्णाबासले लिस्त्रामा सुसमाचार सुनाउँदा के भयो, विचार गरौँ। सुरुमा त त्यहाँका मानिसहरूले तिनीहरूलाई स्वागत गरे र तिनीहरूको कुरा पनि सुनेँ। तर पछि विरोधीहरूले “भीडलाई उक्साए” र त्यसै भीडका केही मानिसले पावललाई ढुङ्‌गाले हाने र मरे होला भन्ठानेर छोडेर हिँडे। (प्रेषि. १४:१९) तर बर्णाबास र पावल अर्कै ठाउँमा गए र साक्षीकार्यमा लागिरहे। नतिजा कस्तो भयो? तिनीहरूले “थुप्रै चेला” बनाए अनि तिनीहरूको बोली र उदाहरणबाट सङ्‌गी ख्रिष्टियनहरूले ढाडस पाए। (प्रेषित १४:२१, २२ पढ्‌नुहोस्‌।) सोच्दै नसोचेको खेदो आइपर्दा बर्णाबास र पावल पछि हटेनन्‌ र यो देखेर अरूहरूले पनि लाभ उठाए। हामी पनि यहोवाले सुम्पनुभएको जिम्मेवारीबाट पछि हटेनौँ भने उहाँले हामीलाई आशिष्‌ दिनुहुनेछ।

हाम्रो समयमा

१५. भाइ ए. एच. म्याकमिलनको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१५ सन्‌ १९१४ अघि यहोवाका जनहरूले स्वर्ग जाने समय एकदमै नजिकै छ भनेर सोचेका थिए। भाइ ए. एच. म्याकमिलनको अनुभव विचार गरौँ। अरू थुप्रैले जस्तै भाइ म्याकमिलनले पनि चाँडै स्वर्गीय इनाम पाउनेछु भनेर सोच्नुभएको थियो। सन्‌ १९१४ को सेप्टेम्बरमा उहाँले एउटा भाषणमा यसो भन्‍नुभयो: “सायद यो नै मेरो अन्तिम जनभाषण हो।” तर त्यो उहाँको अन्तिम भाषण भने थिएन। पछि भाइ म्याकमिलनले यस्तो लेख्नुभयो: “सायद हामीमध्ये थुप्रैले हामी स्वर्ग गइहाल्नेछौँ भन्‍ने निष्कर्षमा पुग्न अलि हतार गऱ्‍यौँ जस्तो लाग्छ।” उहाँले अझै यसो भन्‍नुभयो: “वास्तवमा हामी प्रभुको काममा व्यस्त रहनुपर्थ्यो।” हुन पनि भाइ म्याकमिलनले त्यस्तै गर्नुभयो। उहाँ साक्षीकार्यमा जोसिलो हुनुहुन्थ्यो। उहाँले तटस्थताको कारण जेलमा परेका थुप्रै भाइलाई प्रोत्साहन दिने मौका पनि पाउनुभयो। वृद्ध भएपछि पनि उहाँले कहिल्यै सभा छुटाउनुभएन। स्वर्गीय इनाम पाउने समय नआउन्जेल आफ्नो समयको पूर्ण सदुपयोग गर्दा उहाँले कस्तो लाभ उठाउनुभयो? सन्‌ १९६६ मा आफ्नो मृत्यु हुनुभन्दाअघि उहाँले यस्तो लेख्नुभयो: “मेरो विश्‍वास पहिलाको भन्दा अझै बलियो भएको छ।” विशेषगरि आफूले सोचेभन्दा लामो समयसम्म परीक्षाहरूको सामना गर्नुपर्दा हामीले उहाँको मनोवृत्ति अनुकरण गर्नु कत्ति बेस हुन्छ!—हिब्रू १३:७.

१६. भाइ जेनिङज र तिनकी पत्नीले सोच्दै नसोचेको कस्तो चुनौतीको सामना गर्नुपऱ्‍यो? (याकुब ४:१४)

१६ यहोवाका थुप्रै सेवकले सोच्दै नसोचेको स्वास्थ्य समस्याहरूको सामना गर्नुपरेको छ। भाइ हर्बर्ट जेनिङजको b अनुभव विचार गरौँ। भाइ जेनिङजले पत्नीसँगै घानामा मिसनरी सेवा गर्दा पाएको आनन्दबारे आफ्नो जीवनीमा बताएका छन्‌। तर पछि तिनलाई गम्भीर मानसिक समस्या भएको पत्ता लाग्यो। तिनले याकुब ४:१४ उल्लेख गर्दै आफ्नो जीवनमा आएको नयाँ परिस्थितिबारे यसो भने: “हामीले ‘भोलिको’ अन्दाज गरेनौँ।” (पढ्‌नुहोस्‌।) तिनले यस्तो लेखे: “वास्तविकतालाई अँगाल्दै हामीले . . . घाना अनि हाम्रा थुप्रै घनिष्ठ मित्रहरूलाई छोडेर [उपचारको लागि] क्यानाडा फर्कने व्यवस्था मिलायौँ।” यहोवाले भाइ जेनिङज र तिनकी पत्नीलाई चुनौतीको बाबजुद वफादार भई सेवामा लागिरहन मदत गर्नुभयो।

१७. भाइ जेनिङजको उदाहरणबाट अरूले कस्तो लाभ उठाएका छन्‌?

१७ भाइ जेनिङजले आफ्नो जीवनीमा आफूबारे खुलेर बताएकोले थुप्रैले लाभ उठाएका छन्‌। एक बहिनीले यस्तो लेखिन्‌: “यस लेखले मेरो एकदमै मन छोएको छ। भाइ जेनिङजले उपचारको लागि आफ्नो असाइनमेन्ट छोड्‌नुपरेको कुरा पढ्‌दा मैले आफ्नो अवस्थालाई सन्तुलित भएर हेर्न सकेँ।” त्यसैगरि एक भाइले यस्तो लेखे: “एल्डरको रूपमा १० वर्ष सेवा गरिसकेपछि मानसिक रोगले गर्दा मैले यो सेवा छोड्‌नुपऱ्‍यो। मलाई अयोग्यताको भावनाले यत्ति पिरोल्थ्यो कि म अरूको जीवनीहरू पढ्‌दा झनै निराश हुन्थेँ। . . . तर भाइ जेनिङजको सहनशीलताबाट मैले ठूलो हौसला पाएँ।” हामीले सोच्दै नसोचेका परीक्षाहरू सहेको देख्दा अरूले पनि प्रोत्साहन पाइरहेका हुन्छन्‌ भनेर यस अनुभवले सम्झाउँछ। जीवन आफूले सोचेजस्तो नहुँदा समेत हामी विश्‍वास र सहनशीलताको सन्दर्भमा अरूको लागि राम्रो उदाहरण बन्‍न सक्छौँ।—१ पत्रु. ५:९.

सोच्दै नसोचेका परीक्षाहरू आइपर्दा यहोवामाथि भर पऱ्‍यौँ भने हामी उहाँसित अझै नजिक हुन सक्नेछौँ (अनुच्छेद १८ हेर्नुहोस्‌)

१८. नाइजेरियाकी विधवाको अनुभवबाट तपाईँले के सिक्नुभयो? (पुनःअभिनय गरिएका तस्बिरहरू हेर्नुहोस्‌।)

१८ कोभिड-१९ महामारीजस्ता प्रकोपले यहोवाका थुप्रै सेवकलाई असर गरेको छ। उदाहरणको लागि, नाइजेरियामा बस्ने एक विधवा बहिनीको खानेकुरा र पैसा सिद्धिनै लागेको थियो। एकदिन बिहान तिनकी छोरीले तिनलाई तिनीहरूसित बाँकी रहेको थोरै चामल सकेपछि के खाने भनेर सोधिन्‌? हाम्री बहिनीले छोरीलाई सारपतकी विधवाको अनुकरण गर्दै तिनीहरूसित बाँकी भएको अलिकति खानेकुरा पकाउने र यहोवामाथि पूर्ण भरोसा राख्ने कुरा बताइन्‌। (१ राजा १७:८-१६) के खाने भनेर सोच्न पनि नपाउँदै त्यही दिन तिनीहरूले भाइहरूबाट राहत सामग्री पाए। त्यो तिनीहरूलाई दुई हप्ताभन्दा धेरैको लागि पुग्थ्यो। तिनले छोरीलाई भनिरहेको कुरा यहोवाले पनि ध्यान दिएर सुनिरहनुभएको थियो भनेर तिनले सोचेकै थिइनन्‌। हो, सोच्दै नसोचेका परीक्षाहरू आइपर्दा यहोवामाथि भर पऱ्‍यौँ भने त्यस्ता परीक्षाहरूले हामीलाई उहाँसित अझै नजिक हुन मदत गर्छ।—१ पत्रु. ५:६, ७.

१९. भाइ एलेक्सि यर्सोभले कस्तो खेदो भोग्नुपऱ्‍यो?

१९ हालसालैका वर्षहरूमा हाम्रा थुप्रै भाइबहिनीले आफूले सोच्दै नसोचेको खेदो भोग्नुपरेको छ। रूसमा बस्ने भाइ एलेक्सि यर्सोभलाई विचार गरौँ। भाइ यर्सोभले १९९४ मा बप्तिस्मा गर्दा त्यहाँ केही हदसम्म धार्मिक स्वतन्त्रता थियो। केही समयपछि रूसको अवस्था परिवर्तन भयो। सन्‌ २०२० मा प्रहरीले जबरजस्ती तिनको घरमा खानतलासी गऱ्‍यो र तिनका थुप्रै सरसामान अनि सम्पत्ति जफत गऱ्‍यो। केही महिनापछि सरकारले तिनीविरुद्ध आपराधिक मुद्दा दायर गऱ्‍यो। भिडियो रेकर्डिङहरूको आधारमा तिनीमाथि यस्तो अभियोग लगाइएको थियो। ती भिडियोहरू एक वर्षभन्दा धेरै समय बाइबल अध्ययन गरेको ढोँग गर्ने व्यक्‍तिले खिचेको थियो। कत्ति ठूलो धोका!

२०. भाइ यर्सोभले यहोवासितको सम्बन्ध कसरी अझ बलियो बनाउन सकेका छन्‌?

२० भाइ यर्सोभले भोगेको परीक्षाबाट कस्तो नतिजा हासिल भयो? यहोवासितको तिनको सम्बन्ध अझ बलियो भयो। तिनी भन्छन्‌: “म र मेरी श्रीमती सँगै मिलेर अझ धेरै प्रार्थना गर्छौँ। यहोवाको मदतविना म यो परीक्षा सहन सक्दिनथेँ।” तिनी अझै यसो भन्छन्‌: “व्यक्‍तिगत अध्ययनले मलाई निराशासित लड्‌न मदत गरेको छ। म विगतका वफादार सेवकहरूको उदाहरणहरूमा मनन गर्छु। बाइबलमा शान्त रहनु र यहोवामा भरोसा राख्नुको महत्त्वलाई जोड दिने थुप्रै विवरण पाइन्छ।”

२१. यस लेखबाट हामीले के सिक्यौँ?

२१ यस लेखबाट हामीले के सिक्यौँ? यस संसारमा हामीले सोच्दै नसोचेका परीक्षाहरू भोग्नुपर्छ। तर यहोवामा भर पऱ्‍यौँ भने उहाँ सधैँ हामीलाई मदत गर्नुहुन्छ। यस लेखको मूल शास्त्रपदमा बताइएझैँ “धर्मी मानिसले धेरै दुःखकष्ट झेल्नुपर्छ तर यहोवाले उसलाई ती सबैबाट बचाउनुहुन्छ।” (भज. ३४:१९) हामी आफ्नो दुःखकष्टमा होइन बरु यहोवाले दिनुहुने शक्‍तिमा ध्यान दिइरहौँ। अनि हामीले पनि प्रेषित पावलले जस्तै यसो भन्‍न सक्नेछौँ: “जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”—फिलि. ४:१३.

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

a हामीमाथि अचानक समस्याहरू आइपर्न सक्छ तर यहोवा आफ्ना वफादार उपासकहरूलाई मदत गर्नुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। यहोवाले विगतमा आफ्ना सेवकहरूलाई कसरी मदत गर्नुभयो? आज उहाँ हामीलाई कसरी सम्हाल्दै हुनुहुन्छ? हामी यहोवामा भर पऱ्‍यौँ भने उहाँले हामीलाई पनि मदत गर्नुहुन्छ। यस कुरामा अझ विश्‍वस्त हुन पुरातन र आधुनिक समयका उदाहरणहरूले मदत गर्छ।