सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १८

सभामा एकअर्कालाई प्रोत्साहन दिनुहोस्‌

सभामा एकअर्कालाई प्रोत्साहन दिनुहोस्‌

“एकअर्कालाई ध्यान [देऔँ] . . . एकअर्कालाई प्रोत्साहन दिइरहौँ।”—हिब्रू १०:२४, २५, फुटनोट।

गीत ८८ मलाई तपाईँको मार्ग सिकाउनुहोस्‌

परिचय a

१. हामी सभामा किन टिप्पणी दिन्छौँ?

 हामी किन सभामा उपस्थित हुन्छौँ? मुख्य कारण हो, यहोवाको प्रशंसा गर्न। (भज. २६:१२; १११:१) यस कठिन समयमा एकअर्कालाई प्रोत्साहन दिन पनि हामी सभामा उपस्थित हुन्छौँ। (१ थिस्स. ५:११) हात उठाएर टिप्पणी दिँदा हामीले यी दुवै कुरा गरिरहेका हुन्छौँ।

२. हामी सभामा कुन-कुन बेला टिप्पणी दिने मौका पाउँछौँ?

हरेक हप्ता हामी सभामा टिप्पणी दिने मौका पाउँछौँ। जस्तै: हामी सप्ताहन्तमा प्रहरीधरहरा अध्ययनमा टिप्पणी दिन सक्छौँ। मध्यहप्ताको सभामा बहुमूल्य रत्न, मण्डली बाइबल अध्ययन र अरू छलफलका भागहरूमा टिप्पणी दिन सक्छौँ।

३. हामीलाई कस्ता कारणहरूले गर्दा टिप्पणी दिन गाह्रो लाग्न सक्छ र हिब्रू १०:२४, २५ ले हामीलाई कसरी मदत गर्न सक्छ?

हामी यहोवाको प्रशंसा गर्न र दाजुभाइ दिदीबहिनीलाई प्रोत्साहन दिन चाहन्छौँ। तर हामीलाई टिप्पणी दिन डर लाग्न सक्छ वा टिप्पणी दिन एकदमै इच्छुक भए पनि हात उठाएपिच्छे मौका नपाउन सक्छौँ। त्यसोभए हामी के गर्न सक्छौँ? यसको जवाफ प्रेषित पावलले हिब्रूहरूलाई लेखेको पत्रमा पाउँछौँ। एकसाथ भेला हुनुको महत्त्वबारे बुझाउँदा हामीले ‘एकअर्कालाई प्रोत्साहन दिने’ कुरामा ध्यान दिनुपर्छ भनेर तिनले बताए। (हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌।) आफ्नो विश्‍वास प्रकट हुने सरल अभिव्यक्‍तिबाट पनि श्रोताले प्रोत्साहन पाउन सक्छन्‌ भन्‍ने कुरा बुझेका छौँ भने हामीलाई हात उठाउन त्यत्ति डर नलाग्न सक्छ। अनि आफूले चाहेजति टिप्पणी दिने मौका पाएनौँ भने पनि अरूले मौका पाएकोमा खुसी हुन सक्छौँ।—१ पत्रु. ३:८.

४. यस लेखमा हामी कुन तीन वटा बुँदा छलफल गर्नेछौँ?

यस लेखमा हामी सुरुमा टिप्पणी दिनेहरू थोरै भएको सानो मण्डलीमा कसरी एकअर्कालाई प्रोत्साहन दिन सक्छौँ भनेर छलफल गर्नेछौँ। त्यसपछि टिप्पणी दिनेहरू धेरै भएको ठूलो मण्डलीमा कसरी एकअर्कालाई प्रोत्साहन दिन सक्छौँ भनेर छलफल गर्नेछौँ। अन्तमा एकअर्कालाई प्रोत्साहन मिल्ने खालको टिप्पणी कसरी तयार पार्न सक्छौँ, केही तरिका विचार गर्नेछौँ।

सानो मण्डलीमा एकअर्कालाई प्रोत्साहन दिनुहोस्‌

५. थोरै उपस्थिति हुने सभामा हामी कसरी एकअर्कालाई प्रोत्साहन दिन सक्छौँ?

सानो मण्डली वा समूहमा टिप्पणी दिनेहरू थोरै हुन्छन्‌। कहिलेकाहीँ त एउटै हात नउठेकोले सञ्चालकले केहीबेर पर्खनुपर्ने हुन सक्छ। यस्तो हुँदा सभा तन्किएको जस्तो लाग्न सक्छ, जुन प्रोत्साहनदायी हुँदैन। यस्तो बेला तपाईँ के गर्न सक्नुहुन्छ? सकेसम्म धेरै पटक हात उठाउने कोसिस गर्नुहोस्‌। यसो गर्दा तपाईँले अरूलाई पनि धेरै पटक हात उठाउन उत्प्रेरित गरिरहनुभएको हुनेछ।

६-७. टिप्पणी दिने सन्दर्भमा तपाईँ आफ्नो डर कसरी कम गर्न सक्नुहुन्छ?

टिप्पणी दिने कुरा सोच्दा मात्र पनि तपाईँलाई डर लाग्छ भने नि? थुप्रैलाई यस्तै लाग्छ। तर भाइबहिनीलाई प्रोत्साहन दिन आफ्नो डर कम गर्ने तरिकाहरूबारे सोच्नुभए कसो होला? तपाईँ कसरी यसो गर्न सक्नुहुन्छ?

तपाईँले प्रहरीधरहरा-का b पुराना अङ्‌कहरूमा केही मदतकारी सुझाव पाउन सक्नुहुन्छ। जस्तै: राम्ररी तयारी गर्नुहोस्‌। (हितो. २१:५) लेखको विषयवस्तु जत्ति राम्ररी बुझ्नुहुन्छ, हात उठाउन त्यत्ति नै सजिलो लाग्नेछ। साथै छोटो टिप्पणी दिनुहोस्‌। (हितो. १५:२३; १७:२७) यसो गर्दा तपाईँलाई धेरै डर लाग्नेछैन। धेरै कुरा समेटिएको लामो टिप्पणीभन्दा एक वा दुई वाक्यको छोटो टिप्पणी बुझ्न भाइबहिनीलाई सजिलो लाग्छ। आफ्नै शब्दमा छोटो टिप्पणी दिँदा तपाईँले राम्ररी तयारी गर्नुभएको र विषयवस्तु राम्ररी बुझ्नुभएको देखिन्छ।

८. हामीले मनदेखि प्रयास गर्दा यहोवालाई कस्तो लाग्छ?

यीमध्ये केही सुझाव लागू गर्नुभए तापनि तपाईँलाई एक/दुई चोटिभन्दा धेरै टिप्पणी दिन अझै डर लाग्छ भने नि? तपाईँले मनदेखि गर्नुभएको प्रयासको यहोवा कदर गर्नुहुन्छ भनेर ढुक्क हुनुहोस्‌। (लुका २१:१-४) आफ्नो तर्फबाट सबैभन्दा उत्कृष्ट दिनुको अर्थ आफूले थेग्नै नसक्ने भार बोक्नु होइन। (फिलि. ४:५) टिप्पणी दिन तपाईँ अझ के गर्न सक्नुहुन्छ भनेर पत्ता लगाउनुहोस्‌, त्यो पूरा गर्ने लक्ष्य राख्नुहोस्‌ र मन शान्त राख्न प्रार्थना गर्नुहोस्‌। सुरुमा एउटा छोटो टिप्पणी दिने लक्ष्य राख्न सक्नुहुन्छ।

ठूलो मण्डलीमा एकअर्कालाई प्रोत्साहन दिनुहोस्‌

९. ठूलो मण्डलीमा कस्तो चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ?

तपाईँको मण्डलीमा थुप्रै प्रकाशक छन्‌ भने तपाईँले फरक किसिमको चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ। सायद हात उठाउनेहरू धेरै भएकोले तपाईँले धेरै चोटि मौका पाउनुहुन्‍न होला। जस्तै: ड्यानएल c बहिनीलाई सभामा टिप्पणी दिन मन पर्छ। तिनी यसलाई उपासनाको भाग ठान्छिन्‌। साथै अरूलाई प्रोत्साहन दिने र आफ्नो विश्‍वासलाई अझ बलियो बनाउने तरिकाको रूपमा हेर्छिन्‌। तर ठूलो मण्डलीमा सरेपछि तिनले टिप्पणी दिने धेरै मौका पाइनन्‌, कहिलेकाहीँ त पूरै सभामा एक चोटि पनि पाउँदिन थिइन्‌। तिनले यसो भनिन्‌: “म साह्रै निराश भएँ। एउटा सुअवसर नै गुमाएँ जस्तो लाग्यो। बारम्बार यस्तो हुँदा सञ्चालकले जानाजानी मौका नदिएको जस्तो लाग्न सक्छ।”

१०. हामीले अझ धेरै टिप्पणी दिने मौका पाउन के गर्न सक्छौँ?

१० के तपाईँलाई कहिल्यै ड्यानएललाई जस्तो लागेको छ? छ भने तपाईँलाई एक चोटि पनि हात नउठाई सुनेर मात्र बसौँ जस्तो लाग्न सक्छ। तर टिप्पणी दिने कोसिस गरिरहनुहोस्‌। यसको लागि तपाईँ के गर्न सक्नुहुन्छ? प्रत्येक सभाको लागि एउटाभन्दा धेरै टिप्पणी तयार पार्नुहोस्‌। छलफलको सुरुतिर टिप्पणी दिने मौका पाउनुभएन भने बीचतिर वा अन्ततिर मौका पाउन सक्नुहुन्छ। प्रहरीधरहरा अध्ययनको लागि तयारी गर्दा प्रत्येक अनुच्छेद मूल विषयसित कसरी सम्बन्धित छ, विचार गर्नुहोस्‌। यसो गर्दा तपाईँले छलफलको अवधिभर कुनै न कुनै राम्रो टिप्पणी दिन सक्नुहुनेछ। साथै बाइबलका गहिरा कुराहरू छलफल गरिएका अनुच्छेदहरूबाट टिप्पणी तयारी गर्न सक्नुहुन्छ। (१ कोरि. २:१०) किन? यस्ता अनुच्छेदहरूमा थोरै मात्र हात उठ्‌न सक्छन्‌। तर तपाईँले यी सुझावहरू लागू गर्नुभए तापनि दुई/तीन वटा सभामा लगातार एक चोटि पनि मौका पाउनुभएन भने नि? तपाईँले सभाअघि सञ्चालकलाई भेटेर कुन अनुच्छेदमा जवाफ दिन चाहनुहुन्छ भनेर बताउन सक्नुहुन्छ।

११. फिलिप्पी २:४ मा हामीलाई के गर्न प्रोत्साहन दिइएको छ?

११ फिलिप्पी २:४ पढ्‌नुहोस्‌। प्रेषित पावलले ख्रिष्टियनहरूलाई अरूको कुरामा ध्यान दिन प्रोत्साहन दिए। हामी यो सल्लाह सभामा कसरी लागू गर्न सक्छौँ? अरू पनि सभामा भाग लिन चाहन्छन्‌ भन्‍ने कुरा मनमा राखेर।

कुराकानी गर्दा तपाईँले अरूलाई बोल्ने मौका दिनुभएजस्तै सभामा पनि अरूलाई टिप्पणी दिने मौका दिनुहोस्‌ (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२. सभामा अरूलाई प्रोत्साहन दिने एउटा राम्रो तरिका के हो? (तस्बिर पनि हेर्नुहोस्‌।)

१२ यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। साथीहरूसित कुराकानी गर्दा तिनीहरूलाई बोल्ने मौका नै नदिई के तपाईँ आफू मात्र बोलेको बोल्यै गर्नुहुन्छ? पक्कै गर्नुहुन्‍न। तपाईँ तिनीहरूको कुरा पनि सुन्‍न चाहनुहुन्छ। त्यसैगरि हामी सभामा सकेसम्म धेरैले टिप्पणी दिएको चाहन्छौँ। वास्तवमा भन्‍ने हो भने भाइबहिनीलाई प्रोत्साहन दिने एउटा एकदमै राम्रो तरिका भनेको तिनीहरूलाई आफ्नो विश्‍वास व्यक्‍त गर्ने मौका दिएर हो। (१ कोरि. १०:२४) यो कसरी गर्न सक्छौँ, अब विचार गरौँ।

१३. अरू धेरैले टिप्पणी दिने मौका पाऊन्‌ भनेर तपाईँ के गर्न सक्नुहुन्छ?

१३ एउटा तरिका हामी आफ्नो टिप्पणीलाई छोटो बनाउन सक्छौँ। यसो गर्दा अरू धेरैले टिप्पणी दिने मौका पाउँछन्‌। यस सन्दर्भमा एल्डरहरू र अनुभवी प्रकाशकहरूले उदाहरण बसाल्न सक्छन्‌। छोटो टिप्पणी दिँदा पनि धेरै जानकारी समावेश नगर्नुहोस्‌। तपाईँले अनुच्छेदको पूरै कुरा ढाक्नुभयो भने अरूले भन्‍ने कुरा नै बाँकी हुँदैन। जस्तै: यस अनुच्छेदमा दुइटा सुझाव दिइएका छन्‌—टिप्पणीलाई छोटो बनाउने र धेरै जानकारी समावेश नगर्ने। तपाईँले यही अनुच्छेदमा सुरुमा टिप्पणी दिने मौका पाउनुभयो भने एउटा मात्र बुँदा बताउनुभए कसो होला?

हामीले सभामा कस्तो बेला हात नउठाउने निर्णय गर्न सक्छौँ? (अनुच्छेद १४ हेर्नुहोस्‌) f

१४. कति पटक हात उठाउने भन्‍ने सन्दर्भमा हामीलाई केले मदत गर्न सक्छ? (तस्बिर पनि हेर्नुहोस्‌।)

१४ कति पटक हात उठाउने भन्‍ने सन्दर्भमा सुझबुझ चलाउनुहोस्‌। हामीले हात उठाएको उठ्यै गऱ्‍यौँ भने अरूले मौका नपाए पनि सञ्चालकले हामीलाई नै बारम्बार मौका दिनुपर्ने दबाब महसुस गर्न सक्छन्‌। यसले अरूलाई हात उठाउनदेखि निरुत्साहित बनाउन सक्छ।—उप. ३:७.

१५. (क) टिप्पणी दिने मौका पाएनौँ भने हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ? (ख) सञ्चालकले सबैलाई ध्यान दिएको कसरी देखाउन सक्छन्‌? (“ तपाईँ सञ्चालन गर्दै हुनुहुन्छ भने” भन्‍ने पेटी हेर्नुहोस्‌।)

१५ छलफलको बेला धेरै प्रकाशकले हात उठाउँदा हामीले धेरै टिप्पणी दिने मौका नपाउन सक्छौँ। कहिलेकाहीँ त एक चोटि पनि मौका नपाउन सक्छौँ। यसले गर्दा हामी निराश हुन सक्छौँ तर सञ्चालकले जानाजानी मौका नदिएको हो भन्‍ने सोचेर चित्त नदुखाउनुहोस्‌।—उप. ७:९.

१६. टिप्पणी दिनेहरूलाई हामी कसरी प्रोत्साहन दिन सक्छौँ?

१६ तपाईँले चाहेजति टिप्पणी दिने मौका पाउनुभएन भने अरूको टिप्पणी ध्यान दिएर सुन्‍नुहोस्‌। अनि सभापछि त्यसको लागि प्रशंसा गर्नुभए कसो होला? तपाईँले गर्ने प्रशंसा तपाईँले दिने टिप्पणीजत्तिकै प्रोत्साहनजनक हुन सक्छ। (हितो. १०:२१) हो, एकअर्कालाई प्रोत्साहन दिने अर्को तरिका प्रशंसा गर्नु हो।

एकअर्कालाई प्रोत्साहन दिने थप तरिका

१७. (क) आमाबुबाले छोराछोरीलाई सुहाउँदो टिप्पणी तयार पार्न कसरी मदत गर्न सक्छन्‌? (ख) भिडियोमा देखाइएअनुसार टिप्पणी तयार पार्ने चार वटा कदम के-के हुन्‌? (फुटनोट हेर्नुहोस्‌।)

१७ हामी सभामा थप कुन तरिकामा अरूलाई प्रोत्साहन दिन सक्छौँ? तपाईँ आमाबुबा हुनुहुन्छ भने साना छोराछोरीलाई तिनीहरूको उमेरलाई सुहाउने टिप्पणी तयार पार्न मदत गर्नुहोस्‌। (मत्ति २१:१६) कुनै-कुनै लेख वैवाहिक समस्या, अवैध यौनसम्बन्ध वा नैतिक स्वच्छताजस्ता गम्भीर विषयहरूमा हुन सक्छन्‌। यस्तो लेखमा पनि तपाईँको छोराछोरीले टिप्पणी दिन सक्ने एउटा वा दुइटा अनुच्छेद हुन सक्छन्‌। साथै छोराछोरीलाई तिनीहरूले हात उठाएपिच्छे मौका नपाउन सक्छन्‌ भनेर बुझाउनुहोस्‌। यसो गर्दा तिनीहरूको सट्टा अरूले मौका पाउँदा तिनीहरू निराश हुनेछैनन्‌।—१ तिमो. ६:१८. d

१८. आफूतर्फ बढ्‌तै ध्यान नखिच्न हामी के गर्न सक्छौँ? (हितोपदेश २७:२)

१८ हामीले यहोवाको महिमा हुने र दाजुभाइ दिदीबहिनीको उत्थान हुने टिप्पणीहरू तयार पार्न सक्छौँ। (हितो. २५:११) कहिलेकाहीँ हामी आफ्नो अनुभव छोटकरीमा बताउन सक्छौँ तर आफूतर्फ बढ्‌तै ध्यान खिच्नदेखि होसियार हुनुपर्छ। (हितोपदेश २७:२ पढ्‌नुहोस्‌; २ कोरि. १०:१८) बरु हामीले यहोवा, उहाँको वचन र उहाँका जनहरूतर्फ ध्यान खिच्ने प्रयास गर्नुपर्छ। (प्रका. ४:११) प्रश्‍नमा आफ्नो अनुभव बताउन भनिएको छ भने त्यसो गर्नु उचित हुन्छ। यस्तो खालको प्रश्‍न हामी यसपछिको अनुच्छेदमा पाउँछौँ।

१९. (क) सभामा एकअर्कालाई ध्यान दिँदा नतिजा कस्तो हुन्छ? (रोमी १:११, १२) (ख) सभामा टिप्पणी दिने सन्दर्भमा तपाईँलाई कुन कुरा मन पर्छ?

१९ हाम्रो टिप्पणी कस्तो हुनुपर्छ भन्‍नेबारे कुनै नियम नभए तापनि हामीले अरूलाई प्रोत्साहन मिल्ने खालको टिप्पणी दिने प्रयास गर्नुपर्छ। यसको लागि अझ धेरै टिप्पणी दिन कोसिस गर्नुपर्ने हुन सक्छ। अथवा टिप्पणी दिने जति मौका पाइरहेका छौँ, त्यसैमा सन्तुष्ट हुन र अरूले टिप्पणी दिने मौका पाएकोमा खुसी हुन सिक्नुपर्ने हुन सक्छ। सभामा अरूको कुरामा ध्यान दिएर हामी “एकअर्कालाई प्रोत्साहन दिन” सक्छौँ।रोमी १:११, १२ पढ्‌नुहोस्‌।

गीत ९३ देऊ न आशिष्‌ सभामा

a सभामा टिप्पणी दिँदा हामी एकअर्कालाई प्रोत्साहन दिइरहेका हुन्छौँ। तर कसै-कसैलाई टिप्पणी दिन डर लाग्न सक्छ। अरू कसैलाई भने टिप्पणी दिन मन पर्छ तर आफूले धेरै मौका नपाएको जस्तो लाग्न सक्छ। यी दुवै परिस्थितिमा हामीले एकअर्कालाई ध्यान दिएको कसरी देखाउन सक्छौँ? हामी कसरी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाउने किसिमको टिप्पणी दिन सक्छौँ? यसबारे हामी यस लेखमा छलफल गर्नेछौँ।

c नाम परिवर्तन गरिएको छ।

d jw.org मा यहोवाको साथी बनौँ—टिप्पणी दिन तयारी गर भन्‍ने भिडियो हेर्नुहोस्‌।

f तस्बिरको व्याख्या: एउटा ठूलो मण्डलीमा एक जना भाइ आफूले टिप्पणी दिने मौका पाइसकेपछि अरूलाई टिप्पणी दिने मौका दिन्छन्‌