सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जससित सबैथोक छ, उहाँलाई किन दिनुपर्छ?

जससित सबैथोक छ, उहाँलाई किन दिनुपर्छ?

“हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद दिंदैछौं औ तपाईंको महिमित नाउँको प्रशंसा गर्दैछौं।”—१ इति. २९:१३.

गीत: ८०, ५०

१, २. यहोवा आफ्नो भौतिक स्रोतसाधन उदारतासाथ दिनुहुन्छ भनेर किन भन्‍न सक्छौ?

यहोवा उदार परमेश्‍वर हुनुहुन्छ। हामीले आफूसित भएको सबै कुरा उहाँबाटै पाएका हौं। पृथ्वीमा भएको सबै सुन, चाँदी र प्राकृतिक स्रोतसाधन यहोवाकै हुन्‌ अनि जीवन धान्‍न चाहिने कुराहरू उपलब्ध गराउन उहाँ ती स्रोतसाधन चलाउनुहुन्छ। (भज. १०४:१३-१५; हाग्गै २:८) यहोवाले आफ्ना जनहरूको आवश्‍यकता पूरा गर्न आफूसित भएको स्रोतसाधन चमत्कारपूर्ण तरिकामा प्रयोग गर्नुभएको थुप्रै विवरण हामी बाइबलमा पाउँछौं।

इस्राएलीहरू उजाडस्थानमा हुँदा उहाँले ४० वर्षसम्म तिनीहरूलाई मन्‍न र पानी दिनुभयो। (प्रस्थ. १६:३५) त्यसले गर्दा “तिनीहरूलाई केही कुराको अभाव भएन।” (नहे. ९:२०, २१, NRV) भविष्यवक्‍ता एलीशाद्वारा चमत्कार गरेर यहोवाले एउटी वफादार विधवासित भएको थोरै तेललाई धेरै बनाइदिनुभयो। परमेश्‍वरबाट उपहारस्वरूप पाएको त्यो तेल बेचेर ती विधवाले आफ्नो ऋण तिर्न सकिन्‌ अनि आफू र आफ्ना छोराहरूको लागि गुजारा चलाउन पुग्ने पैसा पनि तिनीसित बाँकी भयो। (२ राजा ४:१-७) यहोवाको मदत पाएर येशूले चमत्कारहरू गर्नुभयो; उहाँले भोकाएकाहरूको लागि खानेकुराको प्रबन्ध गर्नुभयो र आवश्‍यक पर्दा पैसासमेत जुटाउनुभयो।—मत्ती १५:३५-३८; १७:२७.

३. यस लेखमा हामी के छलफल गर्नेछौं?

आफूले पृथ्वीमा सृष्टि गरेको सबै कुरालाई धान्‍न यहोवा आफूसित भएको जुनसुकै स्रोतसाधन प्रयोग गर्न सक्नुहुन्छ। तैपनि उहाँले आफ्ना सेवकहरूलाई तिनीहरूसित भएका भौतिक चिजबिजहरूद्वारा उहाँको सङ्‌गठनको कामलाई सघाउन आह्वान गर्नुभएको छ। (प्रस्थ. ३६:३-७; हितोपदेश ३:९ पढ्‌नुहोस्‌) यहोवा किन हामीले आफूसित भएका बहुमूल्य कुराहरूबाट उहाँलाई दिएको चाहनुहुन्छ? विगतमा यहोवाका वफादार सेवकहरूले उहाँका प्रतिनिधिहरूको कामलाई अघि बढाउन कसरी आर्थिक सहयोग गरे? अनुदानबाट प्राप्त भएको रकम आज सङ्‌गठनले कसरी प्रयोग गर्छ? हामी यी प्रश्‍नहरूको जवाफ यस लेखमा छलफल गर्नेछौं।

हामी किन यहोवालाई दिन्छौं?

४. यहोवाको कामलाई सघाउन आफूसित भएको कुरा दिंदा हामीले के देखाइरहेका हुन्छौं?

हामी यहोवाप्रतिको आफ्नो प्रेम र कदर व्यक्‍त गर्न आफूसित भएको कुरा उहाँलाई दिन्छौं। यहोवाले हाम्रो लागि जे-जति गर्नुभएको छ, ती कुराहरू विचार गर्दा हामी कृतज्ञताले ओतप्रोत हुन्छौं। मन्दिर बनाउन चाहिने सामग्रीहरूबारे बताउँदा दाऊदले व्यक्‍त गरेको भावनासित हामी सहमत छौं। हामीसित जे-जति छन्‌, ती सबै हामीले यहोवाबाटै पाएका हौं र हामीले उहाँलाई दिने कुरा पनि उहाँबाटै आएको हो भनेर तिनले मानिलिए।१ इतिहास २९:११-१४ पढ्‌नुहोस्‌।

५. उदार मनले दिनु भनेको साँचो उपासनाको एउटा अभिन्‍न भाग हो भन्‍ने कुरा बाइबलले कसरी प्रस्ट पार्छ?

यहोवालाई दिनु भनेको हाम्रो उपासनाको एउटा अभिन्‍न भाग पनि हो। प्रेषित यूहन्‍नाले देखेको दर्शनमा स्वर्गमा भएका यहोवाका सेवकहरूले यसो भनिरहेको तिनले सुने: “हे यहोवा हाम्रा परमेश्‍वर, तपाईं महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ, किनकि तपाईंले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।” (प्रका. ४:११) यहोवा सम्पूर्ण आदर र महिमा पाउन योग्य हुनुहुन्छ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र? हामी आफूसित भएको सबैभन्दा उत्तम कुरा उहाँलाई दिएर उहाँको आदर र महिमा गरेको देखाउन सक्छौं। यहोवाले इस्राएलीहरूलाई वर्षको तीन पटक चाड मनाउन उहाँसामु उपस्थित हुनू भनेर मोशामार्फत आज्ञा दिनुभयो। यहोवाको लागि केही ल्याउनु तिनीहरूको उपासनाको एउटा अभिन्‍न भाग थियो। ती चाडहरूमा ‘तिनीहरू परमप्रभुको सामने रित्तो हात’ उपस्थित हुनु हुँदैनथ्यो। (व्यव. १६:१६) त्यसैगरि आज पनि यहोवाको सङ्‌गठनको पृथ्वीमा रहेको भागमा जे-जति काम भइरहेको छ, त्यसप्रति कदर व्यक्‍त गर्न अनि त्यो कामलाई अघि बढाउन उदार मनले अनुदान दिनु भनेको हाम्रो उपासनाको एउटा अभिन्‍न भाग हो।

६. उदारतासाथ केही दिनु किन राम्रो हो? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

उदारतासाथ केही दिनु राम्रो हो। केही पाउने मात्र नभई केही दिने पनि गर्दा यसले हाम्रै फाइदा गर्छ। (हितोपदेश २९:२१ पढ्‌नुहोस्‌) एउटा बच्चाले आफ्नो आमाबुबाले दिएको थोरै पकेट खर्च जम्मा गरेर आमाबुबालाई केही उपहार दिएको कल्पना गर्नुहोस्‌। त्यो उपहार पाउँदा आमाबुबालाई कत्ति खुसी लाग्छ होला! अथवा अग्रगामी सेवा गर्दै आफ्नो आमाबुबासँग एउटै घरमा बसिरहेको छोरा वा छोरीले घरखर्च चलाउन आफ्नो आमाबुबालाई केही पैसा दिन सक्छन्‌। हुन त आमाबुबाले त्यस्तो मदतको आशा गर्दैनन्‌ होला तैपनि आफ्ना छोराछोरीले दिएको उपहार तिनीहरू स्विकार्छन्‌ किनकि त्यसो गर्दा छोराछोरीले आमाबुबाले गरेका सबै कुराको लागि आफू कृतज्ञ छु भनी देखाउने मौका पाउँछन्‌। त्यसैगरि, हामीले पनि आफ्नो बहुमूल्य कुराबाट यहोवालाई दिनु राम्रो कुरा हो भनेर उहाँलाई थाह छ।

विगतमा परमेश्‍वरका सेवकहरूले कसरी अनुदान दिए?

७, ८. विगतमा यहोवाका जनहरूले निम्न कुराको लागि अनुदान दिने सन्दर्भमा कसरी राम्रो उदाहरण बसाले: (क) कुनै खास परियोजनाको लागि? (ख) उहाँको कामलाई सघाउनको लागि?

विगतमा परमेश्‍वरका सेवकहरूले आफ्नो सरसम्पत्तिबाट केही दिएको थुप्रै उदाहरण हामी बाइबलमा पाउँछौं। कहिलेकाहीं यहोवाका जनहरूले कुनै खास परियोजनाको लागि अनुदान दिए। उदाहरणको लागि, मोशाले बासस्थान निर्माण गर्नको लागि अनुदान चाहिएको घोषणा गरेका थिए। पछि दाऊदले पनि मन्दिर निर्माण गर्न त्यसै गरेका थिए। (प्रस्थ. ३५:५; १ इति. २९:५-९) राजा योआशको शासनकालमा पुजारीहरूले अनुदानबाट जम्मा भएको पैसाले मन्दिरको मर्मतसम्भार गरे। (२ राजा १२:४, ५) प्रथम शताब्दीका ख्रीष्टियनहरूले यहूदियामा अनिकाल परेको सुनेपछि “आ-आफ्नो औकातअनुसार यहूदियामा बस्ने भाइहरूलाई राहत सामग्री पठाउने निधो गरे।”—प्रेषि. ११:२७-३०.

अरू बेला भने यहोवाका जनहरूले उहाँको काममा नेतृत्व लिनेहरूको लागि अनुदान दिए। मोशाको व्यवस्थाअनुसार लेवीहरूले अरू कुलले जस्तो पैतृक सम्पत्ति पाएका थिएनन्‌। त्यसैले बाँकी इस्राएलीहरूले आफूसित भएको कुराबाट तिनीहरूलाई दशांश अर्थात्‌ दस भागको एक भाग दिन्थे। यसले गर्दा लेवीहरू बासस्थानमा तनमन लगाएर आफ्नो काम गर्न सक्थे। (गन्ती १८:२१) साथै “आफ्नो सम्पत्ति खर्चेर येशू अनि उहाँका चेलाहरूको सेवा गरिरहेका” स्त्रीहरूले देखाएको उदारताले गर्दा उहाँहरूलाई मदत पुग्यो।—लूका ८:१-३.

९. विगतमा के-कस्ता स्रोतबाट अनुदान आउँथ्यो?

अनुदान विभिन्‍न स्रोतबाट आउँथ्यो। उजाडस्थानमा छँदा इस्राएलीहरूले बासस्थान बनाउनको लागि मिश्रबाट ल्याएको सरसम्पत्तिबाट अनुदान दिएका हुन सक्छन्‌। (प्रस्थ. ३:२१, २२; ३५:२२-२४) प्रथम शताब्दीमा चाहिं केही ख्रीष्टियनहरूले आफ्नो खेतबारी वा घरजस्ता सरसम्पत्ति बेचे अनि त्यसबाट आएको पैसा प्रेषितहरूलाई दिए। अनि प्रेषितहरूले त्यो पैसा खाँचोमा परेकाहरूलाई बाँड्‌थे। (प्रेषि. ४:३४, ३५) अरू कतिले चाहिं केही पैसा छुट्ट्याएर नियमित रूपमा अनुदान दिन्थे। (१ कोरि. १६:२) यसरी असाध्यै धनीदेखि लिएर असाध्यै गरिब, सबैले केही न केही दिन्थे।—लूका २१:१-४.

आज हामी कसरी अनुदान दिन्छौं?

१०, ११. (क) हामी कसरी विगतका यहोवाका सेवकहरूको उदार मनोवृत्ति अनुकरण गर्न सक्छौं? (ख) राज्य गतिविधिलाई सघाउने सुअवसर पाएकोमा तपाईं कस्तो महसुस गर्नुहुन्छ?

१० आज हामीलाई पनि कुनै खास कामको लागि अनुदान दिन आग्रह गरिन सक्छ। उदाहरणको लागि, तपाईंको मण्डलीको लागि नयाँ राज्यभवन निर्माण गर्ने योजना बन्दै छ कि? वा तपाईंको अहिलेको राज्यभवनको मर्मतसम्भार हुँदै छ कि? स्थानीय शाखा कार्यालयको भवन मर्मतसम्भार गर्न, हामी जाने अधिवेशनको आयोजना गर्न वा प्राकृतिक प्रकोपमा परेका भाइबहिनीलाई सहयोग गर्न चाहिने खर्चबारे कहिलेकाहीं घोषणा गरिन्छ। साथै हाम्रो मुख्यालय र संसारभरि रहेका शाखा कार्यालयमा सेवा गरिरहेकाहरूलाई सघाउन पनि हामी अनुदान दिन्छौं। हामीले दिएको अनुदान मिसनरीहरू, विशेष अग्रगामीहरू र क्षेत्रीय निरीक्षकहरूको लागि पनि प्रयोग गरिन्छ। संसारभर सम्मेलन भवन र राज्यभवन निर्माण परियोजनालाई सघाउनको लागि तपाईंको मण्डलीले पनि पक्कै प्रस्तावना पारित गरेर निश्‍चित रकम अनुदान पठाउने गरेको छ। त्यस अनुदानबाट संसारभरिका हाम्रा भाइबहिनीले लाभ उठाउँछन्‌।

११ यस अन्तको दिनमा यहोवाले गरिरहनुभएको कामलाई सघाउने सुअवसर हामी सबैले पाएका छौं। धेरैजसो अवस्थामा अनुदान दिने व्यक्‍ति को हो भनेर थाहै हुँदैन। राज्यभवनमा अनुदान खसाल्दा वा jw.org बाट अनुदान दिंदा हामी आफूले यति उति दिएँ भनेर अरूलाई बताउँदैनौं। हामीलाई आफूले दिएको सानो अनुदानले खासै फरक पार्दैन जस्तो लाग्ला। तर अहिले प्राप्त हुने अधिकांश अनुदान केही व्यक्‍तिले दिएको ठूलठूला रकम होइनन्‌, बरु लाखौंले दिएको स-सानो सहयोग हुन्‌। आर्थिक अवस्था निकै कमजोर भएका हाम्रा भाइबहिनीसमेत प्रथम शताब्दीको म्यासिडोनियाका भाइबहिनीहरूको जस्तै सोचाइ राख्छन्‌, जसले “आफू कङ्‌गाल हुँदाहुँदै पनि” अनुदान दिन पाऊँ भनी बिन्ती गरे अनि उदार भएर दिए।—२ कोरि. ८:१-४.

१२. अनुदानको सदुपयोग गर्न सङ्‌गठनले कसरी निकै विचार पुऱ्‍याउँछ?

१२ अनुदान प्रयोग गर्ने सन्दर्भमा परिचालक निकाय साँच्चै विश्‍वासी र बुद्धिमान्‌ छ। सही निर्णय गर्न सकियोस्‌ भनेर यसका सदस्यहरू प्रार्थना गरेर यहोवासित मदत माग्छन्‌ अनि निकै विचार पुऱ्‍याउँछन्‌। (मत्ती २४:४५) प्राप्त भएको अनुदान कहाँ-कहाँ खर्च गर्ने भनेर पहिल्यै छुट्ट्याइन्छ र त्यसैअनुसार खर्च गरिन्छ। (लूका १४:२८) विगतमा पनि परमेश्‍वरका जनहरूले दिएको अनुदानको दुरुपयोग नहोस्‌ भनेर अनुदानको जिम्मा लिने मानिसहरूले केही खास प्रक्रिया पूरा गर्थे। उदाहरणको लागि, फारसका राजाले अनुदानस्वरूप दिएको सुन, चाँदी र अरू सरसामान लिएर एज्रा यरूशलेम आए। अहिलेको हिसाबमा त्यसको मोल १० करोड अमेरिकी डलरभन्दा बढी हुन आउँछ। एज्राको लागि त्यो अनुदान यहोवाको निम्ति उपहारस्वरूप दिइएको अनुदान थियो। त्यसलाई जोगाएर यरूशलेम पुऱ्‍याउनको लागि तिनले मानिसहरूलाई सुस्पष्ट निर्देशनहरू दिए किनकि यरूशलेमसम्म पुग्न शत्रुहरूको इलाका हुँदै यात्रा गर्नुपर्थ्यो र बाटोमा विभिन्‍न खतरा आइपर्न सक्थ्यो। (एज्रा ८:२४-३४) प्रेषित पावलले अभावमा परेका यहूदियाका भाइबहिनीको लागि अनुदान जम्मा गरे। त्यो अनुदान पुऱ्‍याउन खटाइएका भाइहरूले “यहोवाको नजरमा मात्र होइन तर मानिसहरूको नजरमा पनि सबै कुरा इमानदारीसाथ” गरून्‌ भनेर पावलले निकै विचार पुऱ्‍याए। (२ कोरिन्थी ८:१८-२१ पढ्‌नुहोस्‌) एज्रा र पावलको उदाहरण अनुकरण गर्दै आज हाम्रो सङ्‌गठनले पनि अनुदान प्रयोग गर्ने सन्दर्भमा निकै होसियारी अपनाउँछ।

१३. हालैका वर्षहरूमा सङ्‌गठनले किन केही छाँटकाँटहरू गरेको छ?

१३ एउटा परिवारमा पनि आम्दानीभन्दा खर्च धेरै भएमा खर्च घटाउनको लागि परिवारका सदस्यहरूले केही छाँटकाँट गर्लान्‌ अथवा यहोवाको सेवामा अझ धेरै गर्न सकियोस्‌ भनेर जीवन सरल बनाउन केही परिवर्तनहरू गर्ने निर्णय गर्लान्‌। त्यसरी नै यहोवाको सङ्‌गठनले पनि आवश्‍यकताअनुसार विभिन्‍न छाँटकाँट र परिवर्तनहरू गर्छ। हालैका वर्षहरूमा थुप्रै नयाँ-नयाँ प्रबन्धहरू सुरु गरिएको छ। यसले गर्दा सङ्‌गठनमा जम्मा भएको पैसाको तुलनामा सङ्‌गठनको खर्च कहिलेकाहीं धेरै हुन पुगेको छ। त्यसैले तपाईंहरूले उदारतासाथ दिनुभएको अनुदानको पूर्ण सदुपयोग होस्‌ भनेर सङ्‌गठनले खर्च कम गर्ने र कामलाई अझ सरल बनाउने उपायहरू खोज्छ।

तपाईंको अनुदानले के-के सम्भव भएको छ

तपाईंले दिनुभएको अनुदानले हाम्रो विश्‍वव्यापी कार्यलाई अघि बढाउन मदत गर्छ (अनुच्छेद १४-१६ हेर्नुहोस्‌)

१४-१६. (क) तपाईंले दिनुभएको अनुदानले गर्दा के-के सम्भव भएको छ? (ख) सङ्‌गठनले गरेका नयाँ प्रबन्धहरूबाट तपाईंले कस्तो लाभ उठाउनुभएको छ?

१४ लामो समयदेखि यहोवाको सेवा गरिरहेका थुप्रैले अहिलेजति आध्यात्मिक कुराहरूको छेलोखेलो पहिला कहिल्यै भएको थिएन भनेको हामीले सुन्‍ने गरेका छौं। विचार गर्नुहोस्‌ त! हालैका वर्षहरूमा jw.org वेबसाइट र JW ब्रोडकास्टिङको सुरुवात भयो। पवित्र बाइबल—नयाँ संसार अनुवाद थुप्रै भाषामा उपलब्ध भयो। सन्‌ २०१४/२०१५ मा संसारभरिका १४ वटा सहरका ठूलठूला रङ्‌गशालाहरूमा “परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहनुहोस्‌!” विषयको अन्तरराष्ट्रिय अधिवेशन आयोजना गरियो। त्यसमा उपस्थित हुन पाउँदा भाइबहिनीहरू निकै उत्साहित भए।

१५ यहोवाको सङ्‌गठनबाट उत्तम-उत्तम कुराहरू पाएकोमा थुप्रैले कृतज्ञता व्यक्‍त गरेका छन्‌। उदाहरणको लागि, एसियाको एउटा देशमा सेवा गरिरहेका दम्पतीले JW ब्रोडकास्टिङबारे यस्तो लेखे: “हामी एउटा सानो सहरमा सेवा गर्छौं। त्यसैले कहिलेकाहीं एक्लो महसुस गर्छौं अनि यहोवाको काम यहाँ मात्र होइन, संसारभरि भइरहेको छ भन्‍ने कुरा बिर्सन पुग्छौं। तर JW ब्रोडकास्टिङमा उपलब्ध थरिथरिका कार्यक्रम हेरेपछि हामी अन्तरराष्ट्रिय सङ्‌गठनको भाग हौं भनेर सम्झन्छौं। JW ब्रोडकास्टिङ हेर्न पाउँदा यहाँका हाम्रा प्रिय भाइबहिनीहरू निकै उत्साहित हुनुहुन्छ। मासिक कार्यक्रम हेरेपछि परिचालक निकायका सदस्यहरूसित नजिक भएको महसुस गर्छौं भनेर उहाँहरू अक्सर भन्‍ने गर्नुहुन्छ। यहोवाको सङ्‌गठनको भाग हुन पाएकोमा उहाँहरू पहिलेभन्दा झनै गर्व गर्नुहुन्छ।”

१६ अहिले संसारभर लगभग २,५०० जति राज्यभवनहरू निर्माण वा विस्तृत मर्मत सम्भार हुने क्रममा छन्‌। होण्डुरसको एउटा मण्डलीका भाइबहिनीहरू आफ्नै एउटा राज्यभवन होस्‌ भन्‍ने चाहन्थे। अहिले तिनीहरूको त्यो सपना पूरा भएको छ। नयाँ राज्यभवन प्रयोग गर्न थालेपछि तिनीहरूले यस्तो लेखे: “यहोवाको विशाल परिवारको भाग हुन पाएकोमा र विश्‍वव्यापी भ्रातृत्वको आनन्द उठाउन पाएकोमा हामी साँच्चै खुसी छौं।” आफ्नै भाषामा बाइबल वा अरू साहित्यहरू पाउँदा, राहतकार्यबाट मदत पाउँदा वा आफ्नो इलाकामा महानगरीय साक्षीकार्य र सार्वजनिक साक्षीकार्यले ल्याएको नतिजा देख्दा थुप्रै भाइबहिनीले त्यस्तै भावना व्यक्‍त गर्छन्‌।

१७. आज हाम्रो सङ्‌गठन जसरी चल्दै छ, त्यसको पछाडि यहोवाकै हात छ भन्‍ने कुरा कसरी प्रस्ट हुन्छ?

१७ हामीले स्वैच्छिक अनुदानबाटै यी सबै खर्च बेहोरिरहेका छौं भनेर थाह पाउँदा मानिसहरू तीनछक पर्छन्‌। एउटा ठूलो कम्पनीका हाकिमले हाम्रो एउटा छापाखानाको भ्रमण गरे। त्यहाँ भइरहेको सबै काम स्वयम्‌सेवकहरू मिलेर गरेको देख्दा अनि सबै खर्च कुनै व्यापार व्यवसाय वा चन्दा सङ्‌कलनबाट होइन, स्वैच्छिक अनुदानबाटै जुटाइएको हो भनेर थाह पाउँदा तिनी छक्कै परे। हामीले त्यहाँ जे-जस्तो काम गरिरहेका छौं अनि जुन तरिकाले गरिरहेका छौं, त्यसरी गर्न सम्भव नहुनुपर्ने हो भनेर तिनले बताए। तिनले ठिकै भनेका हुन्‌! यस कामको पछाडि यहोवा परमेश्‍वर हुनुभएकोले मात्रै यो सम्भव भएको हो भनेर हामीलाई थाह छ।—अय्यू. ४२:२.

यहोवालाई दिंदा पाइने आशिष्‌

१८. (क) राज्य गतिविधिको लागि केही दिंदा हामी कस्ता आशिष्‌हरू पाउन सक्छौं? (ख) राज्य गतिविधिको लागि आफ्नो तर्फबाट केही दिन हामी आफ्ना छोराछोरी र नयाँ व्यक्‍तिहरूलाई कसरी सिकाउन सक्छौं?

१८ यहोवाको सङ्‌गठनमा आज भइरहेको ठूलो काममा योगदान दिने सुअवसर दिएर उहाँले हाम्रो सम्मान गर्नुभएको छ। राज्य गतिविधिको लागि आफ्नो तर्फबाट केही दिंदा अवश्‍य आशिष्‌ पाइन्छ भनेर उहाँले बताउनुभएको छ। (मला. ३:१०) जसले उदारतासाथ दिन्छ, उसको फलिफाप हुन्छ भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको छ। (हितोपदेश ११:२४, २५ पढ्‌नुहोस्‌) दिंदा हामी खुसी हुन्छौं किनकि “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” (प्रेषित २०:३५) राज्य गतिविधिको लागि कसरी आफ्नो तर्फबाट केही दिन सकिन्छ र थुप्रै आशिष्‌ पाउन सकिन्छ भनेर हामी आफ्ना छोराछोरी र नयाँ व्यक्‍तिहरूलाई आफ्नो बोली र कामद्वारा सिकाउन सक्छौं।

१९. यस लेखबाट तपाईंले कस्तो प्रोत्साहन पाउनुभयो?

१९ हामीले आफूसित भएको सबै कुरा यहोवाबाटै पाएका हौं। उहाँबाट पाएको कुरा उहाँलाई नै दिंदा हामी उहाँलाई प्रेम गर्छौं र हाम्रो लागि उहाँले गर्नुभएका सबै कुराको लागि कृतज्ञ छौं भनेर देखाइरहेका हुन्छौं। (१ इति. २९:१७) मन्दिर निर्माण गर्नको लागि अनुदान दिंदा “मानिसहरूले यसरी राजीखुशीसित दिएकोमा आनन्द मनाए। किनभने आफ्ना हृदयको भक्‍तिसाथ परमप्रभुको निम्ति तिनीहरूले राजीखुशीसित ती दिएका थिए।” (१ इति. २९:९) यहोवाबाट हामीले जे-जति पाएका छौं, त्यो उहाँलाई दिन पाउँदा हामी पनि आनन्दित र सन्तुष्ट भइरहन सकौं।