सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मानिसहरूबीचको भिन्‍नता याद गर्नुहोस्‌

मानिसहरूबीचको भिन्‍नता याद गर्नुहोस्‌

“धर्मी र दुष्ट[को] . . . भेद तिमीहरू छुट्याउन सक्नेछौ।”—मला. ३:१८.

गीत: १२७, १०१

१, २. आज परमेश्‍वरका जनहरूले कस्तो चुनौतीको सामना गरिरहेका छन्‌? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

थुप्रै डाक्टर र नर्सहरूले सरुवा रोग लागेका बिरामीहरूको उपचार गर्नुपर्ने हुन्छ। बिरामीको हितको लागि तिनीहरू त्यस्ता रोगहरूको उपचार गर्छन्‌। तर बिरामीको रोग आफूलाई नसरोस्‌ भनेर तिनीहरूले होसियार हुँदै उपचार गर्नुपर्ने हुन्छ। ठीक त्यसैगरि, हामीमध्ये धेरै जना यस्ता मानिसहरूसित बस्नुपर्ने वा काम गर्नुपर्ने हुन्छ, जो परमेश्‍वरलाई मन नपर्ने गुणहरू र आनीबानीले ग्रस्त छन्‌। त्यस्ता दुर्गुणहरू र आनीबानी आफूमा नसरोस्‌ भन्‍ने हामी चाहन्छौं। तर त्यसबाट जोगिन सजिलो भने पटक्कै छैन।

अहिलेको यो अन्तको दिनमा मानिसहरूको नैतिक स्तर झन्‌झनै खस्कँदै गइरहेको छ। प्रेषित पावलले तिमोथीलाई लेखेको दोस्रो पत्रमा परमेश्‍वरबाट टाढा भएका मानिसहरूमा हुने दुर्गुणहरूबारे बताइएको छ। आउँदा दिनहरूमा त्यस्ता दुर्गुणहरू झनै व्याप्त हुनेछन्‌। (२ तिमोथी ३:१-५, १३ पढ्‌नुहोस्‌) हुन त त्यस्ता दुर्गुणहरू यतिबिघ्न व्याप्त भएको देखेर हामीलाई अचम्म लाग्छ होला, तर त्यस्ता दुर्गुण र आनीबानीले हामीलाई पनि असर नगर्ला भन्‍न सकिंदैन। (हितो. १३:२०) यस अन्तको दिनमा आम मानिसहरूमाझ व्याप्त गुणहरू र परमेश्‍वरका जनहरूले देखाउने गुणहरू कसरी अलग्गै छुट्टिन्छन्‌ भनेर यस लेखमा विचार गर्नेछौं। साथै अन्तको दिनमा मानिसहरूमाझ व्याप्त दुर्गुणहरूबाट जोगिंदै कसरी अरूलाई आध्यात्मिक रूपमा मदत गर्न सक्छौं, त्यो पनि विचार गर्नेछौं।

३. दोस्रो तिमोथी ३:२-५ मा उल्लेख गरिएका दुर्गुणहरू क-कसले देखाउँछन्‌?

“अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ” भनी प्रेषित पावलले बताए। त्यसपछि तिनले अन्तको दिनमा मानिसहरूमा व्याप्त हुने १९ वटा दुर्गुण अर्थात्‌ आनीबानीबारे बताए। रोमी १:२९-३१ मा पनि यस्तै दुर्गुणहरूको सूची पाइन्छ। तर पावलले तिमोथीलाई लेखेको पत्रमा उल्लेख गरिएका केही दुर्गुणहरू ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा अन्त कतै पनि उल्लेख गरिएको छैन। परमेश्‍वरलाई मन नपर्ने दुर्गुणहरूको सूची बताउँदा तिनले यसो भनेर सुरु गरे: “किनकि मानिसहरू . . .।” यहाँ बताइएको “मानिसहरू” शब्दले पुरुष र स्त्री दुवैलाई जनाउँछ किनकि पुरुष र स्त्री दुवैले यस्ता दुर्गुणहरू देखाउँछन्‌। तर यस्ता दुर्गुणहरू सबै मानिसले भने देखाउँदैनन्‌। ख्रीष्टियनहरूले देखाउने गुण कता हो कता फरक छ।—मलाकी ३:१८ पढ्‌नुहोस्‌।

हामी आफूप्रति कस्तो दृष्टिकोण राख्छौं?

४. घमन्डले फुल्नु भनेको के हो?

मानिसहरू आफैलाई मात्र प्रेम गर्ने अनि पैसालाई प्रेम गर्ने हुनेछन्‌ भनेर बताएपछि पावलले मानिसहरू धाक लगाउने अहङ्‌कारी हुनेछन्‌ अनि घमन्डले फुल्नेछन्‌ भनेर पनि बताए। आफ्नो क्षमता, रूपरङ्‌ग, धनसम्पत्ति वा ओहदाको कारण आफूलाई अरूभन्दा श्रेष्ठ सम्झने मानिसहरूले अक्सर यस्ता दुर्गुणहरू देखाउँछन्‌। यस्ता दुर्गुण भएका मानिसहरू अरूबाट पाइने वाहवाही र मानसम्मानको भोको हुन्छन्‌। घमन्डले भरिएको मानिस कस्तो हुन्छ भन्‍नेबारे एक जना विज्ञले यसरी बताए: “उसको मनमा एउटा सानो पूजा कोठा हुन्छ, जहाँ उसले आफैलाई ढोग्ने गर्छ।” अचाक्ली घमन्डले फुल्ने बानी यत्ति नराम्रो हुन्छ कि यस्तो बानी भएकाहरूलाई अरू घमन्डी मानिसहरूले समेत मन पराउँदैनन्‌ भनी कोही-कोही बताउँछन्‌।

५. यहोवाका वफादार सेवकहरूसमेत कसरी घमन्डी हुन पुगेका छन्‌?

घमन्डलाई यहोवा निश्‍चय नै घृणा गर्नुहुन्छ। “अहंकारी आँखा” उहाँको नजरमा घिनलाग्दो कुरा हो। (हितो. ६:१६, १७) घमन्डले हामीलाई यहोवाको नजिक हुन दिंदैन। (भज. १०:४) यो दुर्गुण दियाबलको चिनारी हो। (१ तिमो. ३:६) तर दुःखको कुरा, यहोवाका केही वफादार सेवकसमेत घमन्डी हुन पुगेका छन्‌। यहूदाका राजा उज्जियाह वर्षौंसम्म वफादार थिए। तर बाइबल भन्छ: “तिनी . . . शक्‍तिशाली भएपछि तिनको अहंकारले गर्दा तिनको पतन भयो। तिनी धूप-वेदीमा धूप बाल्नलाई परमप्रभुको मन्दिरमा पसेर परमप्रभु आफ्ना परमेश्‍वरको विरुद्धमा तिनले अपराध गरे।” पछि, राजा हिजकियाह पनि केही समयको लागि अहंकारी हुन पुगेका थिए।—२ इति. २६:१६; ३२:२५, २६.

६. के-कस्ता कुराले दाऊदलाई घमन्डी बनाउन सक्थ्यो? तैपनि तिनी किन घमन्डी भएनन्‌?

केही मानिसहरू आफ्नो सुन्दरता, ख्याति, गाउने-बजाउने कला, शारीरिक क्षमता वा उच्च ओहदाको कारण घमन्डी हुन पुग्छन्‌। दाऊदसित यीमध्ये केही-केही मात्र होइन तर सबै कुरा थियो, तैपनि तिनी जीवनभर नम्र रहे। दाऊदले गोल्यतलाई मारेपछि राजा शाऊलले तिनलाई आफ्नी छोरी दिने प्रस्ताव राख्दा तिनले यसो भने: “म को हुँ, औ मेरा बाबुको परिवार, मेरा आफन्तहरू इस्राएलमा को हुन्‌ र म राजाको जुवाइँ हुनसक्छु?” (१ शमू. १८:१८) दाऊद कसरी नम्र भइरहन सके? दाऊदले आफूसित भएका सबै गुणहरू, क्षमताहरू अनि सुअवसरहरू आफैले गर्दा होइन बरु यहोवा परमेश्‍वरले ‘निहुरेर’ अर्थात्‌ नम्र भएर तिनलाई ध्यान दिनुभएकोले गर्दा पाएका थिए। (भज. ११३:५-८) आफूसित भएको सबै असल कुरा यहोवाले नै दिनुभएको हो भनेर दाऊदलाई थाह थियो।—१ कोरिन्थी ४:७ तुलना गर्नुहोस्‌।

७. कुन कुरा विचार गर्दा हामी नम्र हुन मदत पाउँछौं?

दाऊदजस्तै आज परमेश्‍वरका जनहरू पनि नम्र हुन निकै प्रयास गर्छन्‌। ब्रह्‍माण्डकै सर्वोच्च व्यक्‍ति यहोवाले समेत नम्रता देखाउनुहुन्छ भन्‍ने कुरा थाह पाउँदा यसले हाम्रो मनै छुन्छ। (भज. १८:३५) परमेश्‍वरको प्रेरणा पाएर लेखिएको यो कुरा हामी गम्भीरतासाथ लिन्छौं: “कोमल करुणा, दया, विनम्रता, कोमलता र धीरज धारण गर।” (कल. ३:१२) साथै प्रेमले “फुर्ती लगाउँदैन, घमन्डले फुल्दैन” भनेर पनि हामीलाई थाह छ। (१ कोरि. १३:४) हाम्रो नम्रताले मानिसहरूलाई यहोवातर्फ खिच्न सक्छ। जसरी श्रीमतीको असल चालचलनद्वारा विनावचन श्रीमान्‌लाई मनाउन सकिन्छ, त्यसैगरि परमेश्‍वरका जनहरूको नम्रता देखेर मानिसहरू परमेश्‍वरतर्फ खिचिन सक्छन्‌।—१ पत्रु. ३:१.

हामी अरूसित कस्तो व्यवहार गर्छौ?

८. (क) आमाबुबाप्रति आज्ञाकारी हुने सन्दर्भमा आज कसै-कसैको सोचाइ कस्तो छ? (ख) धर्मशास्त्रले छोराछोरीलाई कस्तो आज्ञा दिएको छ?

अन्तको दिनमा बाँचिरहेका मानिसहरूले एकअर्कासित गर्ने व्यवहारबारे पावलले बताए। अन्तको दिनमा छोराछोरीहरू आमाबुबाको आज्ञा पालन नगर्ने हुनेछन्‌ भनेर तिनले लेखे। हुन त हिजोआज थुप्रै किताब, चलचित्र र टिभी कार्यक्रमले छोराछोरी आमाबुबाप्रति अनाज्ञाकारी हुनु भनेको सामान्य कुरा हो जस्तो कहिलेकाहीं देखाउँछन्‌ अनि त्यसो गर्न समेत उक्साउँछन्‌। तर अनाज्ञाकारी मनोभावले मानव समाजको सबैभन्दा महत्त्वपूर्ण भाग अर्थात्‌ परिवारलाई कमजोर बनाउँछ। यो सत्य मानिसहरूले पहिलेदेखि नै बुझ्दै आएका छन्‌। जस्तै, प्राचीन ग्रीसको कानुनअनुसार, यदि कुनै मानिसले आफ्नो आमाबुबालाई हिर्कायो भने उसले आफ्नो सबै नागरिक अधिकार गुमाउनु पर्थ्यो। अनि आफ्नो बुबालाई हिर्काउनु भनेको रोमी कानुनअनुसार हत्या गर्नुसरहको गम्भीर अपराध थियो। हिब्रू धर्मशास्त्र र ख्रीष्टियन ग्रीक धर्मशास्त्र दुवैले छोराछोरीलाई आमाबुबाको आदर गर्न आज्ञा दिएको छ।—प्रस्थ. २०:१२; एफि. ६:१-३.

९. छोराछोरीलाई आमाबुबाप्रति आज्ञाकारी हुन केले मदत गर्छ?

अनाज्ञाकारी मनोभावबाट प्रभावित हुनदेखि जोगिन छोराछोरीले आफ्ना आमाबुबाले तिनीहरूका लागि के-के गरेका छन्‌ भन्‍ने कुरा विचार गर्न सक्छन्‌। साथै हामी सबैका बुबा अर्थात्‌ परमेश्‍वर पनि छोराछोरीहरू आमाबुबाप्रति आज्ञाकारी भएको चाहनुहुन्छ भनेर तिनीहरूले बुझ्नुपर्छ। छोराछोरीले आमाबुबाबारे राम्रा कुराहरू बोल्दा तिनीहरूका साथीहरूले पनि आफ्ना आमाबुबाको आदर गर्न सिक्छन्‌। हो, स्वाभाविक स्नेह नभएका आमाबुबाप्रति मनैदेखि आज्ञाकारी हुन छोराछोरीलाई गाह्रो लाग्न सक्छ। तर अर्कोतर्फ, यदि छोराछोरीले आमाबुबाको साँचो माया महसुस गरेका छन्‌ भने तिनीहरू आमाबुबाको आज्ञा पालन गर्न गाह्रो लाग्दा समेत ती पालन गर्न उत्प्रेरित हुनेछन्‌। अस्टिन भन्छन्‌, “हुन त मलाई कहिलेकाहीं ममीड्याडीको कुरा नमानूँ जस्तो लाग्थ्यो तर भन्‍ने हो भने उहाँहरूले मलाई अति कडिकडाउचाहिं गर्नुभएको थिएन, कुनै नियम तोक्दा उहाँहरू त्यसको कारण पनि बताउनुहुन्थ्यो अनि खुलेर कुराकानी गर्नुहुन्थ्यो। त्यसैले म आज्ञाकारी हुन सकें। उहाँहरू मलाई माया गर्नुहुन्छ भन्‍ने महसुस गर्थें, त्यसैले उहाँहरूलाई खुसी पार्न चाहन्थें।”

१०, ११. (क) मानिसहरूमा एकअर्काप्रति प्रेम छैन भन्‍ने कुरा कस्ता दुर्गुणहरूबाट देखिन्छ? (ख) साँचो ख्रीष्टियनहरूले कसलाई समेत प्रेम देखाउँछन्‌?

१० एकअर्काप्रति प्रेम नभएका मानिसहरूले देखाउने अरू दुर्गुणहरूबारे पनि पावलले बताए। छोराछोरीहरू “आमाबाबुको आज्ञा पालन नगर्ने” हुनेछन्‌ भनेर बताएपछि पावलले मानिसहरू कृतघ्न हुनेछन्‌ भनेर बताउनु उपयुक्‍त थियो किनभने कृतघ्न मानिसले अरूले आफ्नो लागि गरेका असल कामहरूको कदर गर्दैन। साथै मानिसहरू विश्‍वासघाती हुने थिए। मानिसहरू कुनै पनि कुरामा सहमत नहुने भएकोले तिनीहरू एकअर्कासित पटक्कै मिल्न नचाहने स्वभावका हुने थिए। तिनीहरू परमेश्‍वरको निन्दा गर्ने अनि धोकेबाज हुने थिए। मतलब, तिनीहरूले मानिसहरूको विरुद्धमा अनि परमेश्‍वरको विरुद्धमा समेत दुर्वचन बोल्ने थिए अनि आलोचना गर्ने थिए। मानिसहरू निन्दक * पनि हुने थिए। मतलब, तिनीहरूले अरूको बदनाम गर्ने उद्देश्‍यले झूटा कुरा बोल्ने थिए।

११ अहिले संसारमा भएका धेरैजसो मानिसहरूसित एकअर्काप्रति प्रेम छैन। तर यहोवाका उपासकहरू भने अरूलाई साँचो प्रेम गर्छन्‌। उनीहरूले सधैं त्यसै गर्दै आइरहेका छन्‌। छिमेकीलाई प्रेम गर्नू भन्‍ने आज्ञा व्यवस्थाको दोस्रो ठूलो आज्ञा हो भनेर येशूले बताउनुभयो। अनि छिमेकीलाई गरिने प्रेम पनि एक प्रकारको अगापे प्रेम नै हो। (मत्ती २२:३८, ३९) आपसमा प्रेम गर्नु साँचो ख्रीष्टियनहरूको चिनारी नै हुनेछ भनेर पनि येशूले बताउनुभयो। (यूहन्‍ना १३:३४, ३५ पढ्‌नुहोस्‌) साँचो ख्रीष्टियनहरूले शत्रुहरूलाई समेत प्रेम गर्ने थिए।—मत्ती ५:४३, ४४.

१२. येशूले अरूलाई प्रेम गरेको कसरी देखाउनुभयो?

१२ येशू अरूलाई असाध्यै प्रेम गर्नुहुन्थ्यो। उहाँ मानिसहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउँदै एउटा सहरबाट अर्को सहर जानुभयो। उहाँले अन्धा, लङ्‌गडा, कुष्ठरोगी अनि बहिराहरूलाई निको पार्नुभयो। उहाँले मरेकाहरूलाई ब्युँताउनुभयो। (लूका ७: २२) थुप्रैले उहाँलाई घृणा गरे, तैपनि उहाँले मानिसहरूको खातिर आफ्नो ज्यानसमेत दिनुभयो। येशूले आफ्नो बुबाले देखाउनुहुने प्रेमको दुरुस्त अनुकरण गर्नुभयो। सारा संसारभरि यहोवाका साक्षीहरू येशूको अनुकरण गर्दै अरूलाई प्रेम देखाउँछन्‌।

१३. हामीले मानिसहरूलाई देखाउने प्रेमले तिनीहरूलाई यहोवासित नजिक हुन कसरी मदत गर्न सक्छ?

१३ हामीले मानिसहरूलाई देखाउने प्रेमले तिनीहरूलाई स्वर्गमा हुनुहुने हाम्रा बुबातिर खिच्छ। उदाहरणको लागि, थाइल्याण्डका एक जना मानिस हाम्रो एउटा अधिवेशनमा उपस्थित भएका थिए; त्यहाँ भाइबहिनीबीचको प्रेम देखेर तिनी निकै प्रभावित भए। घर फर्केपछि, तिनले हप्ताको दुई चोटि बाइबल अध्ययन गर्न चाहन्छु भनी अनुरोध गरे। तिनले आफ्ना सबै आफन्तलाई प्रचार गरे। अनि अधिवेशनमा उपस्थित भएको छ महिनाभित्रै तिनले राज्यभवनमा पहिलो पटक बाइबल पढाइको भाग प्रस्तुत गरे। हामी अरूलाई कत्तिको प्रेम देखाइरहेका छौं भनेर जाँच्न आफैलाई यस्ता प्रश्‍न सोध्न सक्छौं: ‘के म आफ्नो परिवारमा, मण्डलीमा अनि प्रचारकार्यमा अरूलाई मदत गर्न अघि सर्छु? के म अरूलाई यहोवाको नजरले हेर्ने कोसिस गर्दै छु?

ब्वाँसो र भेडा

१४, १५. थुप्रै मानिसले कसरी पशुको जस्तो दुर्गुणहरू देखाउँछन्‌? तर केहीले कस्ता परिवर्तन गरेका छन्‌?

१४ अन्तको दिनमा मानिसहरूले देखाउने अरू दुर्गुणहरू पनि छन्‌। ती विचार गऱ्‍यौं भने ख्रीष्टियनहरू त्यस्ता मानिसहरूबाट अलग बस्नुपर्ने थप कारण पाउन सक्छौं। परमेश्‍वरको भक्‍ति नगर्ने मानिसहरूको एउटा चिनारी भलाइलाई प्रेम नगर्ने हुने थियो। केही बाइबल अनुवादहरूमा यस अभिव्यक्‍तिलाई “भलाइलाई घृणा गर्ने” वा “भलाइको विरोध गर्ने” भनेर अनुवाद गरिएको छ। साथै मानिसहरू असंयमित, निष्ठुर हुने थिए। अनि केही मानिसहरू जिद्दी गर्ने हुने थिए। तिनीहरू मनमा जे आयो, त्यो गरिहाल्ने अनि अरूलाई कस्तो असर पर्ला भनेर विचारै नगर्ने स्वभावका हुने थिए।

१५ पहिले पशुजस्तो व्यवहार देखाउने थुप्रै मानिसहरूले त्यस्ता दुर्गुणहरू त्यागेका छन्‌। यस्तो परिवर्तनबारे बाइबलमा सुन्दर ढङ्‌गमा भविष्यवाणी गरिएको थियो। (यशैया ११:६, ७ पढ्‌नुहोस्‌) यस भविष्यवाणीमा ब्वाँसो र सिंहजस्ता जङ्‌गली जनावरहरू भेडा र बाछाजस्ता घरपालुवा जनावरसित मिलेर बस्ने कुरा गरिएको पाउँछौं। यस्तो शान्तिमय अवस्था सम्भव हुनुको कारण के हो, विचार गर्नुहोस्‌। “पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण” हुने भएकोले यो सम्भव हुने थियो। (यशै. ११:९) जनावरहरूले यहोवाको ज्ञान लिन सक्दैनन्‌, त्यसैले यो भविष्यवाणीको प्रतीकात्मक पूर्ति मानिसहरूमा हुने थियो।

बाइबलका सिद्धान्तहरू लागू गर्दा यसले जीवनमा आमूल परिवर्तन ल्याउँछ! (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. बाइबलले मानिसहरूलाई आफ्नो व्यक्‍तित्व परिवर्तन गर्न कसरी मदत गरेको छ?

१६ पहिले ब्वाँसोजस्तै हिंस्रक स्वभावका थुप्रै व्यक्‍तिहरू अहिले अरूसित मिलेर बस्न सकेका छन्‌। “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” भन्‍ने शृङ्‌खलामा पाइने केही अनुभवहरू तपाईं jw.org/ne मा पढ्‌न सक्नुहुन्छ। यहोवालाई चिनेर उहाँको सेवा गर्ने मानिसहरू परमेश्‍वरको भक्‍ति गरेको ढोंग गर्ने तर त्यसको शक्‍तिलाई भने इन्कार गर्ने मानिसहरूभन्दा धेरै फरक छन्‌। किनभने त्यस्ता ढोंगी मानिसहरू परमेश्‍वरको उपासना गरिटोपल्छन्‌ तर उनीहरूको आचरणचाहिं परमेश्‍वरलाई मन नपर्ने किसिमको हुन्छ। तर अर्कोतर्फ, पहिले हिंस्रक स्वभाव भएका मानिसहरूले ‘नयाँ व्यक्‍तित्व धारण गरेका छन्‌, जुन परमेश्‍वरको असल तथा सही स्तर अनि वफादारीको मागबमोजिम उहाँको इच्छाअनुसार सृष्टि भएको थियो।’ (एफि. ४:२३, २४) परमेश्‍वरबारे सिक्दै जाँदा मानिसहरूले उहाँको स्तरअनुसार आफूलाई परिवर्तन गर्नुपर्ने महसुस गर्छन्‌। अनि तिनीहरू आफूले पहिला विश्‍वास गर्दै आएको कुरा, आफ्नो मनोवृत्ति र आचरण परिवर्तन गर्न जुरमुरिन्छन्‌। त्यस्तो परिवर्तन गर्न पक्कै सजिलो छैन तर असम्भव पनि छैन किनकि मनैदेखि परमेश्‍वरको इच्छाअनुसार चल्न चाहनेहरूलाई उहाँको पवित्र शक्‍तिले मदत गर्छ।

“यिनीहरूबाट अलग बस”

१७. परमेश्‍वरको सेवा नगर्नेहरूको मनोवृत्तिले असर नगरोस्‌ भनेर हामी के गर्न सक्छौं?

१७ परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेहरूबीचको भिन्‍नता झन्‌झनै स्पष्ट हुँदै गइरहेको छ। उहाँको सेवा नगर्नेहरूको मनोवृत्तिले असर नगरोस्‌ भनेर हामी होसियार हुनुपर्छ। दोस्रो तिमोथी ३:२-५ मा जुन स्वभावका मानिसहरूबारे बताइएको छ, तिनीहरूदेखि अलग रहनु बुद्धिमानी कुरा हो। हुन त हामी त्यस्ता मानिसहरूको अगाडि नै पर्दिनँ भन्‍न सक्दैनौं। हामीले त्यस्ता मानिसहरूसित काम गर्नुपर्ने, तिनीहरूसितै स्कुल जानुपर्ने वा सँगै बस्नुपर्ने पनि हुन सक्छ। तर तिनीहरूको जस्तै सोचाइ अनि आनीबानी विकास गर्नदेखि भने हामी अलग रहन सक्छौं। त्यसको लागि हामी के गर्न सक्छौं? बाइबल अध्ययन गरेर अनि यहोवाको सेवा गर्ने दृढ अडान लिएका मानिसहरूसित सङ्‌गत गरेर हामी आफ्नो आध्यात्मिकतालाई बलियो बनाउन सक्छौं।

१८. यहोवालाई चिन्‍न हाम्रो बोली र आचरणले अरूलाई कसरी मदत गर्न सक्छ?

१८ साथै यहोवालाई चिन्‍नको लागि अरूलाई मदत गर्न हामीले प्रयास गर्नुपर्छ। त्यसैले साक्षी दिने मौका खोज्नुहोस्‌ अनि सही समयमा सही कुरा बोल्न सकूँ भनेर यहोवासित मदत माग्नुहोस्‌। हामी यहोवाको साक्षी हौं भनेर हामीले अरूलाई थाह दिनुपर्छ। त्यसो गऱ्‍यौं भने हाम्रो असल आचरणले हाम्रो होइन बरु परमेश्‍वरको महिमा गर्नेछ। हामीले “भक्‍तिहीनता र सांसारिक इच्छाहरू त्याग्न अनि यस वर्तमान युगमा सुझबुझ चलाउन, परमेश्‍वरको स्तरबमोजिम असल काम गर्न र परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन” सिकेका छौं। (ती. २:११-१४) हाम्रो आचरण परमेश्‍वरको इच्छाअनुसारको छ भने अरूले त्यो याद गर्नेछन्‌। अनि कोहीले त यसो समेत भन्‍न सक्छन्‌: “हामी तिमीहरूसितै जानेछौं किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तिमीहरूसित हुनुहुन्छ।”—जक. ८:२३.

^ अनु. 10 “निन्दक” अर्थात्‌ “आरोपक” शब्दको लागि ग्रीक भाषामा चलाइएको शब्द दियाबोलोस हो। यो शब्द बाइबलमा सैतान अर्थात्‌ परमेश्‍वरको निन्दा गर्ने दुष्ट स्वर्गदूतलाई दिइएको एउटा उपनाम हो।