सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंलाई थाह थियो?

के तपाईंलाई थाह थियो?

के प्राचीन इस्राएलमा सामान्य दिनचर्याका मुद्दा-मामिलाको छिनोफानो गर्न समेत मोशाको व्यवस्थाका सिद्धान्तहरू साँच्चै लागू गरिन्थ्यो?

हो, कुनै-कुनै अवस्थामा गरिन्थ्यो। एउटा उदाहरण विचार गरौं। व्यवस्था २४:१४, १५ मा यस्तो लेखिएको छ: “तिमीहरूको जात-भाइ होस्‌ वा शहरमा आई बसेको गरीब परदेशी होस्‌ कुनै गरीब र दरिद्र ज्यालादारी नोकरलाई दु:ख नदेओ। . . . त्यसले तिमीहरूको विरुद्वमा परमप्रभुलाई पुकाऱ्‍यो भने तिमीहरूलाई पाप लाग्नेछ।”

खेतालोको बिन्ती लेखिएको खपटा

ईसापूर्व सातौं शताब्दीको एउटा अभिलेखमा यस्तै एउटा मामिलासम्बन्धी गरिएको बिन्ती पाइन्छ। यो अभिलेख अश्‍दोद सहरनजिकै फेला परेको थियो। खपटामा कुँदिएको यो अभिलेख एक जना खेतालोको बिन्तीजस्तो देखिन्छ, जसलाई मालिककहाँ तोकिएको जति अन्‍न नलगेको आरोप लागेको थियो। त्यसमा यस्तो लेखिएको छ: “हजुरको दासले [निवेदक] केही दिनअघि कटनीको काम सिद्ध्‌याएको थियो। तब शोबेको छोरा होसायाहु आएर हजुरको यस दासको लुगा लिएर गयो . . . मसितै टन्टलापुर घाममा काम गर्ने मेरा साथीहरू यसको साक्षी छन्‌ . . . मैले बोलेको कुरा साँचो हो। मैले कुनै अपराध गरेको छैनँ . . . यदि हजुरले यस दासको लुगा फिर्ता गराइदिनु आफ्नो कर्तव्य ठान्‍नुहुन्‍न भने पनि बिन्ती छ, आफ्नो दासमाथि दया गर्नुहोस्‌ र त्यो फिर्ता गराइदिनुहोस्‌। हजुरको यस दासको लुगा खोसिंदा हजुर चुप लागेर नबसिदिनुहोस्‌।”

इतिहासकार साइमोन स्कामाले भनेअनुसार, यस बिन्तीले “एउटा दास आफ्नो लुगा फिर्ता पाउन आतुर भएको कुरा मात्र होइन, बरु त्यस दासलाई बाइबलमा भएको व्यवस्थाको केही ज्ञान थियो भन्‍ने कुरा पनि देखाउँछ। निवेदकलाई खासगरि लेवी र व्यवस्थाको पुस्तकमा गरिबहरूलाई दुर्व्यवहार नगर्नू भनी दिइएको आज्ञा थाह थियो भन्‍ने देखिन्छ।”