सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २

‘येसुले प्रेम गर्नुभएको चेलाबाट’ सिक्नुहोस्‌

‘येसुले प्रेम गर्नुभएको चेलाबाट’ सिक्नुहोस्‌

“हामी आपसमा प्रेम गरिरहौँ किनकि प्रेम परमेश्‍वरबाट आउँछ।” —१ युह. ४:७.

गीत १०५ “परमेश्‍वर प्रेम हुनुहुन्छ”

परिचय *

१. परमेश्‍वरको प्रेमले गर्दा तपाईँ कस्तो महसुस गर्नुहुन्छ?

प्रेषित युहन्‍नाले “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनी लेखे। (१ युह. ४:८) यस सरल वाक्यमा एउटा आधारभूत सत्य लुकेको छ: जीवनको स्रोत यहोवा प्रेमको पनि स्रोत हुनुहुन्छ। उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। उहाँको प्रेमले गर्दा हामी सुरक्षित, आनन्दित र सन्तुष्ट महसुस गर्छौँ।

२. मत्ति २२:३७-४० अनुसार सबैभन्दा ठूलो दुई वटा आज्ञा के-के हुन्‌ र दोस्रो आज्ञा पालन गर्न हामीलाई किन गाह्रो लाग्न सक्छ?

ख्रिष्टियनहरूले प्रेम देखाउनै पर्छ; यसको कुनै विकल्प छैन। किनभने यो एउटा आज्ञा हो। (मत्ति २२:३७-४० पढ्‌नुहोस्‌) यहोवालाई राम्ररी चिनेपछि येसुले दिनुभएको पहिलो आज्ञा पालन गर्न सजिलो लाग्न सक्छ। किनकि यहोवा त्रुटिरहित हुनुहुन्छ। उहाँ हाम्रो चासो राख्नुहुन्छ र हामीसित दयालु व्यवहार गर्नुहुन्छ। तर हामीलाई दोस्रो आज्ञा पालन गर्न गाह्रो लाग्न सक्छ। किन? किनभने हाम्रा दाजुभाइ दिदीबहिनी, जो हाम्रो सबैभन्दा नजिकका छिमेकी हुन्‌, तिनीहरू त्रुटिपूर्ण छन्‌। कहिलेकाहीँ तिनीहरूले सोचविचारै नगरी हामीलाई केही भन्‍न सक्छन्‌ वा हामीसित रुखो व्यवहार गर्न सक्छन्‌। हामीलाई यो आज्ञा पालन गर्न गाह्रो हुन सक्छ भनेर यहोवालाई थाह थियो। त्यसैले हामीले किन आपसमा प्रेम गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्‍ने सन्दर्भमा तोकेरै सल्लाह दिन यहोवाले बाइबलका केही लेखकलाई प्रेरणा दिनुभयो। ती लेखकहरूमध्ये एक जना युहन्‍ना थिए।—१ युह. ३:११, १२.

३. युहन्‍नाले कुन कुरामा जोड दिए?

युहन्‍नाले आफ्ना लेखोटहरूमा ख्रिष्टियनहरूले आपसमा प्रेम गर्नुपर्छ भनेर जोड दिएका छन्‌। येसुको जीवनीबारे युहन्‍नाले लेखेको किताबमा “प्रेम” भन्‍ने शब्द बाँकी तीन वटा सुसमाचारका किताबमा भन्दा धेरै चोटि प्रयोग गरिएको छ। युहन्‍नाले सुसमाचारको किताब र तीन वटा पत्र लेख्दा तिनी झन्डै सय वर्ष पुग्न लागेका थिए। तिनले परमेश्‍वरको प्रेरणा पाएर लेखेका किताबहरूले हामी ख्रिष्टियनहरूले सबै काम प्रेमद्वारा उत्प्रेरित भएर गर्नुपर्छ भनी सिकाउँछ। (१ युह. ४:१०, ११) तर युहन्‍नालाई पनि यो कुरा बुझ्न समय लागेको थियो।

४. के युहन्‍नाले सधैँ अरूलाई प्रेम देखाए?

युहन्‍ना जवान छँदा तिनी पनि प्रेम देखाउन चुकेका थिए। उदाहरणको लागि, येसु र उहाँका चेलाहरू सामरिया हुँदै यरुसलेमतर्फ यात्रा गर्दै हुनुहुन्थ्यो। यात्राको क्रममा सामरियाको एउटा गाउँका मानिसहरूले उहाँहरूलाई बास दिन मानेनन्‌। युहन्‍नाले कस्तो प्रतिक्रिया देखाए? तिनले येसुलाई आकाशबाट आगो बर्सेर गाउँलेहरू भस्म होऊन्‌ भनी आज्ञा गरौँ भनी सोधे। (लुका ९:५२-५६) अर्को एकचोटि युहन्‍ना सङ्‌गी प्रेषितहरूलाई प्रेम देखाउन चुके। तिनी र तिनका दाइ याकुबले परमेश्‍वरको राज्यमा आफूहरूलाई महत्त्वपूर्ण स्थान दिन येसुलाई भनिदिनुहोस्‌ भनेर आफ्नी आमालाई फकाए जस्तो देखिन्छ। अरू प्रेषितहरूले यो कुरा सुनेपछि तिनीहरू याकुब र युहन्‍नासित असाध्यै रिसाए। (मत्ति २०:२०, २१, २४) तर युहन्‍नाको यस्ता कमीकमजोरीको बाबजुद येसु तिनलाई प्रेम गर्नुहुन्थ्यो।—युह. २१:७.

५. यस लेखमा हामी के सिक्नेछौँ?

यस लेखमा हामी युहन्‍नाको उदाहरण र तिनले प्रेमबारे लेखेका केही कुराहरू केलाउनेछौँ। यस क्रममा हामी आफ्ना दाजुभाइ दिदीबहिनीलाई प्रेम गरेको कसरी देखाउन सक्छौँ भनेर सिक्नेछौँ। परिवारको शिरले आफ्नो परिवारलाई प्रेम गरेको देखाउन सक्ने एउटा महत्त्वपूर्ण तरिकाबारे पनि सिक्नेछौँ।

प्रेम कामद्वारा व्यक्‍त गरिन्छ

यहोवाले आफ्नो छोरालाई हाम्रो निम्ति बलिदानको रूपमा चढाउनुभएर हामीलाई प्रेम गरेको देखाउनुभयो (अनुच्छेद ६-७ हेर्नुहोस्‌)

६. यहोवाले हाम्रो लागि आफ्नो प्रेम कसरी व्यक्‍त गर्नुभएको छ?

प्रेम भन्‍नेबित्तिकै हामीलाई दयालु बोलीद्वारा व्यक्‍त गरिने न्यानो भावनाजस्तो लाग्न सक्छ। तर हामी अरूलाई साँच्चै प्रेम गर्छौँ भने त्यो कामबाट पनि देखिनुपर्छ। (याकुब २:१७, २६ तुलना गर्नुहोस्‌) उदाहरणको लागि, यहोवा हामीलाई प्रेम गर्नुहुन्छ। (१ युह. ४:१९) अनि उहाँ आफ्नो प्रेम बाइबलमा रेकर्ड गरिएका सुन्दर शब्दहरूद्वारा व्यक्‍त गर्नुहुन्छ। (भज. २५:१०; रोमी ८:३८, ३९) तर परमेश्‍वर हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरा उहाँले भन्‍नुभएका कुराहरूबाट मात्र होइन, उहाँको कामबाट पनि स्पष्ट देख्न सक्छौँ। युहन्‍नाले यस्तो लेखे: “हाम्रो सन्दर्भमा परमेश्‍वरको प्रेम यसरी प्रकट भएको छ कि परमेश्‍वरले आफ्नो एक मात्र छोरा संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामीले जीवन पाउन सकौँ।” (१ युह. ४:९) यहोवाले हाम्रो लागि आफ्नो एक मात्र छोरालाई दुःख भोग्न र मर्न पठाउनुभयो। (युह. ३:१६) यहोवा हामीलाई साँच्चै प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा शङ्‌का गर्ने के कुनै ठाउँ छ र?

७. हामीलाई प्रेम गरेको देखाउन येसुले के गर्नुभयो?

येसुले आफ्ना चेलाहरूलाई उनीहरूलाई प्रेम गर्छु भनेर ढुक्क बनाउनुभयो। (युह. १३:१; १५:१५) उनीहरूलाई प्रेम गरेको कुरा येसुले आफ्नो बोलीबाट मात्र होइन, कामबाट पनि देखाउनुभयो। उहाँले यसो भन्‍नुभयो: “आफ्ना मित्रहरूको लागि आफ्नो ज्यान अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू हुँदैन।” (युह. १५:१३) यहोवा र येसुले हाम्रो लागि गर्नुभएका कुराहरूबारे सोच्दा हामी पनि के गर्न उत्प्रेरित हुनुपर्छ?

८. पहिलो युहन्‍ना ३:१८ अनुसार हामीले के गर्नुपर्छ?

यहोवा र येसुलाई प्रेम गरेको कुरा हामी उहाँहरूको आज्ञा पालन गरेर देखाउँछौँ। (युह. १४:१५; १ युह. ५:३) येसुले हामीलाई आपसमा प्रेम गर भनेर तोकेरै आज्ञा दिनुभएको छ। (युह. १३:३४, ३५) हामीले आफ्ना दाजुभाइ दिदीबहिनीप्रतिको प्रेम आफ्नो बोलीद्वारा मात्र होइन तर कामद्वारा पनि देखाउनुपर्छ। (१ युहन्‍ना ३:१८ पढ्‌नुहोस्‌) तिनीहरूलाई प्रेम गरेको देखाउन हामीले गर्न सक्ने केही कुराहरू के हुन्‌?

दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्नुहोस्‌

९. प्रेमले युहन्‍नालाई के गर्न उत्प्रेरित गऱ्‍यो?

युहन्‍नाले आफ्नो बुबालाई माछा मार्ने व्यवसायमा सघाएर पैसा कमाउन सक्थे। तर तिनले आफ्नो बाँकी जीवन अरूलाई यहोवा र येसुबारे सत्य कुरा सिकाउने काममा समर्पित गरे। युहन्‍नाले रोजेको जीवन सजिलो त पक्कै थिएन। तिनले खेदो सहनुपऱ्‍यो अनि प्रथम शताब्दीको अन्ततिर तिनलाई निर्वासनमा पठाइयो। त्यतिबेला तिनी वृद्ध भइसकेका थिए। (प्रेषि. ३:१; ४:१-३; ५:१८; प्रका. १:९) येसुबारे प्रचार गरेकोले झ्यालखानामा पर्दा समेत युहन्‍नाले अरूलाई प्रेम गरेको देखाए। उदाहरणको लागि, पत्मोस टापुमा हुँदा तिनले प्रकाशको किताब लेखे र दाजुभाइ दिदीबहिनीले “छिट्टै हुन लागेका कुराहरू” थाह पाऊन्‌ भनेर मण्डलीहरूलाई पठाए। (प्रका. १:१) अनि सम्भवतः पत्मोस टापुको निर्वासनबाट मुक्‍त भएपछि युहन्‍नाले येसुको जीवन र सेवाबारे सुसमाचारको किताब लेखे। दाजुभाइ दिदीबहिनीलाई प्रोत्साहन र बल दिन तिनले तीन वटा पत्र पनि लेखे। तपाईँ युहन्‍नाको आत्मत्यागी जीवनशैलीको कसरी अनुकरण गर्न सक्नुहुन्छ?

१०. तपाईँ मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरा केबाट देखिन्छ?

१० तपाईँ मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरा तपाईँले आफ्नो जीवनमा गर्ने छनौटबाट देखिन्छ। सैतानको संसार तपाईँले आफ्नो भएभरको समय र बल नाम-दाम कमाउन खर्च गरेको चाहन्छ। अर्कोतर्फ संसारभर रहेका आत्मत्यागी राज्य प्रचारकहरूले भने सुसमाचार प्रचार गर्न र मानिसहरूलाई यहोवाको नजिक हुन मदत गर्न सक्दो समय बिताउँछन्‌। कसै-कसैले त पूर्ण-समय प्रचार गर्ने र सिकाउने काममा भाग लिन सकेका छन्‌।

हामी आफ्नो कामद्वारा दाजुभाइ दिदीबहिनी र परिवारलाई प्रेम गरेको देखाउँछौँ (अनुच्छेद ११, १७ हेर्नुहोस्‌) *

११. थुप्रै वफादार प्रकाशकले यहोवा र दाजुभाइ दिदीबहिनीलाई प्रेम गरेको कसरी देखाउँछन्‌?

११ थुप्रै वफादार ख्रिष्टियनहरू आफू र आफ्नो परिवारको भौतिक आवश्‍यकता पूरा गर्नको लागि पूर्ण-समय जागिर खान बाध्य छन्‌। तैपनि तिनीहरू परमेश्‍वरको सङ्‌गठनलाई आफूले सक्ने तरिकामा सघाउँछन्‌। उदाहरणको लागि, कोही-कोही राहतकार्यमा सघाउँछन्‌, अरू कोही-कोही निर्माण परियोजनामा भाग लिन्छन्‌। यसबाहेक हामी सबैले विश्‍वव्यापी कामको लागि अनुदान दिन सक्छौँ। परमेश्‍वर र सङ्‌गी मानिसहरूप्रतिको प्रेमले गर्दा हामी यी सब गर्छौँ। हरेक हप्ता मण्डलीका सभाहरूमा उपस्थित भएर र त्यसमा भाग लिएर हामी आफ्ना दाजुभाइ दिदीबहिनीलाई प्रेम गरेको देखाउँछौँ। थकाइ लागे पनि हामी सभामा जान्छौँ। डर लागे पनि टिप्पणी गर्छौँ। अनि हामी सबैको आ-आफ्नै समस्या भए पनि सभाअघि र पछि एकअर्कालाई प्रोत्साहन दिन्छौँ। (हिब्रू १०:२४, २५) हाम्रा प्यारा दाजुभाइ दिदीबहिनीको यस्तो प्रयासको हामी मनैदेखि कदर गर्छौँ।

१२. युहन्‍नाले अर्को कुन तरिकामा दाजुभाइ दिदीबहिनीलाई प्रेम गरेको देखाए?

१२ युहन्‍नाले दाजुभाइ दिदीबहिनीको प्रशंसा गरेर मात्र होइन तर आवश्‍यक पर्दा सल्लाह दिएर उनीहरूलाई प्रेम गरेको देखाए। उदाहरणको लागि, तिनले आफ्ना पत्रहरूमा दाजुभाइ दिदीबहिनीलाई उनीहरूको विश्‍वास र असल कामको लागि प्रशंसा गर्नुका साथै पापबारे स्पष्ट सल्लाह पनि दिए। (१ युह. १:८–२:१, १३, १४) त्यसैगरि हामीले पनि दाजुभाइ दिदीबहिनीलाई उनीहरूले गरेका असल कामहरूको लागि प्रशंसा गर्नुपर्छ। तर यदि कसैमा खराब मनोवृत्ति वा बानी विकास भइरहेको याद गऱ्‍यौँ भने तिनलाई कौशलतापूर्वक सम्झाएर प्रेम देखाउन सक्छौँ। आफ्नो साथीलाई सल्लाह दिनु सजिलो त पक्कै छैन तर साँचो साथीले एकअर्कालाई तिखार्छ वा सच्याउँछ भनी बाइबल बताउँछ।—हितो. २७:१७.

१३. हामीले के गर्नु हुँदैन?

१३ कहिलेकाहीँ केही कुराहरू नगर्ने छनौट गरेर पनि हामी दाजुभाइ दिदीबहिनीलाई प्रेम देखाउन सक्छौँ। उदाहरणको लागि, कसैले हाम्रो चित्त दुख्ने कुरा गर्दा हामी त्यो मनमा लिएर बस्दैनौँ। पृथ्वीमा येसुको जीवनको अन्ततिर भएको एउटा घटना विचार गर्नुहोस्‌। उहाँले आफ्ना चेलाहरूलाई जीवन पाउन उहाँको शरीर खानुपर्छ र उहाँको रगत पिउनुपर्छ भन्‍नुभयो। (युह. ६:५३-५७) उहाँको यो कुरा थुप्रै चेलालाई चित्त बुझेन र उहाँलाई छोडेर गए। तर युहन्‍नालगायत उहाँका साँचो मित्रहरू वफादार भई उहाँसँगै रहे। तिनीहरूले येसुको कुरा बुझेका थिएनन्‌ र उहाँको कुरा सुनेर छक्क पनि परे होलान्‌। तैपनि उहाँका ती वफादार मित्रहरूले उहाँले भन्‍नुभएको कुरा गलत हो भनेर सोचेनन्‌ र ठेस खाएनन्‌। बरु उहाँमाथि भरोसा गरे किनकि उहाँ सधैँ सत्य बोल्नुहुन्छ भनेर तिनीहरूलाई थाह थियो। (युह. ६:६०, ६६-६९) त्यसैले हामीले पनि आफ्ना मित्रहरूले चित्त दुखाउने कुरा गर्दा त्यसलाई मनमा लिनु हुँदैन। बरु उनीहरूलाई आफ्नो कुरा स्पष्टसित बताउने मौका दिनुपर्छ।—हितो. १८:१३; उप. ७:९.

१४. हामीले किन दाजुभाइ दिदीबहिनीलाई कहिल्यै घृणा गर्नु हुँदैन?

१४ युहन्‍नाले दाजुभाइ दिदीबहिनीलाई घृणा नगर्न पनि सल्लाह दिए। यो सल्लाह पालन गरेनौँ भने सैतानले हामीलाई सजिलै त्यसको इसारामा नचाउन सक्छ। (१ युह. २:११; ३:१५) प्रथम शताब्दीको अन्ततिर यस्तै भएको थियो। परमेश्‍वरका जनहरूमाझ घृणा र फुट ल्याउन सैतान लागिपरेको थियो। युहन्‍नाले आफ्ना पत्रहरू लेखुन्जेल मण्डलीमा सैतानको जस्तै मनोभाव भएका मानिसहरू घुसिसकेका थिए। उदाहरणको लागि, डियोत्रिफसले मण्डलीमा दाजुभाइ दिदीबहिनीमाझ फुट पैदा गरिरहेको थियो। (३ युह. ९, १०) उसले त्यतिबेलाको परिचालक निकायका प्रतिनिधिहरूलाई आदर देखाएन। आफूलाई मन नपर्ने मानिसहरूलाई स्वागत-सत्कार गर्न खोज्नेहरूलाई उसले मण्डलीबाट निकाल्न समेत खोज्यो। कस्तो घमन्डी! सैतान अहिले पनि परमेश्‍वरका जनहरूमाझ फुट गराउन लागिपरेको छ। घृणाको कारण मण्डलीमा कहिल्यै फुट हुन नदेऔँ।

आफ्नो परिवारलाई प्रेम गर्नुहोस्‌

येसुले आफ्नी आमाको भौतिक र आध्यात्मिक आवश्‍यकताको ख्याल राख्ने जिम्मा युहन्‍नालाई दिनुभयो। आज परिवारका शिरहरूले पनि आफ्नो परिवारका आवश्‍यकताहरूको ख्याल राख्नुपर्छ (अनुच्छेद १५-१६ हेर्नुहोस्‌)

१५. परिवारको शिरले कुन कुरा मनमा राख्नुपर्छ?

१५ परिवारको शिरले आफ्नो परिवारलाई प्रेम गरेको देखाउन सक्ने एउटा महत्त्वपूर्ण तरिका तिनीहरूको भौतिक आवश्‍यकताहरू पूरा गरेर हो। (१ तिमो. ५:८) तर तिनले परिवारको भौतिक आवश्‍यकतासँगसँगै आध्यात्मिक आवश्‍यकता पनि पूरा गर्नुपर्छ भनेर मनमा राख्नुपर्छ। (मत्ति ५:३) येसुले परिवारका शिरहरूको लागि बसाल्नुभएको उदाहरण विचार गर्नुहोस्‌। युहन्‍नाको सुसमाचारको किताबअनुसार येसुले आफ्नो जीवनको अन्तिम क्षणमा पनि आफ्नो परिवारबारे सोचिरहनुभएको थियो। उहाँलाई यातनाको खम्बामा झुन्ड्याइएको ठाउँनजिकै युहन्‍ना उहाँकी आमा मरियमसँगै उभिरहेका थिए। असह्‍य पीडामा हुनुभए तापनि उहाँले युहन्‍नालाई मरियमको हेरविचार गर्न भन्‍नुभयो। (युह. १९:२६, २७) येसुका भाइबहिनीले पक्कै पनि मरियमको भौतिक आवश्‍यकता पूरा गर्ने थिए तर त्यतिबेलासम्म तिनीहरूमध्ये कोही पनि उहाँको चेला बनिसकेका थिएनन्‌ जस्तो देखिन्छ। त्यसैले येसुले युहन्‍नालाई मरियमको भौतिक आवश्‍यकताको साथै आध्यात्मिक आवश्‍यकताको पनि ख्याल राख्न आग्रह गर्नुभयो।

१६. युहन्‍नाको काँधमा कस्ता जिम्मेवारीहरू थिए?

१६ युहन्‍नाको काँधमा थुप्रै जिम्मेवारी थिए। एक जना प्रेषित भएकोले तिनले प्रचारकार्यमा नेतृत्व लिनुपर्थ्यो। सायद तिनी विवाहित पनि थिए। त्यसैले तिनले आफ्नो परिवारको भौतिक आवश्‍यकतासँगसँगै आध्यात्मिक आवश्‍यकता पनि पूरा गर्नुपर्थ्यो। (१ कोरि. ९:५) आज परिवारको शिरले यसबाट कस्तो पाठ सिक्न सक्छन्‌?

१७. परिवारको शिरले आफ्नो परिवारको आध्यात्मिक आवश्‍यकताको ख्याल राख्नु किन महत्त्वपूर्ण छ?

१७ कुनै भाइ जो परिवारका शिर हुन्‌, तिनले थुप्रै जिम्मेवारी सम्हालिरहेका हुन सक्छन्‌। उदाहरणको लागि, तिनले आफ्नो जागिरमा कडा मेहनत गर्नुपर्छ र यसो गर्दा तिनले यहोवाको पनि प्रशंसा गरिरहेका हुन्छन्‌। (एफि. ६:५, ६; ति. २:९, १०) साथै तिनले मण्डलीलाई गोठालोले झैँ हेरविचार गर्ने र प्रचारकार्यमा नेतृत्व लिनेजस्ता जिम्मेवारीहरू सम्हालिरहेका हुन सक्छन्‌। यसबाहेक तिनले आफ्नी पत्नी र छोराछोरीसित नियमित रूपमा बाइबल अध्ययन गर्नु पनि महत्त्वपूर्ण छ। आफ्नो परिवारको शारीरिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्यको ख्याल राख्न तिनले गरेको मेहनतको परिवारका अरू सदस्यहरूले पक्कै मोल गर्नेछन्‌।—एफि. ५:२८, २९; ६:४.

‘मेरो प्रेम पाउन लायकको भइरहो’

१८. युहन्‍ना कुन कुरामा ढुक्क थिए?

१८ युहन्‍ना धेरै वर्ष बाँचे र तिनले थुप्रै उल्लेखनीय घटनाहरू अनुभव गरे। तिनले विभिन्‍न किसिमका कठिनाइ पनि सामना गरे, जसले तिनको विश्‍वासलाई कमजोर बनाउन सक्थ्यो। तर तिनले दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्ने आज्ञाका साथै येसुका अन्य आज्ञाहरू पालन गर्न सक्दो गरे। यसो गरेकोले यहोवा र येसु तिनलाई प्रेम गर्नुहुन्छ अनि कुनै पनि परीक्षामाथि जित हासिल गर्न बल दिनुहुन्छ भन्‍ने कुरामा युहन्‍ना ढुक्क थिए। (युह. १४:१५-१७; १५:१०; १ युह. ४:१६) युहन्‍नालाई सैतान र त्यसको संसारको कुनै पनि कुराले दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्न र त्यो प्रेम आफ्नो बोली र कामद्वारा देखाउनदेखि रोक्न सकेन।

१९. पहिलो युहन्‍ना ४:७ मा हामीलाई कस्तो प्रोत्साहन दिइएको छ र किन?

१९ युहन्‍नाको समयजस्तै अहिले हामी बाँचिरहेको संसार पनि सैतानको अधीनमा छ, जसले कसैलाई दयामाया देखाउँदैन। (१ युह. ३:१, १०) त्यसले हामीलाई पनि दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्नदेखि रोक्न खोज्छ। तर हामीले त्यसलाई मौका दिएनौँ भने त्यसले त्यसो गर्न सक्दैन। हाम्रा दाजुभाइ दिदीबहिनीलाई प्रेम गरिरहन दृढ सङ्‌कल्प गरौँ र यो आफ्नो बोली र कामद्वारा व्यक्‍त गरौँ। यसो गर्दा हामी यहोवाको परिवारको भाग हुन सक्छौँ र आनन्दित जीवन बिताउन सक्छौँ।१ युहन्‍ना ४:७ पढ्‌नुहोस्‌।

गीत ८८ मलाई तपाईँको मार्ग सिकाउनुहोस्‌

^ अनु. 5 ‘येसुले प्रेम गर्नुभएको चेला’ प्रेषित युहन्‍ना थिए भन्‍ने मान्यता छ। (युह. २१:७) त्यसैले तिनी जवान छँदा पनि तिनमा थुप्रै राम्रा गुण भएको हुनुपर्छ। वर्षौँपछि यहोवाले प्रेमबारे थुप्रै कुरा लेख्न तिनलाई चलाउनुभयो। यस लेखमा हामी युहन्‍नाले लेखेका केही कुराहरू र तिनको उदाहरणबाट सिक्न सक्ने पाठहरू छलफल गर्नेछौँ।

^ अनु. 59 चित्रको व्याख्या: एक जना परिवारको शिर व्यस्त भए पनि राहतकार्यमा भाग लिन्छन्‌, विश्‍वव्यापी कामको लागि अनुदान दिन्छन्‌ र तिनको परिवारसँगै पारिवारिक उपासनामा भाग लिन अरूलाई बोलाउँछन्‌।