सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १

“यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन”

“यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन”

सन्‌ २०२२ को वार्षिक पद: “यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।” —भज. ३४:१०.

गीत ४ “यहोवा मेरो गोठालो हुनुहुन्छ”

परिचय *

गाह्रो अवस्थामा पनि दाउदले आफूलाई “असल कुराको अभाव” नभएको महसुस गरे (अनुच्छेद १-३ हेर्नुहोस्‌) *

१. दाउद कस्तो अवस्थामा पुगे?

दाउद इस्राएलका शक्‍तिशाली राजा साउलदेखि भागिरहेका थिए किनकि साउल तिनलाई हर हालतमा मार्न चाहन्थे। भाग्दै गर्दा तिनी र तिनका मानिसहरूलाई खानेकुराको आवश्‍यकता परेकोले तिनीहरू नोब सहरमा रोकिए अनि दाउदले पुजारी अहिमेलेकसित पाँच वटा रोटी मागे। (१ समु. २१:१, ३) पछि दाउद र तिनका मानिसहरू आफ्नो ज्यान जोगाउन गुफामा लुकेर बसे। (१ समु. २२:१) दाउद कसरी यस्तो अवस्थामा पुगे?

२. साउलले कसरी आफैलाई खतरामा पारे? (१ समुएल २३:१६, १७)

साउलले दाउदको असाध्यै डाह गर्थे किनभने दाउदलाई मानिसहरूले मन पराउँथे र तिनले थुप्रै युद्ध जितेका थिए। आफू अनाज्ञाकारी भएकोले परमेश्‍वरले त्याग्नुभएको छ र आफ्नो ठाउँमा राजा हुन दाउदलाई रोज्नुभएको छ भन्‍ने कुरा साउललाई थाह थियो। (१ समुएल २३:१६, १७ पढ्‌नुहोस्‌।) साउल अझै पनि राजा भएकोले उनीसित ठूलो सैन्यदल थियो र उनका थुप्रै समर्थक पनि थिए। त्यसैले दाउद आफ्नो ज्यान जोगाउन भाग्नुपऱ्‍यो। के साउलले दाउदको लागि यहोवाले राख्नुभएको उद्देश्‍य विफल पार्न सक्छु भन्‍ने सोचेका थिए? (यसै. ५५:११) यस विषयमा बाइबलले केही पनि बताएको छैन। जेहोस्‌ साउलले आफैलाई खतरामा पारिरहेका थिए किनभने जो यहोवाको विरुद्धमा उठ्‌छ, उसको कुनै पनि हालतमा जित हुँदैन!

३. गाह्रो अवस्थामा पर्दा पनि दाउदले कस्तो महसुस गरे?

दाउद महत्त्वाकाङ्‌क्षी थिएनन्‌ र तिनी आफै राजा हुन खोजेका थिएनन्‌। बरु यहोवाले नै तिनलाई रोज्नुभएको थियो। (१ समु. १६:१, १२, १३) तर साउलले दाउदलाई आफ्नो शत्रुको रूपमा हेरे। त्यसैले दाउदको जीवनै खतरामा पऱ्‍यो। तिनी गुफामा लुक्दै हिँड्‌नुपऱ्‍यो अनि खानेकुराको अभाव पनि सहनुपऱ्‍यो। तर यी सबै कुराको लागि दाउदले कहिल्यै यहोवालाई दोष दिएनन्‌ अनि गनगन पनि गरेनन्‌। सायद गुफामै लुकिरहेको बेला तिनले यहोवाको प्रशंसा गर्दै एउटा सुन्दर गीत रचे। त्यस गीतका केही शब्द यस लेखको डोऱ्‍याउने पदमा पाइन्छ: “यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।”—भज. ३४:१०.

४. हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौँ र ती प्रश्‍नहरूको जवाफ पाउनु किन महत्त्वपूर्ण छ?

अहिले यहोवाका थुप्रै सेवकले खानेकुरा र जीवन धान्‍न चाहिने अन्य कुराहरूको अभाव झेलिरहेका छन्‌, विशेषगरि अहिले महामारीको समयमा। * हामीलाई थाह छ, “महासङ्‌कष्ट” नजिकिँदै जाँदा अवस्था झन्‌झनै गाह्रो हुनेछ। (मत्ति २४:२१) त्यसैले हामीले यी चार वटा प्रश्‍नको जवाफ पाउनु महत्त्वपूर्ण छ: दाउदलाई कुन अर्थमा “असल कुराको अभाव” भएन? हामी किन सन्तुष्ट हुन सिक्नुपर्छ? यहोवाले ख्याल राख्नुहुन्छ भनेर किन ढुक्क हुन सक्छौँ? अनि भविष्यको लागि कसरी अहिल्यै तयारी गर्न सक्छौँ?

“मलाई कुनै कुराको कमी हुनेछैन”

५-६. परमेश्‍वरका सेवकहरूलाई “असल कुराको अभाव हुँदैन” भनेर दाउदले के भन्‍न खोज्दै थिए? यो कुरा बुझ्न भजन २३:१-६ ले कसरी मदत गर्छ?

परमेश्‍वरका सेवकहरूलाई “असल कुराको अभाव हुँदैन” भनेर दाउदले के भन्‍न खोज्दै थिए? यसको जवाफ पाउन भजन अध्याय २३ लाई विचार गरौँ, जहाँ यसैसित मिल्दोजुल्दो अभिव्यक्‍ति प्रयोग गरिएको छ। (भजन २३:१-६ पढ्‌नुहोस्‌।) त्यस भजनको सुरुमै दाउदले भने: “यहोवा मेरो गोठालो हुनुहुन्छ। मलाई कुनै कुराको कमी हुनेछैन।” त्यसपछिका पदहरूमा हेर्ने हो भने तिनले असाध्यै मोल गरेका कुराहरू अर्थात्‌ यहोवालाई गोठालोको रूपमा स्विकार्दा उहाँबाट पाएका असल कुराहरूबारे लेखेका छन्‌। जस्तै: यहोवाले तिनलाई ‘असल मार्गमा डोऱ्‍याउनुभयो’ अनि गाह्रो होस्‌ वा सजिलो, सबै अवस्थामा वफादार भएर साथ दिनुभयो। तर यहोवाको “हरियो खर्कमा” बस्दा आफूलाई कुनै समस्या हुँदैन भनेर तिनले आस गरेनन्‌। बरु “निस्पट्ट अन्धकार छाएको बेँसीमा” हिँडेजस्तै कहिलेकाहीँ तिनी उदास हुने थिए र तिनले शत्रुहरूको सामना गर्नुपर्ने थियो। तर यहोवालाई गोठालोको रूपमा स्विकार्दा तिनलाई “कुनै कुराको डर” हुने थिएन।

यहाँसम्म छलफल गर्दा हामीले दाउदलाई कुन अर्थमा “असल कुराको अभाव” भएन भन्‍ने प्रश्‍नको जवाफ पायौँ। आध्यात्मिक कुराहरूको विषयमा भन्‍नुपर्दा दाउदले आफूलाई चाहिने सबै कुरा पाएका थिए। तिनको आनन्द भौतिक कुराहरूमा निर्भर थिएन। बरु यहोवाले जे दिनुभएको थियो, त्यसमै तिनी सन्तुष्ट भए। तिनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यहोवाको आशिष्‌ र सुरक्षा नै थियो।

७. लुका २१:२०-२४ अनुसार यहुदियाका ख्रिष्टियनहरूले कस्तो कठिन अवस्थाको सामना गर्नुपऱ्‍यो?

दाउदका शब्दहरूबाट हामीले भौतिक कुराहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ भनेर बुझ्न सक्छौँ। हुनत हामी आफूसित भएका भौतिक कुराहरूको उपभोग गर्न सक्छौँ तर त्यसलाई नै जीवनमा प्रथम स्थान दिनु हुँदैन। प्रथम शताब्दीको यहुदियाका ख्रिष्टियनहरूले पनि यो महत्त्वपूर्ण सत्य बुझे। (लुका २१:२०-२४ पढ्‌नुहोस्‌।) “यरुसलेमलाई सैनिकहरूले घेरेको” देखेपछि ‘डाँडाहरूतिर भाग्न थाल्नू’ भनेर येसुले दिनुभएको निर्देशनअनुसार चल्दा ती यहुदीहरूको ज्यान बच्न सक्थ्यो। तर तिनीहरूले थुप्रै कुरा छोडेर जानुपर्नेथियो। त्यसबारे केही वर्षअगाडिको प्रहरीधरहरा-मा यसो भनिएको थियो: “तिनीहरूले आफ्नो खेतबारी र घरबार छाडे अनि सरसम्पत्तिसमेत माया मारे। यहोवाले सुरक्षा दिनुहुन्छ र मदत गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भई तिनीहरूले महत्त्वपूर्ण देखिने अरू कुरालाई भन्दा उहाँको उपासनालाई प्राथमिकता दिए।”

८. यहुदियाका ख्रिष्टियनहरूले भोगेको अवस्थाबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ?

यहुदियाका ख्रिष्टियनहरूले भोगेको अवस्थाबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ? माथि उल्लेख गरिएको प्रहरीधरहरा-मा यस्तो लेखिएको थियो: “हामीले भौतिक कुराहरूप्रति कत्तिको ध्यान दिन्छौँ भनी हाम्रो जाँच हुन सक्छ। के ती कुराहरू महत्त्वपूर्ण छन्‌ वा परमेश्‍वरले दिनुहुने मुक्‍ति त्योभन्दा बढी महत्त्वपूर्ण छ? हो, भाग्दाखेरी हामीले केही कठिनाइ अनि दुःखकष्टहरू सामना गर्नुपर्ने हुन सक्छ। यसको निम्ति हामीले चाहे जस्तोसुकै कदम चाल्नु किन नपरोस्‌, प्रथम शताब्दीका मसीहीहरू यहुदियाबाट यर्दनपारि पेरियामा भागेजस्तै हामी पनि तम्तयार हुनुपर्छ।” *

९. पावलले हिब्रूहरूलाई दिएको सल्लाहबाट तपाईँले कस्तो प्रोत्साहन पाउनुभयो?

कल्पना गर्नुहोस्‌ त, ती ख्रिष्टियनहरूलाई आफूसित भएको सबैजसो चिजबिज छोडेर नयाँ ठाउँमा सर्न र त्यहाँ नयाँ जीवन सुरु गर्न कत्ति गाह्रो भयो होला! यहोवाले नै तिनीहरूको आधारभूत आवश्‍यकता पूरा गरिदिनुहुनेछ भन्‍ने कुरामा तिनीहरूले विश्‍वास गर्नुपर्थ्यो। तर तिनीहरूले गर्न सक्ने अर्को कुरा पनि थियो। रोमी सैनिकहरू यरुसलेमलाई घेराबन्दी गर्न आउनुभन्दा पाँच वर्षअघि पावलले हिब्रूहरूलाई यस्तो सल्लाह दिएका थिए: “तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌, अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ। किनकि उहाँले यसो भन्‍नुभएको छ: ‘म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।’ त्यसैले हामी असाध्यै साहसी भएर यसो भन्‍न सकौँ: ‘यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ र?’” (हिब्रू १३:५, ६) पावलको यो सल्लाह पालन गरेर आफूसित भएको कुरामा सन्तुष्ट हुन सिकेका ख्रिष्टियनहरूलाई नयाँ ठाउँमा सरेपछि सरल जीवन बिताउन सजिलो भएको हुनुपर्छ। यहोवाले तिनीहरूको आवश्‍यकता पूरा गरिदिनुहुन्छ भन्‍ने कुरामा तिनीहरू ढुक्क थिए। पावलका शब्दहरूबाट यहोवाले हाम्रो आवश्‍यकता पूरा गरिदिनुहुन्छ भन्‍ने कुरामा हामी पनि ढुक्क हुन सक्छौँ।

“खान र लाउन पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौँ”

१०. पावलले कस्तो “रहस्य” सिकेका थिए?

१० पावलले तिमोथिलाई पनि त्यस्तै सल्लाह दिएका थिए। तिनले भने: “त्यसैले खान र लाउन पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौँ।” (१ तिमो. ६:८) यो सल्लाह आज हामीलाई पनि लागू हुन्छ। के यसको मतलब हामीले मीठो खानेकुरा खानै हुँदैन, राम्रो घरमा बस्नै हुँदैन र बेलाबेलामा नयाँ लुगाफाटा किन्‍नै हुँदैन भन्‍ने हो? पावलले त्यसो भन्‍न खोजिरहेका थिएनन्‌। बरु हामी आफूसित जे छ, त्यसैमा सन्तुष्ट हुनुपर्छ भन्‍न खोज्दै थिए। (फिलि. ४:१२) पावलले सिकेको “रहस्य” त्यही थियो। हाम्रो लागि सबैभन्दा बहुमूल्य कुरा भनेको यहोवासितको सम्बन्ध हो, हामीसित भएको भौतिक चिजबिज होइन।—हब. ३:१७, १८.

निर्जनभूमिमा ४० वर्ष बिताउँदा इस्राएलीहरूलाई कुनै कुराको “अभाव” भएन। के हामी पनि आफूसित भएको कुरामा सन्तुष्ट छौँ? (अनुच्छेद ११ हेर्नुहोस्‌) *

११. मोसाले इस्राएलीहरूलाई भनेको कुराबाट सन्तुष्ट हुनेबारे हामी के सिक्न सक्छौँ?

११ हाम्रा आवश्‍यकताहरूको सन्दर्भमा हाम्रो दृष्टिकोण र यहोवाको दृष्टिकोण फरक हुन सक्छ। इस्राएलीहरूले ४० वर्ष निर्जनभूमिमा बिताएपछि मोसाले तिनीहरूलाई यसो भने: “अहिलेसम्म तिमीहरूले गरेका सबै काममा यहोवा तिमीहरूका परमेश्‍वरले आशिष्‌ दिनुभएको छ। तिमीहरूले यो विशाल निर्जनभूमिमा कसरी यात्रा गऱ्‍यौ, त्यो कुरा उहाँले राम्ररी बुझ्नुभएको छ। यी ४० वर्षसम्म यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई साथ दिनुभयो। त्यसैले तिमीहरूलाई कुनै कुराको अभाव भएन।” (व्यव. २:७) ती ४० वर्षको दौडान यहोवाले इस्राएलीहरूलाई खानको लागि मन्‍न दिनुभयो। अनि तिनीहरूले मिश्र छोडेर आउँदा जुन लुगा लगाएका थिए, त्यो कहिल्यै फाटेन। (व्यव. ८:३, ४) कोही-कोहीलाई आफ्नो अवस्था दयनीय लागेको हुन सक्छ। तर वास्तवमा निर्जनभूमिमा तिनीहरूलाई कुनै कुराको अभाव भएको थिएन भनेर मोसाले सम्झाए। यसबाट हामी के पाठ सिक्न सक्छौँ? हामी सन्तुष्ट हुन सिक्नुपर्छ र यहोवाले हाम्रो लागि गरिदिनुभएको सानोभन्दा सानो प्रबन्धको पनि कदर गर्नुपर्छ अनि त्यसलाई यहोवाको आशिष्‌ ठानेर उहाँलाई धन्यवाद दिनुपर्छ। यसो गऱ्‍यौँ भने यहोवा खुसी हुनुहुनेछ।

यहोवाले तपाईँको ख्याल राख्नुहुनेछ भनेर ढुक्क हुनुहोस्‌

१२. दाउद आफूमा नभई यहोवामा भरोसा गर्थे भनेर केले देखाउँछ?

१२ यहोवा उहाँलाई प्रेम गर्नेहरूप्रति वफादार हुनुहुन्छ र तिनीहरूको ख्याल राख्नुहुन्छ भनेर दाउदलाई थाह थियो। दाउदले भजन अध्याय ३४ रच्दा तिनको जीवन खतरामा थियो तर तिनले विश्‍वासको आँखाले आफ्नो ‘चारैतिर यहोवाका स्वर्गदूतले छाउनी हालेको’ देख्न सके। (भज. ३४:७) तिनले यहोवाका स्वर्गदूतलाई एक जना सिपाहीसित तुलना गरेको हुनुपर्छ, जो शत्रु कतातिरबाट आउँदै छ भनेर सजग भएर बस्छ। दाउद आफै पनि वीर योद्धा थिए र यहोवाले तिनलाई राजा बनाउने प्रतिज्ञा गर्नुभएको थियो। तर दाउदले आफ्नो शत्रुलाई हराउन घुयेँत्रो वा तरबार चलाउन सक्ने आफ्नो क्षमतामा भरोसा गरेनन्‌। (१ समु. १६:१३; २४:१२) बरु यहोवाको स्वर्गदूतले ‘उहाँसित डराउनेहरूको उद्धार गर्नेछ’ भन्‍ने कुरामा तिनी ढुक्क थिए। हुनत हामी चमत्कारपूर्ण ढङ्‌गमा सुरक्षा पाएको आस गर्दैनौँ। तर यहोवामा भरोसा गर्ने व्यक्‍तिले अहिले जीवन गुमाउनुपरे पनि भविष्यमा अनन्त जीवन पाउनेछन्‌ भन्‍ने कुरा हामीलाई थाह छ।

महासङ्‌कष्टको दौडान मागोगको गोगको सेनाले हामीलाई आक्रमण गर्न सक्छन्‌। तर येसु र स्वर्गदूतहरूलाई पृथ्वीमा के भइरहेको छ भनेर थाह छ र उहाँहरूले हामीलाई बचाउनुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौँ (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३. मागोगको गोगले आक्रमण गर्दा हामी किन निस्सहाय देखिनेछौँ तर हामी किन डराउनु पर्दैन? (आवरण चित्र हेर्नुहोस्‌।)

१३ अब चाँडै मागोगको गोग अर्थात्‌ राष्ट्रहरूको गठबन्धनले परमेश्‍वरका जनहरूमाथि आक्रमण गर्नेछ। त्यतिबेला हाम्रो जीवन खतरामा परेको जस्तो देखिनेछ र यहोवाको बचाउने क्षमतामा हामी कत्तिको भरोसा गर्छौँ भन्‍ने कुराको जाँच हुनेछ। तर यहोवाले हामीलाई बचाउन सक्नुहुन्छ र बचाउनु पनि हुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त हुनुपर्नेछ। हामी ती राष्ट्रहरूको लागि निस्सहाय भेडाजस्तै देखिनेछौँ। (इज. ३८:१०-१२) किनकि हामीसित हातहतियार हुनेछैन अनि हामीले युद्धको तालिम पनि पाएका हुनेछैनौँ। तर हामी डराउनु पर्दैन किनभने परमेश्‍वरका स्वर्गदूतहरूले चारैतिरबाट सुरक्षा दिएको हामीले विश्‍वासको आँखाले देख्नेछौँ। राष्ट्रहरूले भने त्यो कुरा देख्नेछैनन्‌। देखून्‌ पनि कसरी! किनकि तिनीहरू परमेश्‍वरको यस्तो क्षमतामा विश्‍वासै गर्दैनन्‌। यहोवाको स्वर्गको सेना हाम्रो पक्षमा लड्‌न आएको देख्दा राष्ट्रहरू जिल्ल पर्नेछन्‌।—प्रका. १९:११, १४, १५.

भविष्यको लागि अहिल्यै तयारी गर्नुहोस्‌

१४. हामी भविष्यको लागि कसरी अहिल्यै तयारी गर्न सक्छौँ?

१४ हामी भविष्यको लागि कसरी अहिल्यै तयारी गर्न सक्छौँ? सर्वप्रथम हामीले भौतिक कुराहरूप्रति सन्तुलित दृष्टिकोण राख्नुपर्छ। किनकि एक दिन हामीले ती सबै कुरा छोड्‌नुपर्ने हुन्छ। साथै आफूसित जे छ, त्यसमै सन्तुष्ट हुन सिक्नुपर्छ। अनि यहोवासित विशेष सम्बन्ध गाँस्न पाएकोमा रमाउनुपर्छ। हामीले यहोवालाई जत्ति राम्ररी चिन्यौँ, भविष्यमा मागोगको गोगले आक्रमण गर्दा उहाँले हामीलाई जोगाउनुहुनेछ भन्‍ने कुरामा त्यत्ति नै पक्का हुन सक्नेछौँ।

१५. विगतका कस्ता अनुभवहरूले गर्दा दाउदले यहोवामा भरोसा गर्न सके?

१५ परीक्षाहरूको लागि पहिल्यै तयारी गर्न दाउदलाई मदत गरेको र हामीलाई पनि मदत गर्ने अर्को कुराबारे विचार गरौँ। दाउदले भने: “चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ; आनन्दित हो त्यो मानिस, जसले उहाँमा शरण लिन्छ।” (भज. ३४:८) दाउदका यी शब्दहरूबाट तिनले यहोवामा भरोसा गर्न सक्नुको कारण बुझ्न सक्छौँ। तिनले यहोवामा भरोसा गर्दा उहाँले तिनको साथ छोड्‌नुभएन। दाउद जवान छँदा तिनले पलिस्तियालीहरूको खुँखार योद्धा गोल्यतको सामना गर्नुपरेको थियो। तिनले गोल्यतलाई यसो भने: “आज यहोवा परमेश्‍वरले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ।” (१ समु. १७:४६) दाउदले राजा साउलको सेवा गर्न थालेपछि साउलले तिनलाई थुप्रै चोटि मार्ने प्रयास गरे। तर ‘दाउदलाई यहोवा परमेश्‍वरले साथ दिइरहनुभयो।’ (१ समु. १८:१२) विगतमा यहोवाले थुप्रै चोटि परीक्षा सहन मदत गर्नुभएकोले अहिले पनि मदत गर्नुहुनेछ भनेर दाउदले भरोसा गर्न सके।

१६. हामी कस्ता अवस्थाहरूमा यहोवाको भलाइ “चाखेर” हेर्न सक्छौँ?

१६ हामीले अहिले यहोवाको डोऱ्‍याइमा भरोसा गऱ्‍यौँ भने भविष्यमा उहाँले हामीलाई बचाउन सक्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्नेछौँ। जस्तै: हामीलाई सम्मेलन वा अधिवेशनमा जान बिदा चाहिन सक्छ अथवा नियमित तवरमा सभामा उपस्थित हुन वा साक्षीकार्यमा भाग लिन हाम्रो काममा केही छाँटकाँट गर्नुपर्ने हुन सक्छ। त्यस विषयमा हाकिमलाई बताउन हामीमा विश्‍वास हुनुपर्छ र यहोवामा भरोसा गर्नुपर्छ। तर मानौँ, हाकिमले हाम्रो कुरा सुनेनन्‌ बरु उल्टै हामीलाई कामबाट निकालिदिए भने नि? त्यस्तो अवस्थामा यहोवाले हामीलाई त्याग्नुहुनेछैन र उहाँले हाम्रो आधारभूत आवश्‍यकता पूरा गरिदिनुहुनेछ भन्‍ने कुरामा के हामी विश्‍वास गर्छौँ? (हिब्रू १३:५) पूर्ण-समय सेवामा लागेका थुप्रै भाइबहिनीले यो कुरा आफैले अनुभव गरेका छन्‌। हो, यहोवा आफ्ना सेवकहरूप्रति वफादार हुनुहुन्छ।

१७. सन्‌ २०२२ को वार्षिक पद के हो र यो किन उपयुक्‍त छ?

१७ यहोवा हाम्रो साथमा हुनुभएकोले भविष्यमा आइपर्ने परीक्षाहरूबारे सोचेर हामी डराउनु पर्दैन। हामीले यहोवाको इच्छालाई प्रथम स्थानमा राख्यौँ भने उहाँले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन। भविष्यमा आइपर्ने गाह्रा परिस्थितिहरूको लागि अहिल्यै तयारी गर्नु र यहोवा हामीलाई कहिल्यै त्याग्नुहुन्‍न भनेर भरोसा गर्नु किन महत्त्वपूर्ण छ भन्‍ने कुरा सम्झाउन परिचालक निकायले सन्‌ २०२२ को वार्षिक पदको रूपमा भजन ३४:१० रोजेको छ: “यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।”

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

^ अनु. 5 सन्‌ २०२२ को वार्षिक पद भजन ३४:१० बाट लिइएको छ। उक्‍त पदमा यस्तो लेखिएको छ: “यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।” यहोवाका थुप्रै वफादार सेवक भौतिक रूपमा सम्पन्‍न छैनन्‌। त्यसोभए तिनीहरूलाई “असल कुराको अभाव हुँदैन” भनेर कसरी भन्‍न सक्छौँ त? यस पदको अर्थ राम्ररी बुझ्यौँ भने भविष्यमा आइपर्ने गाह्रो समयको लागि कसरी अहिल्यै तयारी गर्न सक्नेछौँ?

^ अनु. 4 सेप्टेम्बर १५, २०१४ अङ्‌कको प्रहरीधरहरा-मा भएको “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।

^ अनु. 8 मे १, १९९९ अङ्‌कको प्रहरीधरहरा, पृष्ठ १९ हेर्नुहोस्‌।

^ अनु. 54 चित्रको व्याख्या: राजा साउलबाट ज्यान जोगाउन गुफामा लुक्दै हिँड्‌नुपरेको अवस्थामा पनि यहोवाका प्रबन्धहरूप्रति दाउद कृतज्ञ भए।

^ अनु. 56 चित्रको व्याख्या: इस्राएलीहरू मिश्रबाट निस्केपछि यहोवाले मन्‍नको प्रबन्ध गरिदिनुभयो र तिनीहरूको लुगा कहिल्यै फाटेन।