सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३

येसु रुनुभएको कुराबाट हामी के सिक्न सक्छौँ?

येसु रुनुभएको कुराबाट हामी के सिक्न सक्छौँ?

“तब येसु रुनुभयो।”—युह. ११:३५.

गीत १७ “म इच्छा गर्छु”

परिचय *

१-३. कस्ता कारणहरूले हाम्रो आँखाबाट आँसु झर्न सक्छ?

तपाईँ हालै कहिले रुनुभएको थियो? कहिलेकाहीँ खुसी हुँदा पनि हाम्रो आँखाबाट आँसु झर्छ तर प्रायजसो हामी दुःखी हुँदा रुन्छौँ। उदाहरणको लागि, हामीले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा हामी रुन्छौँ। अमेरिकाकी लोरिलै बहिनीले यसो भनिन्‌: “छोरीको मृत्यु भएपछि कहिलेकाहीँ उसको यादले यत्ति सताउँथ्यो कि म आफूलाई सम्हाल्नै सक्दिनथेँ। मेरो मुटु छियाछिया भएको थियो। त्यो पीडा सहन मलाई निकै गाह्रो भयो।” *

अरू कारणले पनि हाम्रो आँखाबाट आँसु झर्न सक्छ। जापानकी अग्रगामी बहिनी हिरोमीले यसो भनिन्‌: “हिजोआज मानिसहरूले हाम्रो सन्देशप्रति चासो नदेखाउँदा म निराश हुन्छु। कहिलेकाहीँ त म सत्य सिक्न चाहने व्यक्‍ति भेट्टाउन सकूँ भनेर धरधरी आँसु झार्दै यहोवालाई प्रार्थना गर्छु।”

के तपाईँले पनि यस्तै महसुस गर्नुभएको छ? हामीमध्ये धेरैले गरेका छौँ। (१ पत्रु. ५:९) हामी “रमाउँदै यहोवाको सेवा” गर्न चाहन्छौँ तर आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा, निराश हुँदा वा विश्‍वासको जाँच हुँदा धुरुधुरु रुँदै यहोवाको सेवा गर्नुपर्ने हुन सक्छ। (भज. ६:६; १००:२) यस्तो अवस्थामा हामी के गर्न सक्छौँ?

४. यस लेखमा हामी के छलफल गर्नेछौँ?

हामी येसुको उदाहरणबाट सिक्न सक्छौँ। कहिलेकाहीँ असह्‍य पीडा भोग्नुपर्दा येसु “रुनुभयो।” (युह. ११:३५; लुका १९:४१; २२:४४; हिब्रू ५:७) आउनुहोस्‌, ती घटनाहरू र त्यसबाट सिक्न सक्ने पाठहरू विचार गरौँ। हाम्रो आँसु झर्ने कठिन परिस्थितिको कसरी सामना गर्न सक्छौँ, त्यो पनि बुझौँ।

येसु आफ्ना साथीहरूको दुःख देखेर रुनुभयो

येसुले जस्तै शोकमा परेकाहरूको भावना बुझ्नुहोस्‌ (अनुच्छेद ५-९ हेर्नुहोस्‌) *

५. युहन्‍ना ११:३२-३६ बाट हामी येसुबारे के सिक्न सक्छौँ?

इस्वी संवत्‌ ३२ मा येसुको असल मित्र लाजरस बिरामी परे र तिनको मृत्यु भयो। (युह. ११:३, १४) तिनको दुई जना दिदी मरियम र मार्था थिए। यस परिवारलाई येसु धेरै माया गर्नुहुन्थ्यो। लाजरसको मृत्युले गर्दा ती दिदीबहिनीलाई ठूलो चोट पुग्यो। लाजरसको मृत्युपछि मरियम र मार्थालाई भेट्‌न येसु तिनीहरूको गाउँ बेथानि जानुभयो। येसु आउँदै हुनुहुन्छ भन्‍ने खबर पाएपछि मार्था दौडेर उहाँलाई भेट्‌न गइन्‌। तिनले भनिन्‌: “हे प्रभु, तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।” (युह. ११:२१) यसबाट तिनी कत्ति व्याकुल भएकी थिइन्‌ भनेर बुझ्न सक्छौँ। त्यसको केही बेरपछि मरियम र अरू मानिस रोइरहेको देखेर येसु पनि “रुनुभयो।”युहन्‍ना ११:३२-३६ पढ्‌नुहोस्‌।

६. येसु किन रुनुभयो?

त्यतिबेला येसु किन रुनुभयो? धर्मशास्त्रमा अन्तर्दृष्टि (अङ्‌ग्रेजी) किताबले यसो भन्छ: “आफ्नो साथी लाजरसको मृत्यु र त्यसले गर्दा तिनका दिदीहरूले भोग्नुपरेको पीडा देखेर येसुले ‘सुस्केरा हाल्नुभयो र रुनुभयो।’” * लाजरस बिरामी पर्दा तिनलाई कत्ति गाह्रो भयो होला र आफू धेरै बाच्दिनँ होला भनेर सोच्दा कत्ति पीडा भयो होला भनी सोचेर येसु रुनुभएको हुनुपर्छ। लाजरसको मृत्युले गर्दा मरियम र मार्थाले भोग्नुपरेको पीडा देखेर पनि येसु रुनुभएको हुनुपर्छ। तपाईँले पनि परिवारको कुनै सदस्य वा घनिष्ठ साथी गुमाउनुपर्दा त्यस्तै महसुस गर्नुभएको छ होला। यस घटनाबाट सिक्न सक्ने तीन वटा पाठ अब विचार गरौँ।

७. येसु रुनुभएको कुराबाट हामी यहोवाबारे के सिक्न सक्छौँ?

तपाईँ कस्तो महसुस गर्दै हुनुहुन्छ भनेर यहोवा बुझ्नुहुन्छ। हामी किन त्यसो भन्‍न सक्छौँ? बाइबलमा येसु परमेश्‍वरको “प्रतिरूप” हुनुहुन्छ भनेर बताइएको छ। (हिब्रू १:३) त्यसैले येसु रुनुहुँदा वास्तवमा उहाँले आफ्नो बुबाका भावनाहरू झल्काउँदै हुनुहुन्थ्यो। (युह. १४:९) तपाईँले पनि आफूले माया गरेको व्यक्‍ति गुमाउनुभएको छ भने यहोवाले तपाईँको दुःख देख्नुहुन्छ। त्यति मात्र होइन, उहाँ तपाईँको दुःख महसुस पनि गर्नुहुन्छ। उहाँ तपाईँको भाँचिएको मनलाई निको पार्न चाहनुहुन्छ।—भज. ३४:१८; १४७:३.

८. हामीले गुमाएका व्यक्‍तिहरूलाई येसुले जीवित पार्नुहुनेछ भन्‍ने कुरामा हामी किन ढुक्क हुन सक्छौँ?

तपाईँले माया गरेको व्यक्‍तिलाई येसु फेरि जीवित पार्न चाहनुहुन्छ। माथिको घटनामा येसुले मार्थालाई यस्तो आश्‍वासन पनि दिनुभयो: “तिम्रो भाइ ब्युँतनेछ।” मार्थाले यस कुरामा विश्‍वास गरिन्‌। (युह. ११:२३-२७) तिनी यहोवाको वफादार उपासक थिइन्‌। त्यसैले उहाँले विगतमा आफ्ना भविष्यवक्‍ताहरू एलिया र एलिसामार्फत मरेकाहरूलाई जीवित पार्नुभएको घटनाबारे तिनलाई राम्ररी थाह थियो। (१ राजा १७:१७-२४; २ राजा ४:३२-३७) येसुले मरेकाहरूलाई जीवित पार्नुभएका घटनाहरू पनि तिनले सुनेकी हुनुपर्छ। (लुका ७:११-१५; ८:४१, ४२, ४९-५६) त्यसैले आफूले गुमाएका व्यक्‍तिहरूलाई फेरि भेट्‌न पाउनेछौँ भन्‍ने कुरामा तपाईँ ढुक्क हुन सक्नुहुन्छ। येसु रुनुभएको र शोकमा परेका साथीहरूलाई सान्त्वना दिनुभएको कुराबाट उहाँ मरेकाहरूलाई जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ भन्‍ने कुरा बुझ्न सक्छौँ।

९. शोकमा परेकाहरूलाई तपाईँ कसरी साथ दिन सक्नुहुन्छ? एउटा अनुभव बताउनुहोस्‌।

तपाईँ शोकमा परेकाहरूलाई साथ दिन सक्नुहुन्छ। मार्था र मरियमसित येसु रुनु मात्र भएन, बरु उहाँले तिनीहरूको कुरा सुन्‍नुभयो र सान्त्वना दिनुभयो। हामी पनि त्यस्तै गर्न सक्छौँ। अस्ट्रेलियामा एल्डरको रूपमा सेवा गर्ने डान यसो भन्छन्‌: “मेरी श्रीमतीको मृत्यु हुँदा मैले साह्रै एक्लो महसुस गरेँ। थुप्रै दम्पती दिनरात नभनी मलाई भेट्‌न आउनुभयो र मेरो कुरा सुनिदिनुभयो। उहाँहरूले मलाई आफ्नो दुःख पोख्न दिनुभयो र मैले आँसु झार्दा अप्ठ्यारो मान्‍नुभएन। मैले दिनहुँ गर्नुपर्ने कामहरू गर्न नसक्दा व्यावहारिक मदत पनि दिनुभयो, जस्तै: कार धोइदिनुभयो, किनमेल गरिदिनुभयो र खाना पकाइदिनुभयो। साथै उहाँहरूले मसितै बसेर प्रार्थना गर्नुभयो। यसरी उहाँहरू मेरो लागि साँचो मित्र र ‘दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै’ हुनुभयो।”—हितो. १७:१७.

येसु आफ्ना छिमेकीहरूको अवस्था देखेर रुनुभयो

१०. लुका १९:३६-४० मा कस्तो विवरण पाउँछौँ?

१० इस्वी संवत्‌ ३३, नीसान ९ मा येसु यरुसलेम आइपुग्नुभयो। उहाँ सहरको नजिकै पुग्नुहुँदा एउटा भीड जम्मा भयो र मानिसहरूले उहाँलाई राजाको रूपमा स्विकार्दै आफ्ना लुगाहरू बाटोमा बिछ्याए। त्यो एकदमै खुसीको क्षण थियो। (लुका १९:३६-४० पढ्‌नुहोस्‌।) तर त्यतिबेला भएको एउटा कुरा देखेर चेलाहरूलाई अनौठो लागेको हुनुपर्छ। “जब [येसु] सहरको नजिक पुग्नुभयो, तब त्यसलाई हेरेर रुनुभयो।” उहाँले आँखाभरि आँसु लिएर यरुसलेमका बासिन्दाहरूले दुःख भोग्नुपर्नेछ भनेर भविष्यवाणी गर्नुभयो।—लुका १९:४१-४४.

११. यरुसलेमका बासिन्दाहरूको अवस्था देखेर येसु किन रुनुभयो?

११ हुनत मानिसहरूले येसुको भव्य स्वागत गरे। तर उहाँ दुःखी हुनुहुन्थ्यो। किनभने धेरैजसो यहुदीले राज्य सन्देश स्विकार्ने थिएनन्‌। परिणामस्वरूप यरुसलेमको विनाश हुने थियो र विनाशबाट बचेकाहरूलाई बन्दी बनाएर लगिने थियो। (लुका २१:२०-२४) दुःखको कुरा, येसुले जे भन्‍नुभएको थियो, त्यही भयो; धेरैजसो मानिसले उहाँलाई तिरस्कार गरे। तपाईँको इलाकाका मानिसहरूले राज्य सन्देशप्रति साधारणतया कस्तो प्रतिक्रिया देखाउँछन्‌? यदि थोरैले मात्र सकारात्मक प्रतिक्रिया देखाउँछन्‌ भने यस विवरणबाट तपाईँ के सिक्न सक्नुहुन्छ? आउनुहोस्‌, यसबाट सिक्न सक्ने तीन वटा पाठ विचार गरौँ।

१२. येसु छिमेकीहरूको अवस्था देखेर रुनुभएको कुराबाट हामी यहोवाबारे के सिक्न सक्छौँ?

१२यहोवा मानिसहरूमा चासो राख्नुहुन्छ। येसु रुनुभएको घटनाबाट यहोवा मानिसहरूको कत्ति ख्याल राख्नुहुन्छ भन्‍ने कुरा बुझ्न सक्छौँ। “उहाँ कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।” (२ पत्रु. ३:९) आज हामी राज्यको सन्देश सुनाउने काममा लगनशील भई लागेर छिमेकीहरूलाई प्रेम गरेको देखाउँछौँ।—मत्ति २२:३९. *

येसुले जस्तै साक्षी दिने तालिकामा छाँटकाँट गर्नुहोस्‌ (अनुच्छेद १३-१४ हेर्नुहोस्‌) *

१३-१४. येसुले मानिसहरूलाई कसरी कोमल करुणा देखाउनुभयो? हामी कसरी यो गुण देखाउन सक्छौँ?

१३येसुले सुसमाचार सुनाउन धेरै मेहनत गर्नुभयो। उहाँले हरेक अवसरमा मानिसहरूलाई सिकाएर तिनीहरूप्रति प्रेम देखाउनुभयो। (लुका १९:४७, ४८) उदाहरणको लागि, भीडका भीड मानिस उहाँको कुरा सुन्‍न आउँदा येसु र उहाँका चेलाहरूले “खाना खानसमेत पाउनुभएन।” (मर्कु. ३:२०) एक जना मानिस भने उहाँलाई भेट्‌न रातको समयमा आए। उहाँले तिनलाई पनि समय दिनुभयो। (युह. ३:१, २) मानिसहरूलाई हर अवसरमा सिकाउन येसुलाई केले उत्प्रेरित गऱ्‍यो? कोमल करुणाले। हुनत धेरैजसो मानिस उहाँको कुरा सुन्‍नेबित्तिकै चेला बनेनन्‌। तर उहाँले धेरैलाई राम्ररी साक्षी दिने मौका पाउनुभयो। आज हामी पनि सबै मानिसलाई राज्यको सन्देश सुन्‍ने मौका दिन चाहन्छौँ। (प्रेषि. १०:४२) यसको लागि हामीले आफ्नो तालिकामा केही छाँटकाँट गर्नुपर्ने हुन सक्छ।

१४आवश्‍यक छाँटकाँट गर्न इच्छुक हुनुहोस्‌। हामी एउटै समयमा मात्र साक्षीकार्यमा भाग लिन्छौँ भने बाइबलको सन्देश सुन्‍न चाहने कोही-कोही व्यक्‍ति छुट्‌न सक्छन्‌। अग्रगामी बहिनी माटिल्डा यसो भन्छिन्‌: “म र मेरो श्रीमान्‌ फरक-फरक समयमा मानिसहरूलाई भेट्‌ने कोसिस गर्छौँ। बिहानतिर हामी व्यापारिक इलाकामा साक्षी दिन्छौँ। दिउँसोतिर मानिसहरू सडकमा ओहोरदोहोर गर्ने भएकोले ट्रली साक्षीकार्यमा भाग लिन्छौँ अनि साँझतिर मानिसहरूलाई घरमै भेट्‌ने कोसिस गर्छौँ।” यसरी आफूलाई मिल्ने समयमा मात्र नभई मानिसहरूलाई भेट्‌न सकिने समयमा साक्षीकार्यमा भाग लिन हामी इच्छुक हुनुपर्छ। यस्तो प्रयास देखेर यहोवा खुसी हुनुहुनेछ।

परमेश्‍वरको नाममा कलङ्‌क लाग्ने चिन्ताले उहाँ रुनुभयो

येसुले जस्तै वफादारीको जाँच हुँदा यहोवालाई उत्कट बिन्ती चढाउनुहोस्‌ (अनुच्छेद १५-१७ हेर्नुहोस्‌) *

१५. लुका २२:३९-४४ अनुसार येसुको जीवनको अन्तिम रात के भयो?

१५ इस्वी संवत्‌ ३३, नीसान १४ को साँझ येसु गेत्समनीको बगैँचामा जानुभयो र यहोवालाई आफ्नो मनको बह पोख्नुभयो। (लुका २२:३९-४४ पढ्‌नुहोस्‌।) असह्‍य वेदनाले गर्दा उहाँले यहोवालाई “ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै उत्कट बिन्ती” चढाउनुभयो। (हिब्रू ५:७) आफ्नो जीवनको अन्तिम रात येसुले केको लागि प्रार्थना गर्नुभयो? यहोवाप्रति वफादार रहन र उहाँको इच्छा पूरा गर्न सकूँ भनेर प्रार्थना गर्नुभयो। यहोवाले आफ्नो छोराको व्यग्र प्रार्थना सुन्‍नुभयो र उहाँलाई हौसला दिन स्वर्गदूत पठाउनुभयो।

१६. गेत्समनीको बगैँचामा येसुले किन रुँदै प्रार्थना गर्नुभयो?

१६ गेत्समनीको बगैँचामा येसुले किन रुँदै प्रार्थना गर्नुभयो? मानिसहरूले आफूलाई ईश्‍वरनिन्दक ठान्‍नेछन्‌ भनेर उहाँ विचलित हुनुभएको थियो। साथै परमेश्‍वरको नाम पवित्र पार्ने ठूलो जिम्मेवारी आफ्नो काँधमा छ भन्‍ने कुरा पनि उहाँलाई थाह थियो। यदि तपाईँ पनि यहोवाप्रतिको वफादारीको जाँच हुने कठिन अवस्थाबाट गुज्रँदै हुनुहुन्छ भने येसु रुनुभएको कुराबाट के सिक्न सक्नुहुन्छ? आउनुहोस्‌, थप तीन वटा पाठ विचार गरौँ।

१७. यहोवाले येसुको उत्कट बिन्ती सुन्‍नुभएको कुराबाट हामी यहोवाबारे के सिक्न सक्छौँ?

१७यहोवा तपाईँको उत्कट बिन्ती सुन्‍नुहुन्छ। यहोवाले येसुको उत्कट बिन्ती सुन्‍नुभयो। किन? किनभने येसुको लागि यहोवाप्रति वफादार रहनु र उहाँको नाम पवित्र पार्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। हामीले पनि यहोवाप्रति वफादार रहने र उहाँको नामलाई पवित्र पार्ने कुरालाई सबैभन्दा महत्त्वपूर्ण ठान्यौँ भने उहाँले हाम्रो प्रार्थना सुन्‍नुहुनेछ।—भज. १४५:१८, १९.

१८. येसुलाई किन हाम्रो भावना बुझ्ने साथी भन्‍न सक्छौँ?

१८तपाईँ कस्तो महसुस गर्दै हुनुहुन्छ भनेर येसु बुझ्नुहुन्छ। हामी निराश भएको बेला हाम्रो भावना बुझ्ने र हाम्रोजस्तै परीक्षा भोगेको साथीले सान्त्वना दिँदा हामी कत्ति खुसी हुन्छौँ! येसु त्यस्तै साथी हुनुहुन्छ। कमजोर हुँदा र खाँचोमा पर्दा कस्तो महसुस हुन्छ भन्‍ने कुरा उहाँलाई राम्ररी थाह छ। उहाँ हाम्रो बनौट जान्‍नुहुन्छ र हामीलाई “चाहिएकै बेला” मदत दिनुहुन्छ। (हिब्रू ४:१५, १६) येसुले गेत्समनीको बगैँचामा स्वर्गदूतको मदत स्विकार्नुभयो। आज यहोवा हामीलाई प्रकाशन, भिडियो, भाषण अथवा कुनै एल्डर वा परिपक्व साथीमार्फत मदत दिनुहुन्छ र हामी त्यस्तो मदत स्विकार्न इच्छुक हुनुपर्छ।

१९. वफादारीको जाँच हुने परिस्थितिमा पर्दा तपाईँ कसरी बल पाउन सक्नुहुन्छ? एउटा अनुभव बताउनुहोस्‌।

१९यहोवा तपाईँलाई उहाँको “शान्ति” दिनुहुन्छ। यहोवा हामीलाई कसरी बलियो पार्नुहुन्छ? हामीले प्रार्थना गर्दा “परमेश्‍वरको शान्ति” पाउँछौँ, “जुन मानिसको समझभन्दा बाहिरको छ।” (फिलि. ४:६, ७) त्यसले हामीलाई गाह्रो अवस्थामा नआत्तिन र ठीकसित सोच्न मदत गर्छ। यो कुरा बहिनी लुजले अनुभव गरिन्‌। तिनी यसो भन्छिन्‌: “कहिलेकाहीँ म एक्लो महसुस गर्छु र यहोवा मलाई माया गर्नुहुन्‍न जस्तो लाग्छ। तर त्यस्तो अवस्थामा म कस्तो महसुस गर्दै छु भनेर यहोवालाई तुरुन्तै बताउने गर्छु। प्रार्थना गर्दा मैले आफ्ना भावनाहरूलाई काबूमा राख्न सकेकी छु।” तिनको अनुभवले देखाएझैँ हामीले प्रार्थनामार्फत शान्ति पाउन सक्छौँ।

२०. येसु रुनुभएको कुराबाट हामीले कस्ता पाठहरू सिक्यौँ?

२० येसु रुनुभएको विवरणबाट हामीले सान्त्वना पाउन सक्यौँ र उपयोगी पाठहरू पनि सिक्न सक्यौँ। जस्तै: हामीले शोकमा परेका साथीहरूलाई साथ दिनुपर्छ अनि आफूले माया गरेको व्यक्‍ति गुमाउनुपर्दा यहोवा र येसुले हामीलाई मदत गर्नुहुन्छ भनेर भरोसा गर्नुपर्छ। साक्षी दिँदा र सिकाउँदा यहोवा र येसुले जस्तै मानिसहरूप्रति कोमल करुणा देखाउनुपर्छ। हामी कस्तो महसुस गर्दै छौँ भनेर उहाँहरू बुझ्नुहुन्छ, उहाँहरूलाई हाम्रो कमीकमजोरी थाह छ र गाह्रो अवस्था सहन हामीलाई मदत गर्न चाहनुहुन्छ। अब चाँडै यहोवाले हाम्रो “आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रका. २१:४) त्यो समय नआउन्जेल यस लेखमा सिकेका कुराहरू लागू गरिरहौँ!

गीत १२० ख्रिष्टको नम्रता अनुकरण गरौँ!

^ अनु. 5 येसु रुनुभएका घटनाहरू हामी बाइबलमा पाउँछौँ। यस लेखमा येसु रुनुभएको तीन वटा घटना र त्यसबाट सिक्न सक्ने पाठहरू हामी छलफल गर्नेछौँ।

^ अनु. 1 केही नाम परिवर्तन गरिएका छन्‌।

^ अनु. 6 धर्मशास्त्रमा अन्तर्दृष्टि (अङ्‌ग्रेजी) किताबको खण्ड २, पृष्ठ ६९ हेर्नुहोस्‌।

^ अनु. 12 मत्ति २२:३९ मा “छिमेकी” भनेर अनुवाद गरिएको ग्रीक शब्दले तपाईँको घरछेउमा बस्ने मानिसलाई मात्र होइन, बरु तपाईँले भेट्‌ने जोकोहीलाई सङ्‌केत गर्छ।

^ अनु. 58 चित्रको व्याख्या: येसु मरियम र मार्थालाई सान्त्वना दिन अग्रसर हुनुभयो। हामीले पनि शोकमा परेकाहरूलाई त्यसरी नै सान्त्वना दिनुपर्छ।

^ अनु. 60 चित्रको व्याख्या: येसु रातको समयमा निकोदेमसलाई सिकाउन तयार हुनुभयो। हामी पनि मानिसहरूलाई अनुकूल पर्ने समयमा सिकाउन इच्छुक हुनुपर्छ।

^ अनु. 62 चित्रको व्याख्या: येसुले यहोवाप्रति वफादार रहन सकूँ भनेर प्रार्थना गर्नुभयो। परीक्षामा पर्दा हामीले पनि त्यसै गर्नुपर्छ।