सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २

“आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्‌”

“आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्‌”

“आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्‌। तब तिमीहरूले परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक्नेछौ।”—रोमी १२:२.

गीत ८८ मलाई तपाईँको मार्ग सिकाउनुहोस्‌

परिचय a

१-२. हामीले बप्तिस्मापछि पनि के गरिरहनुपर्छ? व्याख्या गर्नुहोस्‌।

 तपाईँ आफ्नो घर कति पटक सफा गर्नुहुन्छ? सायद नयाँ घरमा सर्नुअघि तपाईँले कुनाकाप्चा कतै नछोडी राम्रोसँग सफा गर्नुभयो होला। तर त्यसपछि सफा नै गर्नुभएन भने के हुन्छ? तपाईँलाई थाह भएकै कुरा हो, घरमा जालो लाग्न र धुलो जम्न थाल्छ। त्यसैले घर चिटिक्क राख्न नियमित रूपमा सफा गर्नुपर्छ।

हामीले आफ्नो सोचाइ र व्यक्‍तित्व सुधार्न पनि यस्तै प्रयास गरिरहनुपर्छ। बप्तिस्माअघि हामीले “तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध” पार्न आवश्‍यक छाँटकाँट गऱ्‍यौँ। (२ कोरि. ७:१) तर हामीले अझै पनि प्रेषित पावलले सल्लाह दिएजस्तै “आफ्नो सोच्ने तरिकालाई नयाँ बनाइरहनुपर्छ।” (एफि. ४:२३) हामीले किन यस्तो प्रयास गरिरहनुपर्छ? किनकि संसारका धुलोरूपी भ्रष्ट कुराहरूले हामीलाई तुरुन्तै असर गर्न सक्छ। त्यसैले परमेश्‍वरको नजरमा शुद्ध रहिरहन हामीले आफ्नो सोचाइ, व्यक्‍तित्व र चाहनालाई बेलाबेलामा जाँचिरहनुपर्छ।

“आफ्नो सोचाइ नयाँ” बनाइरहनुहोस्‌

३. आफ्नो सोचाइ नयाँ बनाउन के गर्नुपर्छ? (रोमी १२:२)

‘आफ्नो सोचाइ नयाँ बनाउन’ अर्थात्‌ सोच्ने तरिका परिवर्तन गर्न हामीले के गर्नुपर्छ? (रोमी १२:२ पढ्‌नुहोस्‌।) आफ्नो सोचाइ नयाँ बनाउन एक-दुई वटा असल काम गरेर मात्र पुग्दैन। बरु वास्तवमा हामी कस्तो व्यक्‍ति हौँ भनेर जाँच्नुपर्छ र यहोवाको स्तर सकेसम्म राम्ररी पछ्याउन आवश्‍यक छाँटकाँट गर्नुपर्छ। यस्तो प्रयास हामीले एकचोटि मात्र होइन, निरन्तर गरिरहनुपर्छ।

उच्च शिक्षा र जागिरको सन्दर्भमा तपाईँले गरेका छनौटहरूबाट तपाईँ राज्य गतिविधिलाई प्राथमिकता दिनुहुन्छ भन्‍ने देखिन्छ? (अनुच्छेद ४-५ हेर्नुहोस्‌) c

४. यस युगको चालढालले हाम्रो सोचाइलाई असर गर्न नदिन के गर्नुपर्छ?

हामी त्रुटिरहित भएपछि यहोवालाई खुसी बनाइरहन सक्नेछौँ। तर त्यो समय नआएसम्म हामीले उहाँलाई खुसी बनाउन कडा मेहनत गरिरहनुपर्छ। याद गर्नुहोस्‌, पावलले रोमी १२:२ मा परमेश्‍वर हामीबाट के चाहनुहुन्छ भनेर थाह पाउन हामीले आफ्नो सोचाइ नयाँ बनाउनुपर्छ भनेर बताए। तर यस युगको चालढालले हाम्रो सोचाइलाई चालै नपाउने तरिकामा असर गर्न सक्छ। त्यसैले हाम्रो लक्ष्य तथा निर्णयहरूमा परमेश्‍वरको सोचाइ झल्किन्छ कि संसारको भनेर पक्का गर्न आफैलाई जाँच्नुपर्छ।

५. यहोवाको दिनलाई मनमा राखेका छौँ कि छैनौँ भनेर हामी आफैलाई कसरी जाँच्न सक्छौँ? (तस्बिर हेर्नुहोस्‌।)

एउटा उदाहरण विचार गरौँ। यहोवा हामीले ‘उहाँको दिनको उपस्थितिलाई मनमा राखेको’ चाहनुहुन्छ। (२ पत्रु. ३:१२) त्यसैले आफैलाई सोध्नुहोस्‌: ‘मैले यस युगको अन्त एकदमै नजिक छ भनेर बुझेको के मेरो जीवनशैलीबाट देखिन्छ? शिक्षा र जागिरको सन्दर्भमा मैले गर्ने निर्णयहरूबाट मेरो लागि यहोवाको सेवा नै सबैभन्दा महत्त्वपूर्ण हो भनेर देखिन्छ? यहोवाले मेरो र मेरो परिवारको आवश्‍यकता पूरा गरिदिनुहुन्छ भनेर के म विश्‍वास गर्छु? अथवा भौतिक कुराहरूबारे अचाक्ली चिन्ता गरिरहन्छु कि?’ हामीले यहोवाको इच्छाअनुसार जीवन बिताउन कोसिस गरेको देख्दा उहाँ कत्ति खुसी हुनुहुन्छ होला, सोच्नुहोस्‌ त!—मत्ति ६:२५-२७, ३३; फिलि. ४:१२, १३.

६. हामीले के गरिरहनुपर्छ?

हामीले आफ्नो सोचाइ बेलाबेलामा जाँच्नुपर्छ र आवश्‍यक छाँटकाँट गर्नुपर्छ। पावलले कोरिन्थीहरूलाई यसो भने: “तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी जाँचिरहो, तिमीहरू कस्ता मानिसहरू हौ, साबित गरिरहो।” (२ कोरि. १३:५) “विश्‍वासमा” हुनुमा सभा र साक्षीकार्यमा जानु मात्र पर्याप्त छैन। यसमा हाम्रो सोचाइ, मनसाय र झुकाव पनि मुछिएको छ। त्यसैले आफ्नो सोचाइलाई नयाँ बनाइरहन बाइबल पढेर परमेश्‍वरले जसरी नै सोच्न सिक्नुपर्छ अनि उहाँको इच्छाअनुसार चल्न आवश्‍यक छाँटकाँट गर्नुपर्छ।—१ कोरि. २:१४-१६.

“नयाँ व्यक्‍तित्व धारण” गरिरहनुहोस्‌

७. एफिसी ४:३१, ३२ अनुसार हामीले अरू के गर्नुपर्छ र यसो गर्न किन गाह्रो हुन सक्छ?

एफिसी ४:३१, ३२ पढ्‌नुहोस्‌। हामीले आफ्नो सोचाइलाई नयाँ बनाउनुको अलावा “नयाँ व्यक्‍तित्व धारण” गर्नुपर्छ। (एफि. ४:२४) यसको लागि हामीले सक्दो प्रयास गर्नुपर्छ। जस्तै: कटुता, रिस, क्रोधजस्ता दुर्गुण हटाउन हामीले कडा मेहनत गर्नुपर्छ। यसो गर्न किन गाह्रो हुन सक्छ? किनकि केही दुर्गुणले हाम्रो मनमा गहिरो जरा गाडेर बसेको हुन्छ। बाइबलमा “मानिसको हृदयको झुकाव सानैदेखि खराबी गर्नतर्फ हुन्छ” भनेर बताइएको छ। (उत्प. ८:२१) हामीले यस्ता दुर्गुणहरूलाई काबूमा राख्न बप्तिस्मापछि पनि निरन्तर प्रयास गर्नुपर्ने हुन सक्छ भनेर अब पढिने अनुभवले देखाउँछ।

८-९. स्टिभनको अनुभवले देखाएझैँ हामीले पुरानो व्यक्‍तित्व फाल्न किन निरन्तर प्रयास गरिरहनुपर्छ?

स्टिभनलाई आफ्नो रिस काबूमा राख्न धेरै गाह्रो थियो। तिनी यसो भन्छन्‌: “बप्तिस्मा गरिसकेपछि पनि मैले रिस काबूमा राख्न कोसिस गरिरहनुपर्थ्यो। एकचोटि घर-घरको प्रचारकार्यमा भाग लिइरहेको बेला चोरले मेरो गाडीको रेडियो चोरेर भागिरहेको देखेँ र उसलाई लखेट्‌न थालेँ। म उसको नजिकै पुग्दा ऊ रेडियो भुईँमा फ्याँकेर भाग्यो। चोरले लगिसकेको मेरो रेडियो कसरी फिर्ता पाएँ भनेर अरूलाई सुनाउँदा एक जना एल्डरले मलाई सोध्नुभयो: ‘स्टिभन, त्यो चोरलाई भेटिहालेको भए के गर्थ्यौ?’ यो प्रश्‍नले मलाई सोच्न लगायो र अरूसित मिलेर बस्न प्रयास गरिरहनुपर्छ भनेर महसुस गरेँ।” b

स्टिभनको अनुभवले देखाएझैँ आफूले कुनै दुर्गुण हटाइसकेको जस्तो लागे तापनि त्यो अचानक फेरि देखा पर्न सक्छ। तपाईँले पनि यस्तै अनुभव गर्नुभएको छ भने निराश नहुनुहोस्‌ र आफू असल ख्रिष्टियन बन्‍न सकिनँ भनेर नसोच्नुहोस्‌। प्रेषित पावलले पनि यस्तो कुरा स्विकारे: “जब म जे ठीक छ, त्यो गर्न चाहन्छु, तब ममा खराबी हाजिर हुँदो रहेछ।” (रोमी ७:२१-२३) त्रुटिपूर्ण भएकोले हामी सबैमा केही न केही दुर्गुण हुन्छ। घर जत्ति नै सफा गरे पनि फेरि धुलो जमेजस्तै हामीमा ती दुर्गुणहरू फेरि देखा पर्न सक्छ। त्यसैले परमेश्‍वरको नजरमा शुद्ध रहिरहन हामीले मेहनत गरिरहनुपर्छ। हामी कसरी यसो गर्न सक्छौँ?  

१०. हामी आफूमा भएका दुर्गुणहरूसित कसरी लड्‌न सक्छौँ? (१ युहन्‍ना ५:१४, १५)

१० तपाईँलाई कुनै दुर्गुण हटाउन गाह्रो भइरहेको छ भने यहोवालाई प्रार्थना गर्नुहोस्‌। उहाँले तपाईँको प्रार्थना सुन्‍नुहुनेछ र मदत गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌। (१ युहन्‍ना ५:१४, १५ पढ्‌नुहोस्‌।) हुनत यहोवाले त्यो दुर्गुण चमत्कारपूर्ण ढङ्‌गमा हटाउनुहुन्‍न तर उहाँले तपाईँलाई त्यस दुर्गुणको वशमा नपर्न बल दिनुहुन्छ। (१ पत्रु. ५:१०) अनि तपाईँले पनि पुरानो व्यक्‍तित्व फर्कन सक्ने कुनै पनि कुरा नगरेर आफ्नो प्रार्थनाअनुरूप काम गर्नुपर्छ। उदाहरणको लागि, तपाईँले हटाउन कोसिस गरिरहेको दुर्गुणलाई बढावा दिने चलचित्र अनि टिभी कार्यक्रमहरू नहेर्नुहोस्‌ वा त्यस्ता कथाहरू नपढ्‌नुहोस्‌। अनि आफ्नो मनमा अनुचित इच्छाहरू नखेलाउनुहोस्‌।—फिलि. ४:८; कल. ३:२.

११. नयाँ व्यक्‍तित्व धारण गरिरहन हामी के गर्न सक्छौँ?

११ तपाईँले पुरानो व्यक्‍तित्व फुकालेर मिल्काउनु मात्र पर्याप्त छैन, नयाँ व्यक्‍तित्व धारण पनि गर्नुपर्छ। तपाईँ कसरी यसो गर्न सक्नुहुन्छ? यहोवाका गुणहरूबारे सिकेर उहाँको अनुकरण गर्ने लक्ष्य राख्नुहोस्‌। (एफि. ५:१, २) जस्तै, यहोवाको क्षमालाई जोड दिने बाइबल विवरण पढ्‌दा आफैलाई सोध्नुहोस्‌: ‘के म अरूलाई क्षमा दिन्छु?’ यहोवाले खाँचोमा परेकाहरूलाई दया देखाउनुभएको विवरणबारे पढ्‌दा आफैलाई सोध्नुहोस्‌: ‘के म खाँचोमा परेकाहरूप्रति यहोवाले जस्तै महसुस गर्छु र यो कुरा आफ्नो कामबाट देखाउँछु?’ नयाँ व्यक्‍तित्व धारण गरेर आफ्नो सोचाइ नयाँ बनाइरहनुहोस्‌ अनि चुक्नुभयो भने हरेस नखानुहोस्‌।  

१२. बाइबलमा जीवन परिवर्तन गर्न सक्ने शक्‍ति छ भनेर स्टिभनले कसरी अनुभव गरे?

१२ अगाडि उल्लेख गरिएका स्टिभनले बिस्तारै नयाँ व्यक्‍तित्व धारण गर्न सकेको महसुस गरे। तिनी भन्छन्‌: “बप्तिस्मा गरेपछि पनि म कुटाकुट हुन सक्ने अवस्थामा थुप्रै चोटि परेको छु। मानिसहरूले मलाई रिस उठाउन खोज्दा त्यो ठाउँ छोडेर अन्तै जान वा अरू कुनै तरिकामा अवस्था शान्त पार्न मैले सिकेको छु। मैले यस्तो अवस्थालाई राम्रोसित सँभालेको देख्दा मेरी पत्नी र अरू थुप्रै मानिसले मेरो तारिफ गरेका छन्‌। यस्तो गर्न सकेकोमा आफै दङ्‌ग पर्छु। मैले आफ्नै क्षमताले यस्ता परिवर्तनहरू गर्न सकेको होइनँ। बरु यो त मानिसलाई परिवर्तन गर्न सक्ने बाइबलको शक्‍तिको प्रमाण हो।”

अनुचित इच्छाविरुद्ध लडिरहनुहोस्‌

१३. अनुचित इच्छाविरुद्ध लड्‌न हामीलाई केले मदत गर्छ? (गलाती ५:१६)

१३ गलाती ५:१६ पढ्‌नुहोस्‌। सही काम गर्ने हाम्रो प्रयासमा सफल हुन यहोवाले पवित्र शक्‍ति दिनुभएर हामीलाई मदत गर्नुहुन्छ। परमेश्‍वरको वचन पढ्‌दा हामीले आफूमा पवित्र शक्‍तिले प्रभाव पार्न दिइरहेका हुन्छौँ। सभाहरूमा उपस्थित भएर पनि हामी पवित्र शक्‍ति पाउन सक्छौँ। सभाहरूमा हामीजस्तै सही काम गर्न प्रयास गरिरहेका भाइबहिनीसित समय बिताउने मौका पाउँछौँ अनि त्यस्तो प्रयास देख्दा हामीले प्रोत्साहन पाउँछौँ। (हिब्रू १०:२४, २५; १३:७) यहोवालाई व्यग्र प्रार्थना गऱ्‍यौँ र आफ्नो कमीकमजोरीसित लड्‌न मदत माग्यौँ भने उहाँले हामीलाई पवित्र शक्‍तिद्वारा बल दिनुहुन्छ। हुनत यस्ता आध्यात्मिक गतिविधिहरूमा भाग लिँदैमा हाम्रो मनबाट स्वतः कुइच्छाहरू हट्‌दैनन्‌ तर यस्ता कुइच्छाहरूको वशमा परेर खराब काम गर्नदेखि भने जोगिन्छौँ। गलाती ५:१६ मा बताइएझैँ पवित्र शक्‍तिको भरमा हिँड्‌नेहरूले ‘कुनै किसिमको शारीरिक इच्छा कदापि पूरा गर्नेछैनन्‌।’

१४. सही काम गर्ने इच्छा विकास गरिरहनु किन जरुरी छ?

१४ हामीले आध्यात्मिक गतिविधिको राम्रो तालिका बनाइसकेका छौँ भने त्यस तालिकाअनुसार चलिरहनु र सही काम गर्ने इच्छा विकास गरिरहनु जरुरी छ। किन? किनकि हाम्रो एउटा शत्रु कहिल्यै सुत्दैन। त्यो हो, गलत काम गर्ने हाम्रो झुकाव। बप्तिस्मापछि पनि हामी जूवा, रक्सीको दुरुपयोग र अश्‍लील कुराहरू हेर्नेजस्ता पहिला छोडिसकेका कुलतहरूप्रति फेरि आकर्षित हुन सक्छौँ। (एफि. ५:३, ४) एक जवान भाइले यसो भने: “मैले निकै सङ्‌घर्ष गर्नुपरेको एउटा चुनौती भनेको एउटै लिङ्‌गको व्यक्‍तिप्रति आकर्षित हुनु हो। मलाई यस्तो भावना बिस्तारै हट्‌छ जस्तो लाग्थ्यो तर यसले मलाई अझै पनि सताइरहन्छ।” आफ्नो मनबाट अनुचित इच्छा हटाउन निकै गाह्रो भइरहेको छ भने हामीलाई केले मदत गर्न सक्छ?  

अनुचित इच्छाले सताउँदा तपाईँको अवस्था आशाविहीन छ भनेर नसोच्नुहोस्‌; अरूले पनि त्यस्तै सङ्‌घर्ष गरेका छन्‌ र त्यसको प्रतिरोध गर्न सफल भएका छन्‌ (अनुच्छेद १५-१६ हेर्नुहोस्‌)

१५. अनुचित इच्छाहरूसित “साधारणतया सबै मानिस”-ले सङ्‌घर्ष गर्नुपर्छ भनेर थाह पाउनु किन प्रोत्साहनदायी छ? (तस्बिर हेर्नुहोस्‌।)

१५ तपाईँ कुनै गलत इच्छा काबूमा राख्न सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने यस्तो सङ्‌घर्ष गर्ने तपाईँ मात्र हुनुहुन्‍न भन्‍ने कुरा मनमा राख्नुहोस्‌। बाइबल यसो भन्छ: “साधारणतया सबै मानिसलाई आइपर्ने परीक्षाबाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ।” (१ कोरि. १०:१३क) पावलले यो कुरा कोरिन्थका भाइबहिनीलाई लेखेका थिए। तिनीहरूमध्ये कोही-कोही पहिला व्यभिचारी, समलिङ्‌गी र पियक्कड थिए। (१ कोरि. ६:९-११) तपाईँलाई कस्तो लाग्छ, बप्तिस्मापछि तिनीहरूमा त्यस्ता अनुचित इच्छाहरू कहिल्यै आएनन्‌ होला? त्यस्तो त हुन सक्दैन। हुनत तिनीहरू सबै अभिषिक्‍त ख्रिष्टियन थिए तर त्रुटिपूर्ण पनि थिए। त्यसैले तिनीहरूले त्यस्ता अनुचित इच्छाहरूसित बेलाबेलामा सङ्‌घर्ष गर्नुपरेको हुन सक्छ। अरूले पनि तपाईँले जस्तै अनुचित इच्छासित सङ्‌घर्ष गरेका थिए र तिनीहरू त्यसको प्रतिरोध गर्न सफल भए भनेर थाह पाउँदा तपाईँले प्रोत्साहन पाउन सक्नुहुन्छ। यसरी ‘संसारभरिका सबै भाइले तपाईँले जस्तै दुःखकष्ट भोगिरहेका छन्‌’ भनेर थाह पाउँदा तपाईँ पनि “विश्‍वासमा दह्रो” भइरहन सक्नुहुन्छ।—१ पत्रु. ५:९.

१६. हामीले कस्तो सोचाइ राख्नु हुँदैन र किन?

१६ तपाईँले सामना गरिरहेको चुनौती कसैले बुझ्न सक्दैन भन्‍ने सोचाइ नराख्नुहोस्‌। किनकि यस्तो सोचाइ राख्नुभयो भने तपाईँलाई आफ्नो अवस्था आशाविहीन छ र आफूमा अनुचित इच्छाको प्रतिरोध गर्ने शक्‍ति नै छैन जस्तो लाग्न सक्छ। तर बाइबल यसो भन्छ: “परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ र तिमीहरूले सहन सक्नेभन्दा बाहिरको परीक्षामा उहाँले तिमीहरूलाई पर्न दिनुहुनेछैन बरु तिमीहरूले सहन सक भनेर परीक्षाका साथसाथै त्यसबाट उम्कने बाटो पनि खोलिदिनुहुनेछ।” (१ कोरि. १०:१३ख) त्यसैले कुनै अनुचित इच्छालाई काबूमा राख्न निकै गाह्रो भइरहेको छ भने पनि हामी त्यसको प्रतिरोध गर्न सक्छौँ। यहोवाको मदत पाउँदा हामी अनुचित इच्छाको वशमा परेर गलत कदम चाल्नदेखि जोगिन सक्छौँ।

१७. आफूमा अनुचित इच्छाहरू आउनदेखि रोक्न नसके पनि हामी केचाहिँ गर्न सक्छौँ?

१७ यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: हामी त्रुटिपूर्ण भएकोले हामीमा अनुचित इच्छाहरू आउँछन्‌। तर युसुफ पोतिफरकी पत्नीबाट तुरुन्तै भागेजस्तै हामी पनि आफूमा अनुचित इच्छा आउँदा त्यसको तुरुन्तै प्रतिरोध गर्न सक्छौँ। (उत्प. ३९:१२) यसो गऱ्‍यौँ भने अनुचित इच्छाहरूको वशमा परेर गलत कदम चाल्नदेखि जोगिनेछौँ।

प्रयास गरिरहनुहोस्‌

१८-१९. आफ्नो सोचाइ नयाँ बनाउन प्रयास गर्दा हामी आफैलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छौँ?

१८ सोचाइ नयाँ बनाउनुमा आफ्नो सोच्ने तरिका र कामलाई यहोवाको इच्छाअनुसार ढाल्न प्रयास गरिरहनु समावेश छ। त्यसैले आफूलाई जाँच्न यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘हामी अन्तको दिनमा बाँचिरहेका छौँ भनेर बुझेको के मेरो कामबाट देखिन्छ? के मैले नयाँ व्यक्‍तित्व धारण गर्ने सन्दर्भमा प्रगति गरिरहेको छु? खराब इच्छाहरूको वशमा परेर गलत कदम चाल्नदेखि जोगिन के म पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चलिरहेको छु?’

१९ यसरी आफैलाई जाँच्दा उन्‍नति गर्नुपर्ने क्षेत्रहरू देख्नुभयो भने निराश नहुनुहोस्‌। बरु तपाईँले जे-जति प्रगति गर्नुभएको छ, त्यसमा खुसी हुनुहोस्‌। अनि फिलिप्पी ३:१६ मा दिइएको यो सल्लाह पालन गर्नुहोस्‌: “हामीले जुन हदसम्म प्रगति गरिसकेका छौँ, त्यहीबमोजिम व्यवस्थित ढङ्‌गमा अघि बढिरहौँ।” आफ्नो सोचाइ नयाँ बनाउन तपाईँले गर्नुभएको प्रयासमा यहोवाले आशिष्‌ दिनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।

गीत ३६ हृदय सुरक्षित राखौँ!

a प्रेषित पावलले सङ्‌गी ख्रिष्टियनहरूलाई यस युगको चालढालअनुसार नचल्न सल्लाह दिए। यो सल्लाह आज हामीलाई पनि लागू हुन्छ। संसारका भ्रष्ट कुराहरूले हामीलाई कुनै पनि तरिकामा असर गर्न दिनु हुँदैन। हामीले आफ्नो सोचाइ परमेश्‍वरको इच्छाअनुसार नभएको याद गऱ्‍यौँ भने तुरुन्तै सच्याउनुपर्छ। यस लेखमा हामी यो कसरी गर्न सक्छौँ भनेर बुझ्नेछौँ।

b jw.org मा हाम्रो बारेमा > अनुभव > बाइबलले जीवनलाई नयाँ मोड दिन्छ अन्तर्गत “मेरो जीवन झन्‌झन्‌ खस्कँदै थियो” भन्‍ने लेख हेर्नुहोस्‌।

c तस्बिरको व्याख्या: एक जवान भाइ उच्च शिक्षा लिने कि पूर्ण-समय सेवा थाल्ने भनेर विचार गर्दै छन्‌।