सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ५

“ख्रिष्टको प्रेमले हामीलाई बाध्य पार्छ”

“ख्रिष्टको प्रेमले हामीलाई बाध्य पार्छ”

“ख्रिष्टको प्रेमले हामीलाई बाध्य पार्छ . . . बाँच्नेहरू अबउसो आफ्नो लागि होइन तर उहाँकै लागि बाँचून्‌।”—२ कोरि. ५:१४, १५.

गीत १३ ख्रिष्ट—हाम्रो उदाहरण

परिचय a

१-२. (क) येसुको जीवन र सेवाको कामबारे मनन गर्दा हामी कस्तो महसुस गर्छौँ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

 आफूले माया गर्ने व्यक्‍तिको मृत्यु हुँदा हामीलाई तिनको धेरै याद आउँछ। यदि तिनले आफ्नो मृत्युअघि धेरै नै पीडा भोग्नुपरेको थियो भने सुरु-सुरुमा त्यही कुराको सम्झनाले हाम्रो मन रुन्छ होला। तर समय बित्दै जाँदा तिनले हामीलाई सिकाएको अथवा हामीलाई प्रोत्साहन दिन वा हँसाउन तिनले भनेको वा गरेको कुनै कुरा सम्झँदा हामी अलि खुसी हुन थाल्छौँ होला।

त्यसैगरि येसुले भोग्नुभएको यातना र मृत्युबारे पढ्‌दा हामीलाई धेरै दुःख लाग्छ। स्मरणार्थको समयमा हामी फिरौतीको बलिदानको महत्त्वबारे अझ धेरै मनन गर्छौँ। (१ कोरि. ११:२४, २५) अर्कोतर्फ, उहाँले पृथ्वीमा हुनुहुँदा गर्नुभएका र भन्‍नुभएका कुराहरूमा मनन गर्दा हामी खुसी हुन्छौँ। साथै उहाँले अहिले के गर्दै हुनुहुन्छ र भविष्यमा हाम्रो लागि के गर्नुहुनेछ भनेर सोच्दा पनि हामी प्रोत्साहित हुन्छौँ। यी कुराहरूमा र हामीप्रतिको उहाँको प्रेममा मनन गर्दा हामी विभिन्‍न तरिकामा कृतज्ञता व्यक्‍त गर्न उत्प्रेरित हुन्छौँ। आउनुहोस्‌, यसबारे छलफल गरौँ।

कृतज्ञताले येसुलाई पछ्याउन उत्प्रेरित गर्छ

३. फिरौतीको बलिदानको लागि हामी किन कृतज्ञ हुनुपर्छ?

येसुको जीवन र मृत्युबारे मनन गर्दा हाम्रो मन कृतज्ञताले भरिन्छ। उहाँले मानिसहरूलाई परमेश्‍वरको राज्यले ल्याउने आशिष्‌हरूबारे सिकाउनुभयो। हामी परमेश्‍वरको राज्यसम्बन्धी यी सत्यहरूको धेरै मोल गर्छौँ। फिरौतीको बलिदानको लागि हामी आभारी छौँ किनभने यसले गर्दा हामीले यहोवा र येसुसित घनिष्ठ सम्बन्ध गाँस्न सकेका छौँ। येसुमा विश्‍वास गर्नेहरूले पृथ्वीमा सधैँभरि बाँच्ने र मरिसकेका प्रियजनहरूलाई फेरि भेट्‌ने आशा पनि पाएका छन्‌। (युह. ५:२८, २९; रोमी ६:२३) तर हामीले यी आशिष्‌हरू पाउन लायकको कुनै काम गरेका छैनौँ न त परमेश्‍वर र ख्रिष्टले हाम्रो लागि जे-जति गर्नुभएको छ, त्यसको बदलामा उहाँहरूलाई केही दिन नै सक्छौँ। (रोमी ५:८, २०, २१) तर हामी मनैदेखि कृतज्ञ छौँ भनेर चाहिँ देखाउन सक्छौँ। कसरी?

मरियम मग्दलिनीको उदाहरणले कृतज्ञता देखाउन तपाईँलाई कसरी उत्प्रेरित गर्छ? (अनुच्छेद ४-५ हेर्नुहोस्‌)

४. मरियम मग्दलिनीले येसुप्रति कसरी कृतज्ञता देखाइन्‌? (चित्र हेर्नुहोस्‌।)

यहुदी स्त्री मरियम मग्दलिनीको उदाहरण विचार गरौँ। सात वटा प्रेतले सताएकोले तिनको अवस्था निकै नाजुक थियो। यसले गर्दा तिनलाई आफ्नो जीवन दुःखै-दुःखमा बित्छ जस्तो लागेको हुनुपर्छ। त्यसैले येसुले तिनीबाट प्रेतहरू धपाइदिनुहुँदा तिनी कत्ति कृतज्ञ भइन्‌ होला! येसुप्रति कृतज्ञ भएकीले तिनी उहाँको अनुयायी हुन र उहाँको सेवाको कामको लागि आफ्नो समय, शक्‍ति र सम्पत्ति खर्चिन उत्प्रेरित भइन्‌। (लुका ८:१-३) मरियम कृतज्ञ भए तापनि सायद तिनलाई येसुले दिनुहुने सबैभन्दा ठूलो उपहारबारे थाह थिएन होला। येसुले ‘उहाँमाथि विश्‍वास गर्ने’ सबैले अनन्त जीवन पाऊन्‌ भनेर आफ्नो जीवन अर्पण गर्नुहुने थियो। (युह. ३:१६) येसुप्रति वफादार रहेर मरियमले आफू कृतज्ञ भएको देखाइन्‌। यातनाको खम्बामा येसुले सास्ती भोगिरहनुभएको बेला येसु र अरूलाई भावनात्मक रूपमा साथ दिन तिनी छेवैमा उभिरहेकी थिइन्‌। (युह. १९:२५) येसुको मृत्युपछि मरियम र अरू दुई स्त्रीले उहाँको शवमा दल्न सुगन्धित मसलाहरू ल्याए। (मर्कु. १६:१, २) मरियमले वफादारी देखाएकोले ठूलो इनाम पाइन्‌। तिनले फेरि जीवित हुनुभएका येसुलाई भेट्‌ने र उहाँसित कुरा गर्ने सुअवसर पाइन्‌, जुन अरू धेरै चेलाले पाएनन्‌।—युह. २०:११-१८.

५. यहोवा र येसुले हाम्रो लागि गर्नुभएका कुराहरूको लागि कसरी कृतज्ञता देखाउन सक्छौँ?

हामीले पनि राज्य गतिविधिको लागि आफ्नो समय, शक्‍ति र स्रोतसाधन प्रयोग गरेर यहोवा र येसुले हाम्रो लागि जे-जति गर्नुभयो, त्यसको लागि कृतज्ञता देखाउन सक्छौँ। जस्तै, शुद्ध उपासनाको लागि प्रयोग गरिने भवनहरूको निर्माण र मर्मतसम्भार गर्ने काममा आफूलाई उपलब्ध गराउन सक्छौँ।

यहोवा र येसुप्रतिको प्रेमले अरूलाई प्रेम गर्न उत्प्रेरित गर्छ

६. फिरौतीको बलिदान हामी प्रत्येकको लागि उपहार हो भनेर किन भन्‍न सक्छौँ?

यहोवा र येसुले हामीलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भनेर विचार गर्दा हामी पनि उहाँहरूलाई प्रेम गर्न उत्प्रेरित हुन्छौँ। (१ युह. ४:१०, १९) येसु हामी प्रत्येकको लागि मर्नुभएको हो भन्‍ने कुरा महसुस गर्दा उहाँहरूप्रतिको हाम्रो प्रेम अझै बढ्‌छ। प्रेषित पावलले यो कुरा बुझेका थिए र गलातीहरूलाई लेखेको पत्रमा आफ्नो कृतज्ञता व्यक्‍त गर्दै यसो भने: “परमेश्‍वरको छोरा[ले] . . . मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।” (गला. २:२०) फिरौतीको बलिदानको आधारमा यहोवाले तपाईँलाई आफूतर्फ खिच्नुभएको छ। (युह. ६:४४) यहोवाले तपाईँमा केही असल कुरा देख्नुभयो र तपाईँलाई साथी बनाउन सबैभन्दा ठूलो मोल चुकाउनुभयो भनेर थाह पाउँदा के तपाईँको मन छुँदैन र? के यसले यहोवा र येसुप्रतिको तपाईँको प्रेमलाई अझ बलियो बनाउँदैन र? हामीले आफैलाई यो प्रश्‍न सोध्नु बेस हुन्छ, ‘यस्तो प्रेमले मलाई के गर्न बाध्य पार्छ?’

परमेश्‍वर र ख्रिष्टप्रतिको प्रेमले सबै किसिमका मानिसलाई राज्य सन्देश सुनाउन उत्प्रेरित गर्छ (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. तस्बिरमा देखाइएजस्तै हामी यहोवा र येसुप्रतिको प्रेम कसरी देखाउन सक्छौँ? (२ कोरिन्थी ५:१४, १५; ६:१, २)

यहोवा र येसुप्रतिको प्रेमले अरूलाई प्रेम देखाउन उत्प्रेरित गर्छ। (२ कोरिन्थी ५:१४, १५; ६:१, २ पढ्‌नुहोस्‌।) यस्तो प्रेम देखाउने एउटा तरिका भनेको साक्षीकार्यमा जोसिलो भई भाग लिएर हो। हामी आफूले भेट्‌ने सबै मानिसलाई साक्षी दिन्छौँ। हामी तिनीहरूको जात, पृष्ठभूमि वा आर्थिक अवस्थाको आधारमा भेदभाव गर्दैनौँ। यसो गर्दा हामी “सबै किसिमका मानिसले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌” भन्‍ने यहोवाको उद्देश्‍यअनुसार चलिरहेका हुन्छौँ।—१ तिमो. २:४.

८. भाइबहिनीलाई प्रेम गरेको हामी कसरी देखाउन सक्छौँ?

भाइबहिनीलाई प्रेम गरेर पनि हामी परमेश्‍वर र ख्रिष्टप्रतिको प्रेम देखाउन सक्छौँ। (१ युह. ४:२१) तिनीहरू गाह्रो अवस्थामा पर्दा हामी तिनीहरूको ख्याल राख्छौँ र आवश्‍यक मदत दिन्छौँ। तिनीहरूको प्रियजनको मृत्यु हुँदा तिनीहरूलाई सान्त्वना दिन्छौँ, तिनीहरू बिरामी हुँदा भेट्‌न जान्छौँ र निराश हुँदा सान्त्वना दिन सकेजति गर्छौँ। (२ कोरि. १:३-७; १ थिस्स. ५:११, १४) “धर्मी मानिसको उत्कट बिन्तीले ठूलो काम गर्छ” भन्‍ने कुरा मनमा राख्दै हामी तिनीहरूको लागि प्रार्थना गरिरहन्छौँ।—याकु. ५:१६.

९. हामी अर्को कुन तरिकामा भाइबहिनीलाई प्रेम गरेको देखाउन सक्छौँ?

भाइबहिनीसित शान्ति कायम राख्न कडा मेहनत गरेर पनि हामी तिनीहरूलाई प्रेम गरेको देखाउन सक्छौँ। हामी क्षमा दिने सन्दर्भमा यहोवाको अनुकरण गर्न सक्दो गर्छौँ। यहोवा हाम्रो पापको लागि आफ्नो छोराको बलिदान दिन त तयार हुनुभयो भने भाइबहिनीले हामीविरुद्ध पाप गर्दा के हामी क्षमा दिन तयार हुनुपर्दैन र? हामी येसुले बताउनुभएको उदाहरणको दुष्ट दासजस्तो हुन चाहँदैनौँ। त्यस दासको मालिकले तिनको ठूलो ऋण माफ गरिदिए तर तिनले भने एकदमै थोरै ऋण लिएको सङ्‌गी दासलाई क्षमा दिएनन्‌। (मत्ति १८:२३-३५) यदि मण्डलीको कसैसित कुनै कुरामा गलतफहमी भएको छ भने के तपाईँ स्मरणार्थअघि नै तिनीसित शान्ति कायम गर्न अग्रसर हुन सक्नुहुन्छ? (मत्ति ५:२३, २४) यसो गर्दा यहोवा र येसुप्रतिको तपाईँको गहिरो प्रेम झल्किनेछ।

१०-११. एल्डरहरूले यहोवा र येसुलाई प्रेम गरेको कसरी देखाउन सक्छन्‌? (१ पत्रुस ५:१, २)

१० एल्डरहरूले यहोवा र येसुलाई प्रेम गरेको कसरी देखाउन सक्छन्‌? यसो गर्ने एउटा महत्त्वपूर्ण तरिका भनेको येसुका भेडाहरूको ख्याल राखेर हो। (१ पत्रुस ५:१, २ पढ्‌नुहोस्‌।) येसुले प्रेषित पत्रुसलाई यो कुरा राम्ररी बुझाउनुभयो। तिनले येसुलाई चिन्‍न तीन पटक इन्कार गरेका थिए। त्यसैले सायद तिनी येसुलाई प्रेम गरेको देखाउन अति इच्छुक थिए। येसु फेरि जीवित हुनुभएपछि उहाँले पत्रुसलाई यस्तो प्रश्‍न सोध्नुभयो: “ए युहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” येसुप्रतिको आफ्नो प्रेम साबित गर्न तिनी जे गर्न पनि तयार हुने थिए भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। येसुले पत्रुसलाई यसो भन्‍नुभयो: “गोठालोले झैँ मेरा साना भेडाहरूको हेरचाह गर।” (युह. २१:१५-१७) उहाँले भन्‍नुभएझैँ तिनले जीवनभरि नै उहाँको भेडाको मायालुपूर्वक ख्याल राखे र उहाँप्रतिको प्रेम देखाइरहे।

११ एल्डरहरू हो, येसुले पत्रुसलाई भन्‍नुभएको कुराको महत्त्व बुझ्नुभएको छ भनेर तपाईँ स्मरणार्थको समयमा कसरी देखाउन सक्नुहुन्छ? नियमित रूपमा भाइबहिनीलाई प्रोत्साहन दिन समय निकालेर र निष्क्रियहरूलाई यहोवाकहाँ फर्काउन अझ धेरै मेहनत गरेर तपाईँ यहोवा र येसुलाई प्रेम गरेको देखाउन सक्नुहुन्छ। (इज. ३४:११, १२) साथै तपाईँ स्मरणार्थमा आएका बाइबल विद्यार्थीहरू र नयाँ व्यक्‍तिहरूलाई चासो देखाउन सक्नुहुन्छ। यसो गर्दा तिनीहरूले आफूलाई न्यानो स्वागत गरिएको महसुस गर्न सक्छन्‌ र भविष्यमा येसुको चेला बन्‍न सक्छन्‌।

ख्रिष्टप्रतिको प्रेमले साहसी हुन उत्प्रेरित गर्छ

१२. येसुले भन्‍नुभएको कुरामा मनन गर्दा हामी कसरी साहसी हुन सक्छौँ? (युहन्‍ना १६:३२, ३३)

१२ आफ्नो मृत्युको अघिल्लो रात येसुले चेलाहरूलाई यसो भन्‍नुभयो: “संसारमा तिमीहरूले सङ्‌कष्ट झेल्नेछौ तर साहसी होओ! मैले यस संसारलाई जितेको छु।” (युहन्‍ना १६:३२, ३३ पढ्‌नुहोस्‌।) शत्रुहरूले डरधम्की देखाउँदा साहसी हुन र मृत्युसम्मै वफादार रहन येसुलाई केले मदत गऱ्‍यो? उहाँ यहोवामा भर पर्नुहुन्थ्यो। आफ्ना अनुयायीहरूमाथि पनि यस्तै परीक्षाहरू आइपर्नेछ भनेर थाह भएकोले उहाँले यहोवालाई तिनीहरूको हेरचाह गरिदिन आग्रह गर्नुभयो। (युह. १७:११) यो कुरा थाह पाउँदा हामी साहसी हुन सक्छौँ किनभने यहोवा हाम्रो सबै शत्रुभन्दा धेरै शक्‍तिशाली हुनुहुन्छ। (१ युह. ४:४) साथै उहाँको नजर सधैँ हामीमाथि रहन्छ। यहोवामा भर पऱ्‍यौँ भने हामी डरलाई जितेर साहसी हुन सक्नेछौँ।

१३. अरिमथियाका युसुफले कसरी साहस देखाए?

१३ अरिमथियाका युसुफको उदाहरण विचार गरौँ। तिनी यहुदी समाजका प्रतिष्ठित व्यक्‍ति थिए; तिनी यहुदी न्यायपरिषद्‌का सदस्य थिए। युहन्‍नाले भनेअनुसार तिनी “यहुदीहरूको डरले गर्दा गुप्तमा येसुका चेला बनेका थिए।” (युह. १९:३८) युसुफलाई राज्य सन्देशमा चासो भए तापनि तिनले येसुमा विश्‍वास गरेको कुरा अरूबाट लुकाए। तिनलाई समाजमा आफ्नो प्रतिष्ठा गुम्ला भन्‍ने डर थियो। तर येसुको मृत्युपछि “तिनी साहस गरेर पिलातसकहाँ गए अनि येसुको शव मागे।” (मर्कु. १५:४२, ४३) अब भने युसुफ येसुको चेला भएको कुरा गोप्य रहेन।

१४. मानिसहरूले के भन्लान्‌ भनेर डर लाग्छ भने तपाईँले के गर्नुपर्छ?

१४ के तपाईँलाई पनि मानिसहरूले के भन्लान्‌ भनेर कहिल्यै डर लागेको थियो? स्कुलमा वा काममा आफूलाई यहोवाको साक्षी भनेर चिनाउन कहिलेकाहीँ तपाईँलाई अप्ठ्यारो लाग्छ कि? अरूले के सोच्लान्‌ भन्‍ने चिन्ताले के तपाईँ प्रकाशक बन्‍न वा बप्तिस्मा गर्नदेखि पछि हटिरहनुभएको छ? यस्तो डर अनि चिन्ताले जे सही छ, त्यही गर्नदेखि तपाईँलाई नरोकोस्‌। यहोवालाई व्यग्र प्रार्थना गर्नुहोस्‌। उहाँको इच्छाअनुसार गर्न उहाँसित साहस माग्नुहोस्‌। यहोवाले तपाईँका प्रार्थनाहरूको जवाफ दिनुभएको देख्दा तपाईँ अझ बलियो र साहसी हुनुहुनेछ।—यसै. ४१:१०, १३.

आनन्दले यहोवाको सेवामा लागिरहन उत्प्रेरित गर्छ

१५. चेलाहरूको आनन्दले तिनीहरूलाई के गर्न उत्प्रेरित गऱ्‍यो? (लुका २४:५२, ५३)

१५ येसुको मृत्यु हुँदा चेलाहरू निकै दुःखी भएका थिए। आफूलाई तिनीहरूको ठाउँमा राखेर हेर्नुहोस्‌। तिनीहरूले आफ्नो प्यारो मित्र मात्र गुमाएका थिएनन्‌। बरु तिनीहरूले इस्राएललाई छुटकारा दिने एउटै मात्र आशा पनि गुमाएको महसुस गरे। (लुका २४:१७-२१) तर तिनीहरूकहाँ देखा पर्नुहुँदा येसुले तिनीहरूलाई बाइबल भविष्यवाणीमा आफ्नो भूमिका राम्ररी बुझाउनुभयो। अनि उहाँले तिनीहरूलाई एउटा महत्त्वपूर्ण काम पनि दिनुभयो। (लुका २४:२६, २७, ४५-४८) येसु ४० दिनपछि स्वर्ग फर्कनुभयो। त्यतिबेलासम्म तिनीहरूको दुःख ठूलो हर्षमा परिणत भइसकेको थियो। आफ्नो मालिक जीवित हुनुहुन्छ र आफूले उहाँबाट पाएको जिम्मेवारी पूरा गर्न उहाँले नै मदत गर्नुहुन्छ भनेर थाह पाउँदा तिनीहरू खुसी भए। यस्तो आनन्दले तिनीहरूलाई हार नमानी यहोवाको प्रशंसा गर्ने काममा लागिरहन उत्प्रेरित गऱ्‍यो।—लुका २४:५२, ५३ पढ्‌नुहोस्‌; प्रेषि. ५:४२.

१६. हामी कसरी येसुका चेलाहरूको अनुकरण गर्न सक्छौँ?

१६ हामी कसरी येसुका चेलाहरूको अनुकरण गर्न सक्छौँ? स्मरणार्थको समयमा मात्र होइन तर वर्षभरि नै यहोवाको सेवा गरेर हामी आनन्दित हुन सक्छौँ। हामीले यहोवाको सेवालाई जीवनमा पहिलो स्थान दिनुपर्छ। जस्तै, थुप्रैले नियमित रूपमा साक्षीकार्यमा भाग लिन, सभाहरूमा उपस्थित हुन र पारिवारिक उपासना गर्न आफ्नो काम गर्ने समयमा छाँटकाँट गरेका छन्‌। अरूले भने मण्डलीमा अझ उपयोगी हुन वा आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न अरूलाई आवश्‍यक जस्तो लाग्ने भौतिक चिजबिज पनि नकिन्‍ने निर्णय गरेका छन्‌। हुनत यहोवाको सेवामा लागिरहन सजिलो छैन तर उहाँको राज्यलाई पहिलो स्थान दियौँ भने उहाँले हामीलाई प्रशस्त आशिष्‌ दिने प्रतिज्ञा गर्नुभएको छ।—हितो. १०:२२; मत्ति ६:३२, ३३.

स्मरणार्थको समयमा यहोवा र येसुले तपाईँको लागि गरिदिनुभएका कुराहरूबारे मनन गर्न समय निकाल्नुहोस्‌ (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. स्मरणार्थको समयमा तपाईँले के गर्ने सङ्‌कल्प गर्नुभएको छ? (तस्बिर हेर्नुहोस्‌।)

१७ हामी मङ्‌गलबार, अप्रिल ४ को दिन स्मरणार्थ उत्सव मनाउने प्रतीक्षा गर्दै छौँ। तर येसुको जीवन र मृत्युबारे अनि उहाँ र यहोवाले हामीलाई देखाउनुभएको प्रेमबारे मनन गर्न त्यही दिन कुर्नुपर्छ भन्‍ने छैन। स्मरणार्थअघि र पछिका हप्ताहरूमा यस्ता विषयहरूमा मनन गर्न हरेक मौकाको सदुपयोग गर्नुहोस्‌। जस्तै, नयाँ संसार अनुवाद-को अतिरिक्‍त लेख ख१२ मा “पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता” भन्‍ने चार्ट छ। त्यस चार्टमा दिइएका घटनाहरू पढ्‌न र मनन गर्न समय छुट्ट्याउनुहोस्‌। यसरी येसुको जीवनबारे पढ्‌दा आफ्नो कृतज्ञता, प्रेम, साहस र आनन्द बढाउने बाइबल विवरणहरूमा ध्यान दिनुहोस्‌। त्यसपछि मनैदेखि कृतज्ञता व्यक्‍त गर्न सकिने तरिकाहरूबारे सोच्नुहोस्‌। स्मरणार्थको समयमा येसुलाई सम्झन तपाईँले गर्नुभएको सबै प्रयासको उहाँ मोल गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।—प्रका. २:१९.

गीत १७ “म इच्छा गर्छु”

a स्मरणार्थको समयमा हामीलाई येसुको जीवन र मृत्यु अनि उहाँ र उहाँको बुबाले हामीलाई देखाउनुभएको प्रेममा मनन गर्न प्रोत्साहन दिइन्छ। यसो गर्दा हामी आफ्नो कामद्वारा कृतज्ञता देखाउन उत्प्रेरित हुन्छौँ। यस लेखमा फिरौतीप्रतिको हाम्रो कृतज्ञता अनि यहोवा र येसुप्रतिको हाम्रो प्रेम देखाउने केही तरिका छलफल गर्नेछौँ। साथै हाम्रा भाइबहिनीलाई प्रेम गर्न, साहस देखाउन र सेवामा आनन्दित हुन ख्रिष्टको प्रेमले हामीलाई कसरी उत्प्रेरित गर्छ भनेर पनि सिक्नेछौँ।