सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १

परमेश्‍वरको ‘वचन सत्य’ हो भनेर विश्‍वस्त हुनुहोस्‌

परमेश्‍वरको ‘वचन सत्य’ हो भनेर विश्‍वस्त हुनुहोस्‌

सन्‌ २०२३ को वार्षिक पद: “सत्य नै तपाईँको वचनको सार हो।”—भज. ११९:१६०.

गीत ९६ परमेश्‍वरको किताब—एउटा अमूल्य धन

परिचय a

१. आज थुप्रै मानिस बाइबलमा किन भरोसा गर्दैनन्‌?

 आज संसारका थुप्रै मानिस कसलाई भरोसा गर्ने र कसलाई नगर्ने भनेर अन्योलमा छन्‌। तिनीहरू समाजका प्रतिष्ठित व्यक्‍तिहरू जस्तै: राजनीतिज्ञ, वैज्ञानिक र व्यापारीहरू मानिसहरूको भलो चाहन्छन्‌ कि चाहँदैनन्‌ भन्‍ने कुरामा शङ्‌का गर्छन्‌। तिनीहरू चर्चका पादरीहरूलाई पनि आदर गर्दैनन्‌ किनकि उनीहरू बाइबलअनुसार चलेको दाबी त गर्छन्‌ तर उनीहरूको व्यवहार भने बाइबलसित पटक्कै मेल खाँदैन। त्यसैले मानिसहरूले बाइबलमा भरोसा नगर्नु अचम्मलाग्दो कुरा होइन।

२. भजन ११९:१६० अनुसार हामी कुन कुरामा विश्‍वस्त हुनुपर्छ?

यहोवा “सत्यका परमेश्‍वर” हुनुहुन्छ र उहाँ सधैँ हाम्रो भलो चाहनुहुन्छ भन्‍ने कुरामा हामी विश्‍वस्त छौँ। (भज. ३१:५; यसै. ४८:१७) हामी बाइबलमा लेखिएका कुराहरूमा भरोसा गर्न सक्छौँ किनकि “सत्य नै [परमेश्‍वरको] वचनको सार हो।” (भजन ११९:१६० पढ्‌नुहोस्‌।) एक जना बाइबलविद्‌ले लेखेको यस कुरासित हामी सहमत छौँ: “परमेश्‍वरले भन्‍नुभएको कुरामा झूटको गन्धसमेत पाइँदैन, त्यो पूरा भएरै छोड्‌छ। परमेश्‍वरका सेवकहरूले उहाँले भन्‍नुभएको कुरामा भरोसा गर्न सक्छन्‌ किनकि तिनीहरू त्यो कुरा बताउनुहुने परमेश्‍वरमाथि भरोसा गर्छन्‌।”

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

हामी अरूलाई पनि परमेश्‍वरको वचनमाथि भरोसा गर्न कसरी मदत गर्न सक्छौँ? बाइबलमाथि भरोसा गर्न सकिने तीन वटा कारण विचार गरौँ। ती हुन्‌: बाइबलको सन्देशमा कुनै हेरफेर भएको छैन, यसका भविष्यवाणीहरू पूरा भएका छन्‌ र यसको सन्देशमा मानिसको जीवन परिवर्तन गर्ने शक्‍ति छ।

बाइबलको सन्देशमा कुनै हेरफेर भएको छैन

४. केही मानिस बाइबलको सन्देशमा हेरफेर भएको छ भनेर किन भन्छन्‌?

यहोवा परमेश्‍वरले बाइबलका किताबहरू लेख्न ४० जनाभन्दा धेरै वफादार पुरुषलाई चलाउनुभयो। तर त्यतिबेला लेखिएका कुनै पनि पाण्डुलिपि अहिले अस्तित्वमा छैन। b अहिले भएका पाण्डुलिपिहरू प्रतिलिपिहरूको पनि प्रतिलिपिहरू हुन्‌। त्यसकारण कोही-कोही मौलिक लेखोटमा जे थियो, अहिलेको बाइबलमा पनि त्यही नै छ भन्‍ने कुरामा शङ्‌का गर्छन्‌। बाइबलको सन्देशमा कुनै हेरफेर भएको छैन भन्‍ने कुरामा तपाईँ किन विश्‍वस्त हुन सक्नुहुन्छ?

हिब्रू धर्मशास्त्रका पोख्त प्रतिलिपिकहरू परमेश्‍वरको वचनको प्रतिलिपि निकै होसियारीसाथ बनाउने गर्थे (अनुच्छेद ५ हेर्नुहोस्‌)

५. हिब्रू धर्मशास्त्रको प्रतिलिपि कसरी बनाइन्थ्यो? (आवरण चित्र हेर्नुहोस्‌।)

बाइबलको सन्देशलाई सुरक्षित राख्न यहोवाले त्यसका प्रतिलिपिहरू बनाउन निर्देशन दिनुभयो। यहोवाले इस्राएलका राजाहरूलाई व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सारेर आफ्नो लागि छुट्टै पुस्तक बनाउन भन्‍नुभयो। (व्यव. १७:१८) साथै उहाँले मानिसहरूलाई व्यवस्थाको पुस्तकमा भएका कुराहरू सिकाउन लेवीहरू नियुक्‍त गर्नुभयो। (व्यव. ३१:२४-२६; नहे. ८:७) यहुदीहरू बेबिलोनको निर्वासनबाट मुक्‍त भएपछि पेसेवर प्रतिलिपिकहरूको एउटा समूहले हिब्रू धर्मशास्त्रका प्रतिलिपिहरू बनाउन थाले। (एज्रा ७:६, फुटनोटहरू) ती पुरुषहरूले यो काम होसियारीसाथ गर्थे। पछि तिनीहरूले प्रतिलिपिहरूमा एउटा पनि त्रुटि नहोस्‌ भनेर शब्दहरू मात्र होइन, अक्षरहरू पनि गन्‍न थाले। तैपनि तिनीहरू त्रुटिपूर्ण भएकोले ती लेखोटहरूमा सानातिना त्रुटिहरू भए। तर एउटै लेखोटको थुप्रै प्रतिलिपि बनाइएकोले पछि ती त्रुटिहरू पत्ता लगाउन सकियो। कसरी?

६. बाइबलका प्रतिलिपिहरूमा भएका त्रुटिहरू कसरी पत्ता लगाउन सकिन्छ?

बाइबलविद्‌हरूले प्रतिलिपिहरूमा त्रुटिहरू भेट्टाउन एउटा भरपर्दो तरिका अपनाएका छन्‌। मानिलिनुहोस्‌, १०० जना मानिसलाई एउटा पानामा लेखिएको कुरा हातैले सार्न भनिन्छ। एक जनाले सार्ने क्रममा सानो त्रुटि गर्छ। त्यो त्रुटि पत्ता लगाउने एउटा तरिका भनेको त्यस प्रतिलिपिलाई बाँकी ९९ वटा प्रतिलिपिसित दाँजेर हेर्नु हो। यही तरिका अपनाएर बाइबलविद्‌हरूले पाण्डुलिपिहरूमा भएका त्रुटिहरू वा छुटेका कुराहरू पत्ता लगाउन सक्छन्‌।

७. बाइबल प्रतिलिपिकहरूले आफ्नो काम होसियारीसाथ गर्थे भनेर किन भन्‍न सक्छौँ?

बाइबलका पाण्डुलिपिहरूको प्रतिलिपि बनाउनेहरूले यो काम एकदमै होसियारीसाथ गर्थे। यो कुरा प्रमाणित गर्न एउटा उदाहरण विचार गरौँ। हिब्रू धर्मशास्त्रको सबैभन्दा पुरानो र पूर्ण पाण्डुलिपि इस्वी संवत्‌ १००८ वा १००९ तिरको हो। यसलाई लेनिनग्राड कोडेक्स भनिन्छ। तर हालसालै लेनिनग्राड कोडेसभन्दा लगभग १,००० वर्ष पुराना पाण्डुलिपिहरू र त्यसका टुक्राहरू भेटिएका छन्‌। तर कसै-कसैको विचारमा हजार वर्षको अवधिमा ती पाण्डुलिपिको प्रतिलिपिहरूको पनि प्रतिलिपिहरू बनिसकेकोले लेनिनग्राड कोडेस धेरै फरक भइसकेको हुन सक्छ। तर यो कुरा सही होइन। बाइबलविद्‌हरूले पुराना पाण्डुलिपिहरूसित नयाँ पाण्डुलिपिहरू दाँजेर हेर्दा केही शब्द फरक परे तापनि बाइबलको सन्देशमा भने कुनै हेरफेर नभएको पत्ता लगाए।

८. ग्रीक धर्मशास्त्र र अरू किताबहरूका प्रतिलिपिहरूबीच कस्तो भिन्‍नता छ?

सुरु-सुरुका ख्रिष्टियनहरू पनि धर्मशास्त्रका प्रतिलिपिहरू बनाउने गर्थे। तिनीहरू होसियारीसाथ ग्रीक धर्मशास्त्रका २७ वटा किताबका प्रतिलिपिहरू बनाउँथे अनि ती सभा र साक्षीकार्यमा प्रयोग गर्थे। अहिले उपलब्ध ग्रीक धर्मशास्त्रका पाण्डुलिपिहरूलाई त्यही समयतिरका अन्य किताबहरूसित दाँजेर हेरेपछि एक बाइबलविद्‌ले यसो भने: “अरू किताबहरूको तुलनामा ग्रीक धर्मशास्त्रका प्रतिलिपिहरू धेरै मात्रामा उपलब्ध छन्‌ अनि ती पूर्ण पनि छन्‌।” नयाँ करारको विश्‍लेषण (अङ्‌ग्रेजी) भन्‍ने किताबमा यसो भनिएको छ: “ग्रीक धर्मशास्त्रको भरपर्दो अनुवाद पढ्‌दा यसका लेखकहरूले जे लेखे, हामीले त्यही पढिरहेका हुन्छौँ भनेर विश्‍वस्त हुन सक्छौँ।”

९. यसैया ४०:८ अनुसार बाइबलको सन्देशबारे के भन्‍न सकिन्छ?

सयौँ वर्षको दौडान थुप्रै प्रतिलिपिकको कडा मेहनतले गर्दा हामीले सही सन्देश भएको बाइबल पढ्‌न पाएका छौँ। c यहोवाले नै मानिसजातिको लागि आफ्नो सन्देश सुरक्षित राख्नुभएको हो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (यसैया ४०:८ पढ्‌नुहोस्‌।) तर कसै-कसैले यस्तो तर्क गर्लान्‌: ‘बाइबलको सन्देशमा कुनै फेरबदल भएको छैन भन्दैमा यो परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो भन्‍न मिल्छ र?’ त्यसोभए आउनुहोस्‌, बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो भन्‍न सकिने केही प्रमाण विचार गरौँ।

बाइबलका भविष्यवाणीहरू भरपर्दा छन्‌

Left: C. Sappa/DeAgostini/Getty Images; right: Image © Homo Cosmicos/Shutterstock

बाइबलका थुप्रै भविष्यवाणी पूरा भइसकेका छन्‌ र केही भविष्यवाणी अहिले पनि पूरा हुँदै छन्‌ (अनुच्छेद १०-११ हेर्नुहोस्‌) e

१०. दोस्रो पत्रुस १:२१ को सत्यतालाई प्रमाणित गर्ने एउटा उदाहरण बताउनुहोस्‌। (चित्रहरू हेर्नुहोस्‌।)

१० बाइबलका थुप्रै भविष्यवाणी पूरा भएका छन्‌। तीमध्ये कतिपय त सयौँ वर्षपछि पूरा भए र इतिहासले पनि यसको प्रमाण दिन्छ। यसमा हामी अचम्म मान्दैनौँ किनकि ती भविष्यवाणीहरू यहोवाले नै लेख्न लगाउनुभएको हो। (२ पत्रुस १:२१ पढ्‌नुहोस्‌।) पुरातन बेबिलोनको पतनबारे गरिएको भविष्यवाणी विचार गरौँ। भविष्यवक्‍ता यसैयाले ईसापूर्व आठौँ शताब्दीमा त्यतिबेलाको शक्‍तिशाली सहर बेबिलोनलाई कब्जा गरिनेछ भनेर भविष्यवाणी गरे। तिनले त्यस सहरलाई कोरेस नाम गरेका राजाले कब्जा गर्नेछन्‌ भनेर बताए। त्यस सहरलाई कसरी कब्जा गरिनेछ भनेर पनि तिनले एक-एक कुरा लेखे। (यसै. ४४:२७–४५:२) यसैयाले बेबिलोन सहर नाश गरिनेछ र पूर्णतया उजाड पारिनेछ भनेर पनि भविष्यवाणी गरे। (यसै. १३:१९, २०) हुन पनि ठीक त्यस्तै भयो। ईसापूर्व ५३९ मा मादी र फारसले बेबिलोनलाई हराए र त्यो तहसनहस भयो। अहिले त्यस सहरको भग्नावशेष मात्र बाँकी छ।—इलेक्ट्रोनिक फर्म्याटको सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ०३, बुँदा ५ मा भएको बेबिलोनको पतनबारे बाइबलको भविष्यवाणी भिडियो हेर्नुहोस्‌।

११. दानिएल २:४१-४३ को भविष्यवाणी आज कसरी पूरा भइरहेको छ?

११ बाइबलका भविष्यवाणीहरू विगतमा मात्र होइन, आज पनि पूरा भइरहेका छन्‌। उदाहरणको लागि, एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिबारे दानिएलले गरेको भविष्यवाणी विचार गरौँ। (दानिएल २:४१-४३ पढ्‌नुहोस्‌।) त्यस भविष्यवाणीअनुसार अमेरिका र बेलायत मिलेर बनेको यो विश्‍वशक्‍ति फलामजस्तै “कुनै पक्षमा बलियो” र माटोजस्तै “कुनै पक्षमा कमजोर” हुने थियो। हुन पनि यस्तै भइरहेको छ। दुवै विश्‍वयुद्धको जितमा बेलायत र अमेरिकाको प्रमुख भूमिका थियो अनि अहिले पनि तिनीहरूले आफ्नो सैन्य शक्‍तिलाई बढाउँदै लगिरहेका छन्‌। यसरी तिनीहरूले आफूलाई फलामजस्तै बलियो भएको देखाएका छन्‌। अर्कोतर्फ, ती देशहरूका नागरिकले गर्दा तिनीहरू कमजोर भएका छन्‌ किनकि मानिसहरू नागरिक-अधिकार अभियानहरू, मजदुर युनियनहरू र स्वतन्त्रताका अभियानहरूमार्फत आफ्नो अधिकारको लागि अक्सर विरोधमा उत्रन्छन्‌। हालसालै विश्‍व राजनीतिका एक विज्ञले यसो भने: “विश्‍वका प्रजातान्त्रिक देशहरूमध्ये अमेरिकाजतिको राजनैतिक रूपमा विभाजित अरू कुनै देश छैन।” बेलायतमा पनि युरोपेली युनियनका सदस्य राष्ट्रहरूसित कस्तो सम्बन्ध राख्ने भन्‍ने विषयमा नागरिकहरूको फरक-फरक मत छ। यस्ता विभाजनहरूले गर्दा एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई आफ्नो नीति कार्यान्वयन गर्न असम्भवजस्तै भएको छ।

१२. बाइबल भविष्यवाणीहरूको पूर्तिले हामीलाई कुन कुरामा विश्‍वस्त बनाउँछ?

१२ बाइबलका थुप्रै भविष्यवाणी पूरा भइसकेका छन्‌। यसले भविष्यको लागि परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरू पनि पक्कै पूरा हुनेछन्‌ भन्‍ने कुरामा हामीलाई विश्‍वस्त बनाउँछ। हामी भजनरचयिताले जस्तै महसुस गर्छौँ, जसले यहोवालाई यस्तो प्रार्थना गरे: “तपाईँले गर्नुहुने उद्धारको म तिर्सना गर्छु किनकि तपाईँको वचन नै मेरो आशा हो।” (भज. ११९:८१) बाइबलमार्फत यहोवाले हामीलाई “उज्ज्वल भविष्य र आशा” दिनुभएको छ। (यर्मि. २९:११) हाम्रो भविष्यको आशा मानिसको प्रयासमा होइन बरु बाइबलका प्रतिज्ञाहरूमा निर्भर छ। त्यसैले बाइबल भविष्यवाणीहरू राम्ररी अध्ययन गरेर परमेश्‍वरको वचनमाथिको हाम्रो भरोसालाई बलियो बनाइरहौँ।

बाइबलको सल्लाहबाट लाखौँले लाभ उठाइरहेका छन्‌

१३. भजन ११९:६६, १३८ अनुसार बाइबलमा भरोसा गर्न सकिने अर्को कारण के हो?

१३ बाइबलमा भरोसा गर्न सकिने अर्को कारण विचार गरौँ। बाइबलको सल्लाहअनुसार चल्दा थुप्रैको जीवन राम्रो भएको छ। (भजन ११९:६६, १३८ पढ्‌नुहोस्‌।) उदाहरणको लागि, सम्बन्धविच्छेद गर्नै लागेका थुप्रै दम्पती अहिले मिलेर बसेका छन्‌ अनि तिनीहरूको छोराछोरी मायालु र सुरक्षित वातावरणमा हुर्कन पाएका छन्‌।—एफि. ५:२२-२९.

१४. बाइबल सत्यमा मानिसको जीवन परिवर्तन गर्ने शक्‍ति छ भनेर देखाउने एउटा अनुभव बताउनुहोस्‌।

१४ बाइबलको बुद्धिमानी सल्लाह लागू गर्दा खतरनाक अपराधीहरूले समेत जीवनमा आमूल परिवर्तन गरेका छन्‌। एक कैदी ज्याकको अनुभव विचार गरौँ। d तिनी एकदमै हिंस्रक थिए र मृत्युदण्डको सजाय पाएका कैदीहरूमध्ये सबैभन्दा खतरनाक कैदी भनेर चिनिन्थे। तर एकचोटि ज्याक बाइबल अध्ययन भइरहेको ठाउँमा बसे। अध्ययन गराइरहेका भाइहरूको दयालु व्यवहारले तिनको मन छोयो अनि तिनले पनि बाइबल अध्ययन गर्न थाले। बाइबलबाट सिकेको कुरा लागू गर्दै जाँदा तिनको बानीबेहोरा र व्यक्‍तित्वमा समेत राम्रो परिवर्तन आउन थाल्यो। पछि तिनी प्रकाशक भए र बप्तिस्मा गरे। तिनले अरू कैदीहरूलाई परमेश्‍वरको राज्यबारे जोसिलो भई साक्षी दिए र कम्तीमा पनि चार जनालाई सत्य सिक्न मदत गरे। मृत्युदण्ड दिइने दिनसम्म आइपुग्दा तिनी अर्कै मान्छे भइसकेका थिए। तिनका एक जना वकिलले यसो भनिन्‌: “मैले बीस वर्षअघि चिनेको ज्याक र अहिलेको ज्याकबीच आकाश-जमिनको फरक छ। यहोवाका साक्षीहरूको शिक्षाले तिनको जीवनमा ठूलो परिवर्तन आएको छ।” हुनत ज्याकलाई मृत्युदण्ड दिइयो। तर तिनको अनुभवबाट परमेश्‍वरको वचन भरपर्दो छ र यसले मानिसको जीवन परिवर्तन गर्न सक्छ भनेर स्पष्ट हुन्छ।—यसै. ११:६-९.

बाइबलको सल्लाहले विभिन्‍न देशका मानिसहरूलाई जीवनमा परिवर्तन गर्न मदत गरेको छ (अनुच्छेद १५ हेर्नुहोस्‌) f

१५. बाइबलको सल्लाह लागू गरेकोले परमेश्‍वरका सेवकहरू कसरी संसारका मानिसहरूभन्दा फरक देखिन्छन्‌? (तस्बिर हेर्नुहोस्‌।)

१५ परमेश्‍वरका सेवकहरूले बाइबलको सल्लाह जीवनमा लागू गरेकोले तिनीहरूबीच एकता छ। (युह. १३:३५; १ कोरि. १:१०) हामीबीच भएको शान्ति र एकता उल्लेखनीय छ किनभने संसारमा मानिसहरू फरक राजनैतिक विचारधारा, जात र सामाजिक ओहदाको कारण विभाजित छन्‌। झाँ नाम गरेका युवक परमेश्‍वरका जनहरूमाझ यस्तो एकता देखेर एकदमै प्रभावित भए। तिनी एउटा अफ्रिकी देशमा हुर्केका थिए। त्यहाँ गृहयुद्ध मच्चिँदा तिनी सेनामा भर्ती भए तर पछि तिनी छिमेकी मुलुकमा भागे। त्यहाँ तिनले यहोवाका साक्षीहरूलाई भेटे। झाँ भन्छन्‌: “साँचो धर्मका अनुयायीहरूले राजनीतिमा भाग लिँदैनन्‌ र तिनीहरूबीच फुट हुँदैन बरु एकअर्कालाई प्रेम गर्छन्‌ भनेर मैले सिकेँ।” तिनी अझै यसो भन्छन्‌: “मैले आफ्नो जीवन देशको लागि अर्पण गरेको थिएँ। तर बाइबल सत्य सिकेपछि यहोवालाई आफ्नो जीवन समर्पण गर्न उत्प्रेरित भएँ।” झाँले आफ्नो जीवन पूरै परिवर्तन गरे। अहिले तिनी आफ्नो भन्दा फरक देश वा जातका मानिसहरूसित लडाइँ गर्नुको सट्टा एकतामा बाँध्ने बाइबलको सत्य सबैलाई सुनाउने गर्छन्‌। बाइबलको सल्लाहले विभिन्‍न देशका मानिसहरूलाई फाइदा पुऱ्‍याएको छ। हामी परमेश्‍वरको वचनमा भरोसा गर्न सक्छौँ भन्‍ने कुराको यो एउटा सशक्‍त प्रमाण हो।

बाइबल सत्यमाथि भरोसा गरिरहनुहोस्‌

१६. बाइबल सत्यमाथिको हाम्रो भरोसालाई बलियो बनाउनु किन महत्त्वपूर्ण छ?

१६ यस संसारको अवस्था झन्‌झनै बिग्रँदै गइरहेकोले बाइबल सत्यमाथिको हाम्रो भरोसाको जाँच हुन सक्छ। मानिसहरूले बाइबलको सत्यतामा वा यहोवाले आफ्ना मानिसहरूलाई डोऱ्‍याउन नियुक्‍त गर्नुभएको माध्यमप्रति हाम्रो मनमा शङ्‌काको बिउ रोप्ने प्रयास गर्न सक्छन्‌। तर परमेश्‍वरको वचन सधैँ सत्य हुन्छ भन्‍ने कुरामा हामी विश्‍वस्त छौँ भने विश्‍वास कमजोर बनाउन सक्ने कुराहरूको प्रतिरोध गर्न सक्नेछौँ। अनि हाम्रो सङ्‌कल्प पनि यी भजनरचयिताको जस्तै हुनेछ, जसले यसो भने: “मैले तपाईँको नीतिनियम पालन गर्ने सङ्‌कल्प गरेको छु। म जीवनभर त्यसो गरिरहनेछु, अन्तिम क्षणसम्मै।” (भज. ११९:११२) बाइबल सत्यबारे अरूलाई बताउन र तिनीहरूलाई त्यसैअनुसार जीवन बिताउन प्रोत्साहन दिन हामी ‘लजाउनेछैनौँ।’ (भज. ११९:४६) अनि “धीरजी र आनन्दित हुँदै” खेदोलगायत अन्य कठिन परिस्थितिहरू सहन सक्नेछौँ।—कल. १:११; भज. ११९:१४३, १५७.

१७. सन्‌ २०२३ को वार्षिक पदले हामीलाई कुन कुरा सम्झाइरहनेछ?

१७ यहोवाले हामीलाई बाइबल सत्य सिक्ने मौका दिनुभएकोमा हामी उहाँप्रति आभारी छौँ। बाइबल सत्यले हामीलाई स्थिर बनाउँछ, निश्‍चित उद्देश्‍य दिन्छ अनि अन्योल र गोलमालले भरिएको यस संसारमा सही मार्गनिर्देशन दिन्छ। साथै यसले उज्ज्वल भविष्यको आशा पनि दिन्छ। सन्‌ २०२३ को वार्षिक पदले सत्य नै परमेश्‍वरको वचनको सार हो भन्‍ने हाम्रो भरोसालाई बलियो बनाओस्‌!—भज. ११९:१६०.

गीत ९४ परमेश्‍वरको वचनप्रति कृतज्ञ

a सन्‌ २०२३ को लागि छानिएको वार्षिक पद हो: “सत्य नै तपाईँको वचनको सार हो।” (भज. ११९:१६०) तपाईँ यस कुरासित पक्कै सहमत हुनुहुन्छ। तर बाइबल सत्य हो र यसले भरपर्दो डोऱ्‍याइ दिन्छ भन्‍ने कुरामा धेरैले विश्‍वास गर्दैनन्‌। निष्कपट मानिसहरूलाई यस कुरामा विश्‍वस्त बनाउन हामीले प्रयोग गर्न सक्ने तीन वटा प्रमाण यस लेखमा छलफल गर्नेछौँ।

b “पाण्डुलिपि” भनेको पुरातन हस्तलिखित लेखोट हो।

c बाइबललाई कसरी सुरक्षित राखियो भन्‍नेबारे थप जानकारी पाउन jw.org मा गएर बाइबलको शिक्षा > बाइबल तथा इतिहास अन्तर्गत हेर्नुहोस्‌।

d केही नाम परिवर्तन गरिएका छन्‌।

e चित्रको व्याख्या: बाइबलको भविष्यवाणीअनुसारै भव्य सहर बेबिलोन तहसनहस भयो।

f चित्रको व्याख्या: पुनःअभियन—एक युवक बाइबलबाट शान्तिमा रहन सिकेपछि लडाइँमा भाग लिन छोड्‌छन्‌ र अरूलाई पनि शान्तिमा रहन मदत गर्छन्‌।