सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४

स्मरणार्थ मनाउन हामीले गर्ने प्रयासमा यहोवा आशिष्‌ दिनुहुन्छ

स्मरणार्थ मनाउन हामीले गर्ने प्रयासमा यहोवा आशिष्‌ दिनुहुन्छ

“मेरो सम्झनामा यो गर्ने गर।”—लुका २२:१९.

गीत १९ प्रभुको साँझको भोज

परिचय a

१-२. हामी प्रत्येक वर्ष स्मरणार्थमा किन उपस्थित हुन्छौँ?

 लगभग २,००० वर्षअघि येसुले हाम्रो लागि आफ्नो ज्यान दिनुभयो र यसले गर्दा अनन्त जीवनको बाटो खुल्यो। आफ्नो मृत्युको अघिल्लो रात येसुले चेलाहरूलाई आफूले दिएको बलिदानको सम्झना गर्न आज्ञा दिनुभयो। तिनीहरूले रोटी र दाखमद्य प्रयोग गरेर साधारण तरिकामा यो उत्सव मनाउनुपर्थ्यो।—१ कोरि. ११:२३-२६.

हामी येसुको आज्ञा पालन गर्छौँ किनकि हामी उहाँलाई धेरै प्रेम गर्छौँ। (युह. १४:१५) हरेक वर्ष स्मरणार्थको समयमा येसुको मृत्युले हाम्रो लागि कस्तो अर्थ राख्छ भनेर प्रार्थनापूर्वक मनन गर्न समय निकालेर हामी उहाँको बलिदानप्रति कृतज्ञता देखाउँछौँ। साथै हामी साक्षीकार्यमा अझ धेरै भाग लिन्छौँ र सकेसम्म धेरैभन्दा धेरै मानिसलाई यो विशेष कार्यक्रममा उपस्थित हुन निम्तो दिन्छौँ। अनि यस कार्यक्रममा उपस्थित हुनदेखि हामीलाई कुनै कुराले बाधा पुऱ्‍याउन दिँदैनौँ।

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

यहोवाका सेवकहरूले येसुको मृत्युको सम्झना गर्न उल्लेखनीय प्रयास गरेका छन्‌। तीमध्ये तीन वटा तरिका हामी यस लेखमा छलफल गर्नेछौँ: (१) येसुले सिकाउनुभएकै तरिकामा स्मरणार्थ मनाएर, (२) अरूलाई स्मरणार्थको निम्तो दिएर अनि (३) कठिनाइको बाबजुद स्मरणार्थ मनाएर।

येसुले सिकाउनुभएकै तरिकामा स्मरणार्थ मनाएर

४. स्मरणार्थको भाषणबाट हामीले कस्ता सत्यहरू सिक्न पाउँछौँ र ती सत्यहरूलाई किन हल्कासित लिनु हुँदैन? (लुका २२:१९, २०)

हरेक वर्ष स्मरणार्थमा हामी बाइबलआधारित भाषण सुन्छौँ र थुप्रै प्रश्‍नको जवाफ पाउँछौँ। जस्तै, मानिसजातिलाई किन फिरौतीको आवश्‍यकता पऱ्‍यो र एक जनाको मृत्युले गर्दा थुप्रैको पापको मोल तिर्न कसरी सम्भव भयो भनेर सिक्छौँ। साथै रोटी र दाखमद्यले केलाई बुझाउँछ र ती प्रतीकहरू कसले मात्र खान्छन्‌ भनेर सम्झने मौका पाउँछौँ। (लुका २२:१९, २० पढ्‌नुहोस्‌।) अनि पृथ्वीमा सधैँभरि बाँच्ने आशा पाएकाहरूले भविष्यमा कस्ता आशिष्‌हरू पाउनेछन्‌ भनेर मनन गर्छौँ। (यसै. ३५:५, ६; ६५:१७, २१-२३) हामीले यी सत्यहरूलाई हल्कासित लिनु हुँदैन। करोडौँ मानिसले यी सत्यहरू बुझेका छैनन्‌ र येसुको फिरौतीको बलिदान कत्ति बहुमूल्य छ भन्‍ने कुरा पनि तिनीहरूलाई थाह छैन। साथै तिनीहरू येसुले सिकाउनुभएको तरिकामा स्मरणार्थ मनाउँदैनन्‌। किन?

५. धेरैजसो प्रेषितको मृत्युपछि मानिसहरूले येसुको मृत्युको सम्झना कसरी गर्न थाले?

येसुका धेरैजसो प्रेषितको मृत्यु भएलगत्तै मण्डलीमा झूटा ख्रिष्टियनहरू घुस्न थाले। (मत्ति १३:२४-२७, ३७-३९) तिनीहरू ‘टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्थे।’ (प्रेषि. २०:२९, ३०) जस्तै, तिनीहरूले येसु ‘धेरैका पापहरू बोक्न एकै चोटि सदाको लागि बलि चढाइनुभएको’ होइन बरु उहाँको बलिदान बारम्बार चढाइनुपर्छ भनेर सिकाउन थाले। (हिब्रू ९:२७, २८) आज थुप्रै मानिस यो झूटो शिक्षामा विश्‍वास गर्छन्‌। क्याथोलिकहरू “मास” b मनाउन नियमित रूपमा, कहिलेकाहीँ त हरेक दिन नै चर्चमा भेला हुन्छन्‌। अरू कतिपय चर्च भने आकलझुक्कल मात्र येसुको बलिदानको सम्झना गर्छन्‌। तर तिनीहरूले येसुको बलिदानले तिनीहरूको लागि कस्तो अर्थ राख्छ भन्‍ने कुरा राम्ररी बुझेका छैनन्‌। कसै-कसैलाई यस्तो लाग्छ: ‘के येसुको बलिदानले साँच्चै मेरा पापहरू क्षमा गर्न सक्छ?’ तिनीहरू किन यस्तो प्रश्‍न सोध्छन्‌? किनकि तिनीहरू येसुको बलिदानले पापहरू क्षमा गर्न सक्दैन भनेर सिकाउने मानिसहरूको बहकाउमा परेका छन्‌। ख्रिष्टका साँचो अनुयायीहरूले तिनीहरूलाई फिरौतीको बलिदानको महत्त्व र येसुको मृत्युको सम्झना गर्ने सही तरिका बुझ्न कसरी मदत गरेका छन्‌?

६. सन्‌ १८७२ सम्ममा बाइबल विद्यार्थीहरू कस्तो निष्कर्षमा पुगिसकेका थिए?

सन्‌ १८७० मा बाइबल विद्यार्थीहरूको एउटा समूहले चार्ल्स टेज रसलको नेतृत्वमा धर्मशास्त्रको गहन अध्ययन गर्न थाले। तिनीहरू येसुको बलिदानको महत्त्वबारे र उहाँको मृत्युको सम्झना कसरी गरिनुपर्छ भन्‍नेबारे सत्य कुरा बुझ्न चाहन्थेँ। सन्‌ १८७२ सम्ममा त तिनीहरू येसुले सबै मानिसजातिको लागि फिरौतीको बलिदान चढाउनुभएको हो भन्‍ने निष्कर्षमा पुगिसकेका थिए। तिनीहरूले आफूले पत्ता लगाएको कुरा आफैमा सीमित राखेनन्‌। बरु किताब, अखबार र पत्रिकामार्फत त्यसबारे मानिसहरूलाई थाह दिए। यसको केही समयपछि नै तिनीहरूले प्रथम शताब्दीका ख्रिष्टियनहरूको अनुकरण गर्दै स्मरणार्थ उत्सव वर्षको एक चोटि मात्र मनाउन थाले।

७. वर्षौँअघि बाइबल विद्यार्थीहरूले गरेको अनुसन्धानबाट हामीले कसरी लाभ उठाइरहेका छौँ?

वर्षौँअघि ती निष्कपट बाइबल विद्यार्थीहरूले गरेको अनुसन्धानबाट आज हामीले पनि लाभ उठाइरहेका छौँ। कसरी? यहोवाको मदतले गर्दा हामीले फिरौतीको बलिदानबारे र त्यसले मानिसजातिलाई पुऱ्‍याएको लाभबारे बुझ्न सकेका छौँ। (१ युह. २:१, २) साथै सीमित मानिसहरूले मात्र स्वर्गमा अमर जीवन पाउनेछन्‌ र अरू लाखौँले चाहिँ पृथ्वीमै अनन्त जीवन पाउनेछन्‌ भनेर हामीले बाइबलबाट थाह पाएका छौँ। यहोवा हामीलाई धेरै प्रेम गर्नुहुन्छ र येसुको बलिदानबाट हामी प्रत्येकले लाभ उठाएका छौँ भनेर विचार गर्दा यहोवासित अझ घनिष्ठ हुन्छौँ। (१ पत्रु. ३:१८; १ युह. ४:९) त्यसैले ती वफादार भाइहरूले जस्तै हामी पनि येसुले सिकाउनुभएकै तरिकामा स्मरणार्थ मनाउँछौँ र अरूलाई पनि त्यस कार्यक्रमको निम्तो दिन्छौँ।

अरूलाई स्मरणार्थको निम्तो दिएर

स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने अभियानमा पूरापूर भाग लिन तपाईँ के गर्न सक्नुहुन्छ? (अनुच्छेद ८-१० हेर्नुहोस्‌) e

८. यहोवाका सेवकहरूले अरूलाई स्मरणार्थको निम्तो दिन कस्तो प्रयास गर्दै आएका छन्‌? (तस्बिर हेर्नुहोस्‌।)

यहोवाका सेवकहरूले लामो समयदेखि अरूलाई स्मरणार्थको निम्तो दिँदै आएका छन्‌। सन्‌ १८८१ देखि नै अमेरिकाका भाइबहिनीलाई पेन्सिलभेनियाको एलिगेनीमा एक जना भाइको घरमा त्यस विशेष अवसरको लागि भेला हुन निम्तो दिइयो। पछि प्रत्येक मण्डलीमा स्मरणार्थ मनाउन थालियो। मार्च १९४० मा प्रकाशकहरूलाई इलाकाका चासो दिने व्यक्‍तिहरूलाई पनि निम्तो दिन सकिन्छ भनेर बताइयो। सन्‌ १९६० मा पहिलो पटक बेथेलले मण्डलीहरूको लागि छापिएको निम्तोपर्चीको प्रबन्ध गऱ्‍यो। त्यसबेलादेखि करोडौँ निम्तोपर्ची वितरण गरिएको छ। अरूलाई निम्तो दिन हामी किन यत्ति धेरै समय र शक्‍ति खर्च गर्छौँ?

९-१०. स्मरणार्थको निम्तो दिन प्रयास गर्दा क-कसले लाभ उठाउन सक्छन्‌? (युहन्‍ना ३:१६)

हामी अरूलाई स्मरणार्थको निम्तो दिन्छौँ किनकि यहोवा र येसुले हाम्रो लागि के गर्नुभएको छ भनेर मानिसहरूले थाह पाएको हामी चाहन्छौँ। (युहन्‍ना ३:१६ पढ्‌नुहोस्‌।) पहिलो चोटि स्मरणार्थमा आएकाहरूले त्यस कार्यक्रममा देख्ने र सुन्‍ने कुराहरूले गर्दा तिनीहरू यहोवाबारे अझ धेरै सिक्न र उहाँको सेवक बन्‍न उत्प्रेरित भएको हामी चाहन्छौँ। तर यस उत्सवबाट अरूले पनि लाभ उठाउँछन्‌।

१० हामी यहोवाको सेवा गर्न छोडेकाहरूलाई पनि निम्तो दिन्छौँ। किनकि परमेश्‍वर तिनीहरूलाई अझै पनि प्रेम गर्नुहुन्छ भनेर तिनीहरूले सम्झेको हामी चाहन्छौँ। हाम्रो निम्तो स्विकारेर तिनीहरू स्मरणार्थमा आएको देख्दा हामी धेरै खुसी हुन्छौँ। स्मरणार्थमा उपस्थित हुँदा तिनीहरूले विगतमा आफू यहोवाको सेवामा कत्ति आनन्दित थिएँ भनेर सम्झने मौका पाउँछन्‌। मोनिकाको उदाहरण विचार गरौँ। c तिनी कोभिड-१९ महामारीको दौडान फेरि सक्रिय प्रकाशक भइन्‌। सन्‌ २०२१ को स्मरणार्थमा उपस्थित भएपछि तिनले यसो भनिन्‌: “यो स्मरणार्थ मेरो लागि एकदमै विशेष थियो। बीस वर्षपछि पहिलो पटक मानिसहरूलाई साक्षी दिन र स्मरणार्थको निम्तो दिन सकेँ। मैले साक्षी दिन सक्दो मेहनत गरेँ किनभने यहोवा र येसुले मेरो लागि गर्नुभएको कुराको लागि म निकै आभारी छु।” (भज. १०३:१-४) मानिसहरूले निम्तो स्विकारे पनि, नस्विकारे पनि हामी लगनशील भई स्मरणार्थको निम्तो दिन्छौँ किनकि यहोवा हाम्रो प्रयासको कदर गर्नुहुन्छ भनेर हामीलाई थाह छ।

११. स्मरणार्थको निम्तो दिन हामीले गरेको प्रयासमा यहोवाले कसरी आशिष्‌ दिनुभएको छ? (हाग्गै २:७)

११ मानिसहरूलाई स्मरणार्थको निम्तो दिन हामीले गरेको प्रयासमा यहोवाले प्रशस्त आशिष्‌ दिनुभएको छ। सन्‌ २०२१ मा कोभिड-१९ महामारीले गर्दा लागेका प्रतिबन्धहरूको बाबजुद स्मरणार्थमा २ करोड १३ लाख ६७ हजार ६०३ जना उपस्थित भए। यो अहिलेसम्मकै शिखर सङ्‌ख्या हो। यो सङ्‌ख्या संसारभरिका यहोवाका साक्षीहरूको कुल सङ्‌ख्याभन्दा लगभग साढे दुई गुणा धेरै हो। तर यहोवा सङ्‌ख्यामा होइन, स्मरणार्थमा आउने प्रत्येक व्यक्‍तिमा चासो राख्नुहुन्छ। (लुका १५:७; १ तिमो. २:३, ४) उहाँ निम्तो अभियानमार्फत निष्कपट मानिसहरूलाई खोज्नुहुन्छ भन्‍ने कुरामा हामी विश्‍वस्त छौँ।—हाग्गै २:७ पढ्‌नुहोस्‌।

कठिनाइको बाबजुद स्मरणार्थ मनाएर

स्मरणार्थ मनाउन हामीले गर्ने प्रयासमा यहोवा आशिष्‌ दिनुहुन्छ (अनुच्छेद १२ हेर्नुहोस्‌) f

१२. कस्ता कठिनाइहरूले गर्दा स्मरणार्थमा उपस्थित हुन चुनौतीपूर्ण हुन्छ? (तस्बिर हेर्नुहोस्‌।)

१२ अन्तको दिनमा हामीले परिवारको विरोध, खेदो, युद्ध, महामारी र अन्य कठिनाइहरूको सामना गर्नुपर्नेछ भनेर येसुले भविष्यवाणी गर्नुभएको थियो। (मत्ति १०:३६; मर्कु. १३:९; लुका २१:१०, ११) यस्ता कठिनाइहरूले गर्दा स्मरणार्थमा उपस्थित हुन चुनौतीपूर्ण हुन्छ। हाम्रा भाइबहिनीले यस्ता चुनौतीहरू कसरी पार गरेका छन्‌ र यहोवाले तिनीहरूलाई कसरी मदत गर्नुभएको छ?

१३. स्मरणार्थ मनाउन आर्टयामले गरेको प्रयासमा यहोवाले कसरी आशिष्‌ दिनुभयो?

१३ कैदमा पर्दा। विश्‍वासको खातिर कैदमा परेका हाम्रा भाइबहिनीले येसुको मृत्युको स्मरणार्थ मनाउन आफ्नो तर्फबाट निकै प्रयास गरेका छन्‌। आर्टयामको उदाहरण विचार गरौँ। सन्‌ २०२० को स्मरणार्थको समयमा तिनी झ्यालखानामा थिए। तिनलाई १८३ स्क्वायर फिटको कोठरीमा राखिएको थियो, जहाँ एकचोटिमा पाँच जनासम्मलाई राखिन्थ्यो। कैदमा भए पनि तिनले स्मरणार्थको प्रतीकको रूपमा प्रयोग गर्न आवश्‍यक सामग्री जुटाउन सके र आफ्नै लागि स्मरणार्थ भाषण दिने योजना बनाए। तर तिनीसँगै राखिएका कैदीहरू चुरोट पिउँथे र फोहोर बोली बोल्थे। आर्टयामले के गरे? तिनले उनीहरूलाई एक घण्टाको लागि मात्र भए पनि चुरोट नपिउन र फोहोर बोली नबोल्न आग्रह गरे। अचम्मको कुरा, उनीहरूले आर्टयामको कुरा माने। तिनी भन्छन्‌: “मैले उनीहरूलाई स्मरणार्थको विषयमा केही कुरा बताउन सक्छु कि भनेर सोधेँ।” हुनत उनीहरूले तिनको कुरा सुन्‍न चासो छैन भनेका थिए तर स्मरणार्थ भाषण सुनेपछि र त्यो मनाएको देखेपछि उनीहरूले आर्टयामलाई स्मरणार्थको विषयमा थुप्रै कुरा सोधे।

१४. कोभिड-१९ महामारीको बाबजुद स्मरणार्थ मनाउन कस्ता प्रयासहरू गरिए?

१४ कोभिड-१९ महामारी। यस महामारीको बेला यहोवाका साक्षीहरूले सँगै भेला भएर स्मरणार्थ मनाउन सकेनन्‌। तर यसले तिनीहरूलाई स्मरणार्थ मनाउनदेखि रोकेन। d इन्टरनेटको सुविधा भएका मण्डलीहरूले भिडियो कन्फरेन्समार्फत स्मरणार्थ मनाए। तर इन्टरनेटको सुविधा नभएको ठाउँका लाखौँ भाइबहिनीले नि? केही देशमा स्मरणार्थ भाषण टिभी वा रेडियोमार्फत प्रसारण गर्ने प्रबन्ध मिलाइयो। साथै शाखाहरूले ५०० भन्दा धेरै भाषामा स्मरणार्थ भाषण रेकर्ड गरे अनि ती रेकर्डिङहरू दुर्गम ठाउँका भाइबहिनीसम्म पुऱ्‍याउने प्रबन्ध मिलाइयो।

१५. एक जना बाइबल विद्यार्थीको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१५ परिवारको विरोध। कसै-कसैलाई परिवारको विरोधले गर्दा स्मरणार्थमा उपस्थित हुन चुनौतीपूर्ण हुन सक्छ। एक जना बाइबल विद्यार्थीको अनुभव विचार गरौँ। सन्‌ २०२१ को स्मरणार्थको अघिल्लो दिन तिनले आफ्नो अध्ययन सञ्चालकलाई परिवारको विरोधले गर्दा आफू स्मरणार्थमा उपस्थित हुन नसक्ने कुरा बताइन्‌। तिनको अध्ययन सञ्चालकले तिनलाई लुका २२:४४ पढेर सुनाइन्‌। अनि समस्याहरू आइपर्दा येसुको अनुकरण गर्दै यहोवालाई प्रार्थना गर्नुपर्छ र उहाँमा पूर्ण भरोसा राख्नुपर्छ भनेर बुझाइन्‌। भोलिपल्ट स्मरणार्थको दिन ती विद्यार्थीले प्रतीकहरू तयार पारिन्‌ अनि jw.org मा भएको बिहानको उपासना कार्यक्रम हेरिन्‌। त्यो साँझ एक्लै कोठामा बसेर तिनले फोनबाट स्मरणार्थको कार्यक्रम सुनिन्‌। पछि तिनले अध्ययन सञ्चालकलाई यस्तो लेखिन्‌: “तपाईँले हिजो मलाई निकै प्रोत्साहन दिनुभयो। स्मरणार्थमा उपस्थित हुन मैले सक्दो कोसिस गरेँ र यहोवाले पनि मलाई मदत गर्नुभयो। म कत्ति खुसी र आभारी छु, शब्दमा बयानै गर्न सक्दिनँ।” त्यस्तै अवस्थामा पर्दा यहोवाले तपाईँलाई पनि मदत गर्न सक्नुहुन्छ जस्तो लाग्छ?

१६. स्मरणार्थ मनाउन गरिने प्रयासमा यहोवाले आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा किन ढुक्क हुन सक्छौँ? (रोमी ८:३१, ३२)

१६ येसुको मृत्युको स्मरणार्थ मनाउन हामीले गर्ने प्रयासको यहोवा धेरै मोल गर्नुहुन्छ। उहाँले हाम्रो लागि गर्नुभएको त्यागको लागि कृतज्ञता देखाउँदा उहाँले हामीलाई आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क छौँ। (रोमी ८:३१, ३२ पढ्‌नुहोस्‌।) त्यसैले यस वर्षको स्मरणार्थमा उपस्थित हुन र स्मरणार्थको समयमा हुने आध्यात्मिक गतिविधिमा अझ धेरै भाग लिन दृढ सङ्‌कल्प गरौँ।

गीत १८ फिरौतीको बलिदानप्रति कृतज्ञ

a मङ्‌गलबार, अप्रिल ४, २०२३ मा संसारभरका लाखौँ मानिसले ख्रिष्टको मृत्युको स्मरणार्थ मनाउनेछन्‌। थुप्रै मानिस यस कार्यक्रममा पहिलो चोटि उपस्थित हुनेछन्‌। निष्क्रिय भएका कतिपय साक्षी वर्षौँपछि यस कार्यक्रममा आउनेछन्‌। यस कार्यक्रममा उपस्थित हुन कसै-कसैले ठूलो बाधाअडचन पार गर्नुपर्नेछ। तर परिस्थिति जस्तोसुकै भए पनि यस कार्यक्रममा उपस्थित हुन तपाईँले गरेको प्रयास देखेर यहोवा खुसी हुनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्नुहुन्छ।

b “मास” मनाउँदा रोटी र दाखमद्य ख्रिष्टको शरीर र रगतमा परिणत हुन्छ भनी क्याथोलिकहरू विश्‍वास गर्छन्‌। हरेक चोटि यस धार्मिक रीतिमा भाग लिँदा येसुको शरीर र रगतको बलि चढाइन्छ भनेर तिनीहरू सोच्ने गर्छन्‌।

c केही नाम परिवर्तन गरिएका छन्‌।

d jw.org मा “२०२१ स्मरणार्थ उत्सव” विषयअन्तर्गत लेखहरू हेर्नुहोस्‌।

e चित्रको व्याख्या: सन्‌ १९६० को दशकदेखि स्मरणार्थको निम्तोपर्ची अझ परिष्कृत हुँदै गइरहेको छ र यो अहिले छापिएको र इलेक्ट्रोनिक दुवै फर्म्याटमा उपलब्ध छ।

f चित्रको व्याख्या: पुनःअभिनय—देशमा कलह मच्चिरहेको समयमा हाम्रा भाइबहिनी स्मरणार्थ मनाउँदै छन्‌।