सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २

गीत १३२ हामी एउटै शरीर भयौँ!

पतिहरू हो, आफ्नी पत्नीको आदर गर्नुहोस्‌

पतिहरू हो, आफ्नी पत्नीको आदर गर्नुहोस्‌

“हे पतिहरू हो, आ-आफ्नी पत्नीको . . . आदर गर।”​—१ पत्रु. ३:७.

सिक्न सकिने कुरा

पतिले आफ्नो बोली र व्यवहारद्वारा कसरी पत्नीको आदर गर्न सक्छन्‌?

१. यहोवाले विवाहको प्रबन्ध गर्नुको एउटा कारण के हो?

 यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ र उहाँ हामी पनि आनन्दित भएको चाहनुहुन्छ। (१ तिमो. १:११) हामी आनन्दित हुन सकौँ भनेर उहाँले थुप्रै उपहारहरू दिनुभएको छ। (याकु. १:१७) तीमध्ये एउटा उपहार विवाह हो। एक जना पुरुष र स्त्रीले विवाह गर्दा तिनीहरूले एकअर्कालाई प्रेम, आदर र कदर गर्ने कसम खान्छन्‌। आफूले कसम खाएअनुसार जीवन बिताउँदा तिनीहरू साँच्चै आनन्दित हुन सक्छन्‌।​—हितो. ५:१८.

२. अहिले थुप्रैको वैवाहिक सम्बन्धलाई के भएको छ?

दुःखको कुरा, थुप्रै विवाहित जोडीहरूले आफ्नो विवाहको दिनमा गरेको वाचा बिर्सेका छन्‌। त्यसैले तिनीहरू खुसी छैनन्‌। विश्‍व स्वास्थ्य सङ्‌गठनको हालैको एउटा रिपोर्टले देखाएअनुसार थुप्रै पतिहरूले आफ्नी पत्नीहरूलाई शारीरिक, मौखिक वा भावनात्मक तवरमा दुर्व्यवहार गर्छन्‌। यस्ता पतिहरूले आफ्नी पत्नीलाई अरूको अगाडि आदर गरेको जस्तो देखाउँछन्‌ तर घरमा भने दुर्व्यवहार गर्छन्‌। अरू कतिपय पतिले भने अश्‍लील सामग्रीहरू हेरेकोले तिनीहरूको वैवाहिक सम्बन्ध चिसिएको छ।

३. केही पतिहरूले किन आफ्नी पत्नीलाई दुर्व्यवहार गर्छन्‌?

केही पतिहरूले किन आफ्नी पत्नीलाई दुर्व्यवहार गर्छन्‌? तिनीहरूले आफ्नो बुबाले आमालाई दुर्व्यवहार गरेको देखेका हुन सक्छन्‌। त्यसैले तिनीहरूलाई आफ्नी पत्नीसित त्यस्तै व्यवहार गर्नुपर्छ र त्यो गलत होइन जस्तो लाग्न सक्छ। अरू कतिपय भने आफू हुर्केको समाजले गर्दा त्यस्तो गलत सोचाइ राख्न पुगेका हुन सक्छन्‌। तिनीहरूलाई आफ्नी पत्नीलाई दबाएर राखेन भने अरूले “नामर्द” ठान्‍नेछन्‌ जस्तो लाग्न सक्छ। कतिपय पुरुषहरूले आफ्ना भावनाहरूलाई काबूमा राख्न सिकेका हुँदैनन्‌। त्यसैले तिनीहरू रिस, क्रोधजस्ता दुर्गुणहरू देखाइहाल्छन्‌। अरू कतिलाई भने अश्‍लील सामग्री हेर्ने लत लागेकोले तिनीहरू स्त्रीहरू र यौनप्रति विकृत दृष्टिकोण राख्छन्‌। यसबाहेक रिपोर्टहरूले देखाएअनुसार कोभिड-१९ महामारीको दौडान पतिहरूले पत्नीहरूलाई दुर्व्यवहार गरेको घटना धेरै बढेको पाइयो। कारण जेसुकै होस्‌, पतिले पत्नीलाई कुनै हालतमा दुर्व्यवहार गर्नु हुँदैन।

४. पतिहरू कस्तो सोचाइ राख्नदेखि होसियार हुनुपर्छ र किन?

पतिहरू आफ्नी पत्नीप्रति संसारको जस्तो सोचाइ राख्नदेखि होसियार हुनुपर्छ। a किन? किनभने हामी जस्तो सोचाइ राख्छौँ, त्यो अक्सर हाम्रो व्यवहारमा देखिन्छ। प्रेषित पावलले रोममा भएका अभिषिक्‍त ख्रिष्टियनहरूलाई यस्तो चेतावनी दिए: “तिमीहरू यस युगको चालढालअनुसार चल्न छोड।” (रोमी १२:१, २) पावलले यो पत्र लेख्दा रोममा मण्डली स्थापना भएको केही वर्ष भइसकेको थियो। तर पावलका शब्दहरूबाट के बुझिन्छ भने कोही-कोही अझै पनि संसारको सोचाइ र चालढालको प्रभावमा परेका थिए। त्यसैले पावलले तिनीहरूलाई आफ्नो सोचाइ र चालढाल परिवर्तन गर्न आग्रह गरे। तिनको त्यो सल्लाह आज यहोवाका उपासकहरूलाई पनि उत्तिकै लागू हुन्छ। दुःखको कुरा, केही पतिहरू संसारको प्रभावमा परेका छन्‌ र तिनीहरू आफ्नी पत्नीलाई दुर्व्यवहारसमेत गर्छन्‌। b तर यहोवा पतिहरूले आफ्नी पत्नीसित कस्तो व्यवहार गरेको चाहनुहुन्छ? यसको जवाफ हामी यस लेखको मूल शास्त्रपदमा पाउँछौँ।

५. पहिलो पत्रुस ३:७ अनुसार पतिले पत्नीसित कस्तो व्यवहार गर्नुपर्छ?

पहिलो पत्रुस ३:७ पढ्‌नुहोस्‌। यहोवाले पतिहरूलाई आफ्नी पत्नीको आदर गर्नू भन्‍नुभएको छ। पत्नीको आदर गर्ने पतिले तिनीसित मायालु व्यवहार गर्छन्‌। यस लेखमा पतिले कसरी पत्नीको आदर गर्न सक्छन्‌ भनेर छलफल गर्नेछौँ। तर पहिला पतिको कस्तो व्यवहारले पत्नीको अनादर गर्छ, त्यो बुझौँ।

पत्नीको अनादर हुने व्यवहार त्याग्नुहोस्‌

६. पत्नीलाई शारीरिक दुर्व्यवहार गर्ने पतिलाई यहोवा के गर्नुहुन्छ? (कलस्सी ३:१९)

शारीरिक दुर्व्यवहार। यहोवा हिंस्रक व्यक्‍तिलाई घृणा गर्नुहुन्छ। (भज. ११:५) पत्नीलाई दुर्व्यवहार गर्ने पतिलाई घृणा गर्छु भनेर उहाँले तोकेरै बताउनुभएको छ। (मला. २:१६; कलस्सी ३:१९ पढ्‌नुहोस्‌।) यस लेखको मूल शास्त्रपद १ पत्रुस ३:७ अनुसार पतिले आफ्नी पत्नीको आदर गरेनन्‌ भने यहोवासित तिनको सम्बन्ध बिग्रनेछ। यहोवाले तिनको प्रार्थना सुन्‍नुहुनेछैन।

७. एफिसी ४:३१, ३२ अनुसार पतिहरूले कस्तो बोली बोल्नु हुँदैन? (“थप व्याख्या” पनि हेर्नुहोस्‌।)

मौखिक दुर्व्यवहार। केही पतिहरू आफ्नी पत्नीहरूलाई गाली गर्छन्‌ र जथाभाबी बोलेर चित्त दुखाउँछन्‌। तर यहोवा “रिस, क्रोध, चिच्याउने बानी र दुर्वचन”-लाई c घृणा गर्नुहुन्छ। (एफिसी ४:३१, ३२ पढ्‌नुहोस्‌।) यहोवा सबै कुरा सुन्‍न सक्नुहुन्छ। पतिले आफ्नी पत्नीसित अरूको अगाडि मात्र होइन, घरमा कसरी बोल्छन्‌, त्यो पनि याद गर्नुहुन्छ। पत्नीलाई मौखिक दुर्व्यवहार गर्ने पतिले आफ्नो वैवाहिक सम्बन्धलाई मात्र होइन, यहोवासितको आफ्नो सम्बन्धलाई पनि बिगार्छ।—याकु. १:२६.

८. यहोवा अश्‍लील सामग्रीलाई कस्तो ठान्‍नुहुन्छ र किन?

अश्‍लील सामग्री हेर्नु। अश्‍लील सामग्रीलाई यहोवा कस्तो ठान्‍नुहुन्छ? उहाँ त्यसलाई घृणा गर्नुहुन्छ। त्यसैले अश्‍लील सामग्री हेर्ने पतिले यहोवासितको सम्बन्धलाई बिगारिरहेको हुन्छ र आफ्नी पत्नीको अनादर गरिरहेको हुन्छ। d पतिहरू आफ्नी पत्नीप्रति सधैँ वफादार रहेको यहोवा चाहनुहुन्छ। पति आफ्नी पत्नीप्रति व्यवहारमा मात्र होइन, सोचाइमा समेत वफादार रहनुपर्छ। कुनै पुरुषले आफूमा कामवासना जगाउने किसिमले कुनै स्त्रीलाई हेरिरहन्छ भने उसले “मनमनै” व्यभिचार गरिसकेको हुन्छ भनेर येसुले भन्‍नुभयो। e​—मत्ति ५:२८, २९.

९. पतिले पत्नीलाई यौन दुर्व्यवहार गरेको यहोवालाई कस्तो लाग्छ र किन?

यौन दुर्व्यवहार। केही पतिहरू आफ्नी पत्नीको इच्छाविपरीत विभिन्‍न यौनकार्यमा भाग लिन जबरजस्ती गर्छन्‌। यसले गर्दा पत्नीले साह्रै तुच्छ ठानिएको वा अनादर गरिएको महसुस गर्छिन्‌। यहोवा त्यस्तो स्वार्थी र निर्दयी व्यवहारलाई घृणा गर्नुहुन्छ। उहाँ यौनसम्बन्धको सन्दर्भमा पनि पतिले पत्नीलाई आदर र प्रेम गरेको अनि उनका भावनाहरूको कदर गरेको चाहनुहुन्छ। (एफि. ५:२८, २९) तर कुनै पतिले आफ्नी पत्नीलाई दुर्व्यवहार गरिरहेका छन्‌, उनलाई तुच्छ ठानिरहेका छन्‌ वा अश्‍लील सामग्री हेरिरहेका छन्‌ भने नि? तिनले आफ्नो सोचाइ र व्यवहार कसरी परिवर्तन गर्न सक्छन्‌?

पतिले पत्नीको अनादर हुने व्यवहार कसरी त्याग्न सक्छन्‌?

१०. पतिहरूले येसुबाट के सिक्न सक्छन्‌?

१० पत्नीलाई दुर्व्यवहार गर्ने र तुच्छ ठान्‍ने पतिले त्यस्तो नराम्रो व्यवहार कसरी त्याग्न सक्छन्‌? तिनले येसुको अनुकरण गर्ने प्रयास गर्नुपर्छ। हुनत येसुले विवाह गर्नुभएन तर उहाँले चेलाहरूसित गर्नुभएको व्यवहारबाट पतिले आफ्नी पत्नीसित कस्तो व्यवहार गर्नुपर्छ भनेर सिक्न सक्छन्‌। (एफि. ५:२५) आउनुहोस्‌, उहाँले आफ्ना चेलाहरूसित कस्तो व्यवहार गर्नुभयो र तिनीहरूसित कसरी बोल्नुभयो, विचार गरौँ।

११. येसुले आफ्ना चेलाहरूसित कस्तो व्यवहार गर्नुभयो?

११ येसुले आफ्ना चेलाहरूसित दयालु व्यवहार गर्नुभयो र तिनीहरूको आदर गर्नुभयो। उहाँले तिनीहरूसित कहिल्यै क्रूर व्यवहार गर्नुभएन। हुनत उहाँ तिनीहरूको प्रभु र मालिक हुनुहुन्थ्यो। तैपनि उहाँले तिनीहरूमाथि हैकम जमाउनुभएन र तिनीहरूलाई कहिल्यै तुच्छ ठान्‍नुभएन। बरु तिनीहरूको सेवा गर्न तयार भएर नम्रता देखाउनुभयो। (युह. १३:१२-१७) उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “मबाट सिक किनकि म कोमल स्वभावको र नम्र हृदयको छु अनि तिमीहरूले स्फूर्ति पाउनेछौ।” (मत्ति ११:२८-३०) पतिहरू येसुजस्तै कोमल स्वभावको हुनुपर्छ। कोमल स्वभावको हुनु भनेको कमजोरी होइन। बरु अरूले रिस उठाउँदा पनि शान्त रहनु र आफ्नो भावनालाई काबूमा राख्न सक्नु हो।

१२. येसु अरूसित कसरी बोल्नुहुन्थ्यो?

१२ येसुले आफ्नो बोलीद्वारा अरूलाई सान्त्वना र स्फूर्ति दिनुभयो। उहाँले आफ्ना चेलाहरूसित रुखो बोली बोल्नुभएन। (लुका ८:४७, ४८) विरोधीहरूले उहाँको अपमान गरेर रिस उठाउँदा समेत ‘उहाँले तिनीहरूको अपमान गर्नुभएन।’ (१ पत्रु. २:२१-२३) मानिसहरूले झूटो आरोप लगाउँदा समेत उहाँले रुखो बोली बोल्नुभएन बरु चुप लागेर बस्नुभयो। (मत्ति २७:१२-१४) पतिहरूको लागि कत्ति राम्रो उदाहरण!

१३. पति “आफ्नी पत्नीसित बस्छ” भन्‍नुको अर्थ के हो? (मत्ति १९:४-६) (चित्र पनि हेर्नुहोस्‌।)

१३ येसुले पति आफ्नी पत्नीप्रति वफादार रहनुपर्छ भन्‍नुभयो। उहाँले यहोवाले भन्‍नुभएको यो कुरा उद्धरण गर्नुभयो: ‘पति आफ्नी पत्नीसित बस्नुपर्छ।’ (मत्ति १९:४-६ पढ्‌नुहोस्‌।) मत्ति १९:५ मा “बस्छ” भनेर अनुवाद गरिएको ग्रीक क्रियाले गमले टाँसेजस्तै बलियोसित टाँसिनुलाई जनाउँछ। त्यसैले एउटा पक्षले नराम्रो काम गर्दा त्यसले अर्को पक्षलाई पनि नराम्रो असर पुऱ्‍याउँछ। आफ्नी पत्नीलाई असाध्यै माया गर्ने पति सबै किसिमको अश्‍लील सामग्रीबाट टाढै रहन्छन्‌। तिनले “व्यर्थका कुरा हेर्नदेखि” आफ्ना आँखा फर्काइहाल्छन्‌। (भज. ११९:३७) तिनले अय्युबले जस्तै आफ्नी पत्नीबाहेक अरू स्त्रीलाई अनुचित नजरले नहेर्न आफ्नो आँखासित वाचा बाँधेका हुन्छन्‌।—अय्यु. ३१:१.

वफादार पति अश्‍लील सामग्री हेर्न इन्कार गर्छन्‌ (अनुच्छेद १३ हेर्नुहोस्‌) g


१४. आफ्नी पत्नीलाई दुर्व्यवहार गर्ने पतिले यहोवा र आफ्नी पत्नीसितको सम्बन्ध सुधार्न कस्ता कदमहरू चाल्नुपर्छ?

१४ आफ्नी पत्नीलाई शारीरिक वा मौखिक दुर्व्यवहार गर्ने पतिले यहोवा र आफ्नी पत्नीसितको सम्बन्धलाई सुधार्न केही कदम चाल्नुपर्छ। पहिलो, तिनले आफूले गल्ती गरिरहेको कुरा मानिलिनुपर्छ। किनभने यहोवाको नजरबाट कुनै पनि कुरा लुक्दैन। (भज. ४४:२१; उप. १२:१४; हिब्रू ४:१३) दोस्रो, तिनले आफ्नी पत्नीलाई दुर्व्यवहार गर्न छोड्‌नुपर्छ र आफ्नो बानीबेहोरा परिवर्तन गर्नुपर्छ। (हितो. २८:१३) तेस्रो, तिनले आफ्नी पत्नीसित र यहोवासित क्षमा माग्नुपर्छ। (प्रेषि. ३:१९) तिनले आफ्नो बानीबेहोरा परिवर्तन गर्ने इच्छा पैदा गर्न अनि आफ्नो सोचाइ, बोली र व्यवहारलाई काबूमा राख्न मदत दिनुहोस्‌ भनेर यहोवासित बिन्ती पनि गर्नुपर्छ। (भज. ५१:१०-१२; २ कोरि. १०:५; फिलि. २:१३) चौथो, तिनले प्रार्थना गरेअनुसारै कदम चाल्नुपर्छ र सबै किसिमको हिंसा र दुर्वचन त्याग्न प्रयास गर्नुपर्छ। (भज. ९७:१०) पाँचौँ, तिनले तुरुन्तै मण्डलीका मायालु गोठालाहरूसित मदत माग्नुपर्छ। (याकु. ५:१४-१६) छैटौँ, तिनले भविष्यमा त्यस्तो गलत काम गर्नदेखि टाढै रहन के-के गर्नेछु भनेर पक्का गर्नुपर्छ। अश्‍लील सामग्री हेर्ने गरेका पतिले पनि यी कदमहरू चाल्नुपर्छ। आफ्नो बानीबेहोरा परिवर्तन गर्न प्रयास गर्दा यहोवाले पक्कै आशिष्‌ दिनुहुनेछ। (भज. ३७:५) पतिले आफ्नी पत्नीको अनादर हुने व्यवहार त्याग्नु मात्र पर्याप्त छैन। तिनले आफ्नी पत्नीको आदर गर्न पनि सिक्नुपर्छ। तिनले कसरी त्यसो गर्न सक्छन्‌?

पतिले कसरी पत्नीको आदर गर्न सक्छन्‌?

१५. पतिले आफ्नी पत्नीलाई माया गरेको कसरी देखाउन सक्छन्‌?

१५ माया देखाउनुहोस्‌। केही पतिले आफ्नी पत्नीलाई असाध्यै माया गरेको कुरा देखाउन हरेक दिन केही न केही गर्ने गर्छन्‌ र त्यसो गर्दा तिनीहरूको वैवाहिक बन्धन बलियो भएको छ। (१ युह. ३:१८) पतिले सानो तरिकामा पनि आफ्नी पत्नीलाई माया गरेको देखाउन सक्छन्‌। जस्तै, उनको हात समाएर वा न्यानो अङ्‌गालो हालेर। तिनले यस्तो छोटो मेसेज पनि पठाउन सक्छन्‌: “म तिमीलाई मिस गर्दै छु” वा “के गर्दै छौ?” साथै तिनले मायाका शब्दहरू लेखेर कार्ड दिन सक्छन्‌ वा उनलाई मन पर्ने खानेकुरा ल्याइदिन सक्छन्‌। यसो गर्दा तिनले पत्नीको आदर गरिरहेका हुन्छन्‌ अनि तिनीहरूको वैवाहिक बन्धन पनि बलियो हुन्छ।

१६. पतिले किन आफ्नी पत्नीको प्रशंसा गर्नुपर्छ?

१६ कृतज्ञता व्यक्‍त गर्नुहोस्‌। पत्नीको आदर गर्ने पतिले उनको मोल गरेको कुरा देखाउँछन्‌। तिनले यसो गर्न सक्ने एउटा तरिका भनेको पत्नीको भूमिका राम्ररी पूरा गर्न उनले जे-जति गरिरहेकी छिन्‌, त्यसप्रति कृतज्ञ भएको देखाएर हो। (कल. ३:१५) पतिले मनैदेखि आफ्नी पत्नीको प्रशंसा गर्दा उनी खुसी हुन्छिन्‌। उनले माया पाएको, आदर गरिएको र ढुक्क महसुस गर्छिन्‌।​—हितो. ३१:२८.

१७. पतिले आफ्नी पत्नीको आदर गरेको कसरी देखाउन सक्छन्‌?

१७ दयालु हुनुहोस्‌ र आदर गर्नुहोस्‌। पत्नीलाई माया गर्ने पतिले उनको मोल र कदर गर्छन्‌। तिनी उनलाई यहोवाले दिनुभएको अनमोल उपहार ठान्छन्‌। (हितो. १८:२२; ३१:१०) त्यसैले तिनी यौनसम्बन्ध राख्दा समेत आफ्नी पत्नीसित मायालु व्यवहार गर्छन्‌ र आदर देखाउँछन्‌। तिनले आफ्नी पत्नीलाई मन नपर्ने, तुच्छ महसुस हुने वा उनको अन्तस्करण घोच्ने यौनकार्यमा भाग लिन जबरजस्ती गर्दैनन्‌। f तिनी आफै पनि यहोवासामु सफा अन्तस्करण राख्न कोसिस गर्छन्‌।​—प्रेषि. २४:१६.

१८. पतिहरूले के गर्न प्रयास गरिरहनुपर्छ? (“ पतिले पत्नीको आदर गर्ने चार वटा तरिका” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१८ पतिहरू हो, आफ्नो बोली र व्यवहारद्वारा पत्नीको आदर गरेको देखाउन प्रयास गरिरहनुहोस्‌। यहोवा तपाईँको प्रयास देख्नुहुन्छ र पक्कै खुसी हुनुहुन्छ। आफ्नी पत्नीको अनादर हुने कुनै पनि कुरा नगर्नुहोस्‌। बरु उनलाई दया, आदर र माया देखाउनुहोस्‌। यसरी तपाईँ आफ्नी पत्नीलाई मोल गरेको देखाउन सक्नुहुन्छ। आफ्नी पत्नीको आदर गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँले गाँस्नुभएको सबैभन्दा अनमोल सम्बन्ध बिग्रनेछैन। त्यो हो, यहोवासितको मित्रता।​—भज. २५:१४.

गीत १३१ “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ”

a पतिहरूले जनवरी २०२४ अङ्‌कको प्रहरीधरहरा-मा भएको “के तपाईँ स्त्रीहरूसित यहोवाले जस्तै व्यवहार गर्नुहुन्छ?” लेखबाट लाभ उठाउन सक्छन्‌।

b घरेलु हिंसाको सिकार भएकाहरूले jw.org र JW लाइब्रेरी-को “शृङ्‌खलाबद्ध लेखहरू”-अन्तर्गत “थप लेखहरू”-मा भएको “घरेलु हिंसाको सिकार भएकाहरूलाई मदत” लेखबाट लाभ उठाउन सक्छन्‌।

c थप व्याख्या: “दुर्वचन”-मा अरूलाई जथाभाबी नामले बोलाउनु, तिनको अपमान गर्नु, तिनको आलोचना गर्नु, तिनलाई होच्याउनु वा चित्त दुखाउनु समावेश छन्‌।

d jw.org मा “के अश्‍लील सामग्री हानिकारक छ?” लेखको “अश्‍लील सामग्रीले परिवारलाई कसरी असर गर्छ?” उपशीर्षक हेर्नुहोस्‌।

e अश्‍लील सामग्री हेर्ने पतिको पत्नीले अगस्त २०२३ अङ्‌कको प्रहरीधरहरा-मा भएको “तपाईँको जीवनसाथी अश्‍लील सामग्री हेर्ने कुलतमा फसेका छन्‌ भने के गर्न सक्नुहुन्छ?” लेखबाट लाभ उठाउन सक्छन्‌।

f बाइबलमा पति र पत्नीबीचको कस्तो यौनकार्यलाई उचित भन्‍ने अनि कस्तोलाई अनुचित भन्‍ने भनेर विस्तृत तवरमा बताइएको छैन। यस सन्दर्भमा विवाहित जोडीले आफै निर्णय गर्नुपर्छ। तर तिनीहरूले यहोवाको आदर हुने, एकअर्कालाई स्वीकार्य हुने र सफा अन्तस्करण राख्न सक्ने किसिमको निर्णय गर्नुपर्छ। साधारणतया दम्पतीहरूले यस नितान्त व्यक्‍तिगत विषयमा अरूसित कुरा गर्दैनन्‌।

g चित्रको व्याख्या: एक जना भाइलाई तिनका सहकर्मीहरूले अश्‍लील पत्रिका देखाउन खोज्दै छन्‌।