सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४

गीत १८ फिरौतीको बलिदानप्रति कृतज्ञ

फिरौतीको बलिदानबाट हामी के सिक्न सक्छौँ?

फिरौतीको बलिदानबाट हामी के सिक्न सक्छौँ?

“हाम्रो सन्दर्भमा परमेश्‍वरको प्रेम यसरी प्रकट भएको छ।”​—१ युह. ४:९.

सिक्न सकिने कुरा

फिरौतीको बलिदानबाट हामी यहोवा परमेश्‍वर र येसु ख्रिष्टका के-कस्ता गुणहरूबारे सिक्न सक्छौँ?

१. हामीले किन हरेक वर्ष येसुको मृत्युको सम्झना गर्नुपर्छ?

 फिरौतीको बलिदान यहोवाले दिनुभएको अनमोल उपहार हो। (२ कोरि. ९:१५) येसुले हाम्रो लागि आफ्नो जीवन दिनुभएकोले हामीले यहोवा परमेश्‍वरसित घनिष्ठ मित्रता गाँस्न सकेका छौँ। हामीले अनन्त जीवनको आशा पनि पाएका छौँ। यहोवाले हामीप्रतिको प्रेमले गर्दा नै फिरौतीको प्रबन्ध गर्नुभयो। त्यसैले हामी फिरौतीको बलिदान र यहोवाप्रति सधैँ कृतज्ञ छौँ। (रोमी ५:८) येसुको आज्ञाअनुसारै हरेक वर्ष उहाँको मृत्युको सम्झना गरेर हामी उहाँको बलिदानप्रति कृतज्ञ भएको र यसको मोल गरेको देखाउन सक्छौँ।​—लुका २२:१९, २०.

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

यो वर्षको स्मरणार्थ उत्सव अप्रिल १२, २०२५ शनिबारको दिन परेको छ। हामी कोही पनि त्यो उत्सव छुटाउन चाहँदैनौँ। स्मरणार्थ अघिपछिका हप्ताहरूमा यहोवा र उहाँको छोराले हाम्रो लागि गर्नुभएको कुरामा मनन a गर्दा हामीले पक्कै पनि धेरै लाभ उठाउनेछौँ। यस लेखमा फिरौतीको बलिदानबाट यहोवा र उहाँको छोराबारे के सिक्न सक्छौँ भनेर छलफल गर्नेछौँ। यसपछिको लेखमा फिरौतीको बलिदानबाट हामी कस्तो लाभ उठाउन सक्छौँ र यसप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौँ भनेर बुझ्नेछौँ।

फिरौतीको बलिदानबाट हामी यहोवाबारे के सिक्न सक्छौँ?

३. एक जना मानिसको मृत्युले गर्दा कसरी धेरैले छुटकारा पाउन सक्छन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

हामी फिरौतीको बलिदानबाट यहोवाको न्यायबारे सिक्न सक्छौँ। (व्यव. ३२:४) कसरी? यो कुरा विचार गर्नुहोस्‌: आदम यहोवाप्रति अनाज्ञाकारी भएकोले तिनी पापी भएर मरे। हामी पनि तिनकै सन्तान भएकोले पापी छौँ र मर्छौँ। (रोमी ५:१२) हामीलाई पाप र मृत्युबाट छुटकारा दिन यहोवाले फिरौतीको बलिदानको प्रबन्ध गर्नुभयो। तर एक जना त्रुटिरहित मानिसको बलिदानले गर्दा कसरी धेरैले छुटकारा पाउन सक्छन्‌? यसको जवाफ प्रेषित पावलले यसरी दिए: “जसरी एक जना मानिसको [आदमको] अनाज्ञाकारिताले गर्दा धेरै जना पापी भए, उसरी नै एक जनाको [येसुको] आज्ञाकारिताले गर्दा धेरै जना धर्मी ठहरिनेछन्‌।” (रोमी ५:१९; १ तिमो. २:६) सरल तरिकामा भन्‍नुपर्दा, एक जना त्रुटिरहित मानिस परमेश्‍वरप्रति अनाज्ञाकारी भएकोले हामी पाप र मृत्युको दासत्वमा पऱ्‍यौँ। त्यसैले परमेश्‍वरप्रति आज्ञाकारी रहने एक जना त्रुटिरहित मानिसले नै हामीलाई पाप र मृत्युबाट छुटकारा दिन सक्ने थिए।

एक जना मानिसले गर्दा हामी पाप र मृत्युको दासत्वमा पऱ्‍यौँ। त्यसैगरि एक जना मानिसले गर्दा हामीले छुटकारा पायौँ (अनुच्छेद ३ हेर्नुहोस्‌)


४. यहोवाले आदमको आज्ञाकारी सन्तानलाई सधैँभरि बाँच्न दिनुभएको भए के हुने थियो?

यहोवाले आदमका आज्ञाकारी सन्तानहरूलाई सधैँभरि बाँच्न दिनुभए हुँदैनथ्यो र? येसुलाई किन मर्न पठाउनुपर्थ्यो र? हामी त्रुटिपूर्ण मानिसहरूको विचारमा समस्या सुल्झाउने त्यो नै सबैभन्दा राम्रो उपाय थियो जस्तो लाग्न सक्छ। तर त्यो यहोवाको न्यायको स्तरसित मेल खाने थिएन। आदमले पाप गरेपछि तिनका सन्तान पनि पापी भए। तर यदि यहोवाले आदमका आज्ञाकारी सन्तानलाई सधैँभरि बाँच्न दिनुभएको भए उहाँले आदमले पाप नै नगरेको र तिनको सन्तान पापी नै नभएजस्तो ठान्‍नुभएको देखिने थियो।

५. यहोवाले सधैँ जे सही हो, त्यही गर्नुहुन्छ भन्‍ने कुरामा हामी किन ढुक्क हुन सक्छौँ?

हो, यहोवाले फिरौतीको प्रबन्ध नगर्नुभएको भए र आदमका त्रुटिपूर्ण छोराछोरीलाई सधैँभरि बाँच्न दिनुभएको भए उहाँले आफ्नो न्यायको स्तरलाई बङ्‌ग्याइरहनुभएको हुने थियो। यसले गर्दा मानिसहरूलाई यहोवाले अरू मामिलामा पनि आफ्नो न्यायको स्तरलाई बेवास्ता गर्नुहोला कि भनेर शङ्‌का लाग्न सक्थ्यो। जस्तै, उहाँले आफ्नो सबै प्रतिज्ञा पूरा गर्नुहोला कि नहोला भनेर प्रश्‍न उठ्‌न सक्थ्यो। तर हामीले त्यस्तो चिन्तै गर्नु पर्दैन। यहोवाले ठूलो मोल चुकाउनुपरे पनि आफ्नो न्यायको स्तर बङ्‌ग्याउनुभएन। उहाँले आफ्नो प्यारो छोराको बलिदान दिनुभयो। यो कुरा विचार गर्दा यहोवा सधैँ जे सही हो, त्यही गर्नुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ।

६. फिरौतीको बलिदानबाट यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भनेर कसरी देखिन्छ? (१ युहन्‍ना ४:९, १०)

फिरौतीको बलिदानबाट यहोवा न्यायी हुनुहुन्छ भन्‍ने कुरा त बुझ्न सक्छौँ नै, तर अझ विशेषगरि उहाँ हामीलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भन्‍ने कुरा थाह पाउन सक्छौँ। (युह. ३:१६; १ युहन्‍ना ४:९, १० पढ्‌नुहोस्‌।) यहोवाले फिरौतीको प्रबन्ध गर्नुभएको कुराबाट उहाँ हामीले अनन्त जीवन पाएको मात्र होइन, उहाँको परिवारको भाग बनेको पनि चाहनुहुन्छ भनेर देखिन्छ। यो कुरा विचार गर्नुहोस्‌: आदमले पाप गरेपछि यहोवाले तिनलाई उहाँका उपासकहरूको परिवारबाट निकालिदिनुभयो। यसको नतिजास्वरूप हामीमध्ये कोही पनि जन्मजातै यहोवाको परिवारको भाग भएनौँ। तर फिरौतीको बलिदानले गर्दा यहोवामाथि विश्‍वास गर्ने र उहाँको आज्ञा पालन गर्ने सबै मानिस भविष्यमा उहाँको परिवारको भाग बन्‍न सक्नेछन्‌। यही बलिदानको आधारमा हामीले अहिले पनि यहोवा र सङ्‌गी उपासकहरूसित न्यानो सम्बन्ध गाँस्न सकेका छौँ र हाम्रा पापहरूको क्षमा पाउन सकेका छौँ। हो, यहोवा हामीलाई धेरै प्रेम गर्नुहुन्छ।​—रोमी ५:१०, ११.

७. यहोवाले येसुलाई दुःख भोग्न दिनुभएको कुराबाट उहाँ हामीलाई धेरै प्रेम गर्नुहुन्छ भनेर कसरी देखिन्छ?

यहोवाले फिरौतीको बलिदानको प्रबन्ध गर्न कत्ति ठूलो मोल चुकाउनुपऱ्‍यो भनेर बुझ्यौँ भने उहाँ हामीलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भनेर बुझ्नेछौँ। सैतानले गाह्रो अवस्था आइपर्दा यहोवाको कोही पनि सेवक उहाँप्रति वफादार रहिरहनेछैन भनेर दाबी गरेको छ। त्यो दाबीलाई झूटो साबित गर्न यहोवाले येसुलाई दुःख भोग्न र मर्न दिनुभयो। (अय्यु. २:१-५; १ पत्रु. २:२१) विरोधीहरूले येसुलाई गिज्याए, सिपाहीहरूले उहाँलाई हिर्काए अनि खम्बामा टाँगे। यसरी येसुले अत्यन्तै पीडादायी मृत्यु भोग्नुभयो। यो देख्दा यहोवालाई कत्ति दुःख लाग्यो होला! (मत्ति २७:२८-३१, ३९) यहोवाले चाहनुभएको भए उहाँले कुनै पनि बेला विरोधीहरूलाई रोक्न सक्नुहुन्थ्यो। जस्तै, येसुलाई खम्बामा टाँगेपछि विरोधीहरूले यसो भनेका थिए: “अब चाहनुहुन्छ भने [परमेश्‍वरले] नै यसलाई बचाऊन्‌।” (मत्ति २७:४२, ४३) त्यतिबेला यहोवाले येसुलाई बचाउन सक्नुहुन्थ्यो। तर उहाँले त्यसो गर्नुभएको भए फिरौतीको मोल तिरिने थिएन र हामीले कुनै आशा पाउने थिएनौँ। त्यसैले यहोवाले येसुलाई दुःख भोग्न र मर्न दिनुभयो।

८. आफ्नो छोराले यातना भोगेको देख्दा के यहोवा दुःखी हुनुभयो? व्याख्या गर्नुहोस्‌। (चित्र पनि हेर्नुहोस्‌।)

यहोवाले आफ्नो छोराले दुःख भोगिरहेको देखेर पनि केही गर्नुभएन। के यसको मतलब उहाँमा दयामाया नै छैन भन्‍ने हो? त्यसो त होइन। हामी परमेश्‍वरको स्वरूपमा बनिएका छौँ र हामीमा भावना छ। त्यसैले यहोवा पनि भावना भएको परमेश्‍वर हुनुहुन्छ भन्‍न सक्छौँ। बाइबलमा उहाँको ‘मन दुखेको’ र उहाँ ‘दुःखी हुनुभएको’ कुरा बताइएको छ। (भज. ७८:४०, ४१) अब्राहाम र इसहाकबारे पनि विचार गरौँ। यहोवाले अब्राहामलाई आफ्नो एक मात्र छोरा बलि चढाउन आज्ञा दिनुभएको थियो। (उत्प. २२:९-१२; हिब्रू ११:१७-१९) आफ्नो छोरालाई बलि चढाउनै लाग्दा अब्राहामले कस्तो महसुस गरे होलान्‌, त्यो हामी कल्पनासमेत गर्न सक्दैनौँ। मानिसहरूले येसुलाई यातना दिएको र उहाँलाई मारेको देख्दा यहोवा झन्‌ कत्ति दुःखी हुनुभयो होला, सोच्नुहोस्‌ त।—jw.org मा तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌—अब्राहाम, भाग २ भिडियो हेर्नुहोस्‌।

आफ्नो छोराले यातना भोगेको देख्दा यहोवालाई असाध्यै पीडा भयो (अनुच्छेद ८ हेर्नुहोस्‌)


९. रोमी ८:३२, ३८, ३९ बाट तपाईँले यहोवाको प्रेमबारे के सिक्नुभयो?

फिरौतीको बलिदानबाट हामीलाई यहोवाले जत्तिको माया अरू कसैले पनि गर्न सक्दैन भनेर सिक्न सक्छौँ, हाम्रो आफ्नै परिवार वा घनिष्ठ साथीले समेत। (रोमी ८:३२, ३८, ३९ पढ्‌नुहोस्‌।) त्यति मात्र होइन, हामी आफूलाई जत्ति माया गर्छौँ, त्योभन्दा अझ धेरै यहोवाले गर्नुहुन्छ। के तपाईँ सधैँभरि बाँच्न चाहनुहुन्छ? पक्कै चाहनुहुन्छ तर तपाईँलाई अनन्त जीवन दिन यहोवा तपाईँभन्दा कैयौँ गुणा धेरै इच्छुक हुनुहुन्छ। के तपाईँ आफ्ना पापहरू क्षमा भएको चाहनुहुन्छ? पक्कै चाहनुहुन्छ तर यहोवा तपाईँलाई क्षमा दिन तपाईँभन्दा झन्‌ धेरै इच्छुक हुनुहुन्छ। हामी केवल यहोवाले उपहारस्वरूप दिनुभएको फिरौतीको बलिदानप्रति कृतज्ञ हुनुपर्छ, उहाँमाथि विश्‍वास गर्नुपर्छ र उहाँप्रति आज्ञाकारी हुनुपर्छ। फिरौतीको बलिदान यहोवा हामीलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भन्‍ने कुराको प्रमाण हो। अनि नयाँ संसारमा हामी उहाँको प्रेमबारे अझ धेरै सिक्न सक्नेछौँ।​—उप. ३:११.

फिरौतीको बलिदानबाट हामी येसुबारे के सिक्न सक्छौँ?

१०. (क) आफूलाई मृत्युदण्ड दिइन लाग्दा येसुलाई कुन कुराले चिन्तित बनायो? (ख) येसुले के-कस्ता तरिकामा यहोवाको नाम उच्च पार्नुभयो? (“ येसुको बलिदानले यहोवाको नाम उच्च पाऱ्‍यो” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१० येसु आफ्नो बुबाको प्रतिष्ठामा आँच आएको चाहनुहुन्‍न। (युह. १४:३१) येसु एक जना ईश्‍वरनिन्दक र अपराधीको रूपमा मारिन लाग्नुभएको थियो। त्यसले गर्दा आफ्नो बुबाको नाममा कलङ्‌क लाग्ने हो कि भनेर उहाँ असाध्यै चिन्तित हुनुभयो। त्यसैले उहाँले यसरी प्रार्थना गर्नुभयो: “हे मेरो बुबा, यदि सम्भव छ भने यो कचौरा मेरो सामनेबाट हटाइदिनुहोस्‌।” (मत्ति २६:३९) मृत्युसम्मै सत्यनिष्ठ रहेर येसुले आफ्नो बुबाको नाम उच्च पार्नुभयो।

११. येसुले मानिसहरूलाई प्रेम गरेको कसरी देखाउनुभयो? (युहन्‍ना १३:१)

११ फिरौतीको बलिदानबाट येसु मानिसहरूको, अझ विशेषगरि आफ्ना चेलाहरूको कत्ति धेरै ख्याल राख्नुहुन्छ भनेर सिक्न सक्छौँ। (हितो. ८:३१; युहन्‍ना १३:१ पढ्‌नुहोस्‌।) उदाहरणको लागि, येसुलाई पृथ्वीमा आफूले गर्नुपर्ने केही कामहरू एकदमै चुनौतीपूर्ण हुनेछ र अन्तमा यातना भोगेर मर्नुपर्नेछ भन्‍ने कुरा थाह थियो। तैपनि उहाँले ती कामहरू किन गर्नुभयो? किनकि येसुले त्यसलाई यहोवाले दिनुभएको असाइनमेन्टको रूपमा मात्र हेर्नुभएको थिएन। बरु उहाँले मानिसहरूप्रतिको प्रेमले गर्दा ती कामहरू गर्नुभयो। उहाँले मानिसहरूलाई साक्षी दिन, सिकाउन र विभिन्‍न तरिकामा मदत गर्न आफ्नो तनमन लगाउनुभयो। आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात उहाँले आफ्ना प्रेषितहरूको खुट्टा धोइदिनुभयो अनि तिनीहरूलाई सान्त्वना र निर्देशन दिनुभयो। (युह. १३:१२-१५) उहाँ यातनाको खम्बामा टाँगिनुभएको बेला उहाँले आफूसँगै टाँगिएका अपराधीलाई आशा दिनुभयो। साथै उहाँले युहन्‍नालाई आफ्नी आमाको हेरचाह गर्ने जिम्मेवारी दिएर आमाको ख्याल राखेको पनि देखाउनुभयो। (लुका २३:४२, ४३; युह. १९:२६, २७) यसरी फिरौतीको बलिदानबाट मात्र होइन, पृथ्वीमा हुनुहुँदा उहाँले जे-जति गर्नुभयो, ती सबैबाट उहाँ मानिसहरूलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भन्‍ने कुरा प्रस्ट देखियो।

१२. येसुले हाम्रो लागि अझै पनि कस्ता कामहरू गर्दै हुनुहुन्छ?

१२ हुनत येसु हाम्रो लागि “एकै चोटि सदाको लागि मर्नुभयो।” (रोमी ६:१०) तर उहाँले अझै पनि हाम्रो लागि थुप्रै कामहरू गर्दै हुनुहुन्छ। उहाँ हामीलाई फिरौतीको बलिदानले गर्दा सम्भव भएका थुप्रै असल कुराहरू दिन आफ्नो समय र शक्‍ति प्रयोग गर्दै हुनुहुन्छ। उहाँ अहिले राजा, प्रधानपुजारी र मण्डलीको शिरको रूपमा सेवा गर्दै हुनुहुन्छ। (१ कोरि. १५:२५; एफि. ५:२३; हिब्रू २:१७) उहाँ अभिषिक्‍त जनहरू र ठूलो भीड जम्मा गर्ने काममा नेतृत्व लिँदै हुनुहुन्छ र यो काम महासङ्‌कष्ट अन्त हुनुअघि नै पूरा भइसकेको हुनेछ। b (मत्ति २५:३२; मर्कु. १३:२७) साथै यस अन्तको दिनमा उहाँ हाम्रो लागि आध्यात्मिक भोजनको प्रबन्ध गर्ने काममा पनि व्यस्त हुनुहुन्छ। (मत्ति २४:४५) अनि आफ्नो हजार वर्षीय शासनको दौडान उहाँले हाम्रो हितको लागि थुप्रै काम गर्नुहुनेछ। हो, यहोवाले हामीलाई आफ्नो छोरा दिनुभयो—हाम्रो लागि मर्न मात्र होइन, हाम्रो लागि थुप्रै असल कामहरू पनि गर्न।

सिक्न नछोड्‌नुहोस्‌

१३. हामीप्रति यहोवा र येसुको प्रेमबारे अझ धेरै बुझ्न के गर्न सक्छौँ?

१३ यहोवा परमेश्‍वर र येसु ख्रिष्टले हाम्रो लागि गर्नुभएको कामबारे मनन गर्दा उहाँहरू हामीलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भनेर बुझ्नेछौँ। तपाईँ स्मरणार्थ अघिपछिका हप्ताहरूमा सुसमाचारका किताबहरू ध्यान दिएर पढ्‌न सक्नुहुन्छ। एकैचोटि धेरै अध्याय नढाक्नुहोस्‌ बरु समय लगाएर पढ्‌नुहोस्‌। हामीले यहोवा र येसुलाई प्रेम गर्नुपर्ने थप कारणहरू पत्ता लगाउने कोसिस गर्नुहोस्‌। साथै आफूले सिकेको कुरा अरूलाई पनि बताउनुहोस्‌।

१४. फिरौतीको बलिदानलगायत अन्य विषयहरूमा सिकिरहन अनुसन्धानले कसरी मदत गर्छ? (भजन ११९:९७ र फुटनोट) (चित्र पनि हेर्नुहोस्‌।)

१४ तपाईँ साक्षी हुनुभएको धेरै वर्ष भइसक्यो भने तपाईँले यहोवाको न्याय, प्रेम र फिरौतीको बलिदानजस्ता विषयहरूबारे धेरै चोटि सुनिसक्नुभयो होला। त्यसैले यस्ता विषयहरूमा नयाँ कुराहरू सिक्न बाँकी छैन जस्तो लाग्न सक्छ। वास्तवमा यी तथा अन्य विषयहरूमा सिक्ने काम कहिल्यै पनि सिद्धिँदैन। त्यसोभए तपाईँ के गर्न सक्नुहुन्छ? यस्ता विषयहरूमा हाम्रा प्रकाशनहरूमा थुप्रै जानकारी पाइन्छ। त्यसैले त्यस्ता प्रकाशनहरूको सदुपयोग गर्नुहोस्‌। बाइबल पढ्‌दै जाँदा कुनै कुरा राम्रोसँग बुझ्नुभएन भने अनुसन्धान गर्नुहोस्‌। अनि आफूले अध्ययनबाट पत्ता लगाएका कुराहरूमा मनन गर्नुहोस्‌। साथै त्यसबाट यहोवा, उहाँको छोरा अनि उहाँहरूले तपाईँलाई देखाउनुभएको प्रेमबारे के सिक्न सक्छु भनेर पनि विचार गर्नुहोस्‌।​—भजन ११९:९७ र फुटनोट पढ्‌नुहोस्‌।

साक्षी भएको धेरै वर्ष भइसके तापनि हामी फिरौतीको बलिदानप्रतिको कृतज्ञता बढाउन सक्छौँ (अनुच्छेद १४ हेर्नुहोस्‌)


१५. हामीले किन बाइबलमा पाइने सत्यहरू खोजिरहनुपर्छ?

१५ हरेक चोटि अध्ययन वा अनुसन्धान गर्दा नयाँ वा रोचक कुरा भेटिन्छ भन्‍ने छैन। तर त्यसो भन्दैमा बाइबल पढ्‌न र अनुसन्धान गर्न नछोड्‌नुहोस्‌। एक अर्थमा तपाईँ सुन चाल्ने व्यक्‍तिजस्तै हुनुहुन्छ। तिनलाई सुनको एउटा सानो टुक्रा भेट्टाउन पनि घण्टौँ वा थुप्रै दिन लाग्न सक्छ। तैपनि तिनी धैर्य गर्दै सुन खोजिरहन्छन्‌ किनकि सुनको एउटा सानो टुक्रा पनि निकै बहुमूल्य हुन्छ। सोच्नुहोस्‌ त, बाइबलमा पाइने सत्यहरू झन्‌ कत्ति बहुमूल्य होला! (भज. ११९:१२७; हितो. ८:१०) त्यसैले धैर्य गर्नुहोस्‌ अनि दिनदिनै बाइबल पढ्‌न नछोड्‌नुहोस्‌।​—भज. १:२.

१६. हामी कसरी यहोवा र येसुबारे सिकेका कुराहरू लागू गर्न सक्छौँ?

१६ अध्ययन गर्दा सिकेको कुरा लागू गर्ने तरिकाहरूबारे सोच्नुहोस्‌। जस्तै, यहोवाको न्यायबारे अध्ययन गरेपछि अरूसित निष्पक्ष व्यवहार गरेर उहाँको अनुकरण गर्नुहोस्‌। येसुले आफ्नो बुबा र मानिसहरूलाई देखाउनुभएको प्रेमबारे अध्ययन गरेपछि यहोवाको नामको खातिर दुःख भोग्न अनि भाइबहिनीलाई मदत दिन इच्छुक भएर येसुको अनुकरण गर्नुहोस्‌। साथै येसुले जस्तै साक्षी दिनुहोस्‌। यसो गर्नुभयो भने यहोवाले मानिसजातिको लागि गर्नुभएका कुराहरूबारे अरूले पनि थाह पाउन सक्नेछन्‌ र फिरौतीको बलिदानमा विश्‍वास गर्न सक्नेछन्‌।

१७. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

१७ फिरौतीको बलिदानबारे बुझ्दै गयौँ अनि त्यसप्रतिको कृतज्ञता बढाउँदै गयौँ भने यहोवा र येसुप्रतिको हाम्रो प्रेम बढ्‌दै जानेछ। अनि हामीप्रति उहाँहरूको प्रेम पनि बढ्‌दै जानेछ। (युह. १४:२१; याकु. ४:८) त्यसैले फिरौतीको बलिदानबारे सिकिरहन यहोवाले मिलाउनुभएका प्रबन्धहरूको सदुपयोग गरिरहौँ। यसपछिको लेखमा फिरौतीको बलिदानबाट हामी के-कस्ता लाभ उठाउन सक्छौँ अनि यहोवाले हामीलाई देखाउनुभएको प्रेमको लागि कृतज्ञ भएको कसरी देखाउन सक्छौँ, त्यसबारे छलफल गर्नेछौँ।

गीत १०७ ईश्‍वरीय प्रेमको नमुना

a थप व्याख्या: “मनन गर्नु” भनेको कुनै विषयमा ध्यान दिनु र त्यसबारे गहिरिएर सोच्नु हो।

b एफिसी १:१० मा पावलले उल्लेख गरेको “स्वर्गका कुराहरू” जम्मा गर्ने काम अनि मत्ति २४:३१ र मर्कुस १३:२७ मा येसुले उल्लेख गर्नुभएको ‘चुनिएका जनहरू’ जम्मा गर्ने काम एउटै होइन। पावलले यहोवाले आफ्नो पवित्र शक्‍तिले अभिषेक गरेर येसुसँगै शासन गर्ने व्यक्‍तिहरू रोज्नुहुने समयलाई सङ्‌केत गर्दै थिए। येसुले भने बाँकी रहेका अभिषिक्‍त जनहरूलाई महासङ्‌कष्टको दौडान स्वर्गमा जम्मा गरिने समयलाई सङ्‌केत गर्दै हुनुहुन्थ्यो।