सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ५

गीत १०८ परमेश्‍वरको अटल प्रेम

यहोवाको प्रेमबाट हामी कस्तो लाभ उठाउन सक्छौँ?

यहोवाको प्रेमबाट हामी कस्तो लाभ उठाउन सक्छौँ?

“ख्रिष्ट येसु यस संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभयो।” ​—१ तिमो. १:१५.

सिक्न सकिने कुरा

फिरौतीको बलिदानबाट हामी कस्ता लाभहरू उठाउन सक्छौँ र हामी कसरी यहोवाप्रति कृतज्ञ भएको देखाउन सक्छौँ?

१. हामीले के गऱ्‍यौँ भने यहोवा खुसी हुनुहुनेछ?

 मानौँ तपाईँले कसैलाई माया गरेर एकदमै सुन्दर अनि उपयोगी उपहार दिनुहुन्छ। उपहार पाउने व्यक्‍तिले त्यसलाई कतै थन्काएर राख्छन्‌ र त्यसको वास्तै गर्दैनन्‌ भने तपाईँलाई कस्तो लाग्छ? पक्कै पनि दुःख लाग्छ। तर अर्कोतर्फ यदि तिनले तपाईँले दिनुभएको उपहार प्रयोग गर्छन्‌ र कृतज्ञता व्यक्‍त गर्छन्‌ भने तपाईँलाई एकदमै खुसी लाग्छ। त्यसरी नै यहोवाले पनि हामीलाई बहुमूल्य उपहार दिनुभएको छ। उहाँले हाम्रो लागि आफ्नो एक मात्र प्यारो छोरा दिनुभयो। यस अनमोल उपहारको लागि अनि उहाँले देखाउनुभएको प्रेमको लागि कृतज्ञता व्यक्‍त गऱ्‍यौँ भने यहोवा एकदमै खुसी हुनुहुनेछ।​—युह. ३:१६; रोमी ५:७, ८.

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

तर समय बित्दै जाँदा हामीलाई फिरौतीको बलिदान बहुमूल्य लाग्न छोड्‌न सक्छ र त्यसप्रतिको कृतज्ञता पनि घट्‌दै जान सक्छ। त्यसो हुनु भनेको यहोवाले दिनुभएको त्यो सुन्दर उपहारलाई कतै थन्काएर राख्नुजस्तै हो। त्यसो हुन नदिन हामीले यहोवा र येसुले हाम्रो निम्ति गर्नुभएका कुराहरूबारे सोचिरहनुपर्छ, त्यसलाई बिर्सनु हुँदैन। यस लेखले हामीलाई त्यसै गर्न मदत गर्नेछ। हामी यस लेखमा फिरौतीको बलिदानबाट अहिले अनि भविष्यमा के-कस्ता लाभ उठाउन सक्छौँ भनेर विचार गर्नेछौँ। साथै यहोवाको प्रेमप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौँ, त्यो पनि विचार गर्नेछौँ। अझ खासगरि स्मरणार्थ अघिपछिका हप्ताहरूमा के गर्न सक्छौँ, त्यो बुझ्नेछौँ।

हामीले अहिले कस्ता लाभहरू उठाइरहेका छौँ?

३. फिरौतीको बलिदानबाट हामीले अहिले कस्तो लाभ उठाइरहेका छौँ?

येसु ख्रिष्टको फिरौतीको बलिदानबाट हामीले अहिले पनि लाभ उठाइरहेका छौँ। जस्तै, यही फिरौतीको आधारमा यहोवा हाम्रा पापहरू क्षमा गर्नुहुन्छ। उहाँ हामीलाई क्षमा दिन बाध्य हुनुहुन्‍न। तैपनि उहाँ त्यसो गर्न चाहनुहुन्छ। एक जना भजनरचयिताले यसरी कृतज्ञता व्यक्‍त गरे: “हे यहोवा, तपाईँ असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।”​—भज. ८६:५; १०३:३, १०-१३.

४. यहोवाले फिरौतीको प्रबन्ध कसको लागि गर्नुभएको हो? (लुका ५:३२; १ तिमोथि १:१५)

कसै-कसैलाई आफू यहोवाको क्षमा पाउन लायकको छैनँ जस्तो लाग्न सक्छ। वास्तवमा हामी कोही पनि यहोवाको क्षमा पाउन लायकका छैनौँ। प्रेषित पावलले पनि ‘म प्रेषित भनिन लायक छैनँ’ भनेर बताए। तर तिनले यसो पनि भने: “म जे हुँ, त्यो परमेश्‍वरको असीम अनुग्रहले गर्दा भएको हुँ।” (१ कोरि. १५:९, १०) हामीले आफ्ना पापहरूको पश्‍चात्ताप गऱ्‍यौँ भने यहोवा हामीलाई क्षमा दिनुहुन्छ। किन? हामी क्षमा पाउन लायक भएकोले त होइन तर उहाँले हामीलाई प्रेम गर्नुभएकोले। यदि तपाईँलाई आफू यहोवाको क्षमा पाउन लायकको छैनँ भन्‍ने भावनाले सताइरहेको छ भने यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: यहोवाले कहिल्यै पाप नगर्नेहरूका लागि होइन बरु आफूले गरेको पापको लागि मनैदेखि पश्‍चात्ताप गर्नेहरूका लागि फिरौतीको प्रबन्ध गर्नुभएको हो।​—लुका ५:३२; १ तिमोथि १:१५ पढ्‌नुहोस्‌।

५. आफूले गरेको सेवाको आधारमा क्षमा पाउनुपर्छ भनेर सोचाइ राख्नु ठीक हो? व्याख्या गर्नुहोस्‌।

कसै-कसैलाई यस्तो लाग्न सक्छ, “मैले यहोवाको सेवा गरेको धेरै वर्ष भइसक्यो। त्यसैले मैले उहाँको क्षमा पाउनुपर्छ।” के यस्तो सोचाइ राख्नु ठीक हो? हुनत यहोवा हामीले वफादार भई गरेको सेवाको मोल गर्नुहुन्छ। (हिब्रू ६:१०) तर फिरौतीको बलिदान हामीले काम गरेबापत पाउने तलबजस्तो त होइन। यो यहोवाले हामीलाई सित्तैँमा दिनुभएको उपहार हो। त्यसैले यदि हामी आफूले गरेको सेवाबापत यहोवाबाट क्षमा पाएका हौँ भनेर सोच्छौँ भने ख्रिष्ट बेकारमा मर्नुभयो र हामीलाई फिरौतीको खाँचो छैन भनिरहेको जस्तै हुनेछ।​—गलाती २:२१ तुलना गर्नुहोस्‌।

६. पावलले किन यहोवाको सेवामा मेहनत गरे?

हामी आफैले यहोवाको कृपा कमाउन सक्दैनौँ भनेर पावललाई थाह थियो। त्यसोभए तिनले किन यहोवाको सेवामा त्यति धेरै मेहनत गरे? आफू यहोवाको कृपा पाउन लायक छु भनेर प्रमाणित गर्न त होइन बरु उहाँको असीम अनुग्रहप्रति कृतज्ञ भएको देखाउन। (एफि. ३:७) पावलजस्तै हामी पनि जोसिलो भई यहोवाको सेवा गरिरहन्छौँ। तर उहाँको कृपा कमाउन होइन बरु त्यसप्रति कृतज्ञ भएको देखाउन।

७. हामीले फिरौतीको बलिदानबाट अहिले उठाउन सक्ने अर्को लाभ के हो? (रोमी ५:१; याकुब २:२३)

हामीले फिरौतीको बलिदानबाट अहिले उठाउन सक्ने अर्को लाभ के हो? हामी यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न सक्छौँ। a अघिल्लो लेखमा उल्लेख गरिएझैँ हामी जन्मँदा यहोवासित हाम्रो कुनै सम्बन्ध थिएन। तर फिरौतीको बलिदानले गर्दा हामीले “परमेश्‍वरसित शान्तिमय सम्बन्ध” गाँस्न र उहाँसित नजिक हुन सकेका छौँ।​—रोमी ५:१; याकुब २:२३ पढ्‌नुहोस्‌।

८. प्रार्थना गर्ने सुअवसर पाएकोमा हामी किन यहोवाप्रति कृतज्ञ छौँ?

यहोवासित घनिष्ठ सम्बन्ध गाँसेकोले हामीले पाएको एउटा सुअवसरबारे विचार गरौँ। त्यो हो, प्रार्थना गर्ने सुअवसर। यहोवा हामीले एकसाथ भेला भएर समूहको रूपमा गरेको प्रार्थना मात्र होइन बरु एक-एक जनाले गरेको व्यक्‍तिगत प्रार्थना पनि सुन्‍नुहुन्छ। प्रार्थना गर्दा हामी मनोशान्ति पाउन सक्छौँ। तर यो केवल हाम्रो मन र दिमाग शान्त पार्ने उपाय मात्र त होइन। बरु यसले यहोवासितको हाम्रो मित्रतालाई अझ प्रगाढ बनाउँछ। (भज. ६५:२; याकु. ४:८; १ युह. ५:१४) पृथ्वीमा हुनुहुँदा येसुले नियमित रूपमा प्रार्थना गर्नुभयो। किनभने यहोवा प्रार्थना सुन्‍नुहुन्छ र प्रार्थना गर्दा उहाँसितको सम्बन्ध बलियो रहिरहन्छ भनेर येसुलाई थाह थियो। (लुका ५:१६) येसुको फिरौतीको बलिदानको आधारमा हामी यहोवाको मित्र हुन सकेका छौँ र उहाँसित प्रार्थनामा कुराकानी पनि गर्न सकेका छौँ। यस्तो सुअवसर पाएकोमा हामी मनैदेखि कृतज्ञ छौँ!

हामीले भविष्यमा कस्ता लाभहरू उठाउनेछौँ?

९. यहोवाका वफादार उपासकहरूले भविष्यमा फिरौतीको बलिदानबाट कस्तो लाभ उठाउन सक्छन्‌?

यहोवाका वफादार उपासकहरूले भविष्यमा फिरौतीको बलिदानबाट कस्तो लाभ उठाउन सक्छन्‌? तिनीहरूले अनन्त जीवन पाउने छन्‌। धेरैलाई यो सम्भव छैन जस्तो लाग्छ किनभने मानिसहरू हजारौँ वर्षदेखि मरी नै रहेका छन्‌। तर यहोवाको सुरुको उद्देश्‍य मानिसहरू सधैँभरि बाँचून्‌ भन्‍ने थियो। आदमले पाप नगरेको भए सधैँभरि बाँच्ने कुरा असम्भव जस्तो लाग्ने थिएन। हुनत अहिले अनन्त जीवन असम्भव जस्तो देखिएला तर यहोवाले त्यो सम्भव तुल्याउन आफ्नो एक मात्र प्यारो छोराको जीवन दिइसक्नुभएको छ।​—रोमी ८:३२.

१०. अभिषिक्‍त जन अनि अरू भेडाको लागि कस्तो आशा छ?

१० हुनत हामीले अनन्त जीवन भविष्यमा मात्रै पाउनेछौँ तर हामीले अहिले त्यसबारे मनन गरेको यहोवा चाहनुहुन्छ। अभिषिक्‍त जनहरू स्वर्गमा जीवन पाउने र येसुसित शासन गर्ने दिनको पर्खाइमा छन्‌। (प्रका. २०:६) अरू भेडाले भने कुनै दुःख अनि पीडा नहुने सुन्दर पृथ्वीमा बाँच्ने आशा राखेका छन्‌। (प्रका. २१:३, ४) के तपाईँको आशा पृथ्वीमा सधैँभरि बाँच्ने हो? वास्तवमा यहोवाले सुरुमा मानिसजातिको लागि राख्नुभएको उद्देश्‍य त्यही नै थियो। त्यसैले यो इनाम सान्त्वना पुरस्कारजस्तो त होइन। यो अभिषिक्‍त जनहरूले स्वर्गमा पाउने इनामजत्तिकै बहुमूल्य छ। पृथ्वीमा सधैँभरि बाँच्न पाउँदा हाम्रो खुसीको सीमा नै हुनेछैन!

११-१२. नयाँ संसारमा हामीले कस्ता आशिष्‌हरू पाउन सक्नेछौँ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

११ नयाँ संसारमा तपाईँको जीवन कस्तो होला, कल्पना गर्नुहोस्‌ त! तपाईँले कुनै रोगबिमार लाग्ला कि वा मृत्यु होला कि भनेर चिन्ता गर्नुपर्नेछैन। (यसै. २५:८; ३३:२४) यहोवाले तपाईँको हरेक मनासिब इच्छा पूरा गरिदिनुहुनेछ। त्यतिबेला तपाईँ के गर्न चाहनुहुन्छ? जनावरहरू अनि चराचुरुङ्‌गीबारे अध्ययन गर्न चाहनुहुन्छ कि? म्युजिक सिक्न चाहनुहुन्छ कि? सुन्दर-सुन्दर चित्रहरू बनाउन चाहनुहुन्छ कि? त्यतिबेला घरहरूको डिजाइन र निर्माण गर्ने मानिसहरू पनि चाहिनेछ। त्यसबाहेक खेतीकिसानी गर्ने, औजारहरू बनाउने, बगैँचा लगाउने र त्यसको गोडमेल गर्ने काम पनि गर्नुपर्नेछ। (यसै. ३५:१; ६५:२१) त्यतिबेला आफूलाई मन लागेको सबै काम गर्न तपाईँसित प्रशस्तै समय हुनेछ।

१२ साथै हामीले फेरि जीवित भएर आएकाहरूलाई स्वागत गर्न पाउनेछौँ। (प्रेषि. २४:१५) अनि सृष्टिका विभिन्‍न कुराहरूलाई नजिकबाट नियालेर यहोवाबारे अझ धेरै कुरा बुझ्नेछौँ। त्यो क्षण कत्ति रमाइलो होला! (भज. १०४:२४; यसै. ११:९) अझ उत्तम कुरा त के हो भने हामीले सफा अन्तस्करण राखेर यहोवाको उपासना गर्न सक्नेछौँ किनभने त्यतिबेला हामीले पाप गर्नेछैनौँ र हामीलाई दोषी भावनाले सताउनेछैन। त्यसोभए के तपाईँ “पापको क्षणिक सुखभोग गर्न” भविष्यमा पाइने इनामलाई लत्याउनुहुन्छ? (हिब्रू ११:२५) त्यसो त पक्कै गर्नुहुन्‍न। हामीले भविष्यमा पाउने आशिष्‌हरूलाई अहिले गर्नुपर्ने त्यागहरूसित तुलनै गर्न सकिँदैन। नबिर्सनुहोस्‌, सुन्दर पृथ्वी आशामा मात्रै सीमित हुनेछैन। त्यो वास्तविकतामा परिणत हुनेछ। तर यी सब यहोवाले हामीलाई असाध्यै प्रेम गरेर आफ्नो छोरा दिनुभएकोले मात्र सम्भव भएको हो।

तपाईँ नयाँ संसारमा के गर्न चाहनुहुन्छ? (अनुच्छेद ११-१२ हेर्नुहोस्‌)


यहोवाको प्रेमप्रति कृतज्ञ भएको देखाउनुहोस्‌

१३. यहोवाको प्रेमप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ? (२ कोरिन्थी ६:१)

१३ फिरौतीको प्रबन्ध गरिदिनुभएकोमा हामी यहोवाप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौँ? आफ्नो जीवनमा उहाँको सेवालाई पहिलो स्थान दिएर। (मत्ति ६:३३) हुन पनि येसु “सबैका लागि यसकारण मर्नुभयो कि बाँच्नेहरू अबउसो आफ्नो लागि होइन तर उहाँकै लागि बाँचून्‌, जो तिनीहरूका लागि मर्नुभयो र ब्युँताइनुभयो।” (२ कोरि. ५:१५) हामी पक्कै पनि यहोवाको असीम अनुग्रहको उद्देश्‍यलाई बिर्सन चाहँदैनौँ।​—२ कोरिन्थी ६:१ पढ्‌नुहोस्‌।

१४. हामी यहोवाका निर्देशनहरूमा भरोसा गरेको कसरी देखाउन सक्छौँ?

१४ यहोवाका निर्देशनहरूमा भरोसा गरेर पनि हामी उहाँको प्रेमप्रति कृतज्ञ भएको देखाउन सक्छौँ। जस्तै, कतिसम्म पढ्‌ने अनि कस्तो काम गर्ने भनेर निर्णय गर्नुपर्दा यहोवा हामीबाट के चाहनुहुन्छ भन्‍ने कुरा पनि विचार गर्नुपर्छ। (१ कोरि. १०:३१; २ कोरि. ५:७) यहोवामाथिको भरोसा कामद्वारा देखायौँ भने उहाँमाथिको हाम्रो विश्‍वास अनि उहाँसितको हाम्रो सम्बन्ध अझ बलियो हुनेछ। अनि हामीलाई भविष्यको आशा अझै वास्तविक लाग्नेछ।​—रोमी ५:३-५; याकु. २:२१, २२.

१५. स्मरणार्थ अघिपछिका हप्ताहरूमा हामी यहोवाको प्रेमप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौँ?

१५ यहोवाको प्रेमप्रति कृतज्ञ भएको देखाउने अर्को तरिका पनि छ। त्यो हो, स्मरणार्थ अघिपछिका हप्ताहरूमा फिरौतीको बलिदानको लागि यहोवाप्रति आभारी भएको देखाएर। स्मरणार्थमा उपस्थित हुन विभिन्‍न योजना अनि तयारी गर्नुका साथै हामी त्यस कार्यक्रममा अरूलाई निम्तो दिन सक्छौँ। (१ तिमो. २:४) निम्तो दिएकाहरूलाई स्मरणार्थमा के-के हुनेछ भनेर बताउनुहोस्‌। तपाईँ तिनीहरूलाई jw.org मा भएका येसु किन मर्नुभयो? अनि येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌ भिडियोहरू पनि देखाउन सक्नुहुन्छ। साथै एल्डरहरूले निष्क्रिय भएका व्यक्‍तिहरूलाई निम्तो दिन बिर्सनु हुँदैन। हराएको भेडा बगालमा फर्कँदा स्वर्ग अनि पृथ्वीमा कत्ति रमाहट हुन्छ, कल्पना गर्नुहोस्‌ त! (लुका १५:४-७) स्मरणार्थमा एकअर्कासित मात्र होइन बरु पहिलो पटक वा लामो समयपछि आएकाहरूसित पनि कुराकानी गर्ने लक्ष्य राखौँ। यसो गऱ्‍यौँ भने तिनीहरूले न्यानो स्वागत पाएको महसुस गर्नेछन्‌।​—रोमी १२:१३.

१६. स्मरणार्थ अघिपछिका हप्ताहरूमा हामीले किन आध्यात्मिक गतिविधिमा अझ धेरै भाग लिनुपर्छ?

१६ के तपाईँ स्मरणार्थ अघिपछिका हप्ताहरूमा आध्यात्मिक गतिविधिमा अझ धेरै भाग लिन सक्नुहुन्छ? यो यहोवा अनि येसु ख्रिष्टले गर्नुभएका सबै कुराहरूको लागि कृतज्ञ भएको देखाउने राम्रो तरिका हो। हामी जति धेरै यहोवाको सेवामा भाग लिन्छौँ, त्यति नै उहाँको साथ पाएको अनुभव गर्नेछौँ। अनि नतिजास्वरूप उहाँमाथिको हाम्रो भरोसा अझ बलियो हुनेछ। (१ कोरि. ३:९) साथै दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकामा भएको स्मरणार्थ बाइबल पढाइको तालिका वा अभ्यास पुस्तिकामा भएको चार्ट प्रयोग गर्दै बाइबल पढ्‌नुहोस्‌। ती पदहरू पढेपछि तपाईँ थप अनुसन्धान पनि गर्न सक्नुहुन्छ।

१७. हामीले के गऱ्‍यौँ भने यहोवा खुसी हुनुहुनेछ? (“ यहोवाको प्रेमप्रति कृतज्ञ भएको देखाउने तरिकाहरू” पेटी पनि हेर्नुहोस्‌।)

१७ तपाईँ आफ्नो परिस्थितिको कारण यस लेखमा दिइएका सबै सुझावहरू लागू गर्न सक्नुहुन्‍न होला। तर नबिर्सनुहोस्‌, यहोवा तपाईँको सेवालाई अरूको सेवासित तुलना गर्नुहुन्‍न। बरु उहाँ तपाईँको हृदय हेर्नुहुन्छ। तपाईँ उपहारस्वरूप पाएको फिरौतीको बलिदानप्रति मनैदेखि कृतज्ञ हुनुभएको देख्दा यहोवा पक्कै खुसी हुनुहुनेछ।​—१ समु. १६:७; मर्कु. १२:४१-४४.

१८. हामी यहोवा अनि येसु ख्रिष्टप्रति किन कृतज्ञ छौँ?

१८ फिरौतीको बलिदानले गर्दा नै हामीले पापहरूको क्षमा पाएका छौँ, यहोवासित मित्रता गाँस्न सकेका छौँ र अनन्त जीवनको आशा पाएका छौँ। यहोवाले हामीलाई प्रेम गर्नुभएकोले नै यस्ता आशिष्‌हरू पाउन सम्भव भएको हो। त्यसैले उहाँको प्रेमप्रति सधैँ कृतज्ञ भइरहौँ। (१ युह. ४:१९) साथै येसु ख्रिष्टप्रति पनि कृतज्ञ भएको देखाइरहौँ। किनकि हामीप्रतिको प्रेमले गर्दा नै उहाँले हाम्रो लागि आफ्नो जीवन दिनुभयो।​—युह. १५:१३.

गीत १५४ अटल प्रेम

a येसुले फिरौतीको बलिदान चढाउनुअघि पनि यहोवाले आफ्ना उपासकहरूको पाप क्षमा गर्नुभयो। किनभने यहोवालाई आफ्नो छोरा मृत्युसम्मै वफादार रहनेछन्‌ भन्‍ने कुरामा पूरा भरोसा थियो। त्यसैले यहोवाको नजरमा फिरौतीको बलिदान तिरिसकेसरह थियो।​—रोमी ३:२५.