सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १

गीत २ यहोवा तिम्रो नाम

यहोवाको महिमा गर्नुहोस्‌

यहोवाको महिमा गर्नुहोस्‌

सन्‌ २०२५ को वार्षिक पद: “यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ।”​—भज. ९६:८.

सिक्न सकिने कुरा

हामी यहोवालाई उहाँले पाउनुपर्ने महिमा कसरी दिन सक्छौँ?

१. अहिलेका मानिसहरू कस्ता छन्‌?

 सायद तपाईँहरूले याद गर्नुभएको होला, अहिले मानिसहरू आफ्नै कुरामा मात्र चासो राख्ने गर्छन्‌। जस्तै: मानिसहरू आफूतर्फ अरूको ध्यान खिच्न र आफूले हासिल गरेका कुराहरूबारे धाक लगाउन सामाजिक सञ्जालमा जे पनि पोस्ट गर्छन्‌। तिनीहरू अरूको होइन, आफ्नो महिमा खोज्छन्‌। यस्तो स्वार्थी संसारमा यहोवा परमेश्‍वरको महिमा गर्नेहरू थोरै छन्‌। यस लेखमा हामी यहोवाको महिमा गर्नु भनेको के हो अनि हामीले किन उहाँको महिमा गर्नुपर्छ भनेर छलफल गर्नेछौँ। साथै हामी यहोवालाई कसरी उहाँले पाउनुपर्ने महिमा दिन सक्छौँ र चाँडै उहाँ आफैले पनि कसरी आफ्नो नामको महिमा गर्नुहुनेछ भनेर बुझ्नेछौँ।

यहोवाको महिमा गर्नु भनेको के हो?

२. यहोवाले सिनै डाँडामा आफ्नो महिमा कसरी प्रकट गर्नुभयो? (चित्र पनि हेर्नुहोस्‌।)

बाइबलमा यहोवालाई महिमाले भरिपूर्ण परमेश्‍वरको रूपमा वर्णन गरिएको छ। इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाएको केही समयपछि यहोवाले सानदार ढङ्‌गमा आफ्नो महिमा प्रकट गर्नुभएको थियो। यो दृश्‍य कल्पना गर्नुहोस्‌: लाखौँ इस्राएलीहरू परमेश्‍वरको कुरा सुन्‍न सिनै डाँडाको फेदमा भेला भएका छन्‌। डाँडामा कालो बादल मडारिन थाल्छ। अचानक ठूलो भूकम्प गएर जमिन हल्लिन थाल्छ अनि डाँडाको टाकुरामा ज्वालामुखी विस्फोट भएजस्तो देखिन्छ। बिजुली चम्किन्छ अनि मेघ गर्जिन्छ र सिङ फुकेको ठूलो आवाज सुनिन्छ। (प्रस्थ. १९:१६-१८; २४:१७; भज. ६८:८) यसरी यहोवाले आफ्नो महिमा प्रकट गर्नुहुँदा इस्राएलीहरू कति आश्‍चर्यचकित भए होलान्‌!

सिनै डाँडामा यहोवाले इस्राएलीहरूसामु सानदार ढङ्‌गमा आफ्नो महिमा प्रकट गर्नुभयो (अनुच्छेद २ हेर्नुहोस्‌)


३. हामी कसरी यहोवाको महिमा गर्न सक्छौँ?

तर के हामी मानिसहरूले यहोवाको महिमा गर्न सक्छौँ? अवश्‍य सक्छौँ! यहोवाको महिमा गर्ने एउटा तरिका भनेको अरूलाई उहाँको अथाह शक्‍ति र मनमोहक गुणहरूबारे बताउनु हो। उहाँको मदत पाएर हामीले जे-जति गर्न सकेका छौँ, त्यसको श्रेय उहाँलाई दिएर पनि हामी उहाँको महिमा गर्न सक्छौँ। (यसै. २६:१२) यहोवाको महिमा गर्ने सन्दर्भमा राजा दाउदले उत्कृष्ट उदाहरण बसाले। तिनले सारा इस्राएलीसामु यहोवालाई यसरी प्रार्थना गरे: “हे यहोवा! महानता, पराक्रम, गौरव, वैभव र ऐश्‍वर्य तपाईँकै हुन्‌। स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्‌।” दाउदले प्रार्थना गर्न सिद्ध्याएपछि “सारा समुदायले . . . यहोवाको प्रशंसा गऱ्‍यो।”—१ इति. २९:११, २०.

४. येसुले कसरी यहोवाको महिमा गर्नुभयो?

पृथ्वीमा हुनुहुँदा येसुले थुप्रै चमत्कारहरू गर्नुभयो। ती चमत्कारहरूको श्रेय यहोवालाई नै दिएर उहाँले यहोवाको महिमा गर्नुभयो। (मर्कु. ५:१८-२०) उहाँले यहोवा कत्ति महान्‌ हुनुहुन्छ भनी मानिसहरूलाई बताएर र तिनीहरूसित दयालु व्यवहार गरेर पनि यहोवाको महिमा गर्नुभयो। एकपटक येसु एउटा सभाघरमा मानिसहरूलाई सिकाउँदै हुनुहुन्थ्यो। त्यहाँ एउटा यस्ती स्त्री पनि थिई, जसलाई १८ वर्षदेखि प्रेतले सताएको थियो। प्रेतले असाध्यै दुःख दिएकोले ऊ कमजोर र कुप्री भएकी थिई र ठाडो उभिन सक्दिनथी। त्यस स्त्रीलाई देखेपछि येसु दयाले भरिनुभयो र यसो भन्‍नुभयो: “ए नारी, तिम्रो दुर्बलताबाट तिमी मुक्‍त भयौ।” त्यसपछि येसुले ऊमाथि आफ्नो हात राख्नुभयो र उत्तिखेरै ऊ सीधा भई। यहोवाले आफूलाई स्वस्थ र बलियो बनाइदिनुभएकोले उसले “परमेश्‍वरको महिमा गर्न थाली।” (लुका १३:१०-१३) त्यस स्त्रीसित जस्तै हामीसित पनि यहोवाको महिमा गर्नुपर्ने कारण छन्‌।

हामी किन यहोवाको महिमा गर्छौँ?

५. हामीले किन यहोवाको आदर गर्नुपर्छ?

हामी यहोवाको महिमा गर्छौँ किनभने हामी उहाँलाई गहिरो आदर गर्छौँ। हामीले उहाँको आदर गर्नुपर्ने थुप्रै कारणहरू छन्‌। यहोवा सर्वशक्‍तिमान्‌ हुनुहुन्छ; उहाँसित अथाह शक्‍ति छ। (भज. ९६:४-७) उहाँ बुद्धिमान्‌ हुनुहुन्छ; उहाँले बनाउनुभएका कुराहरूमा उहाँको बुद्धि प्रस्टै देखिन्छ। उहाँ हाम्रो जीवनको स्रोत हुनुहुन्छ र हामीलाई जीवन धान्‍न चाहिने सबै कुरा दिनुहुन्छ। (प्रका. ४:११) उहाँ वफादार हुनुहुन्छ। (प्रका. १५:४) उहाँले गर्नुभएको कुनै पनि प्रतिज्ञा अधुरो रहेको छैन; उहाँ आफ्ना सबै प्रतिज्ञा पूरा गर्नुहुन्छ। (यहो. २३:१४) त्यसैले भविष्यवक्‍ता यर्मियाले यहोवाबारे यसो भने: “जातिजातिका बुद्धिमान्‌ मानिसहरूमध्ये अनि यी सारा राज्यभरि तपाईँजस्तो अरू कोही छैन।” (यर्मि. १०:६, ७) हो, हामीले यहोवाको आदर गर्नुपर्ने थुप्रै कारणहरू छन्‌। तर यहोवा हाम्रो आदर पाउन मात्र होइन, प्रेम पाउन पनि योग्य हुनुहुन्छ।

६. हामी किन यहोवालाई प्रेम गर्छौँ?

हामी यहोवाको महिमा गर्छौँ किनभने हामी उहाँलाई असाध्यै प्रेम गर्छौँ। हामी किन यहोवालाई प्रेम गर्छौँ? किनकि उहाँसित थुप्रै असल गुणहरू छन्‌। उहाँ कृपालु र दयालु हुनुहुन्छ। (भज. १०३:१३; यसै. ४९:१५) उहाँ समानुभूतिशील हुनुहुन्छ; उहाँ हाम्रो पीडा महसुस गर्नुहुन्छ। (जक. २:८) उहाँ हामीलाई उहाँको नजिक हुन र उहाँको साथी बन्‍न मदत गर्नुहुन्छ। (भज. २५:१४; प्रेषि. १७:२७) उहाँ नम्र हुनुहुन्छ; “आकाश र पृथ्वीमा दृष्टि लगाउन उहाँ निहुरिनुहुन्छ। उहाँ दीनदुःखीलाई धुलोबाट अनि गरिबलाई खरानीको थुप्रोबाट उठाउनुहुन्छ।” (भज. ११३:६, ७) उहाँका यस्ता गुणहरू देख्दा के हामी उहाँको महिमा गर्न उत्प्रेरित हुँदैनौँ र?​—भज. ८६:१२.

७. हामीले कस्तो मौका पाएका छौँ?

हामी यहोवाको महिमा गर्छौँ किनभने मानिसहरूले उहाँबारे सत्य कुरा थाह पाएको हामी चाहन्छौँ। अहिले थुप्रैलाई यहोवाबारे सत्य कुरा थाह छैन। किन? किनभने सैतानले यहोवाबारे नानाथरीका झूटा कुराहरू फैलाएर मानिसहरूको दिमाग अन्धो तुल्याइदिएको छ। (२ कोरि. ४:४) सैतानले यहोवा निर्दयी हुनुहुन्छ, उहाँलाई हाम्रो चासो छैन र उहाँले गर्दा नै संसारमा दुःखकष्ट भएको हो भनेर मानिसहरूलाई भ्रममा पारिरहेको छ। तर हामीलाई भने उहाँबारे सत्य कुरा थाह छ। त्यसैले मानिसहरूलाई यहोवाबारे बताउने र तिनीहरूलाई पनि उहाँको महिमा गर्न मदत दिने मौका पाएका छौँ। (यसै. ४३:१०) भजन अध्याय ९६ मा यहोवाको महिमा गर्नेबारे जोड दिइएको छ। अब आउनुहोस्‌, यस अध्यायका केही पदहरू छलफल गरौँ। ती पदहरू पढ्‌दा हामी कसरी यहोवालाई उहाँले पाउनुपर्ने महिमा दिन सक्छौँ भनेर विचार गरौँ।

हामी कसरी यहोवालाई उहाँले पाउनुपर्ने महिमा दिन सक्छौँ?

८. यहोवाको महिमा गर्ने एउटा तरिका के हो? (भजन ९६:१-३)

भजन ९६:१-३ पढ्‌नुहोस्‌। हामी मानिसहरूलाई यहोवाबारे बताएर उहाँको महिमा गर्न सक्छौँ। यी पदहरूमा परमेश्‍वरका जनहरूलाई ‘यहोवाको निम्ति गाउन,’ “उहाँको नामको प्रशंसा” गर्न, “उहाँले गर्नुहुने उद्धारको सुसमाचार हरदिन घोषणा” गर्न र “जातिजातिहरूमाझ उहाँको गौरवको बखान” गर्न भनिएको छ। यसरी हामी विभिन्‍न तरिकामा आफ्नो बोलीद्वारा यहोवाको महिमा गर्न सक्छौँ। वफादार यहुदीहरू अनि प्रथम शताब्दीका ख्रिष्टियनहरू यहोवा कस्तो किसिमको परमेश्‍वर हुनुहुन्छ र उहाँले तिनीहरूको लागि कस्ता असल कामहरू गरिदिनुभएको छ भनेर बताउनदेखि पछि हटेनन्‌। (दानि. ३:१६-१८; प्रेषि. ४:२९) हामी पनि कसरी त्यसो गर्न सक्छौँ?

९-१०. एन्जेलिना बहिनीको अनुभवबाट तपाईँले के सिक्नुभयो? (चित्र पनि हेर्नुहोस्‌।)

अमेरिकामा बस्ने एन्जेलिना a बहिनीको अनुभव विचार गरौँ। तिनले भर्खरै एउटा कम्पनीमा काम सुरु गरेकी थिइन्‌। अनि त्यहाँ नयाँ कर्मचारीहरूको लागि एउटा मिटिङ राखिएको थियो, जसमा सबैले पालैपालो आफूबारे केही बताउनुपर्ने थियो। त्यतिबेला एन्जेलिनाले सबैको अगाडि आफू एक जना यहोवाको साक्षी हुँ भनेर बताउन निकै साहस बटुल्नुपरेको थियो। यहोवाको साक्षीको रूपमा आफूले रमाइलो जीवन बिताइरहेको कुरा देखाउन तिनले फोटोहरू पनि तयार पारेकी थिइन्‌। तर तिनीभन्दा अघिको सहकर्मीले आफू साक्षी परिवारमा हुर्केको कुरा बताए र साक्षीहरूको विश्‍वासको धज्जी उडाए। एन्जेलिना भन्छिन्‌: “मेरो मुटु ढुकढुक भइरहेको थियो तर मैले मनमनै सोचेँ, ‘यसरी यहोवाको विषयमा झूटो कुरा बोलेको म कसरी हेरिरहन सक्छु र? मैले केही त भन्‍नै पर्छ!’”

१० एन्जेलिनाले आफ्नो बोल्ने पालो आएपछि मनमनै छोटो प्रार्थना गरिन्‌। त्यसपछि एन्जेलिनाले ती सहकर्मीलाई आदरपूर्वक यसो भनिन्‌: “मेरो र तपाईँको हुर्काइ उस्तै-उस्तै रहेछ। म पनि साक्षी परिवारमै हुर्केँ र अहिले पनि यहोवाको साक्षी नै हुँ।” एन्जेलिनालाई एकदमै डर लागिरहेको थियो। तैपनि तिनले नहडबडाईकन आफ्नो विश्‍वासबारे बताइन्‌ र विभिन्‍न आध्यात्मिक गतिविधिमा साथीहरूसँग खिचेको फोटोहरू पनि देखाइन्‌। (१ पत्रु. ३:१५) एन्जेलिनाको कुरा सुनेपछि साक्षीहरूप्रति ती सहकर्मीको नकारात्मक सोचाइ अलि कम भयो। उनले यहोवाका साक्षीहरूसित सङ्‌गत गर्दाको रमाइला पलहरूबारे पनि बताए। एन्जेलिना यसो भन्छिन्‌: “हामीले यहोवाको पक्षमा बोल्नै पर्छ। यसरी बोल्न पाउनु हाम्रो लागि सम्मानको कुरा हो।” अरूले यहोवाको अनादर गर्दा हामीले पनि एन्जेलिना बहिनीले जस्तै यहोवाको प्रशंसा अनि महिमा गर्न सक्छौँ। यो साँच्चै ठूलो सुअवसर हो!

हामी आफ्नो बोलीद्वारा यहोवाको महिमा गर्न सक्छौँ (अनुच्छेद ९-१०) b


११. यहोवाका उपासकहरूले कसरी भजन ९६:८ को सिद्धान्त लागू गर्दै आएका छन्‌?

११ भजन ९६:८ पढ्‌नुहोस्‌। हामी आफूसित भएका अनमोल कुराहरू दिएर यहोवाको महिमा गर्न सक्छौँ। साँचो उपासकहरूले यसरी नै यहोवाको महिमा गर्दै आएका छन्‌। (हितो. ३:९) उदाहरणको लागि, इस्राएलीहरूले मन्दिर बनाउन र मर्मत गर्न अनुदान दिए। (२ राजा १२:४, ५; १ इति. २९:३-९) येसुका चेलाहरूले “आफ्नो सम्पत्ति खर्चेर” उहाँ र उहाँका प्रेषितहरूको सेवा गरे। (लुका ८:१-३) प्रथम शताब्दीका ख्रिष्टियनहरूले पनि आफ्ना भाइबहिनीहरूको लागि राहत सामग्री दिए। (प्रेषि. ११:२७-२९) आज हामी पनि त्यसरी नै स्वैच्छिक अनुदान दिएर यहोवाको महिमा गर्न सक्छौँ।

१२. हामीले दिने अनुदानले कसरी यहोवाको महिमा गर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१२ हामीले दिने अनुदानले कसरी यहोवाको महिमा गर्छ भनेर बुझ्न एउटा अनुभव विचार गरौँ। सन्‌ २०२० मा जिम्बावेमा लामो समयसम्म खडेरी पऱ्‍यो। लाखौँ मानिस भोकमरीको चपेटामा परे। प्रिस्का नाम गरेकी एक बहिनीलाई पनि जीवन धान्‍न निकै गाह्रो पऱ्‍यो। तैपनि तिनी आफ्नो तालिकाअनुसारै हरेक बुधबार र शुक्रबार साक्षीकार्यमा जान्थिन्‌। खनजोत गर्ने सिजनमा पनि खेतमा काम नगरी हिँडिरहेको देख्दा तिनका छिमेकीहरूले तिनलाई यसरी गिज्याउँथे, “हेर न! तिमी भोकभोकै मर्छौ।” तर प्रिस्का भने ढुक्क हुँदै यसो भन्थिन्‌, “यहोवा आफ्ना सेवकहरूलाई कहिल्यै त्याग्नुहुन्‍न।” त्यसको केही समयपछि नै तिनले हाम्रो सङ्‌गठनबाट राहत सामग्री पाइन्‌। हाम्रा अनुदानहरूले गर्दा नै त्यसरी खाँचोमा परेकाहरूलाई राहत सामग्री दिन सम्भव भएको हो। यो देखेपछि प्रिस्काका छिमेकीहरूले छक्क मान्दै यसो भने, “तिमीले भनेको कुरा सही रहेछ। तिम्रो परमेश्‍वरले तिमीलाई त्याग्नुभएन। हामीलाई पनि उहाँबारे बताऊ न!” त्यसपछि तिनका सात जना छिमेकी हाम्रा सभाहरूमा आउन थाले।

हामी आफूसित भएका अनमोल कुराहरूद्वारा यहोवाको महिमा गर्न सक्छौँ (अनुच्छेद १२ हेर्नुहोस्‌) c


१३. हामी कसरी आफ्नो आचरणद्वारा यहोवाको महिमा गर्न सक्छौँ? (भजन ९६:९)

१३ भजन ९६:९ पढ्‌नुहोस्‌। हामी आफ्नो आचरणद्वारा यहोवाको महिमा गर्न सक्छौँ। यहोवाको मन्दिरमा सेवा गर्ने पुजारीहरू शारीरिक तवरमा स्वच्छ हुनुपर्थ्यो। (प्रस्थ. ४०:३०-३२) आज हामी पनि शारीरिक तवरमा स्वच्छ हुनुपर्छ। तर त्योभन्दा महत्त्वपूर्ण कुरा हाम्रो आचरण शुद्ध हुनुपर्छ। (भज. २४:३, ४; १ पत्रु. १:१५, १६) हामीले “पुरानो व्यक्‍तित्व” फुकालेर मिल्काउनुपर्छ अर्थात्‌ अशुद्ध आनीबानी अनि सोचाइ त्याग्नुपर्छ। त्यसपछि “नयाँ व्यक्‍तित्व” धारण गर्नुपर्छ अर्थात्‌ हाम्रो सोचाइ र व्यवहारमा यहोवाका गुणहरू झल्किनुपर्छ। (कल. ३:९, १०) अनैतिकता र हिंसामा चुर्लुम्मै डुबेका व्यक्‍तिहरू पनि यहोवाको मदत पाएर परिवर्तन हुन सक्छन्‌ र नयाँ व्यक्‍तित्व धारण गर्न सक्छन्‌।

१४. ज्याकको अनुभवबाट तपाईँले के सिक्नुभयो? (चित्र पनि हेर्नुहोस्‌।)

१४ ज्याकको अनुभव विचार गरौँ। तिनी असाध्यै हिंस्रक र खतरनाक भएकोले मान्छेहरू तिनलाई ‘राक्षस’ भनेर बोलाउँथे। तिनले गरेका अपराधहरूले गर्दा तिनलाई मृत्युदण्डको सजाय सुनाइयो। तिनी झ्यालखानामै छँदा कैदीहरूलाई भेट्‌न आएका एक जना भाइले तिनलाई बाइबल अध्ययनको प्रस्ताव राखे र तिनले त्यो स्विकारे। बाइबल अध्ययन गर्दै जाँदा ज्याकले आफ्नो पुरानो व्यक्‍तित्व फुकालेर मिल्काए र बप्तिस्माको लागि तयार भए। ज्याक पूरै परिवर्तन भइसकेका थिए। त्यसैले तिनलाई मृत्युदण्ड दिन लगिँदा झ्यालखानाका केही गार्डहरूको आँखा रसायो। एक जना गार्डले यसो भने: “ज्याकलाई झ्यालखानामा ल्याउँदा ऊजस्तो खत्तम मान्छे अरू कोही थिएन। तर अहिले ऊ सबैभन्दा असल मान्छे भएको छ।” ज्याकलाई मृत्युदण्ड दिइएपछिको हप्ता झ्यालखानामा सभा गर्न आएका भाइहरूले त्यस सभामा एक जना कैदीलाई देखे, जो पहिलो पटक सभामा आएका थिए। उनी सभामा आउनुको कारण के थियो? ज्याक परिवर्तन भएको देखेर उनलाई अचम्म लागेको थियो र उनी पनि यहोवाको सेवक बन्‍न चाहन्थे। हाम्रो आचरणले यहोवाको महिमा गर्छ भनेर यस अनुभवबाट स्पष्ट हुन्छ।​—१ पत्रु. २:१२.

हामी आफ्नो आचरणद्वारा यहोवाको महिमा गर्न सक्छौँ (अनुच्छेद १४ हेर्नुहोस्‌) d


यहोवाले अब चाँडै कसरी आफ्नो नामको महिमा गर्नुहुनेछ?

१५. यहोवाले अब चाँडै कसरी आफ्नो नामको महिमा गर्नुहुनेछ? (भजन ९६:१०-१३)

१५ भजन ९६:१०-१३ पढ्‌नुहोस्‌। भजन ९६ अध्यायका यी अन्तिम पदहरूमा यहोवा निष्पक्ष न्यायाधीश र राजा हुनुहुन्छ भनेर वर्णन गरिएको छ। यहोवाले अब चाँडै कसरी आफ्नो नामको महिमा गर्नुहुनेछ? मानिसजातिको न्याय गर्नुभएर। अब चाँडै उहाँले आफ्नो पवित्र नाममा कलङ्‌क लगाउने महान्‌ बेबिलोनलाई नाश गर्नुहुनेछ। (प्रका. १७:५, १६; १९:१, २) महान्‌ बेबिलोन नाश भएको देखेपछि कसै-कसैले हामीसितै यहोवाको उपासना गर्न थाल्न सक्छन्‌। अनि आरमागेडोनमा यहोवाले उहाँको विरोध गर्नेहरूलाई र उहाँको नामको निन्दा गर्नेहरूलाई नामेट पार्नुहुनेछ। तर उहाँलाई प्रेम गर्नेहरू, उहाँको आज्ञा मान्‍नेहरू र उहाँको महिमा गर्नेहरूलाई भने जोगाउनुहुनेछ। (मर्कु. ८:३८; २ थिस्स. १:६-१०) ख्रिष्टको हजार वर्षीय शासनपछि अन्तिम जाँच हुनेछ। त्यसपछि भने यहोवाको नाम पूर्णतया पवित्र हुनेछ। (प्रका. २०:७-१०) त्यतिबेला “समुद्र पानीले भरिएझैँ पृथ्वी यहोवाको महिमाको ज्ञानले भरिनेछ।”​—हब. २:१४.

१६. तपाईँ के गर्न चाहनुहुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१६ स्वर्ग अनि पृथ्वीमा रहेका सबैले यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई दिँदा कत्ति रमाइलो हुनेछ! तर त्यो दिन नआउन्जेल हामी हरेक मौकामा यहोवाको महिमा गरिरहौँ! यही कुरालाई जोड दिँदै परिचालक निकायले सन्‌ २०२५ को वार्षिक पद भजन ९६:८ रोजेको छ, जहाँ यस्तो लेखिएको छ: “यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ।”

स्वर्ग अनि पृथ्वीमा रहेका सबैले यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई दिनेछन्‌! (अनुच्छेद १६ हेर्नुहोस्‌)

गीत १२ महान्‌ परमेश्‍वर यहोवा

a केही नाम परिवर्तन गरिएका छन्‌।

b चित्रको व्याख्या: एन्जेलिनाको अनुभवको पुनःअभिनय।

c चित्रको व्याख्या: प्रिस्काको अनुभवको पुनःअभिनय।

d चित्रको व्याख्या: ज्याकको अनुभवको पुनःअभिनय।