तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—टर्की
प्रथम शताब्दीका ख्रीष्टियनहरूले धेरै भन्दा धेरै मानिसलाई ‘राज्यको सुसमाचार’ सुनाउन निकै मेहनत गरे। (मत्ती २४:१४) कोही-कोही त सुसमाचार सुनाउन विभिन्न देशमा पनि गए। उदाहरणको लागि, मिसनरी यात्राको दौडान प्रेषित पावलले अहिलेको टर्की भन्ने देशमा गएर व्यापक रूपमा सुसमाचार प्रचार गरे। * त्यसको लगभग २,००० वर्षपछि सन् २०१४ मा टर्कीमा फेरि एउटा विशेष प्रचार अभियान सुरु भयो। किन? यसमा क-कसले भाग लिए?
“यहाँ के हुँदै छ?”
टर्कीको जनसङ्ख्या ७ करोड ९० लाख छ। यति धेरै जनसङ्ख्या भएको देशमा प्रकाशक भने २,८०० भन्दा अलि धेरै मात्र छन्। हिसाब गर्ने हो भने एक जना प्रकाशकले लगभग २८,००० मानिसलाई प्रचार गर्नुपर्छ। त्यहाँका प्रकाशकहरूले थोरै मानिसलाई मात्र प्रचार गर्न सकेका छन्। त्यस विशेष प्रचार अभियानको उद्देश्य छोटो समयमा सकेसम्म धेरै मानिसलाई सुसमाचार सुनाउनु थियो। त्यस अभियानमा स्थानीय प्रकाशकका साथै विभिन्न देशबाट टर्किश भाषा बोल्न आउने ५५० भाइबहिनीले भाग लिए। नतिजा कस्तो भयो?
व्यापक साक्षी दिइयो। इस्तानबुलको एउटा मण्डलीले यस्तो लेख्यो: “मानिसहरूले हामीलाई सोधे: ‘विशेष अधिवेशन हुन लागेको हो र? जताततै यहोवाका साक्षीहरू देख्छु त।’” इजमिर सहरको मण्डलीले यस्तो लेख्यो: “ट्याक्सी पार्क गर्ने ठाउँमा काम गर्ने एक जना मान्छेले स्थानीय एल्डरलाई सोधे, ‘यहाँ के हुँदै छ? निकै चहलपहल देख्छु त।’” हो, त्यस अभियानले धेरैको ध्यान खिचेको थियो।
विदेशबाट आएका साक्षीहरूले विस्तृत रूपमा प्रचार गरे। डेनमार्क-का स्टेफन-ले यसो भने: “यहोवाबारे कहिल्यै नसुनेका मानिसहरूलाई हरेक दिन प्रचार गर्न पाएँ। मैले मानिसहरूलाई यहोवाको नाम थाह दिन पाएँ।” फ्रान्स-का जिन-डेभिड-ले यस्तो लेखे: “एउटै इलाकामा घण्टौं प्रचार गऱ्यौं। एकदम रमाइलो भयो। धेरैजसो मानिसलाई यहोवाका साक्षीहरूबारे केही थाह थिएन। हामीले प्रायः सबै घरमा कुराकानी सुरु गर्न, भिडियो देखाउन अनि साहित्य दिन सक्यौं।”
ती ५५० प्रकाशकले दुई हप्तामै ६०,००० साहित्य वितरण गरे। साँच्चै, त्यस अभियानले गर्दा व्यापक रूपमा साक्षी दिन सकियो।
प्रचारकार्यप्रतिको जोस बढ्यो। त्यस विशेष अभियानले स्थानीय भाइबहिनीमा सकारात्मक प्रभाव पाऱ्यो। थुप्रैले पूर्ण-समय सेवा सुरु गर्ने विचार गरे। अभियान सकेपछिको एक वर्षको अवधिमा नियमित अग्रगामीको सङ्ख्या २४ प्रतिशतले बढ्यो।
विदेशबाट आएका साक्षीहरू अभियान सकेपछि आ-आफ्नो देश फर्के। त्यस अभियानले गर्दा आफ्नो प्रचारकार्यमा सकारात्मक प्रभाव परेको कुरा तिनीहरूले बताए। जर्मनी-की सीरेन बहिनीले यस्तो लेखिन्: “अनौपचारिक साक्षी दिन मलाई असाध्यै लाज लाग्थ्यो। तर टर्कीका भाइबहिनीहरू भने अनौपचारिक साक्षी दिन सिपालु हुनुहुन्छ। त्यस विशेष अभियानमा भाग लिन पाएर, उहाँहरूको राम्रो उदाहरण देखेर अनि धेरै चोटि प्रार्थना गरेर मैले पनि अनौपचारिक साक्षी दिन सकें। सबवेमा (भूमिगत मार्ग) प्रचार गर्न अनि पर्चाहरू पनि दिन सकें। अहिले म पहिलाजस्तो लजालु छैन।”
जर्मनी-का योआनेस-ले भने: “प्रचार गर्ने सन्दर्भमा टर्कीका भाइबहिनीबाट थुप्रै राम्रा कुरा सिकें। उहाँहरू सकेसम्म धेरै मानिसलाई सत्य बाँड्न चाहनुहुन्छ। उहाँहरू मौका पाउनेबित्तिकै साक्षी दिनुहुन्छ। जर्मनी फर्केपछि मैले पनि त्यसै गर्ने निर्णय गरें। अहिले म पनि धेरै मानिसलाई प्रचार गर्दै छु।”
फ्रान्स-की जेनिप-ले यसो भनिन्: “त्यस अभियानले मेरो प्रचारकार्यमा धेरै मदत गऱ्यो। म अझै साहसी भएकी छु। यहोवामाथिको भरोसा पनि बढेको छ।”
भाइबहिनी एकअर्कासित घनिष्ठ भए। अभियानमा भाग लिन आएका साक्षीहरूले त्यहाँका भाइबहिनीमाझ छाएको प्रेम र एकता देखे। यसले ती साक्षीहरूमा अमेट छाप पाऱ्यो। अघि उल्लेख गरिएका जिन-डेभिडले भने: “भाइबहिनीले हाम्रो अतिथि सत्कार गर्नुभयो। हामीलाई साथी अनि आफ्नै परिवारको सदस्य ठान्नुभयो। आफ्नो घरमा बास दिनुभयो। संसारको जुनसुकै ठाउँमा बसे पनि हामी सबै भाइबहिनी हौं भनेर थाह थियो; प्रकाशनहरूमा पनि धेरै चोटि पढेको थिएँ। तर पहिलो चोटि आफैले अनुभव गर्न पाएँ। यहोवाको जन हुन पाएकोमा गर्व गर्छु। यस्तो सुअवसर दिनुभएकोमा यहोवालाई धेरै धन्यवाद दिन्छु।”
फ्रान्स-की क्लार-ले यसो भनिन्: “डेनमार्क, फ्रान्स, जर्मनी वा टर्की जहाँसुकै बसे पनि हामी सबै एउटै परिवार हौं। परमेश्वरले एउटा ठूलो इरेजरले सबै देशका सिमानाहरू मेटिदिनुभएको जस्तो लाग्छ।”
फ्रान्स-की स्टेफनी-ले भनिन्: “त्यस विशेष अभियानबाट मैले एउटा कुरा सिकें: हामी कुनै भाषा वा संस्कृतिले गर्दा होइन, यहोवाप्रतिको प्रेमले गर्दा एकतामा रहन सकेका हौं।”
चिरस्थायी फाइदाहरू
विशेष अभियानका सहभागीहरूले टर्कीको आवश्यकता पूरा गर्न त्यहाँ सर्नेबारे सोच्न थाले। धेरै जना त सरी पनि सके। यी भाइबहिनी साँच्चै प्रशंसायोग्य छन्।
उदाहरणको लागि, २५ जना प्रकाशक भएको एउटा सानो पृथक समूहलाई विचार गरौं। धेरै वर्षसम्म त्यहाँ एक जना मात्र एल्डर थिए। सोच्नुहोस् त, सन् २०१५ मा जर्मनी र नेदरल्याण्ड्सबाट ६ जना साक्षी त्यहाँ बसाइँ सर्दा त्यहाँका भाइबहिनी कत्ति खुसी भए होलान्!
आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्दै
बसाइँ सरेर टर्कीमा आएका साक्षीहरू त्यहाँको जीवनबारे के भन्छन्? हुन त जीवन कहिलेकाहीं चुनौतीपूर्ण हुन सक्छ तर आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्दा थुप्रै आशिष् पनि पाइन्छ। आउनुहोस्, केही अनुभव विचार गरौं।
स्पेन-का ४१ वर्षका विवाहित भाइ फेडेरिको यसो भन्छन्: “आफूसित तीन थुप्रो भौतिक कुराहरू नहुँदा हलुका महसुस हुँदो रहेछ अनि सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान दिन सकिने रहेछ।” ‘अरूलाई पनि यस्तै सेवा गर्न प्रोत्साहन दिनुहुन्छ कि’ भनेर सोधिंदा तिनले यसो भने: “पक्कै दिन्छु! यहोवाको विषयमा अरूलाई सिकाउने उद्देश्यले विदेशमा बसाइँ सर्नु भनेको आफूलाई यहोवाको हातमा सुम्पनुजस्तै हो। यसो गर्दा हामीले पहिलाभन्दा अझ धेरै यहोवाको माया महसुस गर्न सक्नेछौं।”
नेदरल्याण्ड्स-का ५७ वर्षका विवाहित भाइ रूडी यसो भन्छन्: “आवश्यकता धेरै भएको ठाउँमा गएर यहोवाबारे कहिल्यै सुन्न नपाएका मानिसहरूलाई प्रचार गर्न पाउँदा कस्तो आनन्द
लाग्छ! अनि सत्य सिक्न पाएर आनन्दित भएका मानिसहरू देख्दा असाध्यै खुसी लाग्छ।”जर्मनी-का ४२ वर्षका एक विवाहित भाइ ससा यसो भन्छन्: “हरेक पटक प्रचारमा जाँदा यहोवाबारे कहिल्यै सुन्न नपाएका मानिसहरू भेट्छु। तिनीहरूलाई यहोवाबारे बताउन पाउँदा साह्रै आनन्द लाग्छ।”
जापान-की ३६ वर्षकी विवाहित बहिनी आत्सुको यसो भन्छिन्: “पहिला-पहिला आरमागेडोन छिटो आओस् जस्तो लाग्थ्यो। तर टर्की सरेपछि मात्र बुझें, यहोवाले किन अहिलेसम्म धीरज धारण गरिरहनुभएको छ भनेर। यसको लागि म उहाँप्रति आभारी छु। यहोवाले विश्वव्यापी प्रचारकार्यलाई कसरी डोऱ्याउँदै हुनुहुन्छ भन्ने कुरा विचार गर्दा उहाँसित नजिक हुने इच्छा अझै बढेको छ।”
रूस-की ३१ वर्षकी एलिसा बहिनी भन्छिन्: “यस्तो प्रकारको प्रचारकार्यमा भाग लिएर यहोवाको सेवा गर्दा उहाँ कत्ति भलो हुनुहुन्छ भनेर बुझ्न सकें।” (भज. ३४:८) उनी अझै यसो भन्छिन्: “यहोवा मेरो बुबा मात्र होइन, मिल्ने साथी पनि हुनुहुन्छ। नौलो परिस्थितिहरूको सामना गर्नुपर्दा मैले यहोवाको मदत पाएको अनुभव गरेकी छु। मेरो जीवन खुसीका पलहरू, रमाइला अनुभवहरू र यहोवाको प्रशस्त आशिष्ले भरिएको छ।”
“खेततिर हेर”
त्यस विशेष अभियानले गर्दा टर्कीका थुप्रै मानिसले सुसमाचार सुन्न पाए। तर अझै पनि प्रचार गर्न बाँकी रहेका इलाका थुप्रै छन्। टर्कीमा बसाइँ सरेका साक्षीहरूले हरेक दिन प्रचारमा जाँदा यहोवाबारे कहिल्यै नसुन्न नपाएका मानिसहरूलाई भेट्टाउन सकेका छन्। के तपाईं पनि त्यस्तै इलाकामा सेवा गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने हामी तपाईंलाई यो प्रोत्साहन दिन्छौं: ‘आफ्नो आँखा उठाएर खेततिर हेर्नुहोस्, किनकि बाली पाकेर पहेंला भइसकेका छन्।’ (यूह. ४:३५) के तपाईं “बाली पाकेर पहेंला भइसकेका” ठाउँमा सेवा गर्न सक्नुहुन्छ? सक्नुहुन्छ भने त्यसको लागि व्यावहारिक कदमहरू चाल्नुहोस्। तपाईं यो कुरामा ढुक्क हुन सक्नुहुन्छ: “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” सुसमाचार फैलाउन तपाईंले गर्ने प्रयासमा यहोवाले प्रशस्त आशिष् दिनुहुनेछ।—प्रेषि. १:८.
^ अनु. 2 “त्यो असल भूमिलाई हेर्नुहोस्” (अङ्ग्रेजी) पुस्तिकाको पृष्ठ ३२-३३ हेर्नुहोस्।