सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल अध्ययनलाई कसरी अझ प्रभावकारी र रमाइलो बनाउने?

बाइबल अध्ययनलाई कसरी अझ प्रभावकारी र रमाइलो बनाउने?

यहोशूको अगाडि एउटा ठूलो चुनौती आइपरेको थियो। तिनले ठूलठूला बाधा अडचनहरूको सामना गर्दै इस्राएल राष्ट्रलाई प्रतिज्ञा गरिएको देशसम्म डोऱ्‍याउनुपर्ने थियो। तर तिनी सफल हुनेछन्‌ भनेर यहोवाले आश्‍वासन दिनुभयो र तिनलाई यस्तो प्रोत्साहन दिनुभयो: ‘बलियो र साहसी हो। मेरा सबै व्यवस्था पालन गर्‌। त्यसमाथि तैंले दिन-रात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू र तैँले उन्‍नती गर्नेछस्‌ र सफलता पाउनेछस्‌।’—यहो. १:७, ८.

अहिलेको समय “असाध्यै कठिन” भएकोले हामीले पनि ठूलठूला चुनौतीहरूको सामना गर्नुपर्छ। (२ तिमो. ३:१) यहोवाले यहोशूलाई दिनुभएको सल्लाह पालन गरेर हामी पनि यहोशूजस्तै सफल हुन सक्छौँ। हामीले नियमित रूपमा बाइबल पढ्‌नुपर्छ अनि परीक्षाहरू सामना गर्दा बाइबलका सिद्धान्तहरू होसियारीसाथ लागू गर्नुपर्छ।

तर हामीमध्ये धेरैलाई अध्ययन गर्न त्यति रुचि नलाग्न सक्छ अनि अध्ययन कसरी गर्ने भनेर पनि थाह नहुन सक्छ। तर बाइबल अध्ययन गर्नु एकदमै महत्त्वपूर्ण भएकोले “ यसो गरिहेर्नुहोस्‌” भन्‍ने पेटीमा दिइएका सुझावहरू विचार गर्नुहोस्‌। ती सुझावहरू लागू गर्नुभयो भने तपाईँको बाइबल अध्ययन अझ प्रभावकारी र रमाइलो हुन सक्छ।

भजनहारले यसरी गाए, “तपाईंका आज्ञाहरूको गोरेटोमा मलाई चलाउनुहोस्‌। किनकि त्यसैमा म प्रसन्‍न हुन्छु।” (भज. ११९:३५) परमेश्‍वरको वचन अध्ययन गर्नुभयो भने तपाईँले साँचो आनन्द पाउनुहुनेछ। आध्यात्मिक धन खोज्न मेहनत गर्नुभयो भने तपाईँले बहुमूल्य रत्नहरू भेट्टाउनुहुनेछ।

हुनत तपाईँले यहोशूले जस्तै पूरै राष्ट्रलाई डोऱ्‍याउनु त नपर्ला, तैपनि तपाईँका आफ्नै चुनौतीहरू छन्‌। त्यसैले यहोशूले जस्तै परमेश्‍वरको वचनमा लेखिएका कुराहरू अध्ययन गर्नुहोस्‌ र लागू गर्नुहोस्‌ किनकि ती तपाईँकै फाइदाको लागि लेखिएका हुन्‌। त्यसो गर्नुभयो भने तपाईँले पनि उन्‍नति गर्नुहुनेछ र सफलता पाउनुहुनेछ।