तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—म्यानमार
“फसल त साँच्चै प्रशस्त छ तर खेतालाहरू भने थोरै छन्। त्यसकारण, फसलका मालिकलाई आफ्नो बाली काट्न खेतालाहरू पठाइदिनुहोस् भनेर बिन्ती गर।” (लूका १०:२) लगभग २,००० वर्षअघि येशूले भन्नुभएको यो कुरा आज म्यानमारको अवस्थासित मिल्दोजुल्दो छ। कसरी? आज म्यानमारमा ४,२०० जति प्रकाशकहरूले साढे ५ करोड मानिसहरूमाझ सुसमाचार सुनाइरहेका छन्।
तर “फसलका मालिक” यहोवाले विभिन्न देशका सयौँ भाइबहिनीलाई दक्षिण-पूर्वी एसियाको यस देशमा बसाइँ सर्न उत्प्रेरित गर्नुभएको छ। तिनीहरूले यहाँ भइरहेको आध्यात्मिक कटनीको कामलाई सघाइरहेका छन्। तिनीहरू किन आफ्नो देश छोडेर म्यानमार आए? म्यानमारमा बसाइँ सर्न तिनीहरूले कस्तो मदत पाए? अनि तिनीहरूले अहिले के-कस्ता आशिष्हरू पाइरहेका छन्? आउनुहोस्, हेरौँ।
“आउनुहोस्, हामीलाई अझ धेरै अग्रगामीको खाँचो छ!”
केही वर्षअघिको कुरा हो, जापानका अग्रगामी भाइ काजुहिरोलाई छारे रोग लाग्यो। तिनी अचानक बेहोस भए र तिनलाई अस्पताल पुऱ्याइयो। डाक्टरले तिनलाई दुई वर्षसम्म गाडी नचलाउनू भने। यो सुनेर काजुहिरो आत्तिए। तिनलाई लाग्यो, “मैले अब कसरी अग्रगामी सेवा गर्ने? मलाई यो छोड्न पटक्कै मन छैन।” तिनले यहोवालाई व्यग्र प्रार्थना गरे अनि अग्रगामी सेवा गरिरहने कुनै बाटो खोलिदिनुहोस् भनेर बिन्ती गरे।
काजुहिरो भन्छन्: “त्यसको एक महिनापछि, म्यानमारमा सेवा गरिरहेको मेरो एक जना साथीले मलाई छारे रोग लागेको थाह पायो र यसो भन्यो: ‘म्यानमारमा धेरैजसो बसमा यात्रा गरिन्छ। यहाँ आयौ भने गाडी नचलाईकनै प्रचार गर्न सक्छौ नि!’ म्यानमार जान मेरो स्वास्थ्यले साथ देला कि नदेला भनेर मैले डाक्टरसित सल्लाह गरेँ। डाक्टरले यसो भन्दा म त छक्कै परेँ: ‘म्यानमारबाट अहिले एक जना मस्तिष्क विशेषज्ञ यहाँ आउनुभएको छ। म उहाँसित तपाईँको परिचय गराइदिन्छु। तपाईँलाई छारे रोगले फेरि दुःख दियो भने उहाँले तपाईंको उपचार गरिहाल्नुहुन्छ नि!’ डाक्टरको त्यो कुरा सुन्दा यहोवाले मेरो प्रार्थनाको जवाफ दिनुभएको जस्तो लाग्यो।”
त्यसको लगत्तै काजुहिरोले म्यानमार शाखा कार्यालयमा ई-मेल पठाएर आफू र आफ्नी पत्नी म्यानमारमा अग्रगामीको रूपमा सेवा गर्न इच्छुक भएको कुरा बताए। त्यसको पाँच दिनपछि नै शाखा कार्यालयबाट यस्तो जवाफ आयो: “आउनुहोस्, हामीलाई अझ धेरै अग्रगामीको खाँचो छ!” काजुहिरो र तिनकी पत्नी मारीले आ-आफ्नो कार बेचे, म्यानमारको भिसा लिए अनि हवाईजहाजको टिकट पनि काटे। अहिले तिनीहरू मन्डले सहरको साङ्केतिक भाषाको समूहमा खुसीसाथ सेवा गरिरहेका छन्। काजुहिरो भन्छन्: “यस अनुभवले गर्दा भजन ३७:५ मा परमेश्वरले गर्नुभएको प्रतिज्ञामाथि हाम्रो विश्वास अझ बलियो भएको छ। त्यहाँ यसो भनिएको छ: ‘आफ्नो मार्ग परमप्रभुलाई सुम्पी। उहाँमानै भरोसा राख्, अनि उहाँले सो पुऱ्याइदिनुहुनेछ।’”
यहोवा बाटो खोलिदिनुहुन्छ
म्यानमारका यहोवाका साक्षीहरूले २०१४ मा विशेष अधिवेशन आयोजना गर्ने सुअवसर पाएका थिए। त्यसबेला थुप्रै देशबाट भाइबहिनीहरू प्रतिनिधिको रूपमा त्यहाँ आए। तीमध्ये एक जना अमेरिकाबाट आएकी ३४ वर्षकी बहिनी मोनिक थिइन्। तिनी भन्छिन्: “अधिवेशनबाट फर्केपछि, मैले अब जीवनमा कस्तो कदम चाल्नुपर्छ भन्नेबारे यहोवालाई प्रार्थना गरेँ। आफ्नो आध्यात्मिक लक्ष्यहरूबारे आमाबुबासँग पनि कुरा गरेँ। मैले म्यानमार गएर सेवा गर्नु राम्रो हुन्छ भन्ने कुरामा हामी सबै सहमत भयौँ। तर अन्तिम निर्णय गर्नुअघि केही समय लाग्यो अनि थुप्रै चोटि प्रार्थना पनि गर्नुपऱ्यो।” त्यसको कारण के थियो?
मोनिक भन्छिन् “येशूले आफ्ना चेलाहरूलाई खर्च हिसाब गर्ने सल्लाह दिनुभयो। त्यसैले मैले आफैलाई सोधेँ: ‘के मसित बसाइँ सर्न पुग्ने खर्च छ? के म त्यहाँ गएपछि थोरै समय मात्र गरेर पनि आफ्नो खर्च धान्न सक्छु?’” तिनी भन्छिन्: “त्यति टाढा गएर बस्न मसित पर्याप्त खर्च रहेनछ भनेर मैले थाह पाएँ।” त्यसोभए तिनी कसरी बसाइँ सर्न सकिन् त?—लूका १४:२८.
मोनिक भन्छिन्: “एक दिन मेरो हाकिमले मलाई भेट्न बोलाउनुभयो। मलाई कामबाट निकाल्ने कुरा गर्न बोलाउनुभएको हो कि भनेर निकै डर लाग्यो। तर उहाँले उल्टो मेरो राम्रो कामको लागि धन्यवाद पो दिनुभयो! त्यसपछि उहाँले मलाई बोनसस्वरूप केही रकम दिने कुरा गर्नुभयो। मलाई ऋण तिर्न जति पैसा चाहिन्थ्यो, मैले ठ्याक्क त्यति नै बोनस पाएँ!”
मोनिक डिसेम्बर २०१४ देखि म्यानमारमा सेवा गरिरहेकी छिन्। यसरी आवश्यकता धेरै भएको ठाउँमा गएर प्रचार गर्दा तिनी कस्तो महसुस गर्छिन्? तिनी भन्छिन्: “यहाँ सेवा गर्न पाएकोमा म एकदमै खुसी छु। म अहिले तीन जनासित बाइबल अध्ययन गरिरहेकी छु। मेरो एक जना बाइबल विद्यार्थी ६७ वर्षको हुनुहुन्छ। उहाँ मलाई भेट्दा सधैँ मुस्कुराउँदै अङ्गालो हाल्नुहुन्छ। परमेश्वरको नाम यहोवा हो भनेर थाह पाउँदा उहाँ रुनुभयो। उहाँले भन्नुभयो: “परमेश्वरको नाम यहोवा हो भनेर मैले आज जीवनमा पहिलो पटक थाह पाएँ। हुनत तपाईँ मभन्दा आधा उमेरको मात्र हुनुहुन्छ, तैपनि तपाईँले मलाई जीवनकै सबैभन्दा महत्त्वपूर्ण कुरा सिकाउनुभयो।’ त्यो सुनेर मैले पनि आँसु थाम्नै सकिनँ। यस्ता अनुभवहरूले आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्दा साँच्चै सन्तोषजनक जीवन बिताउन सकिन्छ भनेर मैले महसुस गरेकी छु।” मोनिकले हालै राज्य प्रचारकहरूका लागि स्कुल-मा भाग लिने सुअवसर पाइन्।
अरू भाइबहिनीहरू भने यहोवाका साक्षीहरूको वार्षिक पुस्तक २०१३ (अङ्ग्रेजी) मा छापिएको म्यानमारको विवरण पढेर यहाँ बसाइँ सर्न उत्प्रेरित भए। तीस वर्ष नाघेकी बहिनी ली दक्षिण-पूर्वी एसियाकै एउटा देशमा बस्थिन्। तिनी पूरा समय जागिर खान्थिन् तर वार्षिक पुस्तक-मा म्यानमारबारे पढेपछि भने तिनले त्यहाँ सेवा गर्नेबारे सोच्न थालिन्। तिनी भन्छिन्: “म २०१४ मा यङ्गुनमा आयोजित विशेष अधिवेशनमा उपस्थित भएकी थिएँ। त्यहाँ मैले म्यानमारको चिनियाँ इलाकामा बसाइँ सरेर सेवा गरिरहेको एक दम्पतीलाई भेटेँ। म चिनियाँ भाषा बोल्ने भएकोले मैले पनि म्यानमारमा सरेर त्यहाँको चिनियाँ समूहलाई मदत गर्ने निर्णय गरेँ। मैले मोनिकसित मिलेर योजना बनाएँ अनि हामी मन्डले सहरमा सऱ्यौँ। यहोवाको आशिष्ले गर्दा हामी दुवैले एउटा स्कुलमा पढाउने पार्ट टाइम काम पायौँ अनि स्कुलनजिकै कोठा पनि पायौँ। यहाँको मौसम गर्मी छ अनि केही असुविधाहरू पनि छन् तर मलाई यहाँ सेवा गर्न एकदमै मन पर्छ। यहाँका मानिसहरू सरल जीवन बिताउँछन् तर तिनीहरू नम्र छन् अनि सुसमाचार सुन्नको लागि समय पनि दिन्छन्। यहोवाले यहाँको प्रचारकार्यलाई तीव्र गतिमा अघि बढाइरहनुभएको देख्न पाउनु रोमाञ्चक कुरा हो। म यहाँ मन्डलेमै रहेर सेवा गरेको यहोवा चाहनुहुन्छ भन्ने कुरामा म ढुक्क छु।”
यहोवा प्रार्थना सुन्नुहुन्छ
यहोवा साँच्चै प्रार्थना सुन्नुहुन्छ भनेर आवश्यकता धेरै भएको ठाउँमा बसाइँ सरेका थुप्रैले अनुभव गरेका छन्। उदाहरणको लागि, ३७ वर्षका जुम्पे र ३५ वर्षकी तिनकी पत्नी नाओलाई विचार गर्नुहोस्। तिनीहरू जापानको एउटा साङ्केतिक मण्डलीमा सेवा गरिरहेका
थिए। तिनीहरू किन म्यानमार सरे? जुम्पे भन्छन्: “पहिल्यैदेखि मेरी पत्नी र मैले आवश्यकता धेरै भएको अर्को देशमा सेवा गर्ने लक्ष्य राखेका थियौँ। जापानमा हाम्रो साङ्केतिक भाषाको मण्डलीबाट एक जना भाइ म्यानमार सर्नुभएको थियो। हुनत हामीले थोरै मात्र पैसा बचत गर्न सकेका थियौँ तैपनि मे २०१० मा हामी पनि म्यानमार सऱ्यौँ। म्यानमारका भाइबहिनीले हामीलाई न्यानो स्वागत गर्नुभयो!” म्यानमारको साङ्केतिक भाषाको इलाका जुम्पेलाई कस्तो लाग्छ? तिनी भन्छन्: “चासो दिनेहरू प्रशस्तै छन्। हामीले साङ्केतिक भाषाको भिडियोहरू देखाउँदा बहिरा घरधनीहरू छक्क पर्छन्। यहाँ सरेर यहोवाको सेवा गर्ने निर्णय गरेकोमा हामी साँच्चै खुसी छौँ!”जुम्पे र नाओले कसरी खर्च जुटाउन सकेका छन्? जुम्पे भन्छन्: “म्यानमार सरेको तीन वर्षपछि हामीले पहिला बचत गरेको पैसा लगभग सकिनै आँटेको थियो अनि हामीसित अर्को वर्षको लागि कोठा भाडा तिर्न पुग्ने पैसा थिएन। मेरी पत्नी र मैले थुप्रै पटक व्यग्र प्रार्थना गऱ्यौँ। त्यसपछि हामीले सोच्दै नसोचेको कुरा भयो। हामीले शाखा कार्यालयबाट एउटा चिठी पायौँ। त्यसमा हामीलाई अस्थायी विशेष अग्रगामीको रूपमा सेवा गर्ने निम्तो दिइएको थियो! हामीले आफ्नो भरोसा यहोवामा राख्यौँ र उहाँले हामीलाई त्याग्नुहुन्न रहेछ भनेर महसुस गऱ्यौँ। उहाँले हाम्रो हरेक आवश्यकता पूरा गरिदिनुभएको छ।” हालै जुम्पे र नाओले पनि राज्य प्रचारकहरूका लागि स्कुल-मा भाग लिए।
यहोवा थुप्रैलाई उत्प्रेरित गर्नुहुन्छ
त्रिचालीस वर्षका सिमोन इटालीका हुन् अनि तिनकी पत्नी ३७ वर्षीया आना न्युजिल्यान्डकी हुन्। तिनीहरूलाई म्यानमारमा सर्न केले उत्प्रेरित गऱ्यो? आना भन्छिन्: “वार्षिक पुस्तक २०१३ (अङ्ग्रेजी) मा छापिएको म्यानमारको विवरणले!” सिमोन भन्छन्: “म्यानमारमा सेवा गर्न पाउनु ठूलो सुअवसर हो। यहाँको जीवन एकदमै सरल छ, जसले गर्दा यहोवाको सेवामा अझ धेरै समय बिताउन सकिन्छ। आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्दा यहोवाले ख्याल राख्नुभएको अनुभव गर्न पाउनु साँच्चै खुसीको कुरा हो।” (भज. १२१:५) आना भन्छिन्: “म यति धेरै आनन्दित पहिला कहिल्यै भएकी थिइनँ। अहिले हाम्रो जीवन सरल छ। मैले आफ्नो पतिसित धेरै समय बिताउन सकेकी छु अनि हामी एकअर्कासित अझ नजिक भएका छौँ। हामीले यस नयाँ ठाउँमा प्यारा साथीहरू पनि पाएका छौँ। यहाँका मानिसहरू यहोवाका साक्षीहरूप्रति नकारात्मक सोचाइ राख्दैनन् अनि चासो दिने मानिसहरू प्रशस्तै छन्!”
आना भन्छिन्: “एक दिन मैले विश्वविद्यालयमा अध्ययन गरिरहेकी एउटी केटीलाई बजारमा प्रचार गरेँ अनि अर्को पटक भेट्ने कुरा मिलाएँ। तिनलाई भेट्न जाँदा तिनले एक जना साथीलाई पनि ल्याएकी रहेछिन्। दोस्रो पटक भेट्न जाँदा तिनले अझै केही साथीलाई ल्याएकी थिइन्। पछि तिनले अझै अरू साथीहरू पनि ल्याइन्। अहिले म तिनीहरूमध्ये पाँच जनासित बाइबल अध्ययन गर्दै छु।” सिमोन भन्छन्: “इलाकाका मानिसहरू मित्रैलो छन् अनि नयाँ कुरा जान्न चाहन्छन्। थुप्रैले चासो दिन्छन्। चासो दिने सबैलाई भेट्नै भ्याउँदैनौँ।”
तर म्यानमारमा सरेकाहरूले के-कस्ता व्यावहारिक कदम चाल्नुपरेको थियो? जापानकी मिजुहो भन्छिन्: “मेरो पति साचिओ र मलाई आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्ने इच्छा पहिल्यैदेखि थियो। तर कहाँ जाने भनेर निर्णय गरेका थिएनौँ। वार्षिक
पुस्तक २०१३ (अङ्ग्रेजी) मा छापिएको म्यानमारको विवरण पढेपछि त्यसमा भएका अनुभवहरूले हाम्रो मनै छोयो। त्यसपछि हामी पनि म्यानमारमा सेवा गर्न सक्छौँ कि भनेर सोच्न थाल्यौँ।” साचिओ भन्छन्: “हामीले एक हप्ताको लागि म्यानमारको राजधानी यङ्गुन घुम्ने योजना बनायौँ। यसरी हामीले त्यहाँका मानिसहरू, त्यहाँको रहनसहन इत्यादि कुराहरू बुझ्न पायौँ। त्यो छोटो भ्रमणले गर्दा म्यानमारमा बसाइँ सर्ने हाम्रो निर्णय सही हो भन्ने कुरामा हामी पक्का भयौँ।”के तपाईँ पनि आवश्यकता धेरै भएको ठाउँमा सर्न सक्नुहुन्छ?
अस्ट्रेलियाका रड्नी र तिनकी पत्नी जेन दुवैको उमेर ५० वर्ष नाघिसकेको छ। तिनीहरूले आफ्नो छोरा जोर्डन र छोरी डेनिकासँगै २०१० देखि म्यानमारमा सेवा गर्दै आएका छन्। रड्नी भन्छन्: “मानिसहरू आध्यात्मिक तवरमा कत्ति भोका रहेछन् भनेर थाह पाउँदा त्यसले हाम्रो मनमा गहिरो छाप पाऱ्यो। म्यानमारजस्तै आवश्यकता भएको ठाउँमा सेवा गरिहेर्नुहोस् भनेर म अरू परिवारहरूलाई पनि प्रोत्साहन दिन चाहन्छु।” किन? तिनी भन्छन्: “यसले गर्दा हाम्रो परिवार यहोवासित अझै घनिष्ठ हुन सकेको छ। अहिले थुप्रै युवाहरू मोबाइल, गाडी, जागिर अनि यस्तै अरू कुराहरूमै अल्झिएका छन्। तर हाम्रा छोराछोरी भने प्रचार गर्नको लागि नयाँ-नयाँ शब्दहरू सिक्नमा व्यस्त छन्। बाइबलबारे थाह नभएकाहरूसित कसरी तर्क गर्न सकिन्छ भनेर तिनीहरू सिक्ने कोसिस गर्छन्, स्थानीय मण्डलीको सभामा टिप्पणी दिन तयारी गर्छन् अनि अरू रमाइला आध्यात्मिक गतिविधिमा व्यस्त छन्।”
अमेरिकाका ३७ वर्षीय भाइ ओलिभर आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न अरूलाई प्रोत्साहन दिनुको कारणबारे यसो भन्छन्: “आफूलाई बानी परेको ठाउँभन्दा टाढा गएर यहोवाको सेवा गर्दा मैले थुप्रै फाइदाहरू पाएको छु। घरदेखि टाढा रहेकोले जुनसुकै अवस्थाको सामना गर्नुपरे पनि यहोवामाथि अझ धेरै भर पर्न सिकेको छु। पहिला कहिल्यै नचिनेको तर एउटै विश्वास भएका भाइबहिनीहरूसित सेवा गर्दा मैले के महसुस गर्न सकेको छु भने, संसारमा भएको कुनै पनि कुरा परमेश्वरको राज्यजत्तिको महत्त्वपूर्ण छैन।” अहिले ओलिभर र तिनकी पत्नी आना चिनियाँ भाषाको इलाकामा जोसिलो भई सेवा गरिरहेका छन्।
अस्ट्रेलियाकी ५२ वर्षीया बहिनी ट्राजेल २००४ देखि म्यानमारमा सेवा गर्दै आइरहेकी छिन्। तिनी भन्छिन्: “परिस्थितिले दिन्छ भने म सबैलाई आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्ने प्रोत्साहन दिन चाहन्छु। हामीमा इच्छा छ भने यहोवाले हाम्रो प्रयासमा आशिष् दिनुहुन्छ भनेर मैले अनुभव गरेकी छु। मैले यस्तो किसिमको जीवन बिताउनेछु भनेर कल्पना पनि गरेकी थिइनँ। योजस्तो इनामदायी अनि सन्तोषजनक जीवन अरू कुनै छैन।”
म्यानमारमा बसाइँ सरेका भाइबहिनीले मनैदेखि व्यक्त गरेका यी अनुभवहरूले तपाईँलाई पनि पहिला कहिल्यै प्रचार नभएका इलाकाहरूमा गएर असल मन भएका मानिसहरूलाई भेट्न जुरमुऱ्याओस्। हो, यी भाइबहिनीहरू यसो भन्दै छन्: “कृपया म्यानमार आउनुहोस् र हामीलाई मदत गर्नुहोस्!”