“सबै किसिमका मानिसहरू”-प्रति दयालु भइरहौँ
येशूले आफ्ना चेलाहरूलाई सुसमाचार सुनाउने तरिका सिकाउनुहुँदा, मानिसहरूले राज्यको सुसमाचार सधैँ नै स्विकार्छन् भन्ने छैन भनेर बताउनुभयो। (लूका १०:३, ५, ६) हामीले प्रचारकार्यमा भाग लिँदा कठोर बोली बोल्ने अथवा दुर्व्यवहार गर्ने मानिस भेट्न सक्छौँ। यस्तो प्रतिक्रियाले गर्दा हामीलाई प्रचारकार्यमा भेट्ने मानिसहरूप्रति दयालु भइरहन गाह्रो लाग्न सक्छ।
दयालु व्यक्तिले अरूको आवश्यकता र समस्या देख्छ, सहानुभूति देखाउँछ र मदत गर्न अग्रसर हुन्छ। तर यदि हामी प्रचारमा भेटिने मानिसहरूप्रति दयालु हुन छोड्यौँ भने हाम्रो जोस सेलाउन थाल्छ र त्यति प्रभावकारी हुन सक्दैनौँ। अर्कोतर्फ यदि हामी दयालु भइरह्यौँ भने आगोमा अक्सिजन थप्दा त्यसको ज्वाला दनदनी बलेझैँ प्रचारकार्यप्रतिको हाम्रो जोस पनि ज्वालाझैँ बलिरहनेछ।—१ थिस्स. ५:१९.
गाह्रो अवस्थामा पनि हामी कसरी दयालु भइरहन सक्छौँ? यस सन्दर्भमा हामीले अनुकरण गर्न सक्ने तीन जनाको उदाहरण विचार गरौं: यहोवा, येशू र प्रेषित पावल।
यहोवाको दयाको देखासिकी गरौँ
हजारौँ वर्षदेखि मानिसहरूले यहोवाको नाममा कलङ्क लगाउँदै आएका छन्। तैपनि उहाँ सहनशील हुँदै “बैगुनी र दुष्टहरूप्रति दयालु” हुनुभएको छ। (लूका ६:३५) उहाँ धीरजी हुनुभएकोले मानिसहरूलाई दया देखाइरहनुभएको हो। यहोवा “सबै किसिमका मानिसहरू” बाँचेको चाहनुहुन्छ। (१ तिमो. २:३, ४) हुनत यहोवा दुष्टतालाई घृणा गर्नुहुन्छ, तर उहाँ मानिसहरूलाई अनमोल ठान्नुहुन्छ र कोही पनि नाश नहोस् भन्ने चाहनुहुन्छ।—२ पत्रु. ३:९.
मानिसहरूको दिमागलाई अन्धो तुल्याइदिन सैतान खप्पिस छ भनी यहोवालाई थाह छ। (२ कोरि. ४:३, ४) थुप्रै मानिसलाई सानैदेखि झूटा कुराहरूमा विश्वास गर्न लगाइएकोले तिनीहरूलाई सत्य कुरा स्विकार्न गाह्रो भएको छ। त्यस्ता मानिसहरूलाई मदत गर्न यहोवा एकदमै इच्छुक हुनुहुन्छ। हामी कसरी त्यसो भन्न सक्छौँ?
यहोवाले पुरातन समयका निनवेवासीहरूप्रति राख्नुभएको दृष्टिकोण विचार गरौँ। तिनीहरू हिंसात्मक स्वभावका मानिसहरू भए तापनि यहोवाले योनालाई यसो भन्नुभयो: “के यति ठूलो शहर निनवे, जसमा एक लाख बीस हजारभन्दा बढ्ता मानिसहरू छन्, जसले दाहिने र देब्रे हातै चिन्न सक्तैनन्, . . . के मैले त्यसमाथि दया नगर्नु?” (योना ४:११) निनवेवासीहरूको आध्यात्मिक अवस्था नाजुक भएको यहोवाले देख्नुभयो अनि तिनीहरूलाई कृपा देखाउनुभयो। त्यसैले तिनीहरूलाई चेतावनी दिन उहाँले योनालाई अह्राउनुभयो।
यहोवाले जस्तै हामी पनि मानिसहरूलाई बहुमूल्य ठान्छौँ। कहिलेकाहीँ हामीलाई मानिसहरूले हाम्रो सन्देश स्विकार्दैनन् जस्तो लागे तापनि तिनीहरूलाई सुसमाचार सुनाउन सक्दो कोसिस गरेर हामी यहोवाको देखासिकी गर्न सक्छौँ।
येशूको दयाको देखासिकी गरौँ
येशू पनि उहाँको बुबाजस्तै मानिसहरू आध्यात्मिक तवरमा भोकाएको देखेर दयाले भरिनुभयो। बाइबल भन्छ: “भीडलाई देखेर उहाँ टिठाउनुभयो किनभने तिनीहरू छाला काढिएका अनि गोठालो नभएर तितरबितर भएका भेडाहरूजस्ता थिए।” (मत्ती ९:३६) येशूले मानिसहरूको मनको अवस्था बुझ्नुभयो। उहाँको शिक्षा सुन्न आएका मानिसहरूलाई धर्मगुरुहरूले दुर्व्यवहार गरेका थिए र झूटा कुराहरू सिकाएका थिए भनेर उहाँले बुझ्नुभयो। हुनत चुनौतीहरू आउँदा ती मानिसहरूमध्ये थुप्रै पछि हट्नेछन् भनेर उहाँलाई थाह थियो, तैपनि उहाँले तिनीहरूलाई “धेरै कुरा सिकाउन थाल्नुभयो।”—मर्कू. ४:१-९.
मानिसहरू हाम्रो सन्देश सुन्न चाहँदैनन् भने त्यसको कारण के हो भनेर हामीले बुझ्ने प्रयास गर्नुपर्छ। ख्रीष्टियन भनौँदाहरूको नराम्रो उदाहरणले गर्दा केही मानिसहरूले बाइबलको सन्देश वा ख्रीष्टियन धर्मप्रति नकारात्मक दृष्टिकोण राखेका हुन सक्छन्। केहीलाई भने हाम्रो विश्वासबारे झूटा कुराहरू सुनाइएको हुन सक्छ। हाम्रो सन्देशप्रति चासो देखाउँदा कतिपयले समाज वा परिवारका सदस्यहरूको गिल्ला सहनुपर्ने हुन सक्छ।
कतिपय मानिसहरूलाई आफूले भोगेको पीडादायी घटनाले गहिरो भावनात्मक चोट पुऱ्याएको हुन सक्छ। किम नाम गरेकी एक मिसनरी यसो भन्छिन्: “हाम्रो इलाकाको कुनै-कुनै ठाउँमा बस्ने मानिसहरूले युद्धको चपेटामा परेर आफ्नो सबै सरसम्पत्ति गुमाएका छन्। उनीहरूसित भविष्यको उज्ज्वल आशा छैन। उनीहरू दिक्क महसुस गर्छन् अनि कसैलाई भरोसा गर्दैनन्। यस इलाकामा हाम्रो सन्देशको विरोध गर्ने मानिसहरू धेरैजसो भेटिरहन्छौँ। एक चोटि मैले पिटाइ पनि खानुपरेको थियो।”
यस्तो विरोधको बाबजुद किम कसरी दयालु भइरहन सकिन्? तिनी भन्छिन्: “मलाई नराम्रो व्यवहार गरिँदा म हितोपदेश १९:११ (NRV) सम्झने कोसिस गर्छु, जहाँ यस्तो लेखिएको छ: ‘मानिसको बुद्धिले त्यसलाई धैर्य दिन्छ।’ इलाकाका मानिसहरूको पृष्ठभूमि याद गर्दा उनीहरूप्रति दयालु भइरहन सकेकी छु। तर सबैले नै विरोध गर्छन् भन्ने छैन। त्यही इलाकामा केही राम्रा पुनःभेटहरू पनि छन्।”
हामी आफैलाई यस्तो प्रश्न सोध्न सक्छौँ, ‘हामीले प्रचार गर्दा भेट्ने मानिसको ठाउँमा म भएको भए राज्य सन्देशप्रति कस्तो प्रतिक्रिया देखाउँथेँ होला?’ उदाहरणको लागि, हामीलाई बारम्बार यहोवाका साक्षीहरूबारे झूटा कुराहरू सुनाइएको छ भने नि? यस्तो अवस्थामा हामीले पनि नकारात्मक प्रतिक्रिया देखाउँथ्यौँ होला र हामीलाई पनि दयाको खाँचो पर्थ्यो होला। मानिसहरूले हामीलाई जे जसो गरून् भन्ने चाहन्छौँ, हामीले पनि उनीहरूलाई त्यसै गर्नुपर्छ भन्ने येशूको सल्लाह सम्झियौँ भने गाह्रो अवस्थामा पनि हामी दयालु भइरहन उत्प्रेरित हुन्छौँ।—मत्ती ७:१२.
पावलको दयाको देखासिकी गरौँ
प्रेषित पावलले हिंस्रक विरोधीहरूलाई समेत दयालु व्यवहार गरे। किन? तिनले विगतमा आफू कस्तो थिएँ भनेर बिर्सेका थिएनन्। तिनले भने: “हुन त पहिले म परमेश्वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस थिएँ, तैपनि ममाथि कृपा देखाइयो, किनभने म अनजान थिएँ र ममा विश्वास थिएन।” (१ तिमो. १:१३) यहोवा र येशूले आफूलाई ठूलो कृपा देखाउनुभयो भनेर तिनले बुझे। त्यसकारण विगतमा तिनी जस्ता थिए, तिनले प्रचार गरेका कतिपय मानिसहरू पनि त्यस्तै छन् भनेर तिनले महसुस गरेको हुनुपर्छ।
पावलले भेटेका केही मानिसहरूको मनमा झूटो विश्वासले जरा गाडेको थियो। त्यतिबेला तिनले कस्तो प्रतिक्रिया देखाए? प्रेषित १७:१६ अनुसार एथेन्समा हुँदा “सहरभरि मूर्ति नै मूर्ति देखेर पावललाई छटपटी हुन थाल्यो।” तर जुन कुराले तिनलाई छटपटी भएको थियो, त्यसैलाई तिनले राम्रो साक्षी दिने मौकाको रूपमा लिए। (प्रेषि. १७:२२, २३) “कसै-कसैलाई हर हालतमा बचाउन” पावलले विभिन्न पृष्ठभूमिका मानिसहरूलाई फरक-फरक तरिकाले प्रचार गरे।—१ कोरि. ९:२०-२३.
नकारात्मक प्रतिक्रिया देखाउने वा झूटो विश्वास गर्ने मानिसहरू भेट्दा हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ? उनीहरूको कुरा सुनेर अनि कौशलतापूर्वक उनीहरूलाई ‘कल्याणको शुभसमाचार ल्याउने’ सन्देश सुनाएर। (यशै. ५२:७) डोरोथी नाम गरेकी एक बहिनी यसो भन्छिन्: “हाम्रो इलाकाका मानिसहरूलाई भगवान् कठोर र पक्षपाती हुनुहुन्छ भनेर सिकाइएको छ। त्यस्ता मानिसहरूले भगवान्माथि बलियो विश्वास राखेकोमा म उनीहरूको प्रशंसा गर्छु। अनि यहोवा मायालु परमेश्वर हुनुहुन्छ भनेर बाइबलबाट देखाउँछु र उहाँले दिनुभएको भविष्यको आशातर्फ ध्यान खिच्छु।”
“खराबीलाई भलाइले जितिरह”
अन्त झन्-झनै नजिकिदैँ जाँदा हामीले प्रचार गर्ने कोही-कोही मानिसहरूको मनोभाव पनि “झन्झन् खराब हुँदै जानेछ।” (२ तिमो. ३:१, १३) तर मानिसहरूले हाम्रो सन्देशप्रति नराम्रो प्रतिक्रिया देखाए पनि हामी दयालु भइरहन चाहन्छौँ र आफ्नो आनन्द गुमाउन चाहँदैनौँ। यहोवाले हामीलाई ‘खराबीलाई भलाइले जितिरहन’ बल दिनुहुनेछ। (रोमी १२:२१) अग्रगामी सेवा गरिरहेकी जेसिका यसो भन्छिन्: “म अक्सर घमन्डी मानिसहरू भेट्छु, जसले हामीलाई होच्याउँछन् र हाम्रो सन्देशलाई तुच्छ ठान्छन्। यस्तो बेला रिस पनि उठ्छ। कुराकानी सुरु गर्नुअघि म मनमनै यहोवालाई प्रार्थना गर्छु र मानिसहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्न सकूँ भनेर बिन्ती गर्छु। यसो गर्दा म आफ्नो भावनामा नभई मानिसहरूलाई कसरी मदत गर्न सक्छु भन्ने कुरामा ध्यान केन्द्रित गर्न मदत पाउँछु।”
हामीले प्रचारमा सँगै हिँडेको साथीलाई पनि प्रोत्साहन दिने प्रयास गर्नुपर्छ। जेसिका भन्छिन्: “हामीमध्ये कसैलाई नराम्रो प्रतिक्रिया देखाइँदा म त्यसैमा घोरिएर बस्दिनँ। बरु म कुराकानीलाई सकारात्मक विषयतिर मोड्छु। जस्तै, कसै-कसैले नकारात्मक प्रतिक्रिया देखाए पनि हाम्रो प्रचारकार्यले कत्ति ठूलो उद्देश्य पूरा गर्छ भनेर बताउँछु।”
हामीले प्रचारकार्यमा सामना गर्ने चुनौतीहरूबारे यहोवा अनजान हुनुहुन्न। हामीले उहाँजस्तै कृपालु हुने कोसिस गर्दा उहाँ कत्ति आनन्दित हुनुहुन्छ होला! (लूका ६:३६) हुनत यहोवाले मानिसहरूलाई सधैँभरि दया देखाइरहनु हुनेछैन। उहाँले सही समयमै यस युगको अन्त गर्नुहुनेछ भन्ने कुरामा ढुक्क हुन सक्छौँ। त्यतिन्जेल प्रचार गरिरहनु अत्यन्तै जरुरी छ। (२ तिमो. ४:२) त्यसैले “सबै किसिमका मानिसहरू”-लाई जोसका साथ र दयालु भई सुसमाचार सुनाएर आफ्नो जिम्मेवारी पूरा गरिरहौँ!