सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २९

“जाओ . . . चेला बनाओ”

“जाओ . . . चेला बनाओ”

“त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ।”—मत्ति २८:१९.

गीत ६० जीवन दिने सन्देश

परिचय *

१-२. (क) मत्ति २८:१८-२० मा लेखिएको येसुको आज्ञालाई विचार गर्दा ख्रिष्टियन मण्डलीको मुख्य काम के हो? (ख) यस लेखमा हामी कुन-कुन प्रश्‍नबारे विचार गर्नेछौँ?

येसुका प्रेषितहरू एउटा डाँडामा भेला भएका छन्‌। यतिखेर तिनीहरू निकै उत्साहित भएको हुनुपर्छ। फेरि जीवित हुनुभएपछि येसुले चेलाहरूलाई त्यहाँ भेला हुन भन्‍नुभएको थियो। (मत्ति २८:१६) सायद यही बेला “उहाँ एकैचोटि ५०० भन्दा धेरै भाइकहाँ देखा पर्नुभयो।” (१ कोरि. १५:६) येसुले किन चेलाहरूलाई त्यहाँ भेला हुन भन्‍नुभयो? तिनीहरूलाई एउटा रोचक काम सुम्पिन। उहाँले भन्‍नुभयो: “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ।”मत्ति २८:१८-२० पढ्‌नुहोस्‌।

येसुको यो आज्ञा सुनेका चेलाहरू पछि प्रथम शताब्दीको ख्रिष्टियन मण्डलीको भाग बने। त्यस मण्डलीको मुख्य काम अझ धेरै मानिसलाई ख्रिष्टका चेलाहरू बनाउनु थियो। * आज संसारभरि साँचो ख्रिष्टियनहरू मिलेर बनेका हजारौँ मण्डली छन्‌ अनि आज पनि ती मण्डलीहरूको मुख्य काम त्यही नै हो। यस लेखमा हामी चार वटा प्रश्‍नबारे विचार गर्नेछौँ: चेला बनाउने काम किन अत्यन्तै महत्त्वपूर्ण छ? चेला बनाउनुमा के समावेश छ? के यस काममा सबै ख्रिष्टियनको भूमिका छ? अनि यो काम गर्न किन हामीलाई धीरजको आवश्‍यकता पर्छ?

चेला बनाउने काम किन अत्यन्तै महत्त्वपूर्ण छ?

३. युहन्‍ना १४:६ र १७:३ अनुसार चेला बनाउने काम किन अत्यन्तै महत्त्वपूर्ण छ?

चेला बनाउने काम किन अत्यन्तै महत्त्वपूर्ण छ? किनकि ख्रिष्टका चेलाहरू मात्रै परमेश्‍वरको मित्र बन्‍न सक्छन्‌। त्यसका साथै येसुको पछि लाग्ने मानिसहरूले अहिले अझ राम्रो जीवन बिताउन सक्छन्‌ र भविष्यमा सधैँभरि बाँच्ने आशा पनि पाउन सक्छन्‌। (युहन्‍ना १४:६; १७:३ पढ्‌नुहोस्‌) येसुले हामीलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पनुभएको छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तर यो हामी एक्लैले गर्नुपर्ने काम होइन। प्रेषित पावलले आफू र आफ्ना केही घनिष्ठ मित्रहरूबारे यसो भने: “हामी परमेश्‍वरका सहकर्मीहरू हौँ।” (१ कोरि. ३:९) यहोवा र येसुले हामी त्रुटिपूर्ण मानिसहरूलाई साँच्चै कत्ति ठूलो सुअवसर दिनुभएको छ!

४. इभान र माटिल्डेको अनुभवबाट हामी के सिक्न सक्छौँ?

चेला बनाउने काममा भाग लिँदा हामी निकै आनन्दित हुन सक्छौँ। कोलम्बियाका इभान र तिनकी पत्नी माटिल्डेको उदाहरण विचार गर्नुहोस्‌। तिनीहरूले डाभियर नाम गरेको एक जवान मानिसलाई प्रचार गरे। डाभियरले तिनीहरूलाई यसो भने: “म असल मान्छे बन्‍न चाहन्छु तर चाहेर पनि सक्दिनँ।” डाभियर बक्सिङ खेलेर पैसा कमाउने गर्थे। तिनी लागूपदार्थ सेवन गर्थे, अचाक्ली रक्सी पिउँथे र आफ्नी प्रेमिका एरिकासँग बस्थे। इभान भन्छन्‌: “हामी तिनलाई भेट्‌न टाढासम्म जान्थ्यौँ। तिनको गाउँसम्म पुग्न हिलाम्मे बाटोमा घण्टौँ साइकल चलाउनुपर्थ्यो। डाभियरको व्यवहार र मनोवृत्तिमा सकारात्मक परिवर्तन आएको देखेर एरिका पनि बाइबल अध्ययनमा बस्न थालिन्‌।” पछि डाभियरले लागूपदार्थ सेवन गर्न, रक्सी पिउन अनि बक्सिङ खेल्न छोडे। तिनले एरिकासित विवाह पनि गरे। माटिल्डे भन्छिन्‌: “डाभियर र एरिकाले २०१६ मा बप्तिस्मा गर्दा हामीले आँसु थाम्नै सकेनौँ किनकि डाभियर यसो भन्‍ने गर्थे: ‘म असल मान्छे बन्‍न चाहन्छु तर चाहेर पनि सक्दिनँ।’” मानिसहरूलाई येसुको चेला बन्‍न मदत गर्दा हामी अपार आनन्द पाउँछौँ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

चेला बनाउनुमा के समावेश छ?

५. चेला बनाउन चाल्नुपर्ने पहिलो कदम के हो?

असल मनसाय भएका मानिसहरूलाई ‘खोज्दा’ हामीले चेला बनाउने पहिलो कदम चालिरहेका हुन्छौँ। (मत्ति १०:११) आफूले भेटेकोजति सबैलाई साक्षी दिएर हामी साँच्चै यहोवाका साक्षी हौँ भनेर देखाउँछौँ। प्रचार गर्न ख्रिष्टले दिनुभएको आज्ञा पालन गरेर हामी आफू साँचो ख्रिष्टियन भएको प्रमाण दिन्छौँ।

६. प्रचारकार्यमा सफल हुन हामीलाई केले मदत गर्छ?

हामीले भेट्‌ने केही मानिसहरू बाइबल सत्य सिक्न उत्सुक होलान्‌ तर थुप्रै मानिसलाई भने सुरुमा त्यति चासो छैन जस्तो देखिन सक्छ। हामीले तिनीहरूको चासो जगाउनुपर्ने हुन सक्छ। प्रचारकार्यमा सफल हुन हामीले राम्ररी सोचविचार गरेर योजना बनाउनुपर्छ। इलाकामा भेटिने मानिसहरूलाई चासो लाग्न सक्ने खास विषयहरू रोज्नुहोस्‌। त्यसपछि उक्‍त विषयबारे कसरी कुराकानी सुरु गर्ने भनेर योजना बनाउनुहोस्‌।

७. तपाईँ अरूसित कसरी कुराकानी सुरु गर्न सक्नुहुन्छ? अरूको विचार सुन्‍नु र कदर गर्नु किन महत्त्वपूर्ण छ जस्तो तपाईँलाई लाग्छ?

उदाहरणको लागि, तपाईँ घरधनीलाई यसरी सोध्न सक्नुहुन्छ: “हामी एउटा विषयमा सबैको विचार बुझ्दै छौँ। तपाईँको विचार पनि बताइदिनुहुन्छ कि? आज हामीले भोग्ने थुप्रै समस्याले संसारभरका मानिसहरूलाई पिरोलिरहेको छ। यस्ता समस्याहरू हटाउन संसारभरि शासन गर्ने एउटै सरकार चाहिन्छ जस्तो तपाईँलाई लाग्छ?” त्यसपछि तपाईँ दानिएल २:४४ बाट छलफल गर्न सक्नुहुन्छ। अथवा छिमेकीसित कुरा गर्दा यस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ: “तपाईँको विचारमा छोराछोरीलाई राम्रो आनीबानी कसरी सिकाउन सकिन्छ होला?” त्यसपछि व्यवस्था ६:६, ७ बाट छलफल गर्नुहोस्‌। तपाईँले मानिसहरूसित जुनसुकै विषयबारे कुरा गर्ने विचार गरे पनि पहिला तिनीहरूबारे सोच्नुहोस्‌। बाइबलले वास्तवमा के सिकाउँछ भनेर बुझ्दा तिनीहरूलाई कस्तो फाइदा हुन्छ, विचार गर्नुहोस्‌। तिनीहरूसित कुराकानी गर्ने क्रममा तिनीहरूको कुरा सुन्‍नु र तिनीहरूको विचारको कदर गर्नु महत्त्वपूर्ण छ। त्यसो गर्नुभयो भने तपाईँले तिनीहरूको अवस्था अझ राम्ररी बुझ्न सक्नुहुनेछ अनि तिनीहरूले पनि तपाईँको कुरा सुन्‍ने सम्भावना धेरै हुन्छ।

८. पुनःभेट गर्न किन निरन्तर प्रयास गर्नुपर्ने हुन्छ?

कसैले बाइबलअध्ययनगर्नेनिर्णय गर्नुअघि तपाईँले तिनलाई पुनःभेट गरिरहन आफ्नो समय खर्चिनुपर्ने र प्रयत्न गर्नुपर्ने हुन सक्छ। किन? किनभने हामी फेरि भेट्‌न जाँदा तिनीसित कुरा गर्ने मौका नमिल्न सक्छ। साथै घरधनीलाई तपाईँसित कुराकानी गर्न सजिलो महसुस भएपछि मात्र तिनी बाइबल अध्ययन गर्न इच्छुक हुनेछन्‌। त्यसको लागि तिनलाई केही पटक पुनःभेट गर्नुपर्ने हुन सक्छ। नबिर्सनुहोस्‌, बिरुवामा नियमित रूपमा पानी हालिएको छ भने त्यो बढ्‌ने सम्भावना धेरै हुन्छ। त्यसैगरि, चासो दिने व्यक्‍तिसित हामीले परमेश्‍वरको वचनबाट नियमित रूपमा छलफल गरिरह्‍यौँ भने यहोवा र ख्रिष्टप्रतिको तिनको प्रेम बढ्‌ने सम्भावना धेरै हुन्छ।

के चेला बनाउने काममा सबै ख्रिष्टियनको भूमिका छ?

योग्य व्यक्‍तिहरूलाई खोज्ने काममा संसारभरिका साक्षीहरू लागिपरेका छन्‌ (अनुच्छेद ९-१० हेर्नुहोस्‌) *

९-१०. असल मनसाय भएकाहरूलाई खोज्ने काममा प्रत्येक ख्रिष्टियन प्रचारकको भूमिका हुन्छ भनेर हामी किन भन्‍न सक्छौँ?

असल मनसाय भएकाहरूलाई खोज्ने काममा प्रत्येक ख्रिष्टियन प्रचारकको भूमिका हुन्छ। यस कामलाई हामी हराएको बच्चा खोज्ने कामसित तुलना गर्न सक्छौँ। कसरी? तीन वर्षको बालक घरबाट हराएको एउटा वास्तविक घटनालाई विचार गरौँ। त्यस बालकलाई खोज्ने काममा लगभग ५०० जना मानिस खटिएका थिए। अन्तमा, बालक हराएको झन्डै २० घण्टापछि एक जना स्वयम्‌सेवकले उसलाई मकैको ठूलो खेतमा फेला पारे। बालकलाई फेला पारेपछि ती स्वयम्‌सेवकले त्यसको श्रेय आफैले लिएनन्‌। बरु तिनले यसो भने: “सयौँ मानिसको प्रयासले गर्दा बालकलाई फेला पार्न सकिएको हो।”

१० थुप्रै मानिस त्यो बालकजस्तै छन्‌। तिनीहरूलाई पनि आफू हराएको जस्तै महसुस हुन्छ। तिनीहरूसित कुनै आशा छैन अनि तिनीहरू मदतको खोजीमा छन्‌। (एफि. २:१२) ती असल मनसाय भएकाहरूलाई खोज्ने काममा आज हामी ८० लाखभन्दा धेरै स्वयम्‌सेवक लागिपरेका छौँ। बाइबल अध्ययन गर्न चाहने कसैलाई सायद तपाईँ आफैले भेट्‌नुभएको छैन होला। तर तपाईँकै इलाकामा प्रचार गरिरहेका अरू प्रकाशकहरूले परमेश्‍वरको वचनको सत्य सिक्न इच्छुक व्यक्‍तिलाई भेट्‌न सक्छन्‌। कुनै भाइ वा बहिनीले कसैलाई भेट्‌दा र तिनी पछि ख्रिष्टको चेला बन्दा तिनलाई खोज्न मदत गर्ने सबैले खुसी हुने ठूलो कारण पाउँछन्‌।

११. यदि तपाईँले बाइबल अध्ययन सञ्चालन गरिरहनुभएको छैन भने पनि चेला बनाउने काममा अरू कस्ता तरिकामा सघाउन सक्नुहुन्छ?

११ यदि तपाईँले बाइबल अध्ययन सञ्चालन गरिरहनुभएको छैन भने पनि चेला बनाउने काममा अरू तरिकामा सघाउन सक्नुहुन्छ। उदाहरणको लागि, नयाँ व्यक्‍तिहरू राज्यभवनमा आउँदा तपाईँ तिनीहरूलाई स्वागत गर्न र आफ्नो साथी बनाउन सक्नुहुन्छ। त्यसो गरेर तपाईँ तिनीहरूलाई प्रेम नै साँचो ख्रिष्टियनहरूको चिनारी हो भन्‍ने कुरामा विश्‍वस्त हुन मदत गर्न सक्नुहुन्छ। (युह. १३:३४, ३५) तपाईँले दिनुहुने टिप्पणीहरू छोटै भए तापनि सभामा भर्खरै आउन थालेकाहरूले आफ्नो विश्‍वास कसरी मनैदेखि अनि आदरपूर्वक व्यक्‍त गर्ने भनेर त्यसबाट सिक्न सक्छन्‌। त्यसका साथै तपाईँ नयाँ प्रकाशकसितै प्रचारमा जान सक्नुहुन्छ र तिनलाई धर्मशास्त्रबाट मानिसहरूसित तर्क गर्न मदत गर्न सक्नुहुन्छ। त्यसो गर्दा तपाईँले तिनलाई ख्रिष्टको अनुकरण गर्न सिकाइरहनुभएको हुनेछ।—लुका १०:२५-२८.

१२. के चेला बनाउन हामीसित विशेष क्षमता हुनुपर्छ? व्याख्या गर्नुहोस्‌।

१२ अरूलाई येसुको चेला बन्‍न मदत दिन हामीसित विशेष क्षमता हुनुपर्छ भनेर हामीले सोच्नु पर्दैन। किन? बोलिभियामा बस्ने फौस्टिनाको उदाहरण विचार गर्नुहोस्‌। सुरुमा यहोवाका साक्षीहरूसित भेट्‌दा तिनलाई पढ्‌न आउँदैनथ्यो। त्यसदेखि यता तिनले अलिअलि पढ्‌न सिकिन्‌। तिनले अहिले बप्तिस्मा गरिसकिन्‌ र अरूलाई बाइबलको कुरा सिकाउन तिनलाई असाध्यै मन पर्छ। प्रायजसो हरेक हप्ता तिनी पाँच वटा बाइबल अध्ययन सञ्चालन गर्छिन्‌। हुनत तिनी अझै पनि आफ्ना धेरैजसो विद्यार्थीहरूले जस्तो राम्ररी पढ्‌न सक्दिनन्‌। तैपनि तिनको मदत पाएर अहिलेसम्म छ जनाले बप्तिस्मा गरिसकेका छन्‌।—लुका १०:२१.

१३. हामी एकदमै व्यस्त छौँ भने पनि चेला बनाउने काम गर्दा कस्ता आशिष्‌हरू पाउन सक्छौँ?

१३ महत्त्वपूर्ण जिम्मेवारीहरू पूरा गर्नुपर्ने हुँदा थुप्रै ख्रिष्टियन व्यस्त छन्‌। तैपनि तिनीहरू बाइबल अध्ययन सञ्चालन गर्न समय निकाल्छन्‌ र त्यसो गर्दा निकै आनन्दित हुन सकेका छन्‌। मेलानीको उदाहरण विचार गर्नुहोस्‌। तिनी अलास्कामा बस्ने एक्ली आमा थिइन्‌ र तिनको आठ वर्षकी छोरी थिई। साथै तिनी पूर्ण समय काम गर्दै क्यान्सर लागेको आफ्नो बुबाको हेरविचार गरिरहेकी थिइन्‌। तिनको गाउँमा तिनीबाहेक अरू कोही पनि यहोवाको साक्षी थिएन। मौसम चिसो भए पनि प्रचारमा निस्कने बलको लागि तिनी यहोवालाई प्रार्थना गर्थिन्‌ किनकि बाइबल अध्ययन गर्न चाहने मान्छे भेट्टाउने तिनको ठूलो इच्छा थियो। एक दिन तिनले सारालाई भेटिन्‌। परमेश्‍वरको व्यक्‍तिगत नाम छ भनेर थाह पाउँदा सारा छक्कै परिन्‌। केही समयपछि सारा बाइबल अध्ययन गर्न राजी भइन्‌। मेलानी भन्छिन्‌: “शुक्रबार साँझ थकाइ लागेको हुन्थ्यो तर त्यो बाइबल अध्ययनमा जाँदा मेरी छोरी र म दुवैले लाभ उठाउँथ्यौँ। साराले सोधेका प्रश्‍नहरूबारे अनुसन्धान गर्न हामीलाई मन पर्थ्यो। तिनी यहोवाको साथी बनेको देख्न पाउँदा हाम्रो खुसीको सीमै रहेन।” साराले साहसी हुँदै विरोधको सामना गरिन्‌, चर्च जान छोडिन्‌ र बप्तिस्मा गरिन्‌।

चेला बनाउन धीरजको आवश्‍यकता पर्छ

१४. (क) चेला बनाउने काम कसरी माछा मार्ने कामजस्तै छ? (ख) दोस्रो तिमोथि ४:१, २ मा लेखिएका पावलका शब्दहरू पढ्‌दा तपाईँ कस्तो प्रोत्साहन पाउन सक्नुहुन्छ?

१४ तपाईँलाई आफ्नो प्रचारकार्य त्यति फलदायी छैन जस्तो लाग्छ भने पनि हरेस नखाई चेला बन्‍न योग्य व्यक्‍ति खोजिरहनुहोस्‌। चेला बनाउने कामलाई येसुले माछा मार्ने कामसित तुलना गर्नुभएको कुरा सम्झनुहोस्‌। जलारीहरूले कहिलेकाहीँ माछा भेट्टाउन घण्टौँ जाल हान्‍नुपर्ने हुन सक्छ। धेरैजसो तिनीहरू मध्यरातमा वा बिहान सबेरै माछा मार्न जान्छन्‌ अनि कहिलेकाहीँ त तिनीहरूले निकै टाढासम्म डुङ्‌गा खियाउनुपर्ने हुन्छ। (लुका ५:५) त्यसैगरि केही प्रचारकहरूले पनि धीरजी हुँदै फरक-फरक ठाउँमा अनि फरक-फरक समयमा घण्टौँसम्म “माछा मार्ने” काम गर्छन्‌। किन? सकेसम्म धेरै मानिसलाई भेट्‌न। त्यसरी थप कोसिस गर्नेहरूले अक्सर इनाम पाउँछन्‌। किनकि तिनीहरू हाम्रो सन्देश सुन्‍न इच्छुक मानिसहरूलाई भेट्टाउन सफल हुन्छन्‌। के तपाईँ पनि अझ धेरै मानिस भेट्‌न सकिने समयमा वा ठाउँमा प्रचार गर्ने कोसिस गर्न सक्नुहुन्छ?२ तिमोथि ४:१, २ पढ्‌नुहोस्‌।

बाइबल विद्यार्थीलाई आध्यात्मिक उन्‍नति गर्न धीरजी हुँदै मदत गर्नुहोस्‌ (अनुच्छेद १५-१६ हेर्नुहोस्‌) *

१५. बाइबल अध्ययन सञ्चालन गर्न किन धीरजको आवश्‍यकता पर्छ?

१५ बाइबल अध्ययन सञ्चालन गर्न किन धीरजको आवश्‍यकता पर्छ? एउटा कारण भनेको हामीले बाइबल विद्यार्थीलाई बाइबलका शिक्षाहरू बुझ्न र त्यसलाई प्रेम गर्न सिकाएर मात्र पुग्दैन। हामीले तिनीहरूलाई बाइबलका ग्रन्थकार यहोवालाई चिन्‍न र उहाँलाई प्रेम गर्न पनि सिकाउनुपर्छ। अनि विद्यार्थीहरूलाई येसु आफ्ना चेलाहरूबाट के चाहनुहुन्छ भनेर सिकाउनुका साथै साँचो ख्रिष्टियनको रूपमा कसरी जिउने भनेर बुझ्न पनि हामीले मदत गर्नुपर्ने हुन्छ। तिनले बाइबलका सिद्धान्तहरू व्यवहारमा उतार्न प्रयास गर्दा हामीले धीरजी हुँदै तिनलाई मदत गर्नुपर्छ। कसै-कसैले केही महिनाभित्रै आफ्नो सोचाइ र आनीबानी परिवर्तन गर्न सक्छन्‌; कसै-कसैलाई भने समय लाग्न सक्छ।

१६. राउलको उदाहरणबाट तपाईँले के सिक्नुभयो?

१६ पेरूमा सेवा गर्ने एक मिसनरीको अनुभवले धीरजी हुनुको फाइदाबारे बुझ्न मदत गर्छ। तिनी भन्छन्‌ “मैले राउल नाम गरेको एक जना बाइबल विद्यार्थीसित दुई वटा पुस्तकबाट अध्ययन गरिसकेको थिएँ। तैपनि तिनको जीवन समस्याग्रस्त थियो। तिनको वैवाहिक जीवनमा थुप्रै समस्या थिए, तिनी मुख छाड्‌ने गर्थे अनि तिनको आनीबानी देखेर तिनका बच्चाहरूले तिनको आदर गर्दैन थिए। तैपनि तिनी नियमित सभा आउँथे। त्यसैले तिनलाई र तिनको परिवारलाई मदत गर्न म तिनको घरमा गइरहेँ। मैले तिनलाई भेटको तीन वर्षभन्दा धेरै समयपछि तिनी बप्तिस्मा गर्न योग्य भए।”

१७. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

१७ येसुले हामीलाई “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ” भन्‍ने आज्ञा दिनुभयो। त्यो जिम्मेवारी पूरा गर्न हामीले अक्सर यस्ता मानिसहरूसित कुराकानी गर्नुपर्ने हुन्छ, जसको सोचाइ हाम्रो भन्दा निकै फरक हुन्छ। कुनै पनि धार्मिक सङ्‌गठनको सदस्य नबनेका वा भगवान्‌को अस्तित्वमा विश्‍वास नगर्ने मानिसहरूसित पनि हामीले कुराकानी गर्नुपर्ने हुन सक्छ। यस्तो फरक पृष्ठभूमि भएका मानिसहरूलाई हामी कसरी सुसमाचार सुनाउन सक्छौँ भनेर यसपछिको लेखमा छलफल गर्नेछौँ।

गीत ६८ राज्यको बिउ छरौँ!

^ अनु. 5 ख्रिष्टियन मण्डलीको एउटा मुख्य काम छ। त्यो हो, मानिसहरूलाई ख्रिष्टको चेला बन्‍न मदत गर्नु। यस लेखले हामीलाई त्यो काम पूरा गर्न चाहिने उपयोगी सुझावहरू दिनेछ।

^ अनु. 2 थप व्याख्या: ख्रिष्टका चेलाहरू येसुले सिकाउनुभएका कुराहरू सिक्ने मात्र गर्दैनन्‌। तिनीहरू आफूले सिकेका कुराहरू व्यवहारमा पनि उतार्छन्‌। तिनीहरू येसुको पाइला अर्थात्‌ उहाँले बसाल्नुभएको उदाहरण पछ्याउन सकेजति प्रयास गर्छन्‌।—१ पत्रु. २:२१.

^ अनु. 52 चित्रको व्याख्या: बिदा मनाउन गइरहेका एक जना मानिस विमानस्थलमा साक्षीहरूबाट पर्चा स्विकार्छन्‌। घुम्न गएको ठाउँमा तिनी अरू साक्षीहरूले सार्वजनिक साक्षीकार्य गरिरहेको देख्छन्‌। तिनी घर फर्किएपछि प्रकाशकहरू तिनको घरमा आउँछन्‌।

^ अनु. 54 चित्रको व्याख्या: तिनी बाइबल अध्ययन गर्न राजी हुन्छन्‌। अन्ततः तिनी बप्तिस्मा गर्न योग्य हुन्छन्‌।