सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २९

“जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु”

“जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु”

“म ख्रिष्टको खातिर कमजोरीमा, अपमानमा, खाँचोमा, खेदोमा अनि कठिनाइहरूमा खुसी हुन्छु।”—२ कोरि. १२:१०.

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

परिचय *

१. प्रेषित पावलले कुन कुरा खुलमखुला स्विकारे?

प्रेषित पावलले आफूले कहिलेकाहीँ कमजोर महसुस गरेको कुरा खुलमखुला स्विकारे। तिनले आफ्नो शरीर “क्षीण हुँदै गइरहेको” कुरा मानिलिए; तिनले जे ठीक छ, त्यो गर्न सङ्‌घर्ष गर्नुपरेको अनि आफूले आशा गरेको तरिकामा यहोवाले कहिलेकाहीँ आफ्ना प्रार्थनाहरूको जवाफ नदिनुभएको कुरा बताए। (२ कोरि. ४:१६; १२:७-९; रोमी ७:२१-२३) पावलले आफ्ना विरोधीहरूले तिनलाई कमजोर * ठानेको कुरा पनि स्विकारे। तर अरूले तिनीप्रति राखेको नकारात्मक दृष्टिकोण वा आफ्नै कमीकमजोरीले गर्दा तिनले बेकामको महसुस गरेनन्‌।—२ कोरि. १०:१०-१२, १७, १८.

२. दोस्रो कोरिन्थी १२:९, १० अनुसार पावलले कस्तो महत्त्वपूर्ण पाठ सिके?

पावलले एउटा महत्त्वपूर्ण पाठ सिके। त्यो हो, कुनै मानिसले कमजोर महसुस गरेको बेला पनि तिनी बलियो हुन सक्छन्‌। (२ कोरिन्थी १२:९, १० पढ्‌नुहोस्‌) यहोवाले पावललाई “कमजोर हुँदा तिमीले मेरो पूरा शक्‍ति पाउँछौ” भन्‍नुभयो। यसको मतलब, पावललाई अपुग भएको शक्‍ति यहोवाले दिनुहुने थियो। सर्वप्रथम, विरोधीहरूले हाम्रो अपमान गर्दा हामी किन निराश हुनु पर्दैन भनेर बुझौँ।

“अपमानमा . . . खुसी हुन्छु”

३. हामी किन अपमानमा खुसी हुन सक्छौँ?

हामी कसैलाई पनि अरूले अपमान गरेको मन पर्दैन। तर शत्रुहरूले हाम्रो अपमान गरे अनि तिनीहरूले भनेको कुराले गर्दा असाध्यै चिन्तित भयौँ भने हामी निराश हुन सक्छौँ। (हितो. २४:१०) त्यसोभए विरोधीहरूले अपमान गर्दा हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ? पावलजस्तै हामी “अपमानमा . . . खुसी” हुन सक्छौँ। (२ कोरि. १२:१०) किन? किनभने हामीले भोग्ने अपमान र विरोध हामी येसुका साँचो चेलाहरू हौँ भन्‍ने कुराको सङ्‌केत हो। (१ पत्रु. ४:१४) येसुले आफ्ना चेलाहरूको खेदो गरिनेछ भन्‍नुभयो। (युह. १५:१८-२०) हुन पनि प्रथम शताब्दीमा त्यस्तै भयो। त्यतिबेला ग्रीक समाजबाट प्रभावित व्यक्‍तिहरूले ख्रिष्टियनहरूलाई मूर्ख र कमजोर ठान्थे। अनि यहुदीहरूमाझ ख्रिष्टियनहरूलाई “अशिक्षित अनि साधारण मानिस” ठानिन्थ्यो, जस्तै: प्रेषित पत्रुस र युहन्‍ना। (प्रेषि. ४:१३) ती ख्रिष्टियनहरू कमजोर देखिन्थे; राजनैतिक वा सैन्य क्षेत्रमा तिनीहरूको कुनै पकड थिएन। अनि मानिसहरू तिनीहरूलाई समाजबाट बहिष्कृत व्यक्‍तिसरह ठान्थे।

४. विरोधीहरूले नकारात्मक दृष्टिकोण राख्दा प्रथम शताब्दीका ख्रिष्टियनहरूले के गरे?

के विरोधीहरूले नकारात्मक दृष्टिकोण राख्दा प्रथम शताब्दीका ख्रिष्टियनहरूले आफ्नो काम बन्द गरे? अहँ गरेनन्‌। उदाहरणको लागि, प्रेषित पत्रुस र युहन्‍नाले येसुको पछि लागेकोमा र उहाँका शिक्षाहरू अरूलाई सिकाएकोमा खेदो सहनुपर्दा त्यसलाई सम्मानको कुरा ठाने। (प्रेषि. ४:१८-२१; ५:२७-२९, ४०-४२) ती चेलाहरूले लज्जित महसुस गर्नुपर्ने कुनै कारण थिएन। इतिहास केलाउने हो भने प्रथम शताब्दीका ती नम्र ख्रिष्टियनहरूले मानिसहरूको हित हुने काम तिनीहरूका कुनै पनि विरोधीहरूले भन्दा धेरै गरे। उदाहरणको लागि, ती ख्रिष्टियनहरूमध्ये कसै-कसैले लेखेका ईश्‍वरप्रेरित किताबहरूले अहिले पनि लाखौँ मानिसहरूलाई मदत गर्नुका साथै आशा दिइरहेका छन्‌। अनि तिनीहरूले प्रचार गरेको परमेश्‍वरको राज्य अहिले पनि अस्तित्वमा छ र त्यसले चाँडै सम्पूर्ण मानिसजातिमाथि शासन गर्नेछ। (मत्ति २४:१४) तर ती ख्रिष्टियनहरूलाई खेदो गर्ने शक्‍तिशाली राजनैतिक शक्‍तिको भने अहिले नामोनिसान छैन। साथै येसुका ती वफादार चेलाहरू अहिले स्वर्गमा राजाको रूपमा शासन गर्दै छन्‌। तर तिनीहरूका विरोधीहरू मरिसके। यदि ती विरोधीहरू फेरि जीवित भइहाले भने पनि उनीहरू ती ख्रिष्टियनहरूले प्रचार गरेको राज्यको प्रजा हुनेछन्‌, जसलाई उनीहरूले घृणा गरेका थिए।—प्रका. ५:१०.

५. युहन्‍ना १५:१९ अनुसार संसारका मानिसहरू यहोवाका जनहरूलाई किन तुच्छ ठान्छन्‌?

वर्तमान समयमा पनि संसारका मानिसहरूले कहिलेकाहीँ हामी यहोवाका जनहरूलाई मूर्ख र कमजोर ठान्छन्‌ र हाम्रो गिल्ला गर्छन्‌। किन? किनभने हामी तिनीहरूको जस्तो मनोवृत्ति राख्दैनौँ। हामी नम्र, कोमल स्वभावका र आज्ञाकारी हुन प्रयास गर्छौँ। अर्कोतर्फ, संसारका मानिसहरू भने घमन्डी, अहङ्‌कारी र विद्रोहीहरूको तारिफ गर्छन्‌। हामी राजनीतिमा भाग लिँदैनौँ अनि कुनै पनि देशको सेनामा भर्ती हुँदैनौँ। हामी संसारको चालढालअनुसार चल्दैनौँ। त्यसैले मानिसहरू हामीलाई तुच्छ ठान्छन्‌।युहन्‍ना १५:१९ पढ्‌नुहोस्‌; रोमी १२:२.

६. यहोवाले आफ्ना जनहरूलाई चलाएर के गरिरहनुभएको छ?

संसारले हामीबारे जस्तोसुकै दृष्टिकोण राखे तापनि यहोवाले हामीलाई चलाएर ठूलठूला कामहरू गरिरहनुभएको छ। उहाँले हामीलाई चलाएर मानव इतिहासकै सबैभन्दा व्यापक प्रचारकार्य गरिरहनुभएको छ। अहिले उहाँका सेवकहरूले संसारमा सबैभन्दा धेरै अनुवाद र वितरण हुने पत्रिकाहरू प्रकाशित गरिरहेका छन्‌। अनि तिनीहरूले बाइबल प्रयोग गरेर लाखौँ मानिसको जीवन उकास्न मदत गरिरहेका छन्‌। यी सबैको श्रेय यहोवा परमेश्‍वरलाई जान्छ किनकि उहाँले यस्ता ठूलठूला कामहरू गर्न कमजोर देखिने मानिसहरूको समूहलाई प्रयोग गर्दै हुनुहुन्छ। तर हामी व्यक्‍तिविशेषलाई नि? के यहोवा हामीलाई बलियो बनाउन सक्नुहुन्छ? सक्नुहुन्छ भने उहाँको मदत पाउन हामीले के गर्नुपर्छ? आउनुहोस्‌, प्रेषित पावलले बसालेको उदाहरणबाट हामीले सिक्न सक्ने तीन वटा पाठ विचार गरौँ।

आफ्नै शक्‍तिमा भर नपर्नुहोस्‌

७. हामीले पावलको उदाहरणबाट सिक्न सक्ने एउटा पाठ के हो?

हामीले पावलको उदाहरणबाट सिक्न सक्ने एउटा पाठ हो: यहोवाको सेवा गर्दा हामी आफ्नै शक्‍ति वा क्षमतामा भर पर्नु हुँदैन। पावल घमन्डी र आफ्नै क्षमतामा भर पर्ने व्यक्‍ति बनेको भए पनि त्यो अनौठो कुरा हुने थिएन। तिनी एउटा रोमी प्रान्तको राजधानी टार्ससमा हुर्केका थिए। टार्सस सम्पन्‍न सहर थियो र त्यहाँ एउटा प्रख्यात विश्‍वविद्यालय पनि थियो। पावलले उच्च शिक्षा हासिल गरेका थिए; तिनले त्यतिबेलाका प्रतिष्ठित यहुदी नेताहरूमध्ये गमलिएल नाम गरेका व्यक्‍तिबाट शिक्षादीक्षा हासिल गरेका थिए। (प्रेषि. ५:३४; २२:३) कुनै समय पावलले यहुदी समाजमा केही हदसम्म प्रभाव जमाएका पनि थिए। तिनले यसो भने: “आफ्नै जातिका मेरा दौँतरीहरूले भन्दा मैले यहुदी धर्ममा धेरै प्रगति गर्दै थिएँ।” (गला. १:१३, १४; प्रेषि. २६:४) तैपनि पावल आफैमाथि भर परेनन्‌।

संसारको दृष्टिकोणबाट हेर्दा महत्त्वपूर्णजस्तो देखिने कुराहरूलाई पावलले ख्रिष्टको चेला बन्‍ने सुअवसरको तुलनामा “रद्दी” ठाने (अनुच्छेद ८ हेर्नुहोस्‌) *

८. फिलिप्पी ३:८ र फुटनोटअनुसार आफूले त्यागेका कुराहरूप्रति पावलले कस्तो दृष्टिकोण राखे? तिनी किन “कमजोरीमा . . . खुसी” भए?

संसारको दृष्टिकोणबाट हेर्दा पावललाई जुन कुराहरूले शक्‍तिशाली बनाएको जस्तो देखिन्थ्यो, ती कुराहरूलाई तिनले खुसीसाथ त्यागे। वास्तवमा तिनले पहिला आफूसित भएका ती महत्त्वपूर्णजस्तो देखिने कुराहरूलाई “रद्दी” ठाने। (फिलिप्पी ३:८ र फुटनोट पढ्‌नुहोस्‌) पावलले ख्रिष्टको चेला बन्दा मूल्य चुकाउनुपऱ्‍यो। तिनलाई आफ्नै जातिले घृणा गऱ्‍यो। (प्रेषि. २३:१२-१४) तिनलाई सङ्‌गी नागरिक अर्थात्‌ रोमीहरूले पिटे र झ्यालखानामा हाले। (प्रेषि. १६:१९-२४, ३७) साथै आफ्नै सीमितताले गर्दा तिनले असाध्यै लाचार महसुस गरेका थिए। (रोमी ७:२१-२५) विरोधीहरूबाट खेदो आइपर्दा वा आफ्नै कमीकमजोरीसित सङ्‌घर्ष गर्नुपर्दा तिनले ख्रिष्टको चेला हुन छोडेनन्‌ बरु तिनी “कमजोरीमा . . . खुसी” भए। किन? किनभने कमजोर हुँदा परमेश्‍वरको शक्‍तिले आफूमा काम गरेको तिनले अनुभव गरे।—२ कोरि. ४:७; १२:१०.

९. हामीलाई कमजोरजस्तो देखाउने कुराहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

हामी यहोवाबाट शक्‍ति पाउन चाहन्छौँ भने शारीरिक बल, शिक्षा, सामाजिक पृष्ठभूमि वा धनसम्पत्तिको आधारमा आफू कत्तिको महत्त्वपूर्ण छु भन्‍ने सोचाइ राख्नु हुँदैन। हामीलाई यहोवाको नजरमा उपयोगी बनाउने यस्ता कुराहरूले होइन। वास्तवमा परमेश्‍वरका जनहरूमध्ये “धेरै जना बुद्धिमान्‌, धेरै जना शक्‍तिशाली र धेरै जना खानदानी” छैनन्‌। बरु यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न “संसारका कमजोर कुराहरूलाई” रोज्नुभएको छ। (१ कोरि. १:२६, २७) त्यसैले तपाईँसित यस अनुच्छेदको सुरुमा उल्लेख गरिएका कुराहरू छैनन्‌ भने तपाईँ अरूको नजरमा कमजोरजस्तो देखिनुहोला। तैपनि तपाईँ यहोवाको सेवा गर्न सक्नुहुन्छ। आफ्नो अवस्थालाई यहोवाको शक्‍तिले तपाईँमा काम गर्ने मौकाको रूपमा हेर्नुहोस्‌। उदाहरणको लागि, तपाईँलाई आफ्नो विश्‍वासमा शङ्‌का गर्न लगाउने मानिसहरूलाई साक्षी दिन डर लाग्छ भने आफ्नो विश्‍वासको पक्षमा साहसी भई बोल्न सकूँ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्‌। (एफि. ६:१९, २०) तपाईँ कुनै गम्भीर अस्वस्थतासित सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने यहोवाको सेवामा सक्दो व्यस्त रहन चाहिने बल दिनुहोस्‌ भनेर उहाँसित बिन्ती गर्नुहोस्‌। हरेक चोटि यहोवाले मदत गर्नुभएको महसुस गर्दा तपाईँको विश्‍वास अझ बढ्‌नेछ र तपाईँ झनै बलियो हुनुहुनेछ।

बाइबलका उदाहरणहरूबाट सिक्नुहोस्‌

१०. हिब्रू ११:३२-३४ मा उल्लेख गरिएका जस्तै वफादार व्यक्‍तिहरूको उदाहरण हामीले किन अध्ययन गर्नुपर्छ?

१० पावल धर्मशास्त्रका लगनशील विद्यार्थी थिए। परमेश्‍वरको वचनबाट तिनले थुप्रै महत्त्वपूर्ण जानकारी पाए। त्यति मात्र होइन, तिनले बाइबलमा उल्लेख गरिएका व्यक्‍तिहरूको उदाहरणबाट पनि सिके। पावलले हिब्रू ख्रिष्टियनहरूलाई पत्र लेख्दा यहोवाका थुप्रै वफादार सेवकहरूबारे चर्चा गरे र तिनीहरूको उदाहरणबाट सिक्न आग्रह गरे। (हिब्रू ११:३२-३४ पढ्‌नुहोस्‌) ती व्यक्‍तिहरूमध्ये एक जनाबारे विचार गरौँ। तिनी हुन्‌, राजा दाउद। तिनले शत्रुहरूबाट मात्र होइन, कुनै समयका आफ्नै साथीहरूबाट समेत विरोध सहनुपऱ्‍यो। हामीले दाउदको उदाहरणलाई केलाउँदा पावलले तिनको जीवनीबारे मनन गरेर कति धेरै बल पाए होलान्‌ भनेर बुझ्नेछौँ। साथै हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ भनेर पनि विचार गर्नेछौँ।

गोल्यतले चुनौती दिँदा दाउदले कमजोरीजस्तो देखिने कुरालाई परमेश्‍वरको शक्‍तिले काम गरेको हेर्ने मौकाको रूपमा लिए (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. दाउद किन कमजोरजस्तो देखिन्थे? (आवरण चित्र हेर्नुहोस्‌)

११ शक्‍तिशाली योद्धा गोल्यतले दाउदलाई कमजोर ठानेका थिए। जब गोल्यतले दाउदलाई देख्यो, तब त्यसले “दाउदलाई हेपेर खिल्ली उडाउन थाल्यो।” खिल्ली नउडाओस्‌ पनि किन! दाउदको तुलनामा गोल्यत अजङ्‌गको, हातहतियारले सुसज्जित अनि निपुण योद्धा थिए। तर दाउद भने साधारण ठिटो थिए, जो युद्धको लागि तयार भएजस्तो पटक्कै देखिँदैनथे। दाउद कमजोरजस्तो देखिए तापनि तिनी वास्तवमा बलिया साबित भए। किनकि तिनी शक्‍तिको लागि यहोवामा भर परे र शत्रुलाई हराए।—१ समु. १७:४१-४५, ५०.

१२. दाउदले सामना गर्नुपरेको अर्को समस्या के थियो?

१२ दाउदले अर्को समस्या पनि सामना गर्नुपरेको थियो, जसले गर्दा तिनले कमजोर र निस्सहाय महसुस गर्न सक्थे। यहोवाले नियुक्‍त गर्नुभएको इस्राएलका राजा साउलको दाउदले वफादार भई सेवा गरेका थिए। सुरुमा राजा साउलले दाउदको आदर गर्थे। तर पछि साउल घमन्डी भए र दाउदको डाह गर्न थाले। साउलले दाउदलाई असाध्यै नराम्रो व्यवहार गरे, यहाँसम्म कि तिनलाई मार्नसमेत खोजे।—१ समु. १८:६-९, २९; १९:९-११.

१३. राजा साउलले असाध्यै नराम्रो व्यवहार गर्दा दाउदले के गरे?

१३ राजा साउलले असाध्यै नराम्रो व्यवहार गरे तापनि दाउदले यहोवाले नियुक्‍त गर्नुभएका राजाप्रति आदर देखाइरहे। (१ समु. २४:६) साउलले गरेका नराम्रा कामहरूको लागि दाउदले यहोवालाई दोष दिएनन्‌। बरु यो कठिन परीक्षाको सामना गर्न चाहिने बलको लागि दाउद यहोवामाथि भर परे।—भज. १८:१, परिचय

१४. प्रेषित पावलले दाउदको जस्तै कस्तो अवस्थाको सामना गरे?

१४ प्रेषित पावलले पनि दाउदको जस्तै अवस्थाको सामना गरे। पावलका शत्रुहरू तिनीभन्दा असाध्यै शक्‍तिशाली थिए। त्यतिबेलाका थुप्रै प्रभावशाली नेताहरूले तिनलाई घृणा गरे। धेरै चोटि उनीहरूको आदेशमा पावललाई कुटियो र झ्यालखानामा हालियो। दाउदलाई जस्तै पावललाई पनि केही व्यक्‍तिहरूले नराम्रो व्यवहार गरे, जसले तिनलाई वास्तवमा आफ्नो साथी ठान्‍नुपर्ने थियो। ख्रिष्टियन मण्डलीका कसै-कसैले तिनको विरोधसमेत गरे। (२ कोरि. १२:११; फिलि. ३:१८) तर पावल आफ्नो विरोध गर्ने सबैमाथि विजयी भए। कसरी? विरोध आए पनि तिनले प्रचार गर्न छोडेनन्‌। आफ्ना भाइबहिनीले निराश बनाउँदासमेत तिनी उनीहरूप्रति वफादार रहिरहे। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनी आफ्नो जीवनको अन्तसम्मै यहोवाप्रति वफादार रहे। (२ तिमो. ४:८) जस्तोसुकै बाधाविघ्न आइपरे तापनि तिनी विजयी हुन सके। किन? किनभने तिनी आफ्नै शक्‍तिमा होइन, यहोवामा भर परे।

तपाईँको विश्‍वासमाथि प्रश्‍न उठाउने व्यक्‍तिहरूसित तर्क गर्दा आदरपूर्ण र दयालु व्यवहार गर्नुहोस्‌ (अनुच्छेद १५ हेर्नुहोस्‌) *

१५. हाम्रो लक्ष्य के हो र हामी कसरी त्यो हासिल गर्न सक्छौँ?

१५ के तपाईँले सहपाठी, सहकर्मी वा बेग्लै धर्म मान्‍ने परिवारका सदस्यहरूबाट अपमान वा खेदो भोग्नुपरेको छ? के तपाईँलाई मण्डलीको कसैले नराम्रो व्यवहार गरेको छ? छ भने दाउद र पावलको उदाहरण सम्झनुहोस्‌। तपाईँ ‘खराबीलाई भलाइले जितिरहन’ सक्नुहुन्छ। (रोमी १२:२१) तपाईँको लक्ष्य भनेको दाउदले जस्तै कसैको निधारमा ढुङ्‌गा हानेर ढाल्नु होइन तर तिनको दिमाग र हृदयमा परमेश्‍वरको वचन ठप्प हालिदिनु हो। मानिसहरूले सोध्ने प्रश्‍नहरूको जवाफ दिन बाइबलमा भर परेर, तपाईँसित नराम्रो व्यवहार गर्ने व्यक्‍तिहरूप्रति आदरपूर्ण र दयालु व्यवहार गरेर अनि आफ्ना शत्रुहरूलाई समेत प्रेम गरेर यो लक्ष्य हासिल गर्न सक्नुहुन्छ।—मत्ति ५:४४; १ पत्रु. ३:१५-१७.

अरूले दिने मदत स्विकार्नुहोस्‌

१६-१७. पावलले कुन कुरा कहिल्यै बिर्सेनन्‌?

१६ प्रेषित पावल ख्रिष्टको चेला बन्‍नुअघि तिनी सोमत नभएका युवक थिए र येसुका चेलाहरूलाई खेदो गर्थे। (प्रेषि. ७:५८; १ तिमो. १:१३) ख्रिष्टियन मण्डलीलाई खेदो गर्नदेखि येसु आफैले पावललाई रोक्नुभयो, जो त्यतिबेला सावल नामले चिनिन्थे। येसु तिनीसित स्वर्गबाट बोल्नुभयो र तिनलाई अन्धो बनाइदिनुभयो। आफ्नो दृष्टि फिर्ता पाउन पावल आफूले खेदो गरिरहेका मानिसहरूसितै मदत माग्न बाध्य भए। तिनले हननिया नाम गरेका चेलाको मदत नम्र भई स्विकारे, जसले तिनको दृष्टि फर्काइदिए।—प्रेषि. ९:३-९, १७, १८.

१७ पावल पछि ख्रिष्टियन मण्डलीको महत्त्वपूर्ण सदस्य बने तर तिनले दमिसक जाने बाटोमा येसुले सिकाउनुभएको पाठ कहिल्यै बिर्सेनन्‌। पावल नम्र भइरहे अनि आफ्ना भाइबहिनीले दिएको मदत खुसीसाथ स्विकारे। तिनले ती भाइबहिनी आफूलाई “बल दिने मदतगार” भएको कुरा मानिलिए।—कल. ४:१०, ११, फुटनोट।

१८. अरूको मदत स्विकार्न हामी कहिलेकाहीँ किन हिचकिचाउन सक्छौँ?

१८ हामी पावलबाट के सिक्न सक्छौँ? सुरुमा यहोवाका जनहरूसित सङ्‌गत गर्न थाल्दा अरूबाट मदत स्विकार्न हामी उत्सुक थियौँ होला किनभने त्यतिबेला आफू आध्यात्मिक तवरमा शिशुजस्तै भएकोले धेरै कुरा सिक्न बाँकी छ भन्‍ने महसुस गर्थ्यौँ। (१ कोरि. ३:१, २) तर अहिले नि? हामीले यहोवाको सेवा गरिरहेको धेरै वर्ष भइसक्यो र निकै अनुभव बटुलिसकेका छौँ भने हामी अरूको मदत स्विकार्न त्यति इच्छुक नहुन सक्छौँ, अझ विशेषगरि सत्यमा आफूभन्दा नयाँ व्यक्‍तिको। तर यहोवा हामीलाई बलियो बनाउन अक्सर हाम्रा भाइबहिनीलाई नै चलाउनुहुन्छ। (रोमी १:११, १२) यहोवाले दिनुहुने बल पाउने हो भने हामीले भाइबहिनीको मदत स्विकार्नु जरुरी छ भनेर मानिलिनै पर्छ।

१९. पावल सफल हुनुको कारण के थियो?

१९ ख्रिष्टियन बनेपछि पावलले केही ठूलठूला काम गरे। किन? किनभने तिनले सफलता भनेको आफ्नो शारीरिक बल, शिक्षा, धनसम्पत्ति वा सामाजिक पृष्ठभूमिमा नभई नम्र हुँदा र यहोवामा भर पर्दा प्राप्त हुन्छ भनी सिके। हामी सबै पावलको अनुकरण गर्दै (१) यहोवामा भर परौँ, (२) बाइबलका उदाहरणहरूबाट सिकौँ अनि (३) सङ्‌गी उपासकहरूको मदत स्विकारौँ। यसो गऱ्‍यौँ भने हामीले जतिसुकै कमजोर महसुस गरे तापनि यहोवाले हामीलाई बलियो पार्नुहुनेछ!

गीत ७१ सेना हौँ यहोवाका!

^ अनु. 5 यस लेखमा हामी प्रेषित पावलको उदाहरण केलाउनेछौँ। हामी नम्र भयौँ भने यहोवाले हामीलाई गिल्ला सहन र आफ्ना कमीकमजोरीमाथि विजयी हुन बल दिनुहुनेछ भनेर बुझ्नेछौँ।

^ अनु. 1 थप व्याख्या: हामीले पनि विभिन्‍न कारणले कमजोर महसुस गर्न सक्छौँ। जस्तै: हामी त्रुटिपूर्ण, गरिब वा बिरामी भएकोले अथवा धेरै नपढेकोले। साथै शत्रुहरूले हामीमाथि मौखिक वा शारीरिक आक्रमण गरेर हामीलाई कमजोर महसुस गराउन खोज्छन्‌।

^ अनु. 57 चित्रको व्याख्या: ख्रिष्टको विषयमा प्रचार गर्न निस्कँदा पावलले पहिला आफूलाई फरिसीको रूपमा चिनाउने कुराहरू त्यागे। ती कुराहरूमा तिनले उच्च शिक्षा लिँदा पढेका मुठाहरू र धर्मशास्त्रका केही अंशहरू राखिएको जन्तर पनि हुन सक्छ।

^ अनु. 61 चित्रको व्याख्या: एक जना भाइलाई काम गर्ने ठाउँमा सहकर्मीको जन्मदिनको पार्टी मनाउने दबाब आउँछ।