सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २८

तपाईँसित सत्य छ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌

तपाईँसित सत्य छ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌

“आफूले सिकेका र आफूलाई विश्‍वस्त पारिएका कुराहरूमा लागिरह।”—२ तिमो. ३:१४.

गीत ५६ सत्यमै जिउनू

परिचय *

१. “सत्य” भनेको के हो?

“तपाईँले सत्यबारे कसरी थाह पाउनुभयो?” “तपाईँ सत्यमै हुर्कनुभएको हो?” “तपाईँ सत्यमा आउनुभएको कति वर्ष भयो?” सायद अरूले तपाईँलाई यस्ता प्रश्‍नहरू सोधेका छन्‌ होला वा तपाईँले सोध्नुभएको छ होला। वास्तवमा “सत्य” भनेको के हो? सामान्यतया “सत्य” भन्दा हामीले आफ्नो विश्‍वास, उपासना गर्ने तरिका र हाम्रो जीवनशैलीबारे कुरा गरिरहेका हुन्छौँ। “सत्यमा भएका” मानिसहरूलाई बाइबलले सिकाउने कुराहरू थाह हुन्छ र तिनीहरू यसका सिद्धान्तहरूअनुसार आफ्नो जीवन बिताउँछन्‌। त्यसैले तिनीहरू झूटा धार्मिक शिक्षाहरूमा विश्‍वास गर्दैनन्‌ र त्रुटिपूर्ण भए तापनि निकै हदसम्म सुखी जीवन बिताउँछन्‌।—युह. ८:३२.

२. युहन्‍ना १३:३४, ३५ अनुसार सुरुमा मानिसहरूलाई कुन कुराले सत्यतर्फ आकर्षित गर्न सक्छ?

सुरुमा तपाईँ कुन कुराले गर्दा सत्यतर्फ आकर्षित हुनुभयो? सायद यहोवाका जनहरूको राम्रो आचरणले गर्दा। (१ पत्रु. २:१२) अथवा तिनीहरूले देखाएको प्रेमबाट प्रभावित हुनुभयो होला। धेरै जना पहिलो पटक सभामा उपस्थित हुँदा मञ्चबाट सुनेका कुराहरूले भन्दा त्यहाँ देखेको प्रेमबाट प्रभावित भएका थिए र तिनीहरू त्यो अहिलेसम्मै सम्झिरहन्छन्‌। यसमा हामी अचम्म मान्‍नु पर्दैन किनभने येसुले आफ्ना चेलाहरूको मुख्य चिनारी नै प्रेम हो भन्‍नुभएको थियो। (युहन्‍ना १३:३४, ३५ पढ्‌नुहोस्‌) तर आफ्नो विश्‍वास बलियो बनाउन यति मात्र भएर पुग्दैन।

३. परमेश्‍वरमाथिको हाम्रो विश्‍वास भाइबहिनीले देखाउने ख्रिष्टियन प्रेममा मात्र निर्भर भयो भने के हुन सक्छ?

हाम्रो विश्‍वास परमेश्‍वरका जनहरूले देखाउने ख्रिष्टियन प्रेममा मात्र निर्भर हुनु हुँदैन। किन? मानौँ, एक जना सङ्‌गी उपासकले अथवा कुनै एल्डर वा अग्रगामीले पाप गरे। अथवा कुनै भाइ वा बहिनीले तपाईँको चित्त दुखायो भने नि? वा यहोवाका जनहरूसित सत्य छैन भन्‍ने निष्कर्षमा पुगेर कोही धर्मत्यागी भयो भने नि? के तपाईँ यस्ता कुराहरूले गर्दा ठेस खाएर यहोवाको सेवा गर्न छोड्‌नुहुन्छ? हामीले सिक्नुपर्ने पाठ यो हो: परमेश्‍वरसितको सम्बन्धमा नभई अरूले देखाउने व्यवहारमा मात्र तपाईँको विश्‍वास निर्भर भयो भने त्यो बलियो हुँदैन। तपाईँको विश्‍वासको घर निर्माण गर्न तपाईँले भावनाजस्ता नरम कुराहरू प्रयोग गर्नु मात्र पर्याप्त हुँदैन तर तथ्य र प्रमाणजस्ता कडा कुराहरू पनि चाहिन्छ। बाइबलले यहोवाको बारेमा सत्य कुरा सिकाउँछ भनेर तपाईँ आफै विश्‍वस्त हुनुपर्छ।—रोमी १२:२.

४. मत्ति १३:३-६, २०, २१ अनुसार विश्‍वासको परीक्षा आइपर्दा कसै-कसैलाई के हुन्छ?

कसै-कसैले “खुसीसाथ” सत्य स्विकार्नेछन्‌ तर परीक्षाहरू आउँदा तिनीहरूको विश्‍वास बोटजस्तै सुकेर जानेछ भनेर येसुले भन्‍नुभएको थियो। (मत्ति १३:३-६, २०, २१ पढ्‌नुहोस्‌) येसुको चेला बन्दा चुनौतीहरू र कठिनाइहरू आइपर्नेछन्‌ भन्‍ने कुरा सायद तिनीहरूले बुझेका थिएनन्‌। (मत्ति १६:२४) तिनीहरूले ख्रिष्टियन भएपछि जीवनमा कुनै समस्या, कठिनाइ हुँदैन, आशिष्‌ मात्र पाइन्छ भनेर सोचेका थिए होलान्‌। तर यो संसारमा हामी सबैले थुप्रै चुनौतीको सामना गर्नुपर्छ। हाम्रो अवस्था परिवर्तन हुन सक्छ र त्यसले गर्दा केही समयको लागि हाम्रो आनन्द गुम्न सक्छ।—भज. ६:६; उप. ९:११.

५. हाम्रा धेरैजसो भाइबहिनीले आफूसित सत्य छ भन्‍ने कुरामा विश्‍वस्त भएको कसरी देखाएका छन्‌?

हाम्रा धेरैजसो भाइबहिनीले आफूसित सत्य छ भन्‍ने कुरामा विश्‍वस्त भएको देखाएका छन्‌। कसरी? कुनै भाइ वा बहिनीको कारण चित्त दुख्दा अथवा ख्रिष्टियनहरूलाई नसुहाउने आचरणमा कोही संलग्न हुँदा पनि तिनीहरूको विश्‍वास ढलपल भएको छैन। (भज. ११९:१६५) हरेक चोटि परीक्षाको सामना गर्दा तिनीहरूको विश्‍वास कमजोर हुनुको साटो झनै बलियो भएको छ। (याकु. १:२-४) तपाईँ पनि त्यस्तो बलियो विश्‍वास कसरी बनाउन सक्नुहुन्छ?

“परमेश्‍वरको सही ज्ञान” हासिल गर्नुहोस्‌

६. प्रथम शताब्दीका चेलाहरूको विश्‍वास केमा आधारित थियो?

प्रथम शताब्दीका चेलाहरूको विश्‍वास धर्मशास्त्रको ज्ञानका साथै येसु ख्रिष्टका शिक्षाहरूमा आधारित थियो, जुन “सुसमाचारको सत्य हो।” (गला. २:५) यस सत्यमा येसुको फिरौतीको बलिदान र उहाँ फेरि जीवित हुनुभएको कुरालगायत सम्पूर्ण ख्रिष्टियन शिक्षा पर्छन्‌। ती शिक्षा सत्य हुन्‌ भन्‍ने कुरामा प्रेषित पावल विश्‍वस्त थिए। हामी किन त्यसो भन्‍न सक्छौँ? किनभने तिनले “ख्रिष्टले दुःख भोग्नु र मृत्युबाट ब्युँतनु आवश्‍यक थियो भनेर बुझाउनुका साथै धर्मशास्त्रका विभिन्‍न वचनहरूबाट” प्रमाणित गरिदिए। (प्रेषि. १७:२, ३) प्रथम शताब्दीका चेलाहरूले ती शिक्षा स्विकारे र परमेश्‍वरको वचनको कुरा बुझ्न पवित्र शक्‍तिमा भर परे। ती शिक्षा धर्मशास्त्रमा आधारित हुन्‌ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त भए। (प्रेषि. १७:११, १२; हिब्रू ५:१४) तिनीहरूले भावनामा बहेर यहोवामाथि विश्‍वास गरेका थिएनन्‌। अनि सङ्‌गी उपासकहरूसँग सङ्‌गत गर्दा रमाइलो हुने भएकोले मात्र यहोवाको सेवा गरेका थिएनन्‌। बरु तिनीहरूको विश्‍वास “परमेश्‍वरको सही ज्ञान”-मा आधारित थियो।—कल. १:९, १०.

७. बाइबलका सत्य कुराहरूमाथिको विश्‍वासले हामीलाई के गर्न मदत गर्छ?

परमेश्‍वरको वचनका सत्य कुराहरू कहिल्यै पनि अदलबदल हुँदैनन्‌। (भज. ११९:१६०) उदाहरणको लागि, कुनै भाइ वा बहिनीले हाम्रो चित्त दुखाउँदा वा गम्भीर पाप गर्दा पनि ती परिवर्तन हुँदैनन्‌। अनि हामीले समस्याहरूको सामना गर्दा पनि ती परिवर्तन हुँदैनन्‌। त्यसैले हामीले बाइबलका शिक्षाहरू राम्रोसँग बुझ्नुपर्छ र ती सत्य हुन्‌ भनेर विश्‍वस्त हुनुपर्छ। जसरी भीषण आँधी आउँदा लङ्‌गरले डुङ्‌गालाई स्थिर रहन मदत गर्छ, त्यसरी नै बाइबलका सत्य कुराहरूमाथिको बलियो विश्‍वासले पनि हामीलाई परीक्षाको समयमा स्थिर रहन मदत गर्छ। तपाईँसित सत्य छ भन्‍ने विश्‍वस्ततालाई कसरी बलियो बनाउन सक्नुहुन्छ?

“विश्‍वस्त” हुनुहोस्‌

८. दोस्रो तिमोथि ३:१४, १५ अनुसार आफूसित सत्य छ भन्‍ने कुरामा तिमोथि कसरी विश्‍वस्त हुन सके?

आफूसित सत्य छ भन्‍ने कुरामा तिमोथि विश्‍वस्त थिए। तिनी त्यस्तो निष्कर्षमा कसरी पुगे? (२ तिमोथि ३:१४, १५ पढ्‌नुहोस्‌) तिनकी आमा र बज्यैले तिनलाई “पवित्र लेखोटहरू” सिकाएका थिए। तर तिनी आफैले पनि ती शिक्षाहरूबारे अध्ययन गर्न समय र शक्‍ति पक्कै खर्च गरेका थिए। पछि तिमोथि, तिनकी आमा र बज्यैले ख्रिष्टियन शिक्षाहरू सिक्ने अवसर पाए। येसुका चेलाहरूले देखाएको प्रेमले गर्दा तिमोथि प्रभावित भए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। अनि तिनी आफ्ना आध्यात्मिक भाइबहिनीसँग सङ्‌गत गर्न र तिनीहरूलाई मदत दिन निकै उत्सुक थिए। (फिलि. २:१९, २०) तर तिनको विश्‍वास भाइबहिनीप्रतिको भावनामा नभई तिनलाई यहोवाको नजिक हुन मदत गरेका तथ्यहरूमा आधारित थियो। तपाईँले पनि बाइबल पढ्‌दा यहोवाको बारेमा सिकेका कुराहरू सत्य हुन्‌ कि होइनन्‌ भनेर आफैले जाँच्नुपर्छ।

९. कुन तीन वटा आधारभूत सत्यमा तपाईँ विश्‍वस्त हुनुपर्छ?

सुरुमा तपाईँ तीन वटा आधारभूत सत्यमा विश्‍वस्त हुनुपर्छ। पहिलो, सबै थोकको सृष्टिकर्ता यहोवा परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा तपाईँ विश्‍वस्त हुनुपर्छ। (प्रस्थ. ३:१४, १५; हिब्रू ३:४; प्रका. ४:११) दोस्रो, बाइबल मानवजातिको लागि परमेश्‍वरको प्रेरित सन्देश हो भन्‍ने कुरामा तपाईँ विश्‍वस्त हुनुपर्छ। (२ तिमो. ३:१६, १७) तेस्रो, ख्रिष्टको निर्देशनअनुसार यहोवाको उपासना गर्ने व्यक्‍तिहरूको एउटा सङ्‌गठित समूह छ र त्यो यहोवाका साक्षीहरूको समूह हो भन्‍ने कुरामा तपाईँ पक्का हुनुपर्छ। (यसै. ४३:१०-१२; युह. १४:६; प्रेषि. १५:१४) यी आधारभूत सत्यहरूमा विश्‍वस्त हुनको लागि तपाईँ बाइबलको सर्वज्ञाता हुनुपर्छ भन्‍ने छैन। तर तपाईँको लक्ष्य “सोचविचार गर्ने क्षमता” चलाउँदै आफूसित सत्य छ भन्‍ने विश्‍वासलाई बलियो बनाउने हुनुपर्छ।—रोमी १२:१.

अरूलाई विश्‍वस्त पार्न तयार हुनुहोस्‌

१०. सत्य थाह पाउनुको साथै हामीले के पनि गर्न सक्नुपर्छ?

१० परमेश्‍वर, बाइबल र परमेश्‍वरका जनहरूबारे तीन वटा आधारभूत सत्यमा विश्‍वस्त भएपछि तपाईँले धर्मशास्त्रबाटै ती सत्यहरू अरूलाई प्रमाणित गर्न सक्नुपर्छ। किन? किनभने ख्रिष्टको चेला भएकोले हामीले आफ्नो कुरा सुन्‍नेहरूलाई ती सत्यहरू सिकाउने जिम्मेवारी पाएका छौँ। * (१ तिमो. ४:१६) अरूलाई बाइबल सत्यमा विश्‍वस्त पार्न प्रयास गर्दा हामीले आफ्नो विश्‍वासलाई पनि बलियो बनाइरहेका हुन्छौँ।

११. अरूलाई सिकाउने सन्दर्भमा प्रेषित पावलले कस्तो उदाहरण बसाले?

११ प्रेषित पावलले मानिसहरूलाई सिकाउँदा ‘मोसाको व्यवस्था र भविष्यवक्‍ताहरूको पुस्तकबाट येसुको विषयमा चित्तबुझ्दो तर्क दिएर उनीहरूलाई मनाउँथे।’ (प्रेषि. २८:२३) अरूलाई सत्य सिकाउँदा हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ? हामीले सिकाउँदा ‘बाइबलले यसो भन्छ, त्यसो भन्छ’ भनेर मात्र पुग्दैन। हाम्रा बाइबल विद्यार्थीहरू यहोवासँग घनिष्ठ हुँदै जाँदा तिनीहरूलाई बाइबलको गहिरो अध्ययन गर्न र सिकेका कुराहरूमा मनन गर्न मदत गर्नुपर्छ। हाम्रो आदर गर्ने भएकोले मात्र तिनीहरूले सत्य स्विकारेको हामी चाहँदैनौँ। बरु हाम्रा मायालु परमेश्‍वरको बारेमा सिकिरहेका कुराहरू सत्य हुन्‌ भनेर आफैले जाँचेर विश्‍वस्त भएको हामी चाहन्छौँ।

आमाबुबा हो, आफ्ना छोराछोरीलाई “परमेश्‍वरका गहिरा कुराहरू” सिकाएर तिनीहरूको विश्‍वास बलियो बनाउन मदत गर्नुहोस्‌ (अनुच्छेद १२-१३ हेर्नुहोस्‌) *

१२-१३. आमाबुबाले आफ्ना छोराछोरीलाई सत्यमा रहिरहन कसरी मदत गर्न सक्छन्‌?

१२ आमाबुबा हो, तपाईँहरू आफ्ना छोराछोरी सत्यमा रहिरहेको पक्कै चाहनुहुन्छ। तिनीहरूले मण्डलीमा असल साथीहरू पाए भने राम्रो आध्यात्मिक उन्‍नति गर्न सक्नेछन्‌ भनेर सोच्नुहुन्छ होला। तर तपाईँका छोराछोरी आफूसित सत्य छ भन्‍ने कुरामा विश्‍वस्त हुन तिनीहरूलाई असल साथीहरू भएर मात्र पुग्दैन। तिनीहरू आफैले परमेश्‍वरसित व्यक्‍तिगत सम्बन्ध गाँस्नुपर्छ र बाइबलबाट सिकेका कुराहरू सत्य हुन्‌ भनेर विश्‍वस्त हुनुपर्छ।

१३ आफ्ना छोराछोरीलाई परमेश्‍वरबारे सत्य सिकाउन आमाबुबा आफैले पनि बाइबलको असल विद्यार्थीको रूपमा राम्रो उदाहरण बसाल्नुपर्छ। तिनीहरूले आफूले सिकेको कुरामा मनन गर्न समय निकाल्नुपर्छ। तब मात्र तिनीहरूले आफ्ना छोराछोरीलाई पनि त्यसै गर्न सिकाउन सक्छन्‌। तिनीहरूले आफ्ना बाइबल विद्यार्थीहरूलाई सिकाएझैं आफ्ना छोराछोरीलाई पनि बाइबल अध्ययन सामग्रीहरू प्रयोग गर्न सिकाउनुपर्छ। यसो गर्दा तिनीहरूले आफ्ना छोराछोरीलाई यहोवाको र उहाँले आध्यात्मिक भोजन उपलब्ध गराउन प्रयोग गरिरहनुभएको “विश्‍वासी र बुद्धिमान्‌ दास”-को कदर गर्न मदत गरिरहेका हुन्छन्‌। (मत्ति २४:४५-४७) आमाबुबा हो, आफ्ना छोराछोरीलाई बाइबलका आधारभूत सत्यहरू मात्र सिकाएर पुग्दैन। तिनीहरूको उमेर र बुझ्ने क्षमताअनुसार “परमेश्‍वरका गहिरा कुराहरू” पनि सिकाएर विश्‍वास बलियो बनाउन मदत गर्नुहोस्‌।—१ कोरि. २:१०.

बाइबल भविष्यवाणी अध्ययन गर्नुहोस्‌

१४. हामीले बाइबल भविष्यवाणी किन अध्ययन गर्नुपर्छ? (“ के तपाईँ यी भविष्यवाणीहरू व्याख्या गर्न सक्नुहुन्छ?” भन्‍ने पेटी पनि हेर्नुहोस्‌)

१४ बाइबल भविष्यवाणी परमेश्‍वरको वचनको एउटा महत्त्वपूर्ण भाग हो, जसले हामीलाई यहोवामाथि बलियो विश्‍वास राख्न मदत गर्छ। कुन भविष्यवाणीहरूले तपाईँको विश्‍वास बलियो बनाएको छ? सायद “अन्तको दिन”-का भविष्यवाणीहरूले भन्‍नुहोला। (२ तिमो. ३:१-५; मत्ति २४:३, ७) तर अहिले पूरा भइसकेका अरू कुन भविष्यवाणीहरूले तपाईँको विश्‍वासलाई अझ बलियो बनाउन सक्छ? उदाहरणको लागि, दानिएल अध्याय २ वा अध्याय ११ मा लिपिबद्ध भविष्यवाणीहरू कसरी पूरा भए अनि अहिले कसरी पूरा भइरहेका छन्‌ भनेर के तपाईँ व्याख्या गर्न सक्नुहुन्छ? * तपाईँको विश्‍वास बाइबलमा आधारित छ भने त्यो विश्‍वासलाई कुनै पनि कुराले हल्लाउन सक्दैन। दोस्रो विश्‍वयुद्धको दौडान जर्मनीमा कठोर सतावट भोगेका हाम्रा भाइबहिनीको उदाहरणलाई विचार गरौँ। त्यतिबेला तिनीहरूले अन्तको दिनसम्बन्धी बाइबलका भविष्यवाणीहरू पूर्ण रूपमा नबुझे तापनि परमेश्‍वरको वचनमाथिको तिनीहरूको विश्‍वास बलियो थियो।

बाइबलको अध्ययन गर्दा भविष्यवाणीहरू पनि अध्ययन गऱ्‍यौँ भने त्यसले हामीलाई परीक्षाको समयमा निर्धक्क हुन मदत गर्नेछ (अनुच्छेद १५-१७ हेर्नुहोस्‌) *

१५-१७. नाजीहरूबाट सतावट भोगेका हाम्रा भाइहरूलाई बाइबलको अध्ययनले कसरी बलियो बनायो?

१५ नाजी जर्मनीको शासनअन्तर्गत हजारौँ भाइबहिनीलाई यातना शिविरमा पठाइएको थियो। हिटलर र तिनको विशिष्ट सुरक्षादलका प्रमुख हाइनरिक हिमलर यहोवाका साक्षीहरूलाई घृणा गर्थे। एक जना बहिनीको भनाइअनुसार हिमलरले एउटा यातना शिविरमा हाम्रा दिदीबहिनीको एउटा समूहलाई यसो भनेका थिए: “तिमीहरूको यहोवाले स्वर्गमा शासन गर्छ होला तर यस पृथ्वीमा शासन गर्ने त हामी नै हौँ। यहाँ हामीहरू टिक्छौँ कि तिमीहरू, हामी तिमीहरूलाई देखाउनेछौँ।” त्यस्तो अवस्थामा यहोवाका जनहरूलाई वफादार रहिरहन कुन कुराले मदत गऱ्‍यो?

१६ ती बाइबल विद्यार्थीहरूलाई सन्‌ १९१४ मा परमेश्‍वरको राज्यले शासन गर्न थालिसक्यो भन्‍ने कुरा थाह थियो। त्यसैले आफूले भीषण सतावटको सामना गर्नुपर्दा तिनीहरू छक्क परेनन्‌। तर कुनै पनि मानव सरकारले परमेश्‍वरलाई आफ्नो उद्देश्‍य पूरा गर्नदेखि रोक्न सक्दैन भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त थिए। हिटलरले साँचो उपासनालाई नामेट पार्न सकेन वा परमेश्‍वरको राज्यलाई हटाउन सक्ने सरकार खडा गर्न सकेन। हिटलरको शासन जसरी भए पनि अन्त्य हुनेछ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त थिए।

१७ ती भाइबहिनीले जे सोचेका थिए, आखिरमा त्यही नै भयो। नभन्दै नाजी शासनको पतन भयो। अनि हाइनरिक हिमलर आफ्नो ज्यान जोगाउन भाग्नुपऱ्‍यो, जसले “यस पृथ्वीमा शासन गर्ने त हामी नै हौँ” भनेका थिए। त्यसरी भाग्ने क्रममा तिनले भाइ लुप्कलाई भेटे, जो तिनका पुरानो कैदी थिए। हार मान्दै हिमलरले भाइ लुप्कलाई यसरी सोधे: “त्यसोभए अब के हुन्छ त बाइबल विद्यार्थी?” भाइ लुप्कले हिमलरलाई नाजी शासनको पतन हुनेछ र यहोवाका साक्षीहरू मुक्‍त हुनेछन्‌ भन्‍ने कुरा तिनीहरूलाई पहिल्यैदेखि थाह थियो भनेर बताए। हिमलर जसले पहिला यहोवाका साक्षीहरूबारे थुप्रै नराम्रा कुराहरू भनेका थिए, यो पटक भने तिनको मुखबाट एक शब्द पनि निस्केन। त्यसको थोरै समयपछि तिनले आत्महत्या गरे। यसबाट हामी के सिक्न सक्छौँ? बाइबलको अध्ययन गर्दा भविष्यवाणीहरू पनि अध्ययन गऱ्‍यौँ भने त्यसले हामीलाई परीक्षाको समयमा परमेश्‍वरमाथि अटल विश्‍वास राख्न र निर्धक्क हुन मदत गर्नेछ।—२ पत्रु. १:१९-२१.

१८. युहन्‍ना ६:६७, ६८ मा सङ्‌केत गरिएझैँ पावलले उल्लेख गरेका “सही ज्ञान र पूर्ण समझ” हामीलाई किन चाहिन्छ?

१८ हामी प्रत्येकले प्रेम देखाउनुपर्छ, जुन साँचो ख्रिष्टियनहरूको चिनारी हो। तर हामीलाई “सही ज्ञान र पूर्ण समझ” पनि चाहिन्छ। (फिलि. १:९) अन्यथा “हरकिसिमका शिक्षा”-ले अनि धर्मत्यागीहरू लगायत अन्य “मानिसहरूको छल”-ले हामीलाई यताउता हुर्ऱ्याउन सक्छ। (एफि. ४:१४) प्रथम शताब्दीमा येसुका थुप्रै चेलाले उहाँलाई छोडेर जाँदा प्रेषित पत्रुसले भने येसुसित “अनन्त जीवनका वचनहरू” छन्‌ भनेर आफू विश्‍वस्त भएको कुरा बताए। (युहन्‍ना ६:६७, ६८ पढ्‌नुहोस्‌) हुनत त्यतिबेला पत्रुसले आफू के भन्दै छु भनेर सबै कुरा बुझेका थिएनन्‌। तर तिनी वफादार रहिरहे किनभने तिनले ख्रिष्टबारे सत्य कुरा बुझेका थिए। तपाईँ पनि बाइबलले सिकाउने कुरामा आफ्नो विश्‍वास बलियो बनाउन सक्नुहुन्छ। यदि त्यसो गर्नुभयो भने परीक्षाको समयमा तपाईँको विश्‍वास ढलपल हुनेछैन अनि तपाईँले अरूको विश्‍वास बलियो बनाउन पनि मदत गर्न सक्नुहुनेछ।—२ युह. १, २.

गीत ७२ राज्य सत्यलाई फैलाऔँ!

^ अनु. 5 यस लेखले परमेश्‍वरको वचनमा पाइने सत्य शिक्षाहरूको कदर गर्न हामीलाई मदत गर्नेछ। साथै हामीले विश्‍वास गरेका कुराहरू सत्य हुन्‌ भन्‍ने कुरामा हामी कसरी अझ विश्‍वस्त हुन सक्छौँ भनेर पनि छलफल गर्नेछौँ।

^ अनु. 10 बाइबलका आधारभूत शिक्षाहरूबारे अरूसित तर्क गर्नको लागि सन्‌ २०१४ देखि २०१५ सम्म प्रहरीधरहरा-मा छापिएका “छिमेकीसित कुराकानी” भन्‍ने शृङ्‌खलाका लेखहरू हेर्नुहोस्‌। त्यस शृङ्‌खलामा “यहोवाका साक्षीहरू येशूलाई विश्‍वास गर्छन्‌?,” “परमेश्‍वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्यो?” र “भगवान्‌ले किन दुःखकष्ट हटाउनुहुन्‍न?” जस्ता लेखहरू छन्‌।

^ अनु. 14 यी भविष्यवाणीहरूबारे बुझ्न जून १५, २०१२मे २०२० अङ्‌कको प्रहरीधरहरा हेर्नुहोस्‌।

^ अनु. 60 चित्रको व्याख्या: पारिवारिक उपासनाको दौडान आमाबुबाले आफ्ना छोराछोरीसँग महासङ्‌कष्टबारे बाइबलका भविष्यवाणीहरू अध्ययन गर्छन्‌।

^ अनु. 62 चित्रको व्याख्या: महासङ्‌कष्टको दौडान भइरहेका घटनाहरू देखेर उक्‍त परिवार छक्क पर्दैन।